विकासन्युज

शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशमै राख्नेछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौंमा एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीस्को उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले उच्च शिक्षाका निम्ति वर्षेनी लाखौँ विद्यार्थीहरु विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताए । शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीहरुको विदेश पलायन रहेको बताए । विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खालि हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौति बनेको जानकारी दिए । ‘देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ ? भन्ने सवाल आजको हाम्रो देशको महत्वपूर्ण सवाल रहेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रश्तुत गरिसकेको छ । शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या भनेको युवा विद्यार्थीहरुको विदेश पलायन हो भन्ने बुझेका छौँ । विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्रै बाहिरएको छैन, देशको ढुकुटी पनि बाहिरिँदै गएको छ । साथै विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने मात्र अहिलेको स्थिति बदल्न सकिन्छ’,उनले भने प्रधानमन्त्री दाहालले शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए । उनले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

अध्यक्षसहित राष्ट्रियसभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा

काठमाडौं । द्विसदनात्मक संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन् । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा छवर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ । परिपक्व व्यक्तिको प्रतिनिधित्व हुने ‘इल्डर्स हाउस’ले प्रतिनिधिसभाले गर्ने निर्णयमा गहन छलफल गरी रायसुझाव र परामर्श दिई विधेयकलाई समृद्ध तुल्याउन महत्वपूर्ण भूमिका खेल्छ । प्रतिनिधिसभाको छायाका रूपमा रहेको आरोप खेपिरहेको राष्ट्रियसभाले बेलाबखत केही महत्वपूर्ण विधेयकमा भने पुनर्विचार गरियोस् भन्ने सन्देश भने पठाउने गरेको छ । राष्ट्रियसभाले आर्थिक विधेयक १५ दिन र अन्य विधेयक ६० दिनभित्र पारित गर्नुपर्ने प्रावधान छ । त्यसो नभएमा स्वतः प्रतिनिधिसभाले आफ्नो प्रक्रिया अगाडि बढाउने छ । कुनै पनि विषय वा विधेयक दुवै सदनमा पेस र छलफल गर्न सक्ने व्यवस्थाले राष्ट्रियसभाको महत्वलाई पुष्टि गर्छ । यसै वर्ष फागुन २० गतेसम्म  कार्यकाल रहने राष्ट्रियसभाका सांसदहरूमा नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजंग रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसाैंदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र)बाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाइँ र सिंगबहादुर विश्वकर्मा, स्वतन्त्र डा खिमलाल देवकोटा तथा र मनोनित डा विमला  पौड्याल छन् । तीमध्ये दसौंदी र डा देवकोटा भने रामबहादुर थापा र खिमलाल भट्टराईले राजीनामा दिएपछि गत माघ २५ गते बाँकी अवधिका लागि उपनिर्वाचनबाट निर्वाचित भई आएका थिए । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसदको कार्यकाल सकिँदै छ । कार्यकाल समाप्त हुन लागेकामा एमालेका आठ, कांग्रेसका चार, माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका दुई तथा जसपा, स्वतन्त्र र मनोनीत एक-एकजना छन् । उनीहरूमध्ये रावल राष्ट्रिय सरोकार तथा समन्वय समिति तथा पन्थ दिगो विकास तथा सुशासन समितिका सभापति तथा प्रमिला शिक्षा तथा विज्ञान प्रविधि राज्यमन्त्री छन् । निर्वाचन आयोगले उनीहरूको कार्यकाल सकिएपछि रिक्त हुने स्थानमा आगामी माघको दोस्रो साता निर्वाचनको तयारी गरेको छ। यद्यपि मिति घोषणा हुन बाँकी छ । आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अपांगता भएका वा अल्पसङ्ख्यक समूहका तीन र अन्य समूहबाट सात सदस्य