‘महामन्त्रीद्वय महिनामा ३ दिनमात्रै कार्यालय आइ काम गरेको भए महाधिवेशनको मिति तय भइसक्थ्यो’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रको महाधिवेशन ढिलाइ र संगठनात्मक असन्तुलनप्रति तीव्र असन्तोष व्यक्त गर्दै पदाधिकारीहरूले आफ्नो जिम्मेवारीप्रति बेवास्ता गरेको आरोप लगाएका छन् । उनले पार्टीको प्रजातान्त्रिक चरित्र जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । महरका अनुसार कांग्रेसको आगामी महाधिवेशन समयमै हुन नसक्नुको मुख्य कारण पदाधिकारीहरूको निष्क्रियता हो । ‘महामन्त्रीहरूले क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी लिएका भए पनि अहिलेसम्म केवल तीन जिल्लाको मात्र सदस्यता अन्तिम रूपमा प्रमाणित भएको छ,’ उनले भने। महरका अनुसार पार्टीका महामन्त्रीहरू नियमित रूपमा कार्यालयमा उपस्थित नभएकाले संगठनात्मक काम अघि बढ्न नसकेको हो । उनले पार्टीभित्र अहिले व्यक्तिगत शक्ति प्रदर्शन बढेको र संस्थागत संस्कृतिमा विचलन आएको बताए । महाधिवेशनको सबैभन्दा ठुलो काम सदस्यता नवीकरण र वितरण भएको तर त्यसको जिम्मा लिनुपर्ने महामन्त्रीहरूले वैज्ञानिकरूपमा काम नगरेको महरको आरोप छ । ‘जब पदाधिकारीहरू जिम्मेवारीभन्दा प्रचारमा बढी ध्यान दिन्छन्, त्यो संस्थागत असन्तुलन हो,’ उनले भने । तर महर बहस र विवादलाई सकारात्मक रूपमा हेर्नपर्नेमा जोड दिन्छन् । ‘कांग्रेसमा विचारका आधारमा विवाद हुनु प्रजातान्त्रिक संस्कृतिको हिस्सा हो, व्यक्ति–केन्द्रित विवाद होइन,’ उनले भने । पार्टीभित्र असन्तोष फैलाएको आरोपसम्बन्धी प्रश्नमा महरले भने, ‘म आलोचना गर्छु भने त्यो पार्टीविरुद्ध होइन, पार्टीकै सुधारका लागि हो । गल्ती औंल्याउनेलाई असन्तोषी भन्ने परम्परा गलत हो ।’ ‘कांग्रेसको आत्मा नै प्रजातन्त्र हो । यदि हामी आफ्नै पार्टीभित्र पारदर्शिता र जवाफदेहिता कायम गर्न सक्दैनौं भने जनतामा त्यो सन्देश कसरी पुर्याउन सक्छौं त,’ उनले प्रश्न गरे । जनताले दलप्रतिको विश्वास गुमाउँदै गएको प्रसङ्गमा उनी भन्छन्, विश्वास पुनःस्थापना गर्ने एक मात्र उपाय व्यवहारिक सुधार हो । कांग्रेसले जनताको मुद्दामा केन्द्रित ठोस कार्यक्रम ल्याउनुपर्छ ।’ तपाईंहरू गुटको बैठक गर्दै हिँड्ने अनि अरूलाई दोष दिन मिल्छ भन्ने विकासन्युजको जिज्ञासामा महरले भने, ‘पदाधिकारीहरूले अहिलेसम्म महाधिवेशनको कार्यतालिका ल्याउन नसकेपछि समयमै महाधिवेशन गर्नका लागि हामीले घचघचाएका मात्रै हौं ।’
विद्युतीय चार्जिङ स्टेशनको नीति चाँडै परिमार्जन हुन्छ : ऊर्जामन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनको पोलिसी चाँडै परिमार्जन हुने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री घिसिङले विद्युतीकरणको दायरालाई फराकिलो बनाउने गरी सरकारले यातायाता, खाना पकाउने लगायतको काममा विद्युत खपतमा जोड दिने नीति लिएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउने काममा सो केन्द्रलाई विशेष ध्यान दिन पनि निर्देशन दिए । विन्ड इनर्जीको क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए । विन्ड इनर्जीको क्षेत्र पनि नेपालको सम्भावनाको क्षेत्र भएकाले यस क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने मन्त्री घिसिङको योजना थियो । उनले भने, ‘यो इनर्जी ईफिसेन्सीलाई इफेक्टिभ रुपमा कसरी अगाडि बढाउनुपर्छ भनेर एकदमै यसको कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । त्यस्तै गरेर इनर्जी ट्रान्जिक्सन विषय अहिले चार्जिङ स्टेशन ट्रान्सपोर्टेशनलाई इलेक्ट्रिफिकेशन गर्ने, कुकिङलाई इलेक्ट्रिीफिकेशेन गर्ने भनेर अहिले गाउँगाउँमा जुन ग्रिड पुगेको छ । यसलाई प्रयोग गरेर इन्डक्शन कुकिङहरुमा जाने भनेर हामी लागि राखेका छौ ।’ त्यस अवसरमा मन्त्री घिसिङले नेपालको ऊर्जा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै जर्मन सरकारप्रति पनि आभार व्यक्त गरेका थिए ।
राष्ट्र बैंकमा एकैपटक ११ जना ईडीको सरुवा, कसलाई कहाँ पठाइयो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकारी निर्देशक (ईडी)हरूको सरुवा गरेका छन् । गभर्नर डा.पौडेलले एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय विभाग प्रमुख रहेका रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुखमा सरुवा गरेको छ । सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुख रहेका रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा सरुवा गरिएको छ । यसअघि बैंकिङ विभाग प्रमुख रहेका डा. डिल्लीराम पोख्रेललाई भने मौद्रिक व्यवस्थापन विभागको प्रमुखमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ । साथै, मौद्रिक व्यवस्थापन विभाग प्रमुख रहेका दयाराम शर्मालाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ । गभर्नर कार्यालयमा रहेका राजन विक्रम थापालाई भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ । यसअघि संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको प्रमुख अनुज दाहाल थिए । दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाएको राष्ट्र बैंकले जनाएको छ । यसअघि मुद्रा व्यवस्थापन विभाग प्रमुख रहेका रामु पौडेललाई भने शक्तिशाली विभागका रुपमा चिनिएको बैंक तथा वित्तीय संस्था नियमनमा सरुवा गरिएको छ । यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेल थिए । उनलाई मानव संसाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । यस्तै, मानव संसाधन व्यवस्थापन विभाग प्रमुख रहेका विश्रुत थापालाई भने वित्तीय संस्था सुपरीवेक्षण विभागको प्रमुख बनाइएको राष्ट्र बैंकले जनाएको छ । कार्यकारी निर्देशक किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा गरिएको छ । यसअघि उनी भुक्तानी प्रणाली विभाग प्रमुख थिए । गभर्नर पौडेलले डा. सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागको जिम्मेवारी दिएका छन् । यसअघि उनी वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख थिए ।
एनपीएको आयोजनामा स्मार्ट सहरी योजना र विकास सम्बन्धी सम्मेलन सम्पन्न
काठमाडौं । नेपाल विद्यावारिधी संघ (नेपाल पीएचडी एसोसिएसन एनपीए) नेपालमा स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनको उद्घाटन सत्रमा पूर्व मन्त्री गणेश साह, डा. घनश्याम गुरुङ, प्रज्ञा प्रधान, जानुका ढकाल, प्रा.