नेको इन्स्योरेन्सले ८ वटा सवारी बेच्दै
काठमाडौं । नेको इन्स्योरेन्सले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न कम्पनी चालू अवस्थामा रहेका ८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
गत साता साढे १० अर्ब रुपैयाँ बढ्यो बजार पुँजीकरण
काठमाडौं । तिहार र छठपछि खुलेको सेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ८.११ अङ्कले बढेर १ हजार ८६०.२० को बिन्दुमा कायम छ । गत साताको पहिलो कारोबार सोमबार भएको थियो । १ हजार ८५२.०९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा पहिलो दिन झिनो अङ्कको सुधार देखिएको थियो । सोमबार नेप्से परिसूचक १.३९ अङ्कले बढेर १ हजार ८५३.४८ अङ्कमा कायम भएको थियो । सातामा कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा २३.८२ अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक १.२८ प्रतिशतले घटेर १ हजार ८२९.६५ को बिन्दुमा कायम भएको थियो । त्यस्तै, तेस्रो दिन बुधबार परिसूचक २० दशमलव ६७ अङ्कले बढेर १ हजार ८५०.३३ अङ्कमा कायम भएको थियो भने साताको अन्तिम दिन बिहीबार ९.८७ प्रतिशतले बढेर १ हजार ८६०.२० अङ्कमा कायम भएको छ । यो सातामा ४ अर्ब ४८ करोड ५२ लाख ४३ हजार ५३९ रुपैयाँ बराबरको कारोबार भएको छ । सातामा कारोबार भएका सेयर सङ्या १ करोड ५६ लाख २८ हजार ४६२ कित्ता बराबर रहेको छ । यो साताको पहिलो दिनको कारोबारपछि २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख १० हजार रुपैयाँ बराबर रहेको बजार पुँजीकरण अन्तिम दिनको कारोबारपछि २८ खर्ब ६८ अर्ब १२ करोड ३ लाख ६० हजार रुपैयाँ कायम भएको छ । एक सातामा बजार पुँजीकरण १० अर्ब ३६ करोड १३ लाख ५० हजार रुपैयाँढेको हो ।
हिमालयन लाइफले व्यतित बीमालेखमा शतप्रतिशतसम्म छुट दिने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखहरुमा छुट सुविधा दिने भएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज तथा जरिवाना)मा छुट दिने भएको हो । साविक प्राइम लाइफ, यूनाइटेड लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई ब्यतित भएका बीमालेखहरुमा मंसिर १० गतेदेखि मंसिर २५ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा बीमाशुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज तथा जरिवाना छुट दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३ वर्षसम्मको बीमालेख व्यतीत अवधिमा ब्याज र जरिवाना शतप्रतिशत, ३ वर्ष माथिदेखि ७ वर्षसम्म अवधि व्यतित बीमालेखमा ५० प्रतिशत र ७ वर्षदेखि जतिसुकै अवधि व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज र जरिवाना छुट प्रदान गरिनेछ । यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ । ब्याज तथा जरिवाना छुट उपभोग गरी नवीकरण गराईएका बीमालेखहरु २ बर्षभित्र समर्पण (सरेण्डर) गरेमा छुट प्रदान गरिएको ब्याज तथा जरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिनेछ ।
१५ प्रतिशत लाभांश पारित गर्न एनआईसी एशियाले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न एनआईसी एशिया लघुवित्तले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ८ गते बसेको बैठकले छैठौँ वार्षिक साधारणसभा पुस ६ गते धरान सुनसरीमा बिहान ९ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कर प्रयोजन सहित १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । संस्थापक समूहबाट एक जना सञ्चालक निर्वाचन गर्नेछ । लघुवित्तले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
सर्वोत्तम सिमेन्टको आईपीओ खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको बुक बिल्डिङ्गमार्फत् निष्काशन तथा बिक्री खुला गरेको सेयरमा बोलपत्र पेश गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरूको लागि बोलकबोलमार्फत् आईपीओ बिक्री खुला गरेको हो । कम्पनीको जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक विल्डिङ्ग विधिमार्फत् निष्काशन गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म रहेकोमा सोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोलमार्फत् सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् । योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जमा गई बोलपत्र आवेदन फाराम भर्नु पर्नेछ ।
घलेम्दी हाइड्रोको २ सय प्रतिशत हकप्रद बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । घलेम्दी हाइड्रोले आज मंसिर १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः२ अर्थात् २ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजी ५५ करोड रुपैयाँको १ अर्ब १० करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कारोबार भई कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले पुस १ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
नेपाल वेयरहाउजिङ्गको आईपीओ बिक्री खुला, कति भर्ने आवेदन ?
