विश्वकप जित्न अष्ट्रेलियालाई भारतको २४१ रनको लक्ष्य
काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा २४० रन बनाउँदै अल आउट भएको हो । १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पु¥याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो । कोहली ५४ र राहुल ६६ रनमा आउट भए । यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए । यो फाइनल जित्ने टिमले ट्रफी उचाल्नेछ ।
सिक्लेस र घान्द्रुक जानुअघि जानकारी लिन आग्रह
पाेखरा । दसैँ, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन् । वरपरका गाउँबस्ती र थुम्का उनीहरुको रोजाइमा पर्ने गरेको छ । सोही कारण कास्कीका पर्यटकीय गाउँहरुमा ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १० र ११ मा पर्ने घान्द्रुकमा शुक्रबार दुई हजारभन्दा बढी पर्यटक पुगेको घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उनका अनुसार शनिबार पनि दुई हजारकै हाराहारीमा पर्यटक पुगेका छन् । ‘पछिल्लो हप्ता घान्द्रुकमा पर्यटक पूर्णरुपमा भरिएका (हाउसफुल)नै भएको थियो’, अध्यक्ष गुरुङले भने ‘धेरै हुँदा हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । पाहुनालाई हामीले फर्काएका छैनौँ ।’ घुमघामको सिजनमा यहाँ आउँदा यहाँको बासस्थान, मौसमी अवस्थालगायत आवश्यक विषयमा जानकारी लिएर मात्र आउन उनले सबैलाई आग्रह गरे । ‘घुम्न आएका पाहुनालाई बास छैन भनेर फर्काउन पनि भएन् । हामीले मिलाएर त राखेकै छौँ’, अध्यक्ष गुरुङले भने, ‘पाहुनाको सुविधाका लागि उहाँहरु आफैँले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो ।’ उनका अनुसार घान्द्रुकमा पर्यटक राख्नका लागि ५५ होटल र २२ होमस्टे छन् । पाहुना बढी भएको अवस्थामा गाउँका घरमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ थियो । होटल, होमस्टे र घरमा गरी घान्द्रुकमा एक दिनमा दुई हजार दुईसम्म पाहुन राख्ने क्षमता रहेको उहाँले जानकारी दिए । कास्कीकै मादी गाउँपालिका–१ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा पनि पर्यटकको चाप बढेको छ । दसैँ, तिहार सकिएसँगै सिक्लेसमा दैनिक पाँचदेखि छ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । सिक्लेस हुँदै क्हपुचें हिमताल र कोरी डाँडा जाने पर्यटकका कारण पनि यहाँ पर्यटकको चाप बढेको उनले बताए। वडाध्यक्ष गुरुङले पर्यटकको सङ्ख्या बढी हुँदा व्यवस्थापनमा गाह्रो हुने भएकाले सामाजिक सञ्जालमार्फत जानकारी दिएर आउन आग्रह गरे । ‘सिक्लेसमा आउने आन्तरिक पर्यटकको चाप बढ्दो छ । कतिपय पर्यटक गाउँमा आइसकेपछि बस्नलाई समस्या भएको गुनासो आइरहेको छ’, उनले भने, ‘तसर्थ गाउँमा आउनुभन्दा अगावै बस्न चाहनुभएको होटलरहोमस्टे सञ्चालकसँग सम्पर्क गरेर मात्र आउनुहुन अनुरोध छ ।’ साथै, क्हपुचें र कोरी ट्रेकका लागि सम्बन्धित होटल सञ्चालकसँग सम्पर्क गरेर आउँदा असहजता नआउने उनको भनाइ थियो । रासस
विश्वका १० धनी क्रिकेटर : जोसँग छ अर्बौंको सम्पत्ति
