नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा साढे दुई करोड कारोबार
काठमाडौं । ‘नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’मा करिब साढे दुई करोडको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार सोमबार (आज) सम्पन्न ५ दिने मेलामा करिव साढे दुई करोडको कारोबार र करिव २५ हजार अवलोकनकर्ता सहभागी भएका हुन् । ग्राहकलाई लक्षित गरेर नेपाल, बंगलादेश र पाकिस्तानले मात्रै स्टल राखेकाले अपेक्षाअनुसारको कारोबार नभएको महासंघका सहायक निर्देशक परशुराम नेपालले बताए । उनले भने, ‘इन्डियाको कन्जुमर फियर भन्दा पनि पावर सो थियो । चाईनाको मेशिनरी टेक्नोलोजीसँग रिलेटेड भएको हुनाले उनीहरुले डाईरेक्ट सेल भन्दा पनि नटवर्किङको हिसाबले आए । करिव ६० वटा नेपाली स्टल अनि इण्डियन, बंगलादेश र पाकिस्तानको ५/७ वटा, ५/७ वटा चाँही बिक्री गर्ने स्टलहरु भएको हिसावले करिव साढे २ करोड जति कारोबार भएको अनुमान गरिएको छ ।’ नेपालमा उत्पादित निर्यातयोग्य वस्तुहरुको बजारीकरण गर्नका लागि सो मेला आयोजना गरिएको थियो । बजार प्रवद्र्धनको हिसावले भने मेला फलदायी रहेको महासंघको निष्कर्ष छ । मेलामा नेपाली हस्तकलाका सामग्री, बंगलादेशको कपडा र पाकिस्तानको लेदरब्याग, पर्स, जाकेटलगायतका सामग्रीहरुमा ग्राहकहरुले चासो दिएका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत मंसिर १४ गते उद्घाटन गर्नुभएको सो अन्तर्राष्ट्रिय मेलामा नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तानसहित करिव २ सय वटा स्टल राखिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रिय स्तरको मेला हुने गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक मास्केले दिइन् राजीनामा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक सजल मास्केले राजीनामा दिएकी छिन् । कम्पनीको सञ्चालक समितिको सञ्चालक मास्केले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएकी हुन् । उनको राजीनामालाई मंसिर १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
कोप २८ : जीवाश्म इन्धन छाडेर स्वच्छ ऊर्जातर्फको यात्रामा विश्वजगत्
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२८० मा अधिकांश देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढावा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जान तयार देखिएका छन् । कोप–२८ को सचिवालयका अनुसार जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट बच्न सन् २०३० सम्म कार्बन उत्सर्जनलाई झण्डै आधाले घटाउने विषय पनि उत्तिकै मुखररुपमा उठेको र सहमतिको नजिक पुगेका छन् । त्यसका लागि साझा प्रयास र दृष्टिकोणको आवश्यकता रहेकामा अधिकांशको समान मत छ । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै गएर सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिकरुपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार देखिएका छन् । कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण विश्वव्यापीरुपमा जलवायु परिवर्तनको असर परेको छ । नवीकरणीय ऊर्जा त्यसमा पनि नेपालजस्ता देशले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको छ । हरित ऊर्जा उत्पादनमा नेपालले