विकासन्युज

ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो : अर्थमन्त्री डा. महत

नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारे । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर वचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’ उनले भने, ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरुका लागि समस्या आयो । जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो ।’ ‘नेपालको अर्थतन्त्र विग्रियो, शिथिल भयोे, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता छ । अवश्य पनि केही समययता, नेपालको अर्थतन्त्रमा विविध कारणले समस्या थियो, तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरे, राष्ट्र बैंकले अथाह पूँजी प्रवाह ग¥यो, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्यो’ मन्त्री डा. महतले भने, ‘कहाँ लगानी गर्ने ? प्रतिफल आउँछ कि आउँदैन भन्ने सोच विचार नगरी ऋण लिए । घरजग्गामा अत्याधिक लगानी भयो, मागभन्दा बढी प्लटिङ भयो । सेयर बजारमा लगानी भयो । कतिपयले क्रिप्टोमा पनि लगानी गरेका रहेछन् । ती लगानीको प्रतिफल आइरहेको छैन । माग र आपूर्तिको असन्तुलन भएपछि समस्या आउँछ ।’ अर्थमन्त्री डा. महतले थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि फ्याक्ट्री नै नेपाल आएको बताए । ‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ । आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजश्व पनि देशका लागि तीन गुणा बढ्छ मन्त्री डा. महतको भनाइ थियो ।’ ‘राजश्वबारे म एकदमै चिन्तित छु, परिवारमा जति धेरै आम्दानी भयो, त्यत्ति बढी खर्च गर्ने क्षमता हुन्छ । परिवारको आवश्यकता पूर्ति गर्न सक्छ । देश भनेको पनि ठूलो परिवार–परिवार मिलेर बनेको ठूलो परिवार हो’ मन्त्री डा. महतले भने, ‘देशलाई पनि आम्दानी हुने श्रोत र आम्दानीको आवश्यकता छ । सरकारले जति धेरै आम्दानी गर्छ, त्यत्ति नै हामी पूर्वाधारमा लगानी गर्न सक्छौं । यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ ।’ उनले भने, ‘सरकारले फ्याक्ट्री चलाएर हुँदैन, यो निजी क्षेत्रले चलाउनुपर्छ । उद्यमशील नागरिकले फ्याक्ट्री चलाउनुपर्छ । सरकारले प्रतिस्पर्धा सुनिश्चित गर्छ, गुणस्तर जाँच गर्छ । एउटैले आदिपत्य जमाएको छ भने त्यो सरकारले हेर्छ । यस्तो परिवेशमा धेरै लगानी आउँछ, लगानी आएपछि रोजगारी बढ्छ । रोजगारी बढेपछि आम्दानी बढ्छ, आम्दानी बढेपछि राज्यको राजश्व बढ्छ । राजश्व बढ्यो भने शिक्षा, स्वास्थ्यलगायत हाम्रा आवश्यकताअनुसारको पूर्वाधार विकासमा सरकारले बढी लगानी गर्न सक्छ ।’ ‘सडक निजी क्षेत्रले बनाउँदैन, निजी क्षेत्रले आम्दानीका लागि ५० वर्ष पर्खिन सक्दैन । निजी क्षेत्रको शिक्षा र स्वास्थ्य सेवा सर्वसधारणले लिन सक्दैन । त्यसकारण दीर्घकालीन लगानी राज्यले गर्छ । लगानी गर्नका लागि श्रोत चाहिन्छ । निजी क्षेत्रलाई उत्पादनमा लगाइयो भने श्रोत बनाउन सकिन्छ । यो सिद्धान्तमा नेपाली कांग्रेस र यो गठबन्धन सरकार चलेको छ’ मन्त्री महतले भने ।

‘भिजन’ नभएकाले ट्राभल एजेन्सी चलाइरहेका छन् : टुरिस्ट गाइड बरालको अन्तर्वार्ता

