विकासन्युज

१ खर्ब ४३ अर्बमा किनिएकाे एनसेल ६ अर्ब ६६ करोडमा बेचियो

काठमाडौं । एनसेलबाट बाहिरिन लागेको आजियाटाको ८० प्रतिशत सेयर सतिशलाल आचार्यले खरिद गरेका छन् । एनसेलबाट आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा र आचार्यबीच सेयर खरिदबिक्रीको सहमति भएकाे हाे । आजियाटाले आचार्यकाे स्पेकट्रलाइट युके लिमिटेडलाई ८० प्रतिशत सेयर बिक्री गरेको हो । आजियाटाले एक विज्ञप्ति जारी गर्दै सेयर बिक्री गरेको र नेपालबाट बाहिरिएको बताएको हो । आजिएटाले कुल ५ करोड अमेरिकी डलर अर्थात्  ६ अर्ब  ६६ करोड रुपैयाँमा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ । आचार्य स्पेकट्रलाइट युकेकाे सञ्चालक हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहमतिबिना सेयर खरिद बिक्री नहुने भएपनि यी दुई कम्पनीबीच सेयर खरिद बिक्रीको सहमति भएको हो । सतिश र उनका भाइ सचिनलाल आचार्यले एनसेलको ८० प्रतिशत सेयर खरिद गर्ने प्रतिवद्धता आजियाटासँग गरिसकेका छन्। आचार्य गैर आवासीय नेपाली हुन् । उनी सिंगापुरमा बस्छन् । यो कम्पनीको सेयर खरिद गर्नमा उनको श्रीमती भावना सिंहको पनि ठूलो हात रहेको बुझिएको छ । आचार्य र आजियाटाबीच विगत लामो समयदेखि राम्राे सम्बन्ध छ । विज्ञप्तिमा आजियाटाका अध्यक्ष तान श्री शहरिल रिड्जा रिडजुआनले एनसेलले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । उनले एनसेल देशमा एक उच्च करदाताको रुपमा रहेको र हालसम्म २ खर्ब ८३ अर्ब रुपैयाँ कर तिरेको उल्लेख गरेका छन् । यस्तै, उनले अब आफ्नो व्यवसायिक रणनीतिमा अगाडि बढ्ने बताएका छन् । यस्तै, आजियाटाका प्रबन्ध निर्देशक विवेक सूदले नेपालको कर नीति, लाइसेन्स नवीकरणलगायत नीतिले ठूलो चुनौती देखिएकोले बाहिरिनु परेको बताएका छन् । उनले नेपालबाट बाहिरिनु नै कम्पनीका सेयरधनीहरुको हितका लागि भएको बताएका छन् । वि.सं २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो । आजिएटा भने सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यो बेला १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको सेयर आजिएटाले किनेको थियो । सात वर्षको अवधिमा एनसेलले आजियटालाई २ अर्ब २ करोड रुपैयाँ लाभांश दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भने आजियाटालाई सेयर खरिद बिक्री गर्नुअघि पूर्व स्वीकृति लिन पत्र काटेको छ । कम्पनीले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेल आजियाटालाई पत्र काटेको हो । एनसेल आजियाटाको होल्डिङ कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनि जारी विज्ञप्तिप्रति ध्यानाकर्षण गराउँदै उक्त पत्र काटेको हो । पत्रमा सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ । ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले काटेको पत्रमा उल्लेख छ । [pdf id=449560]

एनसेल आजियाटालाई पत्र काट्दै प्राधिकरणले भन्यो- सेयर किनबेच गर्नुअघि स्वीकृति लिनु पर्दैन ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटालाई सेयर खरिद बिक्री गर्नुअघि पूर्व स्वीकृति लिन पत्र काटेको छ । कम्पनीले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेल आजियाटालाई पत्र काटेको हो । एनसेल आजियाटाको होल्डिङ कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनि जारी विज्ञप्तिप्रति ध्यानाकर्षण गराउँदै उक्त पत्र काटेको हो । पत्रमा सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ । ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले काटेको पत्रमा उल्लेख छ ।

