काठमाडौं वरपरका जिल्लाको विकास गर्ने समय आएको छ : अर्थमन्त्री
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन् । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ ।’ ‘राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो’, उनले भने, ‘त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौं वरिपरीकाको आम्दानीको मूल श्रोत जग्गाजमिन थियो ।’ उनले भने, ‘काठमाडौंमा राणाहरुको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरुले चाकरी गरेवापत पुरस्कारका रुपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पुर्याउन सक्ने ठाउँको जमिन उनीहरु माग्थे । काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरु धेरै भए ।’ ‘काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जानी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित रहे । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो’ मन्त्री डा। महतले भने, ‘काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए । मन्त्री डा. महतले भने, अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौं–छहरे सुरुङ मार्गको काम हामीले गरिरहेका छौं । एक अर्ब बजेट पनि राखेका छौं, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।’ ‘यहाँकै प्रकाश महत अर्थमन्त्री हुनुभयो, बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको खोइन भन्ने तपाईंहरुलाई लाग्न सक्छ । साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन, उनले भने, ‘त्यसका लागि भौर्गविक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौं । उहाँहरुले प्राथम्भिक अध्ययन गर्न गर्नुहुनेछ । उहाँहरुले सम्भावित दुई तीनवटा विकल्प दिनुहुनेछ ।’ अर्थमन्त्रीले अध्ययन सम्पन्न भएपछि काठमाडौं–छहरे सुरुङमार्ग निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । ‘चार महिनामा अध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका छौं । त्यसपछि चीन सरकारले थप विकल्पहरु दिनेछ । त्यसपछि सुरुङ मार्गको प्रकृया अगाडि बढ्छ ।’ ‘वातावरण अध्ययन नेपाल सरकारले गरेपछि हामीले अन्तिम अध्ययन गरेर काम अगाडि बढाउँछौं । एकले अर्कोलाई देखाउने हाम्रो प्रशासन संयन्त्र यही, तर म यसमा लागिरहेको छु’ उनले भने, ‘सुरुङ मार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नु पर्दैन । एक घन्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइसराइ रोक्छ ।’ महतले भने, यस केन्द्रमा स्थापना गरिएको स्वास्थ्य चौकीले सम्पूर्ण सुविधा विस्तार गर्दै सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना दिए । अहिले धेरै सुविधा दिन सकेको छैन, आउने दिनमा डाक्टर र स्वास्थ्य सहायकको दरबन्दीको व्यवस्था गर्नेतिर लाग्नुपर्छ ।’ उनले भने, ‘सुत्केरी सुविधालगायत अन्य समस्याको स्वास्थ्य जाँच पनि यही उपलब्ध भयो भने सानातिना समस्याका लागि उपचार गर्न बाहिर जान पर्दैन । स्वास्थ्य, शिक्षा र पूर्वाधार चाहेर पनि एकैपटक गर्न सकिँदैन । उपलब्ध साधनस्रोतको भरपूर उपयोग गरेर आवश्यकतालाई केन्द्रविन्दूमा राखेर बजेट विनियोजन गर्नेतर्फ सरकार केन्द्रित छ ।’
नेप्से एकल बिन्दुले घट्दा ९६ करोडमा खुम्चियो सेयर कारोबार
काठमाडौं । साताको पहिलो दिनको नेप्से परिसूचक एकल बिन्दुले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा ०.३९ प्रतिशतले घटी हो । परिसूचक घटेको बजार कारोबार रकम पनि घटेको छ । पछिल्लो साता एक अर्ब माथिको सेयर कारोबार भएको बजारमा आइतबारको कारोबार ९६ करोड ४० लाख रुपैयाँमा खुम्चिएको छ । बजारमा कारोबारमा आएका २९३ वटा स्क्रिप्समध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ छ । त्यस्तै, बजारमा टप गेनरको शीर्ष स्थानमा थ्री स्टार हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ९.६३ प्रतिशतले बढेर प्रतिकित्ता ३८७ रुपैयाँमा पुगेको छ । त्यस्तै, ९ प्रतिशतभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा सबैको लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ९.