मोन्था आँधीको प्रभाव कमजोर बन्दै, केही स्थानमा वर्षाको सम्भावना कायमै
काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देश भरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागमा केही बदली भए पनि बाँकी भू-भागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
महामन्त्रीद्वयले प्रधानमन्त्रीलाई भने - एमाले पनि चुनावबाट भाग्न सक्दैन, सहमतिमा ल्याउने प्रयास गर्दैछौं
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी छन् । सो क्रममा महामन्त्रीद्वयले भने, ‘औपचारिक निर्णय गर्न बाँकी भए पनि कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। शीघ्र यसबारे आधिकारीक निर्णय पनि गर्छौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने विश्वास छ । एमालेलाई सहमतिमा ल्याउन सरकारले पनि थप प्रयास गर्नुपर्ने देखिन्छ। हामी पनि प्रयासरत छौँ ।’ उनीहरूले आफ्नो पार्टीले जेनजी युवासहित अन्य दलसँग पनि शीघ्र निर्वाचनलगायत समसामयिक विषयमा गहन संवाद गर्ने बताए । महामन्त्रीद्वय थापा र शर्माले जेनजी युवालगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचन अघि केकसरी सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा अहिले नै सहमति गरेर जानुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ । आज एमाले सचिवालय बैठक भएकाले छलफल अर्को दिन गर्ने एमाले नेतृत्वले बालुवाटारमा जानकारी गराएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरूसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्रीकै आह्वानमा यसअघि सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि भइसकेको छ ।
प्रधानमन्त्रीद्वारा आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छन् । आइतबार दिउँसो ४ः०० बजे बालुवाटारमा बस्ने गरी सातै प्रदेशका मुख्यमन्त्रीलाई जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ ।
मनास्लु क्षेत्रमा घाइते भएका पर्यटकको उद्धार
गोरखा । मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका पर्यटकको आज हेलीद्वारा उद्धार गरिएको छ। बिहीबार चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर घाइते भएका झापाका मिनुइन्द्र लम्सालको तीनदिनपछि उद्धार गरिएको हो। प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्वारमा ढिलाइ भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । घाइतेलाई आज दिउँसो सिम्रिक एयरको हेलीमार्फत उद्वार गरी काठमाडौं पठाएको उनले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका लम्सालको बिही स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिरहेको थियो । बिहीबार बिहान सामागाउँबाट फर्कँने क्रममा चुमनुब्री–४ बुर नजिकैको पहिरोमा भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर ४४ वर्षीय लम्साल गम्भीर घाइते भएका थिए । उनीसँगै विशाल लम्साल र दीपेन्द्र न्यौपाने पनि रहेकामा दुवै जना सकुशल रहेका प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए ।
तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र-०२-०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ भने एकजना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट १८.२० प्रतिशत लाभांश पारित
काठमाडौं । मुक्तिनाथ विकास बैंकले शनिबार पोखरामा उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहने निर्णय भएको छ । साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाले आव २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुमोदन गर्नुका साथै बैंकको चुक्ता पूँजी ९ अर्ब ३ लाख ८८ हजार ७ सय ६७ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने र पूँजीवृद्धि पश्चात नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ। साथै, आव २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि स्वीकृत गरिएको छ । कार्यक्रमको औपचारिक उद्घाटन अध्यक्ष मल्लले गरेका थिए । स्वागत मन्तव्य सञ्चालक समिति सदस्य भरत प्रसाद लम्सालले राखे भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्था, उपलब्धि तथा भावी रणनीतिबारे जानकारी दिएका थिए । सभामा प्रस्तुत प्रतिवेदनमाथि विभिन्न सेयरधनीले सुझाव तथा जिज्ञासा राखेका थिए, जसका बारेमा अध्यक्ष मल्ल र सीईओ पोखरेलले स्पष्टीकरण प्रदान गरेका थिए ।
माल्दिभ्समा धूमपान ‘पुस्ताको प्रतिबन्ध’ लागू : २००७ पछि जन्मिएका सबैलाई सुर्तीजन्य पदार्थ निषेध
