होन्डाले दुई पाङ्ग्रे विद्युतीय सवारीमा तीन अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने
जापान । जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ । विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी निर्माता उक्त कम्पनीले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लन्च गर्ने र विद्युतीय मोटरसाइकलहरूको विद्यमान लागतलाई ५० प्रतिशतले कम गर्ने योजना बनाएको पनि जानकारी दिएको छ । ‘आफ्ना मोटरसाइकलहरूको विद्युतीकरणका लागि होन्डाले सन् २०२१ देखि सन् २०२५ सम्मको अवधिमा एक सय अर्ब येन लगानी गरिरहेको छ र सन् २०२६ देखि सन् २०३० सम्मको पाँच वर्षको अवधिमा थप चार सय अर्ब येन लगानी गर्नेछ’, होन्डाले बुधबार एक विज्ञप्तिमा भनेको छ । कम्पनीले सन् २०३० का लागि उसको विश्वव्यापी वार्षिक बिक्री लक्ष्यलाई पनि बढाएर ४० लाख एकाइ बनाएको छ । यो अघिल्लो वर्षको घोषित ३५ लाख एकाइभन्दा बढी हो । प्रारम्भमा आन्तरिक प्रज्वलनशील इन्जिन मोडेलका लागि आफ्नो विद्यमान पूर्वाधार संरचनाको उपयोग गर्ने तर सन् २०२७ देखि समर्पित विद्युतीय मोटरसाइकल उत्पादन संयन्त्र सुरु गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले अनलाइन बिक्रीको प्रस्ताव गरेर ग्राहकहरूको सुविधामा पनि सुधार गर्नेछ, यसबाट ग्राहकहरूले व्यक्तिगतरूपमा डिलरकहाँ नगई मोटरसाइकल खरिद गर्न सक्नेछन् ।’ ग्र्यान्ड भ्यू रिसर्चका अनुसार विश्वव्यापी विद्युतीय मोटरसाइकल बजार सन् २०२२ मा ३० अर्ब डलरको थियो । आंशिकरूपमा इन्धनको लागत र जलवायु परिवर्तनका बारेमा सार्वजनिक चिन्ताका कारण सन् २०२३ र सन् २०३० को बीच यसको बजार प्रतिवर्ष १९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रासस
बिहीबारको सेयर कारोबारमा देखियो सुधार, नेपाल इन्स्योरेन्सको सर्वाधिक किनबेच
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । ओरालो यात्रामा रहेको परिसूचक बिहीबार १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार रकममा भने झिनो सुधार देखिएको छ । बुधबार एक अर्ब २३ करोडको कारोबार भएको बजारमा बिहीबार एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन २८९ स्क्रिप्सको कारोबार भएको बजारमा ४५ लाख ९५ हजार कित्ता सेयर बिक्री भएका छन् । सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको ११ करोड ६७ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो । जसको अन्तिम कारोबार प्रतिकित्ता ४२३ रुपैयाँमा भएको छ । बजारमा ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको भने सेयर मूल्य स्थिर छ । सेयर मूल्य बढ्नेमध्ये रु रु जलविद्युत परियोजनाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.६३ प्रतिशतले बढेर प्रतिकित्ता ७५० रुपैयाँमा पुगेको छ । त्यस्तै, मूल्य घट्नेमध्ये विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल र यूनाइटेड मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य १० १० प्रतिशतले घटेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बढेको छ भने बाँकी समूह राताम्मे देखिएका छन् ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी तोकेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधार ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकका र स्विट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ सुरू
काठमाडौं । उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटाैँडामा आजदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त चार उच्च अदालतमा श्रव्यदृश्यमार्फत सुनुवाइको प्रारम्भ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका हुन् । उनले प्रविधिको माध्यमबाट मुद्दाको सुनुवाइ गर्दा समयको बचत हुने, कम खर्चिलो हुने र आम जनतामा न्यायमा पहुँच पुग्ने उद्देश्यले सेवा प्रारम्भ गरिएको जानकारी दिए । ‘प्रविधिको माध्यमबाट न्यायमा पहुँच पुर्याउने कामको सुरूआत गरिरहेका छौँ, नेपालको भूधरातलीय स्थितिले गर्दा दुर्गम क्षेत्रमा मानिसलाई एक गाउँबाट अर्को ठाउँमा पुग्न निकै कठिनाइ हुन्छ,’ प्रधानन्यायाधीश श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘छिटो छरितो, सरल, सुलभ तरिकाले प्रविधिमार्फत नागरिकमा न्यायमा पहुँच पुर्याउने उद्देश्यले सुरू गरिएको हो, सबै उच्च अदालतमा यो सेवा आगामी दिनमा गरिने तयारी छ ।’ सर्वोच्च अदालतमा कोभिड-१९ का समयमा श्रव्यदृश्यका माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको थियो । अहिले देशभरको जुनसुकै स्थानबाट पनि कानुन व्यसायीले सर्वोच्च अदालतमा आफ्नो मुद्दामा बहस गर्न सक्ने भएका छन् । त्यस्तै एक वर्षअघि उच्च अदालत दिपायल र इलाममा पनि मुद्दाको सुनुवाइ श्रव्य, दृश्यमार्फत बहस सुरू गरिएको थियो । उक्त अनलाइनबाट मुद्दाको सुनुवाइ गर्दा कानुन व्यवसायीले आफ्नै ठाउँमा बसेर मुद्दामा बहस गर्न सक्नेछन् । मुद्दाको अनलाइनबाट सुनुवाइ गर्नका लागि एउटा निवेदन दिनुपर्ने छ । सोहीअनुसार सर्वोच्च अदालतका सूचना प्रविधि शाखाले उक्त मुद्दाको पासवर्ड र आइडी बनाई प्रवाह गर्नेछ र जुममार्फत कानुन व्यवसायीले बहस पैरवी गर्ने व्यवस्था गरिएको छ ।
खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद
दोधारा चाँदनी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन् । यस वर्ष कञ्चनपुरमा पन्ध्र हजार क्वीन्टल धान गरिद गर्ने लक्ष्य भए पनि लक्ष्य भेट्टाउन गाह्रो रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद भएको जानकारी दिए । ‘पुस मसान्तसम्म किसानका धान खरिद गर्ने लक्ष्य छ’, उनले भने, ‘किसानहरु धान बिक्रीका लागि आउनेक्रम जारी छ ।’ गतवर्ष १४ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि तीन हजार क्वीन्टल धान मात्रै खरिद भएको थियो । यो वर्ष १५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य लिए पनि लक्ष्य पूरा हुने सम्भावना न्यून रहेको कम्पनीको भनाइ छ । कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमा समेत धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यसवर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने गरेको छ । खाद्यसँग धान बिक्रीका लागि प्रक्रियागत अल्झनले गाउँमै व्यापरीसँग न्यून मूल्यमा धान बिक्री गर्नुपरेको किसानको गुनासो छ । ‘खाद्यले वडाको सिफारिस ल्याउ भन्छ वडामा रिफारिस गरेको पनि शुल्क तिर्नुपर्छ’, किसान खुसी रानाले भने, ‘सरकारले किसानको हितमा निर्णय गरिदिए सजिलो हुन्थ्यो ।’ खाद्यले कञ्चनपुरमा कात्तिक १५ गतेदेखि धान खरिद सुरु गरेको हो । कृषि ज्ञान केन्द्रका अधिकृत हरिदत्त जोशीले कञ्चनपुरमा धानको उत्पादकत्व चार मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिए । ‘गतवर्ष तीन दशमलव ९२ मेट्रिक टन थियो । यो वर्ष वृद्धि भएको हो”, उनले भने, “धान र गहुँमा कञ्चनपुर आत्मनिर्भर छ ।’ उनले कञ्चनपुरको जनसङ्ख्यालाई पर्याप्त भइ ८४ हजार टन खाद्यान्न बाहिर जाने गरेको बताए । रासस
लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार
भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउन चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो । आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले लगानी सम्मेलनका लागि सरकारले तयारी सुरु गरिसकेको जानकारी दिए । ‘प्रदेश सरकार यसै आवमा लगानी सम्मेलन गर्नेगरी तयारीमा जुटेको छ,’ मन्त्री सिंहले भने, ‘हाम्रो वार्षिक कार्यक्रममा नै कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने भनेका छौँ । त्यहीअनुसार अहिले हामी तयारीमा लागेका छौँ ।’ कर्णाली प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सरकारले योजना बनाएको बताउँदै उनले प्रदेशभित्र उद्योग सञ्चालन गर्न सकिने क्षेत्रमा लगानी बढाइने बताए । ‘कर्णालीका लागि उपयुक्त हुने खालका उद्योग स्थापना गर्ने र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हाम्रो योजना छ । प्रदेशमा रहेका स्रोतको उचित रूपमा प्रयोग गर्नेगरी हामीले लगानी भित्र्याउने गरी लगानी सम्मेलन गर्दैछौँ,’ उनले भने । कर्णालीको स्रोतको उचित परिचालन गरी आन्तरिक आम्दानी बढाउने गरी सरकारले काम थालेको भन्दै उनले त्यसमा सबै पक्षले हातेमालो गर्न आवश्यक रहेको बताए ।
पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रमा रुख काट्न थालियो
दैलेख । दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रमा रुख कटान सुरु भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको छ । प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प निर्माणलगायतका अन्य काम अघि बढाएको खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण प्रवर्द्धन आयोजना प्रमुख दिनेशकुमार नापितले बताए । विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले डिलिङका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका मोड मिलाउने सहमति अनुसार काम अघि बढेको उनको भनाइ छ । आयोजना प्रमुख नापितका अनुसार पेट्रोलियम पदार्थ उत्खनन गर्न कर्णाली राजमार्गबाट सहज भए माघबाट दैलेखमा पेट्रोलियम पदार्थ डिलिङको अर्को चरणको काम सुरु हुनेछ । दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषण २०७६ साल असोजदेखि सुरु गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि नै सम्पन्न गरिसकेको छ । सरकारले यसअघि भैरवी गाउँपालिका १ जलजलेमा जग्गा अधिग्रहणको काम गरिसकेको छ । यसअघि नेपाल सरकारसँगको सम्झौताअनुसार चीनको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भे गरिएको छ । दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुङ्गेश्वरलगायतका क्षेत्रलाई आधार बनाएर चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो । रासस