कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् । नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए । ‘हामीले गर्दै नगरेको कामको मूल्य चुकाउन सक्दैनौँ, जसले कार्बन उत्सर्जनमा कमजोरी गरेको छ, उसले हाम्रो अधिकारका रुपमा जलवायु कोषमार्फत क्षतिपूर्ति दिनुपर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘कोप–२८ मा नेपालले सहयोगको याचना मात्रै गर्ने होइन, हामीलाई हाम्रो अधिकार चाहियो भन्ने हो ।’ उनले यसलाई मागका रुपमा नभई अधिकारकैरुपमा राख्ने तयारी गरिएको जानकारी दिए । यही मङ्सिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा कोप–२८ सम्मेलन आयोजना हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा हुने सम्मेलनमा राष्ट्रिय अनुकूलन योजनाको विस्तृत रुप, राष्ट्रिय निर्धारित योगदानमा आधारित कार्यान्वयन योजना र कोप–२८ को एजेण्डाका बारेमा छलफल हुनेछ । नेपालले कोप–२८ मा उठाउने विषय र प्राथमिकताका सम्बन्धमा उच्चस्तरीय सत्रलाई यही मङ्सिर १६ गते प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले कोप–२८ सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानि र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर कम गर्न छ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव गरिएको जानकारी दिए। यस सम्मेलनमा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत मुद्दालाई प्राथमिकतामा राखेको छ । कार्यक्रममा प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रको विकास तथा विस्तार, व्यवस्थित पर्यटकीय गतिविधि सञ्चालन, सगरमाथाको सुरक्षा र सफाइलाई प्रभावकारी रुपमा लैजान सरोकारवालाको सहभागितामा आवश्यक कार्यविधि बनाइने विश्वास दिलाए । कालापथ्थर क्षेत्रमा दीप प्रज्वलन हस्तान्तरण र झण्डोत्तलन गर्नु आफैँमा पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खुम्बु क्षेत्रमा गरेको भ्रमणले विश्वको ध्यानाकर्षण भएको बताए । ‘महासचिव गुटेरेसले खुम्बु क्षेत्रमा पुगेर जलवायु परिवर्तनको असर प्रत्यक्ष हेरेको, यहाँका जनता र प्रतिनिधिसँग अन्तक्र्रिया गरेर जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको समस्यालाई विश्वव्यापीकरणका लागि महत्वपूर्ण योगदान मिलेको छ,’ उनले भने । आफूले संयुक्त राष्ट्र सङ्घको ७६औँ महासभालाई अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दा नेपालमा जलवायु परिवर्तनको चर्को असरका बारेमा प्रष्टसँग राखेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले जलवायुसम्बन्धी अन्य मञ्चमा पनि नेपालले प्रष्टसँग कुरा राख्ने विश्वास दिलाए । ‘महासभामा मैले हामीले गर्दै नगरेको कामका निम्ति मूल्य चुकाउनुपर्ने विडम्बनाका बारेमा स्पष्टसँग राखेको छु, यसलाई प्रत्यक्षरुपमा अनुभूत गर्न र उक्त मुद्दालाई विश्वव्यापीकरण गर्न राष्ट्र सङ्घका महासचिव गुटरेससँग अपिल गरेँ,’ उनले भने, ‘मेरो पहिलो निमन्त्रणामै राष्ट्रसङ्घका महासचिव तुरुन्तै नेपाल आउनुभयो, खुम्बु क्षेत्रको अवलोकन र स्थानीयसँग अन्तक्र्रिया गर्नुभयो, यो निकै महत्वपूर्ण छ ।’ प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणमा सरकार गम्भीर रहेको बताए । उनले विश्वमाझ नेपालाई चिनाउने सगरमाथा र लुम्बिनीको संरक्षण र प्रवद्र्धन गर्न सरकारले भरमग्दुर प्रयार गर्ने बताए । ‘खुम्बु क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई मैले गम्भीररूपमा लिएको छु, केही सयम अगाडि अर्थमन्त्रालयबाट चतरादेखि लुक्लासम्म सडक निर्माण गर्ने गरी बजेट विनियोजन भएको छ, सडक निर्माणलाई तीव्र बनाउन सरकारले विशेष ध्यान दिनेछ,’ प्रधानमन्त्री दाहालले भने । स्थानीय तहले पनि विभिन्न ढङ्गबाट उक्त क्षेत्रमा ट्रयाक खोल्ने काम भएकामा आभार प्रकट गर्दै उनले उक्त सडकलाई स्तरोन्नति गर्न सरकारले सहयोग गर्ने बताए । विश्व समुदायमाझ नेपालको प्रतिष्ठा अभिवृद्धिका लागि खुम्बु क्षेत्रले भूमिका अतुलनीय रहेको उनको भनाइ छ ।