करिब पाँच दशकअघि पर्यटन क्षेत्र प्रवेश गरेका हुन् हरेराम बराल । सन् १९७८ मा पर्यटन क्षेत्र छिरेका बरालले १९८० मा यती ट्राभल्समा जागिर सुरु गरे । उनले त्यहाँ १४ वर्ष जागिरे जीवन बिताए । सुरुमा यती ट्राभल्समा आबद्ध हुँदा उनले एयरपोर्टमा छुटेका गेस्ट (विदेशी पर्यटक) लाई रिसिभ गर्ने र उनीहरूलाई उनीहरूले भनेको गन्तव्यसम्म पुर्याइदिने काम गरे । ६ महिनापछि उनले टुर अफिसर भएर २÷३ वर्ष काम पनि गरे । त्यो बेला यती ट्राभल्समा ४० देखि ५० जना टुर गाइड थिए । उनीहरूसँग अन्तक्र्रिया गर्ने क्रममा उनलाई टुरिस्ट गाइड गर्ने काममा इच्छा जाग्यो । त्यहीँ उनले इटालियन भाषा सिके । त्यो बेला इटालियन भाषा बोल्ने एकदमै कम थिए । उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा तीन महिनाको तालिम लिए । उनले टुर गाइडको लाइसेन्स त्यहीँबाट लिए । त्यसपछि उनले यती ट्राभल्सबाट नै टुरिस्ट गाइड गर्न थाले । त्यहाँ १४ वर्ष बिताए । त्यसपछि भारतको ठूलो टुर अपरेटर एजेन्सीले नेपालमा सीता ट्राभल एजेन्सी खोलेको थियो । त्यसमा उनलाई कामका लागि प्रस्ताव आयो र उनले त्यहाँ पनि करिब २५ वर्ष काम गरे । पञ्चायत व्यवस्था ढल्ने बेलामा टुरिस्ट गाइडहरूलाई एकै छातामुनि ल्याउन टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) स्थापना भयो । त्यतिबेला उनी संस्थापक सदस्य थिए । त्यसपछि उनी कार्यसमिति सदस्य भए । बिस्तारै तृतीय, द्वितीय र प्रथम उपाध्यक्ष हुँदै उनी दुई कार्यकाल टुर्गान अध्यक्ष भए । ६ वर्ष अध्यक्ष र दसौं वर्ष उपाध्यक्ष भए उनी । ७३ वर्षका बरालले टुरिस्ट गाइडिङको काम छाडेको आठ वर्षजति भयो । नेपालमा टुरिस्ट गाइडको अवस्था, चुनौती, प्रतिस्पर्धा, सरकारले हेर्ने दृष्टिकोणलगायत विषयमा केन्द्रित रहेर बरालसँग विकासन्युजकर्मी ऋतुले कुराकानी गरेकी छन् । नेपालमा टुरिस्ट गाइड (पर्यटक पथप्रदर्शक) को वर्तमान अवस्था कस्तो छ ? पहिला ट्राभल एजेन्सी चलाउने व्यक्तिको एउटा भिजन थियो । आफ्ना गाइडहरूलाई ड्रेस दिन्थे । हरेक कुरामा अप टु डेट हुन्थे । त्यस एजेन्सीमा काम गर्ने फ्रिलान्स गाइडले आफ्नो क्षमता प्रर्दशन गरेपछि राम्रो लाग्यो भने त्यही एजेन्सीमा नै काम पाउँथे । अहिलेको समयमा त्यस्तो भिजन पनि छैन । पहिला सबै गाइडहरू एकै ठाउँमा भेला भएर अन्तक्र्रिया गर्थे । अहिलेको गाइडिङ हेर्ने हो भने गाइडहरूको आउटलुक त्यति राम्रो छैन । यदि बसन्तपुरमा कुनै गाइडले टुरिस्ट घुमाइरहेको छ भने ऊ ड्रेसअपमा पनि राम्रो देखिँदैन । उसँग पर्याप्त ज्ञानको पनि अभाव देखिन्छ । भाषामा पनि त्यति परिमार्जन भएको देखिँदैन । अहिलेको अवस्थामा ज्ञानको अभाव सबैभन्दा बढी देखिएको छ । अध्ययन पनि गर्दैनन् । हामीले काम गर्ने समय रातभरि अध्ययन गथ्र्यौं टुरिस्ट घुमाउनका लागि । हामीले क्वालिटी टुरिज्मको कुरा गर्छौं । तर, हाम्रो प्रडक्ट नै क्वालिटी भइदिएन । हामी क्वान्टिटीमा गयौं । पहिले एउटा ट्राभल एजेन्सीको लाइसेन्स लिँदा दुईजना टुर गाइडको सिफारिस लिनुपथ्र्यो । एउटा करेस्पोन्डेन्ट र अर्को पूर्वकरेस्पोन्डेट र टिकेटिङको मान्छे गरी चारजनाको सर्टिफिकेट देखाएपछि मात्रै त्यो बेलाको पर्यटन विभाग तथा पर्यटन मन्त्रालयले ट्राभल एजेन्सी खोल्न दिन्थ्यो । अहिले जसले पनि ट्राभल एजेन्सी खोलेका छन् । उनीहरूले ल्याएका पर्यटकलाई जुन किसिमको सर्भिस दिनुपर्ने हो त्यो दिन सकेका छैनन् । यो भनेको देशका लागि दुर्भाग्य हो अहिलेको अवस्थामा । कोरोना महामारीबाट पर्यटन आगमन ह्वात्तै घट्न पुग्यो, पर्यटकलाई ठाउँ, सम्पदा, हिमाल, पहाड, तराई देखाउँदै हिँड्ने टुरिस्ट गाइडको रोजीरोटीमा यसले कत्तिको प्रभाव पारेको थियो ? कोरोना महामारीका कारण तीन वर्ष टुर गाइडमात्रै होइन ट्राभल एजेन्सी, होटललगायत सबै क्षेत्रमा प्रभाव पार्यो । एक शब्दमा भन्नुपर्दा देशकै अर्थतन्त्रमा ठूलो असर पर्यो । कति मान्छेको भोक टार्ने अवस्था पनि थिएन । तर, अहिलेको अवस्थामा त्यो सुधार हुँदै आएको छ । अहिलेको तथ्यांकले देशमा ९ लाख पर्यटक देश भित्रिएको देखाएको छ । वास्तविक पर्यटक को हुन् त ? यहाँ प्रश्न छ । एनआरएनए पनि नेपाल आएका छन्, उनीहरूलाई पर्यटक मान्ने कि नमान्ने ? जहाजबाट आएका सबैलाई पर्यटकमा गन्ने हो भने त्यसमा नेपाली पनि