माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतो बाहिरिँदै
काठमाडौं । माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला सेयरधनी हुन्, सुरेन्द्र महतो । वार्षिक प्रतिवेदन अनुसार बैंकमा महतोको सेयर स्वामित्व १०.९५ प्रतिशत अर्थात् १ अर्ब १२ करोड ३२ लाख ४९ हजार रुपैयाँ रहेको छ । तर, महतोले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्री गरेर बैंकबाट बाहिरिने निर्णय गरे । बैंकको संस्थापक समेत रहेका महतोले आफ्नो स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेका हुन् । महतोको उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बोलपत्र पेश गर्नु पर्नेछ । यदि उक्त समयमा आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । इच्छुक सेयरधनीहरुले सेयर बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलमा बोलपत्र पेश गर्नु पर्नेछ ।
पाँच तारा सहकारीले १५ प्रतिशत लाभांश दिने
काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ । सस्थाको १६ औं साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयर सदस्यहरुलाई नगद दिने घोषणा गरेको हो । संस्थाको गत आर्थिक वर्षको असार मसान्तसम्म ८ करोड ११ लाख रुपैयाँ शेयरपुँजी, ५ करोड ८६ लाख रुपैँया साधारण जगेडा कोष र ५२ करोड ५३ लाख ७९ हजार रुपैयाँ बचत संकलन गरी ६५ करोड ५६ लाख २३ हजार ऋण लगानी गरेको छ । संस्थाले गत आ.व.मा खुद नाफा १ करोड २२ लाख २५ हजार गरेको छ । सभाले शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट समेत गरी सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । संस्थामा २११४ सदस्य आवद्ध रहेका छन् । संस्थामा आवद्ध कुल सदस्यमध्ये १५२० जनाले मासिक बचत गर्दै आएका छन् ।
जलवायु अनुकुलनमा बजेट वृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड
काठमाडौं । जलवायु अनुकुलनमा बजेट वृद्धि गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । विभिन्न अध्ययनहरुले पछिल्लो समय विपद्का घटनाहरु बढ्दै गएको र ती घटनामध्ये ७५ प्रतिशत घटना जलवायुजन्य रहेको देखाएका छन् । यीनै अध्ययन प्रतिवेदनका आधारमा विज्ञहरुले जलवायु परिवर्तनजन्य विपद्का घटनाको जोखिम न्युनिकरणका लागि अनुकुलनमा बजेट बढाउनुपर्ने सुझाव दिएका हुन् । विपद् जोखिम न्युनिकरण दिवसको सन्दर्भमा विकासन्युुजसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डाक्टर धर्मराज उप्रेतीले विश्वव्यापी रुपमा विपद् जोखिम न्युनिकरणमा ६३ र जलवायु अनुकुलनमा ३५ प्रतिशत बजेट खर्च हुने गरेको उल्लेख गर्दै अनुकुलनतर्फ बजेट वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । जलवायु परिवर्तनलाई रोक्न नसकिने भएकाले अनुकुलनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । सरकारले योजनाहरु जलवायुमैत्री हुन् भन्ने उद्देश्यका साथ सन् २०१२ मा जलवायु कोड ल्यायो । तर २०१२ देखि २०२३ सम्मको अवस्थामा लगभग पाँच प्रतिशत भन्दा बढी बजेट जलवायुमा विपद् जोखिम न्युनिकरणको लागि छुट्याएको पाइँदैन । साथै यस्ता बजेटहरु रुकमान्तर गरी अन्य शिर्षकमा राखेर खर्च गर्ने प्रवृत्ति सबै तहका सरकारमा देखिँदै आएको छ । हालै क्यानडामा भएको विश्व सम्मेलनमा पनि जलवायुजन्य विपद्का घटना बढ्दै गएको निष्कर्ष निकाल्दै अनुकुलनमा बजेट वृद्धि गर्नुपर्ने आवाज उठेको उल्लेख गर्दै जलवायु तथा विपद् विज्ञ उप्रेतीले न्युनिकरण र अनुकुलन दुवैमा काम नगर्ने हो भने विपद्जन्य जोखिमका घटनाले खतराको घण्टी बजाउने चेतावनी समेत दिए । आर्थिक वर्षको अन्त्यतिर रकमानान्तर गरेर रकमानन्तरको शिर्षकमा हालेर खर्च गर्ने प्रवृत्तिपनि देशभर देखिएको छ । अल्पविकसीत र विकासोन्मुख देशमा बढी जोखिम विपतका घटना पछिल्लो २० वर्षमा अध्ययन गर्ने हो भने विपद्जन्य घटनाहरु बढ्दै गएको र विपद्का कारणले गर्दा ठूलो धनजनको क्षती बढ्दै गइराखेको अवस्था देखिएको छ । उनले वशहुप्रकोपिय जोखिममा रहेको देश नेपालमा जलवायुजन्यसँगै भूकम्प, आगलागी लगायत अन्य प्राकृतिक जोखिमहरु पनि रहेको बताए । उनका अनुसार संसारभर नै जलवायुजन्य विपद्का घटनाहरु बढ्दै गएका छन् । विभिन्न क्षेत्रमा असमानताहरु बढेको र त्यसले विपद् जोखिम न्युनिकरणलाई प्रभाव पारिरहेको भन्दै उनले सबै किसिमका असमानता अन्त्यको लागि जलवायुजन्य बजेटमा वृद्धि गर्नुपर्नेमा जोड दिए । विकासका संरचनाहरु विपद्मैत्री हुनुपर्ने विकास भन्ने बित्तिकै वाटो बनाउने र ठूला ठूला भौतिक संरचनाको विकास भन्ने बुझाईमा परिवर्तन हुनुपर्ने देखिन्छ । साथै त्यस्ता मानवश्रृजित भौतिक संरचनाहरु निर्माण गर्दा विपद्को पूर्व आँकलन नगरेकाले तीनै संरचनाले विपद् निम्त्याउने गरेको उल्लेख गर्दै विज्ञहरुले विकासलाई विपद्मैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
विराटनगर । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । शनिबार ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । यसअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ (मुख्यमन्त्रीमा नियुक्त कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बू) को प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरिएको थियो ।