निर्वाचित हुने तथा एकजना मनोनयन गरिने छन् । उक्त निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुख मतदाता हुने संवैधानिक व्यवस्था छ। सामान्यतया राष्ट्रियसभा सदस्यको तोकिएको कार्यकाल समाप्त भएको एक महिनाअघि नै निर्वाचन गरिने अभ्यास छ । प्रत्येक प्रदेशबाट विभिन्न जातजाति र समुदायका गरी आठजनाको प्रतिनिधित्व हुने भएकाले सदस्य चयन प्रक्रिया प्रजातान्त्रिक र समावेशी छ । हरेक दुई-दुई वर्षमा ‘स्थायी सदन’बाट एक तिहाइ सदस्यको पदावधि सकिन्छ । हाल प्रजातन्त्रको जननी मानिएको बेलायतमा ‘हाउस अफ लर्डस’ र भारतमा ‘राज्यसभा’ जस्तै स्थान रहेको नेपालको राष्ट्रियसभाका हालका अध्यक्षमा तिमिल्सिना र उपाध्यक्षमा उर्मिला अर्यालसहित एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट निर्वाचित तथा राष्ट्रपतिबाट मनोनीत तीन सदस्य छन् । प्रजातन्त्र पुनःस्थापनापछि व्यवस्था भएको द्विसदनात्मक संसद्को अभ्यास हुने ‘स्थायी सदन’ मा प्रौढ, बुद्धिजीवी, विशेष र विभिन्न समुदायका प्रतिनिधि, निर्वाचनमा भाग लिन नचाहने र नसक्ने तथा संसद्का लागि अत्यावश्यक ठानिएका व्यक्तित्व रहन्छन् । राष्ट्रियसभा सदस्यका सम्मानमा सभामा रातो गलैँचा ओछ्याउने चलन छ । कानुन तर्जुमा, बजेट र अरू विकास निर्माणमा कहिलेकाहीं नीलो गलैंचा ओछ्याइने प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुन सक्ने भएकाले त्यस्तो अवस्थामा सुझाव दिने, छलफल र सुधार गर्ने तथा कानुन बनाउने काम रातो गलैंचा बिछ्याइने राष्ट्रियसभामा हुनुपर्छ भन्ने मान्यता राखिन्छ । राष्ट्रियसभा मातहत रहेका चार समितिमध्ये दुई कानुन निर्माण  र अरू दुई समिति संघीयताको प्रतिनिधित्व गर्दै विकास निर्माणसँग सम्बन्धित छन् । विज्ञलाई ल्याउन सुझाव राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिंडारी भन्छन्, ‘राष्ट्रियसभाको अहिलेको अभ्यास त्यति कामयाबी छैन, प्रतिनिधिसभाको छायाका रूपमा देखिन्छ । सरकार बनाउने र ढाल्ने, महाअभियोग लगाउने, बजेट बनाउने र संशोधनकोे काम यसले गर्दैन, सुझाव मात्रै दिन्छ । यस सभालाई उद्देश्यअनुरूप सक्रिय र थप स्वतन्त्र बनाउन ध्यान दिनुपर्छ ।’ राष्ट्रियसभामा प्रतिनिधित्वका लागि ‘कोटा’ र समूह निर्धारण गरिएको उद्देश्यअनुसार अब्बल, सक्षम र विषयविज्ञ चयन गर्न उनले सुझाव दिए । पूर्वसदस्य बिंडारीले भने, ‘जो निर्वाचनमा भाग लिन चाहँदैन, विज्ञ छ, मुलुकलाई आवश्यक छ, त्यस्तालाई समेट्नुपर्ने विषय सम्बोधन हुनुपर्छ, उपयुक्त नीति र विधि बनाउनसक्ने व्यक्तिको छनोट हुनुपर्छ ।’ राजनीतिक दलहरूले आ-आफ्नातर्फबाट माथिल्लो सभामा सक्षम व्यक्ति ल्याउन एकापसमा क्षेत्र मिलाउन सक्नुपर्ने सुझाव दिँदै वरिष्ठ अधिवक्ता बिंडारीले यस सभामा कानुन र संघीयताका विषयमा काम गर्न सक्ने व्यक्ति चयनमा ध्यान दिनुपर्ने धारणा राखे । निर्धारित समयमा बैठक सञ्चालन सरकार बनाउने र ढाल्ने नभई बरु सरकारभन्दा अलग रहेर मात्र काम गर्ने राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन एवं प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलगायत दुई कानुन निर्माण र दुई विकास निर्माणसँग सम्बन्धित समिति छन् । राष्ट्रियसभा मातहतका ती चार विषयगत समितिले आ-आफ्ना वार्षिक प्रतिवेदन सभामा पेस गर्छन् । पछिल्लो समय निर्धारित समयमै बैठक सञ्चालन गर्ने राष्ट्रियसभाको अभ्यासको सबैबाट सराहना हुँदै आएको छ । कुनै कारणले प्रतिनिधिसभा नभएका बेला बौद्धिक अभ्यासको थलो राष्ट्रियसभाले जनताका आवाज सम्बोधनका लागि सरकारलाई निर्देशन दिन, ध्यानाकर्षण गराउन र रुलिङ गर्न सक्छ भन्ने अभ्यास पनि यसअघि नै भइसकेको छ । पूर्वविधायक बिंडारी भन्छन्, ‘प्रतिनिधिसभा अवरुद्ध हुनासाथ राष्ट्रियसभामा त्यसको झल्को देखिनुहुन्न, राजनीतिक दलको हस्तक्षेप हुनुहुन्न । राष्ट्रियसभाले निरन्तर रूपमा समसामयिक विषय र विधेयकमाथि काम गर्नुपर्छ, प्रतिनिधिसभामा भएका डाङडाङ डुङडुङ त्यहाँ हुनुभएन, छाया देखिनहुन्न ।’ रासस

विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै

काठमाडौं । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवरतण गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरु चिनियाँ सरकारको सहयोगमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीले प्रतियोगितामा नेपाल र चीनका १०र१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने जानकारी दिए । यसअघि सन् २०१९ मा पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड(१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता आयोजना हुन सकेको थिएन । प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा धावकहरुले दौड, साइकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट सुरु हुने प्रतियोगिता पातले छाँगो हुँदै विश्व शान्ति स्तूप पुगेर फेवातालमा बोटिङ गरी व्यक्तिगत दौड पूरा गर्नुपर्नेछ भने आम नागरिक र विद्यार्थीका लागि पाँच/पाँच किलोमिटरका दौड प्रतियोगिता आयोजना गरिनेछ । नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टोलीले रु तीन लाख ३० हजार, दोस्रो हुनेले रु दुई लाख ८८ हजार, तेस्रो हुनेले रु दुई लाख १६ हजार, चौथो हुनेले रु एक लाख ४४ हजार र पाँचौ हुनेले रु ९० हजार पुरस्कार पाउनेछन् । व्यक्ति स्पर्धातर्फ प्रथम हुनेले रु एक लाख ४४ हजार, दोस्रो हुनेले रु एक लाख आठ हजार, तेस्रो हुनेले रु ५४ हजार नगद प्राप्त गर्नेछन् । व्यक्तिगततर्फ चौथोदेखि अन्तिम स्थानमा आउने र विद्यार्थीको दौडामा भाग लिने सबैलाई नगद पुरस्कारको व्यवस्था गरिएको बोर्डको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि २२ वटा उपसमिति गठन गरिएको छ । यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी पोखरा आएका थिए ।

व्यक्तिगत ऋणमा जोखिमको वजन बढाउनु सही कदम : मुडीज

एजेन्सी । मुडीज इन्भेष्टर्स सर्भिसले व्यक्तिगत ऋणका लागि नियम कडा बनाउने रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को निर्णय सही भएको बताएको छ । गत साता भारतीय केन्द्रीय बैंकले असुरक्षित मानिने व्यक्तिगत ऋण र क्रेडिट कार्डजस्ता ऋणसँग सम्बन्धित बैंक र गैर–बैंकिङ वित्त कम्पनीहरू (एनबीएफसी) का लागि नियमहरू कडा पारेको छ । संशोधित मापदण्डमा जोखिम भार २५ प्रतिशतले बढाइएको छ । मुडीजले असुरक्षित ऋणहरू विगत केही वर्षमा तीव्र गतिमा बढ्दै गएको जनाएको छ, जसले वित्तीय संस्थाहरूलाई अचानक आर्थिक वा ब्याजदर झट्काको अवस्थामा उधारो लागतमा सम्भावित वृद्धिको सामना गरिरहेको छ। ‘उच्च जोखिम–भारित सम्पत्तिका लागि अन्डरराइटिङ मापदण्डहरू कडा गर्नु क्रेडिटका लागि सही कदम हो, किनकि ऋणदाताहरूले घाटाविरुद्ध आफूलाई राम्रो स्थितिमा राख्न उच्च पुँजी छुट्ट्याउनुपर्छ,’ मूडीजले जारी गरेको विज्ञप्तिमा छ । विज्ञप्तिअनुसार भारतको असुरक्षित ऋण क्षेत्र पछिल्ला केही वर्षमा धेरै प्रतिस्पर्धी भएको छ। बैंक, एनबीएफसी र फाइनान्स टेक्नोलोजी (फिनटेक) कम्पनीलगायत धेरै नयाँ प्रवेशकर्ताले यस श्रेणीमा आक्रामकरूपमा ऋण विस्तार गरिरहेका छन् । मूडीजका अनुसार पछिल्ला दुई वर्षमा व्यक्तिगत कर्जा औसतमा २४ प्रतिशत र ‘क्रेडिट कार्ड’ कर्जा औसत २८ प्रतिशतले बढेको छ भने समग्र बैंकिङ क्षेत्रको कर्जा १५ प्रतिशतहाराहारीमा बढेको छ । क्रेडिट रेटिङ एजेन्सी ग्लोबल रेटिङ्सले गत हप्ता भनेको थियो कि रिजर्भ बैंकले असुरक्षित मानिने व्यक्तिगत ऋणहरूका लागि जोखिम भार बढाएर उपभोक्ता ऋण मापदण्डहरू कडा गर्ने निर्णयले बैंकहरूको पुँजी पर्याप्तता ०.६ प्रतिशतले घटाउने सम्भावना छ। यो कदमले उपभोक्तालाई जोखिमपूर्ण बैंक कर्जा कम गर्ने छ। साथै, विशेषगरी गैर–बैंकिङ क्षेत्रमा दबाबको सम्भावना छ। ग्लोबल रेटिङ्सले यसबाट कर्जाको ब्याजदर बढाउने, कर्जाको वृद्धि घटाउने र कमजोर वित्तीय संस्थाका लागि पुँजी जुटाउन आवश्यक पर्ने जनाएको छ । अर्कातर्फ, उच्च जोखिम भारले अन्ततः राम्रो सम्पत्ति गुणस्तरमा नेतृत्व गर्ने छ।