छन्, भारतीय र अन्य मुलुकका पनि होलान् । त्थ्यपरक पर्यटक को हो भन्दा जसले अर्को देशमा गएर दुईचार पैसा खर्च गर्न सक्छन्, त्यो खर्च गरेर आर्थिकरूपमा इम्पावर गर्न सक्छन् तिनीहरूलाई नै पर्यटक भन्ने हो । अहिलेको अवस्थामा होटलको संख्या पनि बढ्दै गइरहेको छ । हिजोका दिनमा १ लाखमात्रै पर्यटक आउँदा पनि राम्रो पैसा तिर्थे, अहिले दसौं लाख पर्यटक आउँदा पनि हामीले राम्रो आम्दानी गन सकेका छैनौं । पाँचवटा होटलका ठाउँमा १० होटल खोलेपछि प्राइस त घट्छ नै । यसले हाम्रो देशको आम्दानीलाई पनि असर गरेको छ । नेपालमा टुरिस्ट गाइड कति संख्यामा छन् ? लाइसेन्स लिएर गाइड गर्ने कति छन् ? लाइसेन्सवाहक गाइडलाई लाइसेन्स नभएका गाइडका कारण समस्या परेको छ कि छैन ? नाथमको तथ्यांकअनुसार ३ हजारदेखि ३५ सय टुर गाइड छन् । टुर्गानसँग आबद्ध १ हजार टुर गाइड छन् । टुर्गानमा आबद्धमध्ये ६ देखि ७ सय जना सत्रिय छन् । नाथमको तथ्यांकअनुसार उसले उत्पादन गरेका विद्यार्थीले लाइसेन्स पाएका छन् । लाइसेन्स नभएकाले पनि टुरिस्ट गाइड गर्दा असर त परेको नै छ । यस्तो इलिगल गाइडिङलाई रोक्नुपर्छ । अस्ति समाचार आएको थियो कि नेपाल मेडिकल काउन्सिलमा २ सय डाक्टरले एमबिबिएसको परीक्षा दिएकोमा ५१ प्रतिशतमात्रै पास भएका थिए । हाम्रो टुर्गानलाई पनि त्यही अवस्थामा पुर्याउनुपर्ने देखिन्छ । तर, त्यो कतैबाट पनि पहल भएको छैन । अहिले टुर्गानका अध्यक्ष बद्री नेपालले पनि राम्रो बनाउनका लागि पहल गरिरहनुभएको छ । हाम्रो भनाइ के हो भने टुर्गानमा लिगल हुन् वा इलिगल हुन् तिनलाई छुट्ट्याउनुपर्छ । अर्को कुरा, ट्राभल एजेन्सी तथा ट्रेकिङ एजेन्सीका सञ्चालक हुनुहुन्छ, उहाँहरूले आफ्नो अफिस स्टाफलाई टुरिस्ट गाइडका लागि पठाउनुहुन्छ, त्यो अवैधानिक हो । उहाँहरूले गाइड नै राखेर पठाउनुपर्छ । यस्ता एजेन्सीले सरकारको नियम पालना गरेका छैनन् । यो कुरामा नियामक निकायले स्ट्रिक्ट एक्सन लिनुपर्छ । पर्यटन मन्त्रालय, पर्यटन विभाग कानमा तेल हालेर बसेका छन् । हामीले क्वालिटी टुरिज्मलाई प्रमोट गर्नका लागि नियामक निकाय एकदमै भिजिबल र अलर्ट भएर बस्नुपर्छ । अब पर्यटन उद्योगले बिस्तारै गति लिन थालेको छ । कोरोना महामारीबाट विस्थापित भएका टुरिस्ट गाइडहरू अब पुरानै पेसामा आउन सक्ने अवस्था छ त ? यो देशको अथोरिटीमा बस्नेले राजनीतिमात्रै धेरै गरे । देशप्रति उनीहरूले गर्नुपर्ने कर्तव्य निर्वाह गरेका छैनन् । अहिले हाम्रा धेरै गाइडहरू विदेशमा विस्थापित भइसकेका छन् । तीन वर्ष कोरोनाको असर पर्यो । मान्छेल काम नभएपछि विदेश अप्लाइ गरे । अहिलेको तथ्यांकअनुसार ७० लाख नेपाली विदेशमा छन् । अनुभव र ज्ञान भएका मान्छे सबै विदेश पलायन भइसके । कतिपय पुरानै गाइडहरू फर्केका पनि छन् । कतिपय नयाँ आउने क्रम पनि जारी छ । तपाईंले लगभग सारा जीवन यही पेसामा बिताउनुभयो । तपाईंले पेसा सुरु गर्दाको अवस्था र अहिलेको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? मैले सन् १९८० मा टुर गाइड भएर काम गरेको हुँ । त्यतिबेला सबै कुरा व्यवस्थित थियो । त्यतिबेला पपुलेसन प्रेसर थिएन । हामीले ठूलो बसमा टुरिस्ट लगेर बसन्तपुरमै रोक्थ्यौं । आनन्दले घुमाएर फर्किन्थ्यौं । अहिले जनसंख्या वृद्धिले, ट्राफिक व्यवस्थापनले गर्दा सहज परिस्थिति छैन । पहिला हामीले हाफ डे गर्दा पनि सारा काठमाडौं घुमाउन भ्याउँथ्यौं । अहिले हामीले हाफ डे गरेर उनीहरूलाई होटलमा खाना खुवाउने व्यवस्था गर्न सक्दैनौं । अहिले ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूले फुल डे टुर राखिदिन्छन् । बाटोमा सानातिना क्वालिटीका रेस्टुरेन्ट छन् । पर्यटकले त्यहीँ नै खाजा, खाना खान्छन् । यो एउटा परिवर्तन आएको छ । मैले