लागतको पर्खाइमा म्याग्दीको सौरबोट, आयआर्जन हुने प्रशस्तै स्रोत र सम्भावना
गलेश्वर । आयआर्जन हुने प्रशस्तै स्रोत र सम्भावना रहेर पनि सरोकारवालाको बेवास्ताका कारण म्याग्दीको सौरबोट ओझेलमा परेको छ । समुन्द्री सतहदेखि झण्डै दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ नजिकै पर्ने सौरबोट लेकाली फलफूल, जडीबुटी र पर्यटनका लागि महत्त्वपूर्ण ठाउँ भएर पनि उपयोगविहीन बनेको हो । यहाँ वर्षौ देखि खेती गर्न छाडेको एकसय रोपनीभन्दा धेरै जग्गा बाँझो छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्त्व बोकेको सौरबोट क्षेत्रमा डिम्बर, मैडल, हाडेकाफल, गोफ्लो, ऐँसेलु, जनमन्त्रो, चुत्रो, घँयरु, गुल्टुङलगायत लेकाली फलफूल प्रशस्तै मात्रामा पाइन्छन् । यहाँको वन क्षेत्रमा अहिलेको समयमा निगालोको टुसा र निगुरो तथा डौँडे पनि पाइने हुँदा व्यावसायिकरुपमा जङ्गली फलफूल र जडीबुटीको खेती गर्न सकिने स्थानीय रामबहादुर बानियाँले बताए । उनका अनुसार सौर प्रजातिका बोटबिरुवा धेरै भएकाले यस ठाउँको नाम सौरबोट राखिएको हो । यो ठाउँ पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको गैरसरकारी संस्था मिलन म्याग्दीका पूर्वध्यक्ष एवं स्थानीय बुद्धिजीवी शिव बानियाँले बताए । उनका अनुसार तरेली परेका डाँडाकाँडा र लेकाली बस्तीको सौन्दर्यको साथमा पवित्र कालीगण्डकी तथा रघुगङ्गा नदीको बहाव देखिने सौरबोटबाट मौसम खुल्दाको समयमा बिहान सूर्योदयसँगै धौलागिरि र अन्नपूर्ण रेञ्जका सबै हिमाल छर्लङ्ग देखिन्छन् । हरियाली जङ्गल, वनपाखा, वनफूल, विभिन्न प्रजातिका बोटबिरुवाको हरियालीमा सजिएको सौरबोटको प्रचारप्रसार गर्ने हो भने बेनी आएका पर्यटक यस क्षेत्रमा आउने बलियो सम्भावना रहेको बानियाँको भनाइ छ । स्थानीयवासीसमेत रहेका पत्रकार प्रताप बानियाँका अनुसार सौरबोटमा जडीबुटीतर्फ भकिम्लो, सतुवा, जटामसी, टिम्मुर, चिराइतो, सिल्टीम्युर, गुराँसलगायत पाइनुका साथै यहाँको वनजङ्गल क्षेत्रमा मृग, चितुवा, बाघ, कालिज, चिर, तित्रो, चाखुरा, काँडेभ्याकुर र ढुकुरसहित वन्यजन्तु जनावर तथा चराचुरुङ्गी पाइन्छन् । विगतमा स्थानीयले खेती गर्न छाडेर अहिले बाँझो रहेको जग्गामा फलफूल, आलु, फापरलगायत लेकाली उत्पादन लगाउन सकिने उनले बताए । यहाँको जमिनमा गरा सुधार गरेर मकै, जौ, कोदो, कागुनोलगायत लेकाली उत्पादन दिने खेती गर्न सकिने बानियाँले बताए। उनका अनुसार चिसो हावापानीका साथै हिमालको सम्मुखमा पर्ने भएकाले सौरबोटमा व्यावसायिकरुपमा स्याउ खेतीसमेत गर्न सकिन्छ । पर्याप्त जमिन भएको सौरबोट क्षेत्रलाई पर्या–पर्यटनका माध्यमबाट विकास गर्न सकिने उत्तिकै सम्भावना रहेको उनले बताए । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि नजिकको दूरीमा पर्ने सौरबोटमा वनभोज खाने ठाउँ बनाएर पनि रमाउन सकिन्छ । तत्कालीन बाइसेचौबिसे राज्य रहेका बेला रानीले कपाल कोर्ने डिलसमेत रहेको सौरबोट क्षेत्र मनोरम दृश्यावलोकनको उपयुक्त स्थलका रुपमा रहेको छ । कृषि उत्पादन, पर्यटन तथा आर्थिकलगायत क्षेत्रको सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रवर्द्धन गर्नका लागि सम्बन्धित निकायले पनि ध्यान दिनु आवश्यक रहेको उनको भनाइ थियो । रासस
