काठमाडौं । लामो समय पुँजीगत लाभकरको विषयमा विभिन्न न्यायिक निकायहरूमा पुगेको एनसेलको मुद्दा पुनः अदालतमा प्रवेश गरेको छ । आजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको स्पेकट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछि विषय उच्च अदालतसम्म पुगेको हो ।
एनसेलको सेयर बेच्ने निर्णय गरेको मलेसियन कम्पनी आजियाटाको निर्णय विरुद्ध अधिवक्ता गोकुलबहादुर रोकायाले गत शुक्रबार उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले दुवै पक्षलाई बोलाइ पनि सकेको छ । उनले दिएको रिटमा शुक्रबार नै सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले पहिलो सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
निवेदक रोकायाले कम्पनी ऐन, २०६३ को पहिलो संसोधनको (२०७४/०१/१९) दफा १२ ले पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसंचार सेवा प्रदायक कम्पनिले २ बर्ष भित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्नु पर्ने अनिबार्य व्यवस्था गरेको भएपनि एनसेलले उक्त कानूनी अबधि भित्र आफुलाई पब्लिक लिमिटेडमा रुपान्तरण नगरेको भन्दै रिट दायर गरेका हुन् ।
कम्पनी ऐनको दफा १२ को अबधि भित्र पब्लिक लिमिटेडमा परिणत गर्न लगाई सर्बसाधरणको पहुँचका लागि शेयर बिक्रि वितरण खुल्ला गर्नु गराउनु पर्ने दायित्व र जिम्मेवारी भए पनि एनसेलले सेयर जारी नगरेको रिटमा उल्लेख छ । उनले एनसेलले आईपीओ जारी गर्नु पर्ने उनको माग छ ।
यस्तै, निवेदक रोकायाले नेपाल धितोपत्र बोर्डमा दर्ता भई सार्वजनिक खरिद बिक्रिका लागि सेयर निश्कासन नगरेसम्म एनसेलको सेयर बिक्री वितरण वा हस्तान्तरण गर्न नपाउने गरी आदेश दिन माग गरेका छन् ।
एनसेल पब्लिक लिमिटेडमा रूपान्तरण भए पश्चात् एनसेलको कुनै पनि सेयरधनीले नेपाल धितोपत्र बोर्डमा दर्ता नगरी सेयर बिक्री÷वितरण, हस्तान्तरण गरेको सम्बन्धि सम्पूर्ण रेकर्ड दस्ताबेज बिपक्षीहरुबाट मगाई सो संँग सम्बन्धित सम्पूर्ण कार्य निर्णय पत्राचार समेत गर्नुपर्ने माग निवेदकको छ ।
यस्तै, समय सीमा तोकेर सो समय सीमाभित्र एनसेलको अधिकतम सेयर सार्बजनिक रूपमा बिक्रि वितरण गर्नका लागि आदेश दिनु पर्ने र खरिदबिक्रीको कारोबार नेपालभित्रै हुनु पर्ने माग पनि राखिएको छ ।
रोकायाको पक्षबाट बहस गर्ने अधिवक्ता डा. सुरेन्द्र भण्डारीले यसअघि पनि टेलियासोनेरा कम्पनीले विदेशमै खरिदबिक्रीको कारोबार गरेको र नेपाललाई लाभकर छली गरेकोले अब आजियटाले नेपालभित्रै खरिदबिक्रीको कारोबार गर्नु माग राखेको बताए । उनका अनुसार यसअघि नै सर्वोच्च अदालतले आगामी दिनमा कारोबार गर्दा नेपालभित्र नै गर्नु भनेर आदेश दिएकोले त्यसको कार्यान्वयन पनि हुनु पर्छ ।
आजियटाले ६ अर्ब ६६ करोड रुपयाँमा ८० प्रतिशत सेयर बिक्री गरेको छ । यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने सहमति दुवै पक्षबीच भएको छ ।
[pdf id=449789]