निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा सुरु भएको बताए । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक पर्ने रकमको प्रबन्ध हुनेगरी बजेट परिमार्जित गर्ने घोषणा गरिसकेका छन् । यही भदौ २३ २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलन र यसबाट उत्पन्न परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई यही भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सोही दिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका थिए ।
प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार भएको उक्त भेटमा उनीहरूबीच देशको विकसित घटनाक्रम तथा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए । भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरिन् ।
निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन् । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको बताए । ‘चुनाव र पुनःनिर्माणका लागि केही बजेट चाहिन्छ । त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो’, प्रवक्ता पाण्डेयले भने, ‘बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्छ । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।’ सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताएका थिए । सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै निर्वाचन र पुनःनिर्माणका लागि करिब १ खर्ब बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो । रासस
सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो प्रहरी वृत्त दरबारमार्गलाई सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर र एउटा स्क्यानर तथा फोटोकपीसहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिनअघि आन्दोलनका क्रममा भएको आगजनीमा वृत्तको कार्य सञ्चालन प्रभावित भएपछि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको हो । उक्त सहयोग सामग्री बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले मङ्गलबार वृत्तका इन्चार्ज प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । इन्चार्ज श्रेष्ठले यस्ता सहयोगहरूले कार्यालय सञ्चालनमा सहजता भए पनि आगजनीले ठूलो क्षति पुर्याएकाले अझ बढी सहयोग आवश्यक रहेको बताए । आम नागरिकको विश्वास र भरोसाका आधारमा सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
काठमाडौं । यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार काठमाडौंको मीन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको संवद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम सुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् । जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरुको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्वद्ध सबै पक्षसँग छलफल गरिएको बताए । यात्रुहरूको सहज रुपमा गन्तव्यमा पुर्याउने कुरामा कुनै कमी हुन नदिने उनले प्रतीज्ञा गरे । बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैंमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताए । उनले दशैंमा बस यात्रुहरुलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिए । उनले नेपाल प्रहरीले यात्रुहरुको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने पनि बताए । सडकको अवस्था र सुधारका प्रयास सडकको अवस्था पूर्ण रूपमा सन्तोषजनक नरहेको व्यवसायीहरू बताउँछन् । बीपी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग र विशेषगरी नागढुङ्गादेखि मुग्लिङसम्मको बाटो जीर्ण अवस्थामा छ । यद्यपि, सडक विभागले खाल्डाखुल्डी पुर्ने तथा अन्य मर्मत सम्भारको कामलाई अगाडि बढाएको छ। पोखरा क्षेत्रको बाटो भने सामान्य अवस्थामा रहेको बताइएको छ। ठाउँ–ठाउँमा हेभी उपकरण राखेर सडकलाई सहज बनाउने प्रयास जारी छ । दशैंमा यात्रु भाडादर नबढ्ने महासंघले स्पष्ट पारेको छ । सरकारले निर्धारण गरेको भाडादर नै लागू हुनेछ । विभागले ठाउँ–ठाउँमा बुकिङ गर्ने स्थानहरूमा भाडादरको सूचना राखेर यात्रुहरूलाई जानकारी