देखेको एउटा परिवर्तन हाम्रो पालामा जुन एउटा मौलिकता थियो, घर तथा भवनका स्ट्रक्चर थिए, ती परिवर्तन भएका छन् । अहिले बसन्तपुर तथा पाटन क्षेत्रमा नयाँ स्ट्रक्चर देख्न सकिन्छ । पुराना स्ट्रक्चर सबै परिवर्तन भएका छन् । नेपालमा आम्दानीका हिसाबले टुरिस्ट गाइड बनेर जीवन धान्न कत्तिको सहज छ ? र, यो पेसामा नयाँ आउन चाहनेलाई के सुझाव दिनुहुन्छ ? भाषाको राम्रो ज्ञान भएको, टुरिस्टलाई टुरिस्टको नजरले नहेरेर पाहुना हो भनेर त्यस किसिमको व्यवहार गर्ने हो भने यस क्षेत्रमा गाइडले आनन्दले गुजारा गर्न सक्छन् । आम्दानीको हिसाबले भन्नुपर्दा सबै गाइडले अहिले अंग्रेजी बोल्छन् । अंग्रेजीमा साइट सिइङ गरेका गाइडको पारिश्रमिक थोरै छ । कसैले अंग्रेजी बोलिरहेको छ भने १५-२० प्रतिशत उसको दैनिक पारिश्रमिक छ । पूरा एक दिन २५ जना टुरिस्टलाई हामीले साइट सिइङ गरायौं भने उसको दैनिक पारिश्रमिक ५ हजार रुपैयाँभन्दा बढी हुन्छ । १० दिन राम्रो काम पाइयो भने ५० हजार कमाउन सकिन्छ । यो पनि सिजनल हुन्छ । ३ सय ६५ दिन नै गाइड इन्गेज्ड हुँदैनन् । डेढ सय दिनमा उनीहरूले पाएको पारिश्रमिकले नै घर चलाउने हो । त्यो पारिश्रमिकले खर्च धान्न खासै मुस्किल देखिँदैन । जसले खटेर गर्न सक्छन् उनीहरू स्थापित भएका छन् । अब केहीले सर्भाइभ पनि गरिरहेका छन् । यदि कोही नयाँ मान्छे यस क्षेत्रमा आउन चाहन्छन् भने एकदमै अध्ययन गरेरमात्रै आउन मेरो सुझाव छ । अनि, भाषामा पनि दक्खल हुनुपर्छ । हामीले बोलेको भाषा पर्यटकले पनि बुझ्ने हुनुपर्छ । हाम्रो पालामा भाषा सच्याउने मौका पनि हुँदैनथ्यो । अहिले धेरै विकल्प पनि छन् । त्यो विकल्पको सदुपयोग गर्नुपर्यो । हामीले हाम्रा धर्म, संस्कृति, भाषा, भेषभूषा, इतिहास सबैलाई राम्ररी बुझाउन सक्नुपर्छ । यी सबै कुराबारे बुझाउँदा हामीले हाम्रोमा यस्तो अभ्यास चलिरहेको छ भनेर बुझाउनुपर्छ । यो पेसामा दशकौं काम गरेको अनुभवका आधारमा भन्नुपर्दा टुरिस्ट गाइड र टुरिस्टले गर्ने व्यवहार कस्तो पाउनुभएको छ ? टुर गाइडको काम भनेको उसले रिसिभ गरेको गेस्टलाई यो कुनै कम्पनीको टुरिस्ट हो अथवा अमेरिकाको या त बेलायतको मान्छे हो भनेर सोच्नु भएन । उसलाई यो मेरो गेस्ट हो भनेर सोच्नुपर्छ । हामीले जस्तो व्यवहार गर्छाैं, उसले पनि त्यस्तै व्यवहार गर्छ भनेर सोच्न जरूरी छ । यो हामी आफैंमा भर पर्ने कुरा हो । टुरिस्ट गाइडलाई अधिकांश ट्राभल एजेन्सीहरूले तोकिएको पारिश्रमिक दिँदैनन्, समयमा पैसा दिँदैनन् भन्ने गुनासो पनि बेलाबेला सुनिन्छ ? यसबारे के भन्नुहुन्छ ? नयाँ ट्राभल एजेन्सी खोल्ने क्रम रोकिएको छैन । उनीहरूको वर्षमा एक÷दुई जना मात्रै टुरिस्ट आउँछन् । उसले हतारमा गाइड हायर गर्छ र पारिश्रमिक दिँदैन । त्यो गाइडको समस्या हो भन्छु म । गाइडले पनि कम्पनीबारे बुझ्नुपर्छ, एडभान्स लिनुपर्छ । काम प्रोफेसनल तरिकाले गर्नुपर्यो नि । टुरिस्ट गाइडको लाइसेन्स लिएकालाई सरकारले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने विषय एकपटक बहसमा थियो । अहिले यो विषय कता पुग्यो ? ऋण केका लागि ? प्रश्न त्यो छ । हरेक कामका लागि अहिले ऋण दिने संस्था छन् । यो ऋण कुन बेलाको आवश्यकता थियो भने जतिबेला नेपालमा टुरिस्ट अभाव थियो । त्यो बेला सरकारले ऋण दिएको भए हुन्थ्यो । त्यसरी सहुलियत दिँदा हाम्रा टुर गाइड साथी जो कम काम गर्नुहुन्छ उहाँसँग आजीवन गाइडिङ गर्ने कागज बनाएर दिन सकिन्थ्यो । अहिले त्यो ऋण आवश्यक छैन । जति धेरै पर्यटक आए, त्यति नै यो पेसामा रोजगारी र आम्दानी बढ्छ । तर, पर्यटक संख्या बढाउन सरकार, नेपाल पर्यटन बोर्डलगायतले गरेका कामबाट सन्तुष्ट हुने ठाउँ छ ? पर्यटन बोर्डको उद्देश्य के थियो भने विदेश गएर नेपालको