काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जनाको नाम सर्टलिष्ट गरिएको छ । सीईओ छनोट सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूमध्ये ८ जनाको नाम सर्टलिष्ट गरेको जनाएको छ ।
कार्यालयका अनुसार ई.अर्जुनबाबु ढकाल, अशोक कुमार पौडेल, ई.उमेश बाबु मरहट्टा, डा.ई.डोल प्रसाद चापागाईंको नाम सर्टलिष्ट गरिएको हो । यस्तै, ई.दिपेन्द्र कुमार देव, प्रकाश कुमार राई, ई.रमशे केसी र राजेन्द्र श्रेष्ठको नाम सर्टलिष्ट गरिएको सिफारिस समितिले जानकारी दिएको छ ।
शैक्षिक योग्यता र अनुभवसँग सम्बन्धित कागजातहरूको आधारमा मूल्याङ्कन गर्दा ४० प्रतिशत भन्दा बढी अङ्क ल्याउने उम्मेदवारहरू मध्ये क्रमश सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ७ जना र सातौं स्थानका लागि बराबर अङ्क प्राप्त गर्नेलाई सर्टलिष्ट गरिएको हो ।
उपत्यका खानेपानी लिमिटेडले गत असोज २३ गते सीईओका लागि आवेदन आह्वान गरेको थियो । अब सर्टलिष्ट भएकामध्ये ३ जनाको नाम सिफारिस गरिनेछ र तीन जनामध्येबाट एक जना सीईओ बन्नेछ । सीईओको कार्यकाल चार वर्षको हुनेछ ।