विकासन्युज

एउटै गाउँबाट साढे दुई करोडको आलुको बीउ बिक्री

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको जानकारी दिए । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४ जना सक्रिय कृषकसहित पाँच सय चार जना अन्य सेयर सदस्य आबद्ध छन् । गत वर्ष खानेसहित बीउ आलु सात सय टन निर्यात भएको बताए । ‘यहाँ उत्पादित आलुको बीउ स्याङ्जासहित, पाल्पा, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, खोरखा, रुपन्देही, अर्घाखाँची, तनहुँलगायत जिल्लाका कृषि ज्ञान केन्द्रले खरिद गरेका छन्’, अध्यक्ष कँडेलले भने, ‘यी बाहेक अन्य जिल्लाका करिब ३० पालिकामा बीउ आलु निर्यात गरेका छौँ, आलुको गुणस्तर राम्रो भएकाले जातअनुसार ६५ देखि ७० टन सम्म सजिलै बिक्री भएको छ ।’ यहाँ डेढ सय हेक्टर क्षेत्रफलमा खुमल रातो, मुखल उज्ज्वल, जनकदेव, एनएस दशमलव तीन, कार्डिललगायत राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्रले अनुमोदन गरेका आलु उत्पादिन गरिन्छ । उनले आलु उत्पादक किसान भेला भएर बर्सेनि खाने र बीउ आलुको मूल्य निर्धारण भएपछि बजारमा पठाउने बताए। ‘सहकारीले बजारीकरणमा सहयोग गर्ने भएपछि यहाँका किसान आलु उत्पादनमा हौसिएका छन्’, कँडेलले भने, ‘आलुको गुणस्तर राम्रो भएकाले आलु खोसाखोस हुन्छ, माग धान्नै सकिँदैन ।’ ‘जिमुहाँको मुख्य पेसा आलु उत्पादन हो, आलु उत्पादन गरेका यहाँका प्रत्येक परिवार आत्मनिर्भर छन्’, उनले भने, ‘आलु र सागसब्जी फलाएर एकल महिलाले पनि वार्षिक रु पाँच लाखसम्म कमाउने गरेका छन् ।’ अध्यक्ष कँडेलका अनुसार यहाँ तीन सय किलोदेखि ४० टनसम्म आलु उत्पादन गर्ने कषक छन् । स्थानीय ७१ वर्षीय कृषक ज्योतिलाल ढकालले जिमुहाँमा सिँचाइ सुविधा आएदेखि बसाइँसराइ रोकिएको बताए । उहाँले यहाँका सामान्य परिवारले पनि आलु र अन्य सागसब्जी उत्पादन गरेर सजिलोसँग जीवनयापन गरिरहेको दाबी गरे । ‘यहाँ पानीको सुविस्ता भएदेखि मैले पनि तरकारी उत्पादन गरेर घर चलाएको छु, छोराछोरी काठमाडौँ पोखरा बसेर पढेका छन्’, उनले भने, ‘दूध बेचेर मासिक रु २५ देखि ३० हजार कमाइ हुन्छ, सागसब्जी बेचेर पनि राम्रो कमाइ गरेका छौँ ।’ शीतभण्डारमा प्राविधिकको काम गर्दै आएका नारायण अधिकारीले शीतभण्डार सञ्चालनपछि धेरैको जीवन फेरिएको बताए। ‘शीतभण्डार नहुँदा पोखरा, बुटवललगायतको शीतभण्डारमा महँगो मूल्यमा आलु भण्डारण गर्न लैजानुपर्ने बाध्यता थियो’, उनले भने, ‘अहिले यहाँको शीतभण्डारमा कृषिउपज भण्डार गरेर उपयुक्त मूल्य पाउने समयमा बिक्री गर्दा धेरैलाई फाइदा भएको छ ।’ अधिकारीले शीतभण्डारमा सामान्य समस्या आए पनि ‘स्टक एसी’ भएकाले कृषि उपज नबिग्रने बताए । अध्यक्ष कंडेलका अनुसार यो वष सहकारीले रु १२ लाख ८३ हजार आम्दानी गरेको छ । ‘कार्यालय सञ्चालन, कर्मचारी, विद्युत्, ढुवानीलगायतमा वार्षिक रु सात लाख खर्च हुन्छ’, उनले भने, ‘शेयर धनीलाई पहिलोपटक रु आठ लाख र दोस्रो पटक रु चार लाख मुनाफा वितरण ग¥यौँ ।’ कँडेलले यसअघिको स्थानीय सरकारले रु १० लाखको जेनेरेटर, रु १० लामा कार्यालय भवन निर्माण गरिदिएको बताए। तर अहिलेको सरकारले कुनै पनि सहयोग नगरेको उनको गुनासो छ । नगरपालिकासँग विद्युत् महसुलमा छुट गरिदिन र नयाँ शीतभण्डारका लागि टाँड निर्माण गरिदिन कँडेलको आग्रह छ । जिमुहाँ शीतभण्डार सहकारीका रु एक करोड १८ लाख र एक करोड ५२ लाखका एकसय ५० टन क्षमताका दुई छुट्टाछुट्टै शीतभण्डार छन् । यहाँ आलु भण्डारका लागि छिमेकी जिल्ला पाल्पाका कृषक पनि आउने गरेका छन् । यहाँ कृषिउपज भण्डारण गर्दा सहकारीले प्रति किलोको रु सात लिने गरेको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेड २०७५ सालमा स्थापना भएको हो । रासस

