विकासन्युज

सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै, कात्तिक २० गते निष्काशन

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ४ वर्षका लागि १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र-२०८६’ बिक्री गर्न लागेको हो । कार्यालयले कात्तिक १९ गते बोलकबोल मार्फत बिक्री गरी कात्तिक २० गते निष्काशन गर्ने जनाएको छ ।  इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्ने छन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।

गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, कतिमा हुनेछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो । बैंकको ६ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ३९३.४० रुपैयाँ कायम भएको छ । समायोजित मूल्यमा आज मंगलबार सेयर कारोबार खुल्नेछ । नेप्सेले सोमबारको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ४१७ मा अन्तिम कारोबार भएको थियो । बैंकले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ ।

बङ्गलादेशमा ८० वर्षीया पूर्वप्रधानमन्त्री जिया ३ ठाउँबाट चुनाव लड्ने

काठमाडौं । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने बताएकी छिन् । दशकौँदेखि देशको अशान्त शक्ति सङ्घर्षमा एक प्रभावशाली व्यक्तित्व रहँदै आएकी ८० वर्षीया जियालाई उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ।  उनको सहभागिताको घोषणा बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले गरेका हुन् भने उनले देशका ३ निर्वाचन क्षेत्रमा चुनाव लड्ने बताइएको छ।  सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी सम्झौताहीन नेतृको स्वास्थ्य निकै कमजोर रहेको छ ।  ३ पटक बङ्गलादेशको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष रिहा भएकी थिइन् ।  उनका छोरा ५९ वर्षीय तारिक रहमान (तारिक जिया) पनि सन् २००८ देखि बेलायतमा रहँदै आएका छन् । हसिनाको पतनपछि रहमानलाई उनी विरुद्धको सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरिएको छ। हसिनाको र्‍यालीमा सन् २००४ मा भएको ग्रिनेड आक्रमणको आरोपमा उनलाई उनको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो । दशकौँदेखि बङ्गलादेशको राजनीति जिया र हसिनाबीचको कटु प्रतिद्वन्द्विताले परिभाषित गर्दै आएको छ, जसलाई ’ब्याटल अफ द बेगम्स’ भनिन्छ ।   सन् १९७५ मा हसिनाका पिता, स्वतन्त्रता नेता शेख मुजिबुर रहमान र उहाँको परिवारका अधिकांश सदस्यको ‘कू’ मा भएको हत्यापछि यो प्रतिद्वन्द्विता देखिन थालेको हो ।  मुजिबुर रहमानको हत्याको तीन महिनापछि जियाका श्रीमान् तत्कालीन उपसेना प्रमुख जियाउर रहमानले सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । उनी सन् १९७७ मा राष्ट्रपति बनेका थिए । उनलाई पनि सन् १९८१ मा हत्या गरिएको थियो । त्यसबेला २ सन्तानकी आमा रहेकी ३५ वर्षीया जियाले बीएनपीको नेतृत्व विरासतमा पाएकी थिइन् । सुरुमा सिकारु राजनीतिक नेताका रूपमा नेतृत्वमा आएकी जिया पछि हसिनाको एक शक्तिशाली प्रतिद्वन्द्वी साबित बनेकी थिइन् । उनले सैनिक तानाशाह हुसेन मुहम्मद इर्सादको बिरूद्ध आन्दोलनको नेतृत्व गर्दै सन् १९९० मा हसिनासँग मिलेर इर्सादलाई अपदस्थ गरेकी थिइन् । त्यसपछि, अर्को डेढ दशकसम्म दुई महिलाहरू पालैपालो सत्तामा रहेका थिए ।

११ राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन, अन्तरिम आदेश छल्न नयाँ पत्राचार