मानव सेवा नै सर्वोत्कृष्ट धर्म

मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, इमान्दारी र खुसीपूर्वक गरिने पुण्य जति पनि कार्य छन्, ती सबै धर्म हुन् । सेवा भनेको जति सकिन्छ, त्यति गर्ने हो, मात्र पवित्र आशय राख्नुपर्छ । सामाजिक सेवा आफ्नो धर्म हो । सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जसमा विशेष गरेर आफू बुद्धको अनुयायी भएपछि जीवन सार्थक बनाउने आफ्नो प्रयास हो । धेरै गरेँ वा थोरै गरेँ भन्ने हिसाबकिताबमा लाग्ने होइन, आफूले जति सकिन्छ, त्यति गर्ने हो । बुद्ध धर्ममा लागेको र बुद्धका अनुयायी भएर एउटा सत्कर्मको बाटोमा लागेर आफूले पाएको सङ्गीतको माध्यमबाट जसरी आफूलाई र अरूलाई खुसी दिन सकेको छु त्यसैमा आफू रमाइरहेको छु र यसबाट नै जीवनको सार्थकता पुष्टि हुन्छ भन्ने लाग्दछ । जीवन सार्थक बनाउने बाटो तब भेटाइन्छ, जब आध्यात्मिक चिन्तन मनन् गर्न सकिन्छ । आध्यात्मिक हुनु भनेको एकदम धार्मिक हुनु, मठमन्दिरमै गएर जप गर्नुपर्छ भन्ने होइन, आफ्नो धर्म संस्कृतिको सार बुझेर आफ्नो जीवनलाई अगाडि बढाउनु हो । समाजमा एक÷दुईजना खराब भए भन्दैमा सबैलाई खराब ठान्नु हुँदैन । नुहाउने बेलामा एक जग पानीसम्म बढी खेर गयो भने पनि मलाई नरमाइलो लाग्छ । म कमाएको थोपा थोपा जोगाउँछु । भिक्षु भएकीले पनि होला मलाई धेरैले परिश्रमिकभन्दा पनि दक्षिणा बढी टक्र्याउने गर्छन् । म सकेसम्म यस्तो पैसाहरु आफ्नो हातमै नपारी सेवाका लागि पठाइदिन्छु । केही समयअघि मुकेश अम्बानीले आयोजना गरेको कार्यक्रममा पाँच मिनेटको गीत गाएबापत प्राप्त भएको रु १६ लाख रकम पनि सिक्किममा बन्दै गरेको एक गुम्बालाई चन्दा दिएर फर्किएँ । सङ्गीत मेरा लागि साधना हो र आर्थिक उपार्जन गर्ने साधन पनि हो । हामीसँग भएको जति पनि भौतिक सम्पत्ति छ, त्यो अरूलाई नै दिने हो किनकि हिजो त्यो मसँग थिएन र भोलि पनि मसँग रहँदैन । सुखी र खुसी फरक कुरा हो । खुसी क्षणिक चीज हो, सुखी वास्तविकताको बुझाइ हो । शरीरको आयु बढ्दै जाँदा यसको शक्ति पनि कम हुँदै जान्छ । सायद यसैले होला आजकल मलाई कसैसँग पनि नराम्रो बोल्न त के सोच्न पनि नपरोस् भन्ने लाग्छ । भौतिक सुख समृद्धिका लागि आफ्नो लागिमात्र केही गरौँ भन्ने भावनाभन्दा माथि उठेर अरूको कल्याणमा समर्पित हुन पक्कै पनि धेरैलाई सजिलो नहुन सक्दछ । जीवनमा मानव भएर जन्मेपछि सार्थकता पाउने एउटै मात्र बाटो सेवा नै हो । जीवनमा धेरैभन्दा धेरै पैसा कमाउनुपर्छ, यसले सबै कुरा पुग्छ भन्ने कुरा गलत साबित भएको छ । मानवजस्तो सभ्य जीवको नियन्त्रणमा सारा धर्ती सञ्चालित छ । धर्तीका सन्तान हुन् मानव जाति । मानवजस्तो अत्यन्त विकसित, महत्वपूर्ण र मूल्यवान् धर्तीको उपज, सृष्टि, त्यसले यही धर्तीमा भौँतारिएर बाँच्नुपर्ने, सहाराविहीन हुनुपर्ने, गाँस–बास–कपासको प्रबन्ध, हेरविचार हेरचाह, बन्धुत्व, मित्रता केही पनि नपाएर बस्नुपर्ने जस्ता कुरा मानव समाजका लागि पटक्कै शोभनीय कुरा होइनन् । जीवनमा हामीले खोजेको माया र प्रेम हो । प्रेमको अभावमा संसारमा जति पनि दुर्घटना भएका छन्, चाहे त्यो रोग वा घटनाहरु हुन् । मनुष्यले मात्र होइन, कसैले पनि पीडा चाहेको हुँदैन । यस धर्तीमा रहेका सबै प्राणीले सुख शान्ति नै चाहेका हुन्छन् । मैले चाहेको मात्र सुख हो भन्ने सोच्नु हुँदैन । अरूलाई दुःख दिएर आफूले सुख खोज्नु सबैभन्दा ठूलो अधर्म हो । आज यही गलत सोचले गर्दा विश्वमा अनेक द्वन्द्व भइरहेका छन्, अपराधका घटना बढिरहेका छन् । आफ्नोमात्र ख्याल राख्यो, अरूको खुसीमा ख्याल राखेन भने यस्तै घटना हुने गर्दछ । आजको कलियुगमा यस्तै पखाण्डीपनको व्यापक प्रभाव छ । आफ्नो मानमर्यादा तब हुन्छ, जब अरूको दुःख बुझ्न सकिन्छ र अरूको कल्याण हुने काम गरिन्छ । गोली रोपेर फूल फुल्दैन, सेवाको बीउ रोपे शान्ति र सुख