विकासन्युज

जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

ढोरपाटन । बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ-बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ। दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ। यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ । बजारबाट निस्कने फोहर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशकअघि बुर्तिबाङ बजार सानो थियो । फोहर पनि थोरै निस्कन्थ्यो । सबै फोहर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए। र त्यही जलाउने गरेका थिए । तर अहिले बजारबाट निस्कने फोहर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ । बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ। खोलाले बगाएर फोहर पुनः बजारसम्म पुर्‍याउँछ। फोहरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । देशकै नमूना सहर भनिए पनि फोहर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ । आर्थिक वर्ष २०६७/६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन् । खोलामा बग्ने फोहरका कारण जलचर जीवलाई असर पुगेको छ । फोहरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरु बताउँछन् । हाल फोहर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ। सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको छ । बुर्तिबाङ बजारको फोहर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ। कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फालिँदै आइएको छ । खोला छेउमा फोहर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । बजारबाटै गाडीले फोहर सडक भरी खसाल्दै ल्याउने र जथाभावीरुपमा फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ। वर्षौंदेखि बजारको फोहर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन् । हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ । बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ । जनघनत्व बढ्दै गएको छ । तर बजारको फोहर व्यवस्थापन भने हुन सकेको छैन। सबै फोहर खोलाले बगाएर जताततै पुर्‍याउँछ। ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको बताए । आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ । जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहर व्यवस्थान हुने उपप्रमुख कायतको विश्वास छ । रासस

रास्वपाको वडा अधिवेशन आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ’, उनले भने, ‘सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।’ रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ । सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन् । ‘जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौँ । यसलाई स्थानीय तहसम्म पु¥याउने मुख्य एजेण्डा हो’, प्रमुख सचेतक परियारले भने । सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताए । उनले भने, ‘११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ ।

एनआईसी एशियाले सेयर बेच्दै, खरिद गर्नेले साना किसानको लाभांश र हकप्रद पाउने

काठमाडौं । एनआईसी एशिया बैंकले साना किसान विकास लघुवित्तमा रहेको सेयर बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको झण्डै ४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले लघुवित्तमा रहेको ३ लाख ९२ हजार ६५० कित्ता संस्थापक सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३४८ रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन आग्रह गरेको छ । साथै, उक्त सेयर खरिद गर्ने लगानीकर्ताले लघुवित्तले घोषणा गर्ने हकप्रद सेयर र लाभांश समेत प्राप्त गर्नेछन् ।

