विकासन्युज

तारागाउँ रिजेन्सीको सेयर कारोबार फुकुवा, गल्ती नदोहोर्याउने कम्पनीको प्रतिवद्धता

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार फुकुवा भएको छ । लाभांश घोषणा सम्बन्धी जानकारी समयमा नगरेको भन्दै नेप्सेले रोकिदिएको सेयर कारोबार मंगलबार फुकुवा भएको हो । नेप्सेलाई समयमा जानकारी नगराएको भन्दै नेप्सेले कारणसहितको स्पष्टिकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार होटल्सले पत्रमार्फत मानवीय त्रुटी हुन गएकोले समयमा जानकारी गराउन नसकिएको बताएको छ । साथै, कम्पनीले पत्रमार्फत आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिवद्धता समेत गरेको नेप्सेले बताएको छ । कम्पनीको मंसिर १६ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश जारी गर्ने निर्णय गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर १७ गते बेलुका मात्रै उपलब्ध गराएको नेप्सेले जनाएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर तारागाउँ रिजेन्सीले त्यसको विपरित काम गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरिदिएको थियो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

ह्याम्स अस्पतालले संस्थागत तर्फ सबैभन्दा बढी कर तिरेकोमा बुढानिलकण्ठ नगरपालिकाद्वारा सम्मानित

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको १० औं नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ । अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले नगरपालिकाले सम्मान गरेको हो । सो समारोहमा नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले हस्तान्तरण गरेको सो सम्मानपत्र अस्पतालका तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मीले ग्रहण गरेकी थिइन् । ‘आर्थिक वर्ष २०७९र८० मा यस नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गर्नुभएकाले १० औं नगर स्थापना दिवस, २०८० को अवसरमा कदरस्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ,’ नगरपालिकाले प्रदान गरेको ‍सम्मानपत्रमा उल्लेख छ । नगरपालिकाले गरेको यस सम्मानले थप उर्जा तथा हौसला मिलेको अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी समेत गरेको छ ।

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा

काठमाडौं । विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौँ पुतली सडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली–सिद्धिसाई जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा–हेना–सुनामी जेभीलाई एक वर्षको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । त्यस्तै, धादिङको धुनीबेँसी नगरपालिकाको सिफारिसमा कास्र्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ ।

