विकासन्युज

नेपालगञ्जबाट रारा उडेको विमान ग्राउन्डेड

काठमाडौं । नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान ग्राउन्डेड भएको छ । ३ जना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो । उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो । जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएकाले थियो । नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिए । नेपालगञ्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका यात्रुहरू ताल्चाका होटेलहरूमा आज बास बसेका छन् ।

नेपालको जताततै प्रशंसा भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताएका हुन् । जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेकाले त्यसबापतको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाललाई प्राथमिकता प्राप्त देशको सूचीमा समावेश गरिएको आफूलाई जानकारी दिनुभएको प्रधानमन्त्रीले बताए । जलवायु वित्तमा नेपाल प्राथमिकता प्राप्त देशको सूचीमा परेकाले आर्थिक एवम् प्राविधिक सहयोग प्राप्तिमा वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका मुद्दालाई यस पटक नेपालका तर्फबाट सघन रुपमा प्रस्तुत गरिएको बताए । महासचिव गुटेरेसको नेपाल भ्रमणपछि जलवायु मुद्दामा नेपालको आवाज प्रभावकारी बनेको उनको भनाइ छ । सम्मेलनका क्रममा नेपालको आफ्नै नेपालमण्डपसमेत पहिलोपटक राखिएको र जलवायु परिवर्तनका सन्दर्भमा स्पष्ट दृष्टिकोणका साथ छलफलको आयोजना गरिएको प्रधानमन्त्रीले जानकारी दिए । नेपाली मण्डपमा यस क्षेत्रका जानकार, सञ्चारकर्मी र सरोकारवालाले मेहनतका साथ आफ्ना विषय प्रस्तुत गरेका उनको भनाइ छ । कोप–२८ मा नेपालले आफ्नो अधिकारको विषयमा प्रस्ट दृष्टिकोणका साथ आफ्ना धारणा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, “नेपालको जताततै प्रशंसा भयो । यो समान्य छैन ।” हिमाल, पहाड र नेपाल भनेर नै सूत्रबद्ध रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्रीले सम्मेलन सफल भएको उल्लेख गरे । सम्मेलनमा सहभागी क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सङ्क्षिप्त कुराकानीभएको जानकारी दिँदै प्रधानमन्त्रीले जाजरकोट भूकम्पपछिको राहत, उद्धार तथा पुनः स्थापनामा सघाउन पाएकामा भारतीय प्रधानमन्त्रीले हर्ष प्रकट गर्दै भविष्यमा पनि पारस्परिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । पृथक प्रसङ्गमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको कुनै सम्भावना नरहेको स्पष्ट गरे । वर्तमान सरकार गठन भएदेखि नै त्यसको चर्चा चलेका भन्दै उनले त्यसमा कुनै सत्यता नभएको बताए ।

एनसीएचएलको ३० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे एक अर्ब बढी

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । मंसिर १७ गते सम्पन्न एनसीएचएलको बाह्रौं वार्षिक साधारण सभाले प्रस्तावित २८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५ प्रतिशत नगद लाभांश पारित गरेको हो । यससँगै संस्थाको चुक्ता पुँजी एक अर्ब ६६ लाख ३७ हजार ९ सय रुपैयाँ पुग्ने छ । साथै, सभाले अधिकृत पूँजी वृद्धि गरी २ अर्ब पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पुँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पुँजी प्रयोग गर्नेछ । साधारण सभाको बैठकले कम्पनीको शेयर स्वामित्व संरचनामा साविकझैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मात्र कायम रहने गरीे गाभ्न÷गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै, एनसीएचएलले वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नेछ । आ.व. २०७९÷८० मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या १६ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६ प्रतिशतले वृद्धि भएको छ । सो आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र निदेशक गरी क्रमशः १–१ जना रहेका छन् ।

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ । यसअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ । काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुर्याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्नरनगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ । रासस