एक करोड केजी चिया गोदाममा थन्कियो

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ । भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरुको गुनासो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार विर्तामोडमा आयोजना गरेको स्थानीय, प्रदेश सरकार एवं सरोकारवाला संलग्न चियासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिया व्यवसायीले सरकारले चिया उद्यमीका समस्यामा उचित ध्यान नदिँदा समस्या आएको गुनासो गरेका हुन् । झापाका चिया उद्योगी जेपी शर्माले १३ वटा उद्योगले उत्पादन गरेको करिब ५० देखि ६० लाख केजी सीटिसी चिया असोजदेखि गोदामै थन्किएको बताए । उनले चिया बिक्री नहुँदा मजदूरलाई समयमै पारिश्रमिक दिन नसकेको बताए । उनले चिया उद्योगी व्यवसायीको संरक्षणमा सरकार उदासिन देखिएको आरोप लगाए । उनले भने, ‘सरकारले अक्सन सेन्टर मात्र स्थापना गरिदिए पनि हाम्रो चिया ब्रोकरमार्फत विश्व बजारसम्म पुग्थ्यो । यस्तो समस्या हुने थिएन ।’ यसैगरी, ग्रीनहिल टि–इण्डस्ट्रिज इलामका प्रबन्धक गोपाल दाहालले कोशीका एक सय ७० वटा साना ठूला उद्योगले उत्पादन गरेको अर्थोडक्स चिया बिक्री नभएको बताए । उनका अनुसार हाल प्रत्येक उद्योगका गोदाममा ३० हजार केजीका दरले तयारी चिया थन्किएको छ । चिया तथा कफी विकास बोर्डका प्रवक्ता  दीपक खनालले नेपालमा सिटिसी चियाको ५० प्रतिशत खपत हुने र बाँकी भारत निर्यात हुने गरेको बताए । उनले सिटिसी चिया आधा खपत हुने मुलुकमा अर्थोडक्स चिया भने १० प्रतिशत मात्र खपत हुने र ९० प्रतिशत भारतलगायत तेस्रो देश निर्यात हुने गरेको जानकारी दिए । सिटिसी चियाको तुलनामा अर्थोडक्स चिया महँगो हुने हुँदा मुलुकमा कम खपत हुने गरेको उनको भनाइ छ । चिया व्यवसायी रामचन्द्र उप्रेतीले चियाको गुणस्तर मापन गर्न सरकारले क्वाटिली टि टेस्टर स्थापना गर्ने, नेपालमा उत्पादित चियाको गुणस्तरबारे जानकारी गराउन सूचना केन्द्र स्थापना गर्नसके तेस्रो मुलुक चिया निर्यातमा सहज हुने बताए ।  रासस

