विकासन्युज

बैंकले सहजै ऋण दिन थालेपछि गाडी व्यापार बढ्यो, भव्य बन्यो व्यवसायीको दशैं/तिहार

काठमाडौं । यस वर्षको दशैं/तिहारमा ठूला सवारी साधनको व्यापार उल्लेख्य रूपमा वृद्धि भएको छ । लामो समयसम्म कोरोना महामारी, अर्थतन्त्रसको सुस्तता र आयातमा गरिएको कडाइले मारमा परेको अटोमोबाइल्स क्षेत्रलाई थोरै भए पनि चाडपर्वले राहत मिलेको हो । अटो व्यवसायीहरू  दशैं/तिहारमा गाडीकाे व्यापार वृद्धि हुँदा केही राहत महसुस भएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन नेपालका अध्यक्ष ध्रुब थापाले चाडपर्वको समयमा चार पाङग्रे सवारीको व्यापार सन्तोषजनक भएको बताएका छन् । उनका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्षको दशैं/तिहारमा ठूला सवारी साधनको व्यापार बढेको हो । ‘विगतको तुलनामा यसपटकको दशैं/तिहारमा ‘प्यासेन्जर सेग्मेन्ट’का गाडीहरूको बिक्रीमा वृद्धि भएको छ, गाडी बिक्री हुँदा अटो व्यवसायीहरू पनि खुसी हुनु भएका छन्,’ उनले भने । उनका अनुसार यसपटकको चाडपर्वमा दोब्बरले व्यवसाय बढेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीको तुलनामा विद्युतीय सवारी साधनहरू बढी बिक्री भएको उनको भनाइ छ । ‘नेपालमा ईभीको व्यापार राम्रो छ, यसपटकको चाडपर्वमा ईभीकै सवारी बढी बिक्री भएका छन्,’ उनले विकासन्युजसँग भने, ‘चाडपर्वले गर्दा इन्धनबाट चल्ने सवारीको बिक्री पनि बढेको छ, गाडीका शोरुममा गाडी बुक गर्ने तथा बुकिङको गाडी डेलिभरी गर्ने कार्य कम्पनीहरूबाट भइरहेको छ ।’ अटो बजारलाई नाडा अटो शोले चलायमान गर्न मद्दत पुर्याएको थापाको भनाइ छ । दशैं तिहारमा चार पाङग्रे सवारीको बिक्री बढ्दै गर्दा कमर्सियल भेहिकल तथा दुई पाङग्रे सवारीको बिक्री भने गिरावट आएको उनको भनाइ छ । उनका अनुसार दुई पाङग्रे सवारीको बिक्री दर ५० प्रतिशतले घटेको छ । नेपालबाट बढ्दो संख्यामा युवा विदेसिएकोले मोटरसाइकल चढ्ने मान्छे घट्दै गएको र व्यापार पनि घटेको हुन सक्ने उनको विश्लेषण छ । उनका अनुसार विगतको तुलनामा अहिले ईभीका दुई पाङग्रे सवारीको व्यापार केही मात्रामा कम छ । यसअघि गाडी व्यापारले सुस्त बनेका व्यवसायीहरू चाडपर्वमा भएको गाडी खरिदबिक्रीले हौसिएका हुन् । अहिले गाडीको विभिन्न सोरूमहरूमा नयाँ सवारी साधन खरिद गर्नेहरूको संख्या बढ्दा व्यवसायीहरू खुसी भएका हुन् । सुजुकी गाडीको बिक्रेता कम्पनी नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप कुमार बरालले दशैं/तिहारमा गाडीको व्यापार राम्रो भएको सुनाउँछन् । ‘गाडीको व्यापार हुँदै नभएको अवस्थाबाट अहिले राम्रो देखिन्छ, यसले हामीलाई सकारात्मक सन्देश प्रवाह गरेको छ, विगत २ वर्ष देखिको शून्य सेल्सलाई दशैं/तिहारले खुसी प्रदान गरेको छ,’ उनले भने । दशैं/तिहारमा सुजुकी गाडीको व्यापार पनि सन्तोषजनक भएको बरालको भनाइ छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले सहजै ऋण प्रदान गरेकोले पनि गाडीको व्यापार बढेको हुन सक्ने उनको तर्क छ । यस्तै, नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटका सेल्स म्यानेजर महेन्द्र श्रेष्ठले दशैं/तिहारमा टोयोटा गाडीको बिक्री सामान्य नै रहेको सुनाए । ‘अहिले बजारमा ईभी गाडीको बाहुल्यता बढी छ, इन्धनबाट चल्ने गाडीको भन्दा कम मूल्यमा ईभी पाइन थालेको छ जसले इन्धनबाट चल्ने गाडीको व्यापारमा धक्का दिएको छ, तथापि, दशैं/तिहारमा टोयोटाको गाडीको बिक्री अवस्था राम्रो नै रह्यो,’ उनले भने । श्रेष्ठले दशैं/तिहारमा आफ्नो कम्पनीको करिब ४०/४५ वटा गाडी बिक्री भएको बताए । ‘गाडीको मूल्य फरक-फरक हुन्छ, एउटै गाडी करोडौं रुपैयाँ पर्छ, त्यसले गर्दा दशैं–तिहारमा ८०/८५ करोड रुपैयाँको कारोबार भयो,’ उनले भने । नेपालका लागि टाटा माटर्सको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिंगले पनि राम्रै व्यापार भएको बताएको छ । कम्पनीका अनुसार दशैं/तिहारमा टियागो ईभी गाडीको बिक्री राम्रै भएको छ । कम्पनीले दशैं/तिहारमा नेक्सन ईभी एक्स जेड प्लस तथा अन्य मोडलका गाडीको बिक्री उल्लेखनीय भएको बताएको छ ।

