विकासन्युज

सांग्रिला डेभलपमेन्ट बैंकको १९औँ वार्षिक साधारणसभा आह्वान, लाभांश पारित गर्ने

काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान ९ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर ११ गतेदेखि मंसिर २४ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारणसभा, बुक क्लोज मिति कहिले ?

काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले ३७औं वार्षिक साधारण सभा मंसिर २४ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिउसो ३ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको कर प्रयोजन सहित १९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर ७ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

जाजरकोटमा चिसोले थप ३ जनाको मृत्यु

काठमाडौं । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उहाँको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए । त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

भूकम्प पीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख सहयोग

काठमाडौं । जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले १ करोड ३२ लाख रुपैयाँ मानवीय सहायतास्वरुप प्रदान गरेको छ । नेपालका लागि चीनका राजदूत छन् सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन् । चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताए ।

बराहपोखरी प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव

खोटाङ । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा यही मङ्सिर ६ गते बृहत् सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा गाउँपालिकाभित्रका विभिन्न जातजातिको आआफ्नो मौलिकता, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति रहने गाउँपालिकाका प्रमुख शालिकराम बञ्जाराले जानकारी दिएका छन् । ‘धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिन बृहत् मेला लाग्ने गरेको छ । यसलाई प्रवद्र्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको छ,’ उनले भने, ‘बराहपोखरीमा आयोजना गरिएको सांस्कृतिक महोत्सवले गाउँपालिकाको आर्थिक उन्नतिमा समेत सघाउ पुग्ने अपेक्षा गरेका छौँ । आगामी दिनमा समेत यसलाई (सांस्कृतिक महोत्सव) निरन्तरता दिने योजना बनाइएको छ ।’ महोत्सवमा चर्चित गायक शम्भु राई, हास्य कलाकार सुवोध गौतम, गायक कमल खत्रीलगायतका दुई दर्जन बढी कलाकार सहभागी हुने सहआयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक रूपकुमार राईले जानकारी दिएका छन् । मङ्सिर–६ गते बिहान १० बजेदेखि सुरु हुने सांस्कृतिक महोत्सवमा भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’का विजेताकोसमेत साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ । परापूर्वकालदेखि लाग्दै आएको मेलाका साथै सांस्कृतिक महोत्सवलाई लक्षित गर्दै गाउँपालिकाले पालिकाभरि दुई दिन सार्वजनिक बिदाको औपचारिक घोषणासमेत गरेको छ । संसारकै लोपोन्मुख रातो माछा पाइने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई नेपाल सरकारले एक सय वटा गन्तव्यस्थलको सूचीमा समावेश गरेको छ । हरिबोधनी एकादशीका अवसरमा विशेषगरी धामीझाँक्रीको मेला लाग्ने बराहपोखरीमा बालन र सङ्गिनीसमेत नाच्ने चलन छ । बराहपोखरीमा रहेको मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र पोखरीको दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ४.४६ हेक्टर क्षेत्रफलमा फैलिएको ‘अर्धचन्द्राकार’को पोखरीमा पाइने दुर्लभ रातो माछाले पर्यटकको मन लोभ्याउने गरेको छ । बराहताल चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ । परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ । चारैतिर पहाडैपहाडको बीच भागमा रहेको समथर जमिनमा अवस्थित बराहपोखरीको आयतन बाह्रै महिना एउटै देखिन्छ । बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ । जीवनमा शान्ति मिलोस् भनी जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि पोखरीमा नुहाएर पूजाआराधना गर्ने चलन छ । बाह्रै महिना हरियो देखिने यस बराहपोखरीको पानीले नुहाएमा मोक्ष पाउने जनविश्वास रहेको छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजाआजा गरेमा सन्तान प्राप्ति हुने विश्वास छ । चाडपर्वअनुसार फरकफरक समयमा फरकफरक प्रकृतिको मेला लाग्ने बराहपोखरीको प्रवद्र्धन गर्न गाउँपालिकाले यसपटक सांस्कृतिक महोत्सवको आयोजना गरेको गाउँपालिका उपप्रमुख भूवलराज राईले जानकारी दिए । ‘महोत्सव सफल पार्न गाउँपालिकाको तर्फबाट विभिन्न उपसमितिहरु गठन गरेर परिचालन गरिएको छ । गाउँपालिकाद्वारा परिचालित उपसमितिले तयारीलाई तीव्रता दिएका छन्,’ उनले भने, ‘धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पहिलो पटक आयोजना गरिएको सांस्कृतिक महोत्सवले छुट्टै माहोल सिर्जना भएको छ । यसले बराहपोखरीको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा छ ।’ प्राकृतिकरूपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्नेको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन सयको हाराहारीमा रहेको स्थानीय बासिन्दाले बताउने गरेका छन् । बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ । डुङ्गा सयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनमा खर्च गरिने बराहपोखरी व्यवस्थापन समितिले जनाएको छ । बराहपोखरीमा हरेक वर्षको रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, माघेसङ्क्रान्तिका दिन लाग्ने मेलामा सतबीज छर्ने चलन छ । धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने मेला भर्न र दर्शन गर्न छिमेकी जिल्ला उदयपुर, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभाका दर्शनार्थीसमेत आउने गरेका छन् । रासस

हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माण शीघ्र सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । मुलुकभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ । झन्डै नौ वर्षअघि देखि निर्माण सुरु भएको उक्त आयोजनामा भइरहेको अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइनको तारमुनिको जग्गाको मुआब्जा वितरणका लागि मात्रै ५ अर्ब रुपैयाँबराबरको बजेट आवश्यक रहेको छ । यस्तै, निर्माण व्यवसायीलाई थप ५ अर्ब रुपैयाँबराबरको बजेट आवश्यक देखिएको छ । यस आधारमा उक्त आयोजनाका लागि कुल १० अर्ब रुपैयाँबराबरको थप बजेट आवश्यक देखिएको उनले जानकारी दिए । प्रसारण लाइनको दायाँ बायाँ ४६ मिटर रहने भएकाले पनि मुआब्जा बापतका लागि ठूलो बजेट जरुरी रहेको छ । अवरोधै अवरोधका कारण आयोजनालाई गति दिन समस्या पैदा भएको छ । आगामी चार महिनाभित्र उक्त प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गर्नैपर्ने बाध्यतामा प्राधिकरण रहेको छ । ‘जताततै समस्या छ, समाधानका लागि गरिएको प्रयाससमेत सार्थक हुन सकेको छैन,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘सप्तरी र सिरहामा नापी र मालपोत कार्यालयले समेत आवश्यक सहजीकरण नगरिदिएका कारण झनै समस्या पैदा भएको छ ।’ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा जोडिने प्रसारण लाइन १० वटा जिल्ला पार भएर जान्छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानको स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण ढिला भएको हो । स्थानीय अवरोध खुलाइ निर्माणका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल हुन सकिरहेको छैन । रणनीतिक महत्त्वको प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसक्दा कुल ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत् धनुषास्थित ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा पश्चिमतर्फ पठाउन सकिएको छैन । अहिले ढल्केबरबाट पश्चिमतर्फ १ सय ३२ केभी प्रसारण लाइन मात्रै छ । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने २ सय ८८ किलोमिटर प्रसारण लाइनका लागि ७ सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये ७ सय ५७ टावरको जग हालिएको छ भने ७ सय ५० खडा गरिएको छ । रूख कटानको स्वीकृतिमा भएको ढिलाइ र स्थानीयको अवरोधका कारण बाँकी टावरहरुको निर्माण हुन सकेको छैन । सबै टावर खडा गरिसकेपछि ठेकेदार कम्पनीले तार तान्न सुरु गर्नेछ । हेटौँडा उपमहानगरपालिका–१५, १६ र १७ स्थिति हटिया क्षेत्रका बासिन्दाको अवरोधका कारण निजी जग्गामा पर्ने १४ वटा टावरको निर्माण सुरु हुन सकेको छैन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रसारण लाइन निर्माणमा भइरहेको प्रगतिका बारेमा चासो व्यक्त गरेका छन् । उनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई आवश्यक समन्वय गरेर तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिए । उनले स्थानीय सुरक्षाकर्मीको सहयोग लिन र प्रशासनसँग मिलेर काम गर्न निर्देशन दिए । स्थानीयहरूले प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै सामुदायिक वनमा पर्ने टावरसमेत निर्माण गर्न दिएका छैनन् भने निर्माण गरिएका दुईवटा टावर सार्न माग गरिरहेका छन् । उनीहरुले प्रसारण लाइन मानव बस्तीबाट नलगी जङ्गलबाट लैजानुपर्ने माग गरेका छन् । आयोजनाले भने सबै प्रक्रिया पूरा गरी डिजाइन गरिएकाले अहिले आएर रुट परिवर्तन गर्न नसकिने प्रस्ट पार्दै आएको छ । ‘माथिल्लो तामाकोशीको बिजुली ढल्केबरबाट पश्चिमतर्फ ल्याउन नसक्दा यता नपुग्ने उता खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न यो लाइन जतिसक्दो छिटो निर्माण गर्नुपर्ने छ,’ कार्यकारी निर्देशक घिसिङले भने । स्थानीयले सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर र सिरहाको लहान पडरिया क्षेत्रमा पनि प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् । हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइन विद्यमान १ सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३र२३ मिटर हुने छ । उक्त प्रसारण लाइन निर्माणपछि मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापार सहज हुने अपेक्षा गरिएको छ ।

टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार प्राधिकरणद्वारा समिति गठन

काठमाडौं । टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्राविधिक समिति गठन गरेको छ । दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले निर्देशक विजयकुमार रायको नेतृत्वमा चार सदस्यीय प्राविधिक समिति गठन गरेको हो । समिति सदस्यमा इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेको प्राधिकरणले जनाएको छ । उक्त प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरेर नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने बताइएको छ । सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो । प्राधिकरणले शुक्रबार नै अर्को पत्र पठाउँदै सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । यस्तै सरकारले नेपालमा टिकटक प्रयोग गर्न रोक लगाएपछि प्रयोगकर्ताहरू विरोधमा उत्रिएका छन्। उनीहरूले आज माइतीघर मण्डलामा भेला भएर सरकारले गरेको निर्णयप्रति विरोध जनाएका हुन्। टिकटक प्रयोग गर्न पाउनु नागरिकको अभिव्यक्ति स्वतन्त्रता भएको बताउँदै उनीहरूले टिकटकरसँग नडराउन सरकारलाई सुझाव पनि दिएका छन् । टिकटकमा लगाएको प्रतिबन्ध तत्काल हटाउन पनि उनीहरूको माग छ। टिकटक बन्द गर्ने सरकारो निर्णय संविधानविपरीत भएको दाबीसहित शुक्रबार सर्वोच्च अदालतमा १० वटा निवेदन परेका छन् ।

अस्थिरता ल्याउने शक्तिविरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए । व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य नहुने बताउँदै अध्यक्ष नेपालले भने, ‘संविधान र गणतन्त्रका पक्षमा हामी जनतामाँझ जान्छौँ, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौँ ।’ आफ्नो चीन भ्रमणको जानकारी दिँदै अध्यक्ष नेपालले चीन सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति उपलब्ध गराएको सहयोग प्राप्त गर्नमा आफ्नो पार्टीको भूमिका रहेको दाबी गरे । चीन सरकारले अगाडि सारेको ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ (बिआरआई) को प्रशंसा गर्दै अध्यक्ष नेपालले त्यसमा नेपालको सहभागिताका निम्ति कुनै हिच्किचाहट हुनुपर्ने कारण नभएको बताए । ‘कतिपयले नेपाल बिआरआईमा सहभागी नहोस् भन्ने चाहेका छन्, तर म अनुरोध गर्न चाहन्छु हामीलाई जसले सहयोग गर्न चाहन्छ, त्यस्तो सहयोग लिन तयार हुनुपर्छ,’ उनले भने । अध्यक्ष नेपालले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाभिमानमा अलिकति पनि आँच नआउने गरी कुनै पनि देशले गर्ने सहयोग स्वीकार्नुपर्ने बताए । उनले भने, ‘पारस्परिक हितका आधारमा सहयोग लिनुपर्छ ।