विकासन्युज

एनआईसी एशिया लघुवित्त इटहराले प्रहरी चौकीलाई दियो फलैचा

मोरङ । मोरङको रतुवामाई नगरपालिका बडा नम्बर ९ मा अवस्थित एनआईसी एशिया लघुवित्त वित्तीय संस्था शाखा कार्यालय इटहराले इटहरा प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैचा बितरण गरेको छ । इटहरा प्रहरी चौकीमा हिजो शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सो फलैचा हस्तान्तरण गरिएको हो । त्यसैगरी सोहि कार्यक्रममा दिपक सप्लायर्सले एक थान बायोस्याण्ड फिल्टर चौकीलाई उपलब्ध गराएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था शाखा कार्यलय इटहराका प्रमुख मुरारि लम्सालले यस प्रकारको सामाजिक कार्य आफ्नो संस्थाले पहिलो पटक गरेको नभई यसअघि पनि गर्दै आएको जानकारी दिए । यस्तै, उनले कोरोना महामारीका बेला सदस्यहरूलाई नि:शुल्क मास्क र सेनिटाइजर वितरण गरेकोलगायत विभिन्न कामहरू उनले स्मरण गरे । उनले विपन्न परिवारलाई कम्बल वितरण जस्ता बिपन्नमुखी कार्यक्रमहरू सञ्चालन गरिसकेको बताउँदै आगामी दिनमा सामाजिक हितका कार्यक्रमहरू अझ प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै इटहरा प्रहरी चौकीका इन्चार्ज राम कुमार माझीले एनआईसी एशियाप्रति आभार प्रकट गरे । छलफलमा आएका सर्बसाधरणलाई बस्न ठाउँ अभाव भइरहेका बेला एनआईसी एशियाले वितरण गरेको फलैचाले थप टेवा पुग्ने भनाइ उनको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख दिपक खरेल, रतुवामाई–९ का वडा अध्यक्ष ईन्द्रबहादुर लिम्बु, वडा सदस्य तारा भण्डारी, इटहरा प्रहरी चौकीका इन्चार्ज रामकुमार माझीलगायत अन्य प्रहरी जवानहरू, रतुवामाइ मानव अधिकार समूहका अध्यक्ष तेजप्रसाद भण्डारी, एमाले नेता मेघनाथ शर्मा कट्टेल, सामाजिक अभियन्ता प्रकाश कार्की, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था कोशी प्रदेश प्रमुख सम्राट कटुवाल, उर्लाबारी शाखाका प्रमुख केशवराज जोशी, इटहरा शाखा प्रमुख मुरारी लम्साल, कर्मचारी जालपा खडका, रितादेबी न्यौपाने र स्थानियवासीको सहभागिता थियो ।  