एक वर्षमै सवा लाख भारतीयले बैंकको जागिर पाए

एजेन्सी । भारतीय बैंकहरूले रोजगारी प्रदान गर्न उल्लेखनीय प्रगति हासिल गरेका छन् । बैंकहरूले रोजगारी प्रदान गर्ने गति पछिल्लो दशकमा सबैभन्दा तीव्र भएको हो । सन् २०१२ पछि २०२३ मा बैंकिङ क्षेत्रमा सबैभन्दा बढी मानिसले रोजगारी पाएको तथ्यांक सार्वजनिक भएको छ । आगामी वर्ष २०२४ मा पनि यो क्रम जारी रहने बैंकिङ क्षेत्रका शीर्ष अधिकारीहरूले अनुमान गरेका छन् । इकोनोमिक टाइम्समा प्रकाशित समाचारअनुसार नयाँ नियुक्तिको प्रतिस्पर्धा गत वर्षको कीर्तिमानभन्दा बढी हुन सक्छ । यतिमात्र होइन, यो संख्या अहिलेसम्मकै उच्च स्तरमा पुग्न सक्छ । रिजर्भ बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष सार्वजनिक र निजी क्षेत्रका बैंकले मिलेर १ लाख २३ हजार कर्मचारीलाई रोजगारी दिएका छन् । यो संख्या पछिल्लो १० वर्षमा सबैभन्दा बढी हो । यस अवधिमा निजी बैंकहरूले द्रुत नियुक्तिहरू गरेका छन्। भर्ती विशेषगरी ग्राहक इन्टरफेस र प्रविधि प्रकार्यहरूमा गरिएको थियो । निजी बैंकहरूको उद्देश्य टायर ३ र ग्रामीण क्षेत्रमा आफ्नो शाखा सञ्जाल द्रुतरूपमा विस्तार गर्नु हो । २०१२ मा १ लाख २४ हजार रोजगारी सन् २०२२ को तुलनामा २०२३ मा कर्मचारी संख्या ६१ प्रतिशतले बढेको छ । यसको असर वार्षिक आधारमा ७.४ प्रतिशतले बढेर कुल कर्मचारी संख्या १७ लाख ६० लाख हजार पुगेको छ । बैंकिङ क्षेत्रले २०११ मा १ लाख २५ हजार नयाँ कामदारका साथमा अहिलेसम्मकै उच्च वार्षिक रोजगार वृद्धि देखेको थियो । त्यसपछि २०१२ मा १ लाख २४ हजारलाई बैंकले रोजगारी दिएको थियो । हरेक दिन ३ सय ५० नयाँ कर्मचारी थप इटीको रिपोर्टअनुसार निजी क्षेत्रको दिग्गज एचडीएफसी बैंक, आईसीआईसीआई बैंक, एक्सिस बैंक, कोटक महिन्द्रा बैंक, इन्ड्सइन्ड बैंक, आईडीएफसी फर्स्ट बैंक, बन्धन बैंक र एयू बैंकसहित १५ निजी बैंकहरूले २०२३ को हरेक दिन लगभग ३ सय ५० नयाँ कर्मचारी भर्ती गरेका छन् । यसमा बदली नियुक्तिको तथ्यांक पनि जोड्ने हो भने हरेक दिन ६ सय कामदारको संख्या पुग्छ । यसका आधारमा आगामी वर्ष कर्मचारी संख्याले २०११ को कीर्तिमानी आँकडा पार गर्न सक्ने छ । बैंकहरूले ग्रामीण विकासको फाइदा लिँदै एचडीएफसी बैंकका प्रमुख अर्थशास्त्री अभिक बरुआले खुद्रा कर्जा, आवासको माग र अर्थतन्त्रमा उछालका कारण बैंकहरूमा कर्मचारीहरूको माग बढेको बताउँछन् । एक्सिस बैंकका एचआर हेड राजकमल वेम्पती प्रत्येक बैंकले ग्रामीण क्षेत्रको वृद्धिको फाइदा लिन चाहने बताउँछन् । बैंकहरू तीव्ररूपमा अर्धससहरी र ग्रामीण क्षेत्रमा पुगेका छन् । बैंकमा जागिरको बढ्दो अवसरबीच बैंकहरूले पुराना कर्मचारीलाई कायम राख्न पनि समस्या भोगिरहेका छन् । बैंकहरूमा रोजगारी बढ्नुका कारण खुद्रा कर्जाको तीव्र वृद्धि, आवासको माग र अर्थतन्त्रको वृद्धिले पनि बैंकहरूमा जनशक्तिको ठूलो माग सिर्जना गरिरहेको छ । २०२२ को तुलनामा २०२३ मा कर्मचारी संख्या ६१ प्रतिशतले बढेको छ । यो संख्या चालू आवमा १ लाख २३ हजारबाट बढ्ने अनुमान छ । २०२३ अघि २०११ मा १ लाख २५ हजार र २०१२ मा १ लाख २४ हजार कर्मचारी नियुक्त भएका थिए ।

