हिमालयन ह्वाइट हाउस कलेज र चाइनिज एकेडेमी अफ साइन्सेसले सहकार्य गर्ने
काठमाडौं । काठमाडौंको पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र चाइनिज एकेडेमी अफ साइन्सेसबीच सम्झौता भएको छ । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज र चाइनीज एकेडेमी अफ साइन्सेज (सीइएस)बीच सम्पदा, शैक्षिक र पर्यटनका विषयमा सम्झौता भएको हो । चाइनिज एकेडेमीअफ साइन्सेसका प्रोफेसर र रिसर्चरहरुको एक टोली नेपालमा भएका सम्पदा, शैक्षिक अवस्थाबारे जानकारी लिइ सहकार्य गर्ने उद्देश्यले नेपाल आएको र सोही क्रममा निजी क्षेत्रको अब्बल शैक्षिक संस्थासँग महत्वपूर्ण सम्झौता गरेको जनाइएको छ । सम्झौताअनुसार विशेषगरी बीएचएम र बायोटेक्नोलोजीका विद्यार्थीलाई चाइनीज युनिभर्सिटीमा कसरी एकिकृत गर्न सकिन्छ भन्ने विषयमा सहकार्य गर्नेछन् । कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले आफू शैक्षिक र पर्यटनका हिसावले टोलीसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । ‘चीन शिक्षाको हिसावले मात्र नभइ सबै क्षेत्रमा विकसित र शक्तीशाली राष्ट्र हो, तपाईहरुसँग सहकार्य गर्न पाउँदा खुसी भएका छौं’, कलेजका प्रिन्सिपल पौडेलले भने । कार्यक्रममा जेराफिक विज्ञान र प्राकृतिक स्रोत अनुसन्धान संस्थानका प्राध्यापक, रिसर्चर झाओपिङयाङले नेपाल पर्यटकीय हिसावले सुन्दर रहेको बताइन् । उनले भनिन्, ‘देश सुन्दर छ भन्ने थाहा थियो, आएर हेर्दा राम्रो लाग्यो अब हामीले नेपालको शिक्षा र सम्पदालाई जोडेर काम गर्नुपर्छ, यसले दुवै देशको लागि फाइदा हुन्छ ।’ सम्झौतामा कलेजमा होटेलम्यानेजमेन्ट पढिरहेका विद्यार्थीलाई प्रशिक्षणका लागि चीन लैजाने र केही विद्यार्थीलाई स्कलरसिपमा अध्ययन गर्न लाने र कलेजलाई आवश्यक पर्ने प्रविधि हस्तान्त्रण गरिने उल्लेख छ । यस्तै कलेजले पनि नेपालमा रहेको सम्पदा र शैक्षिक अवस्थाबारे अध्ययन गर्न समन्वय गर्ने जनाएको छ । चिनियाँ टोलीले कलेजका प्रिन्सपललाई भ्रमणको लागि समेत औपचारिक निमन्त्रणा गरेका छन् । कलेजका प्रिन्सिपल पौडेलले सम्झौताले कलेजलाई मात्र नभइ समग्र देशको लागि फाइदा हुने बताए । उनले भने, ‘चीन हामी भन्दा शक्तिशाली राष्ट्र हो । त्यहाँ शिक्षण पेशामा प्रयोग हुने प्रविधि धेरै छन्, त्यहाँबाट अलिकति पनि हामीलाई पाउन सक्यौँ भने, हाम्रा विद्यार्थीलाई धेरै फाइदा हुन्छ ।’ उनले थपे ‘हामीबीच क्वालीटि, एक्सचेन्ज, स्टुडेन्ट एक्सचेन्ज गर्ने विषमा पनि सम्झौता भएको छ ।’ सिभिल इन्जिनियरिङमा चीनमा बनेका सामानहरु नेपाल पठाउने पूर्वाञ्चल विश्वविद्यालयलाई पनि सहयोग गर्ने विषयमा पनि द्वीपक्षीय छलफल भएको छ । कोभीड पछि चीनबाट नेपाल आउने र नेपालबाट चीन जानेहरुको संख्या पातलिदा अब कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे टोलीले नेपालको पर्यटन मन्त्रालय र शिक्षा मन्त्रालयमा समेत छलफल गर्ने भएको छ । नेपालको सम्पदा शिक्षा र होटेल म्यानेजमेन्ट लगायतका क्षेत्रमा उनीहरूले भ्रमण गर्नेछन् ।
आधा दर्जन बैंकले घटाए ब्याजदर
