नेपालमा ३ लाख १ हजार ४९० परिवारसँग छैन शौचालय
काठमाडौं । आज १९ नोभेम्बर । अर्थात विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ । हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमकासाथ शौचालय दिवस मनाउने गरिएको छ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । बढ्दो शहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौति बढेर गएको छ । मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पु¥याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पु¥याउनमा प्रगति भने सुस्त गतिमा छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो । राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन् । खुला दिसापिसावका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ वर्षमात्र बाँकी छ । नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा गरेको थियो । नेपालमा शौचालय प्रयोग गर्नेहरुको संख्या वि.सं. २०७८ को जनगणनाअनुसार नेपालमा शौचालय प्रयोग गर्ने परिवारमा ९.८ प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) को प्रयोग गर्ने गर्दछन् । यो परिवार संख्या ६ लाख ५३ हजार ७१० रहेको छ । फ्लस (सेफ्टिक ट्यांकी) भएको शौचालय प्रयोग गर्नेको संख्या सबैभन्दा बढी ५५.१ प्रतिशत रहेको छ । अर्थात यो संख्या ३६ लाख ६७ हजार ७८० हो । त्यस्तै साधारण शौचालयको प्रयोग गर्नेको संख्या २० लाख ५ हजार ४८० रहेको छ । यो प्रतिशतमा हेर्दा ३०.१ रहेको छ । त्यस्तै सार्वजनिक शौचालय प्रयोग गर्नेको प्रतिशत ०.५ रहेको छ । यो संख्या ३२ हजार ३८१ हो । त्यतै शौचालय नहुनेको संख्या नेपालमा ४.५ प्रतिशत अर्थात ३ लाख १ हजार ४९० रहेको छ ।
सडक पूर्वाधार विकासमा सेनाको सक्रियता
काठमाडौं । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौं तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), खाँदबारी-किमाथाङ्का (च्याम्ताङ-घोङ्घप्पा), कर्णाली करिडोर (लालीबगर-दुल्लीकुना खण्ड र घाटपारीचौर-बद्रीगाउँ-भुक्का खोला खण्ड) सेनाको व्यवस्थापनका अघि बढेका सडक आयोजना हुन् । बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक र दार्चुला-टिङ्कर (तुषारपानी-टिङ्कर खण्ड) पहिलो प्राथमिकताका सडक आयोजना सेनाकै व्यवस्थापनमा निर्माण भइरहेको छ । ती सडकको लम्बाई कूल दुई सय ७४ दशमलव ५३७ किलोमिटर रहेको छ । रानी, विराटनगरदेखि किमाथाङ्कासम्मको तीन सय ९० किमी दुरीको राष्ट्रिय गौरवको आयोजनामध्ये सेनाको व्यवस्थापनमा खाँदबारी-किमाथाङ्का सडकअन्तर्गत (च्याम्ताङ-घोङघप्पा खण्ड) १० दशमवल ५१ किमी सडक निर्माण कार्य भइरहेको छ । विसं २०७७ माघ २४ गतेबाट निर्माण कार्य प्रारम्भ एको उक्त सडक नौ मिटर फराकिलो हुनेछ । गत आवसम्म उक्त सडकको प्रगति ६ दशमवल ५ किमी रहेको र चालु आवमा २ किमी नयाँ ट्र्याक निर्माण र ३ दशमवल ५ किमी ट्र्याक स्तरोन्नतिको लक्ष्य राखिएको छ । निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेका सडक पूर्वाधार आयोजना निर्माण कार्यमा प्राप्त जिम्मेवारीलाई गुणस्तरीय लक्षित समयसीमाभित्रै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । कर्णाली करिडोर सडक आयोजनाअन्तर्गत लालिबगर-दुल्लिकुन्ना ११ किमी र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डको ११ दशमलव ५ किमी क्षेत्रमा सेनाले काम गरिरहेको छ । लालिबगर-दुल्लिकुन्ना खण्डमा गत आवसम्म छ किमी र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा तीन दशमलव पाँच किमी ट्र्याक खोलिएको छ भने चालु आवमा लालिबगर-दुल्लिकुन्ना खण्डमा दुई दशमलव पाँच नयाँ ट्र्याक निर्माण र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा एक दशमलव ५ किमी ट्र्याक निर्माणको गर्ने लक्ष्य राखिएको छ । बाँकेको जमुनाहादेखि हुम्लाको हिल्सासम्मको सो आयोजनाको कुल लम्बाई छ सय ८२ किमी छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक (एक सय ५४ किमी)मध्ये सेनाको व्यवस्थापनमा कूल ९२ किलोमिटर क्षेत्र निर्माण भइरहेको छ । सो आयोजनाको गत आवसम्म ३५ दशमवल ५ किमी नयाँ ट्र्याक निर्माण भएको छ भने चालु आवमा दुई दशमवल ५ किमी नयाँ ट्र्याक निर्माण र तीन किमी स्तरोन्नतिको लक्ष्य राखिएको छ । यस्तै महाकाली करिडोरअन्तर्गत दार्चुला-टिङ्कर (तुषारपानी-टिङ्कर खण्ड) सडक आयोजनाको कूल चार सय २५ किमीमध्ये सेनाले ७९ किमी सडक सेनाको अगुवाईमा निर्माण कार्य भइरहेको छ । गत आवसम्म १० दशमलव ४ किमी सडक ट्र्याक निर्माण सम्पन्न भएको छन् चालु आवमा नयाँ तीन किमी र दुई किमी स्तरोन्नतिको लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ । कडा चट्टानयुक्त भूबनोट तथा अग्ला पहाड र भीर भएका कारण ती सडक आयोजनामा काम गर्न चुनौतीपूर्ण रहेको सेनाका प्रवक्ता भण्डारीको भनाइ छ । सेनाले यसअघि मुलुकका हिमाली तथा पहाडी क्षेत्रमा विकट भौगोलिक अवस्थामा रहेका विभिन्न १० वटा सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । ती सडकको कूल लम्बाई एक हजार चार सय ११ किलोमिटर रहेको छ ।सेनाले सुर्खेत-जुम्ला ८८ किमी, बेनी-जोमसोम ९१ किमी, छिन्चु-जाजरकोट ४५ किमी, बेँसीसहर-चामे ६५ किमी, नाङ्मा-गमगढी ९४ किमी, द्रुतमार्गको ‘ट्र्याक’ निर्माण ८० किमी, मैलुङ-स्याफ्रुबेँसी १७ किमी, जाजरकोट-डोल्पा (दुनै) एक सय १७ दशमलव ७ किमी, कालीगण्डकी कोरिडोर (गुल्मी-बागलुङ खण्ड) ७५ दशमलव ४ किमी र कर्णाली कोरिडोर (खुलालु-लैफु-सलिसल्ला खण्ड) एक सय २२ दशमलव ७५ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसबीचमा सेनाले प्राकृतिक प्रकोप तथा बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा हालसम्म ३७ वटा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्न सहयोग पुर्याएको छ । संविधानमा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाको अतरिक्त विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा सते परिचालन गर्न सकिने व्यवस्था छ । राष्ट्रिय सुरक्षा नीति २०७५ मा भौतिक पूर्वाधारमा जोड दिने एवं राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन एकीकृत कार्ययोजना, विकास र समृद्धिका कार्यमा नेपाली सेना संलग्न हुने उल्लेख छ । नेपाली सेना राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण कार्यमा लामो समयदेखि निरन्तर सहभागी हुँदै आएको छ । रासस
सूर्यज्योतिका सीईओ खत्रीको नयाँ शैलीले जमेको माहोल
