विकासन्युज

काठमाडौं महानगरभित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र सालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौँ प्लाजा) पुग्ने सडक एकतर्फी सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार त्रिपुरेश्वरतर्फबाट काठमाडौँ–ललितपुर जोड्ने नयाँ पुल (विश्व निकेतन) हुँदै गुसिङगाल निस्किने सडक एकतर्फी बनाइएको छ । ‘त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर बायाँतर्फ मोडिएर आउनुपर्ने छ’, भट्टले भने, ‘त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।’ प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौँ प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइने छैन । सडक एकतर्फी बनाइएको जानकारी दिनका लागि सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका प्रहरी टोली खटाइएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

स्वाबलम्बन लघुवित्तको लाभांश हालसम्मकै कम, ७० प्रतिशतसम्म बाँडेको इतिहास

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.३५९९ प्रतिशत बोनस सेयर ०.६५०५ प्रतिशत नगद गरी कूल १३.०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् । लघुवित्तले घोषणा गरेको उक्त लाभांश हालसम्म कै कम हो । यसअघि लघुवित्तले ७० प्रतिशतसम्म लाभांश वितरण गरेको ईतिहास छ ।  लघुवित्तले आर्थिक वर्ष २०६५/६६ र आर्थिक वर्ष २०६६/६७ मा समान १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६७/६८ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा २७.३७ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ७० प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा ५२.६३ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा ५३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३६.८४ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ४० प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा २५ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

इजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

कञ्चनपुर । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् । स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा–८ की श्रीता गुरुङले बताइन् । उनी १४ वर्षदेखि इजरायलमा बसोबास गर्दै आएकी थिइन् । ‘अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन । सानो सानो भइरहेको हुन्थ्यो’, उनले भनिन्, ‘घटनापछि डर लाग्यो । सुरक्षित महसुस गर्न सकिएन । त्यसैले स्वदेश फर्किएँ । यहाँ आएपछि निकै खुसी लागेको छ ।’ इजरायलबाट उद्धार गरिएका गुरुङसहित सात जना पश्चिम सीमा नाका गड्डाचौकीबाट स्वदेश फिर्ता भएका छन् । सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ मध्ये सात जना आज बिहान गड्डाचौकी नाका भएर महेन्द्रनगर पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार इजरायलबाट भारत हुँदै गड्डाचौकी पुगेका उनीहरुलाई गन्तव्यसम्म पुर्‍याउन यातायातको व्यवस्थापन गरिएको छ । ‘१८ जनामध्ये कोही विमानमार्फत घर गएका छन् । कोहीले भारतमै परिवारका सदस्यसँग भेटेका छन्’, प्रहरी उपरीक्षक थापाले भने, ‘सात जना गाडीमार्फत महेन्द्रनगर पुगेका छन् । उनीहरुलाई घरसम्म पुर्‍याउने तयारी गर्दैछौँ ।’ भारत सरकारले आफ्ना नागरिकसँगै १८ नेपालीलाई पनि विमानमार्फत दिल्ली ल्याइदिएको उनले बताए । काठमाडौँका नागरिकलाई विमानमार्फत पठाउने तयारी भइरहेको थापाले जानकारी दिए । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । इजरायल र प्यालेस्टाइनको युद्धपछि फसेका दुई सय ५४ नेपालीलाई पहिलो चरणमा सरकारले नेपाल वायुसेवा निगमको जहाजमार्फत ल्याइसकेको छ । रासस

नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

काठमाडौं । नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन् । संघको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघले नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई संरक्षक चयन गरेको छ भने संघको तीन उपाध्यक्षमा प्रज्वलजंग पाण्डे, सुनिल केसी र शक्तिकुमार बेगानी रहेका छन् । यस्तै, महासचिवमा विश्वेश श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सिग्देल निर्वाचित भएको संघले जनाएको छ । संघको दुई सचिवमा सीताराम थापा र उरुषा चापागाई निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा अर्जुन पौडेल, विजय पौडेल, भरत श्रेष्ठ, चेतन भण्डारी, डीमप्रसाद पौडेल, गोर्मे दोर्जी शेर्पा, निलकृष्ण ताम्राकार र प्रदीक्षा शर्मा निर्वाचित भएको संघले जनाएको छ । यस्तै, प्रकाशबहादुर खत्री, प्रकाश पाण्डे, राजेन्द्र ढकाल, राजेन्द्र सापकोटा, राजेश लामा, राकेशकुमार अडुकिया, सञ्जीवकुमार पाण्डे, शिव ढकाल र उत्तम सिलवाल पनि संघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । संघका अध्यक्ष तिमिल्सिनाले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध विस्तारसँगै लगानी, पर्यटन तथा व्यापारिक क्षेत्रमा संघले घनिभूत ढंगले सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली वस्तुको फिनल्याण्डमा निकासीको राम्रो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले आउँदा दिनमा निकासी प्रवर्द्धनसम्बन्धी कार्यलाई प्राथमिकतामा राखिने बताए । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले फिनल्याण्डबाट ३० करोड ४७ लाख १४ हजार रुपैयाँ बराबरका वस्तु आयात गरी ८ करोड ५७ लाख ६१ हजार मूल्य बराबरको निकासी गरेको थियो ।