यी हुन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ठूला सेयरधनी, कसको स्वामित्व कति ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा विभिन्न २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा ठूला सेयरधनी थानेश्वर पौडेलको २.२८ प्रतिशत अर्थात् ९ करोड ७७ लाख ७२ हजार ६२१ रुपैयाँ रहेको छ । यस्तै, धनेन्द्र कार्कीको १.०३ प्रतिशत अर्थात् ४ करोड ३९ लाख ८७ हजार ८८६ रुपैयाँ, राजेन्द्र प्रसाद श्रेष्ठको १.०२ प्रतिशत अर्थात् ४ करोड ३६ लाख ६३ हजार ८०१ रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, बालकृष्ण भुषालको ०.९८ प्रतिशत अर्थात् ४ करोड १७ लाख ८५ हजार ७३६ रुपैयाँ, कृष्णप्रसाद शर्माको ०.९१ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ९६ हजार ५७५ रुपैयाँ, दिलिपराज मास्केको ०.७९ प्रतिशत अर्थात् ३ करोड ४० लाख ३९ हजार ३७६ रुपैयाँ, भुवन भण्डारीको ०.७५ प्रतिशत अर्थात् ३ करोड २० लाख ८७ हजार ७४८ रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, मृगेन्द्र प्रसाद श्रेष्ठको ०.६९ प्रतिशत अर्थात् २ करोड ९३ लाख ९० हजार ३०८ रुपैयाँ, कृष्ण प्रसाद भण्डारीको ०.६७ प्रतिशत अर्थात् २ करोड ८६ हजार ५६ लाख ६६ रुपैयाँ, मिन कुमारी श्रेष्ठको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख ६१ हजार २१३ रुपैयाँ, सुरेन्द्रप्रसाद श्रेष्ठको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख २४ हजार ३२२ रुपैयाँ सेयर स्वामित्व रहेको छ । बैंकको तथ्याङ्क अनुसार इश्वरी प्रसाद पौड्यालको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख २४ हजार २६६ रुपैयाँ, जनक प्रधानको ०.६० प्रतिशत अर्थात् २ करोड ५५ लाख ४१ हजार ५४६ रुपैयाँ, दान बहादुर कुँवर क्षेत्रीको ०.५९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४० हजार १२५ कित्ता, महेश्वर प्रसाद श्रेष्ठको ०.५७ प्रतिशत अर्थात् २ करोड ५४ लाख ४० हजार ९९ कित्ता सेयर स्वामित्व रहेको छ । केदारमान कक्षपतिको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ४८ हजार ५६९ रुपैयाँ, मेघराज कक्षपतिको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ४८ हजार २०८ रुपैयाँ, विष्णु प्रसाद शर्माको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ३३ हजार १४३ रुपैयाँ, हरि प्रसाद प्रधानको ०.५५ प्रतिशत अर्थात् २ करोड ३६ लाख ६८ हजार ७६९ रुपैयाँ, सुरेश कुमार धरेवालको ०.५५ प्रतिशत अर्थात् २ करोड ३५ लाख ४७ हजार ८६१ रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । सुश्मा क्षेत्रीको ०.५३ प्रतिशत अर्थात् २ करोड २८ लाख २१ हजार ६२६ रुपैयाँ, नारायण प्रसाद अग्रावलको ०.५३ प्रतिशत अर्थात् २ करोड २४ लाख ९६ हजार ४९६ रुपैयाँ, सुरज उप्रेतीको ०.५२ प्रतिशत अर्थात् २ करोड २२ लाख ३९ हजार ४७८ रुपैयाँ, टंकेश्वर खनालको ०.५१ प्रतिशत अर्थात् २ करोड १७ लाख ४७ हजार ५४२ रुपैयाँ र विरेन्द्र भुषालको ०.५० प्रतिशत अर्थात् २ करोड १६ लाख १५ हजार ८८ रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले बताएको छ । बैंकको तथ्याङ्क अनुसार ४९ प्रतिशत अर्थात् १ अर्ब ८५ करोड २६ लाख ९४ हजार रुपैयाँ सेयर स्वामित्व सर्वसाधारण समूहको छ भने ५१ प्रतिशत अर्थात् १ अर्ब ९२ करोड ८३ लाख १४ हजार रुपैयाँ संस्थापकहरुको लगानी छ ।
वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने
स्याङ्जा । स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’अन्तर्गत सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो । सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नगरभित्रका प्रत्येक घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको नगर प्रमुख कृष्ण खाणले जानकारी दिए । नगरका १४ वटै वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित घर जिपिएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी नम्बर प्लेट टाँस्न लागिएको उनले बताए । ‘यो कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य स्थितिकाबारेमा नगरपालिका जानकार भइरहने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीति तयार गर्न सघाउ पुग्ने देखिन्छ’, खाणले भने, ‘वडा नं ३ को माझकोटबाट सुरु भएको यो अभियानलाई एक महिनाको अवधिमा नगरका सबै वडामा पुर्याउँछौं ।’ सरुवा रोगको सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै रोगका बारेमा सचेतना फैलाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । नसर्ने रोगका बारेमा पनि नागरिकलाई सचेत बनाइने भएको उपप्रमुख कविता तिवारी गैरेले बताइन् । अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन प्रत्येक वडामा नर्सहरु खटाइएको छ । नर्समार्फत नागरिकमा देखिने मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायतका रोगका बारेमा जानकारी दिने र स्वस्थ जीवनशैली कसरी हुनसक्छ भन्ने विषयमा सचेतना जगाउने उनले बताइन् । ‘सबैभन्दा ठूलो सम्पत्ति नै स्वास्थ्य हो,’ उनले भनिन्, ‘यहाँका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि स्वास्थ्यकर्मीलाई घरघरमै पठाएका छौँ । प्रत्येक घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्ने र बिरामीलाई आवश्यक परामर्श प्रदान गरिनेछ ।’ विशेष गरी ग्रामीण भेगमा बस्ने नागरिकले नसर्ने रोगका कारण अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले यो अभियान अगाडि बढाइएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । नगरपालिकाले घरघरमा नम्बर प्लेट टाँससँगै घरका सदस्यको स्वास्थ्य अवस्थाको सबै विवरण राखिने भएकाले पनि पहिचान गर्न सहज हुने उनको भनाइ छ । रासस
भारतका आठ ठूला सहरमा आवासीय घर बिक्री २२ प्रतिशत बढ्यो
नयाँदिल्ली । उत्कृष्ट उपभोक्ता मागका आधारमा भारतका आठ ठूला सहरमा आवास बिक्री वार्षिकरूपमा २२ प्रतिशतले बढेको छ भने जुलाई–सेप्टेम्बरमा नयाँ परियोजनाहरू सुरु गर्ने दर १७ प्रतिशतले बढेको छ । रियल इस्टेट डिजिटल प्लेटफर्म प्रपटाइगर डटकमले यो जानकारी दिएको हो । आरईए भारतको स्वामित्वमा रहेको हाउसिङ ब्रोकरेज प्लेटफर्म प्रपटाइगरले आफ्नो रियल इनसाइट आवासीय जुलाई–सेप्टेम्बर २०२३ रिपोर्ट जारी गरेको छ । आरईए भारतसँग हाउजिङ डटकम र मकान डटकमको पनि स्वामित्व छ । रिपोर्टअनुसार आठ प्रमुख सहर दिल्ली–एनसीआर (राष्ट्रिय राजधानी क्षेत्र), मुम्बई महानगर क्षेत्र (एमएमआर), चेन्नई, कोलकाता, बेंगलुरु, हैदरावाद, पुणे र अहमदाबादमा आवासीय एकाइहरूको बिक्री तेस्रो त्रैमासिकमा बढेर १ लाख १ हजार २ सय २० युनिट पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा ८३ हजार २ सय २० युनिट थियो । चेन्नईबाहेक सबै सहरमा बिक्री वृद्धि रेकर्ड गरिएको छ । मुम्बई मेट्रोपोलिटन क्षेत्र ९एमएमआर० र पुणेको कुल बिक्रीमा निकै कम हिस्सा थियो । समीक्षा अवधिमा नयाँ आयोजना जारी गर्ने दर १७ प्रतिशतले बढेको छ । यस अवधिमा १ लाख २३ हजार ८० युनिट सञ्चालनमा आएका थिए भने अघिल्लो वर्षको सोही अवधिमा १ ला ४ हजार ८ सय २० युनिट बिक्री भएका थिए । आरईए इन्डियाका मुख्य वित्त अधिकारी एवं प्रपटाइगर डटकमका प्रमुख विकास वाधवानले भने, ‘शीर्ष आठ सहरको आवासीय बजार निरन्तर बुलिशमा छ। सकारात्मक उपभोक्ता भावनाले बलियो माग बढेको छ ।’ उनले बढेको खर्च गर्न सक्ने आम्दानी, स्थिर ब्याजदर र लगानीकर्ताको मागजस्ता कारण बिक्री बढेको बताए । जुलाई–सेप्टेम्बर २०२३ को तथ्यांकअनुसार हैदरावादमा बिक्री ३४ प्रतिशतले बढेर १० हजार ५ सय ७० एकाइबाट १४ हजार १ सय ९० एकाइ पुगेको छ । अहमदाबादमा घरको बिक्री गत वर्षको सोही अवधिमा ७ हजार ८ सय ८० इकाइको तुलनामा वार्षिकरूपमा ३१ प्रतिशतले बढेर १० हजार ३ सय युनिट पुगेको छ। बेंगलुरुमा बिक्री ७ हजार ८ सय ९० एकाइबाट बढेर १२ हजार ५ सय ९० एकाइमा अधिकतम ६० प्रतिशत वृद्धि भएको छ । दिल्ली (एनसीआर) मा बिक्री ५ हजार ४ सय ३० युनिटबाट ४४ प्रतिशतले बढेर ७ हजार ८ सय इकाइ पुगेको छ । कोलकातामा २ हजार ५ सय ३० युनिटबाट ३ हजार ६ सय १० युनिट बिक्रीमा ४३ प्रतिशत वृद्धि भएको छ । मुम्बईमा बिक्रीमा पाँच प्रतिशतमात्रै वृद्धि भएको थियो। वार्षिक आधारमा बिक्री २८ हजार ८ सय एकाइबाट ३० हजार ३ज सय एकाइमा बढेको छ। पुणेमा बिक्री १५ हजार ७ सय युनिटबाट १८ प्रतिशतले बढेर १८ हजार ५ सय ६० युनिट पुगेको छ । एजेन्सी
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग, उम्मेदवारी दर्ता पुस २३ गते
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका लागि आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने गरी निर्वाचन कार्यक्रम ल्याउने तयारी गरेको छ। आयोगको परामर्शमा यही मंसिर १३ गते नेपाल सरकारबाट निर्वाचनको मिति तोकिएपछि आफूहरु तयारीमा लागेको र आयोगबाट मङ्सिर १४ गते निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । स्वीकृत कार्यतालिकाअनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । राजनीतिक दल दर्ता भएपछि आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइनेछ। नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गते सम्म) निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ । निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ। उक्त सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको प्रत्येक वर्ष निर्वाचन हुँदै आएको छ ।
स्वरोजगार बनेपछि बदलियो गृहिणीको जीवनशैली
ढोरपाटन । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन् । महिलाले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन् । अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन् । गलकोट–२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको स्वीटर उद्योगमा भेटिन्छन् । दुई वर्ष अगाडिसम्म पशुचौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिरहेकी छन् । उनीसँगै नरेठाँटीका सातजना महिला यही उद्योगमा काम गर्छन् । उद्योग सञ्चालनमा आएपछि अहिले सातै जनाले अरुको काम गर्नु नपरेको बताउँछन् । स्वरोजगार बनेपछि दैनिकी र जीवनस्तर बदलिँदै गएको उनीहरुको भनाइ छ । सावित्राले पाँच दशक बढीको उमेर चुलोचौको र मेलापातमा बिताइन् । पचास नाघेपछि उद्यमी बन्दा उनी खुसी छन् । कुनै सीप नहुँदा जीवनकालमा निकै कष्टकर दिन बिताएको सम्झना सावित्राको मानसपटलमा अझै ताजा छ । काममा व्यस्त हुन थालेपछि पुराना दिनलाई विस्तारै