विकासन्युज

शनिबार टुँडिखेलमा फूलपाती बढाइँ, सैनिक परेड मुख्य आकर्षण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा भोलि शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुनेभएको छ । बडादसैँको सातौँ दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ । समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभाव सहभागी हुनुहुनेछ । बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने अभ्यास सेनामा छ । नेपालको स्वन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिबद्ध नेपाली सेना समावेशी चरित्रको प्रमुख सुरक्षा सङ्गठन हो । सङ्गठनको प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुन् ।

स्क्रीनमा पढ्दा हाम्रो दिमाखमा कस्तो असर पर्छ ?

काठमाडौं । पढ्ने बानीले मानिसलाई कम तनावमा रहन सहयोग पुर्याउनुका साथै मस्तिस्कलाई सक्रिय राख्ने काम गर्छ । साथै पढ्ने बानीले मानिसको संवेदनामा सुधार गर्ने र धेरै विषयहरुको जानकारी वा ज्ञान पनि प्राप्त गर्न सहयोग पुर्याउँछ । न्यूयोर्कको द न्यू स्कूल फर सोसल रिसर्चका अनुसार किताब पढ्नाले मानिसको सिद्धान्तमा समेत परिवर्तन हुन सक्छ । पछिल्लो समयमा कागजबाट बनेका किताबको सट्टा मानिसहरु विस्तारै कम्प्युटर, ट्याबलेट, मोबाइल जस्ता डिजिटल उपकरणहरुमा पढ्ने बानी पर्न थालेका छन् । खासगरी कोभिड महामारी पछिको समयमा धेरै ठूलो संख्याका मानिसहरुमा यस्तो बानीको विकास भएको अनुमान गरिएको छ । डिजिटल माध्यमबाट पढ्ने बानीका पनि केही फाइदा छन् । कागजबाट बनेका पुस्तकहरुको तुलनामा डिजिटल पुस्तकहरु सस्तोमा पाउन सकिन्छ । साथै यस्ता पुस्तकहरु पुराना वा बिग्रिने डर पनि हुँदैन । बिबिसी रिलमा प्रकाशित कथा अनुसार स्क्रीनमा पढ्दा हाम्रो दिमाखलाई के असर गर्छ भन्ने विषयमा ३० भन्दा बढी देशका विद्वान र वैज्ञानिकलाई ल्याइएको थियो । सो अनुसन्धानको विषयमा नर्वेको स्टाभान्जर युनिभर्सिटीकी प्रोफेसर तथा लेखिका एनी मंगेनले स्क्रीनमा पढ्ने सामग्रीमा कागजको तुलनामा कम बुझ्न सकिने बताएकी थिइन् । अमेरिकी गैरसरकारी संस्था ‘सेपियन ल्याब्स’को हालैको रिपोर्टले बच्चालाई कम उमेरमा स्मार्टफोन दिँदाको नकारात्मक असर युवाअवस्थामा देखिने बताएको छ । साइन्टिफिक अमेरिकानाका अनुसार स्क्रीनमा पढ्दा कागजको तुलनामा मस्तिस्कले धेरै स्रोतहरुको प्रयोग गर्छ र पछिसम्म सम्झन पनि गाह्रो हुन्छ । हामीले कति पढ्छौं भन्ने विषय भन्दापनि कुन माध्यमबाट पढ्छौं भन्ने विषय महत्वपूर्ण हुन्छ । किनभने मानिसको मस्तिस्कमा पढाईले प्रभाव पार्छ । दृष्य, भाषा, विचार तथा भावनालाई पढाइले एकसाथ जोड्ने काम गर्छ । किताब किन पढ्न पर्छ ? ब्ल्याक गल्र्स बुककी संस्थापक नेटली कार्टरले हरेक मानिसले किताब पढ्नुपर्ने बताउँछिन् । किताबले हाम्रो जीवनको अनुभव दिनुका साथै हाम्रो समाजको बारेमा बताउने उनको भनाइ छ । त्यस्तै, बिब्लियोथेरापिस्ट इला बार्थोडले पुस्तक नभएको हामी आजको जस्तो मानिस नहुने तर्क गर्दै मानव जीवनमा सबैभन्दा ठूलो परिवर्तन आगोको शक्ति र पढ्ने सीपको आगमन भएको बताएकी छन् । बिबिसीबाट ।