चोक-चोकमा चट्पटे, साथीभाइ जमघटको केन्द्र बन्दै

कमलामाई । स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । ‘दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,’ उनले भनिन् । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिएकी थिइन् । जिल्लाको सदरमुकाम सिन्धुलीमाडी क्षेत्रका चोक–चोकमा व्यवसायी ठेलागाडामा चटपटेका सामान राखेर बिक्रीका गर्न बस्छन् । साथीहरुसँग भेटघाट हुँदा होस् वा दिउँसोको खाजा खाने समय तन्नेरी तामाङ त्यतै पुगिहाल्छिन् हुन्छ । उनीजस्तै चटपटे, पानीपुरी खाने ग्राहकको रहरलाग्दो उपस्थितिले व्यवसायीलाई जाँगरिलो बनाएको छ । ठेलागाडामा चटपटे, पानीपुरी मात्रै बेच्दै आएका व्यवसायी तथा व्यापारीले खाजाका ‘आइटम’ थप्दै गएछन् । चटपटे, पानीपुरीसहित समोसा, जुलेवी, चनाभुजा, आलुचप, पकौडा, कचौडी एकै ठाउँमा राख्न थालेका छन् । ठेलागाडामा व्यवसाय गर्नेहरुले बनाएका खानेकुरा स्वादिष्ट हुने उपभोक्तामा छाप बस्दै गएको छ । जति नै प्रकारका खानेकुरा बोके पनि सबैभन्दा बढी बिक्ने पिरो, अमिलो जिब्रोमा च्वास्सै लाग्ने चटपटे र ट्वाक्क परेको पानीपुरी हो । यसको व्यापार सदाबहार हुने व्यवसायी समिरा सुब्बाले बताइन् । ‘चटपटे, पानीपुरी सबैले मन पराउँछन्, विशेषगरी दिउँसो खाजा खाने समय र विद्यार्थीहरुको विद्यालय छुट्टी भएपछि बनाएर दिन भ्याइनभ्याइ नै हुन्छ । विद्यार्थी, कर्मचारी, युवायुवती बढी आउँछन्,’ उनले भनिन् । दुधौली नगरपालिका–११ पत्रिङ्गामा उनको घर छ । पाँच वर्षदेखि छोराछोरी पढाउन जिल्ला सदरमुकामस्थित मधुटारमा कोठाभाडामा लिएर बस्दै आएकी सुब्बाले आफ्नो कोठा नजिकै चटपटे व्यापार गर्न थालेको दुई वर्ष पुग्नै लाग्यो । एक छोरा र एक छोरीकी आमा सुब्बा कोठाको कामधन्दा सकाएर दिउँसो १२ बजे मात्रै व्यापार गर्न निस्कन्छिन् । साँझ ६ बजेसम्म ठेलागाडामा चटपटे, पानीपुरी बेच्न खटिन्छिन् । यसको व्यापार कम लगानीमा गर्न सकिने भएकाले जो कोहीले गर्न सक्ने उनको बुझाइ छ । उनले २५ हजारबाट व्यवसाय सुरु गरेकि हुन् । ‘पन्ध्र महिनाअघि २० हजार ठेलागाडा र पाँच हजार चटपटे, पानीपुरीको सामानमा लगानी गरेर यो व्यवसाय सुरु गरेको थिएँ,’ उनले भनिन्, ‘व्यापार, व्यवसायले हामीलाई आत्मानिर्भर बनाउने रहेछ । दुई वर्षदेखि रोजगारी नपाएर श्रीमान् घरैमा छन् । चारजना परिवारको खर्च यसैको कमाईले टारिराखेको छु ।’ ३० हजार रुपैयाँको लगानीमा सुरु भएको चटपटे व्यवसायबाट मासिक ४० हजार बचत हुने मुकेश चौधरीले बताए । पढाइमा ५ कक्षा उत्तीर्ण नगरेका चौधरीले सिन्धुलीमाडी बजारमा चटपटे व्यापार गरेरै १५ वर्ष बिताइसकेका छन् । २० हजार रुपैयाँको ठेलागाडामा चटपटे, पानीपुरीको सामान, पकौडा, आलुचप, चनासहितको खाजासेट तयार गर्न ग्यास चुलो राखिएको हुन्छ । सोही ठेलागाडा ठेल्दै उनी मधुटारदेखि लोकतान्त्रिचोक, १ नं बजार, गैरीबजार हुँदै २ नं बजारसम्म पुग्नुहुन्छ । बजारमा कपडा, खाद्यान्न, तरकारी, भाँडाकुँडालगायत व्यापार गर्न बसेका अधिकांश व्यापारी उनको ठेलामा तयार भएका खानेकुरा खान रुचाउँछन् । दिउँसोको खाजा खाने समयमा जीवन सँगिनी रानीदेवी चौधरी र उनलाई धौधौ नै पर्छ । रानीदेवीका अनुसार उनकोमा दैनिक ५० देखि एक सयजना बढी खाजा खाने ग्राहक हुन्छन् । ठेलागाडामा गरेको व्यवसाय