कालीगण्डकी करिडोर : बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रको काम सुस्ताएको हो । बागलुङको मालढुङ्गाबाट छिमेकी जिल्ला गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक कालोपत्रको काम रोकिने अवस्थामा पुगेको हो । भएको कामको समयमा भुक्तानी नहुने भएपछि निर्माण व्यवसायीले काम रोकेको जनाएका छन् । एक वर्ष पहिलेदेखि कालोपत्रको काम सुरु भएका दुई खण्डमै काम रोकिने अवस्थामा छ । बागलुङ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर खण्डमा काम गरिरहेको बिडारी निर्माण सेवाले ३६ प्रतिशत काम सकेको छ । बलेवा विमानस्थलबाट गुल्मीको हर्मिचौरसम्म ४४ किलोमिटर खण्डको काम गरेको कालिका निर्माण सेवाले पनि ३५ प्रतिशत भौतिक प्रगति गरेको छ । ‘भएको कामको भुक्तानी भएको भए हामीले यसै वर्ष कालोपत्रको काम सक्नेगरी काम गरेका थियौँ’, बिडारी निर्माण सेवाका प्रमुख ध्रुव बिडारीले भने, ‘यसअघि भएको कामको करोडौँ भुक्तानी पाउन बाँकी छ, भइरहेको कामको भुक्तानी हुने÷नहुने ठेगान छैन ।’ आयोजनाले विनियोजित बजेट सकिएको सूचना दिएपछि निर्माणस्थलबाट मजदुर र मेसिन अन्यत्रै लैजानुपरेको उनको भनाइ थियो । बागलुङ बलेवा खण्डमा पूर्वाधारका काम सकेर नाली र सवबेसको काम सुरु भएको थियो । यस वर्ष नालीको मात्रै काम पूरा हुने उनले बताए । दश किलोमिटर खण्डको काम सक्न कम्पनीले दुई वर्षको समय पाएको थियो । एक हजार दुई सय मजदुर र ५० भन्दा धेरै मेसिन परिचालन गरेको कालिका कन्ट्रक्सनले झण्डै २० करोड भुक्तानी पाउन बाँकी छ । हरेक दिन ७० लाखको काम गर्ने गरेको कम्पनीले भुक्तानी रोकिएपछि हरेक दिन हुने कामलाई घटाएको छ । ‘हामीले मेसिन कम्पनीको क्याम्पमा थन्क्याएका छौँ, मजदुर अन्यत्रै सिफ्ट गरेका छौँ’, कम्पनीका इन्जिनियर छकबहादुर गुरुङले भने, ‘यसै वर्ष काम सक्ने योजना थियो तर अब गाह्रो हुन्छ ।’ काम भइरहेकै बेला विनियोजित बजेट सकिएको सूचनाले डेढ वर्षमा तोकिएको काम सक्ने योजना पूरा नहुने गुरुङ बताउँछन् । तीन वर्षको समयावधि पाएको कम्पनीले डेढ वर्षमै काम सक्नेगरी काम गरिरहेको थियो । ‘म्याद थप्ने बेला निर्माण व्यवसायीलाई सबैले गाली गर्छन्, काम भइरहेको बेला रोकिनुपरेको छ’, उनले भने ‘सबै जुटाएका बेला काम धमाधम हुन्थ्यो, फेरि त्यही जुटाउन समय लाग्छ ।’ झण्डै पाँच अर्ब खर्चेर तीन वर्षमा कालोपत्रको काम सक्ने योजना रहेको करिडोरको यो खण्डका लागि चालु आर्थिक वर्षमा ८० करोड रुपैयाँ मात्रै विनियोजन भएको थियो । ‘कामको प्रगति राम्रो थियो, विनियोजित बजेट सकिएकाले रोकिनपर्यो’, कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख शङ्कर पौडेलले भने, ‘असार–साउनमै भएको कामको भुक्तानी गर्दा विनियोजित बजेट सकिँदा समस्या आएको हो ।’ भुक्तानी नहुँदा समयमा काम सकिनेमा समस्या आउन सक्ने उनले बताए । ‘हामीले यसै वर्ष काम सक्न योजना गर्यौँ तर ब्रेक लाग्यो ।’ आयोजनाले भएका कामको भुक्तानी र थप कामका लागि दुई अर्ब रुपैयाँ माग गरेको छ । तर बजेट थप भएर वा रकमान्तर भएर आउने सम्भावना कम रहेको प्रमुख पौडेलले जानकारी दिए । ‘अर्थले सम्बन्धित मन्त्रालयभित्रै रकमान्तरको स्रोत खोज भनेको छ, भौतिक पूर्वाधारमा यस वर्ष विनियोजन कम भएकाले त्यो सम्भावना रहेन’, प्रमुख पौडेल भने , ‘राजनीतिक तहबाट पनि पहल भइरहेको छ, आशा गरौँ बजेट थप हुन्छ र काम अघि बढ्छ।’ निर्माण व्यवसायीले काम ठप्प नपारी थोरै काम गरेर वर्ष गुजार्ने तयारीमा छन् । तर कामको गति घटेकाले करिडोर कालोपत्र हुनेमा भने आशङ्का भएको छ । रासस

कामना सेवा विकास बैंकको बुक क्लोज मंसिर २९ गते

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । बैंकको १७औं वार्षिक साधारणसभा आगामी पुस १७ गते मंगलबार हुँदै छ । सभाले बैंकको २०८० असार मसान्तको बासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने छ । तर, यो वर्ष लाभांश प्रस्ताव भने गरिएको छैन ।

एकैदिन तोलामा २४ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन घटेर प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।    

सीआईटीको ईडी बन्न १० जनाको प्रतिस्पर्धा, बहालवाला सीईओदेखि सहसचिवसम्मको संघर्ष

काठमाडौं । नागरिक लगानी कोषकाे कार्यकारी निर्देशक (ईडी) का लागि १० जनाले आवेदन दिएका छन् । विभिन्न संस्थामा लामो समय  काम गरिसकेका अनुभवी व्यक्तिले  कोषकाे ईडीका लागि आवेदन दिएका हुन् । कोषले गत कात्तिक २१ गते कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको थियो । कार्यकारी निर्देशकका लागि आवेदन दिनेमा कमलप्रसाद रेग्मी, रामदेव यादव, पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, रोशनजङ्ग कार्की, विश्वमोहन अधिकारी, जीवन प्रकाश सिटौला, अनिलराज पौडेल, लेखनाथ शर्मा पंगेनी र डा.शिवहरी श्रेष्ठ रहेका छन् । आवेदन दिनेमध्ये राजेन्द्र पण्डित राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् । उनले राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरेका छन् । उनी हाल पब्लिक पोलिसीमा विद्यावारिधी गर्दैछन् । चिरञ्जीवि नेपाल गभर्नर हुँदा उनी कम्पनी सचिव थिए । यस्तै, जीवन प्रकाश सिटौला पूर्व सहसचिव हुन् । सरकारी सेवाबाट अवकाश भएका उनले उद्योग विभागको महानिर्देशक, सम्पत्ति शुद्धिकरणको महानिर्देशक हुँदै कोसी प्रदेशको अर्थ सचिव भएर पनि काम गरिसकेका छन् । उनी प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौलाका भाइ हुन् । डा. शिवहरी श्रेष्ठले राष्ट्रिय खाद्य संस्थानमा चार वर्ष महाप्रबन्धक भएर काम गरिसकेका छन् । उनले राष्ट्रिय बीमा संस्थानको प्रशासक भएर पनि काम गरिसकेका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सीईओ र नेपाल औद्योगिक विकासमा पनि साढे दुई दशक काम गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकको छात्रवृत्तिमा अर्थशास्त्रमा विद्यावारिधि पनि गरेका छन् । यस्तै, आवेदन दिनेमा विश्वमोहन अधिकारी पनि रहेका छन् । उनी युवा तथा स्वरोजगार कोषका हालका कार्यकारी निर्देशक हुन् । उनी पूर्व बैंकर पनि हुन् । उनले तत्कालीन ओम डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरिसकेका छन् । यस्तै, कमलप्रसाद रेग्मी पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशककाे प्रतिस्पर्धामा छन् । नेपाल बीमा प्राधिकरणको कानून तथा नियमन महाशाखा प्रमुख रेग्मीको स्थायी घर तेह्रथुम हो । यसअघि अर्थमन्त्रालय र गृहमन्त्रालयमा समेत काम गरेका उनले १२ वर्ष नेपाल टेलिभिजनमा पनि काम गरे । आवेदक रोशनजंग कार्की हाल नागरिक लगानी कोषमै आवद्ध छन् । उनी कोषमा निमित्त निर्देशकका रूपमा कार्यरत छन् भने वित्तीय व्यवस्थापन विभाग सम्हालिरहेका छन् । यस्तै, आवेदक लेखनाथ शर्मा पंगेनी नेपाल सरकारबाट अवकाश प्राप्त कर्मचारी हुन् । उनी नेपाल सरकारको सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन् । उनले राजस्व परामर्श बोर्डको सदस्य भएर पनि काम गरिसकेका छन् । उनले अर्थमन्त्रालय र मातहतका निकायमा तीन दशक लामाे समय काम गरेका छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनको घर स्याङ्जा हो । अनिलराज पौडेलले पनि कोषको ईडीका लागि आवेदन दिएका छन् । उनले करिब तीन दशक राष्ट्रिय सहकारी बोर्डमा उप-निर्देशक भएर काम गरिसकेका छन् । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले पनि आवेदन दिएका छन् । उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले राष्ट्र बैंकमा तीन दशक काम गरे । उनले ग्रामिण विकास बैंकको सीईओ भएर पनि काम गरिसकेका छन् । उनी व्यवस्थापनमा स्नातकोत्तर छन् । यस्तै, सिंहदरबार वैद्यखानाका पूर्व कार्यकारी निर्देशक रामदेव यादव पनि ईडी बन्ने प्रतिस्पर्धामा छन् । कोषको कार्यकारी निर्देशक छनोट समितिले १० जनामध्ये पाँच जनाको नाम सर्टलिष्ट गर्नेछ । पाँच जनाको नामलाई अर्थमन्त्रालयले तीन जनामा सर्टलिष्ट गरेर मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले तीन जनामध्येबाट एक जनालाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।

शौर्य सिमेन्ट उद्योगले गर्यो भारतमा क्लिङ्कर निर्यात

काठमाडौं । शौर्य सिमेन्ट उधोगले भारतमा क्लिङ्कर निर्यातको शुरुवात गरेको छ । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत मंसिर १६ गते देखि क्लिङ्कर औपचारिक कार्यक्रम माझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरेको हो । शौर्य सिमेन्ट उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको हो । यस क्लिङ्कर तथा सिमेन्टमा न्यून म्याग्नेसियम अक्साइड वा म्याग्नेशिया (एमजिओ) तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको कम्पनीले जनाएकाे छ । उद्योगले २०७८ माघबाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३ हजार मेट्रिक टन क्षमता रहेको छ । व्यवसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपिसि (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।