अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति आउन नदिने बताए । संविधानले संस्थागत गरेको लोकतान्त्रिक प्रणालीले नागरिकलाई दिएको अधिकार सुनिश्चित गर्नुपर्नेमा गृहमन्त्री श्रेष्ठको जोड थियो । ‘अहिले जुन प्रकारको गतिविधि गर्न खोजिएको छ, त्यसलाई व्यवस्थामाथि नै ठूलो चुनौतीका रूपमा लिएका छैनौँ,’ उनले भने । संविधान र लोकतान्त्रिक पद्धतिलाई रक्षा गर्नका लागि अझै गम्भीरतापूर्वक सरकार लागिपर्ने उनको भनाइ छ । ‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौँ । एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो,’ अन्य सामाजिक सञ्जाल बन्द गर्न लागेको हो भन्ने प्रश्नमा उनले थपे, ‘अरू सामाजिक सञ्जालका बारेमा चर्चा परिचर्चा भइरहेको छ । त्यो कुरा सत्य होइन । हामी नियमन गर्छौँ ।’ सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्याउनुपर्ने गृहमन्त्री श्रेष्ठले बताए । उनले भने, ‘हामी स्वतन्त्रलाई कुण्ठित गर्दैनौँ । हामी यसलाई नियमन गर्ने दिशातर्फ मात्रै गइरहेका छौँ ।’ सङ्घीयताको रक्षा गर्ने, त्यसलाई अझ परिमार्जन गर्ने र कार्यान्वयनको प्रक्रियामा जाने मन्त्री श्रेष्ठको भनाइ छ । उनले भने, ‘एकाध त्यस्ता आवाज आउँछन् भने हामीले त्यसलाई अन्यथा ठान्नु हुँदैन । त्यस्तो आवाज राख्न पाउने अधिकारको पनि हामी रक्षा गर्छौँ ।’ सरकार संविधानको रक्षा र लोकतन्त्रले दिएको अधिकारको अभ्यासलाई सुनिश्चित गर्न उदारतापूर्वक सोचिरहेको मन्त्री श्रेष्ठको भनाइ छ । उनले भने, ‘त्यसलाई कसैले पनि कम्जोरी ठानेर सामाजिक सद्भाव खल्बलाउने, जाति, धार्मिक एकता र सद्भाव सहिष्णुतालाई खल्बलाउने र राष्ट्रिय एकतामा असर पार्न काम र समाजमा अशान्ति, अस्थिरता र अराजकता उत्पन्न गर्ने र कानुन हातमा लिने काम कसैले गर्छ भने हामी छुट दिने पक्षमा छैनौँ ।’ रासस
हिमालय एयरलाइन्सको काठमाडौं–साङ्घाई उडान
काठमाडौं । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो । उक्त जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ । काठमाडौं–साङघाई उडान ५ घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ । उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मूख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौं–साङ्घाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरु खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत(जावत गरिरहेको जानकारी दिए । नेपालका लागि चिनियाँ राजदूताबासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले साङ्घाई–काठमाडौंमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्वपूर्ण भएको बताए । साङ्घाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो । करिब ४० मिलियन जनसङ्ख्या रहेको साङ्घाई चीनको उद्योग कलकारखानाको राजधानीका रुपमा पनि कहलिएको छ । यो चीनको मूख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।
विकासन्युजकर्मी भण्डारी भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत
काठमाडौं । विकासन्युजमा कार्यरत सीआर भण्डारी भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिक साधारणसभाका अवसरमा ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ बाट भण्डारीलाई पुस्कृत गरिएको हो । उनलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रमाणपत्र र नगद हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् । उनले प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ पाएका छन् । भण्डारीले गतिशील बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वले गरेको आर्थिक घोटालाको विषयमा सिलसिलेबार रूपमा समाचार लेखेका थिए । उनको समाचारपछि सो सहकारीका अध्यक्ष बलराम पाठकले राजनीमा समेत दिए । उनै पाठकले राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्षका रूपमा पनि काम गरिरहेका थिए । सहकारीलाई समस्यामा पार्ने व्यक्ति नै सरकारी बैंकको अध्यक्षका रूपमा नेतृत्व गरेको विषय उनले पुन: उठाएपछि सरकारले उनलाई बैंकको अध्यक्षबाट पनि हटाएको थियो । सोही समाचारले उनी पुरस्कृत भएका हुन् । यस्तै, यस्तै भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोविन पौडेल, निर्जीवन बिमा व्यवसायी संघ-नाफिज बीमा पत्रकारिता पुरस्कार रिना खत्री र भिमा पन्थीले प्राप्त गरेका छन् भने निर्जीवन बीमा व्यवसायी संघ-नाफिज कृषि पत्रकारिता पुरस्कार रितेश त्रिपाठीले प्राप्त गरेका छन् ।
अर्थतन्त्रको यकिन तथ्यांक सार्वजनिक गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई भौतिकमन्त्री ज्वालाको आग्रह
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले देशको अर्थतन्त्र संकटकाे अवस्थामा पुगिसक्दा पनि अर्थ मन्त्रालय र राष्ट्र बैंकले यकिन तथ्यांक सार्वजनिक नगरेको बताएका छन् । देशको अर्थतन्त्रले संकट सामना गर्नुपर्ने अवस्था आउँदा पनि प्रमुख दुई निकायले अर्थतन्त्रसम्बन्धी यकिन तथ्यांक सार्वजनिक नगर्नु सही कदम नभएको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिक साधारणसभामा मन्त्री ज्वालाले देशको अर्थतन्त्रबारे जसले जस्तो गीत गाए पनि अर्थतन्त्रले संकटको सामना गर्नुपरे पनि भयावय अवस्थामा पुगिनसकेकाे बताए । ‘देशको आर्थिक अवस्था भयावह छैन, हामी थेग्न सक्ने अवस्थामा छौं, देश श्रीलंका बनिसक्याे भनेर जसले जस्तो गीत गाए पनि अर्थतन्त्र त्याे अवस्थामा छैन,’ उनले भने, ‘तर, यो अवस्था सुधारमा भने हामी लागिरहेका छौं।’ मन्त्री ज्वालाले समस्या समाधानका लागि काम गरिरहेकाे पनि बताए । यसका लागि अर्थमन्त्रालय र राष्ट्र बैंकलगायत निकायले यकिन तथ्यांक प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । ‘बैंकको ब्याजदर घट्ने विषयमा सहमति भएको छ, यसका लागि हामीले दबाब पनि दिनुपर्छ,’ उनले भने, ‘करमा लगाएको जरिवानाको विषय पनि छ । त्यसलाई छुट दिन सकिने अवस्थालाई पनि हेर्नुपर्छ ।’ मन्त्री ज्वालाले अहिले घरजग्गा क्षेत्रमा देखिएका समस्या पनि तत्कालै समाधान गर्नुपर्ने बताए । यसका लागि सरकारले पनि प्रयास गरिरहेको र त्यसका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । त्यसैगरी मन्त्री ज्वालाले भौतिक मन्त्रालयले सकेजति निर्माण व्यवसायीको भुक्तानी गरेको पनि बताए । ‘हामी आफैं माग्ने अवस्थामा छौं, व्यवसायीको बाँकी भुक्तानी कसरी गरौं ?,’ उनले प्रश्न गरेका छन् । बाँकी रहेको भुक्तानी जतिसक्दो चाँडो गरिने पनि उनले बताए ।