गरेको प्रगति विश्वसमुदायका लागिसमेत प्रेरणाको विषय बन्दै गएको छ । कोप–२८ मा नेपालले सञ्चालन गरेको नेपाल मण्डपमा समेत यस विषयमा बढी चासो राखिएको छ । सम्मेलनमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार नवीकरणीय ऊर्जा र त्यसमा पनि कार्बन सञ्चितिमा योगदान गरेको नेपालको जलविद्युत् क्षेत्रबारे धेरैको चासो देखिएको छ । हरितगृह ग्यास उत्सर्जनमा जीवाश्म इन्धनको भूमिका ७५ प्रतिशत बराबर छ । जीवाश्म इन्धनको निर्भरता कम गर्दै स्वच्छ, पहुँचयोग्य, किफायती, दिगो र भरपर्दो ऊर्जाको वैकल्पिक स्रोतमा थप लगानीको आवश्यकता बढेर गएको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वानसमेत गरिसकेका छन्। नवीकरणीय ऊर्जाका स्रोत सूर्य, हावा, पानी, फोहोर र पृथ्वीको तापबाट उपलब्ध हुन्छ । त्यसमा थप लगानी विस्तार गर्नु जरुरी भइसकेको छ । ती स्रोत प्रकृतिबाट पुनःप्राप्त गर्न सकिन्छ र हावामा हरितगृह ग्यास वा प्रदूषक उत्सर्जन गर्दैन । ‘क्लाइमेट एक्सन’का अनुसार जीवाश्मको योगदान इन्धन अझै पनि विश्वव्यापी ऊर्जा उत्पादनमा ८० प्रतिशत बढीमा छ । विश्वव्यापीरुपमा हाल करिब २९ प्रतिशत विद्युत् नवीकरणीय स्रोतबाट प्राप्त भइरहेको छ । नेपालमा पनि स्वच्छ ऊर्जाको पहुँच विस्तारका विषयमा सकारात्मक पहल भए पनि सक्रिय हस्तक्षेप अझै हुन नसकेको यथार्थता विद्यमान छ । ऊर्जामा सङ्क्रमणको गतिलाई बढोत्तरी गर्नु आजको प्रमुख आवश्यकता देखिएको छ । विश्व जनसङ्ख्याको लगभग ८० प्रतिशतभन्दा बढी मानिस जीवाश्म इन्धनको शुद्ध आयातकर्ता देशमा बसोबास गर्छन् । ती मानिस त्यस्ता देशबाट जीवाश्म इन्धनमा निर्भर छन् । जसले पटकपटक भूराजनीतिक झट्का र सङ्कटका कारण आर्थिकरुपमा समेत समस्या भोग्नुपरेको छ । युक्रेन–रसिया युद्धका कारण विश्व बजारमा परेको प्रभावको पछाडि पनि यस विषयलाई लिन सकिन्छ । त्यसका अलावा नवीकरणीय ऊर्जा स्रोत अधिकांश देशमा उपलब्ध छन् र त्यसको पूर्ण उपभोगसमेत हुन सकेको छैन । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीले सन् २०५० सम्ममा विश्वको ९० प्रतिशत विद्युत् नवीकरणीय ऊर्जाबाट आउने र आउनसक्ने अनुमान गरेको छ । नेपालको हकमा हाल ९८ प्रतिशत घरधुरीमा बिजुलीको पहँुच पुगेको छ । आगामी दुई वर्षभित्र शतप्रतिशत नेपालीको घरधुरीमा बिजुली उपलब्ध गराउने सरकारको योजना छ । बिजुलीको पहुँच पुगेका अधिकांश घरधुरीमा विद्युतीय भान्छाको उपलब्धतामा वृद्धि गर्नेदेखि विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नु उत्तिकै आवश्यक छ । सरकारले त्यसका लागि सार्थक प्रयास गरिरहेको छ । ऊर्जा मन्त्रालयले आन्तरिक विद्युत् खपत योजना नै कार्यान्वयनमा ल्याएको छ । इन्डक्सन चुल्होको आयातमा समेत वृद्धि भएको छ । विद्युतीय सवारीसाधन प्रयोग गर्ने मानिसको सङ्ख्यामा बढोत्तरी हुँदै गएको छ । भन्सार विभागको पछिल्लो विवरणअनुसार गत असोज मसान्तसम्म एक हजार दुई सय ३७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा मात्रै रु पाँच अर्ब १७ करोड ७१ लाख बराबरका दुई हजार एक सय ३५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । यो विवरणले क्रमशः जीवाश्म इन्धनमाथि विद्युतीय ऊर्जाको हस्तक्षेपका रुपमा लिएको पुष्टि हुन्छ । समावेशी आर्थिक