युवापुस्तालाई समर्थन गर्दै महासंघले खोज्यो विवेकपूर्ण अवतरण
काठमाडौं । सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति समर्थन जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघले विकसित घटनाक्रमको विवेकपूर्ण अवतरणमा जोड दिएको छ । युवापुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ । ‘देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार छ । नवनिर्माण एवं पुन: निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध संचालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघ आग्रह गर्दछ,’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । महासंघको सबै जिल्ला र एक सय भन्दा बढी पालिकाहरूमा सदस्य उद्योग वाणिज्य संघहरु मार्फत उपस्थिति रहेको छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यता मार्फत महासंघले देशभरका करिब ६ लाख साना मझौला एवं ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दछ । पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघले भर्त्सना गरेको छ । साथै महासंघ व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । चाहन्छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैया बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि क्षतिका कारण राजश्व र कुल गार्हस्थ उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ । यसैगरी, निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा संचालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्न जाने महासंघले जनाएको छ । त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गरेको छ । निषेधाज्ञा एवं कर्फ्युका समयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरूको आवतजावत एवं वस्तुहरू जस्तै औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणका लागि पनि महासंघले आग्रह गरेको छ । यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताका लागि महासंघ आग्रह गरेको छ । यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरि बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह पनि गरेको छ । साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरेको छ । अन्तराष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द रहेका छन् । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास महासंघले लिएको छ । सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहीतको मर्यादित रोजगारी सम्भव भएको जनाउँदै महासंघले स्थायित्वका लागि युवाहरुको चाहनाअनुरूप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पुर्याउन सबैलाई आग्रह गरेको छ ।
रूसमा एआईबाट चल्ने विद्युतीय रेलको सेवा शुभारम्भ, सन् २०२६ मा १५ वटा पुर्याउने
काठमाडौं । रूसको पहिलो एआईको सहयोगमा चल्ने (स्वचालित) नगर रेल सेवाको मस्कोमा बिहीबार औपचारिक शुभारम्भ गरिएको छ । यो रूसको सार्वजनिक यातायातको नयाँपनका लागि एक महत्त्वपूर्ण कोशेढुंगा हो । रूसी सरकारको आधिकारिक वेबसाइटमा यो समाचारको पुष्टि गरिएको छ । यो अग्रगामी परियोजना सन् २०३० सम्मका लागि मस्कोको यातायात विकास रणनीतिको एक महत्त्वपूर्ण भाग हो । यी सवारी साधनहरूले सन् २०३५ सम्ममा ९० प्रतिशत हिस्सा लिने लक्ष्य राख्दै सन् २०३० सम्म शहरले ३०० भन्दा बढी नगर रेल (ट्राम)हरूलाई स्वायत्त प्रविधिले सुसज्जित गर्ने योजना बनाएको छ । टीभी ब्रिक्सका अनुसार भर्खरै प्रस्तुत गरिएको एआईबाट सञ्चालित (स्वचालित) रेल स्वतन्त्र रूपमा स्टपहरूमा रोकिने र ढोकाहरू खोल्ने, ट्राफिक सङ्केतहरू पालन गर्ने, पैदल यात्रीहरूलाई सडकमा वारपार गर्न दिन र स्वचालित रूपमा रेलमार्गहरू तय गर्नेजस्ता सबै तालिकाहरूको कडा पालना कायम राख्न सक्षम छ। सन् २०२४ मेदेखि विद्युतीय यो रेलले कुनै पनि ट्राफिक उल्लङ्घन बिना ८ हजार किलोमिटरभन्दा बढी कठोर परीक्षण पूरा गरेको छ । यसले स्वचालित प्रणालीको रेलको विश्वसनीयता र सुरक्षा प्रदर्शन गर्दछ। हालको संघीय कानून अन्तर्गत प्रणालीको निरीक्षण गर्न र भाडा नियन्त्रण जस्ता गैर–ड्राइभिङ कार्यहरू ह्यान्डल गर्न एक जान अपरेटर सेवाको समयमा रेलको क्याबिनमा रहनेछ । रेलको ड्राइभिङ कार्यहरू पूर्ण रूपमा एआई र मस्कोमा विकसित उन्नत सफ्टवेयर द्वारा सुसज्जित गरिएका छन्। रेलको शुभारम्भ पहिले तीन चरणको परीक्षणहरू गरिसकिएको छ । पहिलो चरणमा यात्रुहरू बिना रातमा रेलमार्गमा यात्रा, यात्रुहरूसँग पर्यवेक्षण यात्रा र अन्ततः पूर्ण स्वायत्त सेवाको नेतृत्व गर्यो । सन् २०२५ को अन्त्यसम्म मस्कोले नियमित सेवामा ३ वटा स्वायत्त रेलहरू राख्ने योजना बनाएको छ भने सन् २०२६ मा यसलाई १५ वटा पुर्याउनेछ । रेल परियोजनाको अतिरिक्त शहरले सन् २०२५ डिसेम्बरमा सुरु हुने पहिलो स्वायत्त मेट्रो रेलको परीक्षण गर्ने तयारी गरिरहेको छ। स्वायत्त मेट्रो रेलको पूर्ण यात्री सेवा सन् २०२६ का लागि प्रत्याशित गरिएको छ । यसले स्मार्ट सार्वजनिक यातायात समाधानमा विश्वव्यापी नेताको रूपमा मस्कोको स्थितिलाई अझ बलियो बनाउनेछ। यो पहलले प्राविधिक प्रगति र दिगो शहरी गतिशीलताको लागि मस्कोको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । यसको उद्देश्य यात्रु अनुभव सुधार गर्ने, उत्सर्जन घटाउने र लामो अवधिमा ट्राफिक दक्षता बढाउने रहेको छ ।
संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्नुपर्छ: डा. कोइराला