पर्यटनलाई प्रचारप्रसार गर्ने । कोही जापानी भाषामा पोख्त छन् भने उनीहरू जापान गएर प्रचारप्रसार गर्ने र त्यहाँका पर्यटक नेपाल ल्याउने गर्थे । त्यस्तै, अन्य देशका भाषा जानेकाले पनि त्यसै गर्थे । पर्यटन बोर्डले पनि त्यो काम गरेको हो । अहिले पनि आफूले सकेको काम गरिरहेकै छ । अहिले के छ भने पर्यटन बोर्डले कुनै व्यक्तिलाई फेबर गरेन भने संस्थाको आलोचना गर्ने, विरोध गर्ने काम भइरहेको छ । जसको संस्थाबाट स्वार्थपूर्ति भएन, उनीहरूले विरोध गर्ने हुन् । पर्यटन बोर्ड, मन्त्रालयले आफ्नो ठाउँमा आफ्नो काम राम्रो गरिरहेको छ । त्यसैले मैले पर्यटन बोर्डले राम्रो काम गरेको छैन भन्दिनँ । सरकारले के गरिदियो भने टुरिस्ट गाइडले यसैलाई प्रमुख पेसा बनाएर बाँच्न सक्लान् ? सरकारले त केही गर्दैन । सरकारको नेतृत्वमा बसेकाले देश विकासबारे सोच्दैनन् । उनीहरूले खाली आफ्ना आफन्त र कार्यकर्ताका लागि मात्रै सोच्छन् । अब साँच्चै पर्यटन क्षेत्र राम्रो बनाउन, धेरै संख्यामा पर्यटक भित्र्याउन त पूर्वाधार विकास हुन जरुरी छ । सरकारको ध्यान त्यतातिर हुनुपर्यो । राम्रा पर्यटकीय गन्तव्य पहिचान गरेर त्यहाँ सहज बाटोघाटो बनाउनुपर्यो । बिजुली, पानीको व्यवस्था गर्नुपर्यो । बाटो बिजुली भयो भने ठाउँठाउँमा हाम्रा सानातिना लजहरू छन् । तिनीहरूले पनि पर्यटकलाई राम्रा सुविधा प्रदान गर्न सक्छन् । अन्त्यमा, पूर्वअध्यक्ष भएका नातामा टुर्गानले आफ्ना सदस्यको हकहितका लागि गरेका कामबाट तपाईं आफू कत्तिको सन्तुष्ट हुनुहुन्छ ? टुर गाइडले जति सहयोग टुर्गानलाई गर्नुपर्ने हो, त्यति गरेका छैनन् । टुर्गानले गर्न खोज्दाखोज्दै त्यसका सदस्य संस्थाप्रति लोयल छैनन् । त्यहाँका अथोरिटीले धेरै गरेका हुन् । मभन्दा अघि विष्णु ज्ञवाली अध्यक्ष हुनुहुन्थ्यो । उहाँले टुर्गानलाई सस्टेन गर्नुभयो । मैले संस्थालाई पपुलराइज गरेँ । अहिले बद्री नेपाल पनि राम्रो काम गर्न लागिराख्नुभएको छ । संस्थाले राम्रो गर्न खोजे पनि टुर गाइडहरू एकदमै स्वार्थी छन्, जो आफ्नाबारेमा मात्रै सोच्छन्, संस्थाका बारेमा सोच्दैनन् । पछिल्लो समय टुर्गान र टुरिस्ट प्रहरीको सहकार्यमा लाइसेन्स नभएका गाइडहरूलाई चेकिङ गरिरहेको छ । संस्थाले कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएको छ ।

नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता

काठमाडौं । नेपाल बैंकले र एक्जिम बैंक इन्डियाबीच सम्झौता भएको छ । वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ‘ट्रेड एसोसिएसन प्रोगाम’ अन्तर्गत सम्झौता भएको हो । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो । नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो । दुई संस्थाहरूबीचमा भएको हस्ताक्षर कार्यक्रममा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भने, ‘हामी एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं । आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरिनेछ । यो सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा छौं ।’

जाडाेमा ट्रेकिङ : यसरी अपनाउन सकिन्छ सावधानी

काठमाडौं । विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवनमा असर परेको छ भने कतिपय ठाउँमा यातायातका साधनसमेत अवरुद्ध हुन पुग्ने भएकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारले बताएका छन् । यसपाली गत वर्षको भन्दा चाँडो चिसो बढेकाले जाडो बढी नै हुने अनुमान गरिएको छ । तराईमा बाक्लो हुस्सु लागेर चिसो बढ्ने क्रम बढेको छ । देशभरिकै मौसम चिसो हुँदा प्रत्यक्ष असर ट्रेकिङ क्षेत्रमा पनि पर्छ । ट्रेकिङको याम करिब–करिब सकिए पनि साहसिक पर्यटक नियमितजसो नै जाने गर्छन् । अहिले