नेपालमा इभीको बजार परिवेश बदल्दै सिट्रोन, २०% डाउन पेमेन्टमै किन्न पाइने

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई-सी थ्रीलाई नेपाली बजारमा ल्याएको छ । हाइ रेन्जदेखि लो रेन्जसम्मको इलेक्ट्रिक गाडीहरु रहेको नेपाली बजारमा सिट्रोन ई-सी थ्री मिड रेन्ज कम्प्याक्ट एसयुभीको विकल्प बनेर आएको छ । २९.२ किलोवाट क्षमताको ब्याट्री भएको यस सिट्रोन ई-सी थ्री पूर्ण रुपमा डिसी फास्ट चार्जिङ प्रदान गर्ने यस सेगमेन्टकै पहिलो गाडी हो । रिजेनेरेटिभ ब्रेकिङको साथ आउने यस विद्युतीय गाडीमा हरेक पटक ब्रेक लगाउँदा अटोम्याटिकल्ली चार्ज हुन्छ । त्यसैगरी फुल्ली अटोम्याटिक ड्राइभ फिचर भएको यस सिट्रोन ई-सी थ्रीमा ई-टगल र अटोम्याटिक गियरबक्स पनि उपलब्ध रहेको छ । विद्युतीय गाडी किन्दा हाम्रो दिमागमा सबैभन्दा पहिला आउने प्रश्न भनेको यसले दिने रेन्ज हो । यो प्रश्नलाई सिट्रोन ई-सी थ्रीले चित्त बुझ्ने गरि सम्बोधन गरेको छ । कम्पनीका अनुसार गाडीले सिङ्गल चार्जमा ३२० किलोमिटरको (एमआइडिसि साइकल अनुसार) रेन्ज दिन्छ भने ब्याट्री पनि जम्मा ५६ मिनेटमा नै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । सुरक्षाको मामिलामा पनि सिट्रोन ई-सी थ्रीमा केही कमी नरहेको कम्पनीको दाबी छ । एबीएस, इएसपी र मल्टिपल एयरब्यागहरूसहित उपलब्ध यो गाडीमा क्याबिन र सिटहरू पनि फराकिलो र आरामदायक रहेको कम्पनीको दावी छ । यस सिट्रोन ई-सी थ्रीमा २६ सेन्टिमिटरको सिट्रोन कनेक्ट टचस्क्रिन डिस्प्ले, वायरलेस स्क्रिन मिररिङ र सिमलेस स्मार्टफोन कनेक्टिभिटी पनि उपलब्ध छ । गाडीमा ३ वर्ष अथवा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ भने ब्याट्रीमा ७ वर्ष अथवा १ लाख ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरिएको छ । त्यसैगरी मोटरमा भने ५ वर्ष अथवा एक लाख किलोमिटरको वारेन्टी रहेको छ । साथमा किलोमिटरको दुरीसम्म भने गाडीको नै वारेन्टी कम्पनीले प्रदान गर्दछ । सिट्रोन ई-सी थ्री जम्मा २० प्रतिशत डाउन पेमेन्टमा पाइने बताइएको छ । बाँकी ८० प्रतिशत भुक्तानीको लागि ९.४९ प्रतिशत ब्याजदरमा ७ वर्षको बैंक ऋण उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । हालै सिट्रोन ई-सी थ्रीले यसै वर्ष न्युयोर्कमा आयोजित न्युयोर्क अटो शोको १९औँ वर्ल्ड कार अवार्ड समारोहमा वर्ल्ड अर्बन कार अफ द इयर २०२३ जितेको थियो ।

नेपाली जुत्ताघरको नयाँ शोरुम सातदोबाटोमा, कम मूल्यमा गुणस्तरीय सामान पाइने

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहले नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरेको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो । यसअघि पोखरा, बुटवल, जनकपुर र न्यूरोडमा चारवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित उक्त सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरे । मन्त्रीले नेपाली उत्पादनको प्रवर्द्धनको लागि सक्दो सहयोग गर्ने र नीतिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्त्वपूर्ण भूमिका निभाउने बताए । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद दिए । उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिति रहेको थियो । साथै, विभिन्न व्यापारीक च्यानल मार्फत बजारमा उत्पादन पठाउँदा वस्तुको मूल्य वृद्धी हुने र यसले उत्पादक र उपभोक्ता दुबै पक्ष मारमा पर्ने भएकाले सामूहिक शोरुमको यस अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरु प्राप्त गर्दछन् । सातदोबाटो नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि. एफ स्पोट, रोयल शुज, फस्टवाक शुज, कस रोड शुज, डि.जे. शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन् । उद्योगीहरुको यस समुहद्धारा आगामी दिनमा देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गरायो । साथै, देशको दिगो आर्थिक विकासका लागि आफ्नै देशको श्रम तथा सीपलाई प्रयोग गरेर देशमा नै रोजगारी सृजना गरिरहेका यस्ता प्रकारका उद्योगहरुको विकास विस्तारमा राज्यका तर्फबाट पनि नीतिगत सहयोग हुनु जरुरी रहेको छ ।

नाडा अध्यक्षमा चार जना आकांक्षी, चौधरी र श्रेष्ठको एक हुने ‘कमिटमेन्ट’