नागरिकको वितृष्णा व्यवस्थाप्रति होइन : डा. अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताए । शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उनको भनाइ थियो। ‘संसदीय व्यवस्था भनेको उत्कृष्ट व्यवस्था हो । तर यसको गलत प्रयोग भयो । नेताकै गल्तीको कारण अहिले व्यवस्थामाथि प्रश्न उठेको हो’, ‘सांसदसँग संवाद’का क्रममा सांसद सिंहले भने, ‘जनतामा देखिएको वितृष्णालाई व्यवस्थाप्रतिको वितृष्णा भन्न मिल्दैन, यो नेताप्रतिको वितृष्णा हो ।’ गत प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट स्वतन्त्र सांसदमा निर्वाचित सिंहलाई संसद् र संसदीय समितिहरूले सार्वभौम तरिकाले काम गर्न सकेकोजस्तो लाग्दैन । संसद्लाई ठूला दलले आफूअनुकूल प्रयोग गर्ने गरेको र सत्तापक्ष तथा प्रतिपक्ष दुवैतर्फबाट व्यक्तिगत एवं पार्टीगत अनुकूलतामात्रै खोज्ने गरेको उनको बुझाइ छ । ‘सार्वभौम जनताको प्रतिनिधि रहने संसद् पनि सार्वभौम हुनुपर्ने हो । तर संसद् सञ्चालनमा ठूला दल र तीनका मुख्य नेताको मात्रै भूमिका देखियो’, उनी भन्छन् , ‘सदनमार्फत गर्नुपर्ने निर्णय दलका नेताले गर्छन् । कुनै दलमा जति जना सांसद भए पनि त्यहाँ निर्णय चल्ने भनेको मुख्य नेताको हो । यो आफैँमा गलत परम्परा हो ।’ विधेयकलगायत संसद्मा उठेका विषयमाथि संसदीय दलमा पर्याप्त छलफल नहुने र दलका शीर्षनेताको अनुमतिबिना सांसदहरूले स्वतन्त्ररूपले आफ्ना कुरा संसद्मा राख्नसमेत नपाउने उनको दाबी छ । ‘कुनै सांसद दलको नेतासँग नजिक छ भने उसलाई बोल्न दिइन्छ । नजिक छैन भने बोल्न पनि दिइँदैन । विगतमा मैले पनि यस्तो भोगेको छु र अहिले पनि यस्तै अवस्था छ’, उनी भन्छन्, ‘यो संसदीय व्यवस्थाभन्दा बढी दलीय व्यवस्था भयो । लोकतन्त्रभन्दा बढी दलतन्त्र भयो । यसले लोकतन्त्रको अर्थलाई समाप्त गर्दै गएको छ ।’ व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्ने मामिलामा सत्तापक्ष र प्रतिपक्ष दुवै मिल्ने गरेको जिकिर पनि सांसद सिंहले गरे । ‘संसदीय व्यवस्थामा सत्तासिन दल र प्रतिपक्ष दल हुन्छन् । तर हामीकहाँ भागबण्डा खोज्ने प्रवृत्तिले सत्तापक्ष र प्रतिपक्ष भन्ने नै देखिएन । संसदीय समितिदेखि नियुक्तिमा भागबण्डा छ । यसले संसदीय व्यवस्थालाई नै अवरुद्ध गरेको छ’, सांसद सिंह भन्छन्, ‘जबसम्म सत्तापक्ष र प्रतिपक्षका बीचमा स्पष्ट रेखा ९क्लियर लाइन० र सीमाङ्कन ९डिमार्केसन० हुँदैन, तबसम्म संसदीय व्यवस्था बलियो हुन सक्दैन । तर हामीकहाँ को सत्तापक्ष र को प्रतिपक्ष भन्ने नै भएन ।’ गत निर्वाचनपछिका दुई अधिवेशनमा निकै कममात्र विधेयक पारित भएपछि पछिल्लो समय सांसदहरूको विधायिकी भूमिकामाथि पनि प्रश्न उठ्दै आएको छ । निकै कम विधेयक आउनुमा सरकारको पनि कमजोरी रहेको उनको बुझाइ छ । सरकारले संसद्लाई बिजनेस दिन नसक्ने र विधेयकहरू स्वार्थ प्रेरित बढी हुने गरेको सांसद सिंह बताउनुहुन्छ । ‘उदाहरणका लागि सरकारले निजामती सेवा विधेयक ल्याउनै सकिरहेको छैन । किनभने यो विधेयक सरकार र विभिन्न दलका ट्रेड युनियनको चेपुवामा परेको छ’, उनी भन्छन्, ‘विधेयकहरू पनि कुनै समूहबाट प्रभावित हुन्छन् । ‘ राज्यका अङ्गहरूबीच शक्ति सन्तुलन तथा शक्ति पृथकीकरणसमेत हुन नसकेको उनी बताउँछन् । ‘शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच नियन्त्रण र सन्तुलन हुन्छ । तर शक्ति सन्तुलनको त्यो