विकासन्युज

आज पनि ‘भोलि आउनु’ भन्दै सेनाले जेनजीलाई घर पठायो, नेतृत्व चयन गर्ने विषय पेचिलो बन्दै

काठमाडौं । अन्तरिम सरकारको नेतृत्व कसलाई दिने भन्नेबारे अन्यौल कायमै रहेको छ। जेनजीबीच बिहीबार पनि कसलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा अन्यौलता बढेको हो ।  बिहीबार साँझ जेनजीले ७ वटै प्रदेशबाट एक–एक जना प्रतिनिधि छनोट गर्ने र ती प्रतिनिधिलाई छलफलका लागि जङ्गीअड्डा पठाउने विषयमा छलफल भएको थियो । तर, अन्ततः कुरा नमिलेपछि सेनाले भोलि आउन भन्दै घर पठाएको छ ।  आज जङ्गगीअड्डा पुगेका युवाहरूबीच नेतृत्वको विषयमा विवाद चर्किएको थियो । उनीहरुबीच केही समय आपसमा हानाहान समेत भएको थियो ।  जेनजी आन्दोलनका केही समूहले धरानका मेयर हर्क साङपाङलाई प्रधानमन्त्री बनाउने भन्दै नारा लगाएका थिए । केहीले कुलमानको नाम अघि सारेका थिए भने केहीले शुशीला कार्की हुनुपर्ने अडान राखिरहेका थिए ।  यसअघि जेनजी पुस्ताले लामो छलफलपछि कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । तर, सैनिक मुख्यालय पुगेको केही समयमै देखिएको विभाजनले सहमतिको स्थायित्वमा रूपान्तरण हुन अझै समय लाग्ने संकेत दिएको छ। नेतृत्व चयनको बहसले आन्दोलनको प्राथमिक एजेन्डा ओझेलमा पर्ने खतरा बढेको छ भने कतिपयले यो बहसलाई लोकतान्त्रिक अभ्यासको रूपमा हेरिरहेका छन् । आजै एक जेनजीको समूहले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेतृत्व दिन प्रस्ताव गरेको छ । तर, त्यसमा पनि सहमति जुट्न सकेन । बुधबार पनि जङ्गी अड्डाले बिहीबार बिहान आउनुभन्दै जेनजीलाई घर पठाएको थियो । बिहीबार पनि बुधबारकै परिवेश दोहोरिएको हो । अन्तरिम सरकारको नेतृत्व चयनको विषय थप पेचिलो र रहस्यमयी बन्दै गएको छ । 

क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न बीमक संघको आग्रह

काठमाडौं । नेपाल बीमक संघले हाल देशभर उत्पन्न प्रतिकूल परिस्थितिका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ । संघले क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी सहयोग लिन आग्रह गरेको छ । केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बीमा कम्पनीहरू दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको पनि संघले स्पष्ट पारेको छ ।

कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीले गर्‍यो अनुरोध

काठमाडौं । प्रहरीले देशभरिका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सम्पर्कमा आउन अनुरोध गरेको हो । जेनजीको प्रदर्शनको क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाई तथा कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो ।

हेटौंडामा जनजीवन सामान्य बन्दै

काठमाडौं । हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन थालेको हो । नेपाली सेनाले कर्फ्युमा केही खुकुलोपन ल्याएको छ ।  बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई बाहिर निस्कने अनुमति दिइएको छ । सो अवधिमा बजारमा केही चहलपहल देखिएको छ भने मानिसहरू आवश्यक सामग्री खरिद र अन्य कामका लागि बाहिर निस्किएको देखिन्छ । त्यसपछि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पुनः निषेधाज्ञा जारी गरिएको छ । जसअन्तर्गत सुरक्षाको लागि कडा निगरानी अपनाइएको छ । बेलुका ५ देखि ७ बजेसम्म भने निषेधाज्ञा केही खुकुलो पारिने जानकारी दिइएको छ ।  नेपाली सेनाले सुरक्षाकर्मी, सञ्चारकर्मी, पानी आपूर्ति तथा सरकारी कर्मचारीलाई परिचयपत्रका आधारमा आवतजावतको अनुमति दिएको छ । समग्रमा सेनाको नेतृत्वमा शान्ति सुरक्षा मजबुत बन्दै गएकाले हेटौंडाको जनजीवन पुनः सामान्यतातर्फ उन्मुख भएको देखिन्छ । 