वृद्धि, नयाँ रोजगारी र गरिबी उन्मूलन पर्यावरण संरक्षण, हिमाल र पहाडको दीर्घ जीवनको एजेण्डा कोप–२८ को प्रमुख कार्यसूची बनेर छलफल भइरहेको छ । यसले ऊर्जाको निर्भरताबाट बाहिर निस्कने मार्ग प्रदान गर्ने विश्वास लिइएको छ । यसले अर्थतन्त्रलाई विविधिकरण गर्न र जीवाश्म इन्धनको अप्रत्याशित मूल्यवृद्धिबाट कमजोर देशलाई बचाउन सहयोग पु¥याउनेछ । नवीकरणीय ऊर्जा विश्वका अधिकांश देशका लागि सबैभन्दा सस्तो विकल्प हो । नवीकरणीय ऊर्जा प्रविधिको मूल्य तीव्रत्तररुपमा घट्दै गएको छ । संयुक्त राष्ट्रसङ्घको क्लाइमेट एक्सनका अनुसार सन् २०१० र २०२० का बीचमा सौर्य ऊर्जाबाट हुने बिजुलीको लागत ८५ प्रतिशतले घटेको छ । यस्तै वायु ऊर्जाको लागत क्रमशः ५६ प्रतिशत र ४८ प्रतिशतले ओरालो लागेको छ । घट्दो मूल्यले नवीकरणीय ऊर्जाको लागत न्यून र मध्यम आय भएका नेपालजस्ता देशका लागि सहयोगी बनेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षदेखि नै हरित जलवायु कोषको सहयोगमा पाँच वर्षे खाना पकाउने स्वच्छ ऊर्जा कार्यक्रममार्फत तराईका २२ जिल्लामा एक सय ५० स्थानीय तह छनोट गरी कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । सो कार्यक्रममार्फत पाँच लाख विद्युतीय चुल्हो, चार लाख ९० हजार सुधारिएको चुल्हो, १० हजार घरधुरीमा बायोग्यास प्रविधिको प्रवद्र्धन गरिनेछ । सो कार्यक्रम लागत साझेदारीमा अगाडि बढाउने लक्ष्य राखिएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालको भनाइ छ । नवीकरणीय स्रोतबाट प्राप्त हुने सस्तो बिजुलीले सन् २०३० सम्म विश्वको कूल बिजुली आपूर्तिको ६५ प्रतिशत बराबरको योगदान गर्ने प्रक्षेपण गरिएको छ । यसले ठूलोमात्रामा कार्बन उत्सर्जन कटौती गर्न र जलवायु परिवर्तनलाई कम गर्न सहयोग पुग्ने विषयमा कोप–२८ मा महत्वपूर्ण विचारविमर्श भएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार विश्वका करिब ९९ प्रतिशत मानिसले प्रदूषित हावमा श्वास फेर्छन् । विश्वभर हरेक वर्ष एक करोड ३० लाखभन्दा बढीको मृत्यु हावालगायत वातावरणीय कारणले हुने गरेको छ । प्रदूषित सूक्ष्म कण र नाइट्रोजन डाइअक्साइडको अस्वस्थस्तर मुख्यतया जीवाश्म इन्धन जलाउँदा उत्पन्न हुन्छ । वायु र सौर्यजस्ता स्वच्छ ऊर्जाका स्रोतहरुलाई बढावा दिँदा जलवायु परिवर्तनलाई कम गर्न मात्र नभई वायु प्रदूषण नियन्त्रण गर्न तथा मानव स्वास्थ्यमा देखिएको समस्या सम्बोधन गर्न पनि सहयोग पुग्नेछ । नवीकरणीय ऊर्जामा गरिने प्रत्येक डलरको लगानीले जीवाश्म इन्धन उद्योगमा भन्दा तीन गुणा बढी रोजगारी सिर्जना हुनेछ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको अनुमान अनुसार शून्य उत्सर्जनतर्फको सङ्क्रमण बढ्दै जाँदा ऊर्जा क्षेत्रको रोजगारीमा समेत समग्रमा वृद्धि हुनेछ । नेपाल सरकारले अगाडि सारेको १२ वर्षे ऊर्जा रणनीतिमा पनि एक हजार मेगावाट बराबरको बिजुली उत्पादनको प्रक्रिया अगाडि बढ्दा झण्डै ३० हजार मानिसले प्रत्यक्ष रोजगारी उल्लेख गरेको छ । सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसबाट दक्ष, अदक्ष र अर्धदक्ष मानिसका लागि पनि उल्लेख्यमात्रामा रोजगारीका अवसर सिर्जना हुनेछ । रासस
यी हुन् भारतका उत्कृष्ट १० ‘सेल्फ मेड’ व्यवसायी