सिद्धान्तलाई नै लत्याइएको छ’, उनी भन्छन्, ‘सरकार संसद्प्रति उत्तरदायी छैन । सरकार बनाउनसम्मका लागि मात्रै संसद्को प्रयोग हुन्छ । सरकारलाई हेर्ने , नियमन, नियन्त्रण गर्ने व्यवस्थापिकामा दलको छायाँ हाबी हुन्छ । ‘ राजनीतिमा जवाफदेहिताबिनाको उत्तरदायित्व ९रेस्पोन्सबिलिटी विथाउट अकाउन्टबिलिटी० हाबी हुनु पनि अर्को समस्या रहेको सांसद सिंहले बताए । ‘पैसा बाँढेर चुनाव जित्नेदेखि समानुपातिक सांसदका रूपमा संसद् छिर्नेहरू व्यापारी, व्यवसायी छन् । यसले वास्तविक राजनीतिज्ञलाई मूलधारमा आउनै दिएन’, सांसद सिंह भन्छन्, ‘चाँडै धनी हुने पेशाका रूपमा राजनीतिलाई मान्न थालियो । यसमा परिवारका सदस्यलाई राजनीतिमा जसरी भए पनि स्थापित गर्नैपर्ने र नाम/दाम पनि कमाउने भन्ने बुझाइ हाबी हुँदै गएको छ ।’ राजनीतिमा सदाचार, सादगीपन, देशप्रति निष्ठा र देशलाई अगाडि बढाउने एउटा भिजन तथा प्रतिबद्धता हुनुपर्नेमा नेताहरूले नै ती कुराको तिलाञ्जली दिएको उनको भनाइ छ । राजनीतिक दलहरूले संसद्मात्र नभई संसदीय समिति पनि कमजोर बनाएको सांसद सिंहको आरोप छ । ‘सरकारलाई जिम्मेवार बनाउने जवाफदेही बनाउने काममा संसद् र संसदीय समितिहरू कमजोर हुँदै गएका छन् । दलहरूले समितिलाई जानाजान कमजोर बनाइरहेका छन् । किनभने समितिमा पनि दलको छायाँ देखियो’, उनी छन्छन्, ‘संसद्मा उठेका विषयमाथि विषयगत मन्त्रालयको मन्त्रीले जवाफ दिएको देखिँदैन । प्रश्न उठाउने कर्मकाण्डजस्तो मात्रै भयो ।’ सांसद सिंहलाई विसं २०१५ को तुलनामा २०४८ साल र २०४८ सालको तुलनामा २०५१ सालको संसद् कमजोर भएकोजस्तो लाग्छ । ‘संसदीय व्यवस्था परिपक्व र मजबुद हुनुपर्नेमा कमजोर हुँदै गएको छ । यो विश्वव्यापीरूपमै देखिन थाल्यो’, उन भन्नुहुन्छ । अघिल्लो कार्यकालमा आफू राज्य व्यवस्था तथा सुशासन समितिमा रहँदा कुनै दल विशेषको स्वार्थका कारण डेढ वर्षसम्म समितिको बैठक चल्न नसकेको स्मरण गर्नुहुँदै सांसद सिंहले यस्तो प्रवृत्ति अहिले पनि कायमै रहेको बताए । प्रतिनिधिसभा निर्वाचनको एक वर्ष पूरा भयो । निर्वाचनका क्रममा जनतालाई देखाएका आशा पूरा गर्ने सन्दर्भमा आफू असफल भएको सांसद सिंहको बुझाइ छ । अरु सांसदहरूको तुलनामा आफूले केही बढी काम गरेको हुनसक्ने भए पनि त्यसलाई सन्तोषजनक मान्न नसकिने उनको भनाइ छ । ‘जनताका आकाङ्क्षा पूरा गर्ने सवालमा म असफल हो । अरु सांसदभन्दा तुलनात्मकरूपमा केही राम्रो काम गरे हुँला, तर समग्रमा जनताले जे–जति पाउनुपर्ने हो, पाइरहेका छैनन्’, उनले भने । अहिलेको व्यवस्थामाथि देखिएको नागरिक निराशा कम गर्नका लागि र शासन प्रणालीलाई चुस्त बनाउनका लागि समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने, सांसदको सङ्ख्या कम गर्नुपर्ने, नेताको उमेर र शैक्षिक योग्यता तोक्नेलगायतका कदम आवश्यक रहेको बुझाइ सांसद सिंहको छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई संसद् र सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिनुपर्ने उनको भनाइ छ । ‘नेपालमा संसदीय व्यवस्था र गणतन्त्रलाई उन्नत र राम्रो बनाउनका लागि यसलाई केही सुधार गर्न जरुरी छ । नेताका लागि महँगो गाडी चाहिने तर नागरिकलाई सेवा प्रवाहमा समेत समस्या हुने अवस्था देखियो । राजनीतिलाई सेवाभन्दा पेशाका रूपमा अङ्गीकार गर्न थालेपछि समस्या भएको छ । यसमा सुधार आवश्यक छ’, उनले भने । रासस

