आज र भोलि धान नकाट्न किसानलाई मौसम विद्को आग्रह, दुई दिन वर्षाको सम्भावना
फाइल फाेटाे काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्राधानाङ्गले जानकारी दिए । उनका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा भोलिसम्म रहने भएकाले आज र भोलि किसानले धान नकाट्दा राम्रो हुने मौसमविद् प्राधानाङ्गले बताए । काठमाडौंमा अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको र काठमाडौंमा अपराह्नतिर हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् प्राधानाङ्गले जानकारी दिए । यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।
दशैंमा घर जानेलाई लक्षित गर्दै नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ सञ्चालन
फाइल फाेटाे काठमाडौं । दशैंमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेक्समार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको जानकारी दिए । हेल्थ डेक्समा काठमाडौँ महानगरपालिका वडा नं २६ को टोली खटाइएको छ । उनले दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताए । यस्तै, महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक नयाँ बसपार्कबाट ३० हजार यात्रु काठमाडौँबाट बाहिर गएको बताए । उनले आगामी एक–दुई दिनमा उक्त सङ्ख्या बढ्नेसमेत उल्लेख गरे । अहिले दैनिक काठमाडौँको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।
आजदेखि खाद्यले बेच्न थाल्यो खसीबोका, बजारमा भन्दा सस्तो पाइने
फाइल फाेटाे काठमाडौं । दशैंलाई लक्षित गर्दै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्यांग्राको बिक्री वितरण सुरु गरेको छ । कम्पनीले सोमबार खसीबोका तथा च्यांग्राको मूल्य निर्धारण गरेर मंगलबार बिहानदेखि कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेलेका अनुसार जीउँदो खसीबोका प्रतिकिलो छ सय ८० रुपैयाँ तथा च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय ६० रुपैयाँमा बिक्री सुरु भएको छ । उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् । कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दशैंमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।
२५० रुपैयाँ प्रतिकित्ता सेयरमा आइपिओ जारी गर्ने तयारीमा प्राधिकरण
काठमाडौं । सार्वजनिक संस्थानमा आमसर्वसाधारणको लगानीसमेत भित्र्याउने प्रयासमा रहेको नेपाल विद्युत् प्राधिकरणले २५० रुपियाँ प्रतिकित्ता सेयर मूल्यमा साधारण सेयर जारी गर्ने तयारी भएको जनाएको छ । प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको र यसले संस्थाका वित्तीय स्वस्थ उच्चस्तरको र उच्च जोखिम वहन गर्ने क्षमता रहेको देखाउँछ । यसले गर्दा लगानी अत्यधिक लाभदायक हुने देखाउँछ । अघिल्लो वर्ष पनि सोही रेटिङ पाएको प्राधिकरणले यस वर्षका लागि पनि इक्रा नेपाल लि. ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘ईक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । ‘डबल ए प्लस’ रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिसकेको छ । प्राधिकरणको चुक्ता पुँजी करिब तीन खर्ब रुपियाँ कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी करिब ६० अर्ब रुपियाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासनको प्रस्ताव गरिएको छ । प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपियाँ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको क्रेडिट रेटिङ भइसकेकाले सरकारबाट स्वीकृति पाउनसाथ सेयर निष्कासनको प्रव्रिmया अगाडि बढाउन सकिने बताउनुभयो । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा सङ्गठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने साङ्केतिक सूचकका रूपमा राय दिइन्छ । वद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ । घिसिङले सार्वजनिक निकायमध्ये प्राधिकरणले ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएकाले संस्थामा वित्तीय दायित्व वहन गर्न सक्ने उच्च तहको सुरक्षित क्षमता देखिएको बताए । ‘क्रेडिट रेटिङबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो देखिएको छ, ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको छ । हरेक वर्ष हुने विद्युत् निर्यात, आन्तरिक खपत वृद्धि तथा प्रणालीको चुहावट नियन्त्रणमा हासिल भइरहेका सफलताले संस्थाको नाफा बढ्दै जाने छ’, घिसिङले भने, ‘विद्युत् उत्पादनतर्फका आयोजना निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि ठुलो पुँजी आवश्यक पर्ने छ, यसका लागि संस्थाले कमाएको नाफा र सेयर निष्कासनबाट प्राप्त हुने रकमबाट लगानीको खाडल पूरा गर्ने योजना बनाएका छौँ ।’ प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताले निर्माण गर्ने जलविद्युत् आयोजनासँग दीर्घकालीन विद्युत् खरिद सम्झौता (पिपिए) गरिहेको छ । क्रेडिट रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ । प्रसारण तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि गरिएको पुँजी प्रतिबद्धताले प्राधिकरणलाई अल्कालीन रूपमा संस्थाको नगद प्रवाहमा चाप पार्न सक्ने ईक्रा नेपालले उल्लेख गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रुपियाँको खुद नाफाको प्रक्षेपण गरेको छ । गोरखापत्र दैनिकबाट ।
विश्वस्तरीय लिंकन युनिभर्सिटी कलेजको बिबिए आइआइएमएस कलेजमा
काठमाडौं । स्नातक तहमा व्यवस्थापन विषय अध्ययन गर्न चाहने धेरै विद्यार्थीहरुको रुचीको संकाय हो बिबिए । कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुले स्नातक तहमा के विषय पढ्ने र कुन विश्वविद्यालयको कार्यक्रम कुन कलेजमा पढ्ने भन्ने विषयलाई निकै महत्व दिएका हुन्छन् । नेपालमा एक दर्जन बढी संख्याका नेपाली विश्वविद्यालय र एक दर्जन बढी संख्याका विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । व्यवस्थापन संकायका शैक्षिक कार्यक्रम पनि नेपालमा धेरै विश्वविद्यालयले सञ्चालन गर्छन् । काठमाडौं पुतलीसडकस्थित धोविधारा मार्गमा रहेको आइआइएमएस कलेजले विश्वविद्यालयहरुको अन्तर्राष्ट्रिय र्याङकिङको उच्च श्रेणीमा पर्ने लिंकन युनिभर्सिटी कलेजको बिबिए शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा निकै लोकप्रिय हुँदै आएको सो कलेजले सञ्चालन गरेको स्नातक तहका विभिन्न कार्यक्रम मध्ये बिबिए संकायमा विद्यार्थीको आकर्षण बढ्दै गएको व्यवस्थापन विभागका निर्देशक सत्येन्द्र उप्रेती बताउँछन् । निर्देशक उप्रेतीका अनुसार लिंकन युनिभर्सिटी कलेजले तय गरेको बिबिए कोर्ष विशिष्ट प्रकारको भएको र व्यवहारिक आधारमा अध्यापन गराइने भएकाले पछिल्लो पुस्ताका विद्यार्थीमा कलेजप्रति आकर्षण बढेको सुनाए । लिंकन युनिभर्सिटी कलेज सन् २०२३ मा टाइम्स हाइयर एजुकेसनको क्वालिटी एजुकेसन सूचीमा ३२ औं नम्बरमा परेको छ । ‘लिंकनले बिबिए कोर्षको डिजाइन मुलतः प्रयोगात्मक बनाएको छ, त्यसैले हामीले लर्निङ बाई डुइङ विधिबाट अध्यापन गराउने गर्छौं’, उनले भन्छन्, ‘पहिला नलेज दिन्छौं अनि विद्यार्थीले प्रोजेक्टमा सिक्ने गर्छन् ।’ आइआइएमएस कलेजले पढाइको प्रकृयालाई व्यवहारिक बनाउन विद्यार्थीहरुमार्फत् इभेन्ट आयोजना गर्ने विषयलाई निकै महत्वका साथ कार्यान्वयन गर्ने गरेको छ । सिक्ने विधि प्रयोगात्मक हुने भएकाले आइआइएमएस कलेजमा बिबिए अध्ययन गर्ने विद्यार्थीहरु पढाइ सकिएपछि भन्दा पनि अधिकांश पढाइकै क्रममा रोजगारको बजारमा जोडिने गरेको निर्देशक उप्रेती बताउँछन् । कतिपय विद्यार्थीहरु आँफैले कम्पनी खोज्ने र कतिपय विद्यार्थीको लागि कलेजले कम्पनी खोज्दिने गर्छ । ‘पहिला हामीले नलेज दिन्छौं, पढेको विषय बुझे की बझेनन् भन्ने कुरा प्रोजेक्टबाट सिक्छन्, त्यसपछि फेरि उनीहरुले सो विषय वास्तविक जीवनमा हुन्छ की हुँदैन भन्ने बुझ्नको लागि फिल्ड भिजिट गरेर नै अध्ययन गर्छन्’, उनी भन्छन्, ‘विद्यार्थीले पढेको कुरा यसरी प्रयोग हुँदोरहेछ है भनेर बुझ्छन् ।’ आइआइएमएसले विद्यार्थीहरुको व्यक्तित्व विकासलाई पनि निकै महत्व दिने गरेको छ । त्यसका लागि कलेजले ‘आइआइएमएस टोस्ट मास्टर क्लब’ सञ्चालनमा ल्याएको छ । जसले पब्लिक स्पिकिङको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्रदान गर्ने गर्छ । टोस्ट मास्टरमा जोडिएका विद्यार्थीलाई रोजगारदाताले निकै मन पराएको निर्देशक उप्रेतीले बताए । उनका अनुसार लिंकनले तोकेअनुसार कलेजले बिबिए अध्ययनको लागि लेक्चर र टुटोरियल कक्षा भनेर छुट्याएको छ । लेक्चर कक्षामा विद्यार्थीलाई कोर्षको सैद्दान्तिक पक्षको बारेमा सिकाउने काम गरिन्छ भने टुटोरियल कक्षामा पढेको विषयलाई कसरी प्रयोगमा ल्याउने भनेर सिकाउने काम गरिने उनले बताए । लिंकनले चार वर्षे बिबिए कार्यक्रमलाई आठ सेमेस्टरको रुपमा विभाजन गरेर पढ्ने तालिका बनाएको छ । जसअनुसार विद्यार्थीहरुले प्रत्येक ६ महिनामा एक सेमेस्टर उत्तिर्ण गर्दै जानुपर्ने हुन्छ । आइआइएमएस कलेज व्यवस्थापन विभागका निर्देशक सत्येन्द्र उप्रेती कसले पढ्न सक्छन् आइआइएमएसमा बिबिए ? निर्देशक उप्रेतीका अनुसार कक्षा ११/१२ मा अंग्रेजी भाषा पढेको तर जुनसुकै विषय पढेका विद्यार्थीले पनि लिंकनको बिबिए कोर्ष पढ्न सक्छन् । सामान्यतया कुनै एक विषयमा डि प्लस आएको बी ग्रेड हासिल गरेका विद्यार्थीले बिबिए पढ्न सक्ने उनको भनाइ छ । त्यस्तै प्रतिशतको आधारमा ४५ प्रतिशत माथि हासिल गरेका विद्यार्थीले सो विषय अध्ययन गर्न सक्ने उनले बताए । सामान्यतया बिबिएमा विद्यार्थीहरुलाई धेरै विषय रोजेर पढ्ने सुविधा हुन्छ । तर, कलेजहरुले आफ्नो सापेक्षतामा निश्चित विषयलाई बढी महत्व दिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका हुन्छन् । आइआइएमएस कलेजमा विद्यार्थीहरुले डिजिटल मार्केटिङ एन्ड एनलाइटिक्स, जनरल म्यानेजमेन्ट, बिबिए फाइनान्स, बिबिए फाइनान्स, बिबिए इन्टरनेशनल बिजनेस लगायतका विषयहरु पढ्न पाउँछन् । निर्देशक उप्रेतीका अनुसार आइआइएमएसमा बिबिए पढ्ने विद्यार्थीहरुलाई केही लेक्चर लिंकन युनिभर्सिटी कलेजका लेक्चरले नै लिने गर्छन । जसले विद्यार्थीलाई काठमाडौंकै कलेजमा पढेर पनि अन्तर्राष्ट्रिय स्तरको अनुभव प्राप्त गर्न सक्छन् । लिंकनले तय गरेको नीति तथा पाठ्यक्रमलाई कलेजले हुबहु कार्यान्वयन गर्ने र लिंकनले पनि समय-समयमा अनुगमन र अडिट गर्ने भएकाले पढाइको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको भएको निर्देशक उप्रेतीको भनाइ छ । बिबिए अध्ययनका लागि विद्यार्थीहरुले आइआइएमएस नै किन रोज्ने ? विद्यार्थीलाई नै सिर्जनशील र व्यवहारिक बनाएर पढाउने विधि पछिल्लो समयमा प्रयोगमा आउँदै गएको छ । निर्देशक उप्रेतीका अनुसार आइआइएमएस कलेजले विद्यार्थीलाई अध्ययनमा पूर्ण सक्रिय बन्न सक्ने विद्यार्थीमैत्री वातावरणको अभ्यास गरेको छ । त्यस्तै, पढेको विषयलाई व्यवहारमा उतार्ने हिसाबले नियमित तालिकाबद्ध रुपमा इभेन्टहरुको आयोजना गर्ने गर्छ, जसमा विद्यार्थीलाई नै अधिक सक्रिय गराउने गरिन्छ । अधिक इभेन्टको आयोजना गर्ने कलेजहरुमध्ये आइआइएमएस अग्रपंक्तिमा रहेको पनि मानिन्छ । इभेन्ट सञ्चालनले विद्यार्थीको निर्णय