हमासले बन्धक बनाएका २४ जना रिहा
तेल अवीव । इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो। ‘इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ। इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा छ, ‘हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी गराएका छन् ।’ इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ । घर फर्किएका आशेर परिवारका तीन सदस्य डोरोन कात्ज–आशेर (३४), राज आशेर (४) र अविव आशेर (२) रहेका छन् । त्यसैगरी अलोनी परिवारका रिहा भएका दुई सदस्य ड्यानियल अलोनी (४५) र अमेलिया अलोनी (५) रहेका छन् । उद्धार गरिएका मोन्डर परिवारका रुथ मुन्डर (७८), केरेन मोन्डर ९५४० र ओहद मोन्डर (९) रहेका छन् । उनीहरू बाहेक अन्य पाँच इजरायली नागरिक अदिना मोशे (७२), हाना कात्जिर (७६), मार्गालिट मोजेस (७७), हन्ना पेरी (७९) र याफे अदार (८५) लाई पनि कैदबाट रिहाइ गरिएको थियो। रिहाइ गरिएका बन्धकहरूलाई आफ्ना आफन्तकहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि शुक्रबार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा रेडक्रसका लागि अन्तरराष्ट्रिय समितिका कर्मचारीहरूलाई सुम्पिएको इजरायलको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ। इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रबार बिहान ७ बजे (स्थानीय समय) बाट लागू भएको थियो । शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताएका छन् । सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा पोस्ट गरिएको भिडियो सन्देशमा नेतान्याहुले भनेका छन्– हामीले भर्खरै हाम्रा पहिलो बन्धकहरूः बालबालिका, उनीहरूका आमाहरू र महिलाहरूको फिर्ती पूरा गरेका छौं। त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘प्रक्रियाको ससुरुवात’ भनेका छन् । उनले थप आशा व्यक्त गर्दै ‘थुप्रै बन्धकहरू’ आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताएका छन् । टाइम्स अफ इजरायलले उल्लेख गरे अनुसार प्रत्येक १० इजरायली बन्धकहरूको लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकहरूलाई मुक्त गर्नु पर्नेछ । यद्यपि, गत अक्टोबरदेखि हमास आतङ्ककारीहरूले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकहरूको सानो सङ्ख्या मात्र हो । रासस
चिनियाँ विदेशमन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने
बेइजिङ । चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया) बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिँदै छन् । कोरियाको बुसानमा नोभेम्बर २६ देखि सुरु हुने उक्त बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार जानकारी दिएका छन् ।
चिसोबाट कसरी बच्ने ? यस्तो छ डा. पुनको सुझाव
चिसो दिनहुँ बढिरहेको छ । चिसोकै कारण यतिबेला मानिसहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् । चिसो मौसममा खोकी, मौसमी फ्लू, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात जस्ता रोगले बढी संक्रमण गर्ने गर्छ । प्राय: उमेर ढल्किदै गएका ५० वर्ष माथिका मानिसलाई यस प्रकारका रोगले बढी संक्रमण गरेको पाइन्छ । हरेक वर्ष मौसम परिवर्तन हुने गर्छ । तर, हाम्रो शरिरलाई बानी पर्न समय लाग्छ । यो समयमा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन जान्छ । प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा भाइरस, व्याक्टेरिया हाम्रो