नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन हुने
काठमाडौं । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको उनको भनाइ छ । दैनिक आउजाउ गरी छपटक सञ्चालन भइरहेको रेल भङ्गाहा (बिजलपुरा)–जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ । जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ । महाप्रबन्धक झाले भने, ‘चिसो मौसमका कारण यात्रुको सुविधा र स्वास्थ्यलाई मध्यनजर गरी समय मात्र परिवर्तन गरिएको छ ।’ परिवर्तन गरिएको नयाँ तालिकाअनुसार रेल सेवाको पहिलो ट्रिप रेल भङ्गहाबाट (बिजलपुरा) बिहान ७ः३० प्रस्थान र जयनगर ९ः१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४ः१५ बाट चल्ने रेल साँझ ७ः१५ बजे भङ्गहा आइपुगेर रात्रि विश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ । त्यस्तै जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११ः४५ बजे चल्ने रेल जयनगर दिउँसो १ः१५ बजे पुग्ने जनाएको छ । यसैगरी फेरि जयनगरबाट दिउँसो १ः४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३ः१५ बजे सञ्चालन भई दिउँसो ४ः४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनी जनकपुरधामका कर्मचारी रञ्जितकुमार ठाकुरले जानकारी दिए । दिउँसो ४ः४५ बजे जयनगरबाट बिजलपुराका लागि अन्तिम रेल सेवा सञ्चालन हुने उनको भनाइ छ । यो रेल साँझ ७ः१५ बजे भङ्गहा (विजपुरा) पुगेर रात्रि विश्राम बस्ने छ । यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थाबाट महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७ दशमलव पाँच किलोमिटर रेलको लिक तयार भएको छ । तेस्रो चरणमा विजलपुरा भङ्गाहाबाट बर्दिबाससम्म १८ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनका लागि लिक निर्माण भइरहेको छ । रासस विसं १९९४ मा जुद्धशम्शेरका पालामा सुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग २०५८ सालमा बाढीले बिग्हीपुल (लोहारपट्टि, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो । नेपालमा पहिलो रेल सेवा १९८४ सालमा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो । अहिले सञ्चालन भइरहेको नेपाली रेल २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकर्ण कर्पोरेशनसँग रु ८४ करोड ६५ लाखमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको थियो । सो रेलमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । रासस
धुमधामका साथ मनाइँदै भाइटिका, डिजिटल दक्षिणा दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज धुमधामका साथ भाइटिका मनाइँदै छ । भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको बताइएको छ । योसँगै नेपाल राष्ट्र बैंकलाई दिदिबहिनीलाई डिजिटल दक्षिणा दिन आग्रह गरेको छ । नोटको कारोबार नगरी मोबाइल बैंकिङ मार्फित् दक्षिणा दिन राष्ट्र बैंकले आग्रह गरेको हो ।
चार देशीय महिला क्रिकेटमा नेपाल २७ रनले पराजित
काठमाडौं । हङकङमा जारी चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल २७ रनले पराजित भएको हो । जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भएको हो । नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।
सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने
काठमाडौं । नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक मुलुक हो र उसले आफ्नो विद्यमान २०६० लक्ष्यको तुलनामा धेरै नै महत्त्वाकांक्षी कार्बन तटस्थताको लक्ष्यको मागलाई पन्छाएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सन् २०२३ र सन् २०५० को बीचमा विद्यमान जीवाश्म इन्धन सम्पत्तिहरूबाट वैश्विक उत्सर्जनको ४५ प्रतिशत हिस्सा चीनको हुने अनुमान गरिएको बताएको छ । बेलायतस्थित जलवायु साइट कार्बन ब्रिफले सोमबार जारी गरेको विश्लेषणमा चीनले पनि नवीकरणीय ऊर्जा क्षमतालाई अत्यन्त तीव्रताका साथ स्थापना गरिरहेको बताइएको छ । चीन एक्लैले सन् २०२३ मा स्थापना गरेको नयाँ सौर्य ऊर्जाको मात्रा अमेरिकामा पूरै स्थापित क्षमताभन्दा दुई गुणा छ । “सन् २०२३ मा स्थापना गरिएको नयाँ सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत् र आणविक क्षमताले मात्र प्रतिवर्ष अनुमानित चार सय २३ टेरावाट घन्टा (टिडब्लुएच) उत्पन्न हुनेछ जुन फ्रान्सको कूल विद्युत् खपतको बराबर हो”, सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरको लौरी माइलीभिर्ताको प्रतिवेदनमा भनिएको छ । नवीकरणीय ऊर्जा स्थापनामा ठूलो मात्रामा बढोत्तरी र खडेर कम कम हुँदै जाँदा जलाशय फेरि भरिएका कारण जलविद्युत्मा अनुमानित वृद्धिले सन् २०२४ मा जीवाश्म–इन्धन बिद्युत् उत्पादन र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्ने प्रत्याभूति गरेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि चीनले आफ्नो कोइला शक्ति क्षमताको विस्तारलाई जारी राखेको छ । यसले चीनको परम्परागत र नयाँ उदीयमान स्वार्थ समूहहरूबीचको द्वन्द्वका लागि स्थिति तयार गरिरहेको प्रतिवेदनले चेतावनी दिएको छ । नवीकरणीय ऊर्जाको वृद्धिले कोइला उद्योग र स्थानीय सरकारहरूको हितलाई उच्च जोखिममा पार्ने कार्बन ब्रिफले बताएको छ । “यी सरोकारहरूले सम्भावित अवरोध गर्न सक्ने चिन्ता बढाएको छ जसको प्रतिरोध गर्ने अपेक्षा गर्न सकिन्छ”, कार्बन ब्रिफले भनेको छ । चिनियाँ र अमेरिकी जलवायु अधिकारीहरूले यसै महिना हुने कोप२८ सम्मेलनमा वार्ता गर्न यसै साताको सुरुमा भेट गरेका थिए । भेटमा दुवै पक्षले रचनात्मक वार्ता भएको भन्दै प्रशंसा गरेका थिए । एजेन्सी
गाउँको तिहार सम्झिएर न्यास्रो मान्दै सहरिया
काठमाडौं । “आहै झिलीमिली झिलिझिली, के को झिलिमिली, आहै बत्तिको झिलिमिली, सिमल बारुलै सिमल बारुलै…….” गायक नवीनकुमार खड्का र पुस्तका खड्काका मात्रै होइन धेरै लोकप्रिय गायक र कलाकारका स्वरमा हरेक तिहारमा टेलिभिजन, रेडियो र सामाजिक सञ्जालमा देउसी–भैलोका गीत गुञ्जिएका हुन्छन् । मौलिक नेपाली संस्कृतिका रुपमा रहेको यो देउसी–भैलोको परम्परा पछिल्लो समयमा प्रत्यक्ष खेलेरै संस्कृति संरक्षण गर्ने कार्यमा कमी आएको देखिन्छ । तिहारको रौनकसँगै गाउँ–सहरमा भिलिमिली बत्तीको उज्यालो छाउँछ । घरका ढोका र आँगनदेखि ढोकासम्म सयपत्री र मखमली फूलका माला र रङ्गोलीले सजिएका हुन्छन् । पहिला पहिला गाउँघरको दैउसी–भैलीको रौनक बेग्लै हुन्थ्यो । राँको, टर्च लाइट, लालटिन वा मैनटोल बालेर कात्तिक कृष्णपक्षका रातमा परबाट देउसी–भैलीको टोली गाउँदै हिँडेका