पनि सयौँ पर्यटकले ट्रेकिङ गरिरहेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अनुसार यो याममा दृश्यहरु मनमोहक देखिन्छ तर हिमपात सुरु भएकाले चुनौती पनि उत्तिकै छ । सावधानी अपनाउँदा भने ट्रेकिङ गर्न कुनै समस्या नहुने टानका महासचिव विनोद सापकोटा बताउँछन् । उनका अनुसार अब ट्रेकिङको याम सकिने क्रममा छ । सेप्टेम्बर, अक्टोबर नोभेम्बर, मार्च, अप्रिल र मे मुख्य याम भए पनि अहिले नजाने भन्ने होइन । विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटकहरु बढी गइरहेका छन् । केही दिनदेखि हिमपात भएको र चिसो बढी हुन थालेकाले यो बेलामा जाँदा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाको भनाइ छ । अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने दृश्य मनोमोहक देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा बेस क्याम्प, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा क्षेत्र ट्रेकिङको राम्रो गन्तव्य हो । उनका अनुसार हिमपात भएसँगै ठूला हिमालमा हिउँ थपिने तथा दिउँसो घाम लागेर हिमपहिरो आउने, हिमपात हुने हुन्छ । यस्तो समयमा बढी जोखिम हुन्छ । त्यसैले त्यस्तो जोखिम क्षेत्र पहिचान गरेर हिँड्नुपर्छ । अनुभवी व्यक्ति बिना ट्रेकिङ जानुहुदैन । हिमाली क्षेत्र बाहेक अन्य क्षेत्रमा जाँदा पनि चिसोबाट जोगिने उपायसहित जाँदा राम्रो हुन्छ । ‘यसरी जाँदा कपडा पनि क्षेत्र अनुसार सुहाउँदो लगाउनुपर्छ, हिउँ पर्नाले बाटो पुरिएको हुनसक्छ, बाटो चिनेको मान्छेसँग हिँड्नुपर्छ । पर्यटक एक्लै पनि हिँड्ने गर्छन्, त्यसरी हिँड्नु थप जोखिम हुन्छ ।’ महासचिव सापकोटा भन्छन्, ‘यतिबेला माथिल्लो लेयरमा हिउँ पर्दिन्छ । एउटा लेयर जमेर बसेको हुन्छ । त्यसमाथि नयाँ हिउँ गएर थपिन्छ, जब घाम लाग्छ, अनि पानी छिरेर लेयर छुट्याइदिन्छ र माथिल्लो भाग झर्नसक्छ त्यसकारण हिउँ खस्ने सम्भावित क्षेत्र हो भनेर पहिचान भएका व्यक्ति लिएर जानुपर्छ र त्यही अनुसार हिउँमा हिँड्न मिल्ने जुत्ता, हिउँबाट जोगिने कपडा लगाउनुर्छ नभए अम्ला खाइदिने हुन्छ ।’ नेपालमा अनुमानित दुई लाखभन्दा बढीले ट्रेकिङ गर्ने गरेका बताइए पनि यकिन तथ्याङ्क भने छैन । नेपाल ट्रेकिङको उत्कृष्ट गन्तव्य हो । त्यसैले अहिले पर्यटक बढ्न थालेकाले व्यवसायी हर्षित पनि छन् । नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य एवं कोरियन आल्पाइन फेडेरेशनका नेपाल प्रतिनिधि ङावा ङिमा शेर्पा मनोरम दृष्य हेर्ने पर्यटकका लागि अहिले उपयुक्त मौसम भए पनि जोखिम भने बढी हुने बताउँछन् । उनका अनुसार यस्तो बेलामा हिमपहिरो आउने सम्भावना हुनेहुँदा बिहानै घाम लाग्नुभन्दा पहिला नै गन्तव्यमा पुग्नुपर्ने हुन्छ । ‘बेलुका चिसोले हिउँ सेट भएको हुन्छ । बिहान १० देखि ४ बजेसम्म हिउँ पग्लिने हुँदा जोखिमपूर्ण हुन्छ । त्यही भएर गाइडले ख्याल गर्नुप¥यो । अनुभवी गाइडको निर्देशनमा हिँड्नुपर्छ’, ट्रेकिङ क्षेत्रका अनुभवी शेर्पा भन्छन्, ‘अर्को जोखिम भनेको हिउँ परिहाल्यो भने बाटो भुलिन सक्छ, खाल्डोमा पर्न सकिन्छ । अनि हिउँ परिरह्यो भने चिसो बढेर बिरामी बनाउन सक्छ । कपडा न्यानो लगाउनुपर्छ खाना त्यहीअनुसार तातो खानुपर्छ र बासस्थानको पनि सोही अनुसार व्यवस्थापन गर्नुपर्छ ।’ यो याममा होटलसमेत बन्द गरिने भएकाले राम्रो अध्ययन गरेर होटल छन्, छैनन् सबै यकिन गरेर मात्रै ट्रेकिङमा जानुपर्नेमा उनी जोड दिन्छन् । संसारको सबैभन्दा बढी र राम्रो टे«किङ गन्तव्य नै नेपाल भएको जिकिर गर्दै शेर्पा दुई सय ५० जति पोटेन्सियल टे«किङ क्षेत्र रहेकामा त्यसमध्ये नौ–दस वटाबाट मात्रै फाइदा लिन सकिएको बताउँछन् । अन्नपूर्ण, सगरमाथा, लाङटाङ, मुस्ताङ अनि डोल्पा आकर्षक गन्तव्यका रुपमा रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले चिसो बढेकाले विशेष गरी ट्रेकिङमा जानेहरुले सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ । तराई क्षेत्रमा हुस्सु बढ्न थालेको छ । शीत लहरसमेत सुरु हुने भएकाले अब हिमाली क्षेत्रको हिमपात, तराई क्षेत्रको शीतलहर र पहाडी क्षेत्रको उच्च चिसोबाट जोगिन सबैमा अनुरोध गर्दै प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाडो छल्न आगो ताप्ने क्रममा आगलागी हुने भएकाले त्यसतर्फ पनि ख्याल गर्न अनुरोध गरे । यस्तो छ मौसम हाल नेपालमा पश्चिमी वायुको साथै भारतीय उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिचुङ नामक शक्तिशाली समुद्रिक आँधीको समेत आंशिक प्रभाव परेको छ । हाल कोशी र लुम्बिनी प्रदेशका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राप्ती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद् सन्दिप अधिकारीले आग्रह गरे। तापक्रमको अवस्था मौसमविद् अधिकारीका अनुसार काठमाडौँमा हिजो न्यूनतम तापक्रम सात दशमलव चारसम्म झरिसकेको छ । जोमसोममा सबैभन्दा कम देखिएको छ । हिजो माइनस पाँच दशमलव पाँच डिग्री तापक्रम रहेको थियो । यसपालीको यो सबैभन्दा कम तापक्रम हो । हिजो दोलखाको जिरीमा एक डिग्री, जुम्लामा माइनस तीन दशमलव आड डिग्रीसम्म झरेको छ । मनाङमा दैनिक तपक्रम हेर्ने स्टेसन नभएकाले चिसो कति पुग्यो भनेर यकिन भन्न सकिने अवस्था नभएको विभागले जनाएको छ । मौसमविद् अधिकारी आज पूर्वी तराईमा बादल लागेको बताउँछन् त्यस क्षेत्रमा हवाई उड्डयनमा असर पर्ने देखिएको छ । पश्चिबाट मौसमको असर सुरु भए पनि आजदेखि विस्तारै खुलेको र धनगढी तथा डडेलधुरामा मोसम सुधारात्मक रहेको जनाइएको छ । काठमाडौँमा पनि मौसम सुधारिए पनि विस्तारै चिसो बढ्दै जाने बताइएको छ । रासस

खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैं, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चाडबाड लक्षित सहुलियत पसल असोज २१ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन गर्ने गरी प्रथम चरणको कार्यक्रम निर्धारण भएकोमा उक्त समयसीमा बढाएर माघ २ गतेसम्म पु¥याइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिए । यसवर्ष सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था कम्पनीलाई रू दुई करोड ३२ लाख २० हजार बजेट उपलब्ध गराएको थियो । उक्त रकम बचत हुन गएमा त्यसपश्चात्का चाडपर्वमा पनि सहुलियत पसल सञ्चालन गर्ने निर्णयअनुसार निरन्तरता दिइएको सुवेदीको भनाइ छ । सहुलियत मूल्य पसलमा सबै किसिमको चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरा अहिलेको बजार मूल्यभन्दा प्रतिकिलो रू सातले सस्तोमा बिक्री वितरण भइरहेको छ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो रू १० छुट दिइएको छ । खाद्य व्यवस्था कम्पनीले प्रवद्र्धन गरिरहेको ‘नेपाल फुड’ ब्राण्डका खाद्य सामग्रीमा यो अवधिसम्मका लागि निःशुल्क अनलाइन होम डेलिभरीको सुविधा पाइने पनि कम्पनीले जनाएको छ । खाद्य व्यवस्था कम्पनीको काठमाडौं उपत्यकासहित देशभरका ५० स्थानमा सहुलियतपूर्ण स्टल छन् । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस्ता पसलबाट खाद्य वस्तुमा बजार मूल्य नियन्त्रण हुने तथा गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलव्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