०४ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँ पुगेको छ । घटेको बजारमा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । माउन्टेन इनर्जी नेपालको ९.९९ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको ९.९९ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । यससँगै यी तीन कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता क्रमशः ५३०.६०, २७३.८० र ३४६.३० रुपैयाँले घटी हो । आइतबारको बजारमा लघुवित्त वित्तीय संस्था बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । लघुवित्त समूह भने २.१९ अंकले उकालो लागेको छ ।
उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो
काठमाडौं । संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमासमेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चारकेन्द्रले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको उपभोक्ता सचेतनासम्बन्धी कार्यक्रममा सहभागीले कानुनमा व्यवस्था भएका प्रावधानको कार्यान्वयन हुन नसक्दा उपभोक्ता ठगिन बाध्य भएको बताए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको विषयमा प्रस्तुति दिँदै कानुनी दृष्टिले नेपालमा विश्वकै उत्कृष्ट उपभोक्ता अधिकार भएको भए पनि कार्यान्वयनका दृष्टिले सबैभन्दा कमजोर अवस्था रहेको बताए । उनले नेपालको संविधानले स्वच्छ वातावरण उपभोक्ता संरक्षणजस्ता विषयमा स्पष्ट उल्लेख गरेको जनाउँदै कार्यान्वयनका दृष्टिले नेपालमा धेरै कमजोर अवस्था रहेको उल्लेख गरे । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संविधान र कानुनले प्रदत्त गरेका उपभोक्ता अधिकारलाई कार्यान्वयन गर्न नसक्नु पनि भ्रष्टाचार रहेको भन्दै आफूहरूले उपभोक्ता अधिकारलाई गम्भीरताका साथ लिएर अनुगमन गर्ने गरेको बताए । उनले सबै पक्षले आ–आफ्नो स्थानमा गम्भीर भएर काम गर्नुपर्ने भन्दै एउटा सरकारले अर्को सरकारलाई दोष दिएर उपभोक्तामाथि खेलबाड गर्न नमिल्ने उल्लेख गरे । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पछिल्लो समय स्थानीय तहसँग मिलेर जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गर्दै आएको बताए । उनले स्थानीय तह, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मीलगायत सरोकारवालाको सहयोगमा बजार अनुगमन नियमित भइरहेको जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले नगरपालिकाले उपभोक्ताको हितलाई ध्यान दिँदै नियमित तथा छड्के अनुगमन गर्दै आएको बताए । उनले बजार अनुगमनको कामलाई तीन चरणमा विभाजन गरेर पहिलो प्रचारप्रसार, दोस्रो घरदैलो र तेस्रो चरणमा कैफियत भएकालाई कारबाही गर्नेगरी योजना निर्माण गरिएको बताए । कार्यक्रममा घरेलु तथा किराना पसल सङ्घ, उद्योग वाणिज्य सङ्घ भक्तपुरका प्रतिनिधिले बजारलाई व्यवस्थित बनाउन व्यवसायी, उपभोक्ता र सरकारको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।
भारतका सर्वाधिक धनाढ्य अम्बानीले किन भारतीय अर्थतन्त्र ४ सय खर्ब डलर पुग्ने आशा राखे ?
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अर्थतन्त्रलाई ५० खर्ब अमेरिकी डलरबराबर पुर्याउने लक्ष्य राखेका छन् । तर, देशको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा भारतकै सर्वाधिक धनी मुकेश अम्बानीले कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिको गतिलाई ध्यानमा राख्दै यस दशकको अन्त्यसम्ममा भारतको ऊर्जा आवश्यकता दोब्बर हुनुपर्ने बताएका छन् । संसारका धनाढ्यमध्ये पर्ने अम्बानीले सन् २०४७ सम्ममा भारतको अर्थतन्त्रको आकार ४ सय खर्ब डलरबराबर पुग्ने दाबी गरेका छन् । अहिले भारतको अर्थतन्त्रको आकार ३५ खर्ब डलरबराबर छ । अम्बानीले भारत विश्वको तेस्रो ठूलो ऊर्जा उपभोक्ता भएको र यस दशकको अन्त्यसम्ममा भारतमा ऊर्जाको माग दोब्बर हुने गरी जीडीपी वृद्धिलाई समर्थन गर्ने बताएका छन् । ‘भारतको जीडीपी वृद्धिलाई समर्थन गर्न भारतमा ऊर्जाको ठूलो आवश्यकता छ । मानिसले स्वच्छ र हरित ऊर्जा प्रयोग गरेर प्रगति गर्नुपर्छ र प्रकृतिलाई संरक्षण गर्नुपर्छ,’ भारतको अर्थतन्त्रको वृद्धिबारे गुजरातको गान्धीनगरमा रहेको पण्डित दीनदयाल ऊर्जा विश्वविद्यालयमा अम्बानीले भने, ‘यो दशकको अन्त्यसम्ममा भारतको ऊर्जा आवश्यकता दोब्बर हुनुपर्दछ ।’ अम्बानीले आगामी २५ वर्षमा भारतले आर्थिक वृद्धिको हिसाबले ठूलो वृद्धि रेकर्ड गर्न सक्ने र यसका लागि भारतले स्वच्छ, हरित र दिगो ऊर्जा लागू गर्नुपर्ने बताएका छन् । भारतमा बलियो ऊर्जा पूर्वाधार निर्माण गर्न आवश्यक रहेको र यसले आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न सक्ने अम्बानीले बताए । यससँगै अम्बानीले देशका हरेक व्यक्ति र हरेक आर्थिक गतिविधिलाई कसरी सस्तो ऊर्जा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा काम गर्नुपर्ने पनि बताएका छन् । यसका साथसाथै अम्बानीले भारतमा जीवाश्म इन्धनबाट स्वच्छ र हरित ऊर्जामा तत्काल रूपान्तरण गर्नुपर्ने बताएका हुन् ।
आईएमई लाइफ इन्योरेन्सले टिकापुरमा कर्मचारीकालाई दियो तालिम
काठमाडौं । आईएमई लाइफ इन्योरेन्सले टिकापुरमा तालिम सम्पन्न गरेको छ । इन्स्योरेन्सले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको छ । तालिममा सम्पत्ति शुद्धीकरणको कानुनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, एएमटी/सीएफटीका महत्व र लक्ष्यहरु, मनी लाउन्डरिङका घटनाहरु, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरु, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनी लाउन्डरिङका घटनाहरु, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टिङको पहिचान, एकल बीमाशुल्क, वित्तीय जोखिमांकन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गीकरण, वित्तीय जोखिमांकनको चरण, कम्पनीको भूमिका कारबाही तथा सजायलगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिइएको थियो। ईन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयका विभागिय प्रमुखहरुको उपस्थितमा उक्त तालिम सञ्चालन गरिएको थियो।
इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड सरकारको मिलेमतोमा ‘एनसेलको बिक्री’ : सांसद सिंह
काठमाडौं । प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले एनसेलको बिक्रीको विषय इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचारको काण्ड सरकारको मिलेमतोमा भएको बताएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सांसद सिँहले एनसेल बिक्रीको सम्बन्धमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै सो बताएका हुन् । ‘आज नेपालको इतिहासमा नै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड एनसेलको बिक्री काण्ड हो, यो राज्य र सरकारको मिलेमतोमा भएको छ’, सांसद सिँहले भने । साथै उनले शेरबहादुर देउवालाई ईंगित गर्दै पूर्व प्रधानमन्त्रीको छोराले एनसेलबाट १२ करोड रुपैयाँ बुझेको आफूले एक वर्ष अगाडि भनेको बताए । अहिलेको दिनमा एनसेलको सम्पत्ति दुई खर्ब भन्दा बढीको भएको र २०२९ जनवरीमा नेपाल सरकारको पूर्ण स्वामित्वमा आउने विषयलाई रोक्नको लागि सरकारकै संरक्षणमा बिक्री कार्य भएको उनले आरोप लगाएका छन् । ‘अहिले दुई खर्ब बराबरको भएको एनसेलको सम्पत्ति सन् २०२९ जनवरीसम्ममा नेपाल सरकारको हुनेथियो, त्यसलाई हुन नदिनको लागि यो भ्रष्ट सरकारको संरक्षणमा यो काम भएको हो’, सांसद सिंहले भने । पहिला सरकारकै प्रधानमन्त्री र आन्तरिक राजस्व विभागका महानिर्देशकले एनसेलबाट क्यापिटल गेन ट्याक्स लिन पर्दैन र लिनुहुँदैन भनेको भन्दै सांसद सिंहले नेपालले अन्तर्राष्ट्रिय रुपमा मुद्दा जितेपछि ४३ अर्ब राजस्व नेपाललाई दिन बाध्य भएको बताए । एनसेलको बिक्रीमा भ्रष्टाचार भएको आफूसँग प्रमाण भएको भन्दै सांसद सिंहले केही माफियाहरु र सरकारका केही उच्च अधिकारीहरु मिलेर सो काण्ड भएको बताए । ‘एक वर्ष अगाडि देखि नै यिनीहरु नेपाल सरकारलाई कसरी हस्तान्तरण नगर्ने भनेर प्रयास गरे, सांसदको कम्पोजिसन जुन छ, एमाले, कांग्रेस र माओवादीको सम्बन्ध राम्रो नभएको हुनाले ऐन पास हुन सकेन’, उनले भने, ‘त्यसपछि यिनीहरु दोस्रो बाटोमा गए ।’ ‘एनसेलसँग ३५०० टावर छ, त्यो टावर एउटा टावर कम्पनी खडा गरेर लिने र पछि नेपाल सरकारलाई दिँदाखेरी बिना टावरको खाली बिल्डिङ दिने प्रपञ्च थियो, त्यसमा प्रधानमन्त्रीकी छोरी गंगा दाहाल अहिलेको एनटिएको जुन अध्यक्ष छ त्यसलाई प्रेसर दिइराख्यो’, उनले भने, ‘तपाईं व्यापारीलाई दिइदिनुस जुन व्यापारी तीन महिनादेखि प्रधानमन्त्रीसँग रक्सी खाइरहेको छ, त्यो व्यापारी पत्ता लगाउने काम गर्नुस ।’