काठमाडों । माल्दिभ्स सरकारले शनिबारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ । योसँगै 'धूमपानमा पुस्तागत प्रतिबन्ध' औपचारिक रूपमा सुरु गरिएको मुलुकहरूमध्ये माल्दिभ्स विश्वकै पहिलो देश बनेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रपति मोहम्मद मुइजुले यस वर्षको सुरुआतमा घोषणा गर्नुभएको यो नीति नोभेम्बर १ देखि कार्यान्वयनमा आएको हो । मन्त्रालयले यसलाई ‘जनस्वास्थ्यको संरक्षण र सुर्तीजन्यमुक्त पुस्ता निर्माणतर्फको निर्णायक कदम’ भनेर व्याख्या गरेको छ । 'नयाँ प्रावधान अन्तर्गत सन् २००७ जनवरी १ मा वा त्यसपछि जन्मिएका व्यक्तिहरूलाई माल्दिभ्सभित्र सुर्तीजन्य उत्पादन किन्न, प्रयोग गर्न वा बिक्री गर्न निषेध गरिएको छ', मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, 'यो प्रतिबन्ध सबै प्रकारका सुर्तीजन्य पदार्थमा लागू हुनेछ र खुद्रा विक्रेताहरूले बिक्री अघि खरिदकर्ताको उमेर प्रमाणित गर्नुपर्नेछ ।' यो कानूनले माल्दिभ्सको पर्यटनमैत्री छविमा नयाँ स्वास्थ्य सन्देश थपेको छ । करिब ८०० किलोमिटर (५०० माइल) फैलिएको र एक हजार १९१ साना कोरल टापुहरू मिलेर बनेको यस द्वीप राष्ट्रमा प्रवेश गर्ने पर्यटकहरूसमेत सो प्रतिबन्धको दायरामा पर्नेछन् । स्वास्थ्य मन्त्रालयले इलेक्ट्रोनिक सिगरेट र भ्यापिङ उत्पादनहरूमा पनि पूर्ण निषेध लगाएको छ । यो प्रतिबन्ध उमेरका आधारमा नभइ सबै व्यक्तिमा समान रूपमा लागू हुनेछ । नियम उल्लङ्गन गर्नेलाई कडा सजाय तोकिएको छ । १८ वर्षमुनिका व्यक्तिलाई सुर्तीजन्य वस्तु बेच्ने व्यापारीलाई ५० हजार माल्दिभ्सी रुफिया (झन्डै तीन हजार २०० अमेरिकी डलर) जरिवाना हुनेछ भने भ्याप उपकरण प्रयोग गर्नेलाई रु पाँच हजार फिया (३२० अमेरिकी डलर) सम्मको जरिवाना हुनेछ । यो नीति बेलायतमा प्रस्तावित समान ‘पुस्तागत धूमपान प्रतिबन्ध’ भन्दा अघि लागू भएको हो । बेलायतमा सो प्रस्ताव अझै संसद् प्रक्रियामा छ भने यस्तो कानून लागू गर्ने पहिलो देश न्युजिल्यान्डले लागू भएको एक वर्ष पनि नपुग्दै सन् २०२३ नोभेम्बरमा आफ्नै प्रतिबन्ध खारेज गरेको थियो । माल्दिभ्सले भने सो नीति दीर्घकालीन स्वास्थ्य रणनीति र नयाँ पुस्तालाई सुर्तीजन्य जोखिमबाट जोगाउने ऐतिहासिक उपलब्धि भएको बताएको छ । स्वास्थ्य मन्त्रालयले भनेको छ, 'हामी धूमपानमुक्त पुस्ता निर्माण गरेर स्वस्थ र सशक्त माल्दिभ्सतर्फ अग्रसर भएका छौँ ।' रासस
काठमाडौंको ५० वर्षे शहरीकरण गुरुयोजना बनाउन सरकारको तयारी
काठमाडौं । सरकारले काठमाडौंको उपत्यकाको शहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ । वागमती सफाइ महाअभियानको ६५० औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका शहरीकरको गुरुयोजना तयार गरी सोही बमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताए । ‘अहिले हामीसँग छोटो समय छ तर काठमाडौं उपत्यकामा आगामी ५० वर्षमा बढ्ने जनसङ्ख्याको प्रक्षेपण गरी सुन्दर बनाउन दीर्घकालीन गुरुयोजना बनाएर सोही बमोजिम शहरलाई सुन्दर बनाउन ढल, विद्युत, खानीपानी, सडक, फोहोर व्यवस्थापन, ढल प्रशोधन केन्द्र स्थापनालगायतका योजना एकीकृत रुपमा बनाएर सोही बमोजिम काम अगाडि बढाउन लागेका छौं,’ मन्त्री घिसिङले भने, ‘नदी सफा नभएसम्म शहरी सौन्दर्य कायम हुन सक्दैन, यसका लागि ठूलो लगानी आवश्यक छ, त्यसैले नदी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थायी सरकार मिलेर संयुक्त रुपमा नदी सफाइ व्यवस्थापनको काम गर्न जरुरी छ ।’ उपत्यकाका नदीनाला सफा भएर नुहाउन सक्ने अवस्था नबनेसम्म शहर सफा हुन नसक्ने उल्लेख गर्दै उनले नदीलाई सफ राख्न जनस्तरबाट सञ्चालन गरिएको महाअभियानलाई धन्यवाद दिए । बागमतीमा जम्मा भएको फोहोर निकाल्ने मात्र नभई मानिसको मन सफा गर्ने उद्देश्यका महाअभियान सञ्चालन गरिएको उल्लेख गर्दे प्रमुख अभियन्ता पूर्वमुख्य सचिव लिलामणि पौड्यालले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई शहरीकरणका अन्य काममाभन्दा योजनावद्ध रुपमा ढल निर्माण र प्रशोधनमा केन्द्रीत गराउन सुझाव दिए । समितिले सन् २०२५-४५ कार्ययोजना तयार गरेको छ । कार्य योजनामा जलस्रोत संरक्षण र सम्वर्धन गरी नदीहरुमा पानीको मात्र बढाउने, जैविक विविधता संरक्षण गर्ने, दिगो शहरी विकास गर्ने, पानीको गुणस्तर र मात्रामा सुधार गर्ने, नदीको बहाव क्षेत्र र सार्वजनिक जग्गाको संरक्षण गर्नेलगायतका उद्देश्य राखिएका छन् । कार्ययोजना कार्यान्वयन गर्न करिब २ खर्ब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।