शरिरमा प्रवेश गर्छन् र रोग लाग्छ । चिसोकै कारण कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित ११ जनाको मृत्यु भइसकेको छ । चिसोमा लाग्ने संक्रामक रोग र भूकम्प प्रभावितले चिसोबाट बच्न के कुरामा ध्यान दिने भन्ने विषयमा केन्द्रित रहेर हामीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामक रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनसँग विकासन्युजले कुराकानी गरेकाे छ । अहिले टेकु अस्पतालमा कस्ता बिरामी बढी आइरहेका छन् ? टेकु अस्पतालमा दिनहुँ उपचारका लागि आउने सयौँ बिरामीमध्ये कोही दीर्घरोगी छन् भने कोेही अन्यखालका बिरामी छन् । आजभोलि रुघाखोकी, ज्वरो, श्वाशप्रश्वासलगायत समस्या लिएर पनि धेरै जना आउने गरेको पाइन्छ । सर्ने, नसर्ने, मौसमी र बेमौसमी सबै खालका बिरामी आइरहेका छन् । तर, पछिल्लो केही दिन यता चिसोका कारण लाग्ने समस्या लिएर बढी आइरहेका छन् । सम्भवतः अब यस्ता बिरामीको संख्या दिनहुँ बढ्दै जाने छ । चिसोमा लाग्ने सरुवा रोगहरू के के हुन ? हामी धेरैको मानसिकता गर्मीमा मात्र सरुवा रोग फैलिन्छ र चिसोमा फैलिँदैन भन्ने छ । तर, यो गलत हो । चिसो मौसममा पनि यस्ता धेरै किसिमका रोगहरू देखा पर्छन् । जुन एकबाट अर्कोमा सजिलै सर्न सक्छन् । यसमा सबैभन्दा बढी देखिने भनेको रुघाखोकी हो । यो बेलामा चिसो मौसम सुरु हुने र मौसममा समेत परिवर्तन हुने भएकाले यस्ता समस्या बढी देखिन्छन् । यस्तै झाडा पखाला (कोल्ड डायरीया) पनि लाग्छ । खानपानको कारण लाग्ने संक्रामक पनि लाग्छ । भाइरल फिबर जाडोसमयमा बढी देखिन्छ । भाइरल फिबर भनेको के हो ? भाइरल फिबर मौसम परिवर्तनको समयमा देखिने एक प्रकारको गम्भीर संक्रमण हो । यो मौसममा परिवर्तनकोे बेला बढी देखिन्छ । मौसम परिवर्तनको समयमा मानिसको रोग प्रतिरोधात्मक प्रतिक्रिया (इम्युन रेस्पोन्स) मा कमी आउने गर्दछ । अहिले चिसो मौसम छ यस्तो बेला यो फिबर बढी फैलिन्छ । मानिसमा देखिने अधिकांश भाइरल फिबर ‘सिजनल फ्लु’ अथवा ‘इन्प्लुफन्जा फ्लु’ हो । भाइरल फिबरको सङ्क्रमण सबैभन्दा बढी र छिटो बच्चामा हुन्छ । दुई वर्षभन्दा कम उमेरका बच्चामा भाइरल फिबरको सङ्क्रमण भएमा अन्य खतरा बढ्ने सम्भावना उच्च हुन्छ । भाइरल फिबर धेरै भाइरसको सङ्क्रमणबाट हुन्छ । यसको समयमै उपचार नभए बच्चामा हुने इन्फ्लुन्जा फ्लु’ ले निमोनिया पनि गराउन सक्छ । भाइरल फिबर कसरी सर्छ ? सङ्क्रमित व्यक्ति खोक्दा, हाच्छ्युँ गर्दा, बोल्दा, छुँदा, हात मिलाउँदा, अङ्कमाल गर्दा, चुम्बन गर्दा सर्छ । त्यसैले यस्तो समस्या देखिने बित्तिकै बिरामी भएको मान्छेले सबैभन्दा बढी ध्यानदिनुपर्छ भने, स्वस्थ मान्छेले पनि बिरामीको नजिक जाँदा ध्यान दिनुपर्छ । भाइरल फिबर भएको कसरी थाहा पाउने ? कुनै पनि स्वस्थमान्छेलाई आफु अस्वस्थ भएको सजिलै थाहा हुन्छ । प्रत्येक रोगका लक्षण फरकफरक हुन्छन् ,तर धेरैजसोका लक्षण मिल्दाजुल्दा पनि हुन्छन् । भाइरल फिबर भएको मान्छेलाई सबैभन्दा पहिले चिसो लाग्छ । सँगै ज्वरो आउनु, शरीर दुख्नु, ढाड तथा खुट्टा दुख्नु, खोकी लाग्नु, घाँटी अमिलो हुनु, सिँगान बग्नु, नाक बन्द हुनु, टाउको दुख्नु, थकित हुनु, वाकवाकी लाग्नु, वान्ता हुनु, पखाला लाग्नु र पेट दुख्नु यसका लक्षण हुन् । यसको उपचार के हुन्छ ? यसका लागि निश्चित औषधि छैन । उपचार भने अत्यन्तै आवश्यक हुन्छ । अहिलेसम्म गर्दै आएको यसको उपचार भनेको ज्वरो आउँदा पारासिटामोल, टाउको दुख्दा आइबुप्रोफिन, पखाला