विकासन्युज

धुलिखेल–खावा सडक विस्तार : १६ महिनामा १२ प्रतिशतमात्रै काम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । आउँदो चैत १९ गतेभित्र निर्माण सक्नुपर्ने उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । निर्माण सुरु भएको १६ महिना बितिसक्दा १२ प्रतिशतमात्रै काम भएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता गरेको थियो । कार्यालयका सिनियर डिभिजन नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडकखण्डको ठेक्का लिएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् । सम्झौताअनुसार समयावधिको ७२ प्रतिशत समय सकिएको छ । तर काम भने १० प्रतिशतमात्रै हुनु ठेकेदार कम्पनीको लापरवाही भएको सरोकारवालाले बताएका छन् । डिभिजन कार्यालयले निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको लामिछानेले बताए । उहाँका अनुसार निर्माण व्यवसायीले कुनै पनि पत्रको जवाफ पठाउने गरेका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले पुनः पटक–पटक सार्वजनिक सूचना जारी गर्दै गैरजिम्मेवारीपन देखाएको जनाउँदै समयसीमा दिएर लिखित स्पष्टीकरण पेश गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पनि पटक–पटक छलफल गरेको थियो । ती सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मतसम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि एक वर्षदेखि कामलाई तीव्रता दिइएको छैन । सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृतरूपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोपसमेत लगाउँदै आएका छन् । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे भएर यात्रुले सास्ती खेप्नुपरेको छ । अझ दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई निकै कठिन हुने गर्दछ । पुनःनिर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीका कारण १६ महिनाको अवधिमा एक सयभन्दा बढी दुर्घटनामा यात्रु घाइते भएका छन् । दसैँमा सवारी आवतजावतका लागि निकै कठिनाइ हुने छ । ‘समयमा काम नगरी यात्रुलाई सास्ती दिने ठेकेदारलाई हदैसम्मको कारबाही गर्नुपर्छ’, पाँचखाल नगरपालिका–४ का राजन कार्कीले भने । उनका अनुसार समयावधिको बाँकी छ महिनामा सडक निर्माणको काम सम्पन्न गर्न सक्दैनन् । सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनायो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । निर्माण व्यवसायीले भने सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेका छन् । उक्त सडकखण्ड विस्तार गर्न आठ सय ४२ वटा रुख काट्नुपर्ने बताइएको छ । करिब एक सय विद्युत्का पोल सार्नुपर्ने देखिएको हो । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् । रासस

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

धनुषा । यहाँस्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट १० करोडभन्दा बढीको क्षति पुगेको बताए। सञ्चालक रायले भने ‘हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाैँ । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।’

सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताले अब कात्तिक १ गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । सर्वसाधारणलाई बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न कात्तिक २ गते कुण्डलिनी दरबार ब्यान्केट चण्डोल काठमाडौंमा बिहान ११ बजे १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो

काठमाडौं । कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आउनुभएको छ । तालिमपछि धुपबत्ती र दियो बनाउन धमाधम भइरहेको बताइएको छ । पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी रहेको सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । “गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो “यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ । यो धुपबत्ती बजारमा पाइने केमिकल मिसावट धुपभन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।” गौशालाले सुरुमा गाईको गोबरबाट ५५ घरमा ग्यास वितरण, गाईको गोबर मल बिक्री सुरु गरेको छ । दीपावलीलाई लक्षित गरेर धुपबत्ती र विभिन्न प्रकारका दियो बनाउन थालिएको छ । गौशालाले यससँगै नम्बरप्लेट, शुभलाभका चित्र, भगवान्का मूर्ति, प्रमाणपत्रलगायतका सामग्री निर्माण गर्ने योजना रहेको गौशालाका सचिव जोशीले बताए । “गाईको गोबरबाट विभिन्न सामग्री बनाउन सकिनेरहेछ”, उनले भने, “यी विभिन्न सामग्री निर्माणका लागि मेसिन खरिद गर्ने तयारी गरेका छौँ । उच्च रक्तचापका बिरामीका लागि चाहिने सामग्री पनि बनाउने तयारी छ ।” गौशालाले श्रीमद्भागवत् महायज्ञ गर्ने, कथावाचकले गौशालामा उत्पादन भएका सामग्रीको बजारीकरणमा सघाउने सल्लाह भइरहेको उनको भनाइ छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले अहिले सात सय ३० गाई संरक्षण गरिरहेको छ । यसरी विभिन्न सामग्रीसमेत उत्पादन थालेपछि केही युवाले रोजगारी पाउने बताइएको छ । केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिनादेखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफँैले खर्च व्यर्होने गरेको छ ।