काठमाडौं । तपाईं हामी सबैलाई थाहा छ, कुनै कम्पनी वा संस्थाले कुनै कार्यक्रमको आयोजना गर्यो र त्यहाँ पत्रकारहरूलाई पनि निमन्त्रणा भयो भने त्यस कार्यक्रममा कम्पनीले पत्रकारहरूका प्रश्नको सामना गर्नुु पर्छ । त्यस्तै एउटा कार्यक्रमको आयोजना सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो । गत शुक्रबार नेपालकै पहिलो र एक मात्र नयाँ जीवन बीमा योजनाको सुभारम्भ गर्ने भन्दै कम्पनीले पत्रकारलाई जानकारी गरायो । तर, तपाईं हामीले सोचेजस्तो त्यहाँ पत्रकारले प्रश्न गर्नेभन्दा पनि कम्पनीले पत्रकारहरूलाई प्रश्न गर्यो । जसले माहोल मात्रै जमाएन पत्रकारहरूमा पनि बीमा सम्बन्धि सचेतना र बीमा शिक्षाको विषयमा राम्रोसँग जानकारी भयो । कार्यक्रम हलभित्र बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, प्राधिकरणका उच्च तहका कर्मचारी, सूर्यज्योति लाइफका कर्मचारी र सञ्चालक र पत्रकारहरूसहित करिब दुई/अढाई सय जनाको उपस्थिती थियो । कार्यक्रममा अधिकांश सञ्चारमाध्यममा आवद्ध पत्रकारहरू थिए । कार्यक्रमको सुरुवातमै आफ्नो प्रस्तुति दिन उद्घोषकले सूर्यज्योति लाइफ प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीलाई पोडिएममा बोलाए । उनले सबैलाई स्वागत गर्दै आफ्नो प्रस्तुति राख्ने अनुमति मागे । ल्यापटप खोल्दै उनले कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरणको झलक प्रस्तुत गरे । गत वर्षको पुसमा साविक सूर्य लाइफ र ज्योति लाइफबीच जीवन बीमा कम्पनीहरुमा पहिलो मर्ज भएको बताए । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ, कूल लगानी ३४ अर्ब रुपैयाँ, जीवन बीमा कोष २९ अर्ब ५० करोड रुपैयाँ, नेटवर्थ ६ अर्ब २२ करोड रुपैयाँ, जारी बीमालेख संख्या २२ लाख, १७६ शाखा कार्यालय र सक्रिय रुपमा आवद्ध करिब ९४ हजार अभिकर्ता मार्फत कम्पनीले सेवा प्रवाह गर्दै आइरहेको बताउँदै उनी अर्काे विषयतर्फ मोडिए । ‘विभिन्न कार्यक्रम हुँदा पत्रकारहरूले हामीलाई प्रश्न गर्नु हुन्छ । तर, आज म तपाईंहरूलाई प्रश्न गर्छु,’ उनले त्यसो भनिरहँदा सबै जना पत्रकारहरू अचम्मित बने । सीईओ खत्रीले सबैजनालाई होटलले उपलब्ध गराएको वाईफाई मोबाइलमा कनेक्सन गर्न आग्रह गरे । वाईफाईको युजर आईडी र पासवर्ड सबै टेबलमा प्रिन्ट गरेर राखिएको थियो । सबैले वाईफाई कनेक्सन गरेपछि मेन्टी डटकम वेभसाइट खोल्न लगाए । सो वेभसाइट खोलेपछि कोड नम्बर भने । सो कोड नम्बर उल्लेख गरेपछि सुरुमा एउटा प्रश्न सोधियो, ‘के तपाईंहरूले जीवन बीमा गर्नु भएको छ ? साथै, उक्त प्रश्न ठूलो पर्दामा पनि सबैले देख्ने गरी स्पष्ट देखिएको थियो । साथै, प्रश्नको तलतिर विकल्पको रूपमा उत्तर पनि उल्लेख गरिएको थियो, ‘एस’, ‘नो’ र ‘गर्ने योजनामा छु’ । त्यसपछि ३४ प्रतिशतले बीमा गरेको छु, १२ जनाले गरेको छैन र १ जनाले गर्ने योजनामा छु भनेर उत्तर दिए । उक्त प्रश्नपछि सीईओ खत्रीले अर्काे प्रश्न गरे, ‘नेपाली जनताहरुहरूमा बीमा सचेतनाको अवस्था के छ ? अप्सनमा राखिएको थियो, बढ्दोक्रम, उच्च, मध्यम र न्यून । सर्वेक्षणमा सहभागीहरुमध्ये बढ्दोक्रममा ४५ प्रतिशत, उच्च २ प्रतिशत, मध्यम ३९ प्रतिशत र न्यूनमा १४ प्रतिशत रहेको जवाफ दिए । त्यस्तै, पोलिसी होल्डरको लागि सबैभन्दा महत्वपूर्ण तत्व के हो ? बोनस, रिस्क कभरेज, फोर्स सेभिङ र अन्य । सर्वेक्षणमा सहभागीहरुमध्ये बोनसमा १३ प्रतिशत, रिस्क कभरेजमा ६९ प्रतिशत, फोर्स सेभिङमा १८ प्रतिशत र अन्यमा शुन्य उत्तर दिए । यस्तै, अहिलेको अवस्थामा सबैभन्दा चर्चित प्रडक्ट कुन हो ? जसको उत्तरमा थियो, इन्ड्राउनमेन्ट, मोनि ब्याक, टर्म प्लान र होल लाइफ । सर्वेक्षणमा सहभागीहरुमध्ये इन्ड्राउनमेन्टमा ५५ प्रतिशत, मोनि ब्याकमा २० प्रतिशत, टर्म प्लानमा १० प्रतिशत र होल लाइफमा १५ प्रतिशत उत्तर दिए । यस्तै, अहिलेको अवस्थामा बीमितहरुले कुन बीमाङ्क रकमको पोलिसी खरिद गरिरहेका छन् र औषत प्रिमियम कति छ ? अप्सलमा ६ लाखको बीमाङ्क रकम र वार्षिक ४० हजार प्रिमियम, २० लाखको बीमाङ्क रकम र वार्षिक १ लाख ३० हजार प्रिमियम र २५ लाखको बीमाङ्क र वार्षिक १ लाख ६५ हजार प्रिमियम । सर्वेक्षणमा सहभागीहरुमध्ये अधिकांशले सानो बीमाङ्क रकम र कम प्रिमियम शुल्क भएको बीमा योजना खरिद गरिरहेको जवाफ दिए । ८६ प्रतिशतले ६ लाख, १२ प्रतिशतले २० लाख र २ प्रतिशतले मात्रै २५ लाख बीमाङ्क रकम भएको बीमा योजना खरिद गरिरहेको सर्वेक्षणले देखायो । साथै, कुनैपनि मान्छे बीमा गर्दा आफ्नो सम्पत्ति, कर्जा लगायतको अवस्था हेरेर वा अध्ययन बीमा गर्ने गरेको छ नबुझि बीमा गरिरहेको छ ? भनेर सीईओ खत्रीले प्रश्न गरे । एस, नो र नट स्योर अप्सन राखिएको थियो । सर्वेक्षणमा सहभागी ८० प्रतिशतले आफ्नो सम्पत्तिको सुरक्षा नहेरि बीमा गर्ने गरेकोमा बढी देखिए । उनले अर्काे प्रश्न गरे, जीवन बीमा किन खरिद गर्नु पर्छ ? बोनस, रिस्क कभरेज, फोर्स सेभिङ र अन्य अप्सन थिए । सर्वेक्षणमा सहभागीमध्ये ९८ प्रतिशतले रिस्क कभरेज र २ प्रतिशतले मात्रै बोनसको लागि जीवन बीमा गर्नु पर्ने उत्तर दिए । यस्तै, ग्राहकहरुलाई बैंकको प्रडक्ट जस्तै बीमा प्रडक्टको बारेमा जानकारी छ की छैन ? सहभागीहरुमध्ये ८० प्रतिशतले बीमा प्रडक्टको बारेमा ग्राहकलाई जानकारी नभएको उत्तर दिए । बीमा बुझाउन गाह्रो भएकाले बैंकिङ्ग प्रडक्टभन्दा बीमा प्रडक्टका बारेमा ग्राहकरुलाई जानकारी नभएको जवाफ दिए । जीवन बीमा सामान्य, सबैले खरिद गर्न सक्ने र उच्च कभरेज हुनु पर्छ की नाइ भन्ने प्रश्नमा ९५ प्रतिशतले जीवन बीमा धेरै सरल, सबैले खरिद गर्न सक्ने र सस्तो भएपनि उच्च कभरेज हुनु पर्ने उत्तर दिए । खत्रीको यो नयाँ अभ्यासले कार्यक्रमको माहोल मात्रै जमेन नयाँ सिकाइ र अनुभव पनि प्राप्त भएको धेरैको प्रतिक्रिया थियो । बीमा र बीमाको पहुँच सम्बन्धि सो सर्वेक्षणले केही मात्रामा भएपनि जानकारी भएको धेरैको धारणा थियो । उक्त सर्वेक्षणले नेपालको बीमा बजार कस्तो छ भन्नेबारे प्रष्ट पारेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए । यसबाट जे उत्तर आएको छ, स्थिती पनि ठ्याक्कै त्यहि रहेको उनको भनाइ छ । साथै, सोही सर्वेक्षणलाई मनन गरेर प्रत्येक जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई अनिवार्य रुपमा बीमा सम्बन्धि जनचेतना कार्यक्रम गर्न निर्देशन दिए ।
टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक, तीन लाख राजस्व सङ्कलन