काठमाडौं । अटो व्यवसायीहरूको छाता संस्था अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनावी माहोल रोचक बन्दै गएको छ । चुनाव नजिकिएसँगै नाडाको भावी अध्यक्षका लागि एकपछि अर्कोको आकांक्षा बढ्दै गएको हो । एक महिनापछि अर्थात् पुसको २० र २१ गते हुने नाडा चुनावमा अध्यक्ष पदका लागि अटोमोबाइल्स व्यवसायीहरू प्रतिस्पर्धामा उत्रिने आकांक्षा व्यक्त गरिरहेका छन् । नाडाको अध्यक्ष बन्नका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ, सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका करण चौधरीले र वर्तमान कार्यसमितिका सदस्य प्रकाश कपुरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको निर्वाचनमा अध्यक्षका लागि उम्मेदवार बनेर चौधरी पराजित भएका थिए । आकांक्षीहरूले अध्यक्ष पदमा सर्वसम्मतको प्रयास भइरहेको पनि बताएका छन् । सर्वसम्मत नभए प्रजातान्त्रिक अभ्यास अवलम्बन गर्दै चुनावी मैदानमा उत्रिनेछन् । अध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका गोल्छा नाडाको भावी अध्यक्षको लागि सर्वसम्मत प्रयास भइरहेको बताउँछन् । ‘मेरो चाहना अध्यक्षको हो, यसको लागि मेरो आफ्नो तयारी भइरहेको छ, सर्वसम्मतरूपमा कार्यसमिति छानिन सक्ने सम्भावना पनि छ, मैले उम्मेदवारहरूसँग छलफल गरिहरेको छु, सर्वसम्मत भएन भने चुनावी मैदानमा उत्रन्छौं,’ उनले भने । सर्वसम्मत नभए आफू चुनावी मैदानमा उत्रन तयार रहेको उनको भनाइ छ । ‘मिलेर अगाडि बढ्नका लागि उहाँहरूबाट प्रस्ताव आएको छ, मेरो तर्फबाट पनि अध्यक्ष बनाउनु पर्यो भनेर प्रस्ताव गएको छ, त्यो प्रस्तावमा छलफल भइरहेको छ,’ उनले भने, ‘त्यसको निर्णय भने भइसकेको छैन, मलाई लाग्छ म सहमतिमै अध्यक्ष बन्छु ।’ चुनाव भए समर्थन पाउने र आफूले जित्ने विषयमा विश्वस्त रहेको उनको भनाइ छ । यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ पनि सर्वसम्मतको पक्षमै छन् । श्रेष्ठ र प्रतिस्पर्धी करण चौधरीबीच सहकार्य हुन सक्ने सम्भावना देखिएको छ । त्यो विषयको स्वीकार स्वयम् श्रेष्ठ पनि गर्छन् । ‘हाम्रो टिम नेतृत्वमा रहेर राम्रो काम गर्न सक्छ, यदि चुनाव नै हुने भयो र करण अध्यक्षमा उठ्नु भयो भने म छाड्छु, म उम्मेदवार भएँ भने उहाँले छाड्न सक्नु हुन्छ, निर्णय चाहिँ बाँकी छ,’ उनले भने । वर्तमान नाडाका उप–सभापति समेत रहेका श्रेष्ठले अटो क्षेत्र नै समस्यामा परेको बेला चुनाव गर्नु उपर्युक्त नहुने धारणा राखे । अर्का उम्मेदवार प्रकाश कपुरी पनि आफ्नो जित निश्चित भएर नै मैदानमा होमिएको बताउँछन् । कपुरी भने चुनावी प्रक्रियामै अगाडि बढ्नुु पर्ने धारणा राख्छन् । ‘सर्वसम्मत भए मलाई अध्यक्ष छाडिदिनु पर्छ, होइन भने चुनाव गर्नुपर्छ,’ उनी भन्छन्, ‘चुनाव भयो भने म जित्नेमा विश्वस्त छु ।’ सर्वसम्मतको प्रयासमा अध्यक्ष नाडाका अध्यक्ष ध्रुब थापा सर्वसम्मत ढंगले नेतृत्व चयन हुनुपर्ने बताउँछन् । ‘उहाँहरू मिल्नुभयो भने सर्वसम्मतरूपमा एक जना अध्यक्ष बन्नुहुन्छ, मिल्नु भएन भने चुनाव हुन्छ तर, यस्तो समयमा चुनाव हुनु हुन्न भन्ने पक्षमा म छु,’ उनले भने । निर्वाचन भए कडा प्रतिस्पर्धा हुने थापाको भनाइ छ । नाडाको निर्वाचन भएमा अध्यक्षहरूको छुट्टाछुट्टै प्यानल हुने सम्भावना देखिन्छ । थापा नाडाको विकासको लागि सबैले एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्छन् । अब बन्ने कार्यसमिति १७ जनाको हुनेछ । हालसम्म अध्यक्षको उम्मेदवारको चर्चा भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूको भने टुङ्गो लागेको छैन ।