विकासन्युज

बस दुर्घटना दुर्घटनाः २ विदेशीसहित १७ जनाको निधन, उद्धार सकियो (नामसहित)

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रु वाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस आज बिहान करिब १ः३० बजे त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।  घाइतेहरूको नाम  

बाँसबारी राइस मिललाई २ लाख जरिवाना, जयस अन्न घरलाई १० हजार

काठमाडौं । नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार २ फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं बाँसबारीस्थित बाँसबारी राइस मिललाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।  त्यसैगरी कागेश्वरी नगरपालिका-६ मुलपानी बाबाचोक स्थित जयस अन्न घरलाई १० हजार रुपैयाँ  जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको छ । विभागले मेगा मार्ट प्रालि लगायत अन्य तीन फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३ भित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य  सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ । 

धादिङमा बस दुर्घटना हुँदा १७ जनाको निधन, २४ जना घाइते

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु वाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् । आज बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए ।  मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।  उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा  बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको उनको भनाइ छ । 

फोहरजन्य वस्तु बिक्री गरी ७ महिनामा साढे १४ लाख आम्दानी, बायो ग्यास उत्पादन गर्दै

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म १४ लाख ५० हजार ६११ रुपैयाँ आम्दानी गरेको हो । नगरपालिकाले फोहरमैला, सिसाजन्य वस्तु बिक्रीबाट उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ ।  कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहर बिक्री गरी आम्दानी गरिएको लम्सालले बताए । उनले भने, ‘एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन भइरहेको छ ।’ फोहर बिक्री गरी आम्दानी हुन थालेपछि नगरपालिकालाई आन्तरिक स्रोत वृद्धिमा सहयोग पुगेको लम्सालले बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले फोहर उठाउँदादेखि नै कुहिने र नकुहिने फोहर छुट्याउने र नकुहिने फोहरभित्र पनि विभिन्न सिसा, प्लास्टिक, कागज जस्ता चिजहरू छुट्याएर त्यसलाई मेसिनले कम्प्रेस गरी आम्दानी गर्न थालिएको बताए ।  नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लास्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ । ३२ वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएको बताउँदै न्यौपानेले भने, ‘विगतको मेरो कार्यकालमा पनि प्रयत्न गर्दा गर्दै समस्या आयो । जग्गा व्यवस्थापनका लागि नगरपालिका लागिरहेको छ ।’ नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायो ग्यास उत्पादन गर्ने काम गरिरहेको छ । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।

नेपाली सडकमा ‘यात्री पी-टु’ को सफल परीक्षण, ७ हजार किलोमिटर गुडेको कम्पनीको दाबी

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा एकपछि अर्को गर्दै नयाँ क्रान्तिको लहर चलेको छ । पछिल्लो समय नेपालमै बाइक, कार र बस एसेम्बल हुन थालेका छन् । जसमा सिप्रदी ट्रेडिङ्ग र यात्री मोटरसाइकलको सहकार्यमा बनेको इलेक्ट्रिक स्कुटर ‘पी-टु’ को सडक परीक्षण गरिएको छ ।   नेपालमै डिजाइन र विकास गरिएको यो पहिलो इलेक्ट्रिक स्कुटरले हालसम्म देशका विभिन्न सडकहरूमा ७ हजार किलोमिटरभन्दा बढीको यात्रा सफलतापूर्वक पूरा गरिसकेको सिप्रदी ट्रेडिङ्गले जनाएको छ ।  ‘पी-टु’ स्कुटरलाई सामान्य सहरी सडकमा मात्र नभई नेपालको भौगोलिक विविधताअनुसारका कठिनतम परिस्थितिमा परीक्षण गरिएको कम्पनीको भनाइ छ ।  कम्पनीले यसलाई काठमाडौंका सडकदेखि नुवाकोट र जिरीका विकट पहाडी उकालो–ओरालो हुँदै हेटौंडा र भरतपुरका समथर तराईका राजमार्गसम्म दौडाएर परीक्षण गरिरहेको छ ।  कम्पनीका अनुसार परीक्षणका क्रममा हालसम्म काठमाडौं, भक्तपुर, नुवाकोट, कुरी, जिरी, मूलकोट, कटारी, हेटौंडा, भरतपुर, राम्दीघाट र वालिङजस्ता १० भन्दा बढी स्थानका सडकमा यसको क्षमता जाँचिएको छ ।  दैनिक ४०० किलोमिटरभन्दा बढी गुडाएर यसको ब्याट्री पर्फमेन्स, मोटरको शक्ति र समग्र टिकाउपनको गहन परीक्षण भइरहेको यात्रीले जनाएको छ । उसो त ‘यात्री पी-टु’ स्कुटर एक उत्पादन मात्र होइन, यो नेपाली इन्जिनियरिङ, डिजाइन र नवप्रवर्तनको उदाहरण पनि हो । यसअघि ‘पी–जिरो’ र ‘पी-वान’ जस्ता प्रिमियम इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेर चर्चा कमाएको यात्रीले ‘पी-टु’ मार्फत आम नेपाली उपभोक्तासम्म पुग्ने लक्ष्य राखेको छ । सिप्रदी कम्पनी र यात्री जस्तो नवप्रवर्तक स्टार्टअपको सहकार्यले यस परियोजनालाई थप विश्वसनीय र शक्तिशाली बनाएको बताइएको छ । यो स्कुटर कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा कम्पनीले आधिकारिक जानकारी नदिए पनि यसको व्यापक परीक्षणले छिट्टै बजारमा आउने संकेत गरेको छ ।  नेपाली बजारमा विदेशी ब्रान्डको वर्चस्व रहेको बेला ‘मेड इन नेपाल’ ट्यागसहित आउन लागेको ‘यात्री पी–टु’ लाई नेपाली उपभोक्ताका लागि नयाँ विकल्पका रुपमा हेरिएको छ । 

