एनसेलद्वारा लघु चलचित्र प्रतियोगिताका विजेता पुरस्कृत
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहारको भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई पुरस्कृत गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहका बीच प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको एनसेलले जनाएको छ । सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ । प्रतियोगितामा सहभागिता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ–आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए । एनसेलका अनुसार मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको छ । प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको एनसेलले बताएको छ । एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरुका काम र प्रतिभालाई आम दर्शक सामु पुर्याउने अवसर प्राप्त गर्ने एनसेलको भनाइ छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विजेता सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्ने बताए । एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु आफूहरुको जिम्मेवारी भएको बताए । यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरुले दीदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्ने शर्त रहेको थियो । साथै ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गनुपर्ने शर्तहरु थिए ।
को हुन् पाकिस्तानका ती अर्बपति व्यापारी ? जसको जालमा इमरान खान फसे
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको खराब दिनको अन्त्य हुने छाँट देखिएको छैन । विशेष अदालतले गोप्य कागजात चुहावट प्रकरणमा इमरानविरुद्धको मुद्दा जेलमै चल्ने बताएको छ । अर्कातर्फ, नेसनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) को टोलीले अदियाला जेलमा इमरान खानलाई भेटेको थियो । यस क्रममा उनीमाथि अल-कादिर ट्रस्ट मुद्दामा लागेको आरोपबारे सोधपुछ गरिएको थियो । इमरान खान र उनकी श्रीमतीमाथि ५० अर्ब पाकिस्तानी रुपैयाँ (पीकेआर) वैध बनाउन बहरिया टाउन लिमिटेडबाट अर्बौं रुपैयाँ र सयौं बिघा जमिन अपचलन गरेको आरोप छ । यो सम्पूर्ण मामला अल कादिर विश्वविद्यालय निर्माणका लागि अवैधानिकरूपमा जग्गा अधिग्रहणसँग सम्बन्धित छ । यसमा बेलायतको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) मार्फत् घरजग्गा व्यवसायी रियाज मलिकविरुद्धको सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) मुद्दामा अवैधरूपमा कमाएको १४ करोड अमेरिकी डलरडलरको रिकभरी समावेश छ। पाकिस्तानका पूर्वप्रधानमन्त्रीमाथि मेलमिलाप सम्झौतासँग सम्बन्धित जानकारी लुकाएर मन्त्रिपरिषदलाई भ्रमित गरेको आरोप लागेको छ । सम्झौताअनुसार प्राप्त रकम राष्ट्रिय कोषमा जम्मा गर्नुपर्ने थियो । बेलायतको नेशनल क्राइम एजेन्सीले पाकिस्तानी व्यापारी रियाज मलिकबाट रकम बरामद गरेपछि उनलाई पाकिस्तान पठाएको थियो । ५७ बिघा जग्गा उपहारमा दिइयो त्यतिबेला खान प्रधानमन्त्री थिए र उनले यो रकम राष्ट्रिय कोषमा जम्मा गर्नुको सट्टा व्यापारीलाई सर्वोच्च अदालतले लगाएको ४ खर्ब ५० अर्ब रूपैयाँ जरिवानाको आंशिक भुक्तानीमा प्रयोग गर्न दिए । व्यापारी रियाज मलिकले पञ्जाबको झेलममा अल-कादिर विश्वविद्यालय स्थापना गर्न खान र उनकी पत्नी बुशरा बीबीले बनाएको ट्रस्टलाई ५७ एकड जमिन उपहार दिएका थिए। खानकी पत्नी बुशरा बीबी पनि मुद्दामा अभियुक्त छिन् । एनएबीले बुशरा बीबीलाई पठाएको यसअघिको नोटिसमा भनिएको छ, ‘यस अवैध र बेइमान पक्षको बदलामा ‘बाहरिया टाउन लिमिटेड’ले अल-कादिर युनिभर्सिटी ट्रस्टलाई पैसा हस्तान्तरण गरेको छ, जसको तपाईं (बुशरा बीबी) ट्रस्टीमध्ये एक हुनुहुन्छ । चन्दा, ४ सय ५८ कनल जग्गा, २८.५ करोड, भवन र अन्य प्रकारका सामग्री तथा आर्थिक लाभ प्रदान गरिएको थियो । तपाईंले बहरिया टाउनसँग चन्दाको स्वीकृतिमा हस्ताक्षर गर्नुभयो।’ को हुन् मलिक रियाज ? मलिक रियाजले अल-कादिर ट्रस्ट घोटालामा पक्राउ परेका इमरान खान र उनकी पत्नी बुशरा बीबीमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । उनले आफू प्रधानमन्त्री हुँदा इमरानले करोडौंको जमिन हडपाएको आरोप लगाएका थिए । ७० वर्षीय रियाज मलिक रियल इस्टेट कम्पनी ‘बबहरिया टाउन लिमिटेड’का संस्थापक तथा अध्यक्ष हुन् । यो कम्पनीको व्यापार पाकिस्तानभरि फैलिएको छ । कम्पनीको व्यापार पाकिस्ताना सबै प्रमुख सहर, कराँची, लाहोर, रावलपन्डी र इस्लामावादमा फैलिएको छ । मिडिया रिपोर्टका अनुसार रियाजसँग करिब १ खर्ब २५ अर्ब रुपैयाँ ९भारु० बराबर सम्पत्ति छ। घरजग्गाबाहेक उनको शिक्षा, आतिथ्य र स्वास्थ्य ढसेवाको व्यवसाय छ । उनले सन् १९८० को दशकमा ठेकेदारका रूपमा काम गर्न थालेका थिए । सन् १९९५ मा उनको निर्माण कम्पनी हुसेन ग्लोबलले पाकिस्तानी नौसेनासँग सम्झौता गरेको थियो । पाकिस्तानको राजनीतिक वृत्तमा पनि रियाजको राम्रो प्रभाव छ ।
पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो
बेनी । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ । भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुङ्गाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय रत्न जिसीले बताए । उनका अनुसार, बेनी नगरपालिका र काठेखोला गाउँपालिकासँगै प्रदेश सरकारको साझेदारीमा बेलढुङ्गा पुग्ने सडक, प्रवेशद्वार, पदमार्ग र भ्यू पोइन्टलगायतका पूर्वाधार निर्माण भएपछि यो क्षेत्र थप चर्चा आएको हो । समुद्री सतहदेखि दुई हजार सातसय मिटर उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सूर्योदय, दर्जन बढी हिमाल र ग्रामीणबस्ती जीवनशैली र भू–बनोटको अवलोकनका लागि आन्तरिक पर्यटकको आगमन उत्साहजनक रहेको भकिम्लीका स्थानीय पृथ्वीबहादुर पुनले बताए । यहाँबाट देखिने चुरेन, गुर्जा, धौलागिरि, मानामाथि, नीलगिरि साउथ, नीलगिरि नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे«, गङ्गापूर्ण, लमजुङ हिमाल, मनास्लुलगायतका हिमाललाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । बेलढुङ्गामा आउने पर्यटकलाई लक्षित गरेर बागलुङको ओखलेमा होमस्टे सञ्चालनमा रहेको छ भने भकिम्लीको मुसुङ र भुकभुकेमा समेत होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ । अहिले म्याग्दीकोे भकिम्ली र बागलुङको ओखले हुँदै दैनिकरुपमा सयौँ जना बेलढुङ्गाको भ्रमणमा पुग्ने गरेको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदमबहादुर पुनले बताए। उनले भकिम्लीको शिरमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र बेलढुङ्गाको एकीकृतरुपमा विकास र प्रचारप्रसार र प्रवद्र्धनमा जुटेको बताए । ‘पूर्वाधारले पर्यटक तानेको छ, यहाँ आएपछि पर्यटक मोहित बनेर फर्कने गरेका छन्, अब पर्यटकलाई यहाँ आएपछि खाना र बसोबासको सहज व्यवस्थापन मिलाउनेतर्फ हाम्रो ध्यान गएको छ, सडकलाई स्तरीकरण गर्ने र होमस्टे सञ्चालन गर्ने योजनालाई हामीले प्राथमिकतामा राखेका छाँै’, उनले भने । हिमाल अगाडि पहाडको थुम्कोमा रहेको एक सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँकारुपमा परिचित छ । समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रम प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्व बोकेको छ । यस क्षेत्रमा पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोगमा पदमार्ग, घेराबार, आश्रमस्थल मर्मत, भान्साघर निर्माण, प्रवेशद्वार निर्माणले चिटिक्क देखिएको छ । आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट सङ्कलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको छ । रासस
स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने
काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न स्वावलम्बन लघुवित्तले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकले २२औँ वार्षिक साधारणसभा पुस ४ गते बालुवाटार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५०५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । हाल लघुवित्तको जारी तथा चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँ रहेकोमा बोनस सेयर बाँडफाँटपश्चात् १ अर्ब ४५ करोड रुपैयाँ कायम हुने छ । लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सर्वसाधारण समूहबाट एक जना सञ्चालक निर्वाचन गर्नेछ । यस्तै, सभाले कुनै उपयुक्त संस्थासँग मर्जर गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ । लघुवित्तले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २१ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
भ्रमणको फाइदा उठाउँदै महासंघ, मंसिर १४ गते नेपाल–दुवई व्यवसायिक सम्मेलन
काठमाडौं । नेपाल–दुबई व्यवसायिक सम्मेलन मंसिर १४ गते हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा अरव इमिरेट्स(यूएई)को दुवईमा व्यवसायिक सम्मेलन हुने भएको हो । व्यवसायिक सम्मेलनमा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने छन् । व्यवसायिक सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोग एवं सहकार्यमा हुन लागेको हो । सम्मेलनमा दुवै देशका करिव १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने छ । सोसम्मेलनमा दुवै देशबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ । व्यवसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरुमा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यक्त गरे । सम्मेलनबाट उर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको छ । महासंघले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यवसायिक सम्मेलनको आयोजना गरिसकेको छ । महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अवुधाविमा आयोजना हुने जलवायु सम्बन्धी विश्व सम्मेलन कोप–२८ मा भाग लिने कार्यक्रम समेत रहेको छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
