काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा होटलको नाफामा सुधार देखिएको छ । पछिल्लो समय पर्यटन क्षेत्रमा उत्साह छाएसँगै होटलहरुको नाफा पनि बढेको हो । पर्यटकीय क्षेत्र चलायमान र पर्यटक आगमन बढेका कारण नाफा बढ्न पुगेको होटल व्यवसायीहरुले बताएका छन् ।
साथै, अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा क्रमशः सुधार हुँदै गएको उनीहरुको भनाइ छ ।
हालसम्म सोल्टी होटल, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स र सिटी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तारागाँउ रिजेन्सी र कालिञ्चोक दर्शनले भने सार्वजनिक गर्न बाँकी छ ।
वित्तीय विवरण सार्वजनिक गरेका होटल कम्पनीहरुमध्ये ओरियण्टेल होटल्स र चन्द्रागिरी हिल्सको नाफा बढेको छ भने सोल्टीको सामान्य घटेको छ । सिटी होटलको नाफा ऋणात्मक रहेतापनि नोक्सानी रकम भने गत वर्षकोभन्दा घटाएको छ ।
चन्द्रागिरी हिल्सले असोज मसान्तसम्म २ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ६३.०७ प्रतिशत बढी नाफा गरेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.५९ प्रतिशत बढेर २० करोड ६१ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
साथै, कम्पनीको कुल आम्दानी १०.१९ प्रतिशत बढेर १७ करोड ९९ लाख रुपैयाँ गरेको छ भने खर्च ५१.५९ प्रतिशत बढेर ७ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३२ लाख रुपैयाँ कूल आम्दानी गर्दा ४ करोड ८५ लाख रुपैयाँ खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी २.१६ रुपैयाँ बढेर ५.५७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.११ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १९१.१३ गुणा रहेको छ ।
यस्तै, सोल्टी होटलको खुद नाफा ८.६२ प्रतिशत घटेर १० करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । असोज मसान्तसम्म कम्पनीको कूल खर्च २ प्रतिशत घटेर २८ करोड १ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ६३ लाख रुपैयाँ कूल खर्च गरेको थियो ।
साथै, कम्पनीको कूल आम्दानी ३.२८ प्रतिशत घटेर ३९ करोड ९६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ३२ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ३२ करोड ४० लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३९.७४ गुणा रहेको छ ।
यस्तै, सिटी होटलले पहलो त्रैमासमा ६ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी २७.४७ प्रतिशत बढेर ११ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
होटलको कूल आम्दानी ३२.०८ प्रतिशत बढेर १३ करोड २७ लाख रुपैयाँ गरेको छ भने कुल खर्च १४.५९ प्रतिशत बढेर ८ करोड ६२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड रुपैयाँ कूल आम्दानी गर्दा ७ करोड ५२ लाख रुपैयाँ खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ७० लाख रुपैयाँ छ भने अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँ सञ्चित छ । होटलको प्रतिसेयर आम्दानी १४.६५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १००.२ रुपैयाँ रहेको छ ।
यस्तै, ओरियण्टल होटल्सले असोजसम्म १४ प्रतिशत नाफा बढाएर १२ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद नाफा व्यहोरेको थियो । समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी ७.३५ प्रतिशत बढेर २१ करोड १४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ६९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
होटलको कूल आम्दानी ८.७५ प्रतिशत बढेर २२ करोड ५६ लाख रुपैयाँ गरेको छ भने कुल खर्च ८.८७ प्रतिशत बढेर १९ करोड ७८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २० करोड ७४ लाख रुपैयाँ कूल आम्दानी गर्दा १८ करोड १७ लाख रुपैयाँ खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ छ भने जगेडा कोष २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । होटलको प्रतिसेयर आम्दानी १.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३३८.९६ रुपैयाँ रहेको छ ।