लागेमा जीवनजल तथा अन्य झोलिलो पदार्थ पिउन सल्लाह दिइन्छ । खानपानमा ध्यान दिइएन भने जाडो महिनामा पनि यस्ता सरुवा रोग फैलने गर्दछन् । हामीले चिसोमा लाग्ने रोगका विषयमा कुरा गर्दा भर्खरै गएको भूकम्पबाट घरबास गुमाएकाहरू अहिले त्रिपालमुनि बसेका छन् उनीहरू कसरी जोगिने ? यो प्रश्न गम्भीर छ । हामीले चिसोमा लाग्ने रोगबाट कसरी जोगिने भन्ने कुरा गरिहँदा मैले न्यानो पार्नुपर्छ भनुँला, झोलिलो, पोषणयुक्त खानेकुरा खानुपर्छ भनुँला । तर, यो जवाफ एउटा त्रिपालमुनि बसेकाको हकमा गाह्रो हुन्छ । बल्ल बाँचेकालाई तपाईं यस्तो गर्नुस उस्तो गर्नुस् भन्न सक्ने अवस्था पनि हुँदैन र अर्को कुरा उहाँहरूले हामीले भनेको जस्तो गर्न पनि सक्नुहुन्न । यस्तो चिसो मौसममा पालमुनि कठ्याङ्ग्रिएर बस्नेहरूमा स्वास्थ्य समस्या निकै गम्भीर हुन्छ । तर, हामी डाक्टरले तपाईं तातो लुगा लगाएर न्यानो पारेर जोगिनुहोस् भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा उहाँहरूले आगो बालेर न्यानो पार्ने, पराल भए त्यसको बाक्लो ओछ्यान लगाएर पनि न्यानो पार्न सकिन्छ । यसका लागि त्यहाँको स्थानीय तह प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिनुपर्छ । अहिले धेरै परिवार एकै ठाउँमा बस्नुपर्ने अवस्था छ, कस्तो जोखिम हुन सक्छ ? यस्तो अवस्थामा संक्रमण फैलन सक्ने डर हुन्छ । झाडापखाला , टाइफाइडलगायत रोग लाग्ने जोखिम ठूलो हुन्छ । स्क्रब टाइफस देखिने सम्भावना पनि उच्च हुन्छ । अहिले जाजरकोट, पश्चिम रुकुमको हकमा त्यस्तो नदेखिए पनि २०७२ सालको भूकम्पको अनुभवलाई आधार मान्ने हो भने चार–पाँच महिनाको अन्तरालमा स्क््रब टाइफस पनि बढेको हामीले पाएका थियौँ । त्यसैले त्यहाँ पनि बिस्तारै यस्तो समस्या देखिन सक्ने सम्भावना उच्च रहन्छ । त्रिपालमुनि पनि स्वयम् प्रभावितले के गर्न सक्नुहुन्छ ? साबुनपानीले हात धुने, संक्रमण भइसकेको व्यक्तिले अलग बस्ने कुरा हामीले गरेर र उहाँहरूले चाहेर पनि सम्भव हुँदैन । अर्को कुरा शौचालय र खानेपानीको पनि राम्रो व्यवस्था नहुन सक्छ । यस्तो बेलामा हामीले दिएको सुझावले उहाँहरूलाई काम गर्न सम्भव हुँदैन । यसमा त्यो क्षेत्रमा पुग्नुभएका वा त्यहाँका सरोकारवालले हेर्नुपर्छ भन्ने मेरो भनाइ र आग्रह पनि हो । यस्तो अवस्थामा के गर्न सकिन्छ ? जो विस्थापितहरू बसिरहनुभएको छ उहाँमध्ये कसैलाई यस्तो लक्षण देखिएमा तुरुन्तै अलगै राखेर उपचार गरिएको खण्डामा अरुलाई बचाउन सकिन्छ । यसमा प्रकोपसम्बन्धी जुन संघसस्थाले काम गरिरहनुभएको छ उहाँहरूले ध्यान दिनुपर्ने देखिन्छ । किनभने, यो फैलियो भने अवस्था गम्भिर हुन्छ । त्यसैले त्यहाँ पनि जोखिम रहेकाले समयमै सचेत रहनु राम्रो । अहिले धेरैले भननुहुन्छ होला तपाईं यसरी बस्नुहोस्, यस्तो गर्नुहोस भनेर तर उहाँहरूको दिमागमा के चलिरहेको हुन्छ कसैलाई थाहा हुँदैन । धेरैले परिवार गुमाउनुभएको छ , कतिपयले आफन्त गुमाउनुभएको छ, केही नगुमाएकाले पनि घरबास, अन्नपात, जनावर गुमाउनुपरेकोे छ । यस्तो बेला उहाँलाई मानसिक स्वास्थ्यसम्बन्धी सल्लाह दिनसक्यो भने राम्रो हुन्छ । चिसोमा मान्छेअनुसार फरक फरक रोग लाग्छ ? मान्छेको रोगसँग लड्नसक्ने क्षमता र शारीरिक अवस्था हेरेर हुन्छ । चिसो मौसममा प्रायजसो दीर्घरोगी, गर्भवती महिला, बालबालिका जो शारीरिकरूपमा कमजोर हुन्छन उनीहरू बढी जोखिममा पर्ने गर्छन् । मैले यसो भनिरहदा युवालाई चिसोमा कुनै रोग लाग्दैन, उनीहरूले स्वास्थ्यको ख्याल