राष्ट्रपति र सभामुखबीच भेटवार्ता, संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए । सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उनीहरूबीच छलफल भएको थियो । सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताए । यही भदौ २३ गतेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेल र सभामुखबीच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको बताइन्छ । उनीहरूबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ ।
भाटभटेनीले भन्यो : हामी छिट्टै उठ्दै छौं, थप मजबुद बन्दैछौं
काठमाडौं । भाटभटेनी डिपार्टमेन्टल स्टोरले छिट्टै लयमा आउने बताएको छ । डिपार्टमेन्टल स्टोरले सामाजिक सञ्जालमार्फत् आन्दोलनमा धेरै स्टोहरु ध्वस्त भए पनि छिट्टै उपभोक्ताको सेवामा समर्पित हुने बताएको हो । भाटभटेनीले भनेको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो स्टोरहरु ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् । भाट–भटेनी फेरि उभिनेछ । तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’ जेनजी आन्दोलनमा भाटभटेनीका १२ वटा स्टोर आगजनी गरिएका छन् भने ९ वटामा लुटपाट भएको जानकारी दिएको छ । नक्साल भाटभटेनी, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानमा रहेका स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको भाटभटेनीले जानकारी दिएको छ ।
सेनाले फेरि जारी गर्यो निषेधाज्ञा र कर्फ्यू आदेश, अत्यावश्यक काम गर्ने समय पनि तोकियो
काठमाडौं । नेपाली सेनाले फेरि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ । सेनाले अहिले सूचना जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी दिएको हो । सार्वजनिक भएको विज्ञप्तिका अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । सेनाले बिहान र साँझ अतिआवश्यक कामका लागि बाहिर निस्कन पाइने बताएको छ । बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने सूचनामा उल्लेख छ ।
आज पनि ‘भोलि आउनु’ भन्दै सेनाले जेनजीलाई घर पठायो, नेतृत्व चयन गर्ने विषय पेचिलो बन्दै
काठमाडौं । अन्तरिम सरकारको नेतृत्व कसलाई दिने भन्नेबारे अन्यौल कायमै रहेको छ। जेनजीबीच बिहीबार पनि कसलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा अन्यौलता बढेको हो । बिहीबार साँझ जेनजीले ७ वटै प्रदेशबाट एक–एक जना प्रतिनिधि छनोट गर्ने र ती प्रतिनिधिलाई छलफलका लागि जङ्गीअड्डा पठाउने विषयमा छलफल भएको थियो । तर, अन्ततः कुरा नमिलेपछि सेनाले भोलि आउन भन्दै घर पठाएको छ । आज जङ्गगीअड्डा पुगेका युवाहरूबीच नेतृत्वको विषयमा विवाद चर्किएको थियो । उनीहरुबीच केही समय आपसमा हानाहान समेत भएको थियो । जेनजी आन्दोलनका केही समूहले धरानका मेयर हर्क साङपाङलाई प्रधानमन्त्री बनाउने भन्दै नारा लगाएका थिए । केहीले कुलमानको नाम अघि सारेका थिए भने केहीले शुशीला कार्की हुनुपर्ने अडान राखिरहेका थिए । यसअघि जेनजी पुस्ताले लामो छलफलपछि कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । तर, सैनिक मुख्यालय पुगेको केही समयमै देखिएको विभाजनले सहमतिको स्थायित्वमा रूपान्तरण हुन अझै समय लाग्ने संकेत दिएको छ। नेतृत्व चयनको बहसले आन्दोलनको प्राथमिक एजेन्डा ओझेलमा पर्ने खतरा बढेको छ भने कतिपयले यो बहसलाई लोकतान्त्रिक अभ्यासको रूपमा हेरिरहेका छन् । आजै एक जेनजीको समूहले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेतृत्व दिन प्रस्ताव गरेको छ । तर, त्यसमा पनि सहमति जुट्न सकेन । बुधबार पनि जङ्गी अड्डाले बिहीबार बिहान आउनुभन्दै जेनजीलाई घर पठाएको थियो । बिहीबार पनि बुधबारकै परिवेश दोहोरिएको हो । अन्तरिम सरकारको नेतृत्व चयनको विषय थप पेचिलो र रहस्यमयी बन्दै गएको छ ।
क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न बीमक संघको आग्रह
काठमाडौं । नेपाल बीमक संघले हाल देशभर उत्पन्न प्रतिकूल परिस्थितिका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ । संघले क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी सहयोग लिन आग्रह गरेको छ । केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बीमा कम्पनीहरू दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको पनि संघले स्पष्ट पारेको छ ।
कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीले गर्यो अनुरोध
काठमाडौं । प्रहरीले देशभरिका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सम्पर्कमा आउन अनुरोध गरेको हो । जेनजीको प्रदर्शनको क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाई तथा कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो ।
हेटौंडामा जनजीवन सामान्य बन्दै
काठमाडौं । हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन थालेको हो । नेपाली सेनाले कर्फ्युमा केही खुकुलोपन ल्याएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई बाहिर निस्कने अनुमति दिइएको छ । सो अवधिमा बजारमा केही चहलपहल देखिएको छ भने मानिसहरू आवश्यक सामग्री खरिद र अन्य कामका लागि बाहिर निस्किएको देखिन्छ । त्यसपछि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पुनः निषेधाज्ञा जारी गरिएको छ । जसअन्तर्गत सुरक्षाको लागि कडा निगरानी अपनाइएको छ । बेलुका ५ देखि ७ बजेसम्म भने निषेधाज्ञा केही खुकुलो पारिने जानकारी दिइएको छ । नेपाली सेनाले सुरक्षाकर्मी, सञ्चारकर्मी, पानी आपूर्ति तथा सरकारी कर्मचारीलाई परिचयपत्रका आधारमा आवतजावतको अनुमति दिएको छ । समग्रमा सेनाको नेतृत्वमा शान्ति सुरक्षा मजबुत बन्दै गएकाले हेटौंडाको जनजीवन पुनः सामान्यतातर्फ उन्मुख भएको देखिन्छ ।
अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ । निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ । त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । सचिव डा. विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौं मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । उनका अनुसार ९४९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । रासस