फल्छ । कसैलाई होच्याएर आफूमाथि पुग्न सकिँदैन । फूलको आँखामा फूलै संसार गीत नसुन्ने र नगुनगुनाउने सायदै होलान् । मैले गाएको सो गीतको लाइभ कन्सर्टको आनन्द भने नेपालीले भन्दा विदेशीले बढी लिने गरेका छन् । मेरो गीत नचाउने र उफार्नेभन्दा पनि आँखा बन्द गरेर अनुभूति गर्ने खालको हुने गर्छ । मेरा गीत सुन्नेहरु भन्छन्, गीतमा शास्त्रको सार भेटिन्छ । एकछिन् आँखा चिम्लेर गीत सुने आनन्दको अनुभूति मिल्छ । सङ्गीतमार्फत संसारलाई सकारात्मकता र आध्यात्मिकतातर्फ डो¥याउने कोसिस गरिरहेको छु । भूकम्पबाट आश्रयविहीनलाई संरक्षकत्व मानव अधिकारको सम्मान, संरक्षण, प्रवद्र्धन र परिपूर्ति गर्ने पहिलो दायित्व राज्यको हो । देशको आर्थिक, सामाजिक रूपमा पछाडि परेको हालै जाजरकोटमा गएको भूकम्पबाट झण्डै डेढ सयजनाले  ज्यान गुमाएका छन्भने बाँचेकाहरुमध्ये पनि परिवारका सदस्य र बस्ने घरलगायत अन्य भौतिक सम्पत्ति गुमाउनुपर्दा आश्रयविहीन बन्नु परेको छ । भूकम्पका कारण भएको क्षतिले गर्दा उनीहरुको बसोबासको अधिकार, खाद्यान्नको अधिकार, सम्पत्तिको अधिकार, सीमान्तकृत वर्ग, समुदाय, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारमा गम्भीर आघात पुगेको छ । यस प्राकृतिक विपद्मा परी अभिभावक गुमाएका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी यस्तो अवस्थामा थप जोखिममा पर्दछन् । राहत प्राप्त गर्ने कुरामा पनि यी वर्गका मानिसको पहुँच कम हुन्छ । यस्तो बेला उनीहरुलाई राहत र पुनःस्थापनाको आवश्यकता पर्दछ । त्यसैले भूकम्पमा परी अनाथ तथा अभिभावकविहीन भएका सम्पूर्ण बालबालिका साथै आश्रयविहीन बन्न पुगेका एकल आमा बुबाहरुको संरक्षण आनी छोइङ डोल्मा फाउन्डेसन र मानव सेवा आश्रमले गर्ने घोषणा गरेको छ । यसको उद्देश्य विपद्को अवस्थामा कसैले पनि आफू असहाय भएको अनुभूति गर्न नपरोस् भन्ने नै हो । यतिबेला भूकम्पप्रभावितहरुलाई सरकारी, गैरसरकारी र निजी तवरबाट पनि राहत, उद्धार र पुनःस्थापनामा सहयोगहरु जुटिरहेको छ । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट सहयोगी मनहरुले सक्दो सहयोग गर्न इच्छा व्यक्त गर्नुभएको छ । यसलाई सस्तो प्रचारका रुपमा नभई विशुद्ध मानवीय सेवाको रुपमा गर्न सकिएमा पीडित व्यक्तिले साँच्चिको सहयोग पाएको अनुभव गर्न सक्नेछन् । आफू पनि बाँचौँ र अरूलाई पनि बाँच्न देऊ भन्ने उपदेशलाई चरितार्थ गर्दै सबै उदार दानदाताले होस्टेमा हैँसे गर्दै जाँदा ती असहाय व्यक्तिहरुको संरक्षणमा सहयोग पुग्नेछ । मानवलाई सेवा गर्नु नै सबैभन्दा ठूलो सेवा र धर्म हो । सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जीवन सार्थक बनाउने उपयुक्त अवसर पनि हो । मेची–महाकाली अभियान सञ्चालन ‘यस वर्षको दसैँ, तिहार, छठजस्ता नेपालीहरुका ठूला चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले गत असोज २७ देखि यही मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको थियो । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गरिएको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी सञ्चालन गरिएको अभियानका क्रममा तीन सयभन्दा बढीको उद्धार भएको छ । यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन म आफैँ पनि सहभागी भएको थिएँ । अभियानमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन पनि आनी छोइङ डोल्मा फाउन्डेसनले नै व्यहोरेको थियो । मानव सेवाभन्दा अर्को महान् धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको थिएँ । दीनदुःखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य सङ्ग्रह बढ्छ । मानव सेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाई पनि मिलोस् भनेर अभियानलाई साथ दिएकी हुँ । अभियानका क्रममा फेला पारिएका असहाय, सहाराविहीन अवस्थामा रहेका