एजेन्सी । हुरुन इन्डिया टप २०० सूचीमा भारतका २ सय ‘सेल्फ मेड’ व्ययवसायीको नाम उल्लेख छ, जसले आफ्नै बलमा कम्पनी र व्यवसाय स्थापना गरेका छन् । अहिलेका लागि हामी तपाईंलाई यो सूचीमा समावेश शीर्ष १० सेल्फ–मेड व्यावसायी पुरुषहरूको नाम बताउन गइरहेका छौं जसले आफ्नै बलमा अर्बौंको कम्पनी बनाएका छन् । यो सूची आईडीएफसी फर्स्ट बैंक र हुरुन इन्डियाले संयुक्तरूपमा जारी गरेका हुन् । राधाकृष्ण दमानी राधाकृष्ण दमानी पहिलो स्थानमा छन् । जो रिटेल कम्पनी एभिन्यू सुपरमार्टका संस्थापक हुन् । एभिन्यू सुपरमार्ट कम्पनीको कुल मार्केट क्याप २३ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँबराबर छ । सचिन बन्सल र बिन्नी बन्सल फ्लिपकार्टका संस्थापक सचिन बन्सल र बिन्नी बन्सल सूचीमा दोस्रो स्थानमा छन् । दिग्गज कम्पनी वालमार्टले सन् २०१८ मा फ्लिपकार्टलाई १६ अर्ब अमेरिकी डलरमा अधिग्रहण गरेको थियो । दीपेन्द्र गोयल दीपेन्द्र गोयल यो सूचीको तेस्रो स्थानमा छन् । गोयल अनलाइन फूड डेलिभरी कम्पनी जोमाटोका संस्थापक हुन् । वर्तमानमा जोमाटो कम्पनीको कुल मार्केट क्याप ८ खर्ब ६८ अर्ब ३५ करोड रुपैयाँ छ। हर्ष जैन र भावित सेठ ड्रीम ११ का संस्थापक हर्ष जैन र भावित सेठ चौथो स्थानमा छन् । यी दुवैलाई हुरुन इन्डियाको लिस्टमा चौथो स्थान दिइएको छ। ड्रीम ११ को कुल सम्पत्ति मूल्य ६ खर्ब ६५ अर्ब ४२ करोड रुपैयाँ छ। श्रीहर्ष माजेती र नन्दन रेड्डी भारतको हुरुन सूचीमा श्रीहर्ष माजेती र नन्दन रेड्डी चौथो स्थानमा परेका छन् । दुवैले स्विगी फूड डेलिभरी अप कम्पनी स्थापना गरेका छन् । यस कम्पनीको कुल सम्पत्ति मूल्य ६ खर्ब ६५ अर्ब ४२ करोड रुपैयाँ छ । हरशील माथुर र शशांक हरशील माथुर र शशांकले रेजरपे फिन्टेक कम्पनी स्थापना गरेका छन् । यस कम्पनीको सम्पत्ति मूल्य लगभग ६ खर्ब २३ अर्ब ८४ करोड रुपैयाँ छ। हुरुन भारतको सूचीमा उनीहरू पाँचौं स्थानमा परेका छन् । अभय सोई अभय सोई म्याक्स हेल्थ केयर इन्स्टिच्युटका प्रमुख हुन् । उनी हुरुन भारतको सूचीमा सातौं स्थानमा परेका छन् । म्याक्स हेल्थकेयर इन्स्टिच्युटको मार्केट क्याप ५ खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ छ । विजयशेखर शर्मा पेटीएमका संस्थापक विजयशेखर शर्मा यो सूचीको आठौं स्थानमा छन् । पेटीएम कम्पनीको कुल मार्केट क्याप ५ खर्ब ४३ अर्ब २८ करोड रुपैयाँ छ । कुणाल शाह सीआरईडीका संस्थापक कुणाल शाह हुरुन इन्डियाको सूचीमा नवौं स्थानमा परेका छन् । हामी तपाईंलाई जानकारी दिन चाहन्छौं कि क्रेडिट कार्ड भुक्तानी प्लेटफर्म सीआरईडीको कुल सम्पत्ति मूल्य ५ खर्ब ४३ अर्ब २८ करोड रुपैयाँ छ । नितिन कामत र निखिल कामत अनलाइन डिस्काउन्ट ब्रोकरेज फर्म जेरोधाका संस्थापक नितिन कामत र निखिल कामतलाई यो सूचीमा दसौं स्थान दिइएको छ । जेरोधा कम्पनीको कुल सम्पत्ति मूल्यको कुरा गर्दा यो करिब ५ खर्ब ६ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
नमस्ते पे मार्फत प्रत्येक उडान टिकेट खरिदमा १०० रुपैयाँ क्यासब्याक