मनमैजुको घरमा छिरेको चितुवाको उद्धार

काठमाडौं । काठमाडौंको मनमैजुमा एक घरमा छिरेको चितुवालाई उद्धार गरिएको छ  । तारकेश्वर नगरपालिका ९ स्थित चन्द्रमणी अधिकारीको घरमा छिरेको चितुवालाई उद्धार गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।  उनका अनुसार काठमाडौं डिभिजन वन कार्यालयको टोली र नेपाल प्रहरीको टोलीले सँगै उद्धार गरेको हो । साढे १ बजे सोही घरमा चितुवा छिरेको स्थानीय सपना राईले जानकारी दिइन् । उनका अनुसार सुरुमा घरको भुँइतलाको सटरमा चितुवा छिरेको थियो ।  चितुवाले आक्रमण गर्दा ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीया मायानाथ वाग्लेलाई घाइते बनाएको थियो । उनीहरू दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ ।

कजारिया रमेश टाइल्सको नयाँ शोरूम सल्लाघारीमा सञ्चालनमा

काठमाडौं । टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको इटापाको, सल्लाघारीमा नयाँ शोरूम उद्घाटन गरेको छ । उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको हो र फागुन ९ गतेदेखि सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको छ । उद्घाटन समारोहमा कजारियाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले नेपाली बजारप्रतिको कम्पनीको प्रतिबद्धता र गुणस्तरप्रतिको समर्पणलाई झल्काएको छ । रिबन काटेर सम्पन्न गरिएको उद्घाटनले भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय टाइल समाधान उपलब्ध गराउने नयाँ अवसरको सुरुवात गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा आश्मा केसीको उपस्थितिले समारोहलाई थप आकर्षक बनाएको थियो । उक्त अवसरमा कम्पनीका प्रतिनिधिले कजारियाले सधैँ उत्कृष्ट उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गर्दै नयाँ सल्लाघारी शोरूममार्फत ग्राहकहरूलाई आधुनिक, मजबुत र आकर्षक टाइल समाधान अझ सहज रूपमा उपलब्ध गराउने बताए । नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकास भइरहेको सन्दर्भमा कम्पनीले अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस क्षेत्रको विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शन गरिएको छ, जसले ग्राहकहरूलाई आफ्नो इन्टेरियर आवश्यकताअनुसार विभिन्न डिजाइन र विकल्प सहज रूपमा छनोट गर्न सहयोग पुर्‍याउनेछ । कम्पनीका अनुसार यस पहलले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्दै नेपालमा ब्रान्डको उपस्थितिलाई अझ मजबुत बनाएको छ । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको अत्याधुनिक टाइल उत्पादन उद्योगमार्फत अन्तर्राष्ट्रिय गुणस्तरका ३ हजार भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई आकर्षक, टिकाउ र आधुनिक बनाउने कम्पनीको विश्वास छ ।

मोटरसाइकल र मोबाइल चोरी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र मोबाइल चोरी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय मेन्सुहाङ राई, १८ वर्षीय समिर तामाङ, १८ वर्षीय प्रज्वल राई र १८ वर्षीय जनम तामाङ रहेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले तीन वटा चोरीका मोटरसाइकल, २ वटा स्कुटर र मोबाइल ७ थान सहित नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका ६ बाट चोरी भएको बागमती प्रदेश ०२-०६० प ४९५८ नम्बरको ३५० सिसिको बुलेट मोटरसाइकल  काठमाडौं महानगरपालिका २६ ठमेलबाट चोरी भएको बागमती प्रदेश ०२-०१९ प ३३४१ नम्बरको १२५ सिसिको रेयाज स्कुटर रहेको छ ।  त्यसैगरी, ललितपुर महानगरपालिका १४ शोभाहिटीबाट चोरी भएको बाप्र ०२-०३७ प ५२९६ नम्बरको डियो स्कुटर, काठमाडौं महानगरपालिका १३ कालीमाटीबाट चोरी भएको बाप्र ०२-०१५ प ५४९९ नम्बरको ३५० सिसिको बुलेट मोटरसाइकल र बानेश्वरबाट चोरी भएको मधेश प्रदेश ०३-०३६ प ९०४६ (परिवर्तित) नम्बरको बुलेट मोटरसाइकल रहेको छ । बरामद चोरीका मोबाइलहरू आइफोन १६ प्लस, सामसुङ मोबाइल २, आइफोन १६ प्रोम्याक्स १, ओप्पो मोबाइल १, रेडमी १ र होनोर १ थान रहेको छ ।