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले आज मंसिर १० गतदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा २ प्रतिशत अर्थात् २७ हजार ५ सय कित्ता सेयरमा कर्मचारी, ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता सेयरमा सामूहिक लगानी कोष र ११ लाख ४१ हजार २५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिनसक्ने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिनसक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा छिटोमा मंसिर १३ गते र ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
‘कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गरौँ’
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा अझै पनि कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योगहरू नभएको बताएका छन् । उनले अब कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गर्नतर्फ अग्रसर हुन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री शर्माले विगतदेखि नै कर्णालीमा नुनदेखि सुन फलाउने सामन्तवादी सोच कृषि क्षेत्रमा हाबी हुँदै गइरहेको हुँदा कर्णालीमा कृषिजन्य उद्योग नफस्टाएको बताए । ‘अब कर्णालीका नागरिकले नुनदेखि सुन एक्लैले फलाउने नभई कसैले कोदोको, कसैले मकैको अर्थात् हरेकले अलगअलग खेती गरेर कृषिमा व्यावसायिकीकरण गर्न आवश्यक छ । कृषि मात्रै होइन, अब सबै व्यवसाय गर्दा अलगअलग व्यवसाय गर्न जरुरी छ नभए व्यवसाय नै डुब्ने, असफल हुने सम्भावना हुन्छ,’ मुख्यमन्त्री शर्माले भने, ‘त्यसका लागि उत्पादनको वर्गीकरण गर्न भौगोलिक कलष्टर छुट्याउने योजना सरकारको छ । उच्च हिमाली, हिमाली, पहाडी, खोँच आदि कलष्टर छुट्याएर अघि बढ्ने र सोही आधारमा कृषि उत्पादन गर्न सकेको खण्डमा हामी आत्मनिर्भरतातर्फ अग्रसर हुन्छौँ ।’ मुख्यमन्त्री शर्माले अहिले कर्णालीमा सञ्चालनमा रहेका अधिकांश उद्योगहरुले बाहिरबाट कच्चापदार्थ ल्याई उद्योग सञ्चालन गरिरहेको बताए । उनले कसरी औद्योगिक क्षेत्र सञ्चालन गर्ने बारेमा खाका कोर्न व्यवसायीलाई सुझाव दिँदै कर्णालीमा औद्योगिक विकासका लागि कोही पनि एक्लाएक्लै अगाडि बढेर सम्भव नभएको र त्यसका लागि सरकारले के गर्नुपर्छ हातेमालो गर्न तयार रहेको बताए । ‘हामी गुणस्तरको सामान उत्पादन गर्न सक्छौँ, निरन्तर बजारमा आफ्नो उत्पादनलाई अब्बल साबित गर्न सक्छौँ कि सक्दैनौँ त्यो बुझे बिना नै जब काम गर्छौँ, तब हामीलाई समस्या आइपर्छ । तसर्थ सबै कुराको अध्ययन नगरी काम थाल्दा नोक्सान बाहेक केही हुँदैन,’ मुख्यमन्त्री शर्माले भने । उनले उद्योगीलाई गुणस्तरीय सामान उत्पादन गर्न सुझावसमेत दिए ।