काठमाडौं । सरकारले ११ देशका नेपाली राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै कामकाज गर्ने गरी फिर्ता बोलाउन पत्राचार गरेको छ । सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले सोमबार पत्र पठाउँदै उनीहरूलाई फर्कन पत्राचार गरेको मन्त्रालयले जनाएको छ ।  सबै राजदूतहरूलाई मन्त्रालयमै बोलाउन सोमबार पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएका ११ राजदूतहरूलाई यही कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले आइतबार निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

जेनजी आन्दोलनमा ७२ भन्दा बढीको मृत्यु, ४५ जना मात्रै सहिद घोषणा (नामावली सहित)

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरेको हो । सो आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो । सरकारले यसअघि जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ । सरकारले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ का बुद्धिबहादुर तामाङ र काठमाडौँ महानगरपालिका-११ का ईस्वतबहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका-४ का सन्तोष विश्वकर्मा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ का सुलभराज श्रेष्ठ र आयुष थापा, मोरङको बेलबारी नगरपालिका-११ का श्रीयम चौलागाईँ, कैलालीको धनगढी उपमहानगरपालिका-५ का गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ का योगबहादुर श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका-८ का उमेश महतलाई सहिद घोषणा गरेको हो ।  यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका-१२ का असहाव आलम ठकुराई, बागलुङको बालगुङ नगरपालिका-४ का सौरनकिशोर श्रेष्ठ, बझाङको खप्तडछान्ना गाउँपालिका-७ का सुभाषकुमार बोहरा र दुर्गाथली गाउँपालिका-१ का भीमराज धामी, काभ्रेपालञ्चोकको पनौती नगरपालिका-१० का रसिक खतिवडा खत्री र तेमाल गाउँपालिका-७ का दिलनारायण तामाङ, ललितपुरको ललितपुर महानगरपालिका-७ का विनोद महर्जन, सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ का योगेन्द्र न्यौपाने, दुधौली नगरपालिका-८ का मिलन राय र तीनपाटन गाउँपालिका-६ का दिपेश सुनुवार पनि सहिद घोषित भएका छन् । सरकारले धनकुटाको पाख्रिबास नगरपालिका-२ का छत्रमान कुथुमी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-२ का ओझन बुढा, उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का सारकुमार राई, नुवाकोटको ककनी गाउँपालिका-१ का शभराज बलामी श्रेष्ठ, पञ्चकन्या गाउँपालिका-२ का लच्छुमान राई र तादी गाउँपालिका-३ का धिरज श्रेष्ठ, सर्लाहीको लालबन्दी नगरपालिका-५ देवकुमार सुवेदी, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-३ का प्रविण कुलुङ, चितवनको कालिका नगरपालिका-८ का निखिता गौतम, दोलखाको शैलुङ गाउँपालिका-४ का अभिषेक चौलागाईँ र विगु गाउँपालिका-३ का महेश बुढाथोकी, सिरहाको लहान नगरपालिका-१५ का विजय चौधरी तथा बैतडीको दशरथ नगरपालिका-६ का निरज पन्त र शिवनाथ गाउँपालिका-२ का दीपकसिंह साउदलाई सहिद घोषणा गरेको हो ।  त्यसैगरी, सुनसरीको इनरुवा नगरपालिका-६ का अभिषेक श्रेष्ठ, धरान उपमहानगरपालिका-२२ का साजन राई र इटहरी उपमहानगरपालिका-१४ कमा मोहन सरदार, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-४ का माधव सारु मगर र गोरखाको बारपाक सुलिकोट गाउँपालिका-५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका-४ का अर्जुन भट्ट र पालुङटार नगरपालिका-२ का अनिश पराजुली, झापाको अर्जुनधारा नगरपालिका-११ ज्ञानिन्द्र सेढाईँ र वडा नं ८ का दिनेश राजवंशी, पाँचथरको हिलिहाङ गाउँपालिका-२ का कमल भण्डारी, कास्कीको रुपा गाउँपालिका-५ का अमृत गुरुङ र दार्चुलाको लेकाम गाउँपालिका-३ का उत्तम थापालाई सहिद घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ । 

