सेल्सबेरी ३०औं बर्ष पुरा गरेको उपलक्ष्यमा १० देखि ३० प्रतिशतसम्म छुट अफर
काठमाडौं । सेवा सुरु गरेको ३०औं बर्षको अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ । यस सुखद अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो । यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको संस्थाले जनाएको छ । संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै ५ हजार रुपैयाँ भन्दा माथीको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा भुकम्प प्रभावितका लागि दश लाख बराबरको राहत सामाग्री प्रदान
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पिडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले दश लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । यस कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई २०० थान, भेरी नगरपालिकाका नगर प्रमुख दल बहादुर धर्तिलाई २०० थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिम अन्तर्गत १४ नं वडाका अध्यक्ष हुकुम बहादुर पुनलाई ३०० थान गरि कुल ७०० कम्बल हस्तान्तरण गरेका छन् । न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका भुकम्पबाट पिडित जनताका लागि कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ७०० थान कम्बल प्रदान गरेको हो । भूकम्पका कारण बाहिर बस्नु परेको र चिसोका सामना गर्नु परेर दैनिक जीवन कस्टकर भैरहेको कारण कसैले पनि कठिन परिस्थिको सामना गर्नु नपरोस भन्ने उद्देश्यका साथ पिडित परिवारलाई कम्पनीले कम्बल वितरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने अभिप्रायका साथ ७०० थान कम्बल प्रदान गरिएको कुरा बताएका छन् । अब आउने निकट भविष्यमा कम्पनीलले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिएका छन् ।
शान्त रूपले आक्रामक बिजनेस गर्दै म्याक्स इन्टरनेशनल, साढे २ अर्ब आम्दानी
काठमाडौं । सूचना प्रविधि (आईटी)सँग सम्बिन्धत सामानहरूको व्यापार गर्दै आएको म्याक्स इन्टरनेशल आक्रामक रुपमा व्यापार गरिरहेको देखिएको छ । नेपालका लागि डेल ल्यापटपको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेशनलले सन् २०२३ मा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ भने अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा ३ अर्ब करोड ३० लाख रूपैयाँको व्यापार गरेको थियो । अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा घटेपनि अन्य कम्पनीहरुको तुलनामा यो कम्पनीले आक्रामक रुपमा व्यापार गरेको देखिन्छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब ९ करोड रूपैयाँको व्यापार गरेको थियो । कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधाका लागि रेटिङ पनि गराएको छ । केयर नेपाल रेटिङ एजेन्सीले कम्पनीलाई ‘सर्ट टर्म लोन’का लागि ‘ए फोर’ पाएको छ भने ‘लङ्ग टर्म’का लागि ‘डबल बि’ रेटिङ पाएको छ । कम्पनीले व्यवसाय विस्तारका लागि कुल १ अर्ब ७३ करोड रूपैयाँ ऋण सुविधा लिने भएको छ । बजारमा खासै प्रचार नदेखिएको कम्पनी शान्त गतिमा आक्रामक व्यवसाय गर्ने रणनीतिमा देखिन्छ । यस कम्पनीको प्रमुख कार्यकारी अधिकृुत शाहिना हुुसैन हुन् भने लगानीकर्ता पनि उनी नै हुन् । यो कम्पनीको विषयमा केयर