प्राविधिक गडबडी देखिएपछि टेस्लाले अमेरिकाबाट २० लाख गाडी लियो फिर्ता

काठमाडौं । इलन मस्कको विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला इंकले प्राविधिक गडबडीका कारण २० लाख सवारी साधन फिर्ता लिएको छ । मस्कको कम्पनीले फिर्ता बोलाएका गाडीमा सन् २०१५ देखि अमेरिकामा अटोपाइलट सुविधा सक्रिय भएका मोडलहरू समावेश छन् । अमेरिकी अटो नियामकका अनुसार अटोपाइलट प्रणालीमा भएको गडबडी सच्याउन ती विद्युतीय सवारीसाधन फिर्ता लिइएको हो । सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा यो प्रणालीले सडक र ट्राफिक अवस्थाबारे चालकलाई सचेत गराउन काम गर्छ । अटोपाइलट प्रविधिले गाडीको वरपरको ट्राफिक मूल्यांकन गर्न क्यामेरा र सेन्सरहरू प्रयोग गर्छ । यसले सवारीलाई सुरक्षित लेनमा राख्नका लागि सडकमा लेन मार्किङको अनुगमन गर्छ । यद्यपि, आलोचकहरूले सुरुदेखि नै टेस्लाको अटोपाइलट प्रणालीका धेरै कमजोरीहरूलाई औंल्याउँदै आएका थिए । अटोपाइलट प्रणाली असफलताले धेरै दुर्घटना टेस्लाको अटोपाइलट प्रणाली विवादास्पद छ र यसले धेरै दुर्घटनाहरू निम्त्याएको छ । अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) ले त्यस्ता दुर्घटनाहरूको अनुसन्धान सुरु गरेको झन्डै दुई वर्ष भइसकेको छ । सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा चालकलाई सचेत गराउन अटोपाइलट प्रणालीले प्रयोग गर्ने कार्यहरू राम्ररी काम नगर्दा दुर्घटना हुने सम्भावना रहने एनएचटीएसएले अनुसन्धानको क्रममा पत्ता लगाएको हो । टेस्लाले समस्या समाधान गर्ने कम्पनीले फिर्ता लिएका विद्युतीय सवारीसाधनहरूमा थप नियन्त्रण निर्देशनहरू थप्ने छ । यसका साथै यसले सफ्टवेयर ओभर द एयर (ओटीए) लाई पनि अपडेट गर्ने छ, जसले गर्दा चालकले गाडी चलाउँदा बढी ध्यान दिन सक्नेछन् । यसका लागि कम्पनीले ग्राहकबाट कुनै शुल्क लिने छैन । कम्पनीले यो वर्ष तेस्रोपटक आफ्ना कार फिर्ता गरेको हो । यसअघि अक्टोबर २०२३ मा टेस्ला मोडेल एक्सका ५४ हजार ६ सय ७६ यूनिट फिर्ता लिइएको थियो । यो समस्या समाधान गर्न टेस्लाले सफ्टवेयर अपडेट जारी गर्‍यो, जुन निः शुल्क थियो। यसअघि अगस्टमा कम्पनीले टेस्लाको नयाँ मोडेल ३ र मोडेल वाईका २ लाख ८० हजार युनिट स्टेयरिङ कन्ट्रोल र पावर स्टेयरिङमा क्षति पुगेको कारण फिर्ता लिएको थियो । त्यो अनुसन्धानपछि टेस्लाले स्वीकार गरेको छ कि ‘प्रणालीको नियन्त्रणहरू चालकको दुरुपयोग रोक्न पर्याप्त नहुन सक्छ ।’ ‘स्वचालित प्रविधिले सुरक्षा सुधार गर्नका लागि ठूलो प्रतिज्ञा राख्छ तर जब यो जिम्मेवारीपूर्वक प्रयोग गरिन्छ,’ एनएचटीएसएका एक अधिकारीले भने, ‘यो सफ्टवेयर अद्यावधिक भएपछि निगरानी जारी राख्छ।’ टेस्लाका एक पूर्वकर्मचारीले बीबीसीलाई यो प्रविधि सुरक्षित नभएको विश्वास गरेको एक हप्तापछि घटना बाहिर आएको हो। टेस्लाका ती पूर्वकर्मचारी लुकास क्रुप्सकीले ह्विस्टलब्लोअर्सलाई मान्यता दिने ब्लुप्रिन्ट पुरस्कार जितेपछि बीबीसीलाई भने, ‘मलाई लाग्दैन कि हार्डवेयर र सफ्टवेयर तयार छ। यसले हामी सबैलाई असर गर्छ किनभने हामी अनिवार्यरूपमा सार्वजनिक सडकमा प्रयोग गरिरहेका छौं ।’ फिर्ताको समाचारमा प्रतिक्रिया दिँदै क्रुप्सकीले यो कदम सही दिशामा भए पनि यो समस्या अमेरिकामा मात्र नभएको बताए । ‘हार्डवेयर अमेरिका, चीन आदि सबै देशमा कुदिरहेका टेस्लामा समान छ,’ उनले भने । बीबीसी

ऋण खोजेर सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नागरिकलाई सङ्घीयताको सुन्दर प्रत्याभूति गराउनका लागि आफूहरु लागिपरेको बताए । छेडागाड नगरपालिका–५ चङ्खेलीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले यस क्षेत्रका नागरिक अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । पश्चिम क्षेत्रको विकास निर्माणका लागि आफूहरु सधैँ निरन्तर लागिपरेको उनको भनाई छ । सडक, खानेपानी, सिँचाइ तथा पुल निर्माणमा आफूहरुको पूर्णरुपमा जोड रहेको उनले बताए । केही समय पछि पूर्वी क्षेत्रमा पनि इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल भइरहेको उनले जानकारी दिए । जाजरकोटको पश्चिम क्षेत्रका नागरिकका लागि बहुप्रतिक्षित यो कार्यालयको सुरुवातसँगै नागरिकमा निकै राहत पुगेको छ । आफ्ना घरको खाना खाएर पनि बिना खर्च नागरिकतालगायत सेवा पाउँदा आफूहरू निकै खुसी भएको स्थानीय मानबहादुर बुढाले बताए । पश्चिम क्षेत्रका छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका चार वटा वडाका नागरिकले नागरिकता लगायतका सेवा पाउने भएका छन् । यसरी आफ्नै गाउँघरबाट नागरिकता लगायतका सेवा पाउने भएपछि नागरिक अत्यन्तै खुसी भएका भएका छन् । कार्यक्रममा पूर्व शान्तिमन्त्री सत्य पहाडीले नागरिकको राज्यको सेवा सुविधा सुलभ रूपमा पाउने अधिकार अन्तरगत कार्यालयले नागरिकलाई सेवा दिने विश्वास व्यक्त गरे । छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले इलाका प्रशासन कार्यालय स्थापनासँगै अब यस क्षेत्रका नागरिकका लागि चार हजार रुपियाँ खर्च गरेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । यस सेवाले आफूहरूमा निकै सेवा पुग्ने थापाको भनाइ छ ।

निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्यो ११३ जना ऋणी र जमानीकर्ताको तीन पुस्ते

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने ११३ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने ११३ जना ऋणीको नाम सार्वजनिक गरेको हो । लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकमसमेत समयमा तिर्नु पर्ने हो । तर, उक्त रकम नतिरी कर्जा सम्बन्धी सर्त बन्देज उल्लङ्घन गरेकाले पटकपटक ताकेता गर्दा समेत भुक्तानी गर्न चासो नदेखाई बेवास्ता गरेकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको लघुवित्तले जनाएको छ । सूचना प्रकाशित भएको ३५ दिनभित्र यस लघुवित्तमा सम्पर्क राखि साँवा ब्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न लघुवित्तले अनुरोध गरेको छ । यदि नतिरेको खण्डमा प्रचलित ऐन, कानून तथा यस लघुवित्तसँग गरेको लिखत बमोजिम ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने लघुवित्तले जनाएको छ । साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी लघुवित्त संस्थाको आफ्नो लेना रकम असुल उपर गरिने सूचनामा उल्लेख छ ।

दूरसञ्चार सेवा प्रदायक ३ कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक ३ कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । बिहीबार एक सूचना प्रकाशन गरी इन्टरनेट (इ–मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको लाइसेन्स खारेज गरेको जनाएको छ । यी ३ वटै सेवा प्रदायकहरूले तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ । साथै, ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि प्राधिकरणले अनुरोध गरेको छ । यदि सो अवधिमा तिर्न नआएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ ।

विद्युतीय सवारीमा भाडा निर्धारण गर्न ढिलाइ

काठमाडौं । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या बढ्दो छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनका हकमा सङ्घीय सरकारले हरेक वर्ष विज्ञ समूहसँगको परामर्शमा भाडादर निर्धारण गर्ने गरे पनि विद्युतीय सार्वजनिक सवारीसाधन चल्न थालेको धेरै हुँदा पनि नियमनकारी निकायले वास्ता गरेको छैन । जसका कारण सञ्चालन खर्च निकै नै कम लाग्ने त्यस्ता विद्युतीय सवारीसाधनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरहकै भाडा असुलिरहेका छन् । विद्युतीय सवारीको सञ्चालन खर्च नै कम हुने गरेको यो क्षेत्रका विज्ञको भनाइ छ । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको भाडादर र विद्युतीय साधनको एउटै भाडा दर अवैज्ञानिक भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रमुख सल्लाहकार तथा यातायातविज्ञ योगेन्द्रनाथ कर्माचार्यले उल्लेख गरे । त्यसको मारमा आमउपभोक्ता परेको भन्दै उहाँले विद्युतीय सवारीसाधनको वैज्ञानिक भाडादर निर्धारण गर्न ढिला गर्न नहुने बताए । विद्युतीय सवारीको आयात खुला भएपछि भाडा निर्धारण गर्नुपर्नेमा सरकारले ढिला गर्दा आमउपभोक्ता सस्तोमा सेवा पाउने अधिकारबाट वञ्चित बनिरहेको बताए । उनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको सट्टामा विद्युतीय सवारीको प्रयोग गर्दा खर्च एक हजार रुपियाँसमेत नहुने अवस्थामा अहिले पेट्रोल र डिजेलकै मूल्यमा यात्रुले भाडा तिरिरहेकाले सरकार सोबारे गम्भीर बन्न आवश्यक रहेको स्पष्ट पारे । यो समाचार आजको गोरखापत्रमा छ ।