काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न एनआईसी एशिया लघुवित्तले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ८ गते बसेको बैठकले छैठौँ वार्षिक साधारणसभा पुस ६ गते धरान सुनसरीमा बिहान ९ बजे बोलाएको हो ।
लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कर प्रयोजन सहित १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । संस्थापक समूहबाट एक जना सञ्चालक निर्वाचन गर्नेछ ।
लघुवित्तले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।