काठमाडौं । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । समितिका सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष, नेपाल पर्यटन बोर्डका प्रमुख, पोखरा पर्यटन परिषद्का अध्यक्ष, पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष रहेका छन् । त्यस्तै पर्यटन विज्ञद्वय डा.रामजी शर्मा र वासुुदेव त्रिपाठी, जिल्ला प्रशासन कार्यालय कास्की प्रतिनिधि, पर्यटक प्रहरी कास्कीका प्रमुख र नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष सदस्य रहेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशको प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख वा पर्यटन हेर्ने महाशाखा प्रमुखलाई सचिवको रुपमा काम गर्नेगरी जिम्मेवारी तोकिएको छ । यसअघि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्नेसम्बन्धी संक्षिप्त अवधारणापत्र तयार गरिएको थियो । अवधारणापत्र बमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको हो । पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधारको विकास तथा सेवाको गुणात्मकता वृद्वि गर्ने नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति गठन गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले प्रदेश सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेको उनको भनाइ छ । नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास तथा प्रचारप्रसार र विद्यमान पर्यटकीय पूर्वाधारहरुको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास र घोषणा गर्न विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिको कार्यक्षेत्र र अवधि तोकिएको छ । पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पूर्वाधारको पहिचान गर्ने, पर्यटकीय राजधानीको रुपमा विकास गर्नका लागि सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्नका लागि आवश्यक मापदण्डको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्ने प्रक्रिया पहिचान गर्ने, सङ्घ सरकारसँग समन्वय गर्ने, अध्ययन प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने गरी समितिको कार्यक्षेत्र तोकिएको छ ।
बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका हुन् । भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता खाणलाई फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए । “बालकृष्ण खाण यहाँको नेता हो, तपाईहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो, त्यसकारण तपाईहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो, तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ,” उनले भने । अदालतमा विचाराधीन रहेको कारण बोल्ने नहुने बताउँदै देउवाले तर पनि आफूलाई उनले न्याय पाउने विश्वास लागेको बताए । देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएको कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए । “अरुलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन, काठमाडौँमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहान्छु,” उनले भने ।
प्रधानमन्त्री प्रचण्ड आज दुबई जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) दुबई जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)मा सहभागी हुन बुधबार दुबई प्रस्थान गर्ने भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार बुधबार बेलुका ९ बजे फ्लाइटमार्फत् दुबई प्रस्थान गर्ने छन् । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । १३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ । उनले शुक्रबार सो सत्रलाई सम्बोधन गर्ने जनाइएको छ । यस्तै, संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटी अवार्ड समारोहमा पनि प्रचण्ड सहभागी हुनेछन् । शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले ‘कल अफ दी माउन्टेनस् हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनेछन् । प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । साथै, प्रधानमन्त्री प्रचण्डले नेपाली समुदायसँग छुट्टै अन्तक्र्रिया गर्ने छन् ।