लप्सीफेदीमा प्रहरी पोष्ट राख्न गएका सुरक्षाकर्मीमाथि ढुंगामुढा
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटक–पटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सरकारले काठमाडौं शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधिन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा सचिव दिनेशकुमार घिमिरेलगायत मन्त्रालयका उच्च अधिकारीले पटकपटक जायज माग पूरा गर्ने र सबस्टेसन र प्रसारण लाइन निर्माणका लागि सहमति जनाउन आग्रह गरेका थिए । स्थानीयवासी र उनीहरूका प्रतिनिधिलाई वार्तामा सहभागी भए पनि कुनै पनि विषयमा सहमति जनाउन अटेर गरेको मन्त्रालयको भनाइ छ । सरकारको पछिल्लो निर्णयका आधारमा शुक्रबार बेस क्याम्प स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गरेका थिए । त्यस क्रममा केही प्रहरी घाइते भएका थिए । प्रहरीले आक्रामणमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । नेपाल विद्युत प्राधिकरणले शङ्खरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००र२२०र१३२र११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ । सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीका करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिवापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ । प्रभावित जग्गाधनीभन्दा पनि असम्बन्धित व्यक्तिहरूले विगत तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै एक गैरसरकारी संस्थाको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको नेपाल विद्युत प्राधिकरणको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैर सरकारी संस्था र असम्बन्धित व्यक्तिहरूका उक्साहटका कारण सबस्टेसन निर्माणको बिरोध भइरहेको जानकारी दिए । सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले लप्सीफेदीसम्म विद्युत ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सबस्टेसन निर्माण गर्न नसकिएमा उक्त विद्युत प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ । प्राधिकरणले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकाले सबस्टसेन अन्यत्र सार्न नसकिने प्रष्ट पार्दै आएको छ । जग्गाधनीहरूले छिटो मुआब्जा चाहियो भन्दै राजीखुसीले रकम बुझ्का थिए । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋण सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो । नयाँ खिम्ती–काठमाडौं ४०० केभी तथा लम्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन र चार वटा सबस्टेसन गरी अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ रहेको छ । लप्सीफेदी र चाँगुनारायण सबस्टेसन निर्माणका लागि पहिलो ठेक्का सम्झौता २८ मङ्सिर २०७४ (१४ डिसेम्बर २०१७) मा भएको थियो । ठेकेदारले लप्सीफेदी सबस्टेसन निर्माणका लागि एक वर्ष काम गरेको थियो । तर, ठेकेदारको काम सन्तोषजनक नभएपछि ठेक्का तोडी ४ मङ्सिर २०७७ ९१९ नोभेम्बर २०२०० नयाँ ठेक्का लगाइएको थियो । पहिलो ठेकेदारले काम गर्दा लप्सीफेदीमा कुनै विरोध भएको थिएन । तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ । अवरोधका कारण हालसम्म सबस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन । रासस
नेपाली छुर्पी विश्व बजारमा पुर्याउँदै भोजपुरका युवा