दक्षिण कोरियाले उपलब्ध गरायो ५ करोडको स्वास्थ्य सामग्री

काठमाडौं । दक्षिण कोरियाले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । ती बहुउपयोगी सामग्री सोमबार नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे । स्वास्थ्य सामग्रीको मूल्य पाँच करोड ३५ लाख ३२ हजार ५ सय रुपैयाँबराबर छ । ती बहुउपयोगी सामग्री सोमबार नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे । स्वास्थ्य सामग्रीको मूल्य पाँच करोड ३५ लाख ३२ हजार ५ सय रुपैयाँबराबर छ । विशेष गरी नेपालभरका प्रदेश तथा जिल्ला तहमा उन्नत चिकित्सा उपकरणहरूको आवश्यकतालाई उक्त बहुउपयोगी स्वास्थ्य सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको दूतावासले जनाएको छ । दूतावासद्वारा आज जारी विज्ञप्तिमा पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्य जाँच उपकरणले प्राथमिक स्वास्थ्य परीक्षण, कलेजो, मृगौला र प्यान्क्रियाजसहित महत्वपूर्ण अंगहरूको स्वास्थ्य अवस्था परीक्षणमा उपयोगी हुने उल्लेख छ । यस डायग्नोस्टिक उपकरणले सिरम, प्लाज्मा र पिसाबजस्ता बायोकेमिस्ट्री नमुनाहरूको सही विश्लेषण गर्नेछ र रोगको निदानका लागि उपचारमा महत्वपूर्ण भूमिका कोरिया सरकारको यस सहयोगले स्थानीय स्तरमा रहेका अस्पतालहरूलाई प्राथमिक चरणमा नै रोगको सही पहिचान र उपचारका लागि सहज बनाउनेछ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सचिव पोखरेलले यस किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्नेमा जोड दिए । उनले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे । राजदूत पार्कले कोरियाली सरकारको यस्ता किसिमका सहयोगले नेपाललाई एक स्थिर विकासका लागि सधैं समर्थन रहने बताए । दक्षिण कोरियाले नेपाललाई १५ वर्षदेखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचीमा समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । विकास साझेदारीका प्रमुख क्षेत्रहरुमा स्वास्थ्य, सरसफाइ, कृषि, खानेपानी, शिक्षा, ग्रामीण विकास तथा ऊर्जा क्षेत्र रहेका छन् । कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि नेपाललाई १८८.६ मिलियन अमेरिकी डलर (२५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहयोग उपलब्ध गराइसकेको छ । हालसम्म मुगु, नुवाकोट र टीकापुर अस्पताल स्थापना भएर सञ्चालनमा रहेको छ । त्यसैगरी कोरिया सरकारको सहयोगमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको कोरिया-नेपाल मैत्री अस्पतालको क्षमता वृद्धिका लागि दोस्रो चरणको कार्यक्रमअन्तर्गत १५० थप शय्याको अस्पताल निर्माण चरणमा छ । साथै, सन् २०१५ मा नेपालमा गएको महाभूकम्प र कोभिड १९ को महामारीलगायतका कठिन घडीमा पनि कोरियाले नेपाललाई सहयोग गरेको थियो । कोरियाले हालै कर्णालीमा गएको भूकम्पबाट प्रभावित नेपालीलाई ३ लाख अमेरिकी डलरबराबरको मानवीय सहायता पनि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । आगामी वर्ष सन् २०२४ मा कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरियाले नेपालमा विभिन्न विकास साझेदारी कार्यक्रममार्फत दुई देशबीचको सम्वन्धलाई झनै मजबुत गर्ने जनाएको छ । दुई राष्ट्रबीच विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगका ढोका खुल्दै जाने र सकारात्मक सम्बन्धले उचाइ चुम्ने विश्वास गरिएको छ । रासस