एनसेलको सेयर खरिदबिक्री रोक्नुपर्ने माग, कारोबार नेपालभित्रै गर्नुपर्ने (रिटसहित)
काठमाडौं । लामो समय पुँजीगत लाभकरको विषयमा विभिन्न न्यायिक निकायहरूमा पुगेको एनसेलको मुद्दा पुनः अदालतमा प्रवेश गरेको छ । आजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको स्पेकट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछि विषय उच्च अदालतसम्म पुगेको हो । एनसेलको सेयर बेच्ने निर्णय गरेको मलेसियन कम्पनी आजियाटाको निर्णय विरुद्ध अधिवक्ता गोकुलबहादुर रोकायाले गत शुक्रबार उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले दुवै पक्षलाई बोलाइ पनि सकेको छ । उनले दिएको रिटमा शुक्रबार नै सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले पहिलो सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । निवेदक रोकायाले कम्पनी ऐन, २०६३ को पहिलो संसोधनको (२०७४/०१/१९) दफा १२ ले पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसंचार सेवा प्रदायक कम्पनिले २ बर्ष भित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्नु पर्ने अनिबार्य व्यवस्था गरेको भएपनि एनसेलले उक्त कानूनी अबधि भित्र आफुलाई पब्लिक लिमिटेडमा रुपान्तरण नगरेको भन्दै रिट दायर गरेका हुन् । कम्पनी ऐनको दफा १२ को अबधि भित्र पब्लिक लिमिटेडमा परिणत गर्न लगाई सर्बसाधरणको पहुँचका लागि शेयर बिक्रि वितरण खुल्ला गर्नु गराउनु पर्ने दायित्व र जिम्मेवारी भए पनि एनसेलले सेयर जारी नगरेको रिटमा उल्लेख छ । उनले एनसेलले आईपीओ जारी गर्नु पर्ने उनको माग छ । यस्तै, निवेदक रोकायाले नेपाल धितोपत्र बोर्डमा दर्ता भई सार्वजनिक खरिद बिक्रिका लागि सेयर निश्कासन नगरेसम्म एनसेलको सेयर बिक्री वितरण वा हस्तान्तरण गर्न नपाउने गरी आदेश दिन माग गरेका छन् । एनसेल पब्लिक लिमिटेडमा रूपान्तरण भए पश्चात् एनसेलको कुनै पनि सेयरधनीले नेपाल धितोपत्र बोर्डमा दर्ता नगरी सेयर बिक्री÷वितरण, हस्तान्तरण गरेको सम्बन्धि सम्पूर्ण रेकर्ड दस्ताबेज बिपक्षीहरुबाट मगाई सो संँग सम्बन्धित सम्पूर्ण कार्य निर्णय पत्राचार समेत गर्नुपर्ने माग निवेदकको छ । यस्तै, समय सीमा तोकेर सो समय सीमाभित्र एनसेलको अधिकतम सेयर सार्बजनिक रूपमा बिक्रि वितरण गर्नका लागि आदेश दिनु पर्ने र खरिदबिक्रीको कारोबार नेपालभित्रै हुनु पर्ने माग पनि राखिएको छ । रोकायाको पक्षबाट बहस गर्ने अधिवक्ता डा. सुरेन्द्र भण्डारीले यसअघि पनि टेलियासोनेरा कम्पनीले विदेशमै खरिदबिक्रीको कारोबार गरेको र नेपाललाई लाभकर छली गरेकोले अब आजियटाले नेपालभित्रै खरिदबिक्रीको कारोबार गर्नु माग राखेको बताए । उनका अनुसार यसअघि नै सर्वोच्च अदालतले आगामी दिनमा कारोबार गर्दा नेपालभित्र नै गर्नु भनेर आदेश दिएकोले त्यसको कार्यान्वयन पनि हुनु पर्छ । आजियटाले ६ अर्ब ६६ करोड रुपयाँमा ८० प्रतिशत सेयर बिक्री गरेको छ । यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने सहमति दुवै पक्षबीच भएको छ । [pdf id=449789]
अर्किड होल्डिङ्सले पनि आईपीओ निष्काशन गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । अर्किड होल्डिङ्सले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । होटल तथा पर्यटन समूह अन्तर्गतको कम्पनीले एक करोड १५ लाख कित्ता बराबरको सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । बोर्डसँग अनुमति माग्दै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले कूल एक अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । यससँगै बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले सो मात्राको सेयर निष्काशन गर्न पाउने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।