किसानको गुनासो : कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौसममा कफीका बिरुवा र बोट जोगाउन समस्या देखिएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले कफीको जननी जिल्ला गुल्मी कफीको उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लाका कफी किसानसँग छलफल गरेको थियो । छलफलमा अधिकांश किसानले कफीबाट आफूहरुले सोंचेअनुसारको प्रतिफल प्राप्त गर्न नसकेको पनि गुनासो गरे । किसानलाई राज्यले कफीका बिरुवामा अनुदान दिनुभन्दा बरु एक जना ज्यामी बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने उनीहरुको माग थियो । व्यावसायिक कफीखेती गरी एक हजारदेखि १५ सय विरुवासम्म कफी लगाउने किसानलाई मासिक एक जना ज्यामी बराबरको रकम उपलब्ध गराउनुपर्ने उनीहरुको माग थियो । रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत भड्कुवाकी किसान मना भट्टराईले चिसो मौसम सुरु भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्याजस्ता कारण कफीका बोट सुक्दै जाने गरेको बताइन् । भट्टराई जस्तै लामो समयदेखि व्यावसायिकरुपमा कफी खेती गर्दै आएका, भडकुवा, बलेटक्सार, आँपचौर मुसिकोट लगायतका अधिकांश कफी किसानको पनि उस्तै गुनासो थियो । सङ्घ, प्रदेश र स्थानीयतहले कफीमा दिने अनुदान नीतिमा पनि परिमार्जन गर्नुपर्नेमा उनीहरुको सुझाव थियो । स्थलगतरुपमा अध्ययन नगरी कफी लगाउने नाममा बिरुवामा दिइने अनुदानले किसानलाई फाइदा नपुग्ने किसानको भनाइ छ । कफी किसानले अनुदान दिने प्रणालीमा परिवर्तन गरी कफी लगाएका आधारमा स्थलगतरुपमा निरीक्षण गरेर मात्र किसानलाई अनुदान उपलब्ध गराउने नीति बनाउन आग्रह गरेका थिए । यसबाट मात्र किसानलाई व्यावसायिक कफी खेतीमा आकर्षण गराउन सकिने किसानको सुझाव थियो । कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पनि कफी कृषकले राखेका समस्या उपयुक्त भएको भन्दै कफीमा दिने अनुदानको नीतिलाई परिवर्तन गरी कसरी व्यावसायिकरुपमा थप आकर्षण गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायलाई पनि सोचनीय विषय रहेको बताए । कफीको उत्पादन र प्रविधि विस्तारका लागि कार्यालयले आगामी दिनमा थप प्रभावकारी योजना बनाउने उनले स्पष्ट पारे । गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । जिल्लामा यस वर्ष ३० मेट्रिकटन कफी उत्पादन भएको थियो । जसअन्तर्गत आठ टन ग्रीनविन मात्र तेस्रो मुलुकमा निर्यात भएको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कफी सुपरजोन, आँपचौर कफी विकास केन्द्र, कफी अनुषन्धान केन्द्रलगायत स्थानीय तहले कफी खेतीमा काम गर्दै आइरहेका छन् । जिल्लामा यति धेरै कफीका क्षेत्रमा काम गर्ने सङ्घसंस्था भए पनि कफी किसान भने सेतो गँवारो र तुसारोको समस्याबाट सधैँ समस्या भोग्दै आइरहेका छन् । गुल्मीमा पछिल्लो तथ्याङ्कअनुसार कफी खेतीमा आबद्ध बनेका किसानको सङ्ख्या एक हजार आठ सय छ । रासस

सुन किन्ने कि सेयर ?