भुल्दै गएको सावित्रीको भनाइ थियो । उद्योगमा हरेक दिन आफू जस्तै महिलाले काम गर्ने भएकाले दैनिकी सहज बन्दै गएको उनले बताइन् । गलकोट–२ को वडा कार्यालय नजिकै रहेको स्विटर उद्योगमा केही १८–२० वर्षका युवती छन् भने कोही पाका महिला छन् । युवादेखि पाकासम्मका महिलालाई उद्यमसँग जोड्न नगरपालिकाले भूमिका खेलेको छ । पालिकाले तालिम दिएर सीप सिकाएपछि उद्यमी बनेका महिलाले अब अरुको काम गर्नु नपर्ने सुनाउँछन् । सावित्राले परिवार चलाउनका लागि रात दिन अरुको काम गरेको स्मरण गर्दै अहिले आफूलाई अनुकूल समय निकालेर काम गरिरहेको बताए । उनले सबैभन्दा ठूलो सीप रहेको भन्दै सीप भएपछि कुनै पनि व्यक्तिले दु:ख पाउन नपर्ने बताए । नगरपालिकाले गृहिणी महिलाका लागि ठूलो अवसर दिएपछि आयआर्जनसँग जोडिन थालेको सावित्रीको भनाइ थियो । अहिले आफै मालिक भएर काम गर्दा गौरवको अनुभूति भएको उनले अनुभव सुनाए । ‘पहिले अरुको काम गर्नुपथ्र्यो । अरुको काम गरेर पैसा पाउन निकै गाह्रो हुन्थ्यो । परिवारको खर्चका लागि मेलापात गर्नुको विकल्प थिएन’, उनले भने, ‘अहिले सीप सिकेपछि दुई/चार पैसा कमाउन गाह्रो छैन । आफ्नै व्यवसाय छ । आफै काम गर्ने आफै कमाउने भएका छौँ ।’ महिला उद्यमीकी संयोजक खड्काथोकीले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिमले आफूहरुको जीवनस्तरमा परिवर्तन गराइदिएको बताए । तालिम पश्चात् उद्योग परीक्षणकालमा रहे पनि व्यवसाय फस्टाउँदै गएको उनले बताए । यहाँ महिला तथा पुरुषका लागि स्विटर, विद्यार्थीका लागि पोसाक, गलबन्दि, टोपीलगायतका सामग्री उत्पादन गर्ने भन्दै बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन हुने खड्काथोकीले दाबी गरे । व्यवसाय सञ्चालन गरेको एक वर्षमै धेरै ठाउँबाट उत्पादनको माग आएको भन्दै मागअनुसार पुर्याउन नसकेको खड्काथोकीले जानकारी दिइन् । उद्योग सञ्चालनमा अधिकांश लगानी नगरपालिकाले गरेको भन्दै यहाँ आवद्ध महिलाले प्रतिव्यक्ति पचास हजार लगानी गरेका उनले बताए । उनका अनुसार कच्चापर्दाथ बुटवल र काठमाडौँबाट ल्याउने भएकाले समस्या भएको छैन । संयोजक खड्काथोकीले उद्यमले गृहिणीको आर्थिक अवस्थालाई बलियो बनाउन थालेको बताइन । पहिले अरुको काम गर्दा दिनको रू पाँच सय कमाउने गरेकामा अहिले रू एक हजारदेखि रू बाह्र सयसम्म आम्दानी हुने गरेको उनले जानकारी दिइन । ‘सीप नहुँदा मैले पनि अरुको काम गर्थेँ । अरुको काम गर्दा पैसा लिन नै समस्या थियो । अहिले नगरपालिकाले सीप सिकाएपछि हामीहरु उद्यमी बनेका छौँ । यहाँ बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन गरिरहेका छौँ । तुलनात्मक रुपमा यहाँ सस्ता पनि पर्छ’, खड्काथोकीले भनिन्, ‘अहिले माग बढिरहेको छ । मागअनुसारको उत्पादन पुर्याउन सकिएको छैन । उत्पादन गर्ने ठाउँमै आएर किन्ने धेरै हुनुहुन्छ । उद्योगमा हामी आफूलाई मिल्ने समयमा आएर काम गर्छौँ । अहिले मासिक रू ३०/३२ हजार कमाउनलाई गाह्रो छैन ।’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गृहिणीलाई स्वरोजगार बनाउने योजनाअन्तर्गत दुई वर्ष अगाडि तालिम दिएर उद्यमी बनाइएको जानकारी दिए । पछिल्लो समय धेरै गृहिणी विदेश पलायन हुनथालेपछि गाउँ रित्तिन थालेको भन्दै उनीहरुलाई गाउँमै रोक्न सीप सिकाएर व्यवसायसँग जोडेको उनको भनाइ थियो । नगरपालिकाले तालिमसहित करिब रू सात लाख बराबरको मेसिन सहयोग गरेको भन्दै उद्योगका लागि घर पनि पालिकाले नै व्यवस्थापन गरिदिएको प्रवक्ता भण्डारीले बताए । ‘सुरुमा तालिम लिने दिदीबहिनी धेरै हुनुहुन्थ्यो । व्यवसाय गर्न चाहीँ सात जनाले मात्रै थाल्नुभयो । उहाँहरु अहिले आत्मनिर्भर बन्दै जानुभएको छ । सात जनाले भए पनि यहाँ रोजगार पाउनुभएको छ’, उनले भने, ‘अझै उद्योगमा धेरै कामदारको आवश्यकता परेमा उद्योग विस्तार गर्दै लगे धेरैले रोजगार पाउने छन् ।’ यहाँ आवद्ध सबैको आर्थिक अवस्था सुधार भएको भन्दै प्रवक्ता भण्डारीले महिला आयआर्जनसँग जोडिएसँगै उनीहरुको जीवनशैली पनि बदलिएको बताए । नगरपालिकाले अन्य वडामा पनि सीपमूलक तालिम दिएर महिलालाई व्यवसायसँग जोडेको उनको भनाइ थियो । रासस
विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । विमानस्थल श्रोतका अनुसार उनको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएर आगो लागेको हो । उनी बोर्डिङ पास लिएर विमान चढ्नको लागि प्रतिक्षालयमा बसिरहेका थिए । सोही बेलामा ब्याग भित्र रहेको पावर बैंक पड्किएको हो । र, विमानस्थलभित्र ठूलो क्षति भने नभएको विमानस्थल श्रोतले बतायो ।
अर्थ मन्त्रालयको निर्णय : सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुल गर्नू
काठमाडौं । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयहरुमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । ३३१ पालिकाहरुको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रुपैयाँ छ । अधिकांश पालिकाहरुको बक्यौता २०७४ सालपछिको हो । प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनर्संरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयहरुको नाममा रहेको महसुल बक्यौता सरकारसँगको हिसाबमा मिलान गर्ने उल्लेख थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालयबाट सरकारी निकायको बक्यौता रकम हिसाब मिलान गर्न नसकिने र उक्त रकम सम्बन्धित कार्यालहरुबाटै असुलउपर गर्ने निर्णय भएको जानकारी प्राप्त भएको बताए । ‘विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकमलाई सरकार र प्राधिकरणबीचको हिसाबमा मिलान गर्न प्रस्ताव गरेका थियौं,तर अर्थ मन्त्रालयबाट उक्त बक्यौता रकम तत्तत् निकायबाट असुलउपर गर्ने निर्णय भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘सोही आधारमा हामीले बक्यौता रकम असुलीको प्रक्रिया अगाडि बढाएका छौं ।’ प्राधिकरणले सडक बत्तीको वक्यौता रकम तिर्न अनुरोध गर्दै ४५ दिनको समयावधि दिई गत २१ असोजमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । प्राधिकरणले गत मंसिर ६ गते पुनः सार्वजनिक सूचनामार्फत सडक बत्तीको बक्यौता तिर्न पालिकाहरुलाई अनुरोध गरेको थियो । वितरण केन्द्रहरुले आफ्नो क्षेत्रमा रहेका पालिकाहरुलाई बक्यौता तिर्न ताकेता गरिरहेको र नतिर्ने पालिकाहरुको सडक बत्तीको लाइन काट्न सुरु गरिएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाले उल्लेख गरे । प्राधिकरणको विद्युत महशुल संकलन विनियमावली, २०७८मा मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्यत् महसुल नुबझाएमा बिनासूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ । मिटर रिडिङ भएको १६औं दिनसम्म महसुल नतिरेमा थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ । यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताको विद्युत लाइन जुनसुकैबेला काट्न सकिने प्रावधान छ ।