भए पनि सफा, स्वादिष्ट र गुणस्तर हुने भएकाले सबैको रोजाइमा परेको उनको बुझाइ छ । ‘चटपटे, पानीपुरी स्वादिष्ट बनाउन सबै मरमसलाको मात्रा मिलाउन सक्नुपर्छ । गेडागुडी, काँक्रो, बन्दाकोभी, आलुचप, कचेडी, टमाटर, प्याज, चाउचाउ, दालमोट लगायतका कुरा भुजामा मिसाएर हेर्दै खाउँ–खाउँ लाग्ने बनाउनुपर्छ,’ व्यवसायी रानीदेवीले भनिन् । व्यापार, व्यवसाय गर्नेहरुले आफ्ना सेवाग्राहीलाई माया गर्न जरुरी रहेको व्यवसायी मुकेशको बुझाइ छ । त्यसैले आफ्नो पसलको नाम ‘लभ्ली चटपटे, पानीपुरी पसल’ राखेको उनले बताए । यस पसलले चौधरी दम्पती स्वरोजगार मात्रै भएका छैनन्, आम्दानीबाट सिन्धुलीमाडीको धुराफाँटमा सात धुर घडेरी जोडिसकेका छन् । महोत्तरीमा दुई धुर घडेरी किनेर एकतले पक्का घर बनाइसकेको चौधरी दम्पती बताउँछन् । तीन छोरा र एक छोरीको पढाइ खर्चसहितका सबै खर्च यसैबाट चलेको छ । बाहिरी जिल्लाबाट सिन्धुली आएर चटपटे, पानीपुरी मात्रै व्यापार गरेर आफ्ना सन्तानलाई बोडिङमा पढाउनेलगायतका सबै खर्च टारेर घरजग्गा जोड्ने चौधरी दम्पती त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता उदाहरण जिल्लामा अरू पनि थुप्रै छन् । पच्चिसवर्षे रवि शाहले चटपटे, पानीपुरी व्यापारमा आफ्नो वर्तमानमात्र नभएर भविष्य पनि देखेका छन् । बाजे र बुबाले गरेको पेसालाई उनले निरन्तरता दिएका हुन् । १० जना परिवारको जीविका यही व्यापार, व्यवसायबाट चलेको उनले बताए । ‘जागिर गर्दा अरूको चाहनामा चल्नुपर्छ । आफ्नो व्यापार, व्यवसायको आफैँ मालिक हो । कसैको दबाबमा काम गर्नु पर्दैन । आफ्नो इच्छा, चाहना र खुसीअनुसार मन लागेको गर्न पाइन्छ । यसमा स्वतन्त्रता हुन्छ, स्वाभिमानसहितको सम्मानित जीवन बिताउन पाइन्छ,’ युवा व्यवसायी शाहले सुनाए । उनका अनुसार सिन्धुलीमाडीमा चट्पटेको व्यापार सुरु गर्ने पहिलो व्यवसायी आफ्ना हजुरबा लक्ष्मण र बुबा महन्त शाह हुन् । २०३२ सालमा उनीहरुले सुरु गरेको व्यवसायलाई छोरा नातिले समेत पछ्याउँदै आएका छन् । व्यवसायबाट बाबु–बाजेले सबै परिवारको खर्च टारेर घरजग्गा लगायतका सम्पति जोड्न सफल भएकाले आफूहरुले पनि यसैमा भविष्य देखेको युवा व्यवसायी शाहको भनाइ छ । तीस वर्षदेखि सिन्धुलीमाडीमा चटपटे बेच्दै आएकौ सीतादेवी ठाकुर र कमला चौधरी पछिल्लो समय चटपटे, पानीपुरी व्यापार, व्यवसायमा समस्या, चुनौती थपिएका धारणा राखछिन्। सामान महँगिएकाले व्यापारबाट पहिलाजस्तो आम्दानी लिन नसकेको, व्यापारी र व्यवसायी बढेकाले एकअर्कामा प्रतिस्पर्धा हुने गरेको, सेवाग्राहीहरु मीठो, सस्तो, गुणस्तर खोज्ने र बजारमा प्रतिस्पर्धा गरेर बेच्नु परेकाले पहिलाको भन्दा आम्दानी घटेको उनले बताइन् । बजार क्षेत्रमा ठेलागाडामा चटपटे, पानीपुरी व्यापार गर्ने व्यवसायीहरुलाई नगरपालिकाले विभिन्न बहानामा दुःख दिने गरेकोसमेत उनले गुनासो गरिन् । सानो लगानीमा सुरु गर्न सकिने र खाजाका रुपमा अधिकांश व्यक्तिको रोजाइमा पर्ने पिरो, अमिलो चटपटे, पानीपुरी व्यवसाय जिल्लामा फस्टाउँदै गएको छ । सिन्धुलीको सिन्धुलीमाडी, खुर्कोट, ढुङ्ग्रेवास, चियाबारी, नयाँखर्क, मूलकोट, डकाहा, दुधौली, मरिणलगायत जिल्लाभरका मुख्य–मुख्य चोकमा चटपटे, पानीपुरीको व्यापार बढेको छ । यसबाट व्यवसायीले आकर्षक आम्दानीसमेत दिँदै आएका छन् । रासस