काठमाडौं । यतिखेर विश्वको ध्यान क्रिकेटतर्फ आकर्षित भइरहेको छ । अहिले विश्वकप चलिरहेकोले पनि धेरैको ध्यान क्रिकेटतिर तानिएको हाे। अहिले भारतमा विश्वकप क्रिकेट जारी छ । फाइनलमा भारत र अस्ट्रेलिया उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । खेलाडीहरूले खेलर र विभिन्न कम्पनीहरूको विज्ञापनमा खेलेर पनि करोडौं रुपैयाँ कमाउने गरेका छन् । आज हामीले विश्वका सबैभन्दा धनी १० क्रिकेटरको सूची तयार पारेका छौं । १. सचिन तेन्दुलकर भारतीय क्रिकेटर सचिन तेन्दुलकर विश्वका चर्चित खेलाडीका रूपमा परिचित छन् । उनी भारतीय क्रिकेटका पूर्व कप्तानसमेत हुन् । भारतको मुम्बईमा जन्मेका उनी विश्व क्रिकेटको इतिहासमै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा चिनिन्छन् । उनले क्रिकेटमा दर्जन बढी रेकर्डहरू बनाएका छन् । उनी विश्वका सबैभन्दा धनाड्य क्रिकेटरका रूपले पनि परिचित छन् । उनीसँग १२ अर्ब ५० करोड भारतीय रूपैयाँ अर्थात् १६५ मिलियन डलर बराबरको सम्पत्ति छ । अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार भन्दा धेरै रन र शतकको पनि शतक बनाउने सचिन विश्वकै एक मात्र खेलाडी हुन् । उनले विज्ञापनमार्फत् पनि धेरै कमाउने गरेका छन् । उनी विज्ञापनबाटै १०० करोड कमाउने विश्वकै पहिलो क्रिकेटर हुन् । २. महेन्द्रसिंह धोनी विश्वका दोस्रो धनी क्रिकेटरमा महेन्द्रसिंह धोनी पर्छन् । उनी पनि भारतीय क्रिकेट टीमका पूर्व कप्तान हुन् । उनी भारतीय क्रिकेटरमध्ये सफल खेलाडीको रूपमा पनि परिचित छन् । धोनी कुनै समय सर्वाधिक कमाइ गर्ने क्रिकेटर थिए । उनको औसत कमाइ वार्षिक १ सय ५० देखि १ सय ९० करोड भारुसम्म हुन्थ्यो । हाल उनीसँग १० अर्ब ४० करोड भारु अर्थात् १३० मिलियन डलरबराबरको सम्पत्ति छ । उनले भारतलाई टी २० र एक दिवसीय गरि २ वटा विश्वकप दिलाएका छन् । धोनी भारतका लागि आईसीसीका तीन टुर्नामेन्ट जित्ने पहिलो र एक मात्र कप्तान पनि हुन् । उनी पनि विभिन्न ठूला कर्पोरेट हाउसहरूसँगको सहकार्यमा विज्ञापनमा खेलेर करोडौं कमाउने गर्दछन् । ३. विराट कोहली भारतीय क्रिकेटका पूर्व कप्तान विराट कोहली अहिले पनि क्रिकेट खलिरहेका छन् । उनले पनि एक सफल क्रिकेटरको छवि बनाएका छन् । विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमान बराबरी गर्न सफल भएका छन् । विराटको कुल अन्तर्राष्ट्रिय शतक ७९ पुगेको छ । उनले टेस्टमा २९ र टी–२० मा एक शतक प्रहार गरेका छन् । विराटको सफलताको कारण उनको आत्मविश्वास, खेलप्रतिको समर्पण, एकाग्रता, निष्ठा र अनुशासनलाई श्रेय दिन सकिन्छ । पूर्व कप्तान धोनीको संन्यासपछि कप्तानको जिम्मेवारी उनको काँधमा आएको थियो । तर, उनले पनि कप्तानबाट राजीनामा दिएपछि भारतीय क्रिकेटको कप्तानी रोहित शर्माले सम्हालिरहेका छन् । कोहली पनि धनी खेलाडीमध्येमा पर्छन् । हाल उनीसँग १० अर्ब २० करोड अर्थात् १२७.५ मिलियनबराबरको सम्पत्ति रहेको बुझिन्छ । भारतीय र अन्य विदेशी कम्पनीहरुका पनि उनी अहिले ब्राण्ड एम्बास्डर भएर काम गरिरहेका छन् । उनी पनि विज्ञापनमा खेलेर करोडौं कमाउने गरेका छन् । ४. सौरभ गाङ्गुली सौरभ गाङ्गुली पनि भारतीय क्रिकेटर हुन् । उनी पनि भारतीय क्रिकेट टीमका पूर्व कप्तान हुन् । हाल उनी भारतीय क्रिकेट बोर्डको अध्यक्षका रूपमा काम गरिरहेका छन् । उनीसँग पनि ६ अर्ब ३४ करोड भारतीय रुपैयाँ अर्थात् ७९.