काठमाडौं । पछिल्लो केही महिनायता मुलुकमा दुईथरी बजारको चर्चा चुलिएको छ । एक, सेयर बजार र अर्कोे सुन बजार । सेयर बजारको चर्चा यसकारण चुलिएको छ कि यो पछिल्लोपटक खर्लप्पै ओरालो लागेको छ । अनि, सुन बजारको चर्चाचाहिँ नेपालको इतिहासमै उच्च मूल्यमा कारोबार भएकाले चुलिएको हो । सेयर बजार निरन्तर ओरालो लाग्दा ६० लाख लगानीकर्ताको पोर्टफोलियो नकारात्मक भएको छ । अर्थात् सेयर घटेर पुर्पुरोमा हात लगाउनु पर्ने बाध्यता सिर्जना भएको छ । सिडिएससीको पछिल्लो तथ्यांकअनुसार हालसम्म ६० लाख ३ हजार ७ सय १३ डिम्याट खाता खुलिसकेका छन् । तर, निरन्तर ओरालो लागेको सेयर बजारमा लगानीकर्ताको लगानी कहिले उठ्छ भन्ने टुंगो छैन । अब कुरा सुनको । दसैंतिहार बिदापछि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साउन १ गते सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ थियो । यस्तै, भदौ १ गते सुनको मूल्य १ लाख १० हजार ४ सय रुपैयाँ थियो । असोज १ गते आइपुग्दा प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने कात्तिक १ गते १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको थियो । मंसिरसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउनको तुलनामा मंसिरमा सुनको मूल्य ६.३२ प्रतिशतले बढेको छ । साउन महिनामा मात्रै सुनमा लगानी गर्नेले तोलाको ७ हजार १ सय रुपैयाँ फाइदा गरे । यो तथ्यांक केलाउँदा साउनमा एक तोला सुन खरिद गर्नेले मंसिरमा ७ हजार १ सय रुपैयाँ कमाएको देखियो । यदि कुनै लगानीकर्ताले गत साउनमा १ करोड रुपैयाँको सुन खरिद गरेको थियो भने यो चार महिनाको अवधिमा उसले ६ लाख ३२ हजार रुपैयाँ नाफा गर्यो । फेरि, सेयर बजारमै फर्किऔं । गत साउन १ गते सेयर बजार पुँजीकरण ३१ खर्ब ५० अर्ब ९१ करोड रुपैयाँबराबर थियो । भदौ ३ गते बजार पुँजीकरण ३० खर्ब १० अर्ब २० करोड रुपैयाँमा ओर्लियो । साउन महिनामा लगानीकर्ताले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ गुमाए । लगानीकर्ताको पोर्टफोलियोमा ४.४६ प्रतिशतले नकारात्मक प्रभाव पर्यो । यस्तै, असोज २ गते बजार पुँजीकरण २९ खर्ब ९२ अर्ब २५ करोड रुपैयाँ थियो । भदौ महिनामा लगानीकर्ताले १७ अर्ब ९५ करोड रुपैयाँ गुमाए । यसले लगानीकर्ताको लगानीमा ०.५९ प्रतिशतले नकारात्मक प्रभाव पर्यो । त्यसैगरी कात्तिक १ गते बजार पुँजीकरण २९ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ थियो । यस आधारमा लगानीकर्ताले असोजमा ७४ अर्ब ३२ करोड रुपैयाँ गुमाए । सो महिना २.१९ प्रतिशतले लगानीकर्ताको पोर्टफोलियो घट्यो । लामो समय चाडपर्व बिदापछि मंसिर ४ गते बजार खुलेको थियो । उक्त दिन बजार पुँजीकरण २८ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँ थियो । यस आधारमा लगानीकर्ताले कात्तिक महिनामा मात्रै ७० अर्ब १७ करोड रुपैयाँ गुमाए । यस महिनामा लगानीकर्ताको लगानीमा २.