अटोचालक महिला भन्छिन् : इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका- ६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उनी भन्छिन्,’जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।’ उनी छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कन्छिन् । छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ । महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताको भनाइ छ । ‘अटो चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु’, उनले भनिन्,’महिला भएर पनि अटो चलाउन सक्छौँ भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन् ।’ अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ । आम्दानी बढेको छ, घर-घडेरी जोडिएको छ । छोराछोरी पढाउन सजिलोमात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाई देखेर स्वदेश फर्किएका छन् । ‘पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु’, उनले भनिन्,’मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौँ।’ महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ । सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उनले बताइन् । ‘लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’, उनले भनिन्,’महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन् ।’ महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ । यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ । अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन् । गैँडाकोटमा दुई जना महिला व्यावसायिकरूपमा अटो चालक रहेका छन् । सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन् । रासस

तारागाउँ रिजेन्सीको सेयर कारोबार फुकुवा, गल्ती नदोहोर्याउने कम्पनीको प्रतिवद्धता

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार फुकुवा भएको छ । लाभांश घोषणा सम्बन्धी जानकारी समयमा नगरेको भन्दै नेप्सेले रोकिदिएको सेयर कारोबार मंगलबार फुकुवा भएको हो । नेप्सेलाई समयमा जानकारी नगराएको भन्दै नेप्सेले कारणसहितको स्पष्टिकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार होटल्सले पत्रमार्फत मानवीय त्रुटी हुन गएकोले समयमा जानकारी गराउन नसकिएको बताएको छ । साथै, कम्पनीले पत्रमार्फत आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिवद्धता समेत गरेको नेप्सेले बताएको छ । कम्पनीको मंसिर १६ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश जारी गर्ने निर्णय गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर १७ गते बेलुका मात्रै उपलब्ध गराएको नेप्सेले जनाएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर तारागाउँ रिजेन्सीले त्यसको विपरित काम गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरिदिएको थियो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

ह्याम्स अस्पतालले संस्थागत तर्फ सबैभन्दा बढी कर तिरेकोमा बुढानिलकण्ठ नगरपालिकाद्वारा सम्मानित

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको १० औं नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ । अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले नगरपालिकाले सम्मान गरेको हो । सो समारोहमा नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले हस्तान्तरण गरेको सो सम्मानपत्र अस्पतालका तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मीले ग्रहण गरेकी थिइन् । ‘आर्थिक वर्ष २०७९र८० मा यस नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गर्नुभएकाले १० औं नगर स्थापना दिवस, २०८० को अवसरमा कदरस्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ,’ नगरपालिकाले प्रदान गरेको ‍सम्मानपत्रमा उल्लेख छ । नगरपालिकाले गरेको यस सम्मानले थप उर्जा तथा हौसला मिलेको अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी समेत गरेको छ ।