२५ मिलियन डलर बराबरको सम्पत्ति रहेको बताइएको छ । ५. रिक्की पोन्टिङ रिक्की पोन्टिङ अष्ट्रेलियाको क्रिकेटका पूर्व कप्तान हुन् । उनी हाल कोचका रूपमा काम गरिरहेका छन् । उनले पनि एक सफल ब्याट्सम्यानको छवि बनाएका छन् । अष्ट्रेलियाको क्रिकेटलाई माथि उठाउनका लागि उनको ठूलो योगदान छ । उनको कप्तानीमा अस्ट्रेलियाले लगातार २ पटक विश्वकपको उपाधि पनि जितेको छ । उनी पनि विश्वका धनी क्रिकेटरको सूचीमा पाँचौं नम्बरमा छन् । उनीसँग हाल ६० मिलियन डलरबराबरको सम्पत्ति छ । अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलिययाका लागि ७१ शतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् । उनी पनि विभिन्न ब्राण्डको विज्ञापन पनि खेल्छन् । उनी विश्वकै महँगो क्रिकेट कमेन्टटेटरको रूपमा पनि चिनिन्छन् । ६. शेन वार्न शेन पनि अष्ट्रेलियाका एक अनुभवी पूर्व क्रिकेटरका रूपमा चिनिन्छन् । उनी विश्वका सबैभन्दा धेरै विकेट लिने खेलाडीको उच्च सूचीमा छन् । वार्नले पनि विभिन्न कम्पनीको प्रडक्टको विज्ञापनमा खेलेर करोडौं कमाउने गरेका छन् । हाल उनीसँग ५१.१२५ मिलियन डलरबराबरको सम्पत्ति रहेको बुझिन्छ । ७. क्रिस गेल क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)विश्व क्रिकेटका चर्चित खेलाडी हुन् । उनी वेष्ट वेन्डिजका एक सफल ब्याट्सम्यान हुन् । उनी पनि विश्का क्रिकेटरहरूमध्येमा सातौं धनी खेलाडीमध्येमा पर्छन् । हाल उनीसँग ४६.८७५ मिलियन अमेरिकी डलरबराबरको सम्पत्ति रहेको बुझिएको छ । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यानको छवि बनाएका उनी युनिभर्स बोसका नामले पनि परिचित छन् । ८.विरेन्द्र सहवाग विरेन्द्र सहवाग भारतीय क्रिकेट टिमका पूर्व खेलाडी हुन् । उनी पनि विस्फोटक ब्याट्सम्यानका रूपमा चिनिन्थे । भारतका लागि टेस्टमा तेहेरो शतक लगाउने एक मात्र व्याट्सम्यानका रूपमा उनी परिचित छन् । सहवाग लामो समयसम्म हिरो होण्डाका ब्राण्ड एम्बेसडर बनेका थिए । क्रिकेटको साथै सहवाग बूस्ट, स्यामसुंग, रिबोक, एडिडास र अरु अन्तर्राष्ट्रिय ब्राण्डका लागि विज्ञापन पनि गरेका छन् । अहिले सहवाग हरियाणमा अन्तर्राष्ट्रिय स्कूल चलाइरहेका छन् । उनीसँग हाल ४१.५ मिलियन डलरबराबर सम्पत्ति रहेको खुलेको छ । ९. पेट कमिन्स अष्ट्रेलियन क्रिकेट टिमका कप्तान हुन् पेट कमिन्स । उनी तीब्र गतिका बलर हुन् । कमिन्स १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्छन् । उनी महँगा खेलाडी रूपले पनि चिनिन्छन् । हाल उनीसँग ४० मिलियन अमेरिकी डलरबराबरको सम्पत्ति रहेको बुझिएको छ । उनी विश्वका क्रिकेटरको नवौं नम्बरको धनीमध्ये पर्छन् । १०. युवराज सिंह युवराज सिंह भारतीय पूर्व क्रिकेटर हुन् । उनी अलराउण्डर खेलाडीका रूपमा परिचित थिए । उनीसँग पनि २ अर्ब ६६ करोड भारु अर्थात् ३३.२५ मिलियन अमेरिकी डलरबराबर सम्पत्ति रहेको खुलेको छ ।
२३ पालिकाले बुझाएनन् बजेट विवरण
काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०र८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म सात सय ३० पालिकाले मात्रै आफ्नो वार्षिक बजेट ल्याएको विवरण बुझाएका छन् । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । त्यस्तै, कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् । बजेटको विवरण प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण बुझाउन मन्त्रालयले पटक–पटक परिपत्रसमेत गरेको छ । सङ्घीय मामिला मन्त्रालयले पहिलो पटक गत असार ३० गतै सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०र८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको थियो । केही पालिकाले बजेट पारित गरिसकेर पनि विवरण बुझाउन बाँकी रहेको, केही पालिकामा बजेट पेस भएको तर गाउँसभा तथा नगरसभाबाट पारित हुन नसकेकोलगायत कारण हालसम्म सबै पालिकाको विवरण अद्यावधिक हुन सकेको छैन । चितवनको राप्ती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले नगरसभाबाट बजेट पारित भइरकेको तर बजेट स्वीकृत भएको विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट हुन नसकेको बताए । त्यउस्तै तेह्रथुमको आठराई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नीराज शर्माले बजेट ल्याइसकेको भए पनि मन्त्रालयको वेभसाइटमा विवरण प्रविष्ट नभएको बताए । मन्त्रालयको विवरणअनुसार हालसम्म सप्तरीको कञ्चनरुप नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका, औरही गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो वार्षिक बजेट पेस गरेको विवरण बुझाएका छैनन् । धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन । बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिले पनि बजेट पेस गरेको विवरण बुझाउन सकेका छैनन् । रासस
भारतको आईटी क्षेत्रमा थप ३० अर्ब लगानी हुँदै
एजेन्सी । केही दिनअघि केन्द्र सरकारले भारतमा ल्यापटप आयातमा प्रतिबन्ध लगाएपछि विश्वको सबैभन्दा ठूलो कम्प्युटर हार्डवेयर र स्मार्टफोन बजारमा रहेका डेल, फक्सकन, एचपी र लेनोभोजस्ता कम्पनीले ‘पर्फर्मेन्स लिंक इन्सेन्टिभ’ (पीएलआई) योजनाका लागि आवेदन दिए । केन्द्र सरकारले पीएलआई योजनाका लागि २७ कम्पनी चयन गरेको छ । हार्डवेयर निर्माण कम्पनीहरूको यो कदमले भारतको आईटी हार्डवेयर उद्योगमा ३० अर्ब रुपैयाँ लगानी हुने र ५० हजारजनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । भारतका इलेक्ट्रोनिक्स र सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले पीएलआई योजनाअन्तर्गत स्वीकृति प्राप्त गरेका २७ कम्पनीमध्ये २३ कम्पनीले तत्काल आफ्नो सञ्चालन र उत्पादन सुरु गर्न काम गरिरहेको बताए । भारत सरकारले हालै आईटी हार्डवेयर क्षेत्रका लागि उत्पादन लिंक प्रोत्साहन योजना सुरु गर्यो। यसबाट सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सक्षम हुने अपेक्षा गरेको छ । आईटीमन्त्री वैष्णवले प्रदर्शन लिंक प्रोत्साहन योजनाअन्तर्गत २७ कम्पनीले स्वीकृति प्राप्त गरेको बताए । उनले यसबाट देशमा ३० अर्ब रुपैयाँ लगानी हुने, ५० हजारले प्रत्यक्ष रोजगारी पाउने र डेढ लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाउने बताए । एचपी, लेनोभोजस्ता ठूला कम्पनीहरू यस पीएलआई स्कीम योजनामा रुचि राख्ने ४० कम्पनीमध्ये छन् । तिनीहरूले आईटी हार्डवेयर पीएलआई योजनाका लागि आवेदन दिएका थिए । यी कम्पनीले भारतमा पर्सनल कम्प्युटर, ल्यापटप, ट्याब्लेट, सर्भर