बाआमा, बाबुनानीहरुको अवस्था देख्दा मलाई निकै भावुक बनाएको छ । हाम्रो परिवारकै सदस्यहरुलाई कसरी सडकमा पठाइरहेका छौँ भन्ने देख्दा समाज कतातिर जाँदैछ, मानवता कसरी नासिँदैछ भन्ने अनुभव भएको छ । मानव सेवाभन्दा अर्को महान् धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको छु । मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाज सेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक रहनेछन् । हामीले सामाजिक सुधार पर्याप्त गरेर, आर्थिक अवस्थामा उल्लेख्य प्रगति गरेर, समाजको मनोवृत्ति र मनोविज्ञानमा परिवर्तन गरेर, मानवीय भावनाको वृद्धि गरेर, एउटा सभ्य र अनुशासित समाजको निर्माण गर्न सकिएमा मानिस सहाराविहीन बन्नुपर्ने अवस्था रहँदैन । यसका लागि ठूलो लगानी पनि आवश्यक पर्दैन । हामीले आफ्ना जन्मदिनमा अथवा आफ्ना विवाहका वार्षिकोत्सवमा अथवा छोराछोरीका सफलताका घडीहरूमा खुसी मनाउँदा मानव सेवा आश्रमजस्ता मानवीय संस्थाहरूलाई सहयोग पु¥याउने र यस्ता संस्थामार्फत मानव सेवामा आफ्नो पनि सहभागिता जनाउन सक्दछन् । मानिस चाहे शारीरिक अपाङ्गता, चाहे अशक्तता, बाध्यता अथवा गरिखान नसक्ने बाल्यकाल, मानसिक अस्वस्थता, प्राकृतिक विपत्ति अथवा अरू जेसुकै कारण भए पनि कोही पनि मानिस मानवोचित जीवनबाट वञ्चित हुनु हुँदैन । त्यो हुनु भनेको समाजकै अविकसित स्थितिको परिचायक हो । त्यस स्थितिबाट समाजलाई माथि उठाउनैपर्छ । धार्मिक सद्भावको खाँचो मानिसमा नभई नहुने अर्को महत्वपूर्ण कुरा हो, परोपकारको भावना । परोपकार नै ठूलो धर्म हो । गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैले गर्नुपर्छ । उनीहरूको सेवा गर्नु नै भगवान्को सेवा गर्नु हो भन्ने गरिन्छ, मानव सेवा नै माधव सेवा हो । संसारमा भएका सबै धर्मले यही भन्छ । विश्वमा जति पनि धर्महरु छन्, ती सबै मानिसले अनुशरण गरेका अभ्यासहरु हुन् । सबैको उद्देश्य एउटै छ । धर्मको नाममा झगडा गर्नुको कुनै अर्थ छैन । यसै सन्दर्भमा मेरो एउटा गीत पनि छ : धर्म न हिन्दू हो न बौद्ध हो शिख न जैन धर्म चित्तको शुद्धता धर्म शान्ति सुख चयन । मानव मानवबीचमा रत्ति नराखी भेद गर्छ सबैको जो भलो त्यो नै धर्म सफेद । सम्प्रदाय न त धर्म हो धर्म न छेकबार धर्म सिकाओस् एकता धर्म सिकाओस् प्यार । सर्वप्रथम बालकले यो धर्तीमा जन्म लिँदा मानव भएर जन्मेको हुन्छ र मानव हुनुको नाताले ऊसँग स्वतः मानव धर्म जोडिएर आएको हुन्छ, जुन व्यापक, सनातन र सत्य हुन्छ । तर, यो संसारमा जन्म लिइसकेपछि ऊ आफ्नो वरिपरिको वातावरण, जातीय रीतिरिवाज, संस्कृति आदि कुराले प्रभावित हुन्छ कि उसले मानवताको त्यो महान् लक्ष्य र मानवताको आधारलाई बिर्सेर आफूलाई सङ्कीर्ण सीमाभित्र राख्दछ । फलतः मेरो ईश्वर यो, मेरो धर्म यो, अर्काको धर्म त्यो भनी भागबन्डा गर्न थाल्दछ र आफूलाई जातीय सङ्कीणर्ता, सम्प्रदायवाद अनि क्षेत्रवादसँग गाँसेर आफ्नो व्यापक परिचयलाई सङ्कुचित बनाउन थाल्दछ । यसरी हामी आफैँले आफैँलाई धर्म, सम्प्रदायको घेराभित्र सीमित गरेका छौँ, जसका कारण कोही भन्दछौँ– म हिन्दू हुँ, म मुसलमान हुँ, म इसाई हुँ, म शिख हुँ, म बौद्घिष्ट हुँ । तर हिन्दू, मुस्लिम, शिख, इसाई अथवा बौद्घिष्ट हुनुभन्दा पहिले हामी मानव हौँ र मानव हुनुको नाताले मानवको वास्तविक धर्म मानवीय धर्म हो, अर्थात् मानव धर्म हो । जब समाजले मानव धर्मलाई साँचो अर्थमा अपनाउँछ, त्यहाँ जातीय झगडा समाप्त हुन्छ । त्यहाँ धार्मिक झगडा समाप्त हुन्छ । त्यहाँ क्षेत्रीय झगडा समाप्त हुन्छ । यही मानव धर्मको मर्म हो र यसलाई आत्मसात् गर्न सकेमा समाजमा सद्भावना फैलिने छ, विश्व बन्धुत्वको भावना सबल हुनेछ । आज विश्वलाई यही अवस्था चाहिएको छ । रासस (आनी छोइङ डोल्मा फाउन्डेशनकी अध्यक्ष आनी छोइङसँग गरेकाे कुराकानीमा आधारित)

यसरी पाउँछन् भूकम्पपीडितले आवासबापतको रकम, १ अर्ब ४१ करोड निकासा

काठमाडौं । सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । जाजरकोट र रुकुम पश्चिमका लागि रु ५०/५० करोड, बझाङका लागि रु २५ करोड, बाजुराका लागि रु १४ करोड र सल्यानका लागि रु दुई करोड रकम निकासा भएको छ । अब जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयमा स्थानीय पालिकामार्फत पहिचान भएका भूकम्पपीडित लाभग्राहीले उक्त रकम पाउने छन् । त्यसका लागि निश्चित प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण कार्यविधि, २०८० सरकारले स्वीकृत गरिसकेको छ । त्यही कार्यविधिमा तोकिएअनुसार नै अनुदान रकम प्राप्त हुने छ । दुई किस्तामा रकम पठाइने छ । त्यसरी रकम पठाउँदा स्थानीय तहको सिफारिस अनिवार्य हुने छ । भूकम्पका कारण निजी आवास पूर्णरूपले क्षति भएको वा आंशिक क्षति भएर पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रदान गरिने अनुदानलाई व्यवस्थित गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ४८ ले दिएको अधिकार प्रयोग गरी ऐनको दफा ६ बमोजिम कार्यकारी समितिले उक्त कार्यविधिमा पारित गरेको हो । अनुदान पाउनका लागि प्रभावितले सुरुमा स्वघोषणासहितको निवेदन दिनुपर्छ । उक्त निवेदनमाथि सम्बन्धित जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले पहिचान तथा सिफारिस गरेका र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्वीकृत गरेका परिवारलाई अस्थायी आवास लाभग्राही कायम गरिने छ । यसअनुसार कायम भएका लाभग्राहीलाई पहिलो किस्ताबापत रु २५ हजार दिइने छ । पहिलो किस्ता पाएर निश्चित प्रक्रिया पुगेका र स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनेर सिफारिस गरेपछि अन्तिम किस्ता रु २५ हजार उपलब्ध गराइने छ । प्रदेश तथा अन्य स्थानीय तहले यसरी सहयोग दिँदा दोहोरो नपर्ने गरी दिनुपर्ने छ । कुनै पनि सरकार वा अन्य निकायबाट अस्थायी आवासका लागि अनुदान पाएकाको हकमा भने यो रकम उपलब्ध हुने छैन । पहिलो किस्ताबापतको रकम तोकिएको निकायको सिफारिसका आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट सम्बन्धित स्थानीय तहमार्फत लाभग्राहीको बैंक खातामा पठाइने छ । पहिलो किस्ता बुझेपछि लाभग्राहीले छाना छाउनुअघि वा निर्माण सम्पन्न गरेपछि दोस्रो किस्ता पाउने छन् । यसरी अनुदान रकम लिएर आवास निर्माण सम्पन्न नगर्नेको हकमा भने सरकारबाट उपलब्ध गराइने पुनःनिर्माणलगायत अन्य सहुलियत र सेवाबाट वञ्चित गरिने छ । यसरी आवास निर्माणको स्थल छनोट पनि बाढीपहिरोलगायतका विपद् जोखिमबाट समेत सुरक्षित रहने स्थानमा हुनुपर्छ भने आवास निर्माण गर्दा पछि स्थायी आवासका लागि सुरक्षित जग्गा छुट्याएर निर्माणस्थलको छनोट गर्नुपर्ने हुन्छ । अनुसूची ६ अनुसार तोकेको ढाँचामा आवास निर्माण गर्नुपर्ने छ । यसरी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई सहरी विकास मन्त्रालयले प्राविधिक सहयोग गर्ने छ । सबै प्रक्रियामा भने स्थानीय तहको विशेष भूमिका रहने छ । त्यसका लागि सरकारले स्वयंसेवकसमेत खटाउने छ । परिचालित स्वयंसेवकको समन्वय, सहजीकरण, अनुगमनलगायतका काम स्थानीय तहले गर्ने छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गत कात्तिक २६ को निर्णयबाट भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि, २०८० स्वीकृत भएको थियो । प्राधिकरणले उल्लेखित कार्यविधि तथा प्रचलित कानुनले तोकेअनुसार लेखा राख्ने, लेखा परीक्षण गर्ने र गराउने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिइसकेको छ । रासस

सुस्ताएको अर्थतन्त्रलाई ‘यूटर्न’ गर्न रणनीतिक कदम चाल्ने तयारीमा प्रधानमन्त्री, विज्ञहरूको कार्यदल गठन गर्ने