डा. लेखनाथ शर्मा, गोपाल सिग्देल लगायतका वक्ताहरुले नेपालको सहरी विकास सम्बन्धमा आआफ्ना धारणा राखेका थिए । सम्मेलनमा मुख्य वक्ता नेपाल विश्वविद्यालयका चान्सलर विन्दुनाथ लोहनीले नेपालको सहरी विकासका समस्या, अवस्था र समाधानका बारेमा विचार राखेका थिए । नेपाल विद्यावारिधी संघका अध्यक्ष सुनिलबाबु श्रेष्ठले नेपालको सहरी विकासका जटिलताको चर्चा गर्दै यस विषयमा गहन अनुसन्धानको खाँचो औंल्याए । सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले नीति निर्माण भए पनि कार्यान्वयनमा समस्या आएको अनुभव सुनासँदै सम्मेलनबाट आएका सुझावलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । सम्मेलनमा उमेशबहादुर मल्ल, डा. जनार्दन पौडेल, दुर्गा उपाध्याय, रिजा जोशी, डा. विजयकृष्ण जोशी, स्मृति कायस्थ, डा. सुनिलबाबु श्रेष्ठ, डा. सञ्जय देवकोटा, डा. नदिरा खवाजा, प्रकाश पौडेल, आकृति राना, प्रकृति निरौला लगायतले पेपर प्रेजेन्टेसन गरेका थिए। दुई दिनको सम्मेलनमा सहरी विकास तथा योजना सम्बन्धमा गहन छलफल गरिएको थियो । छलफलबाट निस्किएका निष्कर्ष तथा सुझावहरुलाई सम्बन्धित निकायहरुमा पठाइने र त्यसले सहरी विकास योजना तथा नीति निर्माणमा सघाउ पुग्ने विश्वास नेपाल विद्यावारिधी संघले लिएको छ ।
टेस्लाको ढोका डिजाइन घातक ? ५ जनाको जलेर मृत्यु भएको एक वर्षपछि अनुसन्धान सुरु
काठमाडौं । टेस्लाविरुद्ध विस्कन्सिन राज्यमा भएको एक भीषण दुर्घटनापछि मुद्दा दर्ता गरिएको छ । उक्त दुर्घटनामा परी मोडल एस कारसँगै पाँचै यात्रुको जलेर मृत्यु भएको थियो । आरोप अनुसार कारको ढोका खोल्न नसक्नाले उनीहरू सवारीभित्रै फँसेका थिए । क्रान्डन, विस्कन्सिनका ५४ वर्षीय जेफ्री बाउर र ५५ वर्षीय मिशेल बाउर सवार मोडल एस नोभेम्बर १, २०२४ मा म्याडिसन नजिकको उपनगरीय क्षेत्र भेरोनामा सडकबाट बाहिर गई रूखमा ठोक्किएको थियो । उनीहरूको मृत्यु अर्को दिन भयो। शुक्रबार बाउर दम्पतीका चार सन्तानले दायर गरेको उजुरी अनुसार कारमा जडान गरिएको लिथियम–आयन ब्याट्री प्याकका कारण इलेक्ट्रोनिक ढोका प्रणाली निष्क्रिय भई उनीहरू भित्रै फँसेका थिए । सन्तानहरूले आरोप लगाएका छन् कि टेस्लालाई यस खतराको जानकारी पहिलेका आगलागी घटनाबाट नै थियो, तर कम्पनीले ‘थाहा पाइसकेका र सम्भव सुरक्षात्मक उपायहरूबाट जानाजानी विचलन’ गरेको थियो । एलन मस्क नेतृत्वको अष्टिन, टेक्सासस्थित टेस्लाले सोमबारसम्म सो मुद्दाबारे कुनै प्रतिक्रिया दिएको छैन । उक्त कम्पनीमाथि अघिल्लो नोभेम्बरमा स्यान फ्रान्सिस्को नजिक साइबरट्रक दुर्घटनामा ज्यान गुमाएका दुई कलेज विद्यार्थीका परिवारहरूले पनि यस्तै कारणले मुद्दा दायर गरेका थिए । उनीहरू पनि ढोका ह्यान्डल डिजाइनका कारण जलिरहेको कारभित्र यात्रु फँसेका थिए भन्ने दाबी गर्छन् । अमेरिकी यातायात सुरक्षा निकायले टेस्लाको ढोका डिजाइनको छानबिन गर्दै गत सेप्टेम्बरमा राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले केही टेस्ला मोडेलका ढोकामा सम्भावित त्रुटिको छानबिन सुरु गरेको थियो, किनकि रिपोर्टहरूमा ढोका ह्यान्डलले काम नगर्ने समस्या उल्लेख गरिएको थियो । बाउर दम्पतीका सन्तानका अनुसार टेस्ला मोडल एसको पछाडिका सिटमा बसेका यात्रुहरू- जस्तै मिशेल बाउर विशेष जोखिममा पर्थे । कारमा ढोका खोल्ने प्रणाली पूर्ण रूपमा विद्युतीय भएकाले दुर्घटनापछि जब गाडीमा विद्युत् आपूर्ति बन्द हुन्थ्यो, यात्रुहरू ढोका खोल्न असमर्थ हुने गर्थे । त्यस्तो अवस्थामा बाहिर निस्कनका लागि कार्पेट उठाएर मुनि लुकाइएको ‘धातुको ट्याब’ वा आपतकालीन ढोका खोल्ने ह्यान्डल खोज्नुपर्थ्यो । तर यो ट्याब सानो, लुकाइएको र सामान्य यात्रुका लागि सहज रूपमा नदेखिने भएकाले आपतकालीन अवस्थामा त्यसलाई फेला पार्नु अत्यन्तै कठिन हुने उनीहरूको भनाइ छ । यही कारणले दुर्घटनापछि यात्रुहरू गाडीभित्रै फँसेर मृत्यु हुन पुगेको आरोप परिवारले लगाएको छ । एक नजिकैका घरधनीले ९११ मा फोन गरी कारभित्रबाट कराउने आवाज सुनेको बयान दिएका छन् । उजुरीमा भनिएको छ, ‘टेस्लाको डिजाइन छनोटले यस्तो जोखिम सिर्जना गर्यो — दुर्घटनाबाट बचेका यात्रुहरू आगलागी भएको सवारीभित्रै फँस्ने ।’ अन्य प्रतिवादीहरूमा सवारी चालकको सम्पत्ति पनि समावेश छ, जसलाई बाउर सन्तानहरूले लापरवाहीपूर्वक ड्राइभिङ गरेको आरोप लगाएका छन् । यो मुद्दा विस्कन्सिन राज्यको डेन काउन्टी अदालतमा दायर गरिएको हो। एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिदैँ ! बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा ! सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने
बैंक तथा वित्तीय संस्थामा कति पैसा छ ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरु मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार विकास बैंक तथा फाइनान्सले यो अवधिमा ७ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् । उनीहरुले कर्जा प्रवाह भने ६ खर्ब २३ अर्ब गरेको तथ्यांकले देखाउँछ । यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४.२५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिनसक्ने क्षमता अझै पनि धेरै रहेको रहेपनि कर्जा प्रवाह सुस्त छ । पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा रहेको छ । बैंकहरुले कर्जाको लागि निर्धारण गर्ने औसत आधार दर महिनैपिच्छे घट्दै आएको छ । कात्तिक महिनाको लागि बैंकहरुको औसत ब्याजदर ५.६७ प्रतिशत निर्धारण भएको छ । यो ब्याजदर निकै कम हो । यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । पछिल्लो समय आधार दरमा निकै न्युनमात्रै प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । तर पनि कर्जा प्रवाह बढ्नै सकेको छैन । खासगरी जेनजी आन्दोलनमा निजी क्षेत्रका घरनामाथि छानिछानि आक्रमण भएपछि लगानीकर्ताहरु त्रसित बन्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका छातासंगठनले शान्ति सुरक्षाको प्रत्याभुति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप तानिरहेको छ । पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानी योग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकले आइतवार ४० अर्ब निक्षेप १ सय ७५ दिनका लागि खिचेको थियो भने अघिल्लो साताको बुधबार पनि राष्ट्र बैंकले बजारबाट १ सय ७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका छन् ।
सन नेपाल लाइफको आई.एस.ओ/आई.ई.सी २७००१ः२०२२ प्रमाणपत्र नवीकरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएसबाट मान्यता प्राप्त एमटिभो लिमिटेड यूकेबाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरूको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ । कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तराष्ट्रिय मापदण्डको आधारमा आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ सम्परीक्षण नवीकरण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड आइ.एस.ओ÷आई.ई.सी २७००१ः२०२२ प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो । आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।
सुनको मूल्य तोलामा १४ सयले गिरावट
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।