गर्न पर्दैन भन्न खोजेको हैन । तर, मलाई केही भएको छैन म ठिक छु भन्दै बेवास्ता गर्न थाल्यो भने यसको असर अझ बढी पर्छ । त्यसैले मान्छेको शारीरिक अवस्था हेरे मान्छेअनुसार फरक फरक समस्या देखिन थाल्छ । झोलिलो कुरा खादाँ राम्रो हुन्छ । प्रभावितलाई चिसोमा सागसब्जी खानुपर्छ भन्ने हुँदैन् । त्यहाँको अवस्था कस्तो छ, पेटभरी खाना नै नभएको वा चाउचाउ ड्राइफुड खानुपर्ने बाध्यता होला । यस्तो अवस्थामा हामीले यसो गर्नुपर्छ यस्तो खानुर्छ भनेर चाहिँ हुँदैन । अन्तिममा तपाइको सुझाव के छ ? भूकम्पजस्ता प्राकृतिक प्रकोप हामी नेपालीले बेलाबेला बेहोर्दै आइरहेका छौँ । हामीले खासगरी स्वास्थ्यको कुरा गर्दा गास, बास र कपासलाई छोड्न हुँदैन भन्ने हो । तत्काल आफ्नो स्वास्थ्यमा कतिपय कुरामा चाहेर पनि ध्यान पु¥याउन नसकिएला । तर, सकेसम्म आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । संक्रामक रोगको कुनै लक्षण देखार्यो भने तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नु मेरो आग्रह छ । यसमा ढिलो गर्न हुँदैन । किनकि, तपाईंबाट अरुमा नसरोस् । अर्को कुरा, तपाई लामो समयदेखि औषधि खाइरहनुभएको छ भने औषधि नियमित गर्नुहोला । सकेसम्म औषधि खान छुटाउनु हुँदैन । र, अहिले चिसोे दिनहुँ बढ्दै जानेछ । यस्तो बेला आफ्नो स्वास्थ्यको ख्याल हामी आफैंले गर्नुपर्छ ।
जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिइनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान/सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन् । साथसाथै फाउन्डेसनको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री दाहालले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै यसबापत अन्तर्राष्ट्रियरूपमा प्राप्त हुने अनुदान/सहयोगलाई जोखिममा परेका समुदायमा वितरण गर्न प्राथमिकता दिइने धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘महिला, आदिवासी, जनजाति, अल्पसङ्ख्यकलगायत समुदायलाई सशक्तीकरण गर्ने ‘एजेन्डा’ मैले पहिलेदेखि नै भन्दै आएको हो । यसको परिणामस्वरुप मुलुकमा महिला सशक्तीकरण भएको छ र नेतृत्वमा समेत महिला स्थापित भएका छन् ।’ भेटका क्रममा प्रधानमन्त्री दाहाललाई जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) का सन्दर्भमा सुझावपत्र बुझाउँदै साथसाथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको क्षतिपूर्तिका अवसरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यकलगायत उच्च जोखिममा परेका समुदायलाई ५० प्रतिशत सुनिश्चितता गर्नुपर्ने माग गरिन् । उनले कोप–२८ सम्मेलनका क्रममा नेपालको ‘पेभेलियन’मा साथसाथैले दुईवटा ‘साइड इभेन्ट’ गर्न लागेको बताउँदै आगामी डिसेम्बर ४ को इभेन्टमा कतारका राजकुमारी शेख आश्मा अल थानी प्रमुख अतिथिका रूपमा आउने सुनिश्चित भएको जानकारी गराइन् । प्रधानमन्त्री दाहालले कतारका राजकुमारी अल थानी अतिथिका रूपमा आउने विषयका सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अवसरमा परराष्ट्रमन्त्री एनपी साउदले नेपालको पेभेलियनमा हुने कार्यक्रममा कतारकी राजकुमारी अतिथिका रूपमा आउने विषय नेपालका लागि खुसीको कुरा भएको उल्लेख गर्दै यसमा कतारको दोहा र युएईको आबुधाबीस्थित नेपाली दूतावासहरूले आवश्यक समन्वय गर्ने बताए । प्रधानमन्त्री दाहाललाई बुझाइएको सुझावपत्रमा जलवायु परिवर्तनका कारण हिमालका हिउँ पग्लिने क्रम बढेको र हिमताल फुटेर प्राकृतिक