र सम्बन्धित उपकरणहरू निर्माण गर्न लागेका छन् । पीएलआई स्कीम योजनाको ६ वर्षको कार्यकालमा कम्पनीहरूले ४६ अर्ब ५० करोडबराबरका प्रोडक्ट तयार गर्न सक्छन् । गत अगस्ट ३ मा केन्द्र सरकारले ल्यापटप आयातमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको थियो । विदेशबाट आउने ल्यापटप र कम्प्युटरको हार्डवेयरको सुरक्षामा सरकार चिन्तित भए पनि अमेरिकालगायत उद्योगका अग्रणी ल्यापटप कम्पनीहरूको आलोचनाको सामना गर्नुपरेको सरकारको भनाइ छ । ल्यापटपमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको एप्पलसँगै सामसङ, डेल, लेनोभो र एचपीजस्ता कम्पनीले विरोध गरेका थिए । जियोबुक चीनबाट आयात भएकाले सरकारको यो निर्णयले जियोजस्ता कम्पनीले पनि घाटा बेहोरेका छन् ।
यी हुन् भारतका करोडौं कमाउने १५ क्रिकेटर
एजेन्सी । विश्व क्रिकेट खेल जगतमा भारतको नाम सधैं शीर्ष स्थानमै आउने गर्छ । विश्वकप क्रिकेटमा भारतले दुईपटक उपाधि पनि हासिल गरिसकेको छ । आइतबार पनि अष्ट्रेलियासँग विश्वकपको ट्रफी उचाल्ने रणनीतिका साथ खेल खेलिरहेको छ । भारतमा क्रिकेटकाे क्रेज यतिविधि छ कि प्रत्येक मानिसले यो खेलबारे चासो राख्छन् । भारतीय क्रिकेटमा ठूलो धनराशी खर्च हुने गर्छ भने क्रिकेट खेलाडीले करोडौं पारिश्रमिक पाउने गर्छन् । क्रिकेटका नामुद खेलाडीहरू विभिन्न व्यापारिक विज्ञापनमा पनि देखिने गर्छन्, जसबाट उनीहरूले करोडौं आम्दानी गरिरहेका छन् । त्यसबाहेक भारत क्रिकेट काउन्सिल (बीसीसीआई) ले उनीहरूलाई वार्षिक, सिजन र प्रत्येक खेलका लागि छुट्टाछुट्टै गरी करोडौं पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । भारतीय क्रिकेटका १५ महँगा खेलाडीबारे यहाँ चर्चा गरिएको छ : १. रोहित शर्मा भारतीय क्रिकेट कप्तान रोहित शर्मा श्रेणीमा सबैभन्दा माथि छन् । रोहितलाई वार्षिक अनुबन्धका लागि ७ करोड भारतीय रूपैयाँ र प्रतिम्याच फिसको ५० प्रतिशत बोनस पनि दिइन्छ । उनी भारतीय क्रिकेट खेलाडीमा सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी हुन् । रोहितले आईपीएलमा प्रतिसिजन १६ करोड पाउँछन् । २. विराट कोहली भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहली धनी क्रिकेटरमध्ये दोस्रो नम्बरमा पर्छन् । उनले अनुबन्धका रूपमा वार्षिक ७ करोड भारु पाउँछन् । उनलाई आरसीबीबाट प्रतिसिजन १५ करोड भारु प्राप्त हुन्छ । ३. जसप्रित बुम्राह दायाँ हातका फास्ट बलर जसप्रित बुम्राहको बीसीसीआईले प्रिमियम क्रिकेटमा ए प्लस श्रेणीमा राखेको छ । उनलाई ७ करोड भारु म्याच फिस र अनुबन्धका रूपमा दिइन्छ । आईपीएलमा उनले एमआईबाट १२ करोड लिन्छन् । ४. रवीन्द्र जडेजा क्रिकेट स्टार अलराउन्डर रवीन्द्र जडेजा क्रिकेटका तीन फर्म्याटका हिस्सा हुन् । बीसीसीआईले उनलाई प्रिमियर क्रिकेटमा ए श्रेणीमा राखेको छ । उनले म्याच फिस र अनुबन्धका रूपमा वार्षिक ७ करोड भारु लिन्छन् । उनले आईपीएलमा चेन्नई सुपरकिङ्सबाट प्रतिसिजन १६ करोड भारु लिन्छन् । ५. मोहम्मद समी क्रिकेटर मोहम्मद समी ग्रेड ए श्रेणीका एकमात्र बलर हुन् । उनलाई वार्षिक अनुबन्ध र म्याच फिसका लागि ५ करोड भारु दिइन्छ । उनले आईपीएलमा गुजरात राइडर्सबाट ६.