विकासन्युज

समता घरेलु लघुवित्तमा रोजगारीको सुनौलो अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले व्यवस्थापकीय अधिकृतका लागि केही, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाईजर, बरिष्ठ सहायक, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीहरु माग गरेको हो । कम्पनीले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।  

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, को हुन् उनी ?

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले ढकाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सीईओ रहेका श्रीचन्द्र भट्टले राजीनामा दिएपछि ढकाललाई कामु सीईओ जिम्मेवारी दिएको थियो । बुधबारदेखि लागू हुने गरी उनलाई सीईओको जिम्मेवारी दिईएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए । ढकालले तत्कालीन हाम्रो विकास बैंकको सीईओ भएर सन् २०१० देखि सन् २०१६ सम्म ६ वर्ष काम गरिसकेका छन् । ढकालले यसअघि एनआईसी एसिया बैंकको व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका थिए । आईसीआईसीआई बैंक र डिलोइट इण्डियामा समेत काम गरिसकेका उनीसँग बैंकिङ्ग क्षेत्रको डेढ दशक बढीको अनुभव छ । ढकाल एनआईसी एशिया बैंकमा हुँदा एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्ष समेत हुने अवसर प्राप्त गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट्स हुन् भने अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका हुन् । उनको स्थायी ठेगाना रुद्रपर ४ रुपन्देही हो ।

एक सय खर्ब पुग्यो बैंकिङ क्षेत्रको सम्पत्ति

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति तथा दायित्व १ सय खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरवित्तीय संस्थाहरूको कुल सम्पत्ति ७.५५ प्रतिशत बढेर ९२ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा ८६ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ कुल सम्पत्ति तथा दायित्व थियो । वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व ६४ खर्बभन्दा बढी पुगेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८०को असारसम्म वाणिज्य बैंकहरूको कुल सम्पत्ति ६४ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष बैंकहरू कुल सम्पत्ति तथा दायित्व ५९ खर्ब ५६ अर्ब ८ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशत अर्थात् ४ खर्ब ४७ अर्ब २३ करोड रुपैयाँ वृद्धि भएको हो । राष्ट्र बैंकका अनुसार २०८० असारसम्म विकास बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १०.९ प्रतिशत अर्थात् ६५ अर्ब ४९ करोड रुपैयाँले वृद्धि भई ६ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५ खर्ब ९९ अर्ब ५२ करोड रुपैयाँ कुल सम्पत्ति थियो । समीक्षा अवधिमा वित्त कम्पनी (फाइनान्स)हरूको ०.५ प्रतिशत अर्थात् ८१ करोड रुपैयाँ बढेर १ खर्ब ५२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । २०७९ असारसम्म फाइनान्स कम्पनीहरूको कुल सम्पत्ति तथा दायित्व १ खर्ब ५१ अर्ब ७९ करोड रुपैयाँ थियो । तर, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति भने समीक्षा अवधिमा घटेको छ । तथ्याङ्क अनुसार लघुवित्त संस्थाहरूको कुल सम्पत्ति २.३ प्रतिशत घटेर ५ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने लघुवित्त संस्थाहरूको कुल सम्पत्ति ५ खर्ब १९ अर्ब ६५ करोड रुपैयाँ थियो । समीक्षा वर्षमा नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको कुल सम्पत्ति १२.९ प्रतिशत बढेर २९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २५ अर्ब ८२ करोड रुपैयाँ थियो । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गत असारसम्म १४ जीवन, १४ निर्जीवन, २ पुनरबीमा र ४ लघुबीमा कम्पनी गरी कुल ३४ बीमा कम्पनी सञ्चालनमा छन् । बीमा कम्पनीहरूको कुल सम्पत्ति २०७९ असारसम्म ६ खर्ब २४ अर्ब १३ करोड रुपैयाँ रहेकोमा ९.१ प्रतिशत बढेर २०८० असारसम्म ६ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यसअघि २०७८ असारमा ५ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ थियो । कर्मचारी सञ्चय कोषको सम्पत्ति ११.५ प्रतिशत बढेर ५ खर्ब १२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ थियो । २०७८ असार मसान्तमा ४ खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । नागरिक लगानी कोषको सम्पत्ति ७.३ प्रतिशत बढेर २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति २ खर्ब ४७ अर्ब ५२ करोड रुपैयाँ थियो । यस्तै, सामाजिक सुरक्षा कोषको ३७ प्रतिशत बढेर ७४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष उक्त रकम ५४ अर्ब ६७ करोड रहेको थियो ।