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्ने बताएका छन् । डा. कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गरी ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाले उठाएको आवाजप्रति आफ्नो पूर्ण समर्थन रहेको बताए । ‘जहानियाँ राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि सङ्घर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, म हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु,’ उनले भने । डा. कोइरालाले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । पूर्वमहामन्त्री डा. कोइरालाले सरकारी, सार्वजनिक सञ्चार गृह, उद्योग, व्यवसाय तथा कलकारखाना साथै निजी सम्पत्ति र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमणजस्ता घटनाको विरोध गरे । आन्दोलनपश्चात मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यक रहेकाले यसका लागि देशभित्रका सबै पक्षबीच सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गद्वारा शान्तिपूर्ण समाधान निकाल्नु आजको आवश्यकता भएको उनको भनाइ छ । यसतर्फ जेनजी युवाहरूको पूर्ण सकारात्मक भूमिका रहने विश्वाससमेत उनले व्यक्त गरे । जेनजीको ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी न्यायोचित मागहरु वर्तमान संविधानभित्रै रहेर समाधान गर्नुपर्ने उनले बताए । डा. कोइरालाले ६५ वर्ष लामो राजनीतिक सङ्घर्ष, त्याग, तपस्या र बलिदानको परिणाम स्वरूप नेपालमा पहिलोपटक जन निर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्नुपर्ने उल्लेख गरे । संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलको पहल सराहनीय भएको र उक्त पहलमा सबैको साथ र समर्थन रहनेमा उनले विश्वास व्यक्त गरे ।
नेपाल इन्स्योरेन्सको सेयर आजदेखि बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७ अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरेको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त समयमा कम्पनीको संस्थापक सेयरधनी समूहतर्फ ४ हजार ४६८ कित्ता सेयर र सर्वसाधारण सेयरधनी समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता गरी कुल १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको थिएन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयर लागि आवेदन दिनु पर्नेछ । इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ ।
सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदी बन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदी बन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदी बन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेको कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए । ‘हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आएका छन्, सम्पर्कमा आउनेक्रम जारी छ । अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन्, कतिपय इलाका प्रहरीको सम्पर्कमा आएका छन्,’ जोशीले भने । केही कैदी बन्दीलाई प्रहरीले प्रक्राउ गरेर समेत ल्याएको उनको भनाइ छ । बुधबार मात्रै कारागारबाट भागेका ८ जना कैदी बन्दीलाई भारतीय सीमानाका गड्डाचौकीमा भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोराका अनुसार कञ्चनपुर कारागारमा ४७८ जना कैदीबन्दी थिए । जसमध्ये मङ्गलबार साँझ ४५५ जना भागेका थिए । भागेका मध्ये ९ जना कैदीबन्दी बुधबार बिहान आफैँ कारागार फर्किएका थिए । कारागार प्रशासनका अनुसार २३ जना बन्दीहरु भागेका थिएनन् । जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागूऔषधका बन्दीहरु छन् । त्यसैगरी महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।
प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह
काठमाडौं । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भने, ‘हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।’ नागरिकहरूको विरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ शान्ति, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली, अमेरिका र यस क्षेत्रको चासोको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई नेपाल सरकारले सम्बोधन गर्ने विश्वास गरिएको छ ।
बीमा दाबीलाई सहज बनाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फर्च्छ्यौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सहज बनाउन प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई आग्रह गरेको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए । असहज अवस्थाका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीका विवरण साप्ताहिक रूपमा उपलब्ध गराउन समेत प्राधिकरणले आग्रह गरेको छ । यही भदौ २३ र २४ गतेको प्रदर्शन तथा तोडफोडका कारण ठूलो जनधनको क्षति भएको छ ।
सर्वदलीय र सर्वपक्षीय सरकार गठन गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताएका छन् । नेता खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति समवेदना तथा सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार गर्न माग गरे । आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाट र सर्वनाशका घटनाबाट मुलुक अहिले शान्तितर्फ फर्किरहेको उल्लेख गर्दै इतिहासमा जेनजी पुस्ताको आन्दोलनको समेत समीक्षा हुने भन्दै तात्कालिक अवस्थामा शान्ति कायम गरेर मुलुकलाई पुनःस्थापना र अग्रगतितर्फ लैजानै मुख्य कार्यभार रहेको बताए । शान्त, संयमित र धैर्यवान बन्न आग्रह गर्दै नेता खनालले मुलुकलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी रहेको उल्लेख गरे। उनले भेटघाट, वार्ता र सहमतिबाट संविधानलाई आधार बनाएर साझा नीति तथा कार्यक्रम निर्धारण गर्नुपर्ने विचार व्यक्त गरे । उनले सहमतिका आधारमा सर्वदलीय र सर्वपक्षीय सरकार गठन गरी देश, जनता र राष्ट्रलाई पुनः गठन, पुनःस्थापना, समृद्धि र समाजवादको दिशामा अघि बढाउन आग्रह गरे ।