४५ प्रतिशत प्रभाव पर्यो । पछिल्लो एक साता अवधि (मंसिर १३ गते) बजार पुँजीकरण २८ खर्ब ९३ अर्ब ४० करोड रुपैयाँबराबर छ । यस आधारमा लगानीकर्ताले ३५ अर्ब ६४ करोड रुपैयाँ गुमाएका छन् । लगानीकर्तामा यसले १.२३ प्रतिशतले प्रभाव पर्यो । गत साउनको तुलनामा हालसम्म सेयर मार्केटका लगानीकर्ताले ८.१७ प्रतिशतले पोर्टफोलियो घटेको छ । अर्थात् यो आधारमा गत साउनमा कुनै लगानीकर्ताले १ करोड रुपैयाँको सेयर खरिद गरेको थियो भने पार्टफोलियो ९१ लाख ८३ हजार रुपैयाँमा झरेको छ । उसको पोर्टफोलियो ८ लाख १७ हजारले घटेको छ । ००० सुनको मूल्य ह्वात्तै उकालो लागिरहनुमा के कारण हुन सक्ला, छोटो अवधिमा किन सुनको मूल्य आकासिएको होला ? सुन व्यापारी के भन्छन् ? नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले प्यालेस्टाइन (हमास) र इजरायल युद्धका कारण विश्वबजारमा सुनमा लगानी बढेको बताउँछन् । यो युद्धले तेस्रो विश्वयुद्धको रूप लिन्छ कि भन्ने त्रासमा अरू सेक्टर त्यति सुरक्षित नभएको हुँदा सुनमा लगानी बढेको उनको भनाइ छ । करिब एक वर्ष अगाडि अन्तर्राष्ट्रिय विज्ञहरूले पनि ३ हजार अमेरिकी डलर प्रतिऔससम्म पुग्छ भनेर प्रक्षेपण गरेको महासचिव बज्राचार्य बताउँछन् । ‘विज्ञले भनेअनुसार अहिले त्यति पुगिसकेको त छैन,’ बज्राचार्यले विकासन्युजसँग भने, ‘तर, जुन युद्धहरू अहिले भइरहेका छन्, त्यसलाई हेर्दा यसले नै टेवा पुर्याएर अझै बढ्ने संकेत देखिएको छ ।’ सुनको मूल्य बढ्नुमा कुनै पनि नेपाली कारण नभएको उनी बताउँछन् । ‘नेपालमा सुनको मूल्य जुन कायम छ, त्यो सबै अन्तर्राष्ट्रिय कारणबाट भइरहेको छ,’ उनी भन्छन्, ‘यसमा चाहिँ हिजो पनि नेपालको कारण थिएन र भोलि पनि हुँदैन ।’ नेपाली बजारमा सुनको व्यापार पहिलाको तुलनामा अहिले धेरै कम भएको बज्राचार्य बताउँछन् । ‘अहिले मंसिर आधाआधी भइसक्यो, त्यति धेरै सुन बिक्री हुन सकेको छैन,’ काठमाडौं अर्नामेन्ट्सका सञ्चालकसमेत रहेका बज्राचार्य भन्छन्, ‘लगनका बेला भनेर पहिला–पहिलाको वर्ष यो समय दिनको ५० देखि ६० किलोसम्म सुन खपत हुन्थ्यो । अहिले मुस्किलले २० किलोमात्रै खपत भइरहेको अवस्था छ ।’ मान्छेले मूल्य घटेको बेला सुन किन्ने र बढेको बेला सुन बेच्ने नौलो कुरा होइन । अहिलेको अवस्थामा नेपालमा घरमा भएको सुन बेच्ने ‘ट्रेन्ड’ चलेको बज्राचार्य बताउँछन् । ‘कतिपय मान्छेले सुनको भाउ अझै माथि पुग्ला भनेर राखेको अवस्था पनि छ,’ उनी भन्छन्, ‘अहिले विस्तारै नेपालीको क्रय शक्ति पनि घटेको छ । सुनको भाउ बढेको बेलामा यसलाई नै बेचेर अरू नै काममा प्रयोग गरौं भनेर सुन बेच्ने पनि हावी भएको अवस्था छ ।’ एक वर्षअघि नै विज्ञले भनेअनुसार नेपालमा सुनको मूल्य २ लाख रुपैयाँसम्म बढ्ने अनुमान रहेको र ठ्याक्कै यही समयमै पुग्छ भनेर भन्न नसकिने अवस्था रहेको बज्राचार्य बताउँछन् । ‘सुनको मूल्य २ लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिए पनि अहिले तत्कालको अवस्थामा १ लाख २५ हजार रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ,’ उनी थप्छन् । पछिल्लो समय सुनको मूल्य उकालो लाग्दै गएको र सेयर बजार ओरालो लाग्दै गएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने सुनको मूल्य र सेयर बजारको त्यति धेरै ‘कनेक्सन’ नहुने बज्राचार्य बताउँछन् । विदेशमा जस्तै नेपालमा यी क्षेत्रमा धेरै लगानी गर्ने लगानीकर्ता हावी नभएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार चाँदी प्रतिऔंस २४.९८ डलर भएको छ । गत साउनमा १ करोड रुपैयाँको सुन खरिद गरेका लगानीकर्ताले ४ महिनामा करिब साढे ६ लाख रुपैयाँ नाफा गरेका छन् भने सेयर किन्नेले ८ लाख १७ हजार रुपैयाँ गुमाएका छन् । ००० आखिर सेयर बजार यसरी ओरालो लागेको लाग्यै हुनुका कारण के होलान् ? सेयर बजार किन माथि उठ्न सकेको छैन ? सेयर लगानीकर्ता के भन्छन् ? नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नीति राम्रो नबन्नु, सहजै तरलता उपलब्ध नहुनु, लामो समयदेखि बैंकको ब्याजदर पनि एकल अंकमा झर्न नसक्नु र जोखिम भार पनि १ सय प्रतिशतबाट १ सय ५० प्रतिशत पुर्याइनुको परिणाम सेयर बजार ओरालो लाग्नुका प्रमुख कारण रहेको बताउँछिन् । ‘जबसम्म बजार उठ्दैन, तबसम्म सेयर बजारमा डुबेको लगानी पनि उठ्ने कुरै भएन,’ पोखरेल दाबीका साथ भन्छिन्, ‘३२ सय पुगेको सेयर बजार १७ देखि १८ सयको हाराहारीमा झरेको छ । त्यसैले सेयर बजार जबसम्म उकालो लाग्दैन, तबसम्म लगानीकर्ताको लगानी पनि डुब्छ ।’ उनका अनुसार बजार घटेको समयमा सेयर किन्नु उपयुक्त हो । तर, भोलिका दिनमा बजार उकालोमात्रै लागिरहन्छ भन्ने कुनै ‘ग्यारेन्टी’ भने छैन । भोलि बजार २० अंकले घट्यो वा त्योभन्दा माथिकै अंकले घट्यो भने पनि त्यसको परिणामका लागि तयार हुनुपर्छ । ‘बढेको बजारमा भन्दा घटेको बजारमा लगानी गर्नु उपयुक्त नै मानिन्छ । ऋण खोजेको पैसा सेयर बजारमा लगानी गर्ने हो भने अवश्य नै त्यसको कुनै फाइदा छैन,’ उनी भन्छिन्, ‘सेयर बजार घट्दै जाने र ऋणको ब्याज बढ्दै जाने हो भने उसले गरेको लगानी डुब्ने नै भयो । आफूसँग पैसा भएर बजार घटे पनि मैले होल्ड गर्न सक्छु भन्ने लाग्छ भने यो क्षेत्र उपयोगी नै छ ।’ जब सेयरबजार घट्दै जान्छ तब मान्छेले अन्य क्षेत्रमा लगानी गर्न थाल्ने उनी बताउँछिन् । ‘अहिले सुनको मूल्य बढिरहँदा र सेयर बजार घटिरहँदा मान्छेले सेयर बेचेर सुनमा लगानी गरिरहेका छन् । सुन आज किने भोलि १ हजार रुपैयाँले बढिरहेको छ,’ पोखरेल भन्छिन्, ‘अहिले सुनमा लगानी गर्दा त्यसको प्रतिफल भोलि नै लिन पाइने अवस्था छ । तर, सेयर बजार निरन्तर घटेकाले भन्न सकिने अवस्था छैन ।’

अर्थ व्यवस्थाको मेरुदण्ड बोर्डरमा तर नीति निर्माता काठमाडौंमा छ : अध्यक्ष टेमानी

