काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । चैत्र मसान्तसम्ममा १५ फाइनान्स कम्पनीहरूले ७० करोड ४० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७३.१८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरूले १८ करोड ८६ लाख ५९ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेका थिए ।
९ महिनाको अवधिमा १५ फाइनान्स कम्पनीमध्ये १२ कम्पनीले नाफा आर्जन गरेका छन् भने बाँकी तीन कम्पनीले घाटा बेहोरेका छन् । प्रोगेसिभ फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सले घाटा बेहोरेका हुन् ।
प्रोग्रेसिभ फाइनान्सले ९ महिनाको अवधिमा २ करोड ४७ लाख ४३ हजार रुपैयाँको घाटा बेहोरेको छ । गत आवको यही अवधिमा कम्पनीले ९ करोड ४ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
जानकी फाइनान्सले तेस्रो त्रैमाससम्ममा २ करोड ९० लाख ८९ हजार रुपैयाँ घाटा बेहोरेको छ । उक्त कम्पनीले गत आवको सोही अवधिमा पनि घाटा नै बेहोरेको थियो । गत आवको चैत्र मसान्तसम्ममा कम्पनीले १२ करोड ८३ लाख २५ हजार रुपैयाँ घाटा बेहोरेको थियो ।
त्यस्तै, नेपाल फाइनान्सले ७ करोड ८६ लाख २५ हजार रुपैयाँ घाटा बेहोरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
९ महिनाको अवधिसम्म सबैभन्दा बढी मन्जुश्री फाइनान्सले नाफा कमाएको छ । उक्त कम्पनीले चैत्र मसान्तसम्ममा २१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा २७.९३ प्रतिशत बढी हो । गत आवमा कम्पनीले १७ करोड ११ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा गुडविल फाइनान्स रहेको छ । कम्पनीले गत आवको तुलनामा ५६५.७२ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले गत आवमा १ करोड ५२ लाख २२ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवको ९ महिनामा १० करोड १३ लाख रुपैयाँ नाफा कमाएको हो ।
दोस्रो धेरै नाफा आर्जन गर्नेमा गुर्खाज फाइनान्सले १२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त कम्पनी गत आवमा ६ करोड २१ लाख रुपैयाँले घाटामा थियो।
त्यस्तै, चैत्र मसान्तसम्ममा पोखरा फाइनान्सले ७ करोड ३० लाख रुपैयाँ, वेस्ट फाइनान्सले ५ करोड ८७ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंकले ४ करोड ५५ लाख रुपैयाँ, रिलायन्स फाइनान्सले ५ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
त्यसैगरी, सेन्ट्रल फाइनान्सले ३ करोड ६९ लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २ करोड ५३ लाख रुपैयाँ, मल्टीपर्पोज फाइनान्सले ५३ लाख रुपैयाँ र समृद्धि फाइनान्सले ७ लाख रुपैयाँ बरारबको नाफा कमाएका छन् ।