काठमाडौं । पछिल्लो समयमा बैंकहरूले धमाधम ब्याजदर घटाईरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूसँग प्रयाप्त तरलता भएकाले निक्षेपको ब्याजदर घटाउन थालेका हुन् । साथै, ब्याजदर उच्च हुँदा कर्जा प्रवाह सुस्ताएकाले सोको लागत घटाउन पनि बैंकहरूले ब्याजदर घटाउन थालेका हुन् । यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरूलाई दबाब सिर्जना भएको थियो । सोही कारण निक्षेपको ब्याजदर घट्दा स्वतः कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिन्छ । हालसम्म आधा दर्जन बैंकले ब्याजदर घटाएका छन् । एनआईसी एशिया बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले ब्याजदर घटाएका हुन् । एनआईसी एशिया बैंकले पुस १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ । यसअघि मंसिरमा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.६७ प्रतिशत र ब्यक्तिगततर्फ ८.६७ प्रतिशतमा ब्याजदर झारेको हो । यसअघि बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.९६८ प्रतिशत र ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । साथै, बैंकले कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.७० प्रतिशत रहेको छ । कुमारी बैंकले मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ५.७१० प्रतिशतदेखि अधिकतम ६.७१० प्रतिशतसम्म प्रदान गर्नेछ । यसअघि न्यूनतम ५.५१० प्रतिशतदेखि अधिकतम ७.५१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६१० प्रतिशत र ब्यक्तिगततर्फ ९.६१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले संस्थागततर्फ ८.०१० प्रतिशत र ब्यक्तिगततर्फ १०.०१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । एनएमबि बैंकले मंसिर २५ गतेदेखि लागू हुने गरी साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतमा झारेको हो । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ६.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि संस्थागततर्फ ७.७६ प्रतिशत र ब्यक्तिगततर्फ ९.७६ प्रतिशत ब्याज दिएको थियो । एनएमबि जन्मभूमि रेमिट्यान्स खातामा भने अन्य खाताको तुलनामा २ प्रतिशत बढी ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म ब्याज तोकेको छ । यसअघि सोही खातामा ५.६०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले जनाएको छ । मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६० प्रतिशत, ब्यक्तिगततर्फ ९.६० प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १०.६० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि संस्थागततर्फ ८.६०३ प्रतिशत, ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र रेमिट्यान्स खातामा ११.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २७ गतेदेखि लागू हुनेगरी साधारण बचत खातामा न्यूनतम ४.८० प्रतिशतदेखि अधिकतम ६.८० प्रतिशतसम्म प्रदान गर्नेछ । सुनौलो रेमिट्यान्स खातामा भने ७.८० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म र सुनौलो रेमिट्यान्स खातामा ८.६० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.५५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५५ प्रतिशत निर्धारण गरेको छ । यसअघि मुद्दति निक्षेपमा संस्थागततर्फ ८.६० प्रतिशत र ब्यक्तिगततर्फ १०.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स मुद्दती खातामा ११.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । गरिमा विकास बैंकले मंसिर २७ गतेदेखि लागू हुनेगरी साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । रेमिट्यान्स खातामा भने ७.४० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४।७५ प्रतिशतदेखि अधिकतम ६।७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स बचत खातामा ७।७५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.४० प्रतिशत, ब्यक्तिगततर्फ ९.४० प्रतिशत र रेमिट्यान्स मुद्दतीमा १०.४० प्रतिशत तोकेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७५ प्रतिशत, ब्यक्तिगततर्फ ९.७५ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