रेटिङ नेपालले एक जना मात्रै विदेशी लगानीकर्ता भएकोले कुनै दिन लगानी फिर्ता हुन सक्ने जोखिम पनिऔल्याएको छ । यो कम्पनीमा विदेशी लगानी छ, लगानीकर्ता एउटा मात्रै हुनु हुन्छ, लगानीकर्ता एउटा मात्रै भएकोले कुनैदिन लगानी फिर्ता हुन सक्ने जोखिम देखिन्छ, लगानीकर्ताको मृत्यु वा कुनै ठूलो समस्या भएमा कम्पनी बिघटन हुन सक्ने जोखिम देखिन्छ,’ केयर रेटिङ नेपालले भनेको छ । म्याक्स इन्टरनेशनल आईटीसँग सम्बन्धि सामानहरू व्यापार गर्दै आएको छ । सन् २००६ मा स्थापना भएको यो कम्पनी नेपालका लागि डेल ल्यापटपका आधिकारिक बिक्रेता पनि हो । यसले देशभर विभिन्न डिलरहरू सञ्चालन गरेर व्यापार गर्दै आएको छ । कम्पनीले एक हजारभन्दा बढी ब्राण्डका सामानहरू व्यापार गर्दै आएको दाबी गर्दै आएको छ । कम्पनीले आगामी दिनमा सूचना प्रविधिको क्षेत्र थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरेको छ । म्याक्स इन्टरनेशनले आफ्नो व्यापार विस्तार गर्ने रणनीतिका साथ विभिन्न बैंक तथा वित्तीय संस्था र सरकारी स्तरमा पनि आफ्नो सहभागिता जनाएको बताएको छ । कम्पनीले सूचना प्रविधि क्षेत्रमा आफुलाई नेपालको नम्बर वान कम्पनीका रुपमा चिनाउँदै आएको छ ।
राष्ट्रपति पौडेलले गरे गाई पूजा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन मङ्गलबार गोरुपूजारगोवद्र्धन पर्वतको पूजा गर्ने परम्परा छ ।
एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा
काठमाडौं । लघुवित्त संस्थाबाट एक जना ऋणीले ५२ लाख रुपैयाँभन्दा बढी रकम कर्जा लिएको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदन अनुसार एक जना ऋणीले १७ वटा लघुवित्तबाट ५२ लाख १७ हजार रुपैयाँ कर्जा लिएको देखिएको हो । लघुवित्त संस्थाका कुल ऋणीमध्ये ८१.८ प्रतिशतले एकवटा मात्र संस्थाबाट र बाँकी १८.२ प्रतिशत अर्थात् ४ लाख १८ हजार ७२२ जनाले दुई वा सो भन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएको प्रतिवेदनले देखाएको छ । यी बहु संस्थाबाट कर्जा लिएका ऋणीले १ खर्ब ४१ अर्ब (कुल कर्जाको ३७.९ प्रतिशत) कर्जा उपभोग गरेका छन् । यसप्रकार बहु संस्थामा संलग्न ऋणीको संख्या प्रतिशतमा कम भएतापनि लघुवित्त वित्तीय संस्थाको कुल कर्जामा ठूलो हिस्सा रहेकाले बहुबैंकिङ्गको समस्या गम्भीर रहेको प्रतिवेदनमा उल्लेख छ । ‘एक ऋणीले अधिकतम २३ वटा संस्थाबाट कर्जा लगेको छ भने एक ऋणीलाई १७ वटा संस्थाबाट २२ वटा कर्जा खातामार्फत अधिकतम ५२ लाख १७ हजार ८३४ रुपैयाँ कर्जा प्रवाह भएको छ, कुल ऋणीमध्ये २ वटा संस्थाबाट मात्र कर्जा लिने ऋणी ११.७ प्रतिशत, ३ देखि ५ वटाबाट लिने ५.६ प्रतिशत, ६ देखि १० वटाबाट लिने ०.८ प्रतिशत र १० भन्दा बढीबाट लिने ०.१ प्रतिशत रहेका छन्,’ अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
स्याङ्जाको कालीगण्डकीबाट बीस लाखको फूल निर्यात