हुन्छन् । कुनै घर नजिकै पुग्न लागेपछि कुकुर भुक्न थाल्छ । घरका बा–आमाले आँखा तन्काउँदै हेर्छन् । ओहो, देउसी–भैलो टोली आएछ है भन्दै स्वागतको तयारीमा जुट्छन् । ‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको, ए…. औँशीको बारो गाईतिहारो भैलो’ गाउँदै विभिन्न भाकामा बूढाबुढी, बालबालिका र युवाहरु एकसाथ नाचगान गरेर जाने बेलामा घरधनीले खुसी मनले नाङ्गलामा चामल, दियो बत्ती, सेल–रोटी, फलफूल, मिठाइ र दक्षिणा ठीक पार्छन् । देउसी भैलो खेल्नेले ‘ढुङ्गा छुँदा अन्न होओस्, यो घरमा सुनको छाना होओस्’ आदि भनेर शाषिश पनि दिने गर्दछन् । नेपाली मौलिक संस्कृतिका रुपमा रहेको यो परम्परा पछिल्ला वर्षमा हराउनुमा सहरिया जीवनशैली, युवाहरुको विदेश पलायन, आर्थिक मन्दि, कोभिड–१९ पछिको अवस्था, समय समयमा आइपर्ने विपद्का घटना आदि कारण देखिएका छन् । देउसी–भैलो तिहारको मौलिक गहना हो । तिहार भन्नासाथ देउसी–भैलोको झझल्को हरेकलाई आउने गर्छ । समयक्रमसँगै सांस्कृतिक रहनसहनमा परिवर्तन आएकाले तिहारको रौनक क्रमिक रुपमा घट्दै गएको छ । यो वर्ष पनि तिहारको चहलपहल निकै घटेको छ । विगतका वर्षहरुमा गाउँघरदेखि सहरमा देउसी–भैलो खेल्ने हुलका हुल रातभर हिँड्थे । तिहारलाई थप उल्लासमय बनाउँथ्यो । तर, यसपटक तिहारमा विगतका वर्षमा जस्तो उल्लासमय देखिँदैन । त्यसो त विदेशमा रहने नेपालीले आफू बसेका ठाउँमा पनि चाडपर्व मनाएका हुन्छन् । उनीहरुले त्यहाँ नेपाल र नेपालीको संस्कृतिप्रतिको माया दर्शाउँदै नाचगान गरेका भिडियो सामाजिक सञ्जालमा देखिन्छन् । काठमाडौँ उपत्यकालगायत मुख्य सहरदेखि भित्री गल्लीहरुमा पनि देउसी–भैलोको चहलपहल देखिँदैन । कतिपय घरटोलमा त बत्तीको झिलिमिली पनि छैन । अति व्यस्त बजार असन, नयाँसडक, वसन्तपुरतिर त्यत्ति चहलपहल छैन । वसन्तपुर क्षेत्रमा केही विदेशी पर्यटक घुमिरहेका भेटिए पनि बजारमा किनमेल खासै बढेको छैन ।पहिला पहिला खैजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा नै हाम्रो संस्कृतिको वैभव हो । देउसी–भैलोबाट जम्मा भएको रकम विद्यार्थीको पठनपाठन, मठ, मन्दिर, चौतारी, पँधेरा, कुवा निर्माण तथा दिनदुःखीलाई दान दिने जस्ता सामाजिक पवित्र काम गरिने असल परम्परा पनि हुने गर्दथ्यो । पश्चिमा संस्कृति र आधुनिक पप–सङ्गीतको प्रभावका कारण मौलिक संस्कृतिमा प्रतिकूल असर परेको संस्कृतिविद् एवं पाका नागरिकको बुझाइ रहेको छ । संस्कृतिविद् जगमान गुरुङ मेमोरी कार्ड राखेर डिस्को बजाउँदै नाच्नेजस्ता विकृतिले मौलिक संस्कृतिलाई गाँज्दै गएको बताउँदै देउसी र भैलोको आदर्श र मर्यादा गुम्दै गएको जानकारी दिन्छन् । “राजनीतिक दलका भातृृ सङ्गठन र संस्थाले राजनीतिक अभिष्ट र आर्थिक सङ्कलनको स्वार्थ राखेर देउसी भैलो खेल्न थालेका पनि देखिएको छ । सनातन कूलधर्म र परम्परालाई बजारमुखी बनाइएको छ । नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको मुहान सुक्न थालेको छ’’, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गुरुङले भने, “गाउँघरमा द्वन्द्वकालदेखि नै मानिस विस्थापन हुँदै गए । सहरमा सहरिया जीवनशैलीले मानिसमा सामाजिकता हराउँदै गएको छ । संस्कृतिलाई संयमित बनाउने नाममा सरकार र स्थानीय तहले यतिबजेसम्म खेल्न पाइने र नपाइने भनेर नियम बनाएको छ । यी सबैको मारमा देउसी भैलो पनि परको छ ।’’ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ यमपञ्चकसहितको तिहारले काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइपूजा गरेर जनावर, प्रकृति र कृषि कर्मको पूजादेखि आपसी भातृत्वको संरक्षण गर्ने बताउँछन् । यस्तो असल परम्परालाई जोगाउनु सबैको दायित्व भएको पुडासैनीको आग्रह छ । अर्का साहित्यकार सरिता अर्याल सामाजिक अपराधका घटनको डरले सहरमा रातिसम्म हिँडडुल गर्न असुरक्षा हुने गरेको र संस्कार–संस्कृतिमा कमी आएका कारण यस वर्ष देउसी भैलो खेल्नेहरु न्यून भएको बताउँछन् । भोजपुरको साल्पा सिलिछो गाउँपालिका–४ का ७० वर्षीय उद्धवबहादुर राई गाउँघरमा पनि पहिला पहिला जस्तो उल्लासमय तिहार नभएको बताउँछन् । “गाउँमा तन्नेरीहरु छैनन् । बूढाबुढीले खेल्न जानु पनि भएन । पहिलाको जस्तो मजा हुनै छाडेको छ ।’’ संखुवासभा घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ६८ वर्षीय लालबहादुर बुढाथोकी आजभोलि देउसी खेल्ने र मनाउनेहरु धेरै कम देखिएको जनाउँदै साना साना बालबालिका अलिअलि देखिए, अरु देखिएनन् । युवा पुस्तामा धर्म–संस्कृतिप्रतिको विश्वास र लगाव कम भएर पनि उनीहरुको रुचि घटेको हुन सक्ने उनको भनाइ छ । प्यूठान घर भइ हाल भक्तपुर बस्दै आउनुभएका खुम केसीको अनुभवमा सरहको तिहार न्यास्रो भएको छ । कोभिडपछि धेरै व्यावसायी काठमाडौँ उपत्यकाबाट बाहिरएकाले पनि चलहपलहमा कमी आएको उनको भनाइ छ । पौराणिक मान्यताअनुसार दानवीर कहलिएका बलीराजालाई दमन गर्न वामनको रुप धारण गरेका भगवान विष्णुको सहारामा देवताहरु लागेका बेला तीन पाउ जमिन पाउँ भनेर माग्दा बलीराजाले त्यति जमिन दिने सङ्कल्प गरे । वामनको अवतार ठूलो हुँदै गएकाले उनको एउटा पाउले पृथ्वी र अर्को पाउले आकाश ढाक्न थाले । वामनको तेस्रो पाउ पर्नासाथ बलीराजा भासिएर पाताल पुगे । त्यसपछि राजाले विष्णुसँग वर्षमा एक पटक तिहारमा पृथ्वीलोक घुम्न पाउने वरदान लिए । तिनै बलीराजा पृथ्वीमा आउने भएपछि दीप प्रज्ज्वलनसहित देउसी भैलो खेल्ने गरिन्छ । सबै ठाउँमा बलिराजा जान नभ्याउने भएकाले देउसी र भैलो खेल्ने समूहले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए……’ भन्दै घरघरमा पुग्ने गरेका हुन् भनिएको छ ।रासस
स्वयम्भू र साँखुबाट जुवाडे पक्राउ
काठमाडौ । जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवाडे पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज ४ लाख तथा कौडा र ताससहित जुवाडे पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुङगानाका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जुवाडेलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । उनीहरुको साथबाट रु एक लाख १७ हजार नगद बरामद भएको उनले बताए । यसैबीच, तिहार लक्षित सुरक्षा योजनाअनुरुप मादकपदार्थ सेवनका कारण हुनसक्ने दूर्घटना न्यून गर्न पूर्वनिर्धारित कार्ययोजना अनुरुप जाँच भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
प्रविधिको विकासले मादल व्यवसाय सङ्कटमा
काठमाडौं । नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्व । अझ गीत सङ्गीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ । मादलबिना हरेक लोकगीत सङ्गीत अपुरो हुन्छन् । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । तिहार पर्व होस् या अन्य मेला महोत्सव गाउँ सहर जताततै मादल घन्किन्छन् । जब मादलको ताल बज्छ, तब हरेक मानिसको मनमा उमङ्ग भरिन्छ । पछिल्लो समय मादलको प्रयोग घट्दै गएकामा सङ्गीतका पारखी मात्र होइन, मादल बनाउने व्यवसायीहरु पनि चिन्तितमा छन् । यतिबेला गाउँ सहर जताततै तिहारको रौनक छ । पहिला पहिला देउसी भैलो खेल्नेले बजाएको मादलको धुन परपरसम्म सुनिने गर्दथ्यो तर आजभोलि मादल कम बज्ने गरेका छन् । तिहारमा देउसीभैलो खेल्ने टोलीहरुले एक महिना अगाडि नै मादल किनिसकेका हुन्थे । दैउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले जोर मादल किन्ने गर्दथे । तर यस वर्ष भने तिहार भित्रिसके पनि मादल विक्री नहुँदा बागलुङका मादल व्यवसायीहरु चिन्तित बनेका छन् । नेपालको सांस्कृतिक बाजामध्येको मादल विशेषगरी तिहार र विभिन्न चाडपर्वको बेला बजाएर रमाइलो गर्ने नेपालीजनको पहिचान नै हो । विगतका वर्षहरुमा यो याममा सयौँ मादल बच्ने व्यवसायी यतिबेला घाम तारेर ग्राहक कुरेर बसिरहेका छन् । तिहारका बेला नाच्दै गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरे पनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल व्यवसाय सकटमा पर्न थालेको हो । पछिल्लो समय देउसी भैलो होस् या कुनै कार्यक्रम नयाँ युवा पुस्ताहरु मोबाइल, डेक र ठूला–ठूला स्पिकरमै रमाउँछन् । उहिलेका मादलको तालमा नाचिने नाचहरु पनि लोप भइसकेका छन् । आधुनिक, पप र रिमिक्सका नाममा युवा पुस्तामाझ मादलप्रतिको आकर्षण कम हुँदै गएको छ । एक दशक अगाडिको तिहारको समयमा एउटै पसलबाट पाँच सयको हाराहारीमा मादल बिक्री हुने गर्थे तर यस वर्षको तिहारमा १० वटासम्म पनि बिक्री नभएको यहाँका व्यवसायीहरुको गुनासो छ । बागलुङका विभिन्न ठाउँहरुमा वर्षौँदेखि मादल व्यवसाय गर्ने व्यापारीहरु हिजोआज निकै चिन्तित बनेका छन् । पहिले–पहिले दसैँ तिहारका समयमा गाउँ र सहरबाट मादलको माग निकै हुने गरे पनि अहिले तीन वर्ष अगाडि बनाएका मादल पनि विक्री नभएको स्थानीय पिरताम्बर दर्जी बताउँछन् । आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादलको व्यापार घट्नको साथै परम्परागत बाजा लोप हुन थालेको दर्जीले दुःखेसो पोखे । “पेसा धरापमा पर्दै गएको छ, रोजीरोटि घुम्ने डर भयो, हातमा सीप मात्र भएर के गर्ने ?, बनाएका सामान विक्री हुँदैनन्, आधा बढी उमेर यही पेसामा बिताएँ, अब बुढेसकाल पनि लाग्यो, के काम गर्ने, मादल त बसीबसी पनि बनाउन सक्थे” उनले भने, “ कुनै बेला पसलमा मान्छेको भीड हुन्थ्यो, मागअनुसारको मादल पुर्याउन सक्दैनथे, अहिले कोही आउँदैनन्, दिनभरि पसल खोल्यो, पुराना मादललाई रङ्गरोगन गरेर नयाँ बनायो, तुना खुस्काकाको कस्ने बाहेक अरु केही उपलब्धि छैन ।” विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको छ । बागलुङमा विभिन्न जातजातिका आफ्नै कला, संस्कृति छन् । हरेक चाडबाडका बेला उनीहरुले आफ्नो रीतिरिवाज अनुसारका गीत गाउने, बजाउने र रमाइलो गर्ने प्रचलन छ । युवा पुस्ता पलायन र बुढापाकाले प्रयोग गर्न नसक्ने हुँदा मादलको प्रयोग घट्नुका साथै मौलिक संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन् ।सत्ताइस वर्षदेखि मादल व्यवसाय गर्दै आएका दिलबहादुर नेपालीले सरकारले मौलिक संस्कृतिसँगै बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको गुनासो गरे । विगतमा तिहारका लागि वर्षभरि मादल बनाउने गर्ने र एक महिनामा बच्ने गरेको स्मरण गर्दै पहिले बनाएका मादल विक्री नहुँदा आजसम्म पनि गोदाममै थन्किएको सुुनाए । उनी मादल व्यवसायको संरक्षण गर्न सरकारले गाउँ–गाउँ विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम समावेश गर्नु पर्ने बताउँछन् । जिल्लाका १० वटै पालिकाले कला संस्कृति संरक्षणका लागि पश्चिमा संस्कतिलाई निरुत्साहन गरे मादल व्यवसाय फस्टाउने र स्थानीय संस्कृतिको जगेर्ना हुने नेपाली बताउँछन् । आफूले उत्पादन गरेको मादल बागलुङ जिल्लाका विभिन्न स्थानसँग गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, पर्वत, म्याग्दी र बुटवलसम्म पुग्ने गरेको भन्दै अचेल कतैबाट पनि माग नआउने उनले सुनाए । मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने उनको भनाइ छ । मादलको माग घटेसँगै कच्चा पदार्थ पनि पाउन छोडेको नेपालीले बताए । अन्य समयमा भन्दा तिहारमा मादलको व्यापार हुने भए पनि अहिले मादलको व्यापार ९५ प्रतिशतले कमी आएको उनको भनाइ छ । पहिले विदेल जानेहरुले पनि आफू कहाँबाट मादल किनेर लैजाने गरेको उनी सम्झिन्छन् । नेपालीले भने, “मैले मादल बनाउन थालेको २२÷२२ वर्ष भयो, काम सुरु गर्ने बेला धेरैले हेप्थे, छालाको काम गर्छ भन्थे, त्यस्तो भन्दा मन खिन्न हुन्थ्यो, पछि–पछि मादल विक्री भएर पैसा कमाउन थालेपछि जसले जे भने पनि मैले केही मतलब नै राखिन, परिवार राम्रोसँग चलेको थियो, छोराछोरी पढाउने, हुर्काउने पनि यहीँबाट भयो, वर्षभरि मादल बनायो, तिहार आउने बेला बेच्ने गरिन्थ्यो, कुनै मेला महोत्सवमा पनि लगेर पनि विक्री हुन्थ्यो, अहिले जहाँ लगेर राखे पनि विक्री नै हुँदैन, हातमा भएको सीप बिक्न छोड्यो ।” पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल विक्रीमा कमी आएको धेरैको बुझाई छ । नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै सङ्कटमा परेपछि व्यवसायीहरु पनि पलायन हुने अवस्था आएको छ । अचेल देउसी भैलो खेल्नेले इलेक्ट्रोनिकक्स साउण्ड सिस्टम किन्ने गर्छन् । साउण्ड सिस्टमलाई न्यूनतम पनि पाँच हजार पर्छ । तर मादल दुई हजार पाँच सय रुपैयाँमै पाइन्छ । मादल सस्तो हुँदा हुँदै पनि देउसी भैलो खेल्नेहरुले स्पिकर र माइक्रोफोन किन्ने गरेका छन् । भैलो खेल्नेले पहिलेको जस्तो मौलिक गीत र नाच नदेखाउने स्थानीय ६७ वर्षीय दलबहादुर घर्ती मगरले बताए । उनले तिहारमा पुराना मौलिक गीत गाउने, मादल, झ्याली, बजाएर देउसी भैलो खेल्ने गरे पनि अचेल त्यो सबै हराउँदै गएको बताए । आफ्ना पालामा तिहारका बेला सोरठी, मारुनीलगायतका नाचहरु देखाउने गरे पनि अहिलेका युवा पुस्ताले चासो नदिँदा त्यस्ता नाँचहरु हराउँदै गएको उनको भनाइ छ । सोरठी र मारुनी नाच गीत र मादलकै तालमा नाचिने घर्तीमगर बताउँछन् । आफूहरुको पुस्ताले नाच्न, गाउन र बजाउन नसक्ने भएपछि त्यस्ता मौलिक संस्कृति लोप हुँदै गएको घर्ती मगरको गुनासो छ । स्थानीय सरकारले पुराना कला संस्कृतिलाई संरक्षण गर्न चाहे बुढापाका मिलेर निःशुल्क सिकाउन सक्ने उहाँ बताउँछन् । “हाम्रो जिजु बाजेदेखि नै चल्दै आएका रीतिथिति हामीहरुले मनायौँ, उहाँले गाउने गीत, बनाउने, मादल, डम्फु हामीहरुले पनि बजायौँ, हाम्रो पालासम्म पुराना संस्कृतिहरु बँचेका थिए, अहिले हामीहरु नसक्ने भयौँ, बुढेसकाल लाग्यो, हात पाखुरा चल्दैनन्” उनले भने, “हाम्रो पालामा अहिलेको जस्तो गीत बजाउने, सुन्ने चलन थिएन, उतिबेला त हामी आफैँ गाउने, बजाउने र मेला महोत्सवमा रमाइलो गर्ने चलन थियो, रोधी बस्ने पनि गरिन्थ्यो अहिले त यो कहीँ कतै सुनिदैन, रोधी जस्तै तिहारमा नाच्ने मारुनी र सोरठी पनि लोप भएर जाने भए ।”पछिल्लो समय मादल विक्री हुन छोडेपछि ‘इलेक्ट्रोनिक्स साउण्ड सिस्टम’को माग बढी रहेको व्यापारीहरु बताउँछन् । ठूला–ठूला मेला महोत्सवका लागि मात्र विक्री हुने स्पिकर हिजोआज तिहारमा भैलो खेल्नका लागि किनिन्छन् । स्पिकरमा रेकर्ड गरेको गीत बजाएर नाच्न सहज हुने हुँदा धेरैले साउण्ड सिस्टम किन्न थालेको बागलुङका मिलन सुवेदीले बताए । उनले यस वर्ष तिहार अगाडि नै ७० वटा साउण्ड सिस्टमका लागि माग आएको हुँदा आफूले काठमाडौँदेखि १०० बढी खरिद गरेर ल्याएको भन्दै त्यसले नपुगेर थप डेढ सय मगाएको बताए । आफ्नो पसलबाट हरेक गाउँ र बजारमा साना ठूला माइक तथा स्पिकरहरु पुग्ने हुँदा आम्दानी पनि राम्रो गर्न सफल भएको उनको भनाइ छ । आफूले १३ वर्षदेखि घडी, रेडियो, टिभी, मोबाइल लगायतका विद्युतीय सामग्री विक्री तथा मर्मत गर्दै आएको बताउँदै सुवेदीले तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढेकाले यसको व्यापारतिर लागेको बताए । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले नयाँ पुस्तालाई मौलिक संस्कृतिको संरक्षणमा आकर्षित गर्न पाठ्यपुस्तकमै स्थानीय स्तरमा रहेका कला, संस्कृति, परम्परालगायतका विषयवस्तु समावेश गरेर पठनपाठन सुरु गरेको बताए । “हामी सानो हुँदा हाम्रो बुबा, हजुरबुबाहरुले तिहार र मेला महोत्सवको बेला गीत गाएर मादल बजाउँदै नाच्ने गर्नुहुन्थ्यो’’, अध्यक्ष बुढा मगरले भने, ‘‘कला संस्कृति लोप हुनबाट जोगाउनका लागि अहिलेदेखि नै नयाँ पुस्तालाई आकर्षण गर्ने खालका कामको थालनी गर्दै छौँ ।” पहिले यस क्षेत्रमा रहेका यानीमाया, सुनियाया, झ्याउरेलगायत मादलको तालमा गाइने गीतहरु लोप भएको अध्यक्ष बुढा मगरले बताए । युवा पुस्तालाई मौलिक संस्कृति संरक्षणमा अग्रसर गराउनका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको र कामसमेत भइराखेको उनको भनाइ छ ।रासस
राष्ट्र बैंकले भन्यो : भाइटिकामा दक्षिणा दिँदा डिजिटल कारोबार गर्नु, बचत गर्ने बानी बस्छ
काठमाडौं । राष्ट्र बैंकले भाइटिकामा बहिनीलाई दक्षिणा दिँदा बैंक खातामा पैसा पठाउन अनुरोध गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै भाइटिकामा दक्षिणा बैंक खातामै पठाएर नगद कारोबार नगर्न अनुरोध गरेको हो । ‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्स्फरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौं,’ राष्ट्र बैंकले भनेको छ । यो सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटीएमसम्म जाने झन्झट पनि नहुने राष्ट्र बैंकको भनाइ छ ।