२५ करोड भारु प्राप्त गर्छन् । ६. हार्दिक पाण्डेय अलराउन्डर हार्दिक पाण्डेय ग्रेड ए श्रेणीका हिस्सा हुन् । उनलाई वार्षिक ५ करोड भारु अनुबन्ध तथा म्याच फिसका रूपमा दिइन्छ । हार्दिकले प्रतिम्याच ६ लाख र ३ लाख पाउँछन् । आईपीएलमा उनले प्रतिसिजन १५ करोड रुपैयाँ लिन्छन् । ७. रविचन्द्र अश्विन भारतका प्रमुख ट्रेनर रविचन्द्र अश्विनलाई बीसीसीआईले ग्रेड एमा राखेको छ । उनलाई वार्षिक ५ करोड म्याच फिस र अनुबन्धका लागि दिइन्छ । उनलाई प्रतिटेस्ट म्याचका लागि १५ लाख दिइन्छ । उनी आईपीएलमा राजस्थान रोयल्सबाट हरेक सिजन ५ करोड भारु लिन्छन् । ८. सूर्यकुमार यादव क्रिकेटर सूर्यकुमार यादव वर्तमानमा भारतका सबैभन्दा राम्रा ब्याट्सम्यान हुन् । उनलाई टी ट्वान्टी फर्म्याटमा ग्रेड बीमा राखिएको छ । उनलाई वार्षिक अनुबन्ध र म्याच फिसका लागि ३ करोड भारु दिइन्छ । मुम्बई इन्डियन्सबाट उनले प्रतिसिजन ८ करोड भारु लिन्छन् । ९. केएल राहुल भारतीय क्रिकेटका पूर्वउपकप्तान केएल राहुल २०२२ मा ग्रेड एका हिस्सा बनेका थिए । पछिल्लो समय उनको निराशाजनक प्रदर्शनका कारण ग्रेड बी श्रेणीमा राख्ने निर्णय गरिएको छ । उनी क्रिकेटका तीनै फम्र्याटका हिस्सा छन् । राहुललाई आईपीएलमा सिजनका रूपमा १७ करोड भारु दिइन्छ । १०. श्रेयस ऐयर बलर श्रेयस ऐयर क्रिकेटको तीनै फम्र्याटमा खेल्छन् । उनलाई ग्रेड बी श्रेणीमा ३ करोड भारु वार्षिक अनुबन्ध र म्याच फिसका रूपमा दिइन्छ । उनले आईपीएलमा कोलकाता नाइट राइडर्सका क्याप्टेनका रूपमा प्रतिसिजन १२.२५ करोड भारु लिन्छन् । ११. शुभमन गिल भारतीय क्रिकेट खेलाडी शुुभमन गील सबै फर्म्याटका ब्याट्सम्यान हुन् । उनी अहिले ग्रेड बीमा छन् । उनले म्याच फिस र अनुबन्धका रूपमा वार्षिक ३ करोड रुपैयाँ पाउँछन् । उनलाई आईपीएलमा गुजरात राइडर्सबाट प्रतिसिजन ८ करोड भारु दिइन्छ । १२. मोहम्मद सिराज दाहिने हातका फास्ट बलर मोहम्मद सिराज टेस्ट म्याच र एक दिवसीय म्याचमा भारतीय बलरका रूपमा परिचित छन् । अहिले उनी ग्रेड बीमा छन् । उनलाई ३ करोड भारु म्याच फिस र अनुबन्धका रूपमा दिइन्छ । आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर्सबाट प्रतिसिजन उनले ७ करोड भारु लिन्छन् । १३. इसान किसन भारतीय टिमका विकेट किपर तथा ब्याट्सम्यान इसान किसन जसले एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा बढी डबल सेन्चुरी बनाएर भारतको महत्वपूर्ण खेलाडीमा नाम सामेल गरेका छन् । उनले हालै वेस्टइन्डिजविरुद्ध डेब्यु गरेका थिए । इसान ग्रेड सीमा छन् । उनले म्याच फिसका रूपमा वार्षिक १ करोड भारु लिन्छन् । मुम्बई इन्डियन टिमबाट प्रतिसिजन १५.२५ करोड भारु दिइन्छ । १४. शार्दुल ठाकुर भारतीय फास्ट बलर शार्दुल ठाकुर दाहिने हातका मध्यम फास्ट बलरका साथै दायाँ हाते ब्याट्सम्यान हुन्। महाराष्ट्रको पालघरमा जन्मेका शार्दुलले सन् २०१५ मा आईपीएलमा डेब्यु गरेका थिए र हाल कोलकाता नाइट राइडर्सबाट खेल्छन् । भारतीय टेस्ट म्याच र एक दिवसीय म्याचका रेगुलर बलर हुन् उनी । २०२३ मा शार्दुलको ग्रेड सीबाट ग्रेड बीमा डेब्यु गरिएको थियो । ठाकुरलाई उनको अनुबन्ध र म्याच फिसका लागि वार्षिक १ करोड भारु दिइन्छ । उनी कोलकाता नाइट राइडर्सका पनि हिस्सा हुन् । जहाँ सिजनका लागि उनलाई १०.