विपद्का घटनामा बढोत्तरी हुने जोखिम बढेको उल्लेख छ । यसैगरी सुझावपत्रमार्फत जलवायुजन्य विपद्का कारण स्थानीय समुदायको जीवनयापन, स्वास्थ्य, शिक्षा र रोजगारी लगायतमा गम्भीर असर पुगिरहेकाले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने ध्यानाकर्षण गराइएको छ । भेटमा परराष्ट्रमन्त्री साउदका साथै प्रधानमन्त्रीका जलवायु सल्लाहकार डा. पपुलर जेन्टल भुसाल र साथसाथैका तफर्बाट अध्यक्ष कार्कीको नेतृत्वमा खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष टासील्हामु शेर्पा, महिला तथा जलवायुविज्ञ सरु जोशी श्रेष्ठ, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देल, साथसाथैका सल्लाहकार सरिताश्री ज्ञवाली, कोषाध्यक्ष प्रदा कार्की जोशीलगायत थिए ।
गण्डकीमा सुन्तला खेती विस्तार
गण्डकी । दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा ७ हजार ९ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप ३ सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर ८ हजार ३ सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै ५ सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले फल दिने सुन्तलाका बोट पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको जानकारी दिए । ‘सुन्तला खेतीको क्षेत्रफल बर्सेनि विस्तार भइरहेको छ । उत्पादन भने घटबढ भइरहन्छ,’ उनले भने, ‘गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।’ गत वर्ष अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले सुन्तलाको उत्पादन बढेको थियो । यस वर्ष असिना, रोग किरालगायतका कारणले सुन्तला कम फलेको रेग्मीले बताए । उनका अनुसार गत वर्ष गण्डकी प्रदेशमा ५५ हजार ९ सय ३५ मेट्रिक टन सुन्तला फलेको थियो । किसानले पाउने प्रतिकिलो ५० रुपैयाँ औसत मूल्यका आधारमा गत वर्ष २ अर्ब ७९ करोड ६७ लाख ५० हजार रुपैयाँबराबरको सुन्तला उत्पादन भएको निर्देशनालयले जनाएको छ । यस वर्ष उत्पादन घटेपछि किसानको आम्दानी पनि गुम्ने भएको छ । मुस्ताङ र मनाङबाहेक प्रदेशका सबै जिल्लामा सुन्तला खेती हुँदै आएको छ । गत वर्षसम्ममा स्याङ्जामा २ हजार ६७, तनहुँमा १७ सय १२, गोरखामा १ हजार ८२, कास्कीमा ८ सय ९४, पर्वतमा ८ सय ७२, म्याग्दीमा ७ सय ८०, बागलुङमा ६ सय २२, लमजुङमा १ सय ७२ र नवलपुरमा एक सय ४२ हेक्टरमा सुन्तला खेती भएको थियो । जिल्लागत रुपमा यस वर्ष सुन्तला खेती विस्तारको आँकडा प्राप्त भइनसकेको निर्देशनालयले जनाएको छ । सुन्तला खेती विस्तार र व्यावसायिकीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् । बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर सुन्तला ‘जोन’ बनाइएको निर्देशनालयले जनाएको छ । कार्यक्रम सुरु हुँदा उक्त क्षेत्रमा पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती रहेकामा अहिले क्षेत्र विस्तार भएर एक हजारभन्दा बढी हेक्टर पुगेको जनाइएको छ । ‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायत गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम सञ्चालित छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभरि विस्तार गरिएको निर्देशनालयका प्रमुख रेग्मीले जानकारी दिए । स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारी, तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुने गरेको छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पुर्याउँछन् । यस