काठमाडौं । लामो समयदेखि एक किसिमको सकस भोगिरहेको मुलुकको अर्थतन्त्र चलायमान बनाउने विषयमा सरकारले चासो देखाउन थालेको छ । प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले आफैं नेतृत्व गरेर अर्थतन्त्रमा देखिएका समस्या र तीनको समाधानका उपायहरूबारे छलफलका लागि अग्रसरता देखाएका हुन् । प्रधानमन्त्री प्रचण्डले सोमबार अर्थ, गृह, भौतिक पूर्वाधार, सहरी विकास, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका मन्त्री तथा सचिव र नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, धितोपत्र बोर्डका नेतृत्वहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या र समाधानको उपायको विषयमा गम्भीर चासो देखाएर छलफल गरिरहेको बताए । सोमबारको बैठकपछि प्रतिक्रिया दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्ने भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिन लागिएको बताएका थिए । बैठकमा देशको अर्थतन्त्रबारे अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना विचारहरू राखेका थिए । अर्थमन्त्री महतका अनुसार अर्थतन्त्र क्रमशः सुधारोन्मुख अवस्थामा छ । छलफलमा कारोबार कम भइरहेको, उत्पादन कम, लगानी वृद्धि नभइरहेको अवस्था छ, यस विषयमा पनि समीक्षा भएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सोमबारको आन्तरिक छलफलपछि आज (मंगलबार) दिउँसो २ बजे फेरि निजी क्षेत्रका प्रतिनिधिहरुसँग सोही विषयमा छलफल गर्नको लागि बैठक आह्वान गरेका छन् । आजको बैठकमा अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न निजी क्षेत्रको धारणा तथा सुझाव लिने कार्यक्रम रहेको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् । प्रधानमन्त्रीले आन्तरिक र बाह्य छलफल पश्चात अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा कुनै महत्वपूर्ण कदम चाल्न सक्ने उनको भनाइ छ । ‘समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा समाधानको केही उपाय आउनसक्छ’, आचार्यले भने, ‘तत्काल उपाय नआएपनि विज्ञहरूको टिम बन्न पनि सक्छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसपछि देशको अर्थतन्त्र नकारात्मक अवस्थामा छ । सरकारले अपेक्षाअनुसारको राजश्व संकलन गर्न सकेको छैन भने उद्योगी व्यवसायीहरूले पनि व्यापारमा ठूलो असर परेको बताइरहेका छन् । सरकारी कर्मचारीहरू नै अब सरकारले तलब दिन नसक्ने अवस्था आउने धारणा राखिरहेका छन् । विज्ञहरूले पनि सरकारले अर्थतन्त्र सुधारका लागि कुनै हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्ने बताइरहेका छन् ।

किसानलाई मल बीउभन्दा बाँदर आतङ्क समस्या

भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसाद राई गाउँपालिकाका दीपकुमार मगरले बताए । मल, बीउबिजनभन्दा ठूलो समस्या बाँदर बनेको उनको भनाइ छ । ‘हामी किसानको मुख्य समस्या नै बाँदर बनेको छ,’ उनले भने, ‘बाँदर प्रभावित क्षेत्रमा मल बीउभन्दा ठूलो समस्या यही हो । एक घण्टामात्र बाँदर बालीमा पस्यो भने वर्षभरि खाने अन्न सखाप पार्छ । त्यही भएर जमिन बाँझो छाड्नु हाम्रो बाध्यता बनेको छ ।’ बाँदर अटेरी बन्दै गएपछि धपाउन झन् समस्या भएको बोखिमका किसान गंगा प्रधानले बताए । बाँदरको उप्रदोका कारण खेतबारीमा लगाएको बाली समय नै नपुगी उठाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘बाँदरले खेतबारी अन्न पाक्न दिँदैन,’ उनले भने, ‘जो-कोहीले बारीमा आएका बाँदर धपाउन सकिने अवस्था छैन । सदादिन युवाले हेरचाह गरेर पनि सम्भव छैन । वृद्धवृद्धा, महिला तथा केटाकेटीलाई बाँदरले टेर्दैन । बाँदरको डरले अन्नबालीलाई समय नपुग्दै उठाउनुपर्ने अवस्था छ ।’ बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्ले खानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि बस्ती नै खाली हुने अवस्था आएको स्थानीय टेकबहादुर तामाङले बताए । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । बाँदरका कारण ग्रामीण क्षेत्रमा बसाइँसराइको दर बढेको उनले जानकारी दिए । ‘बाँदरका कारण बस्ती नै खाली हुने अवस्था छ,’ स्थानीय तामाङले भने, ‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन । बाँदरको हेरचाह गर्नुभन्दा खेतबारी बाँझो छाडेर बस्ती छाड्ने बढेका छन् ।’ बाँदर मकैको थाङ्ग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । बाँदर हेरचाह गर्नका लागि  दुईदेखि तीनजनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि हिजोआज टेर्न छाडेको भोजपुर नगरपालिका-५ का धनबहादुर थापाले बताए । ‘बाँदरमा अटेरीपना बढेको छ । बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पनि नभाग्ने अवस्था छ,’ उनले भने, ‘बाँदर हुललाई बस्तीबाट धपाउनै मुस्किल छ । वर्ष दिन खाने अन्नबाली छिनभरमा उजाड पार्छ । यही अवस्था रहे किसानले खेती गरेर खाने अवस्था छैन ।’ अधिकांश किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर आतंक नियन्त्रणमा राज्यले उचित विकल्पको खोजी गर्नुपर्ने किसानको भनाइ छ । रासस