एक वर्षअघिकै रेसियोमा जान थाल्यो सेयर कर्जा, नबिल एक्लैले दियो १० अर्ब ऋण

काठमाडौं । वाणिज्य बैंकहरुले सेयरधितो कर्जा बढाएका छन् । यसअघि केही सुस्ताएका बैंकहरु पछिल्लो समय सेयरधितो कर्जा बढाउन थालेका हुन् । वाणिज्य बैंकहरुले भदौमा प्रवाह गरेको सेयर धितो कर्जा एक वर्षअघिकै हाराहारीमा हो । यसअघि नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाइ गरेपछि केही हच्किएका बैंकहरुले पछिल्लो केही महिना यता भने सेयर धितो राखेर लगानीकर्तालाई सजिलै कर्जा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाएर १५/२० करोड कायम गरेको छ । चालु आर्थिक वर्षको भदौमा बैंकहरुले लगानीकर्तालाई ६० अर्ब ७० करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको साउन महिनाको हारहारीमा हो । गत असारको तुलनामा बैंकहरुको सेयरधितो कर्जा ४ अर्बले बढेको छ । असारमा वाणिज्य बैंकहरुले ५४ अर्ब ६९ करोड ८० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका थिए भने ६ साउनमा ५८ अर्ब ९० करोड रुपैयाँ लगानी गरेका थिए । भदौमा सबैभन्दा बढी नबिल बैंकले सेयरधितो कर्जा लगानी गरेको छ । नबिल एक्लैले १० अर्ब बढी सेयरधितो कर्जा लगानी गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब १३ करोड, नेपाल बैंकले ४ अर्ब २७ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब रुपैयाँ लगानी गरेको छ । यस्तै, सिद्धार्थले ३ अर्ब ९१ करोड, कुमारीले ३ अर्ब ८३ करोड, सिटिजन्सले ३ अर्ब ७५ करोड, प्रभुले ३ अर्ब ७३ करोड, प्राइम कमर्सियलले ३ अर्ब ५८ करोड र लक्ष्मी सनराइजले ३ अर्ब ४१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । यस्तै, एनआइसी एसिया बैंकले ३ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८३ करोड, हिमालयन बैंकले २ अर्ब ६३ करोड, सानिमाले १ अर्ब ८३ करोड, एभरेष्टले १ अर्ब १९ करोड, कृषि विकासले १ अर्ब १४ करोड, एनएमबिले १ अर्ब १० करोड, माछापुच्छ्रेले ५२ करोड र नेपाल एसबिआईले २ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको माग