धुवाँ आक्रमणका कारण भारतीय संसद् अवरुद्ध, चार जना पक्राउ
नयाँदिल्ली । भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्याएका थिए । सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो । तीमध्ये एक जना ओभरहेड दर्शक दीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेका थिए । अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो । उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो । उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन र नयाँदिल्ली प्रहरीले अझैसम्म उक्त घटनाबारे कुनै विवरण जारी गरेको छैन । केही समयको स्थगनपछि संसद् पुनः सुरु भयो । सभामुख ओम बिरलाले संसद् अवरुद्ध गर्ने चार जनालाई पक्राउ गरिएको सांसदहरूलाई जानकारी गराए । ‘दुवै व्यक्तिलाई पक्राउ गरिएको छ र बाहिरका दुई जनालाई पनि पक्राउ गरिएको छ’, उनले भने, ‘संसद्ले गहन अनुसन्धान गरिरहेको छ र दिल्ली प्रहरीलाई पनि आवश्यक निर्देशन दिइएको छ ।’ चिन्ता लिनुपर्ने केही छैन भन्दै उनले धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक नभएको सांसदहरूलाई आश्वासन दिए । सांसद हनुमान बेनिवालले यसै वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भारतको नयाँ संसद्को सुरक्षामाथि यसले ‘धेरै गम्भीर प्रश्न’ उठाएको बताए । घटनाको समयमा सदनमा करिब एक सय ५० सांसद थिए भन्दै उनले सांसदहरूले घटनाको गहन अनुसन्धानको माग गरेको बताए । नयाँदिल्लीस्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औँ वार्षिक दिवसमा यस्तो अवरोध भएको हो । उक्त हमलामा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीलाई गोली हानी मारेका थिए । उक्त हमला पनि संसदीय अधिवेशनका बेला भएको थियो । प्रधानमन्त्री मोदीले यसअघि बुधबार उक्त हमलाका पीडितहरूलाई श्रद्धाञ्जली दिएका थिए । उनले भने, ‘खतरासामु उनीहरूको साहस र बलिदान हाम्रो देशको स्मृतिमा सदाका लागि कोरिने छ ।’ रासस/एएफपी
जलवायु परिवर्तनसम्बन्धी खोज-अनुसन्धान गर्न प्रधानमन्त्री दाहालको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न काठमाडाैं विश्वविद्यालयलाई आग्रह गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न प्राध्यापक तथा अध्येतालाई अनुरोध गरे । विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न निकै सराहनीय रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘यसबाट ‘आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपाय, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयामका लागि बाटो खुलेको छ,’ उनले भने, ‘नेपालको दिगो विकासमा टेवा पुग्ने किसिमको थप अनुसन्धान गरी यस केन्द्रलाई वैज्ञानिक मात्र नभएर आम मानिसको हितका लागि प्रयोग गर्न अनुरोध गर्दछु ।’ काठमाडौं विश्वविद्यालयको प्रारम्भ विज्ञान तथा प्रविधिसम्बन्धी विश्वविद्यालयका रूपमा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्ला दशकमा विश्वविद्यालयले विस्तार गरेको प्राज्ञिक दायराबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको बताए । विश्वविद्यालयले एक हजार शय्याको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकामा आफू अत्यन्त खुसी भएको बताउँदै उनले विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्ने विश्वसा व्यक्त गरे । ‘स्थापनाको ३२औँ वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ, यो शुभकार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु ।’ विश्वविद्यालयले सञ्चालन गरेका बहुविधागत कार्यक्रमले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेका दृष्टान्त दिँदै उनले आगामी दिनमा थप ऊर्जा र सिर्जनात्मकताका साथ अध्ययन र अध्यापनका कार्यक्रम लागू गर्न आग्रह गरे । ‘नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय एवम् आवश्यक छ,’ उनले भने । आफूले आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने आह्वान गर्दै प्रधानमन्त्री दाहालले थप अध्ययन र अनुभवका लागि विदेशमा रहनुभएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न आह्वान गरे । फरक प्रसङ्गमा प्रधानमनत्री दाहालले विभिन्न बाध्यताका कारण दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताए । उनीहरुलाई सकुशल फिर्ता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको प्रधानमन्त्रीले बताए । ‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्,’ उनले भने, ‘म आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको काम पनि गर्न सकिन्छ ।’ रासस
रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा
काठमाडौं । शङ्कर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइलले दुई उत्कृष्ट इयरबडहरू बजारमा ल्याएको छ । आकर्षक मुल्य र उत्तिकै आकर्षक डिजाइनमा आएका यी दुई इयरबड्सहरुमा उत्कृष्ट गुणस्तरको साउन्ड एक्स्पिरियन्स गर्न सकिने कम्पनीको दाबी छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘रियलमी बड्स टि ३०० र रियलमी बड्स टि १०० अन्य इयरबडहरु भन्दा भिन्न छन् । हाम्रा ग्राहकहरुले धेरै खर्च नगरी नै उत्कृष्ट अडियोको अनुभव पाउन भन्नको लागि हामीले यी इयरबडहरु बजारमा ल्याएका हौँ ।’ म्युजिकल पावरहाउस रियलमी बड टि ३०० संगीतका पारखीहरूका लागि रियलमी बड टि ३०० एकदमै उपयुक्त छ । १२.४४ एमएमको डायनामिक ब्यास ड्राइभर सहित आउने यस टि ३०० ले गहिरो ब्यास साउन्ड प्रदान गर्दछ । ३० डिबीको ए.एन.सी (एक्टिभ नोइज क्यान्सिलेसन) सहितको यस बडमा तपाइँले आफूलाइ मनपर्ने गीतहरु आरामसँग सुन्न सक्नुहुन्छ । रियलमीको यो टि ३०० इयरबड ४६० एम.ए.एचको ब्याट्री र चार्जिङ केसका साथ आउँदछ । ४० घण्टाको ब्याट्री लाइफ भएको यस बडमा एकदिन भन्दा बढी आनन्दले गीत सुन्न सकिने कम्पनीले जनाएको छ । रियलमी टि ३०० ५० एम.एसको अल्ट्रा–लो ल्याटेन्सीका साथ उपलब्ध छ जसले गेमिङ र भिडियो हेर्दा सिमलेस कनेक्टिविटी प्रदान गर्दछ । ३६०–डिग्री स्पेसल अडियो इफेक्टले थ्रि–डी साउन्डको अनुभव दिन्छ । ४–माइक्रोफोन कल नोइज क्यान्सलेसन भएकोले गर्दा फोन कलमा कुरा गर्दा रियलमी बड टि ३०० मा जस्तो सुकै हल्लाखल्ला भएपनि प्रस्टसँग आवाज सुन्न सकिन्छ । रियलमी टि ३०० मा आइपी ५५ लेभलको वाटर र डस्ट रेसिस्टेन्स आउने भएकोले यो इयरबड टिकाउ पनि छ । रियलमी टि ३०० ले १० मिटरसम्मको वायरलेस रेन्ज पनि प्रदान गर्दछ । ब्लुटुथ ५.३ टेक्नोलोजीको साथ आउने यो रियलमी टि ३००ले सिमलेस कनेक्टिभिटी र उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध यस रियलमी बड टि ३०० को मूल्य ५४९९ रहेको छ । कम्प्याक्ट र डायनामिक रियलमी बड टि १०० कम्प्याक्ट डिजाइनमा आएको यो रियलमी बड टि १०० ले क्लियर र डायनामिक साउन्ड अनुभव प्रदान गर्दछ । १० एमएम ब्यास ड्राइभरको साथमा आउने यस रियलमी टि १०० ले १० मिटरसम्म राम्रो रेन्ज दिन्छ । यसको ब्याट्री लाइफ २८ घण्टाको रहेको छ जसले गर्दा दिनभर आनन्दले गीत सुन्न सकिन्छ । ब्लुटुथ ५.३ कनेक्टिभिटी भएको यस रियलमी बड टि १०० मा ए.आइ नोइज क्यान्सिलेसन फिचर पनि रहेको छ । गेमिङमा रुची भएका ग्राहकहरुका लागि रियलमी टि १०० मा ८८ एमएसको अल्ट्रा–लो ल्याटेन्सी प्रदान गरिएको छ जसले गेम खेल्दा ल्याग हुन दिन्न । रियलमी लिङ्क एप प्रयोग गरेर सजिलैसँग आफ्नो मोबाइलबाट नै अडियो सेटिङहरू परिवर्तन गर्न सकिनेछ । रियलमी टि १०० आइपीएक्स वाटर रेसिस्टेन्स सहित आउँछ जसले पानी र पसिनाबाट सुरक्षा प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध यस रियलमी बड टि १०० को मूल्य ३९९९ रहेको छ ।
मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९०.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४२८ रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३९०.८७ रुपैयाँलाई आधार मानेर हुनेछ ।
चांगनको नयाँ ईभी थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो
काठमाडौं । थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी बुकिङ प्राप्त गरी चम्किएको चांगन डीपल एस ०७ ईभी एसयुभी नेपाल भित्रिने भएको छ । चांगनका लागि नेपालको अधिकारिक वितरक एमएडब्लु वृद्धिले सो गाडी भित्र्याउन लागेको हो । सन् २०२४ को पहिलो त्रैमासिकमा एस ०७ ईभी एसयुभी औपचारिक रूपमा लन्च गर्ने एमएडब्लु वृद्धिले जनाएको छ । चीनको प्रिमियम इलेक्ट्रिक भेइकल ब्रान्ड चांगन डीपल २०२३ सालको थाइल्याण्ड अन्तर्राष्ट्रिय मोटर एक्सपोमा अत्यन्त चर्चित बनेको छ । ब्रान्डको फ्ल्यागशिप मोडल एस ०७ ईभी एसयुभीले उक्त शो अवधिभर एकल मोडलको लागि सबैभन्दा धेरै बुकिङहरू प्राप्त गर्दै थाई इलेक्ट्रिक वाहन बजारमा एक अग्रणी खेलाडीको रूपमा आफ्नो स्थानलाई बलियो बनाएको हो । थाइल्याण्डमा चांगन डीपलको आधिकारिक प्रवेश यसको विश्वव्यापी विस्तार रणनीतिमा एउटा महत्वपूर्ण कदम हो । ब्रान्डले २०२३ को नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म आयोजित प्रतिष्ठित ४०औँ थाइल्यान्ड इन्टरनेसनल मोटर एक्सपोमा आफ्ना नवीन र प्राविधिक रूपमा उन्नत गाडीहरू प्रदर्शन गरेको थियो जहाँ उसलाई थाई उपभोक्ताहरूबाट व्यापक ध्यान र चासो प्राप्त भएको थियो। एस ०७ ईभी एसयुभीलाई प्राप्त अत्याधिक प्रतिक्रिया र ३२०० भन्दा बढी बुकिङ नै चांगन डीपलको उच्च गुणस्तरिय पर्यावरणमैत्री सवारी साधनहरू प्रदान गर्दै आधुनिक चालकहरूका विकसित आवश्यकता पूरा गर्ने प्रतिबद्धताको बलियो प्रमाण रहेको बताइएको छ । थाइल्याण्डमा प्राप्त सफलतापछि चांगन डीपलले अब नेपाललाई आफ्नो अर्को लक्षित बजारको रूपमा हेरिरहेको बताइएको छ। नेपाली उपभोक्ताहरूले चांगन डीपलको शक्तिशाली पर्फर्मेन्स, उन्नत प्रविधि र पुरस्कृत डिजाइनको साथ यसले प्रदान गर्ने भिन्नताको अनुभव गर्न यसको प्रतीक्षा गर्न सक्नेछन्। यसमा भएको शक्तिशाली इलेक्ट्रिक मोटरले उत्साहजनक पर्फर्मेन्स दिन्छ र सहज ड्राइभिङ गतिशीलता प्रदान गर्दछ । लामो दूरीसम्म टिक्ने ब्याट्रीले न्यूनतम चार्जिङ आवश्यकताहरूसँग सुविधाजनक र प्रभावकारी यात्रा प्रदान गर्दछ । स्टाइलिश र एरोडायनामिक बाहिरी लुक्स रहेको यस गाडीमा परिष्कृत इन्फोटेनमेन्ट प्रणाली, चालक–सहायता सुविधाहरू, व्यापक सुरक्षा प्रणाली जडान गरिएका छन् । एस ०७ ईभी एसयुभीले नेपाली चालकहरूको मन मुटु जित्नेमा चांगन डीपल विश्वस्त भएको कम्पनीको भनाइ छ । गुणस्तर, नवप्रवर्तन र दिगोपनप्रति आफ्नो प्रतिबद्धताका साथ यो ब्रान्ड नेपालको द्रुत गतिमा बढ्दो विद्युतीय सवारीको बजारमा प्रमुख खेलाडी बन्ने कम्पनीले जनाएको छ ।