विकासन्युज

टिकटक बन्द नगर्ने ५५ कम्पनीको लाइसेन्स खारेज गर्दै प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द भए नभएको जानकारी नगराउने ५५ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गर्नसक्ने चेतावनी दिएको छ । प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमतिपत्र खारेजी लगायतको कारबाही गर्ने चेतावनी दिएको हाे । यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप-निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने जानकारी दिए । गत कात्तिक २८ गते र मंसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उनले बताए । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ । हेर्नुहोस प्राधिकरणलाई टिकटक सञ्चालन भए नभएको जानकारी नगराउने कम्पनीहरु : [pdf id=448758]

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं ।  सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिँदै छ । नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र)बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाइँ र सिङबहादुर विश्वकर्मा, स्वतन्त्र डा खिमलाल देवकोटा तथा र मनोनित डा विमला पौड्यालको कार्यकाल सकिन लागेको हो । बैठकले जजारकोट केन्द्रबिन्दु भएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सुरक्षा निकायलाई परिचालित गर्ने निर्णय गरेको छ । प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको उनको भनाइ छ । जिल्लामा जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप जनशक्ति खटाउने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले नेपाल इञ्जिनीयरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णयसमेत गरेको छ ।

विद्युत् आपूर्ति नहुँदा सेयर कारोबार हुन सकेन, नेप्से भन्छ : समस्या समाधान गर्दैछौं

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेवसाइट खुलेको छैन । विद्युत आपूर्ति नहुँदा बिहानैदेखि बजार सञ्चालक नेप्सेको सिष्टम चल्न नसकेको हो । जसले गर्दा प्रि ओपन सेसनदेखि नै अहिले नियमित सत्रको सेयर कारोबार भएको छैन । विद्युत आपूर्तिमा समस्या देखिएपछि सिस्टम अवरुद्ध भएको स्रोतले जानकारी गराएको छ । जसको समाधानको लागि भने प्रयास भइरहेको ती अधिकारीले विकासन्युजसँग भने । ‘आज बिहानैदेखि विद्युत आपूर्तिमा समस्या देखिइरहेको छ, जसको समाधानको लागि अहिले प्राविधिक टोली खटिइरहेका छन्,’ उनले भने । यससँगै बुधबारको सेयर बजार नियमित समय भन्दा थप समयसम्म खेल्ने छ । हालको समस्या समाधान भएपछि बजार खुल्ने र रोकिएको समयावधि थपेर कारोबार सुचारु हुने समेत उनले जानकारी गराए ।

टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने  जानकारी दिए । गत कात्तिक २८ गते र मङसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उनले बताए । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सम्झौता