साउदी अरबको बजेट घाटा हुने प्रक्षेपण

काठमाडौं । साउदी अरबले सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४ मा १.९ प्रतिशतको बजेट घाटा हुने प्रक्षेपण गरेको छ । विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक र मध्यपूर्वको सबैभन्दा ठूलो अर्थतन्त्र खाडी मुलुकले युक्रेनमा रूसको आक्रमणपछि करिब एक दशकमा पहिलो पटक बजेट अधिशेष हासिल गरेको एक वर्षपछि यो घोषणा आएको हो । साउदी अरब दृष्टि २०३० को रूपमा चिनिने एक व्यापक आर्थिक र सामाजिक सुधारको बीचमा छ, जसको उद्देश्य पहिले बन्द राज्यलाई व्यापार, पर्यटन र खेलकुद क्षेत्रमा रूपान्तरण गर्नु हो । सन् २०२३ मा यो घाटा ८२ अर्ब साउदी रियल (करिब २१.८ अर्ब अमेरिकी डलर) हुने अनुमान गरिएको छ भने सन् २०२४ मा कूल ७९ अर्ब साउदी रियल (करिब २१ अर्ब अमेरिकी डलर) हुने अनुमान गरिएको छ । रियादले सन् २०२४ मा ४.४ प्रतिशतको वास्तविक कूल ग्रार्हस्थ वृद्धि हुने अनुमान गरेको छ जुन यस वर्ष ०.०३ प्रतिशत मात्र रहेको छ । यी प्रक्षेपणहरू सन् २०२६ सम्म घाटा बजेट रहने सङ्केत गरेको अक्टोबरमा जारी गरिएको पूर्व–बजेट वक्तव्यसँग व्यापक रूपमा मिल्दोजुल्दो छन् । राजा सलमानको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि अर्थ मन्त्रालयले सामाजिक सञ्जालमा भनेको छ, “साउदी अरबको लचिलो अर्थतन्त्रको सबल पक्षले आर्थिक जोखिम र चुनौतीको फाइदा उठाउँछ ।” गत हप्ता रियादले स्वेच्छिक तेल उत्पादनमा १० लाख ब्यारेल कटौती गर्ने घोषणा गरेको थियो जुन मार्च २०२४ सम्म लम्ब्याइएको थियो । गत वर्षको अक्टोबरमा तेल आपूर्ति कटौतीको एक शृङ्खला पछि, साउदी दैनिक उत्पादन लगभग ९० लाख ब्यारेल प्रति दिन (बीपीडी)मा छ, जुन यसपहिले रिपोर्ट गरिएको एक करोड २० लाख क्षमताभन्दा धेरै कम हो । ऊर्जा कम्पनी साउदी अराम्कोले तेलको मूल्यमा आएको कमी र उत्पादन कटौतीका कारण तेस्रो त्रैमासिकमा नाफामा २३ प्रतिशतले गिरावट आएको जनाएको छ । साउदी अरबसँग अराम्कोको ९० प्रतिशत शेयर छ र व्यापक आर्थिक र सामाजिक सुधारको लागि दृष्टि २०३० को रूपले चिनेने परियोजनाहरूको लागि साउदी अरब आफ्नो राजस्व सङ्कलनका लागि निर्भर छ । एजेन्सी