तीन महिनामा मनाङ एयरका दुई ठूला दुर्घटना, क्यानले गर्यो एओसी निलम्बन
फाइल फोटो काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले मनाङ एयरलाई दिईएको एयर अपरेशन सर्टिफिकेट (एओसी) निलम्बन गरेको छ । शनिबार बिहान रुम्झाटारबाट लोबुुचे पिकका लागि उडान भरेको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनासँगै प्राधिकरणले तत्काल मनाङ एयरलाइ दिएको एओसी निलम्बन गरेको हो । तीन महिनाको अबधिमा दुुई ठूला दुर्घटना भएको भन्दै प्राधिकरणले तत्काल एओसी निलम्बन गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ । गत असारमा समेत मनाङ एयरले जहाज दुर्घटनामा परेको थियो । छोटो समयमा एकै वायुुसेवा कम्पनीका २ ठूला दुुर्घटना घटेको भन्दै प्राधिकरणले एओसी नै निलम्बनको तयारी भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । गत असार २६ गते सोलुखुम्बुको लामजुरा पास नजिकै मनाङ एयरको हेलिकप्टर दुर्घटनाहुँदा पाइलटसहित ६ जनाको मृृत्यु भएको थियो । उक्त जहाजका क्यापटेन चेतबहादुर गुरुङ र ५ जना विदेशीसहित ६ जनाकै मृत्यु भएका थियो ।
एशिएन प्रोफेस्नल आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड पर्यटन उद्यमी शाहलाई
काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ । व्यवसायी शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत एशियन प्रोफेस्नल एचिभमेन्ट अवार्ड अन्तर्गतको आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको हो । वेष्ट रिेसोर्टका संचालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले उक्त अवार्ड प्रदान गरेका हुन् । नेपालको आतिथ्य उद्योगमा एक प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत उक्त अवार्ड प्रलान गरिएको हो । आफ्नो प्रतिबद्धता र उदाहरणीय नेतृत्वको लागि परिचित शाहको पर्यटन उद्योगमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । शाहले होटल/मोटेल प्रशासन/व्यवस्थापनमा स्नातक हासिल गरेका छन् । सोल्टी होटलबाट आफ्नो व्यवसायीक यात्रा शुरु गरेका उनले हायात रेजेन्सी, समिट ग्रुस होटल एण्ड रिसोर्टमा काम गरिसकेका छन्् । दुई दशकभन्दा लामो समय पर्यटन उद्योगमा समय विताएका शाहले काठमाडौंको अग्रगामी पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स लिमिटेडको महाप्रबन्धकको रूपमा सात वर्ष काम गरे जहाँ उनले आफ्नो सफल छाप छाडे । उनको दूरदर्शी नेतृत्वमा चन्द्रागिरि हिल्सले नेपालको पर्यटन परिदृश्यमा आफ्नो स्थान उचाल्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रतिष्ठित गन्तव्यमा परिणत भएको छ । पर्यटन उद्योगमा ठूलो योगदान पुर्याएका शाहले भारतको पर्यटन विकास निगमबाट सन् २०१९ मा प्रतिष्ठित ‘वर्षको सबैभन्दा युवा महाप्रबन्धक’ पुरस्कार प्राप्त गरेका छन् । यसबाहेक, पर्यटन र आतिथ्य उद्योगमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड, लन्डनमार्फत अन्तर्राष्ट्रिय मान्यता प्रदान गरियो । यस्तै शाहलाई नेपाल सरकारले राष्ट्रको लागि उत्कृष्ट सेवाको कदर गर्दै प्रबल जनसेवा श्री पदकबाट सम्मानित गरेको थियो ।
चिकित्सक कुटपिट गर्ने दुईजना कारागार चलान, धरौटी बुुझाएर ७ जना रिहा
फाइल फोटो कास्की । तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत अदालत पेश हुँदा कास्की जिल्ला अदालतबाट उनीहरुलाई कारबाहीको फैसला गरिएको हो । कारागार चलान हुनेमा पोखरा महानगरपालिका–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसैगरी घटनामा संलग्न पोखरा–४ का सुजित मुल्मी, पोखरा–५ का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा–९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा–२० का मनिष थापा र पोखरा–११ प्रदीप गुरुङ जनही रु एक लाख धरौटी राखी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अझै पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ । यही असोज ८ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको अस्पतालमा उपचारका क्रममा निधन भएपछि पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई मृतकका आफन्तले कुटपिट गरेका थिए । बिरामीको मृत्युपछि उपचारमा डाक्टरको लापर्बाहीको कारण बिरामीको मृत्यु भएको र मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए । अस्पताल तोडफोड गरेपछि कास्की प्रहरीले नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पोखराको मणिपालका अस्पतालको घटनालाई लिएर कास्कीसहित देशभरका चिकित्सकले आकस्मिकबाहेकको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए । सरकारले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरी कानुनी कारबाहीको प्रतिबद्धता जनाएपछि चिकित्सक काममा फर्किएका थिए ।
कोशीमा हस्ताक्षर सनाखत कार्य सम्पन्न
कोशी । कोशी प्रदेशमा मुुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुुझाएका थिए । सोही हक दाबी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गरेका थिए । नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका छन् ।