कुवेतमा श्रम शोषणमा परेकी महिलाको उद्धार

बेनी । रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेपछि म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेत, मोना अन्तरराष्ट्रिय, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कुवेतलगायत निजको उद्धार लागेका थिए । कुवेतबाट नेपाल फर्किएकी चोखाल बुधबार आफ्नो घरमा आइपुगेकी छिन्। खाडीमुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल भएकी चोखाललाई घरपरिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गर्दै खुसी बाँडेका थिए । करिब आठ महिनाअघि जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाल घरेलु काममा चरम शोषणमा परेकी थिइन् । दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको र समयमा पारिश्रमिक समेत नदिएपछि आफूले उद्धारको लागि अपिल गरेको उनले बताइन् । रासस

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

ढोरपाटन । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर अहिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएको छ यो ठाउँ । सडक सञ्जालको पहुँच र लोकमार्ग कालोपत्र गरिएपछि हिजोआज यहाँका गाउँबाट बागलुङ बजार चार घण्टामै आउजाउ गर्न सकिन्छ । जिल्लाको सबैभन्दा टाढाका मानिने सीखोला गाउँपालिका ५ र ६ का बस्तीलाई अहिले सडकले नजिक बनाएको छ । पहिले निकै दुर्गम मानिने यस क्षेत्रको अहिले रुपै स्वरुप बदलिएको छ । स्थानीयको घरै अगाडिबाट दैनिक दर्जनौँ गाडी गुड्न थालेका छन् । लोकमार्ग बागलुङ हुँदै पूर्वी रुकुमसँग जोडिएपछि शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले निकै पछाडि परेको निसीखोलामा अवसर र सम्भावनाका ढोका खुलेका छन् । वरपरका खाली जग्गामा धमाधम भवन बन्न थालेका छन् भने व्यापार व्यवसाय पनि बढ्दै गएको छ । हजारौँ नागरिकले बजारको सुविधा यही पाउन थालेका छन् । पहिले एक साता हिँडेर बागलुङ आएपछि बजार देखेका अहिले आफ्नै ठाउँमा बजार बसेपछि दङ्ग छन् । स्थानीय ७६ वर्षीय थमबहादुर पुन मगरले ३० वर्ष अगाडि आफू पहिलोपटक बागलुङ पुग्दा साढे छ दिन लागेको सुनाउँदै अहिले बिहान गएर साँझ घर आइपुग्ने वातावरण बनेको बताए । घर जग्गा किनबेच गर्दा र नागरिकता बनाउन बागलुङ पुग्दा झण्डै एक महिना बिताउनु परेको स्मरण गर्दै आजभोलि सबै काम बुर्तिवाङमा हुन थालेको उनले सुनाए । लोकमार्गले गाउँ नजोडिँदा दैनिक उपभोग्य सामान बुटवल, पाल्पालगायत स्थानबाट बोकेर उपभोग गरेको सुनाउँदै उनले अहिले घरघरमा पसल खुलेपछि निकै सहज भएको बताए । ‘विकास हुन धेरै समय लाग्दो रहेनछ, यहाँका कसैले पनि यो ठाउँमा सडक आउला र गाउँको मुहार फेरिएला भन्ने कल्पना गरेका थिएनन्, विकट ठाउँ हुँदा उही गोठालो गर्ने, खेतीपाती गरेर जीवन चलाउने गरिन्थ्यो, यस्तो मोटरबाटो थिएन’, पुन मगरले भने, ‘उतिबेला म बागलुङ बजार जाँदा धेरै दिन लागेको थियो, अहिले चार घण्टामै पुगिन्छ, म छक्क परेको छु । हामीभन्दा अगाडिका पुस्ताले यो सुविधा पाएनन्, हामीहरुले बुढेसकालमा भए पनि हामीले पायौँ ।’ स्थानीय सुन्तली सुनारले लोकमार्गले गर्दा गाउँमा ठूलो परिवर्तन आएको बताए । पहिले–पहिले ग्रामीण क्षेत्रमा कुनै पनि पक्की भवन नभएको भन्दै उनले अहिले धमाधम पक्की भवन, सडक र विद्यालय बन्न थालेको सुनाए । पाँच वर्ष अगाडिसम्म आफ्नो ठाउँमा कच्ची घर रहेकामा अहिले बजारबाट सिमेन्ट छडलगायत सामग्री सहजरुपमा ढुवानी गरेर पक्की भवन बन्न थालेका उनले बताए । उनले भने, ‘लोकमार्गले यात्राका लाग समय कम लाग्ने मात्रै भएन, यसले हामीजस्ता विकट ठाउँका मान्छेको जीवनशैलीनै बदलियो, सरसफाइदेखि लिएर स्वास्थ्य शिक्षामा हामी धेरै पछाडि थियौँ, तर अहिले धेरै सुधार भएको छ, बाहिरबाट मान्छे पनि आउँछन्, उनीहरुबाट नयाँ कुरा सिक्ने अवसर पनि मिलेको छ, गाउँका उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ ।’ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङको मालढुङ्गादेखि रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्नेसम्म जोडेको छ । करिब एक सय ४२ किलोमिटर बागलुङमा पर्ने लोकमार्गले जिल्लाका सुगमदेखि दुर्गमसम्मका दर्जनौँ गाउँलाई जोडेको छ । यो मार्ग कालोपत्र भएपछि निसीखोला क्षेत्रमा ठूलो परिवर्तन आएको छ । रासस

भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढङ्गले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका–१ बाट जग्गा नापजाँच सुरु गरेको हो । आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि उक्त वडाबाट जग्गा नापजाँच सुरु गरिएको सोही वडाका वडाध्यक्ष एवं बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आयोगसँगको सहकार्यमा यसअघि सबै वडामा निस्सा वितरण भइसकेको छ । पहिलो चरणमा वडा नम्बर १ बाट काम अगाडि बढाइएको छ ।’ जग्गा नापजाँचका लागि सम्बन्धित व्यक्तिको नागरिकता, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सासहित उपस्थित भई आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन वडावासीलाई आग्रह गरिएको छ । वडा नम्बर १ मा काम सकिएपछि क्रमशः अन्य वडामा नापजाँचको थालिनेछ । राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र र अव्यवस्थित बसोबास गरेकालाई व्यवस्थित गरिने जानकारी दिए । उनले भने, ‘सुकुम्बासीलाई व्यवस्थित गर्न आयोग क्रियाशील छ ।’ राष्ट्रिय भूमि आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका–५, व्यास नगरपालिकाका केही वडाका सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ । जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२, देवघाट गाउँपालिका–५ देउपुर टोल र शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारमा पनि जग्गाको नापजाँच थालिएको छ । रासस

दियालो बङ्गला सर्वसाधारणको लागि खुला हुँदै, के छ दरबारमा ?

काठमाडौं । भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बङ्गला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्को बैठकमा निर्णय गरिँदै छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । महानगरपालिकाको अनुरोधमा दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइने छ । जीर्ण रहेको संरचनाको मर्मतसम्हार र अत्यावश्यक थप संरचनासमेत निर्माण गरेर खुला गरिने उनको भनाइ छ । सञ्चालक सदस्य उपाध्याय भने, ‘भरतपुर भ्रमण वर्षमा सर्वसाधारणले दियालो बङ्गला हेर्न पाउँछन् ।’ ट्रष्टको स्वामित्वमा रहेको दियालो बङ्गला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन् । तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बङ्गला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षण नेपाली सेनाले गर्दै आएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा थप महत्वपूर्ण गन्तव्य दियालो बङ्गला दरबारलाई बनाइएको बताउनुभयो । महानगरले लिखितरुपमा नेपाल ट्रष्टलाई आग्रह गरेपछि खुला गर्ने निर्णय गरिएको हो । नगरप्रमुख दाहालले नेपाल ट्रष्टसँग सहकार्य गरेर सर्वसाधारणका लागि दियालो बङ्गला खुला हुने बताए । उनले भने, ‘भ्रमण वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ ।’ नेपाल ट्रष्ट प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्दछ । महानगरले दियालो बङ्गलालाई खुला गर्न अधिकतम प्रयास गरेपछि ट्रष्टले निर्णय गरेको हो । के छ दरबारमा ? दियालो बङ्गला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ । दरबारमा पाँचवटा खोपी छन् । १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि आवास पनि छ । साथै सो क्षेत्रमा ‘ग्यारेज’ र त्यसको छेउमा ‘स्वीमिङ पुल’पनि छ । ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । शान्त एवं रमणीय यो बङ्गलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छभने दरबारको बगैँचाले जोकोहीलाई आकर्षित गर्छ । रासस