अवैध लगानी र ठगी गरेको आरोपमा एक सयभन्दा बढी वेबसाइट बन्द

काठमाडौं । सङ्गठित लगानी वा कार्य–आधारित रोजगार ठगीमा संलग्न १०० भन्दा बढी वेबसाइटहरू पहिचान गरी बन्द गरेको भारतको गृह मन्त्रालयले बुधबार जनाएको छ । दक्षिण एसियाली देशमा साइबर अपराधलाई समन्वयात्मक र व्यापक रूपमा सम्बोधन गर्न मन्त्रालयको पहल ‘इन्डियन साइबर क्राइम कोअर्डिनेसन सेन्टर’ अन्तर्गत यो कदम चालिएको हो । गृह मन्त्रालय मातहतको राष्ट्रिय साइबर अपराध चुनौती मुल्याङ्कन एकाईको सिफारिसमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले ती वेबसाइटहरू बन्द गरेको हो । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कार्य–आधारित÷सङ्गठित अवैध लगानी–सम्बन्धित आर्थिक अपराधहरूलाई यी वेबसाइटहरूले सहयोग पु¥याउने गरेका, विदेशी अभिनेताहरूले सञ्चालन गरेको र उनीहरूले डिजिटल विज्ञापन, च्याट मेसेन्जर र भाडाका खाताहरू प्रयोग गरिरहेका थिए ।” ’कार्ड नेटवर्क, क्रिप्टोकरेन्सी, विदेशी एटिएम निकासी र अन्तर्राष्ट्रिय फिनटेक कम्पनीहरूको प्रयोग गरेर ठूलो मात्रामा आर्थिक ठगीबाट प्राप्त रकम भारतबाट बाहिर निकालिएको पनि थाहा भयो ।” इन्टरनेटमार्फत प्रायोजित यस्ता उच्च कमिसन तिर्ने अनलाइन योजनामा लगानी गर्नुअघि सावधानी अपनाउन पनि मन्त्रालयले सचेत गराएको छ ।

स्वावलम्बन लघुवित्तको १३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । बिहीबार स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ लघुवित्तले भोलि मंसिर २२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आज मंसिर २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गरेका सेयरधनीहरूले साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.३६ प्रतिशत बोनस सेयर र कर पैयोजनसहित ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस ४ गते काठमाडौंमा दिउँसो बिहान ११ बजे बोलाएको हो ।

नबिल बैंकले मंसिर २९ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, ९ प्रतिशत ब्याज दिने

काठमाडौं । नबिल बैंकले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक ९ प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा पुस ३ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

वैदेशिक रोजगार बोर्डले १ अर्ब २० करोड मुद्दतीमा लगानी गर्ने

काठमाडौं । वैदेशिक रोजगार बोर्डले मुद्दती निक्षेपमा १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । बोर्डले एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेप राख्ने भएको हो । बोर्डले आज सूचना जारी गर्दै ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई आफुले लिन चाहेको रकम तथा ब्याजदर लगायतका विबरण सहितको दरभाउपत्र पेश गर्न आह्वान गरेको छ । वाणिज्य बैंकहरूले बोर्डको सचिवालयको वेभसाइटमार्फत फारम डाउनलोड गरी दरभाउ पेश गर्न सक्ने जनाइएको छ । उक्त विवरण फागुन १८ गते दिनको १२ बजेसम्म बुझाउनु पर्नेछ । ३० दिन भन्दा कम मान्य अवधि भएको प्रस्ताव उपर कुनै कारवाही नहुने सूचनामा उल्लेख छ ।

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

हेलिकप्टरबाट लिइएको काठमाडौँको पशुपति क्षेत्रको दृश्य काठमाडौं । पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ । बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आज मंसिर २१ ग्तेदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो । गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क – उमाकुण्ड – गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ । ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) २०८०लाई मध्यनजर गर्दै पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले देहाएका चार किल्ला भित्र कसैले पनि मांस, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत पाउने छैनन्,’ सूचनामा उल्लेख छ । यदि कोही कसैले बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने बताएको छ ।