टीकापुर । कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा दसैँ तिहारपछि बनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् । शनिबार पर्यटकबाट रु तीन लाख २५ हजार राजस्व सङ्कलन भएको छ । उद्यानमा यही मङ्सिर १ गते रु एक लाख राजस्व सङ्कलन भएको थियो । उद्यान दसैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ । पर्यटकहरु उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन् । थरिथरिका व्यक्ति, थरिथरिका पोशाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ । उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिबार भित्रिएका बताए। ‘दैनिक एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्, शनिबार भने १० हजार भित्रिए’, उनी भन्छन्, ‘बनभोजस्थलमा पानी, खाना पकाउने ठाउँको सुविधा छ ।’ इञ्चार्ज कुँवर उद्यान किनारमा रहेको कर्णाली नदीमा ¥याफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेको बताउँछन् । ‘उद्यानमा रमाइलो वातावरण, नदी किनारमा रमाउन पनि मिल्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन्’, उनी भन्छन्, ‘सुदूरपश्चिम घुम्न निस्केका पर्यटक उद्यान पुगेरै फर्किन्छन् ।’ टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा उद्यान छ । उद्यान ८५ विघा क्षेत्रफलमा फैलिएको छ । बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । उद्यानभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायतका संरचना अवलोकन गर्नेहरु पनि त्यत्तिकै छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी/बेमौसमी फूलसँग उद्यानमा आउने पर्यटक रमाउने गरेका छन् । चितवनबाट घुम्न टीकापुर पुग्नुभएका शिक्षक सुरेन्द्र अधिकारी उद्यानमा लगानी गरेको भए बढीभन्दा बढी पर्यटक भित्रिने बताउँछन् । ‘घुम्न निस्किएका थियौँ, घोडाघोडी ताल घुमेपछि साथीहरुले उद्यान पनि घुमौँ भने, अनी यहाँ आयौँ’, उहाँ भन्छन्, ‘यहाँ त स्वर्ग जस्तै रहेछ । पूर्वाधार थप्न सकेको भए उद्यान थप रमणीय बनाउन सकिन्थ्यो ।’ यस्तै सुर्खेतका सन्दिप ओली उद्यानसँग भएको जमिनको सदुपयोग गर्न लगानी गर्नुपर्ने बताउँछन् । ‘यहाँ बालबालिका र ज्येष्ठ नागरिक रमाउने खालका पूर्वाधार बनाउन आवश्यक छ’, उनले भने, ‘उद्यानभित्र पनि आम्दानी हुने खालका संरचना निर्माण गर्नुपर्छ ।’ रासस
सदनको बहस दलभन्दा माथि उठन सकेन-डोलप्रसाद अर्याल
काठमाडौं । पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको हो । सोही अभियानअन्तर्गत पार्टी सङ्गठन परिचालन गरिरहेका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका उपभापति डोलप्रसाद अर्याल एक वर्षको ‘रिपोर्ट कार्ड’ बोकेर धादिङका जनताको घरदैलोमा पुगेका छन्। जनताका लागि देखाउन रिपोर्ट कार्ड बोकेका उनी आफू भने त्यो रिपोर्ट कार्डबाट अझै सन्तुष्ट हुन सकेका छैनन् । एक वर्षे अवधिमा विधायिकाको भूमिका प्रभावकारी हुन नसकेको उनको विश्लेषण छ । “हामी त सन्तुष्ट छँदै छैनौँ । जुन समय हामीले सदनमा व्यतित ग¥र्यौ, त्यसबाट जनताले के प्राप्त गरे भन्नेमा हिसाबले हेर्दा सन्तुष्ट हुने ठाँउ कति पनि छैन”, सांसद अर्यालले भने, “जनताको हित हुने विषयमा हामी बाँडिनु भएन । तर हामी कानुन निर्माण गर्न चुकेका हौँ । जसोतसो दुई अधिवेशन सकियो, हाम्रो पार्टीले गर्ने कोसिस गरिनै रह्यो । यद्यपि एक वर्षको काममा सन्तुष्टि हुने ठाउँ छैन ।” उनले