ऋण मिनाहाको हल्लाले बैंकहरू कर्जा दिन डराए : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारी बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको बताए । बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालु वर्ष १४.९ प्रतिशतले बढेको पनि जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको बताए । तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने आँकलन राष्ट्र बैंकको रहेको उनको भनाइ छ । मौद्रिक नीतिको लचकताको कारण बैंकको ब्याजदर निरन्तर रुपमा घटिरहेको बताए । गत वर्ष टेजरी बिलको भारित ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशत रहेको बताए । ९१ दिने टेजरी विलको भारित औसत ब्याजदर थप घटेर २.६२ प्रतिशत रहेको बताए । गत वर्षको तुलनामा अल्पकालिन ब्याजदरहरु घट्दै गएको बताए । उनले बैंकहरुको अन्तर ब्याजदर पनि असोजमा २.२६ प्रतिशत रहेको ब्याजदर थप घटेर १ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । बैंकहरुको बेस रेट घटेर ९.९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको ब्याजदर पनि गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२.१ प्रतिशतमा झरेको बताए । बैंकहरुको निक्षेपको ब्याजदर घटाउँदै ल्याएकाले कर्जाको ब्याजदर पनि थप घट्ने क्रममा रहेको उनको भनाइ छ । गत वर्षको तुलनामा अल्पकालिन ब्याजदरहरु घट्दै गएको बताउँदै गभर्नरले बैंकहरुको अन्तर ब्याजदर पनि असोजमा २.२६ प्रतिशत रहेको ब्याजदर थप घटेर १ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । बैंकहरुको बेस रेट घटेर ९.९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको ब्याजदर पनि गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२.१ प्रतिशतमा झरेको उनकाे भनाइ थियाे । ‘बैंकहरुको निक्षेपको ब्याजदर घटाउँदै ल्याएकाले कर्जाको ब्याजदर पनि थप घट्ने क्रममा रहेको छ,’ गभर्नर अधिकारीले भने,’चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आँकलन गरेको छ।’ लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले र व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको बताए । २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालु खाता ५९ अर्ब रुपैयाँले वचतमा रहेको बताए । पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको बताए । वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालु आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको उल्लेख गरे । गभर्नर अधिकारीले राष्ट्र बैंकले वाह्य क्षेत्रको स्थायीत्व,बैंक तथा वित्तीय क्षेत्रमा स्थिरता कायम गर्ने र बजार मूल्य स्थिर राख्ने काममा होसियार पूर्वक काम गरिरहेको बताए । उनले यी तीन विषयमा स्थायित्व दिनेसके मात्रै समग्र अर्थतन्त्रमा स्थायित्व कामय हुने जानकारी दिए । अर्थतन्त्रका यी तीनवटा विषयमा राम्रो अवस्था रहेको बताए । अर्थतन्त्रमा देखिएका समस्याको सबै जड गभर्नर हो भन्ने पनि आफूले अर्थतन्त्रमा समस्या हुने काम केही नगरेको उनको भनाइ छ । निर्माण उद्योगमा आएको समस्याका कारण उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा कर्जाको मागमा कमी रहेको बताए । बैंकहरुमा कर्जाको माग कमी हुनुमा दुर्गा प्रसाईले २० लाखसम्मको ऋण मिनाह गराई दिने तिर्नुपर्दैन भन्ने आन्दोलनको कारण पनि कर्जा प्रवाहमा बैंकहरु हच्केको बताए । त्यस्तै, नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताए । उनले ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले सञ्चितिमा दबाब पर्ने दाबी गरे । ब्याजदर एकल अंकमा आउनासाथ अर्कोतर्फ घरजग्गालगायत सम्पतीको मूल्य बढ्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने पनि बताए । उनले नेपाल आन्तरिक उत्पादन कमजोर रहेकाले एकल अंकमा ब्याजदर ल्याउँदा फाइदा नहुने बताए । उनले डिपार्टमेण्ट स्टोरलगायतका ठूला व्यवसायहरू, सञ्चालनमा रहेका खुद्रा व्यवसायहरू समस्या रहेको बताए ।