काठमाडौं । डिजिटल वालेट नमस्ते पेमार्फत उडान टिकेट बुक गर्ने यात्रुले १०० रुपैयाँ क्यासब्याक पाउने भएका छन् । कम्पनीले आफ्ना ग्राहकलाई सुपथ मूल्यमा टिकेट उपलब्ध गराउने उद्देश्यले शुक्रबारदेखि यस्तो अफर ल्याएको हो । यो अफर आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । १०० रुपैयाँ क्यासब्याक पाउन यात्रुले कुनै किसिमको प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले उल्लेख गरेको छ । नमस्ते पे वालेटबाट सो समयावधिभित्र टिकेट खरिद गर्दा स्वतः क्याशब्याक पाइनेछ। ‘क्यासब्याक प्रति टिकेट मान्य छ, जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्याशब्याक प्राप्त गर्नेछन्,’ कम्पनीले विज्ञप्तिमा भनेको छ । नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्नेछन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
‘बैंक दर र कर्जाको जोखिम भारलाई घटाऔं, काउन्टर साइक्लिकल बफरको व्यवस्था रोकौं’
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट बैंकलाई विभिन्न १७ बुँदे सुझाव दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षाको तयारी गरिरहेको अवस्थामा परिसंघले सम्बोधनको लागि विभिन्न नीतिगत सुझावहरु पेश गरेको हो । परिसंघले बैंक दर र कर्जाको जोखिम भारलाई घटाउनेदेखि काउन्टर साइक्लिकल बफरको व्यवस्थालाई स्थगन गर्नेसम्मको सुझाव दिएको छ । त्यस्तै, देशमा देखिएको चुनौतीहरुको न्यूनिकरणका लागि एकाकार भइ अगाडि बढ्न र सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशातर्फत अग्रसर गराउन सहयोग पुग्ने भन्दै परिसंघले दजर्नौं बढी सुझाव दिएको छ । यस्ता छन् सुझावहरु १. संस्थापक शेयरलाई क्रमिकरुपमा सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयनमा ल्याइनुपर्दछ । यस्तो व्यवस्थाको कार्यान्वयनले पर्याप्त पूँजी निर्माण र परिचालनमा प्रत्यक्ष सहयोग पुग्ने देखिन्छ । त्यसैगरी संस्थापक शेयर र साधारण सेयरको बजार मूल्यमा एकरुपता कायम गरिनुका साथै संस्थापक शेयर कर्जाको हकमा समेत साधारण शेयरकर्जा जस्तै नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने प्रावधान राखिनुपर्दछ । २. व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा भन्दा उत्पादनमूलक, रोजगारमूलक एवं निर्यातमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर सस्तो हुने गरी दोहोरो ब्याजदर प्रणाली लागू गरिनुपर्दछ । यस्तो व्यवस्थाले उत्पादनशील क्षेत्रमा क्रियाशिल उद्योगी/व्यवसायीलाई प्रोत्साहन मिल्ने, आर्थिक क्रियाकलापहरुले गति लिने, उत्पादकत्व अभिवृद्धि भइ आयात प्रतिस्थापन एवं निर्यात प्रवर्द्धनमा ठूलो टेवा पुग्ने र उद्यमशिलताको विकास तथा रोजगारी अवसर सृजनामा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ । त्यसैगरी उत्पादनमूखी कर्जाको हकमा पूँजी पर्याप्तता अनुपात गणना गर्ने प्रयोजनको लागि तोकिएको जोखिम भारलाई ५० प्रतिशतले कम गरिनुपर्दछ । यस्तो व्यवस्थाले उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार भई अर्थतन्त्र चलायमान बनाउन ठूलो टेवा पुग्ने देखिन्छ । ३. वर्तमान अवस्थामा ब्याजदरमा परेको चापलाई कम गर्न हाल कायम गरिएको ७.५ प्रतिशतको बैंक दरलाई १ प्रतिशतले घटाउनु औचित्यपूर्ण हुनेछ । यसले नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुमाथि परेको दबावलाई कम गर्न र चौतर्फी आक्रमणलाई निस्तेज पार्न सघाउ पुग्नेछ । ४. बैंक तथा वित्तीय संस्थाहरुको व्यवसायमा आएको संकुचनलाई मध्यनजर गर्दै सम्वत २०८१ अषाढ मसान्तमा लागू हुने ०.