दोस्रो अधिवेशनको समीक्षासँगै आफूहरुले आगामी अधिवेशनमा सशक्त रुपमा प्रस्तुत हुने विषयमा प्रतिबद्धतासमेत व्यक्त गरे । “हामीले चाहेको संसदीय अभ्यास यो होइन भनेर आन्तरिक छलफल गरिरहेका छौँ । उसो त सुरुका दिनदेखि नै नगरेको पनि होइन”, सांसद अर्यालले भने, “जनतासम्म पुगेर उहाँहरुको कुरा ल्याउने, बितेको अधिवेशन, जनताको आशा अपेक्षासम्बन्धी सुझाव र अहिले प्रक्रियामा आएका कानुन बनाउने, आवश्यक कानुनका विषयमा तयारी गरेर अर्को अधिवेशनमा हाम्रो जोडदार उपस्थिति रहने छ ।” धादिङ मैदी–४ मा जन्मिएका सांसद अर्यालसँग पर्यटन र विप्रेषण क्षेत्रमा २० वर्षको अनुभव छ । विसं २०७९ मा रास्वपाको स्थापनासँगै राजनीतिमा सक्रिय उनी गत निर्वाचनमा रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेका हुन् । अर्याल सत्तापक्ष र प्रतिपक्षका रुपमा नभइ सदन र मुलुकको विकासका लागि जनताको मुद्दामा एकजुट हुनुपर्ने मान्यता राख्छन् । यद्यपि संसदीय अभ्यासमा सांसदहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठन नसकेको उनी विश्लेषण गर्छन् । “धेरै दलका सांसदले आफनो दललाई मात्र प्रतिनिधित्व गरेको पाएँ । सदनको बहस दलभन्दा माथि उठन सकेन”, सांसद अर्यालले भने, “सदनभित्र सबै जनताका लागि यी सबै दलले दलभन्दा माथि उठेर छलफल, बहस गर्ने अभ्यास हुनुपर्दथ्यो, तर त्यसो नभएको मैले महसुस गरे । अझ यो ढ्यापढ्यापबाट पास गर्ने प्रवृतिभन्दा माथि उठनुपर्छ ।” सांसद अर्याल दलले सांसदको स्वतन्त्रतामा अंकुश लगाउँछ भन्ने आरोपप्रति भने पूर्णरुपमा सहमत छैनन् । उनले भने, “सबै विषयमा दलको ह्वीप लगाएको छ भन्ने मलाई लाग्दैन । तर प्रतिपक्ष र सत्तापक्षको ढयापढयाप गर्ने प्रणाली आफैमा अलिकति दुर्भाग्यपूर्ण नै छ । यसले गर्दा पनि सांसदहरु पार्टीको ह्वीपमा परेका हुन् कि भन्ने बुझाइ पनि हुनसक्छ ।” संसदीय अभ्यासमा अपेक्षाकृत रुपमा काम कम भए पनि सदनमा रास्वपाको उपस्थितिले सकारात्मक सन्देश दिएको सांसद अर्यालको जिकिर छ । उनी भन्छन्, “रास्वपाका सांसदको उपस्थितिले सदनप्रति जनताको चासो बढेको विषयलाई नकार्न सकिन्न ।” जनतालाई परिवर्तनको सुरुवात भएको महसुस गराउने आफूहरुको प्रयास सफल भएको उनको दाबी छ । “देश विदेशमा रहनुभएका नेपाली नागरिक एवं प्रशासनिक क्षेत्रका साथीले पनि सदनमा रास्वपाका सांसदको उपस्थितिले सदन हेर्न र सुन्न लायक भएको प्रतिक्रिया दिनुभएको छ । हाम्रो उपस्थितिले सदनप्रति आमनागरिकको आर्कषण र अपेक्षा दुवै बढाएको छ”, सांसद अर्यालले भने । सदनमा जनताका मुद्दा प्रस्तुत गर्दा सरकारको ध्यानाआर्कषण कसरी गराउने भन्नेमा आफूहरु सचेत भएको उनको भनाइ छ । उनले जनताको मुद्दा र जनताका हितका विषयमा सदनसँगै प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालय, विभाग र सम्बीन्धत निकायमा ध्यानाआर्कषण गराइरहेको बताए । “सरकारले सुन्दैन भन्दै गर्दा सरकारलाई सुन्ने बनाउने काम हाम्रो हो । सुन्ने बनाउन हामीले धेरै प्रयास जारी राखेका छौँ”, सांसद अर्यालले भने, “मेरो निर्वाचन क्षेत्रलाई अथवा मेरो काम गर्दिनुहोस् भनेर होइन, समग्र देशको जनताको हितको विषयलाई लिएर सदनदेखि सरकारका विभिन्न निकायमा आफ्नो प्रयास जारी राखेका छौँ ।” सरकारको ध्यानाआर्कषण