काठमाडौं । मुलुकको आर्थिक व्यवस्थाको मेरुदण्डको रुपमा रहेको मधेश प्रदेश र त्याहाको आर्थिक  सम्भावनालाई केन्द्र सरकारले अवमूल्ययन गरेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘मधेश प्रदेशका औद्योगिक/व्यवसायिक समस्या विषयक नाफिज सम्वाद’ कार्यक्रममा बोल्दै मधेश प्रदेशका उद्योगी व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् । मधेस प्रदेश र नेपाल भारत सीमाको अर्थ–वाणिज्यको अवस्था, त्यसबाट नेपालले लिनसक्ने लाभ र उद्योगी व्यवसायीले भोगिरहेको समस्या केन्द्र सरकारलाई सुनाउन काठमाडौं आएका उद्योगी व्यवसायीहरु सम्मिलित सम्वादमा उनीहरुले आफूहरु उपेक्षमा परेको बताए । देशको अर्थ व्यवस्था धान्ने उद्योग र व्यापारको हब रहेको मधेस प्रदेश केन्द्र सरकार (काठमाडौं) को प्राथमिकतामा नपर्दा उद्योग धन्दा, व्यापार र जनशक्ति पलायन भएको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानीले बताए । ‘उद्योग पूर्ण क्षमतामा चल्न सकेको छैन, व्यापार गर्नेहरु पलायन भइरहेका छन्, काम गर्ने जनशक्ति विदेश हिंडिरहेका छन्,’ अध्यक्ष टेमानीले भने, ‘अर्थ व्यवस्था मेरुदण्ड बोर्डरमा छ तर नीति निर्माता काठमाडौंमा ।’ नेपालको आर्थिक क्षेत्रलाई नेपाल–भारत सीमा क्षेत्रले नियन्त्रण गरेको तर व्यापारीका नेता देखी राजनीतिक नेतृत्व र नीति निर्माताले त्यो नबुझेको अध्यक्ष तेमानीले बताए । मधेशको खास समस्या के के हुन भनेर काठमाडौंलाई बुझाउन आएको भन्दै तेपानीले भने ‘हामी नेपालीलाई रोजगार कसरी दिने र अर्थतन्त्र कसरी चलायमान वनाउने भन्ने बुझाउन आएका हौ ।’ सरकारको अवैज्ञानिक कर, तथा भन्सार नीतिका कारण व्यवपारी र  उपभोक्ता दुवै मारमा परेको उनले बताए । अहिले सीमा क्षेत्रमा चोरी पैठारी मौलाउँदा औपचारिक रुपमा उद्योग र व्यवसाय गर्नेहरु गंभिर समस्यामा परेको महासंघ मधेश प्रदेश समितिको निश्कर्ष छ । वाणिज्य र व्यापारका नीतिहरु अर्थतन्त्रसंग झुकाब रहेका छिमेकी मुलुकसंग भन्दा पनि उन्नत मुलुकहरु यूरोप, अमेरिकाको उदाहारणबाट हेरीदा समस्या भएको अध्यक्ष टेमानीले बताए । ‘नेपाल भारत वाणिज्य व्यापार र एक अर्कोको मुलुकबीच सहकार्यको सम्भावनाबारे काठमाडौंले सम्भवना पहिल्याएन,’ अध्यक्ष तेमानीले भने,‘राज्यको साना उद्योगलाई सहायोग गर्ने नीति नहुनु अर्को समस्या हो । कच्चा पदार्थ थोरै मात्रामा ल्याउँदा १५ प्रतिशत र धेरै मात्रामा आयात गर्दा १० प्रतिशत पार्ने नीतिले साना उद्योग मारा नीतिले मदेशको उद्योग व्यवसाय चौपट भएको उनको दाबी छ । संघका वरिष्ठ उपाध्यक्ष एवम् जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले मधेशको कृषि,उद्योग, धार्मिक पर्यटनको सम्भावना केन्द्र सरकारको प्राथमिकतामा नपरेको बताए । भर्खरै बामे सर्दै गरेको प्रदेश सरकारले केही कामको सुरुआत गरे पनि आर्थिक सम्भावना र पर्यटनको प्रचुर