५ प्रतिशतको काउन्टर साइक्लिकल बफरको व्यवस्थालाई स्थगन गर्दा उपयुक्त हुने देखिन्छ । ५. १ वर्षभन्दा छोटो अवधिको निक्षेपलाई मुद्दतिमा गणना गर्न नपाउने व्यवस्था लागू गरिनुपर्दछ । छोटो अवधिको मुद्दति निक्षेप गर्न पाउने व्यवस्थाले बचत निक्षेप समेत मुद्दतिमा रुपान्तरण हुँदा दीर्घकालिन कर्जा विस्तारमा समेत प्रत्यक्ष असर गरिरहेको छ । ६. क्यास रिजर्भ रेसियोलाई नेट लिक्विडिटी रेसियोले प्रतिस्थापन गरी बैंक तथा वित्तीय संस्थाहरुलाई बढि लचकता प्रदान गरिनुपर्दछ । ७. रेगुलेटरी रिटेल पोर्टफोलियोको लागि गणना गर्ने लो भ्याल्यू इन्डिभिड्युल क्राइटयरियालाई रु. १ करोडबाट २ करोड पुर्याइनुपर्दछ । ८. कर्जा विस्तारमा ११.५ प्रतिशतको लक्ष्य हासिल गर्नका लागि पूँजी पर्याप्तता, जोखिम वहन र क्षेत्रगत सिमालगायतका व्यवस्थाहरुमा थप लचिलो व्यवस्था कायम गर्नु उपयुक्त हुनेछ । ९. उत्पादनमूखी/रोजगारमूखी/निर्यातमूखी उद्योग र आतिथ्य क्षेत्रलाई लक्षित गरी सस्तो कर्जा प्रवाहको लागि पुर्नकर्जाको सुविधा उपलब्ध गराउने व्यवस्था कायम गरिनुपर्दछ । १०. असल कर्जाको लागि कर्जा नोक्सानी व्यवस्था १ प्रतिशत मात्र कायम गरिनुपर्दछ । ११. बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जामा अनपेक्षितरुपमा वृद्धि भइरहेको वर्तमान अवस्थामा नेपाल राष्ट्र बैंकको निक्षेप लिँदा एनपीए ५ प्रतिशत ननाघेको हुनुपर्ने व्यवस्था हटाइनुपर्दछ । १२. बैंकले खराब कर्जाको असूली प्रकृयामा धितोलाई एनबीएमा सकार गर्दा सकार गर्दा नभई बिक्री गर्दाको अवस्थामा मात्रै क्यापिटल गेन ट्याक्स लाग्ने व्यवस्था कायम गरिनुपर्दछ । १३. बैंक तथा वित्तीय संस्थाको नाममा सकार भएको गैर बैंकिङ सम्पत्तिलाई प्रचलित कानून बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी तेस्रो व्यक्तिको नाममा नामसारी भइसकेको अवस्थामा उक्त सम्पत्ति पुनः फिर्ता गर्न नसकिने स्पष्ट व्यवस्था कायम गरिनुपर्दछ । १४. बैंक तथा वित्तीय संस्थाको नाममा सकार भएको गैर बैंकिङ सम्पत्तिलाई प्रचलित कानून बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी तेस्रो व्यक्तिको नाममा नामसारी गर्दा सम्बन्धित मालपोत कार्यालयले जग्गा हदबन्दी विषय उठाइ नामसारी नगरिदिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाको हकमा जग्गा हदबन्दी लागू नहुने स्पष्ट व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकमार्फत पहल गरिनुपर्दछ । १५. चालू पूँजी कर्जाको सिमा निर्धारण गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थालाई नै दिइनुपर्दछ । त्यसैगरी चालु पूँजी कर्जा सम्बन्धी मार्गनिर्देशन अत्यन्तै महत्वपूर्ण हुँदाहुँदै पनि देशको परिवेश, आवश्यकता, समय-सान्दर्भिकता र संभावित प्रभावका विषयमा सरोकारवालावीच व्यापक छलफल गरी हाल असान्दर्भिक देखिएका व्यवस्थाहरुमा सुधार गर्न तत्काल आवश्यक पहलकदम लिनुपर्दछ । १६. जमानतकर्तालाई कालासूचीमा समाबेश गर्ने सम्बन्धमा कायम गरिएको प्राबधान तपसिलमा उल्लिखित ऐन नियमसँग बाझिएको हुदाँ तुरुन्त फिर्ता गरियोस् । ‘बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ दफा २ (छ) ले “ऋणी” भन्नाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्ति, फमर्, कम्पनी तथा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था सम्झिनु पर्ने र सो शब्दले जमानत दिने व्यक्ति समेतलाई जनाउने छ भनिएको; मुलुकी देवानी संहिता दफा ५६४ उपदफा (१) क ले जमानत दिने ब्यक्तिको दयित्चमा दायित्व पुरा गर्ने पर्ने व्यक्तिले त्यस्तो दायित्व पुरा गर्न नसकेको बखतदेखि नै जमानत दिने व्यक्तिको दायित्व सृजना हुने उल्लेख भएको । १७. हाल एकुरल बेसिसमा ब्याज आम्दानी देखाउने र सो को आधारमा कर तिर्नुपर्ने व्यवस्थालाई संशोधन गरी क्यास बेसिसमा मात्रै ब्याज आम्दानी देखाउन पाउने व्यवस्था गरिनुपर्दछ ।
अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा, छात्रवृत्तिको व्यवस्था
काठमाडौं । एक दशक भन्दा लामो शैक्षिक इतिहास बोकेको आइएसएमटी ग्रुप अफ कलेजले ‘द लण्डन कलेज’ तीनकुनेमा सञ्चालनमा ल्याएको छ । युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य मुख्य शहरहरुमा विश्वस्तरीय कलेजहरु सञ्चालन गर्दै आएको यो समूह ले युकेकै अर्को बहुचर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ बाट सम्बन्धन लिएर ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको छ । काठमाडौंको तीनकुनेमा अवस्थित द लण्डन कलेजले बीएससी अनर्स कम्पयुटर साइन्समा ‘जनवरी इन्टेक’को लागि भर्ना शुरु गरेको छ। बीएससी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको माग अनुसार अन्र्तराष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने दाबी गरेको छ । के छ फरक ? द लण्डन कलेजको पठनशैली नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले हुनेछ । बजारमा के कस्तो सीप भएको जनशक्तिको माग भइरहेको छ भन्ने अध्ययन गरेर यसको पाठ्यक्रम तयार गरिएको छ । कलेजले विद्यार्थीको ‘वेल विइङ र वेल फिलिङ’ मा विशेष ध्यान दिन्छ । आधुनिक प्रणालीबाट विद्यार्थीको मूल्याङ्कन हुन्छ । नियमित रुपमा विद्यार्थीले सिकेको, पढेको कुरा प्रस्तुत गर्नुपर्ने हुन्छ । बढी भन्दा बढी प्रयोगात्मक हुने र त्यस्ता अभ्यासले विद्यार्थी स्वयंलाई प्रगति अथवा कमजोरीबारे थाह पाउँछन् । तीन घन्टा परीक्षाको कारण विद्यार्थीमा हुन सक्ने मानसिक तनावबाट मुक्त हुन्छन् । कलेजले दिने ज्ञान, सीप बाहेक श्रमबजारमा जाँदा चाहिने अन्य आवश्यक सबै सीप सहितको दक्ष जनशक्ति उत्पादन हुन्छ। त्यसका लागि विभिन्न उद्योगहरुसँगको सहकार्य हुनेछ। विद्यार्थी संसारको जहाँ गएपनि यहाँको शैक्षिक प्रमाणपत्रको ‘रिकग्निसन भ्यालु’ उच्च हुन्छ। अर्को ‘भ्यालु फर मनी’ विद्यार्थीले जत्ति लगानी गरेको हुन्छ त्यस बराबरको ज्ञान, सीप, व्यवहार मार्फत प्राप्त गर्छन् । ‘युज भ्यालु’ यो कोर्षले जहाँ सुकै गएपनि सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्छ । क्याम्पसकी प्रबन्ध निर्देशक सविता पाठक कलेजले पढाइ सकेर निस्किएर श्रम बजारमा जाँदा त्यहाँ कार्यरत अनुभवी जनशक्तिसँग तत्काल प्रतिस्पर्धी भएर काम गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने दाबी गरिन् । सविता पाठक भन्छिन् ‘श्रम बजारलाई चाहिए अनुसारको जनशक्ति उत्पादन गर्छौं, हाम्रो कलेजबाट निस्कने विद्यार्थी यत्ति माझिएका हुन्छन् कि तत्काल अनुभवी जनशक्तिसँग प्रतिस्पर्धी भएर काम गर्न सक्छन ।’ पार्टनरसीप भएका उद्योगहरुसँग पढ्दा पढ्दै विद्यार्थीहरु जागिर पाउन सक्छन् । के छ सुविधा विश्वको उत्कृष्ट विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले नेपाली विद्यार्थीलाई नेपालमा नै बसेर सूलभ शुल्कमा अन्र्तराष्ट्रिय स्तरको सुविधा सहितको शिक्षा प्रदान गर्नेछ । आधुनिक लाइब्रेरी, ई लाइब्रेरी, कम्प्युटर ल्याब, सफा र सुविधा सम्पन्न कक्षाकोठाको सुविधा छ । विद्यार्थीलाई एकोहोरो पाठ्यक्रम सम्बन्धित पठनपाठनबाट दिक्क नहोस भन्नका लागि अतिरिक्त क्रियाकलापको लागि ‘रिफ्रेसमेन्ट सेन्टर’ हरु छन् । जसमा संगीतका लागि गिटारको उपलब्धता, जीम सेन्टर, पुल हाउस, क्याफे लगायतको सुविधा प्राप्त गर्नेछन् । विद्यार्थीलाई पर्ने विभिन्न खालको समस्या समाधानका लागि ‘स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट’ छ । यो डिपार्टमेन्टले विद्यार्थीको के विषयसँग सम्बन्धित समस्या हो त्यहि विषयसँग सम्बन्धित रहेर तत्काल समस्या समाधान गर्ने प्रयास गर्छ । विद्यार्थीको मनोपरामर्शका लागि आवश्यकता अनुसार परामर्शकर्ताहरुको उपलब्धा हुन्छ । क्याम्पसकी प्रबन्ध निर्देशक पाठक भन्छिन् ‘विदेशी विश्वविद्यालयहरुले गुणस्तरीय जनशक्ति उत्पादन गर्न विद्यार्थीका लागि जे जस्ता सेवा, सुविधाहरु दिइरहेका छन् हामीले पनि त्यहि सेवा, सुविधा दिने प्रयत्नमा छौं ।’ विशेष छात्रवृत्तिको व्यवस्था कलेजले विद्यार्थीको लागि विशेष खालको छात्रवृत्ति सुविधा राखेको छ । कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका, निम्न मध्यम वर्गका उत्कृष्ट विद्यार्थी, कुनै विशेष क्षेत्रमा उत्कृष्ट प्रस्तुती दिइरहेका विद्यार्थी, राष्ट्रलाई विभिन्न रुपमा योगदान गरिरहेका (खेलाडी, एथलेट) लगायत विभिन्न क्षेत्रलाई समेटेर विशेष छात्रवृत्ति प्रदान गर्छ ।
सोमबार २३ करोडले बढ्यो सेयर कारोबार, सबैभन्दा बढी सोनापुरको
काठमाडौं । सोमबारको सेयर कारोबार २३ करोड ३२ लाख रुपैयाँले बढेको छ । आइतबारको तुलनामा सोमबारको बजारमा कारोबार रकम सो मात्राले बढेको हो । आइतबारको बजारमा ९६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने सोमबार एक अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २९२ वटा स्क्रीप्सको कारोबार भएको बजारमा सोनापुर मिनरल एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ४६ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य ५.२० रुपैयाँले बढेर प्रतिकित्ता ३००.२० रुपैयाँ पुगेको छ । बजारमा सबैभन्दा बढी समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता १२२ रुपैयाँ पुगेको छ । त्यस्तै, दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र माउन्टेन इनर्जी नेपाल दुबैको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले घटेको छ । यी दुईको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३११ र ४७७ रुपैयाँमा झरेको छ । बजारमा विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र म्यूचुअल फण्ड समूह बढेको छ । बाँकी समूह भने राताम्मे देखिएका छन् । बजारमा नेप्से परिसूचक भने सामान्य अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ बिन्दुमा झरेको छ ।