दिने व्यवस्था मिलाउनेछ । यद्यपि, रिजर्भ गाडीमा भने मानिसहरूले बढी भाडा तिरेर पनि यात्रा गर्न सक्नेछन् । यात्रुको चापअनुसार सवारीसाधनको अभाव सधैं रहने भए तापनि महासंघले देशभरिको आफ्नो ठूलो सञ्जालको उपयोग गर्नेछ । महासंघअन्तर्गत ३५७ वटा संघ/समितिहरू आबद्ध रहेकाले कुन ठाउँमा गाडीको माग बढी छ, त्यहीअनुसार गाडीहरूलाई ‘डाइभर्ट’ गरेर पठाउने व्यवस्था मिलाइनेछ । ‘हिजो मात्रै करिब ४०० गाडी बसपार्कबाट छुटेका छन् । पोखरामा लोड कम भएमा त्यहाँका गाडीहरूलाई पनि अन्यत्र पठाएर अधिकतम उपयोग गरिनेछ,’ महासंघका अध्यक्ष स्वाँरले भने । मौसम खराब भएको अवस्थामा समेत गत वर्ष स्थानीय गाडीहरूलाई केही शुल्क बढाएर भए पनि प्रयोगमा ल्याइएको अनुभव महासंघले सुनाएको छ । दशैंको बेला यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि टिकट बुकिङदेखि सडक र सुरक्षा व्यवस्थापनमा विशेष तयारी गरिएको महासंघले जनाएको छ ।
अब मुस्ताङ भन्सारबाट चिनिया सामान आयात गर्न सकिने, चिनसँगका ३ वटा नाका खुले
काठमाडौं । आजदेखि मुस्ताङ भन्सार खुलेको छ । नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास हुने गरी वस्तु तथा सेवा आयात गर्न प्रतीतपत्र खुला गरेसँगै मुस्ताङ भन्सार खुला भएको हो । विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चीनतर्फबाट हुने आयात प्रक्रियामा मुस्ताङ भन्सारलाई समेत समावेश गरेको राष्ट्र बैंकले जनाएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रअनुसार अबदेखि चीनको भूभाग हुँदै ट्रक वा रेलमार्गमार्फत प्रतीतपत्र (एलसी) प्रयोग गरी वस्तु आयात गर्दा तातोपानी (सिन्धुपाल्चोक) र रसुवा (रसुवा) भन्सारसँगै मुस्ताङ भन्सार (मुस्ताङ) पनि प्रयोग गर्न सकिनेछ । यसअघि चीनसँग हुने आयातमा तातोपानी र रसुवा भन्सारमार्फत मात्र सामान ल्याउन पाइन्थ्यो । तर, संशोधनपछि तीनै भन्सार (तातोपानी, रसुवा र मुस्ताङ) प्रयोग गर्न सकिने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था गरेको जनाएको छ ।
न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गरेका छन् । 'न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ !' उनले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका थिए । मुद्दा फ्लोरिडामा दायर गरिएको जनाइएको छ । एएफपीले टिप्पणीका लागि न्युयोर्क टाइम्सलाई सम्पर्क गरेको छ । ट्रम्पले उक्त समाचारपत्रलाई ‘रेडिकल लेफ्ट डेमोक्रेट पार्टीको भर्चुअल मुखपत्र’ भन्दै निन्दा गरेका छन् । उनले यसले आफ्नो परिवार, व्यवसाय, ‘अमेरिका फस्र्ट’ आन्दोलन, मेगा अभियान र समग्रमा राष्ट्रबारे झूट बोल्दै आएको आरोप लगाए, तर कुनै प्रमाण भने प्रस्तुत गरेनन् । गत हप्ता एक समाचार माध्यमले ट्रम्पले यौन अपराधी जेफ्री एपस्टेनलाई दिइएको अश्लील जन्मदिन नोटसम्बन्धी लेखका विषयमा कानूनी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट प्रकाशित गरेको थियो । ट्रम्पले भने उक्त नोट लेखेको अस्वीकार गरेका छन् । ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारलाई बारम्बार गाली गर्ने, पहुँच रोक्ने र मुद्दा दायर गर्ने क्रममा परम्परागत मिडियामाथि आक्रमण तीव्र पारेका छन् । एपस्टेनसँगको मित्रताको बारेमा लेख प्रकाशित गरेपछि उनले गत जुलाईमा मिडिया म्यागनेट रुपर्ट मर्डोक र ‘द वाल स्ट्रिट जर्नल’ विरुद्ध कम्तीमा १० अर्ब डलरको मुद्दा दायर गरेका थिए । सोही महिना, प्यारामाउन्टले सिबिएस न्युजको ‘६० मिनेट’ कार्यक्रममा चुनावी कभरेजसम्बन्धी ट्रम्पको मुद्दा एक करोड ६० लाख डलरमा सुल्झाएको थियो । ट्रम्पले कार्यक्रमले आफ्नो सन् २०२४ को चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको अन्तर्वार्तालाई उनको विपक्षमा भ्रामक तरिकाले सम्पादन गरेको आरोप लगाएका थिए । रासस
उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् । सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन निर्माणलगायतमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यही भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोसाक र साधनसमेत जलेर नष्ट भएका थिए ।