गराउन केही हदसम्म आफू सफलसमेत भएको उनको भनाइ छ । “निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुन हुँदैन भनेर मैले संकल्प प्रस्ताव राखेको थिए । सर्वोच्च अदालतले सांसदको भूमिका सम्झाउँदै उक्त बजेट खर्च गर्न रोक लगाइदिएको थियो । त्यसका लागि हामीले सर्वोच्च अदालतलाई धन्यवाद पनि दियौँ”, सांसद अर्यालले भनेयो, “उक्त बजेटको रकम अहिले मन्त्रिपरिषद्ले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा खर्च गर्ने निर्णय गरेको छ । यो चित्त बुझ्ने निर्णय भयो ।” यस्तै जिल्ला निर्वाचन कार्यालय खोरेजीको विषयमा आफूहरुको पहलबाट जोगाउन सफल भएको उनको जिकिर छ । सांसद अर्यालले संसद्को आगामी अधिवेशनमा गैरसरकारी विधेयक अघि बढाउन तयारी भइरहेको पनि बताए । “गैरसरकारी विधेयक सदनमा लैजानै पर्छ भन्नेमा छौँ र त्यसका लागि तयारी गरिरहेका छौैँ”, उनले भने । राजनीतिक यात्राको एक वर्ष पूरा गर्दैगर्दा सांसद अर्यालले सुशासनमा सबैभन्दा ठूलो समस्या देखिएको आफूले पाएको बताए । उनले भने, “सरकार नै मिलिजुली बनेको छ, भागबण्डाका कुरा आउँछन् । हामीले सोचेको जस्तो त छैन तर सुशासन कायम गर्नका लागि हामी घचघचाउने काममा निरन्तर लागेका छौँ ।” सांसद अर्यालले सफल संसदीय अभ्यासमा अनुशासन अतिआवश्यक हुने उल्लेख गर्दै संसदीय मर्यादा विपरीत सदनमा आरोपप्रत्यारोपका क्रममा प्रयोग हुने भाषा सुन्न लायक नभएको अनुभव साटे। “यो हुनुहुँदैन आउने दिनमा सच्चिनुपर्छ”, उाले भने, “कानुन बनाउने जनप्रतिनिधिले के कसरी बोल्ने, खाने, हिँड्ने र लाउने कुरामा ध्यान दिनुपर्छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो । त्यसमा हामी पार्टीभित्र पनि छलफल गरिरहेका छौँ ।” उनले समग्र राजनीतिक संस्कारमा सुधारको आवश्यक भएको बताए । “हामीसँगसँगै अन्य पार्टीका युवा सांसदहरु पनि जोडिनुभएको छ । हामीले परिकल्पना गरेको सफल संसदीय अभ्यास सम्भव छ तर यसका लागि समय भने पक्कै लाग्छ”, सांसद अर्यालले भने । रासस
विश्व शौचालय दिवस : तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित
काठमाडौं । विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो । यसवर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नारा ‘परिवर्तनको गति बढाउँदै’ रहेको छ । राष्ट्र सङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ । दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पु¥याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र सङ्घले यस वर्षको नारा परिवर्तनको गति बढाउदै भन्ने राखेको हो । राष्ट्र सङ्घका अनुसार विश्वका साढे तीन अर्ब व्यक्ति अझै पनि सुरक्षित शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख व्यक्ति अझै पनि खुलास्थानमा दिसा–पिशाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यसले प्रकृति, महिला, युवती र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्षमात्र बाँकी छ । यो लक्ष्य हासिल गर्न अहिले गरेको कामको गति पाँच गुना तीब्र बनाउनु पर्ने स्मार्ट वास सोलुसन्स नेपालका अध्यक्ष ई रामदीप साहले बताउए । नेपालमा सरसफाइको अवस्था विसं २०७६ असोज १९ गते खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा भएको हो । सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो । सबैभन्दा पहिला कास्की खुला दिसामुक्त घोषणा भएको थियो । झण्डै नौ वर्षको अनवरत प्रयासपछि सन् २०१९ को सेप्टेम्बर ३० मा यो उपलब्धि हासिल भएको थियो । नेपालमा पूर्ण सरसफाइको अवधारणालाई सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताहको रुपमा कार्यान्वयनमा ल्याइएको थियो । सन् २००३ मा समुदायको अगुवाइमा यो अभियान बढाइयो भने सन् २००६ मा विद्यालयको अगुवाईमा । सन् २००८ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गरेपछि यसले ब्यापक जनजागरण ल्यायो । सन २०११ मा सरसफाइ गुरुयोजना नै बनाएर सरसफाइका सूचक र चरण निर्धारण गरियो । गुरुयोजना अनुरुप आधारभूत स्तरको सरसफाई सुनिश्चित गर्ने उद्देश्यले सन् २०१७ सम्म प्रत्येक घरमा चर्पी बनाउने अभियान सञ्चालन भयो । नेपाललाई २०१७ मा नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य दुई वर्ष ढिलो गरी २०१९ सेप्टेम्बर ३० मा हासिल हुन सक्यो । आगामी चुनौती दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए। राष्ट्रसङ्घको खानेपानी तथा सरसफाइ हेर्ने निकाय ‘युएन वाटर’ले सार्वजनिक गरेको विवरणअनुसार नेपालको ५१ प्रतिशत जनसङ्ख्याले मात्र सुरक्षित सरसफाइ सेवा उपयोग गर्ने गर्दछन् । आउँदा सात वर्षमा झण्डै आधा जनसङ्ख्यालाई यस्तो सेवा पु¥याउन पर्ने अवस्था छ । नेपालका ६४ प्रतिशत जनसङ्ख्यामा साबुन पानीले हात धुने सुविधा प्राप्त छ । यसलाई पनि शतप्रतिशत पुर्याउनुपर्नेछ । घरबाट निस्कने फोहर पानीको प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशतमात्र हुन सकेको छ । बाँकी ६१ प्रतिशत फोहर पानीको प्रशोधन र सही व्यवस्थापन गर्ने चुनौती बाँकी नै रहेको अध्यक्ष ई साहले जानकारी दिए । यसैगरी नेपालमा शहरीकरण तीव्र गतिमा बढेको छ तर त्यही गतिमा शहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचना तथा तिनीहरुमा बग्ने फोहर पानीको प्रशोधन र उचित व्यवस्थापनको काम हुन पनि बाँकी छ । रासस
महिला टी–२० सिरिज : जापानसामु जितका लागि ११६ रनको लक्ष्य
काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानका लागि अहिले खेल भइरहेको छ । नेपालले जापानसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनायो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् । बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् । अहिले जापानले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा जापानले १४ ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ । बलिङतर्फ नेपालकी सङ्गिता राई र इन्दू बर्माले एक एक विकेट लिएकी छिन् ।
दूरसञ्चार प्राधिकरणले भन्यो : अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए जानकारी गराउनू
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि अझै कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो। प्राधिकरणको इमेलमा त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन सेवाग्राहीलाई दूरसञ्चार प्राधिकरणले आग्रह गरेको हो । मन्त्रिपरिषद्को गत कात्तिक २७ गते बसेको बैठकले सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।