विकासन्युज

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता देवीको पूजा आराधना गरियो । छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्परा अनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन्। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।  काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा घटस्थापनाको बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ । नवरात्र शक्ति प्राप्तिका लागि विशेष रुपमा साधनाको समय हो । रासस

प्रहरीद्वारा ९२ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी रु पाँच लाख ९८ हजारको चिनी र २८ बोरा अन्दाजी रु ४२ हजारको धान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनका अनुसार बिहीबार अपरान्ह ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नपा–२ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको हो । सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको  हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनायो । रासस

पहुँचवाला कर्मचारीलाई सधैँ सिंहदरबार

काठमाडौं । सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ जसो सिंहदबार आसपासका कार्यालयमा नै घुम्ने गरेका छन् । पुहँचविहीन कर्मचारी भने दुर्गम जिल्लामा नै बसेर सेवा प्रवाह गर्न बाध्य छन् । निजामती सेवा नियमावालीमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ तर पहुँचवाला कर्मचारीलाई भने उक्त नियम लागू हुने गरेको छैन । पहुँचवाला कर्मचारी भने १० देखि १७ वर्षसम्म पनि सरुवा नभई एउटै कार्यालयमा जरोकिलो गाढेर बसेको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ । १० वर्षभन्दा बढी एउटै कार्यालमा बस्ने कर्मचारीमा प्रशासन, लेखा, इन्जिनियरिङ, कृषि, वन, योजना तथा तथ्याङ्क, विविध, न्याय सेवा, शिक्षा, स्वास्थ्यलगायतका सेवाका कर्मचारी छन् । किताबखानाका अनुसार केन्द्रीय तथ्याङ्क विभाग, महालेखा परीक्षकको कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला हुलाक कार्यालय खोटाङ, भूमि सुधार कार्यालय बर्दिया, सर्वोच्च अदालत, सहरी विकास तथा भवन निर्माण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कृषि तथा सहकारी मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, जिल्ला अदालत सुर्खेतलगायतका तीन दर्जनभन्दा बढी कार्यालयमा १० वर्षभन्दा बढी समय सरुवा नभई बस्ने कर्मचारी पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले कर्मचारीलाई दुई वर्षपछि सरुवा गर्न मिल्ने कानुनी व्यवस्था भए पनि सेवा प्रवाह चित्तबुझ्दो भएको र उनीहरूले दिने सेवाबाट कर्मचारी उत्साहित छन् भने सरुवा गरिरहन नपर्ने दाबी गरे । उनले भने, ‘कतिपय कार्यालयमा सबन्धित कर्मचारीलाई सरुवा गर्ने अन्य कार्यालय नै हुँदैन र उक्त कार्यालयमा सरुवा भइजाने कर्मचारी पनि नहुँदा लामो समयसम्म एउटै कार्यालयमा एकै जना कर्मचारी बसेर सेवा गर्नु परेको हो ।’ उनका अनुसार कतिपय कार्यालयमा कर्मचारी सरुवा भएर आउन र जानका लागि दबाब प¥यो भने मात्र दुई वर्षपछि कर्मचारीलाई सरुवा गर्ने हो तर दबाब भएन भने जति समय पनि बस्न मिल्छ । मन्त्रालयले तीन महिनाअघि सरुवा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनमा कर्मचारीको सरुवाको तत्कालीन र दीर्घकालीन सुधारबारे उल्लेख गरेको थियो । अविछिन्न रूपमा तीन वर्ष वा त्योभन्दा बढी अवधि काठमाडौँ उपत्यकाभित्रका निकायमा कार्यरत कर्मचारीका लागि ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्ने, राजपत्र अनङ्कित कर्मचारीको हकमा सुरु नियुक्ति भएको पदमा दुई वर्षसम्म सम्बन्धित प्रदेश क्षेत्रभित्र मात्र सरुवा हुने गरी व्यवस्थापन गर्ने गरी प्रतिवेदनमा उल्लेख गरिए पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । प्रशासनविद् एवं कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक डा. बालचन्द्र मिश्रले सत्ता र शक्तिको वरिपरि घुक्ने कर्मचारी लामो समयसम्म एउटै कार्यालयमा बस्ने गरेको बताए । उनले भने, ‘एउटै कार्यालयमा बस्ने कतिपय कर्मचारीले अतिरिक्त लाभ अर्थात् कर्मचारीले गर्ने मेहनतको फल राम्रोसँग प्राप्त गर्ने भएकाले ती कर्मचारी सरुवा नहुने गरेका हुन् ।’ सरकारले स्वचालित सरुवा प्रणाली बनाई निश्चित समय दुर्गम क्षेत्रका कार्यालयमा गएर सेवा गर्नैपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन नगरेसम्म पहुँचवाला कर्मचारी सधैँ सुगममा नै घुमिरहने उनको भनाइ छ । मन्त्रालयका अनुसार अहिले निजामती सेवामा एक लाख ३६ हजार कर्मचारीको दरबन्दी भए पनि करिब एक लाख जना कर्मचारी कार्यरत छन् । बाँकी दरबन्दी रिक्त छन् । आजको गोरखापत्रबाट ।

पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्छ : उद्यमी व्यवसायी

काठमाडौं । उद्यमी व्यवसायीहरूले पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि उद्योग क्षेत्रमा हरित वृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने धारणा उनीहरूको छ । वातावरणका इस्यूहरूमा नेपालले गरेको विश्वव्यापी प्रतिवद्धताहरू पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित वृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने बिहीबार धनगढीमा आयोजित एक कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले बताए । नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा स्ट्रेन्थेन इम्प्वयर्स क्यापासिटी फर इम्प्रुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्कील याजवेल याज सेफ्टी एण्ड हेल्थ परियोजना संचालन गरीरहेको छ । सोही परियोजना अन्तर्गत आयोजना गरिएको कार्यस्थलमा आधारित सीप विकास तथा ग्रीन इकोनोमी विषयक कार्यक्रमका सहभागीहरुको हरित बृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुग्ने कुरा सबैलाई बुझाउनु पर्ने सुझाव थियो । हरित वृद्धिका अभ्यासहरू अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरहरू समेत सृजना हुने धारणा सहभागी विज्ञहरू राखे । कार्यक्रम महासंघको सुदूर पश्चिम प्रदेश च्याप्टरको सहकार्यमा आयोजना गरिएको थियो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुझाव उनीहरूको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष एवं वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले महासंघले निजी क्षेत्रलाई वातावरण परिवर्तनका मुद्दामा सचेत गराउंदै दीगो आर्थिक विकासमा काम गर्न सहयोग पुरयाउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको बताए । उपाध्यक्ष ढकालले पछिल्लो पटक नेपालले अन्तराष्ट्रिय मंचमा जलवायु परिवर्तनका इस्यूमा गरेका प्रतिवद्धताहरुलाई समेत पुरा गर्ने अभिप्रायले महासघले आइएलओको सहयोगमा ग्रीन इकोनोमिको विषयलाई अगाडि बढाएको स्पष्ट  पारे । उपाध्यक्ष ढकालले महासंघले तालीमका लागि तालीमभन्दा पनि उद्योगहरुको मागका आधारमा कार्यस्थलमा आधारित तालीमलाई पनि मुख्य प्राथमिकता दिएको बताए । आउँदा दिनमा कार्यस्थलमा आधारित तालीमलाई थप प्रभावकारी बनाउन यस सम्बन्धी निर्देशिका बनाइएको स्पष्ट  पारे । यसले महासंघको सिंगो इको सिष्टम नै लाभान्वित हुने विश्वास उनले व्यक्त गरे । महासंघको प्रदेश च्याप्टरका अध्यक्ष शंकर बोगटीले कार्यक्रमबाट कार्यस्थलमा आधारित तालीम र दीगो आर्थिक विकासमा पर्यावरणको महत्व विषयमा सहभागीहरुबीच बुझ्न सहयोग पुगेको बताए । महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले कार्यस्थलमा आधारित सीप विकास तालीम निर्देशिका र वातावरण विज्ञ तथा परामर्शदाता डा. विजय थापाले ग्रीन इकोनोमिका पछिल्ला अभ्यास र नेपालले अवलम्वन गर्नुपर्ने उपायहरुका वारेमा आफनो प्रस्तुती दिए । कार्यक्रममा आइएलकोका परामर्शदाता महेन्द्र प्रसाई र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेले आइएलओले महासंघसंग अगाडी बढाएका कार्यक्रम वारे जानकारी गराए । परियोजना अन्तरगत सदस्य वस्तुुगत संघका लागि कार्यसंचालन विधि, कार्यस्थलमा आधारित सिप विकास निर्देशिका र ग्रीन इकोनोमी एवं न्यायोचित परिवर्तन, नेपालमा लगानीका अवसर तथा चुनौती विषयमा अध्ययन प्रतिवेदन प्रकाशन गरिने कार्यक्रम छन् । करिब ७५ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको सो कार्यक्रममा महासंघ प्रदेश च्याप्टर तथा संघका पदाधिकारीहरू, उद्यमी व्यवसायी, निर्माण, सीप विकास, संचारकर्मी, महिला उद्यमी लगायतको सहभागिता थियो ।

विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता दिँदै एनबीए र फाइनान्सियल लिटरेसी

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) तथा फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरे । समझदारी अनुसार नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालले संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्नेछन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालको उपस्तिथीमा भएको उक्त कार्यक्रममा फाइनान्सियल लिटरेसी नेपालको तर्फबाट भुवन दाहाल, निरज गिरि, रमेश शर्मा तथा नेपाल बैंकर्स संघका तर्फबाट सुनिल के.सी र अनिल शर्मा उपस्थित थिए । सो समारोहमा बोल्दै पूर्व गभर्नर डा. चिरन्जीवी नेपालले दुबै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाउदा थप प्रभावकारी हुनुका साथै आगामी दिनहरुमा यसले सार्थक भूमिका खेल्ने बताए । यसैगरी संघका अध्यक्ष सुनिल के.सी.ले यस सम्झौताले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवर्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे । फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले सम्झौता अनुसार संयुक्त रुपमा विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरिने व्यवहोरा जानकारी गराए ।

यतीमा उड्ने यात्रुलाई उपहार नै उपहार, वासिङ मेसिनदेखि बाइकसम्म पाइने

काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत एयरलाइन्सले आफ्ना यात्रुहरुलाई विभिन्न उपहारहरु दिने घोषणा गरेको छ । यो योजना असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्म लागू हुने छ । यससँगै यो अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा १ जनालाई बजाज पल्सर एनएस २०० बाइक दिने घोषणा गरेको हो । जुन पहिलो पुरस्कार हो । त्यस्तै, दोश्रो विजेताले जोडीलाई ब्याङ्कक एयर टिकेटस्, तेस्रो बिजेताले एलजी वासिङ मेसिन र चौथों विजेताले एसबीडी डायमण्ड एयर टप जित्ने एयरलाइन्सले जानकारी गराएको छ । साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्घार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’ पाउनेछन् । त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसट प्राइजको रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा इन फ्लाइट इन्टरटेनमेन्ट सर्भिस प्रयोग गर्दै गर्दा दशैं क्याम्पेन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ । सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय-समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ । यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाँडन र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ । योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने समेत जानकारी गराइएको छ ।

नबिल बैंकले विदेशिने युवाहरुलाई लक्षित गर्दै ल्यायो दशैं भिडियो (भिडियोसहित)

काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले एउटा सन्देशमूलक दशैं भिडियो सार्वजनिक गरेको छ । विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र समाजिक भावना दर्साउनका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादशैंको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको हो । यस भिडियो मार्फत् छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ । यस भिडियोमार्फत् उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ । साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको छ । नेपालको अग्रणी बैंकका रूपमा स्थापित नबिल बैंकले युवालाई केन्द्रित गर्दै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ । शैक्षिक कर्जा, युवा उद्यमी कर्जा लगायतका कार्यक्रमका साथमा बैंकले नबिल सामाजिक उद्यमशीलता अन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । देशभरका २६६ शाखा र ३१० एटिएमबाट १८ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल, नेपालको बैंकिङ इतिहासमा नवीनतम सेवाको सुरुवात गर्ने बैंकको रूपमा परिचित छ । भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

दशैं अगावै बेमौसमी सुन्तला फलाउँदै बागलुङका टोपबहादुर खड्का

गलकोट । सिगानामा दशैं अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी एक सयका दरले बिक्री गरे । उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’मा तीन लाखको सुन्तला बिक्री गर्छन् भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आएका छन् । उनले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट ५० हजार आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले रु २० हजारको बिक्री गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताए । ‘परीक्षणका लागि ६ वर्षअघि उन्सु जातको सुन्तला लगाएको थिए’, खड्काले भने, ‘अहिले दशैं खर्च बेमौसमी सुन्तलाबाटै हुँदै आएको छ ।’ सुन्तला गाउँका रुपमा परिचय कमाउदै आएको बागलुङको सिगानामा मौसमी सुन्तला बिक्रिबाटै रु तीन करोड वार्षिक रुपमा गाउँ भित्रिदै आएको छ । अगुवा सुन्तला किसान टोपबहादुर खड्काले सुन्तला बगानमा बेमौसमी जातका सुन्तला फलाउँदै आएका छन् । खड्काले चार वर्षदेखि बेमौसमी सुन्तलासमेत उत्पादन गर्दै आएका छन् । तर, मौसमी जातको तुलनामा १० प्रतिशत मात्रै बेमौसमी सुन्तला उत्पादन हुने गरेको उनको भनाइ छ । सामान्यतः सुन्तलाको सिजन मङ्सिरबाट सुरु भएपनि उनले ५० बोटमा बेमौसमी सुन्तला फलाएका छन् । खड्काको सुन्तला बगैँचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसी सुन्तलाको बोट भने सानो हुने र रोपेको कम समयमै फल्ने गर्दछ । बागलुङ नगरपालिका-८ सिगानामा खड्काले परीक्षणका रुपमा लगाएको बेमौसमी सुन्तला असोजमै पाक्ने गरेको छ । उक्त सुन्तला घरमा खपत र कोसेलीका रुपमा पठाएपछि बाँकी रहेको बिक्री गर्छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यसोधा र पोङ्कान भने एक महिनापछि पाक्छन् । ‘बेमौसी सुन्तला व्यावसायिकरुपमा भन्दा पनि परीक्षण्का लागि हो, असोजमा उन्सु जातको सुन्तला टिपियो, अब एक/एक महिनाको फरकमा यसोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो भन्ने हो’, खड्काले भने, ‘मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँचवटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ ।’ बगैँचा सजावटका लागि पनि उक्त जातको सुन्तला प्रयोग गरिन्छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने गरेको बताए । २०३२ सालदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले बेमौसमी जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन् । ६ वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फल्न थालेका छन् । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ । नेपालमा अधिकांश सुन्तला कात्तिकदेखि मंसिरको अवधिमा पाक्छन् । खड्काले भने भदौदेखि असोजको समयमा पाक्ने जापानीज जातका सुन्तला लगाएका हुन् । खड्काले पाँच रोपनी क्षेत्रफलको सुन्तला बगैँचामा हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाएका छन् । खड्काले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची र तरकारी खेती गर्दै आएका छन् । रासस