काठमाडौं । प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच समझदारी पत्रमा सम्झौता भएको छ । नोभेम्बर २८ मा एन्ट फाउन्डेसनको ‘नाे सेभ नाेबेम्बर-फेसन फर अ कज’, क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता जनाउँदै सो फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व कोष मार्फत आर्थिक सहयोग गरी सो क्याम्पेन बिचमा एकआपसमा सहकार्यको सम्झौता गरेका छन् । प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसनका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरी समझौतापत्र आदानप्रदान  गरे। सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्व हुने महिला दिदीबहिनीहरुबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्क बाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकमसाथै, सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशत बराबरको रकम फाउन्डेसनलाई महिला सशक्तिकरण तथा महिलामा हुने स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्व अन्तर्गत प्रभु क्यापिटलले सहयोग गर्ने जनाएको छ । महिलाहरुलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरुले न्यूनतम रु ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने क्यापिटलले उल्लेख गरेको छ । ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभु क्यापिटलले सञ्चालनमा ल्याएको यो ‘प्रभु ऐश्वर्या योजना’ तथा एन्ट फाउन्डेसन दुबैले महिलाहरुको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रित रही कार्यक्रम गर्ने हुदाँ दुबै संस्थाको उद्येश्यमा एकरुपता देखिएकाले यो सम्झौता गरेका हौं’, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले भने । प्रभु क्यापिटलले मर्चेन्ट सम्बन्धी सेवाका साथै साथै आफ्ना सेवा तथा एचयमगअत हरु संगै गाँसेर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आईरहेको छ । सिएसआर अन्तर्गत पूँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिमपनि प्रदान गर्दछ प्रभु क्यापिटलले प्रदान गर्ने सेवाहरु मध्ये पिएमएस लगानी व्यवस्थापन सेवा, लगानी विविधिकरणको राम्रो विकल्प मानिन्छ । क्यापिटलको लगानी व्यवस्थापन सेवा पिएमएसमा आवद्घ हुने ग्राहक तथा संस्थाहरुलाई विज्ञ परिचालन गरी ग्राहकको इन्भेष्टमेन्ट फण्ड वासञ्चालनमै रहेको पोर्टफोलियोलाई प्रभावकारी रुपमा पूँजी बजार तथा धितोपत्रको उपकरणमा लगानी गरी अधिकतम मुनाफा प्रदान गर्ने लक्ष्यका साथ सेवा दिने गर्दछ । एन्ट फाउन्डेसन एक स्वैच्छिक गैर नाफामुखी संस्था हो, जसले स्वास्थ्य, शिक्षा, वातावरण तथा क्यान्सर सचेतना अभियानमा सहयोग गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरी कोष सङ्कलन गर्दछ तथा सो कोषलाई फाउन्डेसनको उद्येश्य पूर्तिका लागि उपयोग गर्दछ । यसले क्यान्सर सचेतना अभियानमा नेपाल क्यान्सर रिलिफ सोसाइटी, नेपाल स्तन क्यान्सर फाउन्डेसन, क्यान्सर केयर नेपाल तथा नेपाल क्यान्सर सरभाइभर सोसाइटीसँग हातेमालो गरी हेल्थ क्याम्प तथा क्यान्सर सम्बन्धी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १६ सय र चाँदी २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य १५ सय २० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