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ ।  निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ ।  त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ ।  सचिव डा. विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौं मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । उनका अनुसार ९४९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । रासस  

प्रसाईं समर्थक भन्छन्– बालेनले पिधँ देखाए, फिल्डमा उत्रिने आँटिलो नेता प्रसाईं हुन्, नेतृत्व दिनुपर्छ

काठमाडौं । दुर्गा प्रसाईंलाई नागरिक सरकारको नेतृत्व दिनुपर्ने माग गर्दै रत्नपार्कमा राजावादीहरूले नारा लगाएका छन् । प्रसाईंका समर्थकहरूले आगामी नागरिक सरकारको नेतृत्वका लागि उनको नाम अगाडि सारेका छन् । उनीहरूले अन्य सम्भावित नेताहरूलाई पछाडि राख्न जोड गरिरहेका छन् । समर्थकहरूले प्रसाईंलाई वास्तविक राष्ट्रवादी नेताको रूपमा प्रस्तुत गर्दै उनको विगतका कार्यहरूलाई मुख्य आधार बनाएका छन् ।  उनीहरूका अनुसार प्रसाईंले विदेशमा बेचिएका चेलीहरूलाई फिर्ता ल्याउन, मृत्युदण्डको सजाय पाएका नेपालीहरूलाई जोगाउन, घरजग्गा लिलाम भएकाहरूको सम्पत्ति फिर्ता गराउन र बैंकको १८ प्रतिशत  ब्याजदरलाई ८ प्रतिशतमा झार्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । समर्थकहरूले कुलमान घिसिङ र बालेन शाहजस्ता अन्य सम्भावित नेताहरूलाई नेतृत्वका लागि अनुपयुक्त ठहर गरिरहँदा प्रसाईंका समर्थकले कुलमान घिसिङलाई जलस्रोत मन्त्रालयका लागि उपयुक्त भए पनि प्रधानमन्त्री पदका लागि क्षमता नभएको बताउँछन् । त्यस्तै, बालेन शाहले पनि ‘पिँध देखाइसकेको’ भन्दै उनहरूले जनताको अपेक्षाअनुसार चल्ने र फिल्डमा उत्रिने आँटिलो नेता प्रसाईं भएको स्पष्ट पारे । ‘हामीलाई कोठाभित्र बस्ने होइन, जनतालाई बाटोमा ल्याउने र फिल्डमा उत्रिने आटिला नेता चाहिन्छ,’ एक समर्थकले भने ।  ‘दुर्गा प्रसाईं जस्तो नेता चाहिन्छ, जसले झापाको बिर्तामोडमा आन्दोलनकारीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ,’ उनले थपे । उनीहरुका अनुसार यस आन्दोलनको मूल उद्देश्य भ्रष्टाचारलाई जरैदेखि उखेल्नु र देशलाई ‘अन्योलको बन्दी’  हुनबाट जोगाउनु हो । अबको नेतृत्व जेनजीले नै गर्नुपर्ने उनीहरू बताउँछन् ।  

हातहतियारसहित अन्य सामग्री फिर्ता गर्न प्रहरीको आग्रह

काठमाडौं । जेनजी गरेको प्रदर्शनका क्रममा प्रहरीसहित अन्य सुरक्षा निकायका हातहतियारलगायत सामग्री फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।  प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यही भदौ २३ देखि २५ गते भएको प्रदर्शनमा सुरक्षा निकायका हतियार, सञ्चार साधन, सवारीसाधन र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता गर्न आग्रह गरेको हो ।  उक्त हातहतियारलगायत अन्य सामग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नं १०० वा टोल फ्री नं १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरिएको छ । यस्तै, प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोसाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई अनुरोध गरिएको छ ।  

विषम परिस्थितिको संवैधानिक समाधान खोज्न निरन्तर प्रयासरत रहेको छु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न विषम परिस्थितिको संवैधानिक समाधान खोज्न निरन्तर प्रयासरत रहेको जानकारी दिएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने विषयमा विभिन्न पक्षसँग विचार–विमर्श भइरहेको र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम राख्न हरसम्भव प्रयास भइरहेको बताए । राष्ट्रपतिले आन्दोलनकारी नागरिकहरूको जायज माग सम्बोधन गर्न छिटोभन्दा छिटो समाधान खोज्ने प्रक्रिया अघि बढेको भन्दै सबैलाई संयमित रहन र शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न आह्वान गरे ।