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली र तराई भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछाने जानकारी दिए । उनका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले काठमाडौंको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता चार किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज न्यूनतम तापक्रम १० डिग्री तथा अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् लामिछानेले बतांए । उन्ले भने, ‘काठमाडौंको न्यूनतम तापक्रम हिजोको भन्दा आज घटेको छ । हिजो न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेकामा आज १० डिग्रीमा झरेको छ ।’ काठमाडौं उपत्यकासहित धेरै जिल्लामा दिउँसोको समयमा न्यानो भए पनि हुम्ला, जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा रहेको छ । यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

डाबर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण गर्यो

काठमाडौं । डाबर नेपालले भूकम्प पिडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ । डाबर नेपालले जाजरकोट भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना  गरेको छ  । डाबर नेपाल  यस संकटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनताको साथमा रहेको पनि कम्पनीले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कम्पनीका अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरतसिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेको डाबर नेपालले जनाएको छ।

प्रधानमन्त्रीको सकारात्मक पहल

लामो समयदेखि एक किसिमको सकस भोगिरहेको मुलुकको अर्थतन्त्र चलायमान बनाउने विषयमा सरकारले चासो देखाउन थालेको छ । प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले आफैं नेतृत्व गरेर अर्थतन्त्रमा देखिएका समस्या र तीनको समाधानका उपायहरूबारे छलफलका लागि अग्रसरता देखाएका छन् । प्रधानमन्त्री प्रचण्डले गत सोमबार अर्थ, गृह, भौतिक पूर्वाधार, सहरी विकास, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका मन्त्री तथा सचिव र नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, धितोपत्र बोर्डका नेतृत्वहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या र समाधानको उपायको खोजी गरिरहेका छन् । प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिहरुसँग पनि छलफल बढाएका छन् । अर्थमन्त्री प्रकाश शरण महत र गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा क्रमशः सुधार भैरहेको सार्वजनिक रुपमा बताउँदै आएका छन् । तर निजी क्षेत्रका प्रतिनिधिकहरुले अर्थतन्त्र मन्दीमा रहेका बताउँदै आएका छन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसपछि देशको अर्थतन्त्र समस्यामा परेको र अवस्था झन खराव हुँदै गएको निजी क्षेत्रका धारणा छ । नयाँ लगानी हुन नसक्नु, उत्पादन मुलक उद्योग बन्द हुँदै जानु, रोजगारीको अवसर सिर्जना नहुनु, अध्ययन र कामका खोजीमा माहिनामा एक लाख बढी युवा विदेश पलायन हुनु, उपभोक्ता घट्दो क्रममा गएपछि आयात व्यापार कम हुनु, सरकारको राजश्व गिरावट हुनु, सेयर बजार, रियलस्टेट लगायतका क्षेत्रमा प्रष्ट रुपमा मन्दी देखिनु वर्तमान अर्थतन्त्रको खराव पक्ष हुन् । सरकारी कर्मचारीहरू नै अब सरकारले तलब दिन नसक्ने अवस्था आउने धारणा राखिरहेका छन् । विज्ञहरूले पनि सरकारले अर्थतन्त्र सुधारका लागि कुनै हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्ने बताइरहेका छन् । यसले पनि सन्देश नराम्रो गैरहेको छ । सरोकार पक्षहरुसँगको छलफल लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाटै निणर्य गराएर सरकारले निर्माण व्यवसायीको बाँकी दायित्व तत्काल भुक्तानी गर्ने निणर्य गराएका छन् । निर्माण व्यवसायीहरूका अनुसार अघिल्ला वर्षहरूको ४० अर्ब बक्यौता निर्माण व्यवसायीले पाउन बाँकी छ भने चालु आर्थिक वर्षको ४ अर्ब भुक्तानी पाउन बाँकी छ । सरकारले यो रकम तत्काल भुक्तानी गर्ने निणर्य गरेको हो । सम्झौता भई चालु अवस्थामा रहेका ठेक्काको म्याद थपका सम्बन्धमा जारी आदेश कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान गर्ने तथा निर्माण व्यवसायी (ठेकदार)को भुक्तानी हुन बाँकी दायित्व तत्काल भुक्तानी गर्ने सरकारको निणर्यले अर्थतन्त्रमा केही सहजता प्रदान गर्ने नै छ । अर्थतन्त्रका सबै परिसूचक खराब छैनन् । विदेशी मुद्राको संचिति बढेको छ । रेमिट्यान्स आम्दानी बढेको छ । पर्यटक आगमन पनि बढेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता सहज भएको छ । व्याजदर घट्न थालेको छ । सरकारको राजश्व घट्ने क्रम रोकिएको छ । यद्यपी नयाँ लगानी हुन नसक्नु, निर्यात व्यापार खुम्चदै जानु, रोजगारीका अवसर सिर्जना नहुनु, आम मानिसमा निराशा छाउनु अहिलेको मुख्य समस्या हुन् । त्यसतर्फ सरकारले सुधारका पहलकदमी लिन जरुरी छ ।