यी हुन् संसारका महँगा सहर
काठमाडौं । महँगा घर, घरायसी खर्च र चर्को मुद्रास्फीतिका कारण तपाईंले निकै तनाव महसुस गर्नुभएको छ भने सहरहरू हेर्न सक्नुहुन्छ । सायद तपाईंको मनमा शान्ति छाउने छ । किनभने, कम्तीमा तपाईं संसारको सबैभन्दा महँगो सहरमा बस्नुभएको छैन । विश्वका सबैभन्दा महँगो सहरको सूची आइपुगेको छ, जसको नामले तपाईंलाई छक्क पार्न सक्छ । सबैलाई उछिन्दै पहिलो नम्बरमा ज्यूरिच यो सूचीमा ज्यूरिचले सबैलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ । गत वर्ष यो सहर छैटौं स्थानमा थियो । स्विस फ्रान्कको मजबुती, महँगो खाना, किराना सामान र उच्च मनोरञ्जन लागतले ज्यूरिचलाई सूचीको शीर्ष स्थानमा धकेल्यो। सिंगापुर र ज्यूरिच मिलेर न्यूयोर्कलाई उछिन्दै विश्वकै महँगो सहर बनेका छन् । सिरियाको राजधानी दमास्कस सबैभन्दा सस्तो सहर सस्तो सहरको सूचीमा सिरियाको राजधानी दमास्कस पहिलो नम्बरमा रहेको छ । मेक्सिकोका सान्टियागो डे क्वेरेटारो र ओगासकालिन्टेसले डलरको तुलनामा पेसो बलियो भएकाले सूचीमा सबैभन्दा धेरै प्रगति गरेका छन् । जापानी मुद्रा येनको कमजोरीका कारण टोकियो २३ स्थान झरेर ६०औं स्थान र ओसाका २७ स्थान झरेर ७०औं स्थानमा झरेको छ । सर्वेक्षणमा १ सय ७३ सहर समावेश थिए । गत वर्ष शीर्ष स्थानको न्यूयोर्क तेस्रोमा सिंगापुर कार पार्किङ, महँगो घर, मदिरको उच्च मूल्य र किराना सामानको बढ्दो मूल्यले न्यूयोर्कलाई पछाडि छाडेको छ । न्यूयोर्क गत वर्ष पहिलो स्थानमा थियो । न्यूयोर्कसँगै जेनेभा र हङकङ पनि तेस्रो नम्बरमा छन् । यसरी यी सबै सहर महँगो सहरको ‘टप ५’ मा परेका छन् । कोभिड–१९ पछिको मन्दी प्रभाव हङकङमा यस अवधिमा विश्वव्यापी मुद्रास्फीति ७।४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो ८।१ प्रतिशत थियो । कोभिड–१९ पछि चीनमा आएको मन्दीका कारण माग घटेको असर हङकङमा पनि देखिएको छ । यो सहर पाँचौं स्थानमा झरेको छ । न्यूयोर्कबाहेक लस एन्जलस छैटौं र सान फ्रान्सिस्को १०औं स्थानमा परका छन् । फ्रान्सको पेरिस सातौं नम्बरमा थियो र कोपेनहेगनसँगै इजरायलको तेल अभिभ पनि आठौं नम्बरमा थियो ।
सामाजिक जीवनमा फर्किँदै लागुऔषध प्रयोगकर्ता
नेपालगञ्ज । नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षकसमेत बनेका छन् । ‘अहिले बल्ल वास्तविक जीवनमा फर्केको महसुस हुन्छ,’ एक पूर्व लागुऔषध प्रयोगकर्ता युवतीले भनिन् । पुनःस्थापना केन्द्रमा पहिलो, दोस्रो र अन्तिम उपचारमा संलग्न भएपछि वास्तविक जीवनलाई बुझेको उल्लेख गर्दै उनले लागुऔषधको सेवन गलत रहेछ भन्ने कुरा बुझेको अनुभव सुनाइन् । ‘मैले लागुऔषध प्रयोग गर्दा परिवारको माया लाग्दैनथ्यो, तर अहिले मेरो व्यवहार परिवर्तन भएपछि परिवारको र समाजको माया लाग्छ,’ स्नातक तहमा अध्ययन गर्दै आएकी ती युवतीले भनिन् । करिब ११ महिनादेखि यस संस्थामा रहेकी उनले लागुऔषध प्रयोग गर्दा खानाको वास्ता नभएको तर अहिले नशा छाडेपछि आफ्नो स्वास्थ्य अवस्था पनि राम्रो भएको बताइन् । ‘मैले लागुऔषध प्रयोग गर्दा केही पनि सोच्न सक्दैनथे तर अहिले मेरो मानसिक स्वास्थ्य पनि राम्रो भएको छ,’ उनले भनिन्, ‘लागुऔषध प्रयोगकर्तासँग अहिले म आफैँले जानकारी लिएर ‘इनपुट र शेयरिङ गरिरहेकी छु । मलाई के लाग्छ भने शेयरिङ सबैभन्दा उत्कृष्ट औषधि हो ।’ पाँच वर्षदेखि सञ्चालनमा आएको नवदृष्टी पुनःस्थापना केन्द्रकी संस्थापक सिमरन राजभण्डारीले आफू पनि कुनै न कुनैरूपमा लागुऔषधमा फसेको र पछि व्यवहार परिवर्तन भएपछि यस क्षेत्रमै काम गर्नुपर्छ भन्ने सोचको विकास भई महिला पुनःस्थापना केन्द्र सुरु गरिएको बताइन् । साथीहरूको लहलहैमा लागेर आफू पनि लामो समय लागुऔषधको दुर्व्यसनमा फसेको बताउँदै उनले आवासीयरूपमा पुनःस्थापना केन्द्रमा बसेका महिला तथा युवतीलाई व्यवहार परिवर्तनका विषयमा सिकाइने जानकारी दिइन् । लागुऔषध प्रयोगकर्ताको व्यवहार परिवर्तन गर्न प्रत्येक बिहान नियमित अभ्यास, ध्यान, आदर तथा सत्कारलगायत व्यवहारका विषयमा सिकाइनुका साथै चिकित्सकमार्फत उपचार पनि गरिने राजभण्डारीले बताइन् । ‘उहाँहरूलाई महसुस हुने गरी परामर्श गरेर लागुऔषध प्रयोगकर्ता युवती तथा महिलाको व्यवहार परिवर्तन गर्न सकिन्छ,’ उनले भनिन् । उक्त संस्थामा फिजिसियन चिकित्सक, मनोपरामर्शदातासहित सात जनाको जनशक्ति कार्यरत छ । २५ जनाको क्षमता रहेको पुनःस्थापना केन्द्रमा अहिले विभिन्न जिल्लाबाट आएका १९ जना युवती तथा महिला छन् । तीमध्ये सबैभन्दा बढी १५ देखि २५ वर्ष उमेर समूहका लागुऔषध प्रयोगकर्ता छन् । पुनःस्थापना केन्द्रमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कपिलवस्तु र रुपन्देहीका लागुऔषध प्रयोगकर्ता युवती तथा महिला छन् । १५ देखि २५ वर्ष उमेर समूहका युवतीले ब्राउन सुगरको प्रयोग गरेको र २५ देखि ५५ वर्ष उमेर समूहका महिलाले धेरैजसो मदिरा सेवन गरेको पाइएको संस्थापक राजभण्डारीले बताइन् । उनले पुनःस्थापना केन्द्रमा अवासका लागि विभिन्न प्याकेज रहेको जानकारी दिँदै तीन महिनामा खासै परिवर्तन नभए पनि छदेखि नौ महिनामा व्यवहार परिवर्तन भएको पाइएको बताइन्। ‘कतिपय अभिभावकले यहाँ ल्याएर छोड्नुहुन्छ र सम्पर्कविहीन भइदिनुहुन्छ त्यसले हामीलाई कहिलेकाहीँ अप्ठयारो पार्छ,’ उनले भनिन्, ‘उहाँहरूलाई संस्थामा भित्र्याएर चिकित्सकमार्फत उपचार सुरु हुन्छ र त्यो बेला उहाँहरूको शारीरिक अवस्था कमजोर हुन्छ, त्यसबेला उहाँहरुमा बेहोसजस्तो हुने र चिच्याउने, कराउनेलगायतका व्यवहार देखिन्छ ।’ पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक राशी रावलले युवती तथा महिलालाई अभिभावकले पुनःस्थापना केन्द्रमा राख्ने समय कम भएका कारण व्यव उनले मानसिक स्वास्थ्यको अवस्था राम्रो हुन कम्तीमा एक वर्षको समय लाग्ने भन्दै लागुऔषध प्रयोगकर्तालाई विगतका कुरा बिर्साउने विषयलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । नेपालगञ्जमा महिला पुनःस्थापना केन्द्र एउटामात्रै छ । केन्द्रमा उपचार गरी पाँच वर्षमा करिब २ सय महिला तथा युवती घर फर्किएका छन् भने ६० प्रतिशतको व्यवहार परिवर्तन भई सामान्य जीवन बिताएको संस्थाको भनाइ छ । रासस
डेढ दशकदेखि बन्द ढुंगाखानी सञ्चालनको माग