लाभका लागि केन्द्र सरकारका योजनाहरु नभएको उनको भनाई छ । अहिले मधेश प्रदेश आफ्नौ आर्थिक क्षमता र सम्भावनाबाट भन्दा पनि क्यासिनो र मदीराका लागि प्रख्यात भएको तर उक्त व्यवसायमा पनि सरकारकै अवरोध भएको उनको बुझाई छ । तराईमा उद्योग धन्दा र व्यपारसहित कृषिसमेत तहश नहस बनेको भन्दै महासेठले भने ,‘पत्याउनुस् नपत्याउनुस् मधेशका राम्रो खेतीयोग्य जमिनसमेत बाँझो हुने अवस्था पैदा हुँदैछ ।’ उद्योग व्यापार र मधेशको अर्थतन्त्रबारे केन्द्र सरकारलाई झकझक्याउन र अन्तर प्रदेश आर्थिक सम्भावना खोज्न काठमाडौं आएको समितिले सरकारलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । १५ बुँदे घोषणा पत्रमा मधेश प्रदेशमा ३ वटा नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्न, निजगड विमानस्थल निर्माण गर्न, विभिन्न स्थानमा रहेको भन्सार नाकाको स्तरोन्नती  गर्न, सिमारा विमानस्थलको स्तोरोन्नती गर्न पनि सरकारसंग माग गरिएको छ ।

ग्राउन्ड ह्यान्डिलिङमा नेपाल एयरलाइन्सको एकाधिकार तोडियो, अब प्रतिस्पर्धामा छनोट हुनुपर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डिलिङ सेवामा पाएको एकाधिकार तोडिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२्) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेसँगै नेपाल एयरलाइन्सको एकाधिकार तोडिएको हो । हालसम्म नेपाल एयरलाइन्सले बिना प्रतिस्पर्धा यो सेवा लिइरहेको थियो । प्राधिकरणको नयाँ नियमावली अनुसार अब प्रतिस्पर्धामा छनोट हुनेले मात्रै यो सेवा पाउने छन् ।

टोपबहादुर थुनामै रहने, खाँणका स्वकीय सचिव धरौटीमा रिहा

काठमाडौं । उच्च अदालत पाटनले भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको हो । त्यस्तै, उच्च अदालत पाटनले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको अदालतले जनाएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेको जनाइएको छ । जसले गर्दा खाँणको विषयलाई तेस्रो न्यायाधीशकोमा पेश गरिने अदालतले जनाएको छ । त्यस्तै, प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतले आदेश गरेको छ । उच्च अदालत पाटनले जारी गरेको आदेशको पूर्णपाठ [pdf id=449527]

ज्योति विकास बैंकका ग्राहकलाई सिफुडमा २७ प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘सि फुड’ मा छुट हुने भएको छ । बैंकले ग्राहकलाई सि फुड बाट माछा-मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको हो ।सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सि फुड का संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेका हुन्। बैंकले काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउनेछन् । बैंकका ग्राहकले ‘सि फुड’ का खाद्यसामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन बैंक सदैव प्रतिवद्ध रहेको जनाएको छ ।