अन्नपूर्ण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मुस्ताङवासीले जलवायु परिवर्तनको असरबाट  हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन  गरिदिन माग गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङको सदरमुकाम जोमसोममा आज आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल समक्ष स्थानीयवासीले सो माग राखेका हुन् । स्थानीय चन्द्रबहादुर थकालीले जलवायु परिवर्तनका कारण मुस्ताङमा मानवीय र भौतिक क्षति बढेकाले न्यूनीकरणका लागि प्रधानमन्त्रीसँग आग्रह गरेको बताए । ‘जलवायु परिवर्तनको असर हाम्रो जिल्लामा सबैभन्दा बढी परेको छ, स्थानीयवासी उनले भने, ‘यहाँको तापक्रम बढ्दै गएको छ । हिमाल बा हिउँ पग्लँदै गएको छ । यसका कारण उपल्लो मुस्ताङका मानिस विस्थापित पनि भएका छन् । ‘जलवायु परिवर्तनका कारण जिल्लामा उत्पादन हुने स्याउलगायत अन्य बालीमा रोग कीराको समस्या बढिरहेको पनि उनले बताए ।  उनले भने, ‘पुस माघमा पर्नुपर्ने हिउँ फागुन चैतमा पानी र हिउँ पर्नाले यहाँको स्याउ खेतीमा असर परेको छ ।’ उपल्लो मुस्ताङमा घर पालुवा जनावर घट्दै गएको उनले बताए। मुस्ताङी जनताले झेल्नुपरेको समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने स्थानीयवासी उनको भनाइ थियो। बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनको असरका कारण जिल्लामा  वर्षासंगै बेमौसमी हिमपात भएकाले पालिकाभित्र क्षति भएको बताए । ‘गतवर्ष असोज १७ देखि लगातार सात दिनसम्म वर्षा हुँदा धेरै क्षति पुगेको थियो,’ उनले भने, ‘यसवर्ष पनि गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा ठूलो क्षति पुर्‍याएको छ । त्यसैले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि सङ्घीय सरकारले ध्यान दिन जरुरी छ ।’ प्रदेशसभा सदस्य विकल शेरचनले वातावरण अनुकूल विकास निर्माणको काम गर्नुपर्ने, इन्धन खपत कम गर्ने, जैविक विविधता संरक्षण गर्नुपर्ने, हरितगृह ग्यास उत्सर्जनमा विशेष ध्यान दिनुपर्ने बताए । यसमा तीन तहकै सरकारको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । 

मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित

काठमाडौं । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनको लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो । इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनको लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताए । उनले इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको बताए । समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपैयाँ के एण्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको जानकारी दिए । उनले आयोजनाको वातवरण मूल्याङ्कन प्रतिवदेन पास हुने र सरकारसँग आयोजना विकास सम्झौता गर्न बाँकी रहेको बताए । नेपालका कानूनी प्रक्रियाहरु लामा भएकाले प्रक्रिया पूरा गर्नको लागि काम गरिहेको भन्दै १८० दिनभित्र पूरा गरी योजना निर्माणको विषयमा के एण्ड आर इन्जिनियरिङसँग सम्झौता गर्ने जानकारी दिए । उनले मुक्तिनाथ केबलकार परियोजना बनाउनको लागि ८० प्रतिशत वित्तीय स्रोत जुटेको भन्दै बाँकी २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरुले इकुटीको रुपमा जुटाउने बताए । आयोजना निर्माणको लागि ९० प्रतिशत जग्गा खरिद गर्ने काम सकिएको भन्दै बाँकी १० प्रतिशत पनि लिने प्रक्रिया शुरु भइसकेको उल्लेख गरे । मुक्तिनाथ केवलकार विश्वकै सबैभन्दा लामो केबरकार प्रणाली हुने जानकारी दिए । मुक्तिनाथ जाँदा सडक खतरायुक्त, हवाई मार्ग पनि खतरा जस्ता समस्याहरुले केवलकार हुने जनाए । उनले मुक्तिनाथ केबलकार आयोजना निर्माणको लागि केपी ओली प्राधनमन्त्री हुँदा लगानी बोर्डले लाइसेन्स दिएर सम्झौता भएको बताए । आयोजना सम्पन्न भएपछि ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्ने भन्दै ९ अर्ब रुपैयाँ सरकारलाई राजश्व मात्रै जाने जानकारी दिए । ‘मुक्तिनाथ केबलकारले भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडसँगै प्रारम्भिक मात्रै नभएर सम्झौता गर्ने गर्ने योजना रहेको थियो । तर आयोजनको वातवरण मूल्याङकन प्रतिवदेन पास हुने र सरकारसँग आयोजना विकास सम्झौता हुन बाँकी छ । अहिलेसम्म शो पुँजी जुटाएर यो आयोजनालाई यहाँसम्म ल्याइएको छ । २० प्रतिशत वित्तीय लगानी जुटाउन भार पनि छैन । बाँकी १० प्रतिशत पनि लिने प्रक्रिया शुरु भइसकेको छ । वातावरण प्रभाव मूल्याङ्कनको ड्राभ रिर्पोट आइसकेको छ । ड्राभ रिर्पोट सरकारलाई पेश गरेर आयोजना विकास सम्झौता गर्छौं र आयोजना अगाडि बढ्छ । मुक्तिनाथ केबलकार विश्वकै सबैभन्दा लामो केबलकार प्रणाली हुँदैछ । मुक्तिनाथ केवलकार निर्माण सम्पन्न भएपछि गिनिजबुकमा नाम रहन्छ । आयोजना सम्पन्न भएपछि आर्थिक विश्लेषण गर्दा ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्नसक्छ । ७० अर्ब कुल गाहस्थ्र्य उत्पादन वृद्धि ग¥यो भने ९ अर्ब रुपैयाँ सरकारलाई राजश्व मात्रै जान्छ । सरकारलाई जोखिम छैन तर निजी क्षेत्र जोखिम मोलेर काम गरिरहेको छ’, उनले भने । त्यस्तै, के एण्ड आर रेलका अध्यक्ष कुरु प्रविर कार्रलाले मुक्तिनाथ केवलकार परियोजना बनाउन चुनौति र समस्या भएपनि आफूहरु सक्षम रहेको बताए । उहाँले मुक्तिनाथ केबलकार बनाउन के एण्ड आर प्राविधिक र आर्थिक रुपमा सक्षम रहेको जानकारी दिए । अध्यक्ष कार्रलाले मुक्तिनाथ विष्णु भगवानको पावन भूमि भएकाले पनि केवलकारमा लगानी गर्न तयार भएको बताए । मुक्तिनाथ केवलकार निर्माणले उक्त क्षेत्रमा पर्यटकहरुको ठूलो सम्भावना रहेको जानकारी दिए । ‘लगानीको जोखिम मोल्न हामी सक्षम छौं । हरेक परियोजनाको काम गर्दा केही न केही कठिनाई हुन्छ । प्राविधिक समस्या हरेक परियोजनामा आउँछ । तर यी हरेक समस्याको समधान गर्न हामी सक्षम छौं । कुनैपनि नयाँ उद्योग आउँछ त्यसले देशका उद्योग क्षेत्रको र देशको प्रविधिको उठाउनु पर्छ । प्रभावित क्षेत्रका मानिसहरुलाई परियोजनाको प्रविधि भन्दा पनि आयोजनासँग सम्बन्ध रहन्छ । जब मुक्तिनाथ केवलकार सम्पन्न हुन्छ त्यहाँ धेरै पर्यटकको सम्भावना आउँछ । राम्रो होटलहरु यो क्षेत्रमा खेल्नेछन्’, उनले भने । मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको दुई वर्ष भइसकेको छ । यस्तै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथले केबलकारको डिपिआर तयार पारी २०७८ कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो। इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो । केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने छ । ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाई ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७ सय ७६ वटा गोण्डोला राख्न प्रश्ताव गरिएको छ । मुक्तिनाथ केबलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केवलकार योजनाको रहेको छ । केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहनेछ । पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ । वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ ।