विकासन्युज

राष्ट्र बैंकले भन्यो : भाइटिकामा दक्षिणा दिँदा डिजिटल कारोबार गर्नु, बचत गर्ने बानी बस्छ

काठमाडौं । राष्ट्र बैंकले भाइटिकामा बहिनीलाई दक्षिणा दिँदा बैंक खातामा पैसा पठाउन अनुरोध गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै भाइटिकामा दक्षिणा बैंक खातामै पठाएर नगद कारोबार नगर्न अनुरोध गरेको हो । ‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्स्फरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौं,’ राष्ट्र बैंकले भनेको छ । यो सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटीएमसम्म जाने झन्झट पनि नहुने राष्ट्र बैंकको भनाइ छ ।

नेपालको सयपत्री खाडी मुलुकमा निर्यात, प्रतिमाला १५० रुपैयाँमा कतार पठाइयो 

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पु¥याइएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने, “यो गाउँपालिकाका लागि नै खुसीको कुरा हो । गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकामा कतारसम्म निर्यात भएको छ ।” पहिलो चरणमा प्रतिमाला १५० रुपैयाँका दरले कतार पठाइएको छ । अरु बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताउनुभयो । फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उनको भनाइ छ ।  अध्यक्ष चुमानले भने, “पहिलो पटक तीन ठाउँमा खेती गरियो, अब यसलाई विस्तार गर्ने योजना छ ।” गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गरेको छ । गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ । गाउँपालिकाले चालू आवदेखि अनुदानको कार्यक्रम अगाडी बढाएको छ । सोही बमोजिम तीन ठाउँमा सयपत्री फूलखेती सुरु गरी उत्पादन भइसकेको छ । उत्पादन भएको सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताए । गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि आँबुखैरेनी–३ मा हाटबजार सञ्चालनमा ल्याएको छ । उक्त हाटबजार प्रत्येक शुक्रबार सञ्चालन हुने गरेको छ । गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीका लागि सहयोग गरेको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो ५ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । स्थानीय स्तरमा किलोको २ सय रुपैयाँसम्म बिक्री गरिँदै छ । यस्तै एउटा माला ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

व्यवसायीलाई फूलमाला बिक्री गर्न भ्याइनभ्याइ

काठमाडौं । तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार सुरु भएदेखि नै फूलबारीमा ग्राहक आफँै पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिबेला हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पामा सयपत्री फूल खरिद गर्न विभिन्न ठाउँबाट ग्राहक पुग्ने गरेका छन् । तिहारको चहलपहलले फूल टिप्ने र बिक्री गर्दैमा समय बितेको पत्तो नभएको व्यवसायी दिलबहादुर थापा बताउँछन् । “तिहार सुरु भएदेखि नै फूलमाला खरिद गर्न ग्राहक आउन थाल्नुभएको हो, बिहानदेखि साँझसम्म फूलवारीमा फूल टिप्ने, माला तयार पार्ने कार्यमा व्यस्त छौँ, फूलमालाको व्यापार राम्रो हँुदै गएको छ”, उनले भने । यसपटक मात्रै करिब ४ लाख रुपैयाँसम्मको फूलमाला बिक्रीबाट आम्दानी हुने व्यवसायी थापाले बताएका छन् । गत वर्षको तिहारमा मात्रै २ लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी भएको उनको भनाइ छ । चार वर्षअघि रामपुर नगरपालिकाको सहयोगमा बुटवलमा एक हप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएर रामपुरमा व्यावसायिक उत्पादन सुरु गरेको उनले बताए । फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान सीप पाएपछि नयाँ ढङ्गबाट उनले व्यावसायिक रुपमा खेती गरेका छन् । करिब १५ मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफूमात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उनको सपना छ । एक वर्षमा तीन पटकसम्म सयपत्रीको व्यावसायिक खेती गर्न सकिन्छ । तिहारमा फूलमालाको अभाव हुन नदिनका लागि हरेक वर्ष क्षेत्रफल बढाएर खेती गरिरहेको अर्का व्यवसायी लालबहादुर थापाले बताए । उनले भने, “हरेक वर्ष तिहारमा फूल अभाव भएर धेरै ग्राहकलाई रित्तै पठाउनुपरेकाले अहिले व्यवसाय बढाएर खेती गरिरहेकाले यो वर्षको तिहारमा फूल अभाव हुँदैन, प्रशस्त मात्रामा फूल छन्, जतिबेला पनि ग्राहकलाई हामी उपलब्ध गराउनेछौँ” । यहाँ उत्पादन भएको सयपत्री फूल प्रतिकिलो ५ सय रुपैयाँ, प्रतिमाला १५० रुपैयाँमा धमाधम बिक्री भइरहेको छ । गुणस्तरीय फूलमाला पाएपछि ग्राहक सन्तुष्ट छन् । करिब साढे चार रोपनी जग्गामा लगाइएको फूल यतिबेला ढकमक्क पहेँलै फुलेका छन् । परीक्षणका रुपमा एक रोपनीमा सुरु गरेको व्यवसायले पहिलो वर्षमा नै राम्रो व्यापार भएपछि यसलाई निरन्तरता दिँदै हरेक वर्ष व्यावसाय बढाउँदै गएको व्यवसायी बताउँछन् । फूलमा बसेर फोटो, भिडियो, टिकटक बनाउने हरेक उमेर समुहको चहलपहल पनि उत्तिकै छ । रामपुर नगरपालिकामा हाम्रो आधुनिक कृषि फार्मले मात्रै सयपत्री फूलको व्यवसाय सुरुआत गरेको छ । यसकारण पनि यहाँ उत्पादन भएको फूल रामपुर नगरपालिकाभित्र हुने विभिन्न सभा, समारोह, कार्यक्रम, विवाह, व्रतबन्धलगायतका कार्यमा राम्रै खपत हुने गरेको छ । स्थानीयस्तरमा नै माग धेरै आएकाले बाहिरी बजारमा फूलमाला नपठाउने व्यवसायीको सोच छ । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई व्यवसायीले पहिलो प्राथमिकता दिएका छन् । पछिल्लो समय विभिन्न सङ्घ संस्था, विद्यालयमा दीपावली, शुभकामना आदानप्रदानजस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनु अघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् । फूलको उत्पादन र बिक्री उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ । ‘हाइब्रिड’ जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फूल्ने फूल हिजोआज खासै देखिँदैन । सयपत्री फूललाई व्यवसायीकरण र संरक्षण गर्दै रामपुर नगरपालिकाले प्रोत्साहनस्वरुप विभिन्न अनुदानका कार्यक्रम सहयोग गरेको छ । यहाँ जुनसुकै समयमा पनि सयपत्री फूल उपलब्ध हुने गरेको छ । हाम्रो आधुनिक कृषि फार्ममा प्रविधि सिकेर यस वर्ष विभिन्न विद्यालयमा शिक्षक, विद्यार्थीले सयपत्री फूलखेती सुरु गरेका छन् । यो वर्ष रामपुरमा विगतका वर्षमा जस्तो तिहारमा सयपत्री फूलमालाको अभाव नहुने भएको छ ।रासस

वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

काठमाडौं । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ । फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लगेका छन् । उनले भने, “अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।” अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचडाव आइरहने भएकाले अलैँचीको विकल्पमा किवी खेती विस्तार गर्दै लैजानुभएको उनको भनाइ छ । सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि शुक्रराज लिम्बूले पर्यटकीय क्षेत्रमा किवी खेती विस्तार गरेका छन् । लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भयो । छरछिमेक घर छोडेर बसाई सरेर जानुभयो । पर्यटकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्न थाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् । घर भने त्यतिकै छ । स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाल्नुभयो । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो । उनले किवी खेती विस्तारै गर्नु थाल्नुभयो । लालीखर्कका फाँटमा किवीको बोट झाङ्गिन थालेको छ । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गर्नुभएको उनले बताए । अर्को वर्षदेखि व्यावसायिक उत्पादन हुने उनको भनाइ थियोे । कृषि ज्ञान केन्द्र ताप्लेजुङले किवी किसानलाई ५ लाख रुपैयाँ अनुदान दिएको छ । ५ लाख रुपैयाँ अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गर्नुभएको किसान लिम्बूले बताए । जिल्लामा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् । खेतीमा संलग्न किसानले किवी फल आम्दानीको राम्रो स्रोत बनेको बताउने गरेका छन् । फुङ्लिङ –७ का स्थानीय राजकुमार गुरुङले आफ्नो चार रोपनी क्षेत्रफल बराबरको जमिनमा किवी खेती लगाएको र सोबाट राम्रो आम्दानी भइरहेको सुनाए ।  यहाँले कमै, कोदोजस्ता खेती गर्ने बारीमा किवी खेती विस्तार गरेका हुन् । ६ वर्षअघि व्यावसायिक किवी खेती सुरु गरेका गुरुङले तीन वर्षयता किवी खेतीबाट राम्रो आम्दानी लिँदैआएको बताए । उनले गत वर्ष किवीबाट २ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको र यस वर्ष पनि हाल धमाधम किवी बिक्री गर्न सुरु भएकाले राम्रै आम्दानी हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष किवीको बजार मूल्य पनि राम्रो रहेको छ । उनी जस्तै जिल्लामा धेरै किसानले किवीको व्यावसायिक खेती गर्दैआएका छन् । फुङ्लिङ नगरपालिकाबाहेक सिरिजङ्घा, फक्ताङ्लुङ, सिदिङ्वा, मैवाखोला गाउँपालिका लगायतका क्षेत्रमा स्थानीय किसानले व्यावसायिक किवी खेती लगाएका छन् । एक पटक बिरुवा रोपेपछि धेरै वर्षसम्म फल्ने भएकाले किवीबाट राम्रो फाइदा हुने सिरिजङ्घा –५ पेदाङका स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले बताए । सुरुमा जिल्लामा किवी खेती विस्तार गर्नुपर्छ भनेर विभिन्न किसानलाई प्रेरित गर्दै किवी खेतीका अभियान्ताका रूपमा परिचित बुडाक्षेत्रीले किवी आम्दानीको भरपर्दो र राम्रो स्रोत भएको बताए । आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि व्यवस्थित बजारको आवश्यक रहेको उनको भनाइ छ । उनले भने, “बजार अभावका बाबजुद किसानले खेतीमा गरेको लगानीअनुसार निकै राम्रो आम्दानी गरिरहेका छन् ।” किवीको स्थानीय बजार मूल्य प्रतिकिलोग्राम २ सय ५० रुपैयाँसम्म रहेको छ । हाल किवीको मौसम सुरु भएसँगै अर्थात् पाक्न थालेपछि धमाधम बिक्री गर्न सुरु गरेको किसानको भनाइ छ । सदरमुकाम फुङ्लिङसहित स्थानीय बजारमा किवी बिक्री गर्दै आएका किसानले जिल्ला बाहिर झापा, मोरङ र सुनसरीलगायतका व्यापारीबाट पनि किवीको माग हुन थालेको किसान अमृता गुरुङले बताए । फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हँुदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न थालेका छन् । ताप्लेजुङमा सात÷आठ वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो रु छ सयसम्म खरिद/बिक्री भएको किसानहरूको भनाइ छ । फक्ताङ्लुङ –४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उनको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको उहाँले बताए । रासस

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

म्याग्दी । मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवत जावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिए । ‘कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा हामी (नेपाल) पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौँ’, उनले भने, ‘चिनियाँ पक्षले हाम्रो प्रस्तावमा सहमति जनाएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाहरुले पनि प्रस्थान अनुमतिपत्रको आधारमा कोरला नाकाबाट चीन आवत जावत गर्न पाउने भएका छन् ।’ यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो । सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरुसँग समन्वय गरेर थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिची सम्म ब्यापार, व्यवसायका लागि नियमित आवत जावत थालेका छन् । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको थियो । कोरला नाका नियमित सञ्चालन र सबै मुुस्ताङबासीलाई आवत जावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए । दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडा लगायत सामग्री सस्तोमा आयात गर्न पाएका उनले बताए । चीनको नेचुङ–लिची काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जन सुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा सोमबार दिउँसोदेखि नाका खोलिएको थियो । सो अवसरमा नेपाल तर्फबाट प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो । दुवै सररकारका प्रतिनिधिहरुको उपस्थितिमा नाका खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चिनले लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दाहरुलाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा चीनले कोरला लगायत नेपालका १४ व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा यही कात्तिक २५ गते चीनले दशगजा क्षेत्रको नेपाली भूमीमा पाँच प्रिफेव कन्टेनर जडान गरिएको छ । कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन । नेपालमा थिएनन् । चार हजार मिटर भन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुुरोधमा चीनले ‘प्रिफेव कन्टेनर’ उपलब्ध गराएर जडान गरिएको हो । चार वटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् । चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकुल मौसम हुँदा आश्रय लिन सक्नेछन् । नेचुङ शसस्त्र प्रहरी बलको (विओपी)को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्चि सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्कि सडक र सुविधा सम्पन्न भवन बनाएको जनाइएको छ ।

सांसदको चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताएका छन् । रासससँग कुरा गर्दै उनले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गरे । वडा, प्रदेश र सङ्घका जनप्रतिनिधि तथा कार्यपालिकाको काम र जिम्मेवारी फरक फरक हुनुपर्ने भएपनि हामीकहाँ सबै जनप्रतिनिधि सबै किसिमका जिम्मेवारीमा व्यस्त हुन रुचाउने गरेको आफूले पाएको उनले बताए । जनताको अपेक्षा पनि कानुनले निर्धारण गरेकोभन्दा फरक हुने गरेको उनले अनुभव सुनाए । कांग्रेस भक्तपुरका सभापति समेत रहेका सांसद थापाले भने, ‘मैले सदनमा पहिलो दिन उपस्थित भएर शीर्ष नेताको सम्बोधन सुनेपछि त झन सांसदभन्दा म वडाअध्यक्ष लड्नुपर्ने रहेछ माननीय भइन्छ भन्ने लाग्यो ।’ विसं २०२५ भदौ २३ गते भक्तपुरमा जन्मनु भएका उनले आफूले सानो उमेरदेखि अहिलेसम्म राजनीतिक नेतृत्वबाट एउटै कुरा सुनिरहेको उल्लेख गर्दै भने, ‘सानो छँदा पनि मत माग्न आउने नेताहरुले बाटो, खानेपानी, बिजुली, पुल, पुलेसालगायत कुरा बनाइदिने आश्वासन दिने गर्थे, अहिले पनि जनताको त्यही अपेक्षा छ भने के चाही परिवर्तन गर्यौं त हामीले ? जनताले पनि चुनावमा सांसदसँग बाटो माग्ने होइन नि त । चुनाव जित्नलाई बाटो नै बनाउनुपर्नै रहेछ, अनि कसरी कानुन निर्माणमा केन्द्रित हुने ।’ हामीकहाँ पहिला घर बनाउने अनि बाटो, बिजुली, पानी र अन्य सुविधा पुर्याउनुपर्ने चलन रहेको बताउँदै नेता थापाले त्यस्ता आधारभूत सुविधा भएको स्थानमा पो घर बनाउनुपर्ने होइन भनी प्रश्न गरे । सानै उमेरदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएको उनले भने, ‘अनि हामीजस्ता राजनीति गर्नेले त्यस्ता स्थानमा बाटो खोल्दिन्छु बिजुली ल्याई दिन्छु भन्नुपर्ने रहेछ ।’ यो कुराको चिरफार गर्न आवश्यक रहेकामा उनले जोड दिए । सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद थापाले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसद्मा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गरे । ‘सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ’, उनले भने। थापा मीनभवन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका प्रत्यासी हुनुका साथै नेविसङ्घको केन्द्रीय सदस्य हुँदै पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् । अहिलेको राजनीतिप्रतिको वितृष्णालाई चिर्न नसके सम्पूर्ण प्रणाली नै असफल हुने चिन्ता व्यक्त गर्दै नेता थापाले भने, ‘हामीजस्ता सांसदहरु सदनमा ठूला ठूला र आदर्शका कुरा गर्छौं, जनतालाई त्यसको के अर्थ त्यसैले यथार्थ र व्यवहारिक कुरा मात्र बोल्नुपर्छ ।’ सदनमा देशभित्र अवसर नभएर युवा पलायन भए भनेर आदर्शका कुरा छाट्ने नेताका छोराछोरी विदेशमा रहेका उनले जानकारी गराए । उनले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत गर्न र रक्षाका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए । सदनलाई प्रभावकारी बनाउन हामी सबै सच्चिन पर्ने जोड दिँदै उनले भने, ‘हामी संसद हौँ कि अरु केही वा वडाध्यक्ष हौ छुट्याउन पर्यो ।’ उनले साना मुद्दामा पनि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा संसद्ले अपेक्षाअनुसार काम गर्न नसकेको बताए । सरकारले पर्याप्त ‘विजनेस’ दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उनको भनाइ थियो । मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको र यसलाई नियन्त्रण गर्न राजनीतिकर्मीको के भूमिका रहन्छ भन्ने प्रश्नमा सांसद थापाले भने, ‘सामान्य राजनीति गर्ने व्यक्ति होस् वा सरकारी कर्मचारी महँगा गाडी फेरि फेरि चढछन्, काठमाडौँजस्तो महँगो स्थानमा घरजग्गा जोडेका छन्, बालबच्चालाई महँगा विद्यालयमा पढाएका छन्, महँगो जीवनशैलीमा रहेका छन्, यति देखेपछि भ्रष्टाचारी खोज्न कही जानुपर्छ ।’ कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट भक्तपुर कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित उनले भ्रष्टाचार र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दलबीच एकजुट हुनुपर्ने सुझाव दिए ।

स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो । अनुसन्धान केन्द्रले खरी, बोयर, बारबारी, सिन्हान र सानन जातका बाख्रामा अनुसन्धान गर्दै आएको छ । अनुसन्धानले खरी र साननमा क्रस गरी उत्पादित वर्णशङ्कर जातका बाख्राले बढी उत्पादन र उत्पादकत्व दिएको अनुसन्धान केन्द्रका संयोजक राजु कंडेलले जानकारी दिए । सानन वर्णशङ्कर बाख्राले दूध र मासु उत्पादन वृिद्ध भएको अध्ययन अनुसन्धानले देखाएको उनको भनाइ छ । शुद्ध सानन बाख्राले दैनिक चार लिटर दूध उत्पादन गर्ने र खरी वर्णशङ्कर बाख्राले दैनिक दुई लिटर दूध दिँदै आएको केन्द्रको भनाइ छ । अनुसन्धान केन्द्रले प्राथामिकताका आधारमा बाख्रा सम्बन्धी मार्गचित्र तयार गरी अनुसन्धान, प्राविधिक विकास र प्रबद्र्धन गर्दै आएको छ । रैथाने स्थानीय र लोपोन्मुख बाख्राका जातहरुको संरक्षण, सम्बद्र्धन र प्रयोग गर्दै आइएको केन्द्रका संयोजक कंडेलले बताए । त्यस्तै बाख्रा सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई आवश्यक प्राविधिक सहयोग गर्ने र उन्नत नश्लका बाख्राहरुको उत्पादन गरी देशभरका अगुवा किसानहरुलाई वितरण गर्दै आएको उनको भनाइ छ । उनले भने, ‘अनुसन्धान केन्द्रले व्यावसायीक बाख्रापालक अगुवा किसानहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न तालिम समेत सञ्चालन गरिरहेको छ ।’ अनुसन्धान केन्द्रमा खरी जातका माउ तथा पाठा पाठी एक सय ७१ , सिन्हान ३१ , जमुना पारी माउ बाख्रा तीन , उन्नत जातको शुद्ध बोयर एक सय ९१ , ९८ प्रतिशतको एक वटा बीउ बोका, बोयर ९३ प्रतिशतको ३८ , ८६ प्रतिशतको ८३ , ७५ प्रतिशतको ८९ , ५० प्रतिशतको ८३ , बारबारी शुद्ध २४ , सानान शुद्ध २४ वटा बाख्रा रहेका छन् । बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित भएका बीउ बोका ५० प्रतिशत वर्णशङ्कर बीउ बाख्राको जिउँदो तौल प्रति केजी रु आठ सय र ७५ प्रतिशत वर्णशङ्कर बीउ बाख्राको जिउँदो तौल प्रति केजी एक हजार रुपैयाँमा किसानहरुलाई बिक्री गर्दै आएको छ । बीउ पाठापाठी किसानको माग अनुसार अनुसन्धान केन्द्रले उत्पादन गर्न नसकेको बताइएको छ । बाख्राको अनुसन्धानको लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको निलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । केन्द्रमा बाख्राहरुलाई चरिचरणको घाँसहरुमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुख्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ । कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राको लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायो लगायतका घाँस खुवाउने गरिएको छ । देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रमा मन्त्री, सांसद लगायत विभिन्न पार्टीका नेताहरुले समेत अवलोकन गर्ने गरेका छन् ।

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

भरतपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन् । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुई-दुई ब्ल्याङकेट वितरण गरेका हुन् । सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ भने । ‘चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन’, उनले भने, ‘चेपाङ संस्कृति पर्यटन र आयआर्जनसंग जोडेर देशलाई संमृद्धि बनाउने समुदाय पनि हो ।’ सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनको भनाइ थियो । मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पुर्याएवापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच/पाँच हजार सहित सम्मान गरे । सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाएका थिए। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा जानकारी दिए । मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने जानकारी दिए । मन्त्री किरतीले चेपाङ समुदायसंग देउसीभैलो समेत खेलेका थिए ।