७५ करोड भारु दिइन्छ । १५. कुलदीप यादव बायाँ हात स्पिनर बलर कुलदीप यादव भारत क्रिकेट काउन्सिल (बीसीसीआई) को सम्झौताअनुसार ग्रेड सीमा छन् । उनलाई अनुबन्धका रूपमा वर्षको १ करोड भारु दिइन्छ । आईपीएलमा उनलाई दिल्ली क्यापिटलबाट हरेक सिजन २ करोड भारु दिइन्छ । यसबाहेक उनले हरेक टास्क म्याचका लागि १५ लाख, एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि ६ लाख र टी ट्वान्टी म्याचका लागि ३ लाख भारु पारिश्रमिक लिन्छन् ।
ट्याक्सीमा छुटेको ७ तोला सुन चालकले बुझाए प्रहरीलाई
काठमाडौं । काठमाडौंको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज धनीलाई हस्तान्तरण गरेका हुन् । जडीबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४ ५३ नम्बरको ट्याक्सीमा करिब सात तोला बराबरको सुन र चार तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी सङ्गीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् । प्राप्त खबर तथा लिखित निवेदनका आधारमा ट्राफिक प्रहरीले सिसीटिभी क्यामेराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयं सुनका गहना सुरक्षित लिएर आज बिहान ट्राफिक प्रहरी वृत्त गौशालामा सम्पर्क गर्न आएका प्रहरी निरीक्षक सिंहले जानकारी दिए । कार्यालयमा रहेको खोजतलास शाखाले सवारीसाधनमा छुटेका धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ । गत साउनदेखि हालसम्म एक सय ३३ जनाले दिएको निवेदनका आधारमा ९९ को धनमाल खोजी गरी रू ४० लाख छ हजार छ सय २५ मूल्य बराबरको सामान सम्बन्धित धनीलाई बुझाइएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । आफ्नो धनमालको सुरक्षा गर्न र सवारीसाधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन उनले आग्रहसमेत गरे ।
कञ्चजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटक बढे
फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समय बाह्य पर्यटकको सङ्ख्या बढेको छ । कोरोनाको सङ्क्रमणका कारण करिब चारवर्ष सुनसान जस्तै बनेको कञ्चजङ्घा क्षेत्रमा यस वर्षको दसैँ तिहारको समयमा भने पर्यटकको सङ्ख्या बढेको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार दसैँ र तिहारको समयमा सय जना विदेशी पर्यटक आएका छन् । यस क्षेत्रमा असोज महिनादेखि पर्यटकको आगमन सुरु हुने गरेको उनले बताए । असोज, कात्तिक र मङ्सिर २ गते सम्ममा छ सय ५० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएको घुन्सा पर्यटन चेकपोष्ट कार्यालयले जनाएको छ । विगतको तुलनामा यसवर्ष आन्तरिक पर्यटक वृद्धि भएको छ । गतवर्ष असोज, कात्तिक र मङ्सिर महिनामा चार सय ५० बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन गरेका थिए । आन्तरिक पर्यटकको भने अहिलेसम्म कुनै निकायले तथ्याङक राख्ने गरेको छैन । पर्यटकको आगमनले कञ्चनजङ्घा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए । स्थानीय समुदाय पर्यटन व्यवसायमा निर्भर हुँदै आएका छन् । वर्षको दुई याममा यस क्षेत्रमा पर्यटक आउने गर्दछन् । अहिले चिसो मौसम सुरु भएसँगै पर्यटकको आवागमनमा कमी हुँदै गएको पर्यटन सहायक शेर्पाले बताए । रासस