सहरतिर बस्न थालेपछि तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक

गलेश्वर । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । हेर्दाखेरि निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन् उमेरले ५० काटेका पाका गाउँलेहरु पनि । केही वर्षअघि सम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे, सानालेख, गौश्वारा र फापरखेतमा सोह्रश्राद्ध नसकिँदै लिङ्गे पिङ हालेर युवाहरु दसैँको तयारी गरिसक्थे । अहिले दसैँको छैटौँ दिन बितिसक्दा पनि गाउँमा न कतै लिङ्गे पिङ, न त युवाहरु नै देखिएका छन् । विद्यालय उमेरका बालबालिका र ५० नाघेका पाका नागरिक आ–आफ्नो काममा व्यस्त छन् । दसैँको रौनकले गाउँलाई छोएको छैन । पाँच सात वर्षअघि सम्म तीजसँगै दसैँको रौनक सुरु हुन्थ्यो । सोह्र श्राद्ध सकिने बित्तिकै रातो माटो र सेतो कमेरोले घर लिपपोत गर्ने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने र गोरेटाबाटो सफा गर्ने काममा युवा नै कस्सिने गर्दथे । पछिल्ला केही वर्षयता ज्यामरुककोटमा मात्रै होइन म्याग्दीमा नै युवाहरु वैदेशिक रोजगार र परिवार बसाइँसराइ गरी सहरतिर बस्न थालेपछि गाउँघरमा चाडपर्वको रौनक हराउँदै गएको बेनी नगरपालिका–२ का ६८ वर्षीय डिलबहादुर सापकोटाले बताए। बेनी–२ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीका अनुसार गाउँबाट पछिल्लो चार वर्षयता वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने युवाहरुको सङ्ख्या बर्सेनि बढ्दै गएपछि गाउँ युवाविहीन भएको छ । एक वर्षमा सरदर ५० देखि ८० जनासम्म  युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । अध्ययनका लागि जानेहरुको सङ्ख्या पनि उत्तिकै छ । त्यसका साथै बसाइँसराइ गरेर सहर र मधेसतिर जानेहरु पनि बाक्लै छन् । पछिल्लो डेढ वर्षमा २४ घरपरिवारले बसाइँसराइ गरेका छन् । पाहारिलो घाम लाग्न सुरु भएपछि खेतका फाँटमा धान थन्क्याउने काममा किसान व्यस्त छन् । असोजको अन्तिम साता परेको पानी र चलेको हावाहुरीबाट थन्क्याउने बेलाको धान नासिने पो हो कि भनेर चिन्तित बनेका किसान कात्तिक लागेपछि मौसम घमाइलो बन्दा खेतको फाँटमा व्यस्त हुन थालेका र दसैँको रमाइलोले भन्दा पनि धान भित्र्याउने चटारोले किसान बेफुर्सदिला बनेका सानालेखका नारायण शर्माले बताए। कामकाजका लागि, उच्च शिक्षाका लागि र वैदेशिक रोजगारका लागि बाहिर रहेकाहरु गाउँ फर्किन थालेका भए पनि कामको चटारोले गर्दा दसैँको रौनक नदेखिएको उनको भनाइ छ । घरमा कमेरो र रातो माटोले लिपपोत गर्न घरभित्र धुवाँ लगाएर राखेका मकैका झुत्ता थाङ्नेमा राखेर लिपपोत गर्दै गर्दा दसैं आएको छुट्टै आनन्द हुन्थ्यो । दसैंका लागि भनेर खेतको कान्लामा घाँस साँच्ने गरिन्थ्यो । गाउँघरका युवादेखि बूढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चार लिङ्गो गाडेर पिङ बनाउने गाउँमा हराउँदै गएको छ । अहिले रोजगारीको सिलसिलामा गाउँबाट बाहिर देशहरुमा जान थालेसँगै दसैँमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको हो । “विशेषगरी युवा पुस्ताले लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिले गाउँमा युवाहरु नै छैनन्, पाको पुस्तालाई फुर्सद पनि छैन, जाँगर पनि चल्दैन”, ५२ वर्षीय टेकबहादुर क्षेत्रीले भने । पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँघरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रशस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बूढापाकाहरु बताउँछन् । युवाहरु रोजगारीका लागि विदेश गएका छन् । युवाहरु विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभावसमेत बढ्दै गएको छ । पिङ बनाउनका लागि बाबियो काटेर ल्याउने, लुठो बाट्ने र चारवटा बाँस गाड्न कम्तीमा आठ/दशजना आवश्यक पर्दछन् । गाउँघरमा फाटफुट भएका युवाहरु पनि व्यवसाय र रोजगारमा हुनुले पनि लिङ्गे पिङ लोप हुँदै गएको फापरखेतका इन्द्रदत्त शर्माले बताए । फेरिँदै छ ग्रामीण परिवेश युवा पलायन, प्रविधिको विकास र बसाइँसराइका कारण चाडपर्वको मौलिकता तथा परम्परागत ग्रामीण परिवेशमा पनि परिवर्तन आएको छ । रातो माटो र कमेरोले पोतिएका घर गाउँमा देखिन छाडेका छन् । इनामेल र आयातित रङ्गले घर रङ्गीन थालेपछि गाउँका मड्किना गृहिणीहरुले बिर्सिसकेका छन् । ढिकीमा चिउरा कुट्ने परम्परा हराएर गएको छ  । सबै चीज बजार आश्रित भएको छ । नयाँ लुगा लगाउन दसैँ नै पर्खनु पर्दैन । दसैँ नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चीजको सहजताले दसैँको रौनक हटेको छ । अहिले घरहरू रातो माटो र कमेरो माटोले पोतिँदैनन् । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन् । सहरदेखि गाउँसम्म आधुनिक घर बनाइएका छन् । रासस