नवलपरासीको दाउन्ने खण्ड सडक २ महिनासम्म एकतर्फी मात्र सञ्चालन हुने

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड २ महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ । नारायणघाट-बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले सोमबार सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले सो कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार यस खण्डमा कल्भर्ट निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण भइरहेकाले दुईतर्फी सवारी सञ्चालन गर्दा काम प्रभावित हुने भएकाले एकतर्फी मात्र सञ्चालन गर्न लागिएको हो । आयोजना निर्देशनालयका अनुसार आगामी पुस १५ गतेसम्मका लागि दाउन्ने सडक खण्ड एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो । दाउन्नेमा विगत केही दिनदेखि यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । केही दिनअघिको झरीका कारण सडक चिप्लो र हिलो हुँदा उकालोमा सवारी उक्लिन नसकेर यातायात सञ्चालनमा समस्या हुँदै आएको प्रहरी उपरीक्षक खड्काले बताए ।  अझै पनि उक्त खण्डमा सहज रूपमा यातायात सञ्चालनमा समस्या हुँदै आएको भन्दै उनले आगामी दिनमा पानी पर्ने बित्तिकै समस्या सिर्जना हुने अवस्था रहेकाले आयोजनाले कल्भर्ट निर्माण अवधिसम्म एकतर्फी सडक सञ्चालन गर्ने उनले जानकारी दिए । दाउन्ने खण्ड प्रयोग गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरी उपरीक्षक खड्काले सबैलाई अनुरोध गरे । सडकको अवस्था बुझेर अवरोध भएका खण्डमा वैकल्पिक बाटो प्रयोग गर्न उनले यात्रुलाई अनुरोध गरे । दाउन्ने खण्डमा सधैँ जसो सवारीको जाम लाग्ने गरेकामा एकतर्फी हुँदा थप समस्या हुने यात्रुको गुनासो छ । यथाशीघ्र काम सम्पन्न गरी सडक सहज बनाउन लाग्नुपर्ने यात्रुको सुझाव छ ।  सडक अवरोध भएको अवस्थामा सवारी साधन नारायणगढ-मुग्लिङ-पोखरा-स्याङ्जा-पाल्पा-बुटवल वा गैँडाकोट कालीगण्डकी चोक-रामपुर-पीपलडाँडा-पाल्पा-बुटवल तथा मोटरसाइकल तथा साना चारपाङ्ग्रे सवारीले दुम्किबास-डाँडाजोर-डमार हुँदै भुताहाको मार्ग प्रयोग गर्नसक्ने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।  नारायणगढ-बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ । अन्य क्षेत्रमा सडक विस्तारको काममा प्रगति भए पनि दाउन्ने क्षेत्रमा पहाड काट्ने, नाला तथा कल्भर्ट निर्माणमा ढिलासुस्ती हुँदा आवागमन समस्या हुनुका साथै यात्रुले सास्ती खेप्दै आएका छन् ।

मष्टा ग्रुपका जीवन चलाउने विरुद्ध मुद्दा दायर, २ अर्ब रुपैयाँ बिगो दाबी

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउने विरुद्ध मुद्दा दायर गरेको छ । विभागले जिल्ला अदालत काठमाडौंमा सो कम्पनीका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको हो । चलाउनेले २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ । अभियोगमा खरिदको कूल मूल्य समेत गर्दा हुन आउने कूल रकम १ अर्ब ४५ करोड ५४ लाख ३ हजार ९४८ रुपैयाँ तथा अवैध तरिकाले आयात गरेको सुन ६० किलो ७१६ ग्रामको तत्कालीन मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँका दरले हुन आउने ५८ करोड ५६ लाख ९ हजार ५६८ रुपैयाँ रहेको छ । विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा ३ करोड ५२ लाख गरी कूल २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । 

पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो छ आजको मौसम

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा बाँकी पहाडी भागका एक/दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।