भोजपुर । भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो । दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बनेका छन् । आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उनले बताए। ‘यहाँको छुर्पी बाध्य बजारमा जान थालेको अवस्था छ,’ राईले भने, ‘भोजपुरका डेरीबाट पनि आवश्यक पर्दा दूध लैजाने गरेका छौँ । बाँकी रहेको दूधको छुर्पी बनाउँछु । यहाँ उत्पादन भएको छुर्पी कुकुरका लागि विदेशका विभिन्न देशमा निर्यात हुने गरेको छ ।’ आफू स्वरोगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ । उत्पादित दूधलाई बजारसम्म पुर्याउन समस्या भोग्दै आएका किसानलाई अहिले सहज भएको छ । व्यवसायी राईले किसानको घररघरमा पुगेर दूध सङ्कलन गरेर बिक्री पनि गर्दै आएको बताए । ‘यो ठाउँका मानिसमा दूध बिक्री गर्ने चलन थिएन,’ राईले भने, ‘मैले व्यवसाय सञ्चालन गरेपछि उनीहरूलाई सहज भएको छ । किसानको घरसम्म पुगेर दूध सङ्कलन गरेर ल्याउँछु ।’ व्यवसायी राईले दैनिक २ सय ५० देखि ३ सय लिटरसम्म दूध सङ्कलन गर्दै आएका छन् । पौवादुङमा गाउँपालिकाको विभिन्न क्षेत्रसँगै अरुण गाउँपालिको माचुङ, सोर्याङलगायत ठाउँमा पुगेर दूध सङ्कलन गर्दै आएको उनले जानकारी दिए। यी क्षेत्रका एक किसानले मासिक ५ हजारदेखि ३० हजार रुपैयाँसम्मको दूध घरबाट नै बिक्री गरिरहेको राईको भनाइ छ । आफूले पशुपालनको लागि ६० रोपनी जग्गा लिजमा लिएको राईले जानकारी दिए। ‘विगतमा घरमा नै दूध खपत गर्दै आएका किसान अहिले व्यावसायिक बनेको अवस्था छ,’ उनले भने, ‘दूध बिक्री भएपछि किसान पशुपालनमा लागेका छन् । उत्पादित दूधको बजारीकरणमा कुनै समस्या छैन ।’ यहाँका किसानको घर÷घरबाट सङ्कलन भएको दूधलाई भोजपुर सदरमुकामका डेरीले पनि लैजाने गरेको राईको भनाइ छ । छुर्पी प्रतिकेजी १ हजार १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ । नौनी घ्यू प्रतिकेजी ७ सय र खरुवा घ्यू प्रतिकेजी १ हजार ३ सय रुपैयाँमा बिक्री गर्दै आएको उनकी श्रीमती रमला राईले बताइन् । उत्पादित घ्यूँको बजारीकरणमा भने केही समस्या रहेको उनको भनाइ छ । राज्यको तर्फबाट सहयोग भए व्यवसायलाई थप विस्तार गर्न सहज हुने उनको भनाइ छ । आफ्नै ठाउँमा डेरी सञ्चालन भए पनि दूध बिक्री गर्न सहज भएको स्थानीय पशुपालक कृषक विक्रम राईले बताए । दूधको बेचबिखनमा सहज भएसँगै गाईपालनलाई थप विस्तार गरेको उनको भनाइ छ । ‘अहिले दूध बिक्रीको लागि सहज अवस्था छ,’ उनले भने, ‘फर्मबाट नै दूध बिक्री गर्छु । विगतमा हाम्रो ठाउँमा दूध बिक्री गर्ने चलन नै थिएन । अहिले दूध बेचेर घर खर्च धान्ने अवस्था बनेको छ ।’ गाउँमा नै डेरी स्थापनाले किसानलाई सहजता भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए। किसानले दूध बिक्री गरेर घर खर्च टार्ने अवस्था बनेको उनको भनाइ छ । ‘विगतमा पनि हाम्रो क्षेत्रमा प्रशस्त मात्रामा दूध उत्पादन हुन्थ्यो,’ वडाध्यक्ष तामाङले भने, ‘तर, बिक्री गर्नका लागि बजार थिएन । अहिले किसानलाई दूध बिक्रीको लागि कुनै समस्या छैन ।’ गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। यो कार्यक्रमअन्तर्गत विगतका आर्थिक वर्षमा किसानलाइ १३ वटा उन्नत जातको भैँसी वितरण गरेको अध्यक्ष राईको भनाइ छ । ‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘हामीले किसानलाई उन्नत जातको भैँसी वितरण गरिसकेका छौँ । अहिले यहाँ उत्पादन भएको दूध सदरमुकामसम्म जान थालेको छ । यही दुग्ध उद्योग खोलेर पनि किसानले दूधको परिकार बेच्न थालेका छन् ।’ गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए। भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ ।
रास्वपा आजदेखि घरदैलो अभियानमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि घरदैलो अभियान थालेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो । ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने उनले जानकारी दिए। अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ । ‘चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौँ,’ उनले भने । यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत अभियानमा सहभागी हुनेछन् । उनले भने, ‘एक सय ३१ निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन हुनेछन् ।’
धनगढीमा विद्युत सर्ट हुँदा आगलागी, अस्पतालसहित ८ पसलमा क्षति