यी हुन् ‘रियल टाइम’ जीडीपी उच्च भएका पाँच देश

एजेन्सी । जब कोभिड–१९ महामारीले संसारभरि हमला गर्‍याे, तब विश्वको प्रगतिमा गम्भीर झट्का लाग्न पुग्यो । जसले संसारका सबै देशको विकास उल्टोपाल्टो हुन पुग्यो । सन् २०२१ मा बलियो सुधार देखिए पनि बढ्दो महँगी, ब्याजदर वृद्धि र ऋणका कारण २०२२ मा भारी समस्या देखिएको थियो । यिनै कारण विश्वभरि आर्थिक मन्दी चलिरहेको छ । यति हुँदा पनि केही देशले भने अर्थतन्त्रमा छलाङ नै मारेका छन् । यसैबीच संसारमा सबैभन्दा राम्रो अर्थतन्त्र भएका देशको ‘रियल टाइम’ सूची प्रकाशित भएको छ । उत्कृष्ट ३० अर्थतन्त्रमध्ये यहाँ पहिलोदेखि पाँचौं स्थानसम्म परेका देशबारे वर्णन गरिएको छ । ‘इन्साइडर मंकी’ नामक वेब पोर्टलले संसाभरिका देशको अर्थतन्त्रबारे तयार पारेको रियल टाइम सूचीले ती देशका कुल गार्हस्थ उत्पादन (जीडीपी) दरलाई मानक बनाएको छ । १. गुयना दक्षिण अमेरिकाको एक सानो देश गुयनाले तेल उत्पादन परिमाणमा व्यापक विस्तार गरेका कारण सन् २०२२ मा ६३.४ प्रतिशतको उच्च जीडीपी दर हासिल गरेको छ । यो दर संसारकै सबैभन्दा धेरै रहेको रेकर्ड हो । आगामी पाँच वर्षभित्र गुयनाले यो दर बढाउँदै १ सय १५ प्रतिशत पुर्‍याउने अनुमान गरिएको छ । २. पनामा दक्षिण अमेरिकाको मध्यभागमा पर्ने देश पनामाले लगानीकर्ताहरूलाई आकर्षित गर्न आफूलाई एक स्थिर अर्थतन्त्र भएको देशका रूपमा प्रस्तुत गर्दै आएको छ । गत वर्ष यसले ६ प्रतिशतको जीडीपी दर हासिल गरेको थियो । यो दर पछिल्लो दुई दशकयता ल्याटिन अमेरिककौ सबैभन्दा धेरै हो । तर, खानी विरोधी प्रदर्शनका कारण यसको अर्थतन्त्र प्रभावित हुन सक्छ । ३. संयुक्त राज्य अमेरिका अमेरिकाले चालू वर्ष २०२३ को तेस्रो त्रैमासिकमा अविश्वसनीय हिसाबमा ४.९ प्रतिशतको जीडीपी दर हासिल गरेको छ । संसारकै सबैभन्दा ठूलो र राम्रो अर्थतन्त्र भएको देश अमेरिकाबारे अर्को सकारात्मक खबर के छ भने केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर स्थिर राखेका कारण यो सम्भव भएको हो । तर, यो दर अझै पनि २२ वर्षदेखिकै उच्च हो । ४. आइसल्याण्ड उत्तर युरोपेली देश आइल्याण्डले गत वर्ष ४.५० प्रतिशतको जीडीपी दर हासिल गरेको छ । यसको अर्थतन्त्र युरोप महादेशमै सबैभन्दा तीव्र गतिले अगाडि बढिरहेको छ । पछिल्लो १५ वर्षयता यसले उल्लेखनीय सुधार हासिल गर्दै आएको छ । तर, २००८ को विश्वव्यापी आर्थिक मन्दीले आइसल्याण्डको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको थियो । त्यसयता यसको अर्थतन्त्र बिस्तारै ओरालो लाग्दै गयो र सार्वजनिक ऋणका सीमा उच्च तहमा पुगेको छ । ५. बारबाडोस क्यारेबियन देश बारबाडोसले २०२३ को नौ महिनामा ४.५० प्रतिशतको जीडीपी दर हासिल गरेको छ । यो दर २००६ यताकै सबैभन्दा धेरै हो । कोरोना महामारीबाट बाहिर आएपछि बारबाडोसको अर्थतन्त्र राम्रै लयमा फर्किएको छ ।

पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

  काठमाडौं । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्‍यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु २४सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सुनाए । अन्नपूर्ण क्षेत्र पनि यतिबेला चलायमान बनेको छ । त्यस क्षेत्रमा कात्तिकयता २४ हजार पर्यटक पुगेका छन् । पर्यटकको सङ्ख्या अत्यधिक हुँदा लामो समयपछि पदमार्गमा आश्रित पर्यटन व्यवसायीको व्यस्तता पनि बढेको छ । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोजपछि कात्तिकमा सबैभन्दा बढी पर्यटक ‘एक्याप’ पुगेका छन् । दसैँ र तिहार मनाएर पहाड र हिमाल छिचोल्दै रम्नेहरुको सङ्ख्या पछिल्लो समय बढ्न थालेको छ । कुनै समय अधिक मात्रामा विदेशी पर्यटकहरु ‘ब्यागप्याक’ बोकेर हिमाल हेर्न पुग्ने गरेको भए पनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहलले त्यस्ता क्षेत्रमा पर्यटनको सम्भावना बढाएको छ । तिहार लगत्तै पर्यटकीय नगरी पोखरा पनि पर्यटकले भरिएको छ । काठमाडौँ–पोखरा रुटमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ । बङ्गलादेश, भियतनाम, चीन र भारतलगायत मुलुकबाट विमान चार्टर्ड गरी पर्यटक आउने क्रम बढेकाले कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्रमा उत्साह थपिएको जानकारहरु बताउँछन् । नेपालको पर्यटन क्षेत्रबारे पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चा हुन थालेको, विशिष्ट पाहुनाको नेपाल भ्रमण, अन्तर्राष्ट्रिय सभा तथा सम्मेलनले पनि नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुगेको छ । तनहुँको मानुङकोट र बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्दा त्यस क्षेत्रको आर्थिक गतिविधि बढेको छ भने यसले व्यवसायीको सक्रियता पनि बढाएको छ । मानुङकोटमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक पुगेका छन् भने बन्दीपुरमा पछिल्लो समय २६ वटा देशका पर्यटक भित्रिँदा होटल भरिभराउ भएका छन् । उसो त यो याम नेपालको पर्यटन क्षेत्रका लागि अनुकुल मानिन्छ । दसैँ, तिहार र छठ पर्वको माहोलले पर्यटकीय गतिविधि पनि बढाएको छ । यसबाट मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीको बुझाइ छ । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समग्ररुपमा पर्यटन क्षेत्रमा उत्साहजनक रहेको बताए । “पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । पर्यटक आगमनको आँकडा पनि उत्साहवद्र्धक छ, योभन्दा धेरै पर्यटकलाई सेवा दिन पूर्वाधार तयार भइसकेको छ”, उनले भने । पछिल्लो समय होटलका रुमको सङ्ख्या ढेका छन् । तारे होटल, केबलकारलगायतका पूर्वाधारमा खर्बौं लगानी भएका छ । यद्यपि ‘सप्लाइ’को तुलनामा माग कम भएकाले यो क्षेत्रलाई थप गतिशिल बनाउन नसकिएको अध्यक्ष शाहको भनाइ छ । उनले भने, ‘पर्यटकीय पूर्वाधारमा लगानी धेरै भइसक्यो । लगानीको प्रतिफलका लागि व्यापार चाहिन्छ, छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक ल्याउन नीतिगत र संरचनागत सुधार जरुरी छ ।’ अध्यक्ष शाहले अहिले आइरहेका पर्यटकभन्दा तीन गुणा सङ्ख्यालाई सेवा दिन सकिने गरी पूर्वाधार तयार भइसकेका छन् । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणभएका छन् भने चिनियाँ र भारतीय पर्यटक बढाउन नीतिगत र योजनागत कार्यक्रम आवश्यक भएको उनको भनाइ छ । उनले पर्यटकीय याममा तारे होटलमा चहलपहल बढे पनि साना होटलको व्यवसाय भने अझै फष्टाउन नसकेको उल्लेख गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भइसकेको र अबका दिनमा धेरैभन्दा धेरै विदेशी पर्यटक आकर्षण गर्न थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन हुनुपर्ने, गन्तव्य पुग्ने सडक स्तरोन्नति गरिनुपर्नेमा व्यवसायीको जोड छ । बढे पर्यटक, बढ्यो आम्दानी नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ जनवरीदेखि अक्टोबरसम्म आठ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१९ को सोही अवधिमा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्लो पर्यक आँकडा हेर्दा मुलुकको पर्यटन पुरानै लयमा फर्किएको बताए । उनले पर्यटन क्षेत्रमा सकारात्मक बढोत्तरीले आगामी दिनमा यो क्षेत्रमा उत्साह थपिने विश्वास व्यक्त गरे । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहालले कोभिड महामारीपछि पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किएको बताए । उनले भने, “समग्रमा पर्यटन क्षेत्र सुधारोन्मुख छ । खड्किएको विषय भनेको गन्तव्य पुग्ने सडक बाटोको दूरावस्था, पदयात्रा क्षेत्रमा देखिएको बेथितिजन्य गतिविधिले पर्यटकको बसाई सन्तोषजनक बनाउन सकिएको छैन ।” पर्यटन व्यवसायी दाहालले आगामी दिनमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पूर्वाधार विकास, सडक स्तरोन्नति, नीगिगत सुधार, एकद्वार प्रणालीबाट सेवा प्रवाहजस्ता कामलाई प्राथमिकता दिन जरुरी भएको उल्लेख गरे । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गएको उल्लेख गरे । पर्यटक आगमन बढाउन र सेवा सहजीकरणका लागि नीतिगत सुधारका काम जरुरी भएको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा विदेशी पर्यटक आगमनबाट हुने आम्दानी बढेको छ । गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आम्दानी ५१ दशमलव तीन प्रतिशतले बढेर रु १७ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ११ अर्ब २४ करोड थियो । आर्थिक समृद्धिको आधार पर्यटन एशियन बैंकर सङ्घका अध्यक्ष युजेन एसभेडोले नेपालको पर्यटन क्षेत्र आर्थिक समृद्धिका दरिलो आधार रहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रमा प्रशस्त लगानी र अवसरको सम्भावना औँल्याए । गत कात्तिक २३ र २४ गते काठमाडौँमा आयोजित एशियन बैंकर सङ्घको सम्मेलनमा उहाँले पर्यटन नेपालको अर्थतन्त्रको महतवपूर्ण क्षेत्र भएको उल्लेख गरेका थिए । एशियाका १८ देशका बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधि सम्मिलित सो सम्मेलनका दौरानमा भएका विभिन्न छलफलमा सहभागी विदेशी बैंकलगायत क्षेत्रका विज्ञहरुले नेपालको पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गरेका थिए । त्यसैगरी अर्थमन्त्री डा प्रकाशशरण महतले राजधानीमा हालै आयोजित एक कार्यक्रममा पछिल्ला दिनमा पर्यटनको सङ्ख्या उल्लेख्य वृद्धि भएकाले यसले आर्थिक वृद्धिमा टेवा पुग्ने धारणा राखेका थिए । उनले विस्तारै अर्थतन्त्रले सकारात्मक बाटो लिएको, बाह्य सूचकाङ्क बढेको, विप्रेषण, घरजग्गा कारोबार बढेको, पर्यटकको सङ्ख्या ऐतिहासिकरुपमा वृद्धि भएकाले यसबाट अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि एक महिनामै एक लाख बढी विदेशी पर्यटक नेपाल भित्रिनु समग्र अर्थतन्त्रका लागि सकारात्मक रहेको र यसले अर्थतन्त्रको सवलीकरण हुने उल्लेख गरेका थिए । ‘समग्र अर्थतन्त्रका सूचक सकारात्मक छन्’, उनले भने, ‘विदेशी पर्यटक आगमन ऐतिहासिकरुपमा बढेको छ । यसले भोलिका लागि बाटो खुलेको छ । पर्यटन क्षेत्रका लागि प्रशस्त पूर्वाधार बढिरहेकाले मुलुकको समग्र अर्थतन्त्र राम्रो हँुदै जानेछ ।’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हालै गरेको नेपाल भ्रमणले विश्वबजारमा सकारात्मक सन्देश प्रवाह भएको छ । चारदिने गुटरेसको नेपाल भ्रमणका दौरानमा नेपालका प्रख्यात पर्यटकीय गन्तव्यको भ्रमणले नेपालको पर्यटन विश्वबजारमा प्रवद्धन भएको व्यवसायीको बुझाइ छ । महासचिव गुटेरेसले चर्चित सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पर्यटकीय नगरी पोखरा, प्रसिद्ध भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्दै उत्सुकतापूर्वक जानकारी लिएका थिए । महासचिव गुटेरेसको गतिविधि संसारभरका सञ्चारमाध्यमले सम्प्रेषण गर्ने भएकाले उक्त भ्रमणले नेपाल गन्तव्यको प्रभावकारी पर्यटन प्रवर्द्धन भएको र यसबाट बढीभन्दा बढी विदेशी पर्यटकको नेपाल आगमन हुने पर्यटन व्यवसायीको विश्वास छ । रासस