३३२ स्थानीय तहले तिरेनन् ६ अर्ब बढी विद्युत महशुल, कारवाही गर्ने तयारीमा (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरपालिका सहित ३३२ स्थानीय तहलाई कारवाही गर्ने तयारी थालेको छ । अबको ४५ दिनभित्र विद्युत महशुल नतिरे कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको हो । प्राधिकरणका अनुसार ४५ दिनभित्र रकम नबुझाएमा विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० को बमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको हो । प्राधिकरणका अनुसार ३३२ स्थानीय तहले ६ अर्ब ८ करोड ९४ लाख ३११ रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको छ । प्राधिकरणका वितरण केन्द्रहरूबाट स्थानीय निकायहरूले सडकबत्तीका लागि विद्युत शक्ति उपभोग गरेबापत गत असारमसान्तसम्म सो रकम बुझाउन बाँकी रहेको हो । काठमाडौं महानगरपालिकाले १ अर्ब ६१ करोड ७९ लाख २१ हजार रुपैयाँ र वीरगञ्ज महानगरपालिकाले १७ करोड २८ लाख ६९ हजार रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेको छ । त्यस्तै, विराटनगर उपमहानगरपालिले ८ करोड ६६ लाख ८ हजार रुपैयाँ, इटहरी उपमहानगरपालिकाले २ करोड ९९ लाख ५८ हजार रुपैयाँ, धरान उपमहानरपालिकाले २ करोड ५९ लाख ८१ हजार रुपैयाँ, जीतपुरसिमरा उपमहानगरपालिकाले १ करोड २२ लाख ५ हजार रुपैयाँ, जनकपुर उपमहानगरपालिकाले २८ लाख ६ हजार रुपैयाँ, कलैया उपमहानगरपालिकाले ६ करोड ८९ लाख ६२ हजार रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेको छ । साथै अनुमति नलिई बिना मिटर आफूखुसी जथाभावी सडकबत्ती जडान गर्ने कार्य कानून सम्मत नरहेकोले सो कार्य नगर्न आग्रह गरेको छ । बिना मिटर जडान गरिएका सडक बत्तीहरू सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गर्न आग्रह गरेको हो ।

नेपाल बैंकले माग्यो नयाँ सीईओ, कति चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाल बैंकले खुल्ला प्रतिस्पर्धा मार्फत् नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)नियुक्ति गर्ने भएको छ । कृष्ण बहादुर अधिकारीको कार्यकाल सकिएपछि खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ सीईओ नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको हो । बैंकले आइतबार एक सूचना प्रकाशन गरी २१ दिनभित्र योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य ब्यक्तिलाई आवेदन पेश गर्न आग्रह गरेको हो । बैंकको सीईओ पदका लागि आवेदन दिने ब्यक्तिको योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विपयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ । चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्गशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरुलाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिनेछ । छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिईएको छ ।

आजदेखि ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा, कति पाइन्छ छुट ?

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आज असोज २१ गतेदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले आजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त पसल सञ्चालनमा आएसँगै उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले देशभरका ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउनेछ । जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यकाभित्र काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा आउनेछन् । र, उपत्यका बाहिर भने मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सहुलियत पसल सञ्चालनमा आउने छन् । यसैगरी रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डँडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा आउने छन् । कम्पनीले थप जिल्ला र स्थानहरुमा पनि सहुलियत पसल आवश्याकताका आधारमा सञ्चालन गर्ने बताएको छ । यस्तै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुको माध्यमबाट तोकिए बमोजिमको छुट दिई बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थलबाट सहुलियत सेवा दिने छ । यता दुग्ध विकास संस्थान डीडीसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया,धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराउने मन्त्रालयले जानकारी गराएको छ ।