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१ मुख्य बजारमा रहेको सारथी अस्पताल प्रालि र सँगै जोडिएका पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको समान जलेर नष्ट भएको छ । गए राति करिब १ बजे लागेको आगो आज बिहान मात्र निभाइएको थियो । अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ । आगलागीबाट सारथी अस्पतालसहित भण्डारीको भण्डारी जनरल स्टोर, टेकेन्द्र शर्माको मधुमाला बेबी सपगोदाम, वासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगतबहादुर बलायरको सुभिक्षा देवी सपिङ सेन्टर, यशोदा साउदको न्यू सदिक्षा इन्टर प्राइजेज, गौरी भण्डारीको भण्डारी सु सेन्टर, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा रहेको मालसामान जलेर नष्ट भएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र पुनर्वास नगरपालिकाका चारवटा दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा
मोरङ । जाडो छल्न चराहरू विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो। सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका ७ हजार ५ सयभन्दा बढी चरा नेपाल आएको तथ्यांक छ । जाडो छल्न र बच्चा कोरल्न चराहरूको आकर्षक गन्तव्य नेपाल हो। तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख्या घट्दो क्रममा रहेको प्रमुख गौतमले बताए । ‘नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैन,’ बर्ड वाचिङ क्याम्प कोशीटप्पुका सञ्चालक कुरमान मन्सुरीले भने, ‘नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।’ मन्सुरीका अनुसार कोशीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ । वातावरण पत्रकार साथै शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ । उनका अनुसार बेतना सिमसारमा ४९ प्रजातिका ३० परिवारका चार सयको सङ्ख्यामा चरा छन्। जसमध्ये ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा हुन्छन् । जसमध्ये खैरो टाउके फिस इगल र लेचर स्ट्रक जातका चरा आइएनसियुको खतराको सूचीमा रहेको उनले बताए। ‘कोशीटप्पुमा आउने प्रायजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्,’ उनले भने। विशेष गरी मंसिरदेखि फागुन महिनासम्म विदेशी चरा बेतना सिमसारमा बस्ने अधिकारी बताउँछन् । उत्तरी धुर्वमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउने गर्दछन् । बर्सेनि करिब १ सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्यांक छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्छन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदी क्षेत्रमा नै प्रायः रहन्छन् । जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउँछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि हुन् । रासस
मुम्बई एयरपोर्टले तोड्यो पुरानो रेकर्ड, एकै दिन १०३२ उडान-अवतरण
एजेन्सी । दीपावलीको हप्ता मुम्बई एयरपोर्टबाट एकै दिन १ हजारभन्दा बढी उडान-अवतरण भएर नयाँ रेकर्ड कायम भएको छ । दिपावली हप्ता अर्थात नोभेम्बर ११ देखि १३ सम्म मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल (सिएसएमआइए) मा कुल ५ लाख १६ हजार ५ सय ६२ यात्रुले उडान भरेका थिए । जहाँ नोभेम्बर ११ मा १ हजार ३२ उडान–अवतरण भएका थिए । यो सिएसएमआइएका लागि ठूलो उपलब्धि हो । यसअघि पाँच वर्ष पहिले एकै दिन सबैभन्दा बढी उडानको कीर्तिमान थियो । २०१८ डिसेम्बर ९ मा एकै दिन १ हजार ४ उडान–अवतरण भएको थियो । सोही रेकर्ड मुम्बई एयरपोर्टले यसपालि तोडेको हो । मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन अडानी समूहले गर्छ । अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले मुम्बई एयरपोर्टको रेकर्डबारे सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरमा लेखेका छन्, ‘नयाँ विश्वकीर्तिमान १ मुम्बई एयरपोर्टले एकै दिनमा १०३२ उडानहरू मात्र एक रनवेमा प्रबन्ध गरेर आफ्नै रेकर्ड तोडेको छ । एएआई नेभिगेसन टोली, एटिसी, एयरलाइन साझेदारहरू र टिम अडानीलाई उनीहरूको समर्थन र प्रयासका लागि बधाइ ।’ यसपटक दीपावलीको समयमा मुम्बई विमानस्थलबाट आन्तरिक रुटमा ३ लाख ५४ हजार ५ सय ४१ यात्रुले उडान भरेका छन् भने अन्तर्राष्ट्रिय रुटमा १ लाख ६२ हजार २१ यात्रुले उडान भरेका छन् । कुल २ हजार १ सय ३७ आन्तरिक उडान र ७ सय ५७ अन्तर्राष्ट्रिय उडानसहित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलले २ हजार ८ सय ९४ उडान व्यवस्थापन गरेको छ । १० र १३ नोभेम्बर अर्थात दीपावली हप्ताको बीचमा कुल यात्रु आवागमनलाई हेर्दा नयाँदिल्ली, बैंगलोर र चेन्नई घरेलु यात्रुहरूका लागि शीर्ष गन्तव्यहरू थिए । जबकि, अन्तर्राष्ट्रिय गन्तव्यहरूमा दुबई, लन्डन, अबुधाबी र सिंगापुर समावेश छन् । एक दिनमा १ हजार ३२ एयर ट्राफिक आवागमनको रेकर्ड दर्ता गरेपछि मुम्बई एयरपोर्टले नोभेम्बर ११ मा १ लाख ६१ हजार ४ सय १९ यात्रुलाई सेवा दियो । जसमा १ लाख ७ हजार ७ सय ६५ आन्तरिक यात्रु र ५३ हजार ६ सय ८० अन्तर्राष्ट्रिय यात्रु थिए। यसले सेफ्टी, सेक्युरिटी र मानक यात्रु सेवाका मापदण्ड कायम राख्दै मुम्बई एयरपोर्टको क्षमता बढेको देखाउँछ।
अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए
गण्डकी । कात्तिक महिनामा २४ हजार ४ सय ९ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका ७ हजार ४ सय ७९ र अन्य १६ हजार ९ सय ३० पर्यटक रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा. रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोज महिनापछि कात्तिकमा सबैभन्दा बढी पर्यटकले ‘एक्याप’ घुमेका छन् । वैशाखमा ३१ हजार ९ सय ५१ र असोजमा २८ हजार ७ सय ५ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । सबैभन्दा कम साउनमा ५ हजार ४ सय एक पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेको ‘एक्याप’ प्रमुख डा. कडरियाले बताए । गत वैशाखदेखि कात्तिकसम्ममा १ लाख २५ हजार ५ सय ३४ पर्यटकले ‘एक्याप’को भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा ९५ हजार ९ सय ११ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका थिए । अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा अहिले बढेको उनले बताए । ‘कोभिड–१९ महामारीताका सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले विस्तारै पुरानै लय पछ्याउँदै छ,’ प्रमुख डा. कडरियाले भने, ‘दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आगमन अझ बढ्ने देखिन्छ ।’ ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक ‘एक्याप’ भित्रने गरेको उनले बताए । ‘आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्ने पर्यटकको सङ्ख्या उल्लेख्य छ,’ उनले भने, ‘नेपालीहरू घुम्न निस्कने मुख्य याम पनि यही हो, विशेष गरी युवामा घुम्ने क्रेज बढ्दो छ ।’ अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको प्रमुख डा. कडरियाले बताए । उनका अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । ७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने १० गन्तव्य सूचीमा राखेको थियो । हालै नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्नुले पनि यस क्षेत्रको महत्व थप चुलिएको छ । त्यस बखत उनले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भूत रहेको बताएका थिए । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताए । ‘कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ,’ प्रमुख डा. कडरियाले भने, ‘आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।’ मुख्य पर्यटकीय याम (असोज–कात्तिक) र (चैत–वैशाख) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको गुरुङले बताए। गुरुङले विदेशी पर्यटकसहित यो याममा मर्दी आधार शिविर र घोडेपानी हुँदै मुक्तिनाथसम्मको पदयात्रा गरेका थिए। ‘रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि अन्नपूर्ण संरक्षण क्षेत्र उत्कृष्ट छ,’ उनले भने । रासस