बुद्धनगरबाट ‘रेल’ पुग्यो इमाडोल !

काठमाडौं । युएन पार्क वारि बुद्धनगर प्रवेश गरेको रेलले झन्डै दुई वर्षको यात्रा तय गरिसकेको छ । यसबीच ‘रेल स्टेसन’ आँगन अगाडिको बागमती र दायाँतिरको धोबी खोलामा धेरै पानी बगिसकेको छ । बुद्धनगरमै स्थापना भएको रेल अहिले कुदेर ललितपुर इमाडोल पुगेको छ, जहाँ अर्को स्टेसन खुलिसकेको छ । यो त्यस्तो रेल होइन, जुन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मेची-महाकाली गुटुङटुङ कुदाउने खालको चुच्चे रेल भनेजस्तो । बुद्धनगरको यो रेल चुच्चे त चुच्चे नै छ, तर यो यहाँबाट कुदेर जाँदैन, यहीँ बसिरहन्छ र पाहुनालाई डिब्बाभित्र आरामसँग बसाएर विभिन्न पेय र मिठा परिकारमात्र खुवाउँछ । हो, यसको नाम हो– रेल स्टेसन क्याफे । र, यो रेलका सञ्चालक हुन् सुदन बञ्जाडे, केशव पौडेल र जनक क्षेत्री । पश्चिम अर्घाखाँचीको बालसखाहरू १६ वर्षअघि एकै साल एसएलसी दिएपछि सिधै संघीय राजधानी काठमाडौं हुइँकिए । तर, रेलमा होइन, बस चढेर । ००० उनीहरू तीनैजना बाल्यकालदेखि नै एकदमै मिल्ने साथी हुन् । एसएलसीसम्मको पढाइ अर्घाखाँचीकै विद्यालयबाट पूरा गरे । त्यहाँबाट काठमाडौं आउँदा पनि उनीहरू सँगै आए । फरक–फरक स्वभाव र व्यवहार भएका यी तीनैजना साथी यहाँसम्म आइपुगेर सँगै व्यवसाय गर्नुलाई ठूलो उपलब्धि मान्छन् । विभिन्न निजी कम्पनीमा केही वर्ष काम गरेर अनुभव बटुलेपछि उनीहरूलाई ‘अब अर्काको जागिर होइन, आफ्नै व्यवसाय गर्नुपर्छ’ भन्ने आभाष मिल्यो । र, छलफल अनि बहस गर्दै जाँदा नयाँ आइडिया निकाले– रेल स्टेसन रेस्टुरेन्ट खोल्ने । राजधानी र सँगैको ललितपुरको सीमा नदी बागमती करिडोरमा कुनै व्यवसाय सञ्चालनका लागि ठाउँ पाउन मुस्किल नै हुन्छ । त्यहाँ उपयुक्त ठाउँ पाउन तीन सखाले राम्रै संघर्ष गर्नुपर्यो । त्यसपछि बल्ल उनीहरूले त्यहाँ क्याफे खोल्ने सौभाग्य पाए । २०७८ साल । कोरोना महामारीको दोस्रो ‘लकडाउन’ हुँदा देशको अर्थतन्त्र लगभग ‘ध्वस्त’ भइसकेको थियो । तर, ‘जहाँ इच्छा त्यहाँ उपाय’ र ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने लोकोक्ति आत्मसाथ गर्दै तीन साथीभाइले एकसाथ निर्णय गरे– रेल स्टेसन खोल्ने । उनीहरू तीनैजना फरक-फरक निजी कम्पनीमा जागिरे थिए । त्यसरी जागिर गरिरहँदा उनीहरूलाई आफ्नै केही व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने चाहिँ मनमा लागिरहन्थ्यो । सुदन जगदम्बा ग्रुप, केशव गोल्छा ग्रुप र जनक सिजी ग्रुपमा काम गरिरहेका थिए । त्यसपछि एकै ठाउँ भेला भएर व्यवसाय गर्ने योजना बुन्न थाले । ‘लकडाउन हुँदा मान्छेहरू घरभित्रै बस्दा–बस्दा एकदमै तनावग्रस्त भइसकेका थिए,’ विकासन्युजसँग जनक भन्छन्, ‘तिनै मान्छेहरूलाई लक्ष्यित गरी फरक खालको स्वाद र स्पेस दिन भनेर हामीले रेलको डिजाइन ग¥यौं ।’ ००० प्राइभेट सेक्टरका जब होल्डर भएका कारण उनीहरूलाई त्यो जागिर खासै सुरक्षित लागेन । प्राइभेट जबबाट जुनसुकै बेला बाहिर निस्किनुपर्ने अवस्था आउने भएकाले उनीहरूलाई आफ्नै व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक थियो । कोरोना काल भएकाले ड्युटी पूरा समय गरे पनि तलब भने आधामात्रै आइरहेको थियो । अब विदेश नै जाने योजना बनाए पनि पूरै जिन्दगी उतै बित्छ, राम्रो काम नै पाइन्छ र टन्नै पैसा कमाइन्छ भन्ने कुनै ग्यारेन्टी नभएकाले तत्काल विदेश जाने योजना पनि बनाउन सकेनन् । त्यसपछि उनीहरूले रेस्टुरेन्ट सञ्चालन गर्नकै लागि व्यापक अध्ययन गर्न थाले । सुरुमा उनीहरूले काठमाडौं उपत्यकाका ९० प्रतिशत होटल तथा रेस्टुरेन्ट घुमेर त्यहाँका खानाका परिकार, स्वाद, सेवा, ग्राहक आवागमनलगायत विषय अध्ययन गरे । त्यसमाथि उनीहरू रेस्टुरेन्ट पारखी भएका कारण पहिला पनि घुमिरहेकै हुन्थे । उनीहरूले रेस्टुरेन्ट सुरु गर्ने बेला धेरैले यो व्यवसाय डुब्ने भएकाले यसमा हात नहाल्न भनेर सुझाएका पनि थिए । तीनैजना साथी एकअर्कामा विश्वस्त भएकै कारण लगानी जुटाएर रेस्टुरेन्टको काम गर्न थाले । रेस्टुरेन्ट आफैंले डिजाइन गर्न सके ग्राहक तान्न सकिन्थ्यो कि भनेर उनीहरूले रेलको डिजाइन बनाए । ‘उपत्यकामा खाना–खाजा खानकै लागि अनेक डिजाइनका रेस्टुरेन्टहरू उपलब्ध छन्,’ जनक भन्छन्, ‘कन्सेप्ट क्रिएट गर्दा गर्दै रेलका कन्सेप्ट आयो । नेपालमा पनि रेल आउनुपर्छ भन्ने चाहना पनि सबैको छ । त्यही कुरा मध्यनजर गर्दै हामीले रेलको डिजाइन लिएर आयौं ।’ ९० लाखसम्म लगानी उनीहरूले सुरुमा रेल स्टेसन बनाउन ८० देखि ९० लाख रुपैयाँ लगानी गरे । पछि अरू कुराहरू थप्दै जाँदा लगानी बढेर १ करोड रुपैयाँहाराहारी पुगेको जनक बताउँछन् । महामारीका बेला सधैं यस्तै रहिरहन्न भन्ने कुरामा उनीहरू लगभग ढुक्क थिए । ‘हिजोका दिनमा भूकम्प आउँदा पनि त्यसको सामना गर्यौं,’ उनी भन्छन्, ‘विपत्ति सामना गर्दै जाने हो र आफ्नो काम पनि गर्दै जाने हो । अब परिणाम जे हुन्छ, त्यसलाई स्वीकार्ने भनेर नै लगानी गरियो ।’ ००० रेस्टुरेन्ट सुरु गर्दा उनीहरूसँग त्यस्तो भरपुर आइडिया खासै थिएन पनि । सुरुमा उनीहरूले खाना बनाउनका लागि सेफ राखे । सेफ उनीहरूले द्वारिकाज होटलबाट ल्याएका थिए । अहिले रेल स्टेसनमा एकजना सेफ र तीनजना कुक छन् । रेल स्टेसनले अहिले २८ जनालाई रोजगारी दिएको छ । बुद्धनगरको रेल स्टेसनमा १८ कामदार छन् भने उता इमाडोलको अर्को स्टेसनमा १० जना । ००० बागमती नदी करिडोडरमा अनेक ठूला रेस्टुरेन्ट लहरै देख्न सकिन्छ । तिनै रेस्टुरेन्टहरूसँग रेल स्टेसनले सिधा प्रतिस्पर्धा गरिरहेको छ । ‘मार्केटमा प्रतिस्पर्धा त हुन्छ नै,’ जनक थप्छन्, ‘आफूले दिने भनेको टेस्ट र सर्भिस हो । हामी आफूले सकेको गरेका छौं । प्रतिस्पर्धालाई सामान्य लिएका छौं ।’ रेल स्टेसनमा ‘रेल चढ्न’ अर्थात ग्राहक खान जानैपर्ने त्यस्तो के विशेषता छ ? जनक हौसिँदै भन्छन्, ‘एक त हाम्रोमा रेलको कन्सेप्ट युनिक छ । हामीले सबैले अफोर्ड गर्न सक्ने फुड प्राइस राखेका छौं । १५० देखि १६० मा चिकेन मोमो खान पाइन्छ । रेलको डिब्बाभित्र बसेर ४० रुपैयाँमा कटिङ चिया पिउनुको मजै बेग्लै छ ।’ ००० एकपटक आएर सेवा लिएका ग्राहक नियमित आइरहेको अनुभव तीनैजनासँग छ । ‘हामीबाट कुनै गल्ती भयो या कमी भयो भने ग्राहकले त्यही बेला नै हामीलाई सुझाव दिनुहुन्छ,’ उनी भन्छन्, ‘हामीले आफ्ना कमी कमजोरी सुधार गर्दै यहाँसम्म आइपुगेका हौं ।’ हाल रेल स्टेसनमा दैनिक २ सयदेखि ३ सयसम्म ग्राहक आउने गर्छन् । ‘हाम्रो रेस्टुरेन्टमा ९२ वटा टेबुल लाग्छ । कुनै टेबुलमा चारजना पनि बस्नुहुन्छ, कुनैमा दुईजना,’ उनी भन्छन्, ‘चियामात्रै खाने भए पनि वा अन्य खानेकुरा खाने भए पनि ग्राहक भनेको ग्राहक हो । हाम्रा लागि सबै महत्वपूर्ण हुनुहुन्छ ।’ रेल स्टेसनले वार्षिक २ करोड रुपैयाँसम्मको कारोबार गर्ने गरेको जनक बताउँछन् । ‘ग्राहक हाम्रा लागि भगवानजस्तै हुनुहुन्छ । हामीले ग्राहक आकर्षित गर्नका लागि विभिन्न स्किम पनि ल्याउने गरेका छौं,’ उनी भन्छन्, ‘पुराना  र नयाँ ग्राहक दुवैका लागि विशेष  छुटकाे व्यवस्था छ ।’ ००० नेपालमा पनि रेल आओस् भन्ने सन्देश दिनका लागि रेस्टुरेन्टलाई रेलको डिजाइनअनुसार बनाएको उनी बताउँछन् । रेल स्टेसनले ललितपुर इमाडोलमा पनि आफ्नो नयाँ शाखा स्टेसन विस्तार गरेको छ । ‘ललितपुर क्षेत्रका रेल स्टेसन पारखीले सहजै खाना तथा खाजाको स्वाद लिन पाउनुहुने छ,’ जनक थप्छन्, ‘फ्रान्चाइज मोडेलमा आधारित यो इमाडोल शाखा, काठमाडौं उपत्यकाको दोसो शाखा हो । दक्ष युवालाई उद्यमी बन्न प्रेरित गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले रेस्टुरेन्ट विस्तार गरेका हौं ।’ इमाडोलमा शाखा विस्तार गर्नका लागि डेढ करोड रुपैयाँ खर्च गरेको जनक खुसीसाथ सुनाउँछन् । ‘त्यहाँ रेलको सर्भिस भने छैन,’ उनी भन्छन्, ‘अहिलेको रेस्टुरेन्ट माथिल्लो तलामा भएकाले रेलको कन्सेप्ट दिन सकिएन । फोटोमात्रै भए पनि टाँसेका छौं । त्यहाँ पनि हाम्रा ग्राहकको मन जित्न सक्नेमा हामी विश्वस्त छौं ।’ रेस्टुरेन्ट क्षेत्रमा लामो समय टिकिराख्न ग्राहकलाई नै सन्तुष्ट बनाउनुपर्ने जनक बताउँछन् । रेल स्टेसनमा काम गर्ने अधिकांश कलेज पढ्ने विद्यार्थी छन् । नेपालका हकमा रेस्टुरेन्ट व्यवसायमा कामदार टिकाइराख्न पनि अहिलेको अवस्थामा गाह्रो नै रहेको तीनैजना साथीको अनुभव छ । ‘सबैभन्दा पहिलो कुरा भनेको उनीहरूलाई नियमित तलब दिन सक्नुपर्छ,’ जनक भन्छन्, ‘अब हामीले दिन सक्ने तलबले मात्रै पनि उनीहरूको खर्च नचल्ने हुनाले अहिलेका युवापुस्ता वैदेशिक रोजगारीकै लागि हानिन्छन् ।’ अहिले रेल स्टेसन सञ्चालनमा आएको तीन वर्ष लाग्यो । साझेदारीमा लगानी गरेर सञ्चालनमा ल्याइएको व्यवसाय जोगाउन पनि चुनौतीपूर्ण नै छ । पहिला मिलेर काम गर्ने र पछि छुट्टिने उदाहरण पनि थुप्रै छन् । तर, ‘पार्टनसिप’ मा काम गर्नका लागि एकअर्कालाई विश्वास गर्नु महत्वपूर्ण रहेको जनक बताउँछन् । ‘एकअर्काका कुरा सुन्नुपर्याे, बुझ्नुपर्यो,’ उनी भन्छन्, ‘पार्टनरसिप व्यवसायमा साथीबीच पनि खटपट त भइरहेकै हुन्छ । तर, त्यसलाई कसरी समाधान गर्ने भन्ने कुराले पनि महत्व राख्छ । व्यवसाय टिकाइराख्न कुनै न कुनै कुरामा सबैले एडजस्ट पनि गर्नुपर्छ ।’ अब भने रेल स्टेसनको तेस्रो शाखा विस्तार गर्ने योजना तीनैजना मिलेर बनाइरहेका छन् । तेस्रो रेल स्टेसन बुटवलमा सञ्चालन गर्ने योजना भइरहेको जनक बताउँछन् । अहिले तत्कालै विस्तार गर्न आर्थिक मन्दीले सम्भव नभएको उनको भनाइ छ । ‘आर्थिक अवस्था पूर्णरूपमा सुचारु भएपछि बुटवलमा काम सुरु गर्ने योजना छ । त्यसका लागि एक–डेढ वर्ष पक्कै लाग्नेछ,’ उनी उत्साहित हुँदै भन्छन् ।

सफ्टवेरिका कलेजको नयाँ आईटी कार्यक्रम : बीएससी कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा ‘बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषय पठनपाठन गर्ने भएको हो । तीन वर्षे तथा ३६० क्रेडिट आवरको यो शैक्षिक कार्यक्रम यसै शैक्षिक सत्रबाट अध्यापन सुरु हुने छ । कार्यक्रमको पाठ्यक्रममा आधारभूत कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञतालाई एकीकृत गरिएको छ । जसले गर्दा कार्यक्रममा भर्ना हुने विद्यार्थीले अहिले चर्चामा रहेको एआईको क्षेत्रमा विज्ञता हासिल गर्न सक्ने कलेजले जनाएको छ । ‘अहिले द्रुत गतिमा विकास भइरहेको एआई क्षेत्रको विशेषज्ञ हुन आवश्यक पर्ने व्यावहारिक सीप र सैद्धान्तिक ज्ञान यसमा कार्यक्रममा समावेश छ,’ शैक्षिक कार्यक्रमबारे कलेज प्रमुख प्रमोद पौडेलले भन्छन्, ‘विद्यार्थीले एआई, मसिन लर्निङ, प्यारारल प्रोग्रामिङ र डेटा विज्ञान कसरी जोडिएका छन् र तिनीहरूले कम्प्युटर विज्ञानलाई कसरी परिवर्तन गर्दैछन् भन्ने विषय पढ्ने छन् । समग्रमा कम्प्युटर विज्ञानसँगै एआईमा विज्ञता हासिल गराउने शैक्षिक कार्यक्रम हो यो ।’ यसका लागि कार्यक्रममा प्रोग्रामिङ एन्ड एल्गोरिदम, सफ्टवेयर डिजाइन, कम्प्युटर आर्किटेक्चर एन्ड नेटवर्क, क्रियटिभ थिङ्किङ फोर बिजिनेस, इन्ड्रोडक्सन टू आर्टिफिसियल इन्टेलिजेन्स, सफ्टवेयर इन्जिनियरिङ, एड्भान्स एल्गोरिदम, अपरेटिङ सिस्टम एन्ड सेक्युरिटी, मसिन लर्निङ एन्ड रिलेटेड एप्लिकेशन, डिजाइन थिङ्किङ एन्ड इनोभेसन लगायतका विषय राखिएका छन् । कलेजका अनुसार यी विषयहरू लेक्चर, सेमिनार, प्रयोगशाला, कार्यशाला, अनलाइन, समूह जस्ता विभिन्न विधि तथा माध्यमबाट पठनपाठन हुने छ । यस कार्यक्रममा भर्ना हुन कक्षा ११/१२ मा न्यूनतम २.० जीपीए अथवा ए लेभलमा भए ३.५ क्रेडिट ल्याएको हुन पर्ने छ । वर्षमा स्प्रिङ र अटम गरी दुई इन्टेकमा भर्ना खुला हुने यो कार्यक्रममा विज्ञान, व्यवस्थापन वा मानविकी समूहका विद्यार्थी भर्ना हुन सक्ने छन् । कार्यक्रम अध्ययन पछि विद्यार्थीहरूले एआई सफ्टवेयर डेभलपर, डेटा साइन्टिस्ट, सफ्टवेयर इन्जिनियर, सिस्टम आर्किटेक्ट, एआई रिसर्चर, प्रोजेक्ट म्यानेजर, डेटा इन्जिनियर आदि बन्न सक्ने छन् । कलेजले यो कार्यक्रमको शुल्क १२ लाख ३१ हजार रुपैयाँ तोकेको छ ।