गल्याङ, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौं निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिए । उनले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए । उनले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको २५ लाख बराबरको सयपत्रीका फूल निर्यात हुने दाबी गरे । ‘फूल खेती र ड्रागन खेतीका लागि १० लाख बजेट विनियोजन गरेका थियौं’, उनले भने, ‘फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ ।’ उनका अनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट रहेको बताए । उनले फूलखेती हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताए । कृषि शाखा प्रमुख पौडेलले जुनसुकै मौसममा पनि फुल्ने क्रमा जातको ‘हाइब्रिड’ सयपत्री फूलखेती गर्न कृषकलाई आफूहरुले सिफारिस गरेको बताए । उनले सयपत्री फूल कृषकले बिक्री गर्न नसकेमा बजारीकरणका लागि पालिकाले सहयोग गरिरहेको बताए। उनले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गरेको बताए । नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले पालिकाले बजारको जिम्मा लिने भएपछि आफूहरु फूलखेतीतर्फ आकर्षित भएको जानकारी दिए । ‘गाउँ पालिकाले विगत तीन वर्षदेखि फूलखेत गर्ने कृषकलाई अनुदानसमेत उपलब्ध गराउँदै आएको छ’, उनले भने, ‘उत्पादिन फूल पालिकाले नै बिक्री गरिदिने भएपछि हामीहरुलाई सजिलो भएको छ ।’ कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कालीगण्डकी गाउँपालिकालाई फूलैफूलको पालिका बनाउने उद्देश्यअनुरुप कृषकलाई फूल उत्पादनतर्फ उत्प्रेरित गरिरहेको बताए । उनले यस वर्ष गाउँपालिकाको अनुुदानमा १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनी जमिनमा सयपत्री फूलखेती गरिएको जानकारी दिए । अध्यक्ष थापाले कालीगण्डकीमा सयपत्री फूूलखेतीका लागि उपयुुक्त माटो, हावा र पानी भएकाले आगामी वर्ष खेतीलाई विस्तार गरिँदै लगिने दाबी गरे । ‘कालीगण्डकी पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको पालिका हो’, उनले भने, ‘यहाँ भएका होमस्टेलाई फूलको माध्यमबाट प्रवद्र्धन तथा विकास गर्ने, यहाँका धार्मिक तथा ऐतिहासिक महत्वका स्थल अवलोकन गराउने र आम्दानीको स्रोत बनाउने हाम्रो लक्ष्य हो ।’ अध्यक्ष थापाले पालिकावासीले गाउँपालिकाको योजनालाई साथ दिँदा आफूहरु सफल भएको दाबी समेत गरे । उनले कृषकलाई ड्रागनखेती तर्फ आकर्षित गर्न पालिकाको लागानीमा ड्रागन खेती गरिएको र यसको खेती गर्न चाहने कृषकलाई पोल, बिरुवा, टायललगायतका वस्तुमा सहयोग गर्दै आएको बताए ।
फूडमान्डुले मनायो १३औं वार्षिकोत्सव
काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहिको लागि पहिलो रोजाई हुन सफल भएको छ । यस अवसरमा बोल््दै फूडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले भने, ‘फूड डेलिभरीलाई सहज बनाउने उद्देश्यका साथ हामीले आजभन्दा १३ वर्ष अगाडि फूडमान्डुको शुरुवात गरेका थियौँ । आजको दिनसम्म हाम्रा प्रयोगकर्ताहरूले दिनुभएको साथ र मायाले हामी अत्यन्तै प्रभावित छौँ । हामी सदैव हाम्रा ग्राहकलाई स्वादिष्ट परिकार घरमै पुर्रयाउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौँ । हाम्रो आजसम्मको यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण ग्राहकवर्ग र हाम्रो साझेदारहरुप्रति हामी आभारी छौँ ।’ यसै गरी फूडमान्डुका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले भने, ‘फूडमान्डु आफ्नो किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको छ, जुन हामी सबैको लागि महत्वपूर्ण कोशेढुंगा हो । हाम्रो यो कोसेढुङ्गासम्म ल्याइपुर्याउनुहुने हाम्रा ग्राहकहरुलाई धन्यवाद दिनको लागि हामीले ‘टिन इयर म्याजिक’ अफर ल्याएका छौँ । यो अफर अन्तर्गत हामीले कम्बोमा ५१५ सम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५५ सम्म फ्ल्याट छुट सहित विभिन्न अफरहरू प्रदान गरिरहेका छौँ । यसका साथै हामीले वार्षिकोत्सवको दिनमा अर्थात कार्तिक २५ मा प्रत्येक अर्डरमा प्रोमो कोड ‘टिन इयर म्याजिक’ को प्रयोगमा थप १३ प्रतिशत छुट पनि दिइरहेका छौँ । हाम्रो वार्षिकोत्सवलाई अझ उत्साहपूर्ण बनाउन हामीले विभिन्न रेष्टुरेन्टहरूबाट निःशुल्क मिठाईहरू पनि प्रदान गर्दैछौँ । साथै मःमः,चिकेन विङ्ग जस्ता अर्डरहरुमा ३ पिस थप गरेर १३ पिस प्रदान गर्दैछौँ । यससँगै नोभेम्बरको अन्त्यसम्म हरेक दिन विभिन्न सरप्राइज अफरहरू पनि छन् ।’ फुडमाण्डुले विभिन्न चरणहरुमा लगानी संकलन गर्न सफल भएको छ । सन् २०१६ मा पहिलो चरणको लगानी टिएनएबाट संकलन गर्न सफल भएको थियो भने सन् २०२० मा टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी संकलन गरेको थियो । झण्डै ४० लाख डलरको अहिलेसम्मको सबैभन्दा ठूलो र तेस्रो लगानी डोल्मा इम्प्याक्ट फण्डबाट हालै मात्र संकलन गर्न सफल भएको थियो । सुरुवाती दिनहरुमा केवल १० मात्र अनलाइन अर्डर आउँथ्यो भने अधिकांशले फोन कलमार्फत नै अर्डर दिन्थे। तर आजको दिनमा ९५५ अर्डरहरू फूडमान्डुको मोबाइल एप मार्फत आउँछ, जुन अहिलेसम्म ५,००,००० भन्दा बढीपटक डाउनलोड भइसकेको छ । यो संख्याले कम्पनीको स्थापनादेखि आजसम्म फूड अडरिङ ट्रेन्डमा भएको महत्वपूर्ण परिवर्तनलाई देखाएको छ । साथै सुरुवातमा केवल १० वटा रेस्टुरेन्टहरू मात्र आवद्व थिए भने आजको दिनमा १४०० रेस्टुरेन्टहरू आवद्व छन्भने २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन्। फूडमान्डुले आजसम्म ४ लाखभन्दा बढी स्वादका पारखीहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । भर्खरै मिनिमम अमाउन्टको अर्डर गर्नुपर्ने बाध्यता पनि हटेपछि अझै बढी ग्राहकहरुले फूडमान्डु मार्फत अर्डर गर्न थालेका छन् ।
चराजस्तै उड्न अब चन्द्रागिरी-चित्लाङमा प्याराग्लाइडिङ
काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु भएसँगै पर्यटकहरु पनि शाहसिक पर्यटनमा आकर्षित भएका हुन् । भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान शुरू हुन्छ । चन्द्रागिरी—२३ सय मिटरबाट शुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ । अप्रतिम दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुने बताउनुहुन्छ प्रशिक्षक पाइलट सुनुवार । प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले पर्यटकहरुलाई मोहित पार्छ । उहाँले उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने बताए । यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । उडानमा चुनौति भन्दा बढी रमाइलो रहेको बताए । उडान गर्नेहरुका लागि पिकअपको लागि सोह्रखुट्टे र कलंकीमा पुग्नुपर्नेछ । समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिने उनको भनाइ छ । एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र यो रुटमा कुनै उडान नहुने भएकाले पनि सुरक्षित स्थान रहेको बताउनु भयो । ६ वर्षदेखिको दौडधुपले काम सफल भएकोमा खुशी लागेको बताए । उडानका लागि अहिले ६ जना पाइलट रहेको र