हिमालयन रिले कात्तिक २१ बाट आईपीओ निष्काशन गर्ने, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै कम्पनीले सो दिनदेखि आईपीओ जारी गर्ने प्रकृया शुरु गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गरिनेछ । उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, विदेशमा रहेका नेपाली श्रमिकले आगामी मंसिर ५ गतेसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन् । यससँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

सानिमा बैंकले ल्यायो सजिलो ई बैंकिङ सेवा, मंसिर ३ गतेसम्म लागू हुने

काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो ई बैंकिङ सेवा ल्याएको छ । बैंकले एफवान सफ्टको सहकार्यमा उक्त योजना ल्याएको हो । यो योजना असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने छ । यस अन्तर्गत मोबाइल बैंकिङ्गबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन् । यसमा सहभागीताका लागी ग्राहकहरुले न्युनतम ५०० रुपैयाँको टपअप, १०० रुपैयाँको डाटा प्याक र २०० रुपैयाँको रकमान्तर गर्नुपर्ने हुन्छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

नेपाल प्रहरीमा ३ सय ५६ जनालाई जागिर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले कर्मचारीको माग गरेको छ । नेपाल प्रहरीले ३५६ जना कर्मचारीको माग गरेको हो । प्रहरी प्रधान कार्यालयले आज एक सुचना प्रकाशित गरी ३ सय ५६ जना कर्मचारी माग गरेको जानकारी दिएको छ यसमध्ये प्रहरी निरिक्षक पदका लागि ९६ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २६० जनालाई जागिर खुलाएको हो । कार्यालयकाअनुसार प्रहरी निरिक्षक पदमा ५२ जना खुल्ला, २ जना अमर वा अशक्त प्रहरी परिवार, महिला ९ जना, १२ जना आदिवासी जनजाती, १३ जना मधेशी, ६ जना दलित र २ जना पिडछिएको क्षेत्र गरि ९६ जनालाई जागिर खुलाईएको हो । त्यस्तै, प्रहरी सहायक निरिक्षकमा १४० जना खुल्ला, ५ जना अमर वा अशक्त प्रहरी परिवार, २३ जना महिला, ३६ जना आदिवासी जनजाति ३३ जना मधेशी, १७ जना दलित र ६ जना पिछडिएको क्षेत्र गरि कुल २६० जनालाई रोजगारी खुलाईएको छ । प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ । कार्यालयकाअनुसार कात्तिक १९ गतेदेखि कात्तिक कात्तिक २९ गतेसम्म् प्रहरी निरिक्षक पदको हकमा अनलाईन प्रणालीमार्फत र प्रहरी सहायक निरिक्षक पदको हकमा सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ । नेपाल प्रहरीका विभिन्न कार्यालयबाट दरखास्त फारम लिन सकिने कार्यालयले जनाएको छ ।  

एभरेष्ट बैंकले सञ्चालन गर्यो रत्न राज्य माध्यामिक स्कूलमा शुद्ध खाने पानीको प्लान्ट

काठमाडौं । एभरेष्ट बैंकले श्री रत्न राज्य माध्यामिक स्कूलमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालन गरेको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । बैंकले बानेश्वर महादेवस्थान काठमाडौं स्थित श्री रत्नराज्य माध्यामिक विद्यालयमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालनमा ल्याएको छ । श्री रत्नराज्य माध्यामिक विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को सुखद उपलक्ष्यमा शुभकामना आदनप्रदान, भेटघाट एवं चियापान कार्यक्रममा २७०० भन्दा बढी विधार्थीलाई पुग्ने गरी शुद्ध खानेपानी प्लान्टलाई पुनः सञ्चालनमा ल्याईएको हो । पूर्व उप–प्रधानमन्त्री एवं संघीय सांसाद माननिय प्रकाश मान सिंहको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई चेक हस्तान्तरण गरे । सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति रहेको थियो ।

आजको मौसम : कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

फाइल फाेटाे काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको भए पनि अन्य ठाउँमा मौसम सफा रहने छ । काठमाडौंको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको छ । यसैगरी देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।