भूकम्पपीडितलाई अस्थायी आवास बनाउन सरकारद्वारा डेढ अर्ब निकासा

फाइल तस्बिर काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लाका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार भूकम्प प्रभावित पाँच जिल्लाका लाभग्राहीहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापत उक्त रकम निकासा गरेको जनाएको हो । प्राधिकरणका अनुसार जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड रुपैयाँ निकासा भएको छ । सो रकम भूकम्प पीडित पहिचान गरी सम्बन्धित पालिकाले लाभग्राहीलाई उपलब्ध गराउनेछन् । आवासमा पूर्ण क्षति भएका भूकम्पपीडितहरुले पहिलो किस्ताको लागि ‘भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि, २०८०’ अनुसार निवेदन दिएपछि २५ हजार र अस्थायी आवास निर्माण भएपछि पुनः २५ हजार पाउने छन् ।

विश्वकप छनोट : नेपाल र यमन भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई)  विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताए । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।

धनगढीमा फोहरबाट मल र ग्यास उत्पादन गरिँदै, एक अर्ब २४ करोड लाग्ने

कैलाली । धनगढी उपमहानगरपालिका क्षेत्रमा  सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरेको हो । प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै बायो मिथेन ग्यास उत्पादन सुरु गरिएको तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तले बताए । उनले भने, ‘उत्पादित ग्यास र मल हाल मौज्दात राखिरहेका छौँ, व्यावसायिक उत्पादनपछि बजारमा पठाउँछौँ ।’ प्रशोधन केन्द्रबाट नगरपालिका क्षेत्रमा दैनिक जम्मा हुने कुहिने फोहरका साथै कुखुराको सुली, गोबर, चिनी मिलमा जम्मा हुने फोहरमैलाजस्ता पदार्थ प्रयोग गरेर बायो मिथेन ग्यास उत्पादन गर्न थालिएको हो । प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक एक सय सिलिण्डर ग्यास, तीन हजार पाँचसय किलो जैविक मल र एक हजार पाँच सय किलो झोल मल उत्पादन हुने बताइएको छ ।  पर्यावरणीय प्रदूषण लगभग शून्य हुने यो ग्याँसले बढ्दै गएको कार्बन उत्सर्जनको समस्यालाई घटाउन भूमिका खेल्ने बताइएको छ । पाइपलाइनको प्रयोग गरेर दैनिक सात/आठ सय घरपरिवारमा यो ग्यासबाट खाना पकाउन सकिने र सिलिण्डरमा ग्यास भरेर औद्योगिक प्रयोगमा ल्याउन पनि सकिने बताइएको छ । खाना पकाउन प्रयोग भइरहेको एलपी ग्यासको मूल्यको तुलनामा यो ग्यासको मूल्य सुपथ रहने बताइएको छ । बायो सिएनजीको प्रतिसिलिण्डरको रु एक हजार दुई सय ५० मात्रै मूल्य पर्ने बताइएको छ । प्रतिसिलिण्डर एलपी ग्यासको मूल्य योभन्दा बढी छ । फोहरमैला प्रशोधन केन्द्रमा सञ्चालनमा ल्याइएको बायोग्यास प्लान्टलाई उपमहानगरपालिका कार्यालयले फोहर उपलब्ध गराउने गरेको छ । प्रशोधन केन्द्रले यो ग्यासलाई पेट्रोलबाट चल्ने टेम्पुलगायतका गाडीमा प्रयोग गर्न मिल्ने कम्प्रेसन नेचुरल ग्यास (सिएमजी) बनाउनका लागि आवश्यक तयारी पनि गरिरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देवतालिम केन्द्रको संयुक्त पहलमा फोहरको व्यवस्थापन भइरहेको हो । उपहानगरपालिकाले प्रशोधन केन्द्रका लागि जग्गासमेत उपलब्ध गराएको छ । देवतालिम केन्द्रले २० वर्षका लागि फोहरको व्यवस्थापन गर्न ठेक्का पाएको छ । ‘बायोग्यास प्लान्टलाई दैनिक १२ देखि १५ टन फोहर उपलब्ध गराउने गरिएको छ’, उपमहानगरपालिका वातावरण शाखाका प्रमुख अशोक अवस्थीले भने, ‘नकुहिने फोहरको हकमा त्यसको प्रकृतिअनुसार छुट्याइसकेपछि सुक्ष्म वर्गीकरण केन्द्रमा मेसिनमा पेलेर डल्लो बनाएर राखिन्छ ।’ यो काममा स्थानीय १० महिला र दुई पुरुषले रोजगारी पाएका छन् । तालिम केन्द्रका पन्तले भने, ‘प्रदेश सरकारले वैकल्पिक ऊर्जाबाट सवारीसाधन सञ्चालनका लागि नियमावलीसमेत बनाइसकेकाले यो ग्यासको व्यावसायिक उत्पादनमा सहजता आउनेछ ।’ उपमहानगर क्षेत्रमा दैनिक १२ देखि १५ टन फोहर जम्मा हुने गरेको जनाइएको छ । उपमहानगरपालिकाका फोहरमैला परामर्शदाता कृष्ण भण्डारीले फोहरमैलाका वस्तुलाई तिनको प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने गरिएको बताए । धनगढी उपमहानगरपालिका–७ पटेला गाउँमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र दिशाजन्य लेदो व्यवस्थापन प्रणाली निर्माणसम्बन्धी अर्को ठूलो योजना पनि कार्यान्वयनको चरणमा छ । सरकारको प्राथमिकता प्राप्त यो आयोजना निर्माणका लागि १० महिनाअघि नै ठेक्का लागिसकेको छ । एशियाली विकास बैंक एडिबीको सहुलियत ऋण सहयोगमा यो आयोजना निर्माण हुन लागेको हो । यसका लागि वन क्षेत्रको २२ हेक्टर जग्गा छुट्याइएको छ । उपमहानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले आयोजना निर्माणका लागि ठेक्का लागेर निर्माण कम्पनीसँग सम्झौता भइसकेकाले काम छिट्टै सुरु गर्न लागिएको बताए । उनले भने, ‘दाताबाट आउने सहयोगलाई गुम्न नदिन तोकिएको समयमै आयोजनाको ठेक्का लगाउनु परेको हो, आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटानी आदेशलगायतका कामको प्रक्रिया पूरा गर्न लागेको समयका कारण केही ढिला भए पनि अब छिट्टै काम सुरु हुन लागेको छ ।’ यो योजनाको रु एक अर्ब २४ करोड लागत अनुमान रहेको जनाइएको छ । रासस

१० दिनपछि खुलेको सेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब बढीको कारोबार

काठमाडौं । १० दिनपछि खुलेको सेयर बजारमा सामान्य वृद्धि भएको छ । तिहार तथा छठपछि सोमबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अंकले बढ्दै १ हजार ८ सय ५३.४८ बिन्दुमा पुगेको छ । आज सेयर बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता सेयर किनबेच भएको छ । आज ११९ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने ६ को स्थिर रह्यो । आज होटल तथा पर्यटन समूहको उपसूचक, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक क्रमशः १.२६ प्रतिशत र १.४२ प्रतिशतले बढेका छन् भने बाँकी उपसूचक १ प्रतिशत कमले बढेका छन् । आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।