आवश्यकताअनुसार बढाउँदै लैजाने पनि बताए । शुरुवाती एक महिनाको लागि फोटो भिडियोसहित नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमाआउनेलाई ८ हजार रुपैयाँ लाग्ने बताए । त्यस्तै फोटो भिडियोसहित विदेशी नागरिकलाई पनि हाललाई १२ हजार तोकेको बताउनु भयो । मौसमले साथ दिएसम्म ३० देखि ४० जनाले दिनमा प्याराग्लाइडिङ गर्नसक्ने बताए । उहाँकाअनुसार अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी रहेको छ । ‘उड्ने स्थान समुन्द्री सतहबाट २३ सय मिटर अग्लो छ । ल्याण्डिङ हुने ठाउँ समुन्द्री सतहबाट १७ सय मिटर रहेको छ । ल्याण्डिङ चित्लाङमा हुन्छ भने चन्द्रागिरी डाँडाबाट उड्दैछौँ । उडान अवधि १५ देखि २० मिनेट भनेपनि कति रमाइलो लाग्छ, २० देखि २५ मिनेटसम्म उड्नेछौँ । यो नेपालको काठमाडौं शहरबाट एकदमै छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । स्वागत छ । आकाशमा उड्ने शाहसिक पर्यटनमा स्वागत छ । यो उडानमा चुनौति छैन । रमाइलो मात्रै छ’, प्रशिक्षक सुनुवारले भने । उनले प्रतिव्यक्ति ७ देखि १२ हजार सम्ममा उडान गर्ने व्यवस्था रहेको र दैनिक ३० देखि ४० जनासम्मलाई उडाउने गरिएको बताए । ‘अहिले हामीले पिकअपको लागि एउटा भेकल र ६ जना पाइलट छन् आवश्यक अनुसार बढाउँदै जानेछौँ । एक महिनाको लागि नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमाआउनेलाई ८ हजार गरेका छौँ । विदेशीको लागि हाललाई १२ हजार तोकेका छौँ । यसमा फोटो भिडियोसहित हो । मौसमले साथ दिएसम्म ३० देखि ४० जना ग्राहक सहजै उडाउनेछौँ । अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी छ’, उनले भने । यता प्याराग्लाइडिङ गर्न पुगेका सर्वसाधारण नागरिकहरु भने चित्लाङ पर्यटकका लागि उचित स्थल भएकाले प्याराग्लाइडिङले थप पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउँछन् । सर्वसाधारण मदन खड्काले चन्द्रागिरीबाट चित्लाङ प्याराग्लाइडिङ गर्दा पर्यटनका साथै रमाइलो अनुभव गर्न सकिने बताए । उनले भने, ‘साथीहरुसँग रमाइलो लाग्छ । चित्लाङ पर्यटकका लागि राम्रो छ । त्यसअनुसार अहिले यसरी सहजै चन्द्रागिरीबाट चित्लाङ जान राम्रो हुन्छ ।’ त्यस्तै प्याराग्लाइडिङ गर्न चन्द्रगिरी पुग्नुभएका नेपाल प्रहरीकास हायक हवल्दार सुवास कुमारले प्याराग्लाइडिङ गरिसकेपछि कुरा गर्दै रमाइलो लागेको अनुभव सुनाए । उनले सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक काम र पहलकदमी गर्नुपर्ने बताए । ‘रमाइलो अनुभव भयो । पर्यटनका लागि नेपालमा फोकस गर्नुपर्ने छ’, उनले भने । यता चित्लाङ घुम्न आउनुभएका सिन्धुलीका शिक्षक लक्ष्मीप्रसाद घिमिरेले चित्लाङमा प्याराग्लाइडिङ नयाँ आएको र आम नागरिकले धेरै मन पराएको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि आकर्षक हुनसक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘प्याराग्लाइडिङ नयाँ आएको रहेछ । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि आकर्षक हुनेछ । सरकारले पनि केही व्यवसायिक लगानी गर्नुपर्छ ।’ उनले चित्लाङ र काठमाडौंमा पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ टर्निङ प्वाइन्ट बन्नसक्ने भन्दै सरकारले व्यवसायिक लगानी गरेर भएपनि आवश्यक चासो र हौस्ला प्रदान गर्नुपर्ने बताए ।