वर्ष सुन्तला याम सुरु भएसँगै बजारमा किनबेच हुन थालेको छ । सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् । सुन्तला खेती विस्तारसँगै किसानलाई भने बजारको चिन्ता थपिने गरेको निर्देशनालयका प्रमुख रेग्मीले बताए । उनले सुन्तलामा आधारित उद्योग खोल्नुपर्ने बताए । उनका अनुसार रोगकिराको सङ्क्रमण, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावलगायत कारणले सुन्तला खेतीमा चुनौती थपिएका हुन् । बोट सुकेर मर्ने रोग, औँसे किरालगायतले पनि सुन्तला खेतीमा क्षति पुर्याउँदै आएको रेग्मीले बताए । उनका अनुसार निर्देशनालय, जिल्लास्थित कृषि ज्ञान केन्द्र लगायतले सुन्तला खेती प्रवद्र्धनमा अनुदान, सीप र प्रविधि सहयोग गर्दै आएका छन् । उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र श्रमको उचित मूल्य पाउने सुनिश्चिता गर्न सके सुन्तला खेतीमा किसानको आकर्षण अझै बढ्ने बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान टोपबहादुर खड्काले बताए । ‘सिँचाइ, मल्खाद व्यवस्थापन, औषधोपचारमा किसानलाई बढी भार पर्छ, यस्तोमा राज्यले साथ दिनुपर्छ,’ उनले भने, ‘नगद आम्दानी हुने भएकाले सुन्तला खेतीमा आकर्षण बढ्दो छ ।’
नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु
काठमाडौं । भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि प्रारम्भ भएको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औं संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन् । हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ । गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो । यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विषम परिस्थिति, पहाडी एवं विकट स्थानमा मानवीय सहयोग परिचालन तथा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिने फौजले अपनाउनुपर्ने पूर्वसतर्कता, चित्कित्सकीय प्रशिक्षण, वायुसेवा तथा उड्यनका विविध पक्ष, पर्यावरण संरक्षण, प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ । द्विपक्षीय सैन्यअभ्यासबाट नेपाल र भारतबीचको शताब्दीऔं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा दुवै मुलुकका सेनाको सहकार्य, साझेदारी एवं साझा सुरक्षा चासो सम्बोधन गर्न योगदान पुग्ने विश्वास नेपाली सेनाले गरेको छ ।
देउसीभैलोको रकम भूकम्प प्रभावितलाई
कास्की । पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान गरेको छ । तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार ५ सय ५५ रुपैयाँ भूकम्प प्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनले बताए । क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ । हाल क्लबमा १२ जना बालकलाई आश्रय पाएका छन् । एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ । क्लबले बर्सेनि पोखरामा अन्तर्राष्ट्रिस्तरको अन्तरक्लब फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
बैठकभत्ताबाट बालबालिकालाई पोसाक
भोजपुर । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठक भत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छन् । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान गरेकी हुन् । बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरित गर्न तथा विद्यालयको श्रीवृद्धिमा योगदान गरेकाहरूको कदरस्वरूप उनीहरूलाई सम्मान गरेको उपप्रमुख शेर्पाले बताइन् ।