माडीमा नेपालको अग्लो चक्रशिला स्थापना

भरतपुर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताए । उक्त शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राण प्रतिष्ठासहित विष्णु हरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताए । उनले पर्वतबाट रथयात्रामार्फत चक्रशिला माडी ल्याइएको बताए । शालिग्राम शिला पाइने नेपालकै दुईमध्येका एक स्थानका रूपमा परिचित माडीको धार्मिक विकास तथा पर्यटनमा थप टेवा पुग्ने स्थानीय पुजारी केदारनाथ सापकोटाले बताए । उनका अनुसार कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । उनले चक्रशिला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको बताए । स्थानीय कृष्णबहादुर रानाभाटले देश–विदेशमा रहेका माडीवासीको सहयोगमा चक्रशिला स्थापना गरिएको बताए । उनले यस क्षेत्रलाई चक्रतीर्थ धामका रूपमा विकास गर्न लागिएको भन्दै क्रमशः अन्य संरचना निर्माण हुने जानकारी दिए । उनले माडीका धार्मिक क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्ने बताए । माडीमा एक दर्जन बढी धार्मिक क्षेत्र रहेका छन् । पछिल्लो समय माडीमा राम मन्दिरसमेत स्थापना भएपछि धार्मिक पर्यटक बढेका छन् । रासस

कालीगण्डकी करिडोरको बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो

गलेश्वर । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालिएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले डिबिएसडी प्रविधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम कोड (बिटुमिन) बिछ्याउन थालिएको जानकारी दिए । ‘प्राइमकोर्ड बिछ्याएको २४ घण्टापछि चिप्ससहित पहिलो चरणको कोड बिछ्याइन्छ’, उनले भने, ‘दोस्रो चरणमा सेकेण्ड कोड बिछ्याएपछि डिबिएसडी पिच पूरा हुन्छ ।’ दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट/पिएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीसहित उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए । सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र थालिएको हो । ‘गत असार महिनामै बेस राख्न र कालोपत्र गर्नेबाहेकका सबै काम सकिएको थियो’, उनले भने, ‘सात दशमलव पाँच मिटर चौडाइका दरले कालोपत्र गर्ने काम अबको एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।’ यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज हुने छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । ‘बेनी–गलेश्वर सडक आयोजनामा छोटो समयमा हासिल भएको प्रगतिले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ’, उनले भने, ‘निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।’ करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको बेनी–जोमसोम–कोरला सडक योजनाको कार्यालयले जनाएको छ । दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ । रासस

नेको इन्स्योरेन्सको नाफा १५० प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा १५० प्रतिशत बढाएर ८ करोड ८० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२ लाख ८६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले ७६ करोड ४७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड ३८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म २९ करोड २८ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९२ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड ५७ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ३ अर्ब ५७ करोड २२ लाख रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.५० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २११.७१ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४६.०६ गुणा छ ।