गर्ने क्षमतामा अभिवृद्दि गर्ने निर्देशक उप्रेतीले बताए । विद्यार्थीको सिर्जनशील क्षमतालाई मध्येनजर गरेर कलेजले बिज हब सञ्चालन गरेको छ । जहाँ विद्यार्थीहरुले आफ्ना आइडिया प्रस्तुत गर्न सक्छन् । विद्यार्थीहरुले कुनै नयाँ सोच ल्याएमा त्यसलाई विकास गर्न कलेजले फन्डिङ गरेर पनि विकास गर्न सहयोग पुर्याउने गरेको छ । कलेजले सञ्चालन गरेको आइआइएमएस टोस्ट मास्टर विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म हो । कलेजले पढाइ मात्रै भन्दा पनि उद्यमशीलतालाई समेत बढी महत्व दिएकाले आइआइएमएस कलेजमा पढ्ने विद्यार्थीहरु अध्ययन कै क्रममा रोजगार वा उद्यममा जोडिन सक्छन् र आफ्नो उद्देश्य हासिल गर्न सक्ने निर्देशक उप्रेतीले बताए । ‘पढाउने प्रयोगात्मक विधि, बिज हब, टोस्ट मास्टर क्लब र अधिक इभेन्टहरुको कारणले विद्यार्थीको उद्देश्य प्राप्तिका लागि सबैभन्दा उत्तम प्लेटफर्म आइआइएमएस कलेज हो भन्ने मलाई लाग्छ’, निर्देशक उप्रेती भन्छन् । साथै आइआइएमएसमा बिबिए पढ्ने विद्यार्थीले पढाइकै क्रममा विदेशको कुनै विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेर जान चाहेमा जानसक्छ । आइआइएमएस कलेजमा बिबिए अध्ययन गर्नको लागि आगामी डिसेम्बर देखि जनवरीसम्म विद्यार्थीहरु भर्ना हुन सक्ने र प्रत्येक वर्ष जनवरी, मार्च र अगस्टमा भर्ना हुन सकिने निर्देशक उप्रेतीले बताए ।
सजिलो ब्रोकर कम्पनी सञ्चालनमा
काठमाडौं । सजिलो ब्रोकर लिमिटेडले सोमबार ब्राेकर सदस्यता पाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आधिकारीक रुपमा स्टक ब्रोकर नम्बर ९० को असोज २९ गते सदस्यता प्रदान गरेको हो । कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनी स्थापना र ब्रोकर लाइसेन्स दिने प्रक्रियामा सहयोग गरेको भन्दै कम्पनीले नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्चेन्ज, सेयरधनी लगायतमा आभार व्यक्त गरेको छ । खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति अनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो । यहि क्रममा सजिलो ब्रोकर पनि सञ्चालनमा आएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, लकर शुल्कमा २५ प्रतिशत छुट
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.९५ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर तोकेको छ । राष्ट्रिय वाणिज्य बैंक रिकरिङ्ग मुद्धती निक्षेप र फूल डबल मुद्धती खातालाई २०७९ माघ १ गते देखि लागु हुने गरि बन्द गरिएको बैंकले जनाएको छ । उपभोक्ता समितिको चल्ती खाता शून्य मौज्दातमा खोल्न सकिने छ । यस्तै, २०७९ माघ १ गते देखि खोलिने सबै प्रकारको मुद्धती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिने बैंकले बताएको छ । बैंकका अनुसार महालक्ष्मी र कर्मयोगी बचत खाता खोल्दा लकर शुल्कमा २५ प्रतिशत छुट हुनेछ ।
गैर आवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् । अध्यक्ष ढकालले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताए । ‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ,’ ढकालले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ ।’ गैर आवासीय नेपालीहरुले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्राउन आग्रह गरे । नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको बताएका हुन् । आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको बताउँदै बागलुङेहरु विदेशमा गएर सफलता प्राप्त गरेको बताए । ‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरु स्थापित भएका छन्,’ ढकालले भने, ‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ ।’