पर्वत । लामो समयदेखि बन्द यहाँको ढुंगाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुंगाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका हुन् । विशेष गरी यहाँको ढुंगा घर छाउन, बिच्छ्याउन र स्लेटका रूपमा प्रयोग हुने गरेको छ भने विभिन्न स्थानबाट पनि माग हुने गरेको छ । मोदी गाउँपालिकाको तीन वटा वडा क्याङ, देउराली र भुकताङलेमा माटेको लेकमा रहेको ढुंगाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सान बेहोर्नुपरेको छ । देउराली, क्याङ र भुकताङका बासिन्दाले खानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको थियो । तत्कालीन समयमा खानीमाथि सबैले आ–आफ्नै दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको क्याङ गाविसका पूर्वगाविस अध्यक्ष नरसिंह पुनले बताए । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो । तत्कालीन समयमा खानी सञ्चालनका लागि तीन गाविसका दुई दर्जनभन्दा बढी मजदुरले प्रत्यक्षरूपमा रोजगारी पाएका थिए । यहाँका खानीबाट निकालिएका ढुंगा धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दीका विभिन्न स्थानमा खपत हुने गर्दथे । खानीबाट ढुंगा उत्खनन् बन्द भएपछि ढुंगा संकलन गरेर बिक्री गर्दै आएको भानेबहादुर विकको परिवारले अर्को विकल्प खोज्नुपरेको छ । विकले खानीमा १० वर्षसम्म काम गरे पनि खानी बन्द भएपछि भने बेरोजगार हुनुपरेको गुनासो गरे । यहाँका ढुंगा घर, गोठ, मतान छाउन प्रयोग हुँदै आएका छन् । यहाँको खानीबाट निकालिने ढुंगा जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ हुने भएकाले ढुंगाको माग बढेको हो । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा पाँच वटा ढुंगा खानी छन् । ढुंगाले छाएका घर आकर्षक देखिने र एकपटक छाएपछि दुई पुस्तासम्म छाउनु नपर्ने पूर्वगाविस अध्यक्ष पुनको भनाइ छ । मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले खानी सञ्चालन गर्न पहल भइरहेको बताइन् । सुरुमा खानीसम्म सडकको पहुँच पुर्याउने योजना बनाएको बताउँदै सडक पुगेपछि खानी सञ्चालन गर्न डिभिजन वन कार्यालयलगायत सम्बन्धित निकायसँग पहल समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ ।
भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या
चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा शय्या थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो। अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए। उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ। एउटा शय्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ। उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा १५ हजार रुपैयाँ हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको शय्या शुल्क २ हजार रुपैयाँमात्र पर्दछ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० शय्याको बाल सघन उपचार कक्ष र ६ शय्याको पिआइसियु सञ्चालनमा छन् । अस्पतालमा ६ सय शय्या छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो संघीय अस्पताल हो । यहाँ दैनिक ३ हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए । संघीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।