विकासन्युज

हकप्रद सेयर र मर्जर प्रस्ताव पारित गर्न सगरमाथा जलविद्युतले डाक्यो साधारणसभा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ ते काठमाडौंमा अपरान्ह १ बजे तेस्रो साधारणसभा बोलाएको हो । कम्पनीको सभाले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कुनै उपयुक्त जलविद्युतसँग मर्जर तथा एक्विजिशनका लागि सञ्चालक समितिलाई अख्त्यिारी प्रदान गर्नेछ । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, संस्थागत सुसाशन सम्बन्धी प्रतिवेदन र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।

मर्जरपछि प्रभु महालक्ष्मी लाइफको सेयर सूचीकृत

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको प्रभु लाइफ र सूचीकृत नभएको महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जभएपछि बनेको प्रभु महालक्ष्मीको ४ करोड २९ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर सोमबार अर्थात पुस २ गते सूचीकृत भएको हो । यससँगै अब उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । दुई कम्पनी एक बराबर एकको अनुपातमा एक आपसमा मर्ज भएका थिए । मर्जरको प्रकृयामा गएपछि नेप्सेले कम्पनीको सेयर दोश्रो बजारमा रोक्का गरिदिएको थियो ।

नागरिक स्टक डिलरमार्फत किनबेच भएको सेयर सेटलमेन्टको भुक्तानी अब इसेवाबाट

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत नागरिक स्टक डिलरबाट किनबेच भएको सेयर सेटलमेन्टको भुक्तानी हुने भएको छ । जसको लागि इसेवा र नागरिक स्टक डिलबीच सम्झौता भएको छ । उक्त अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर गरेका छन् । साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ । यस सम्झौताले लगानीकर्ताहरुलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ-बुटवल सडकखण्ड र मुग्लिन-पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् । सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिए । निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ ।’ गिटी, बालुवा ढुङ्गा, विद्युत्का सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।’ परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिए । विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन् । समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।’ अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौं । यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक सदुपयोग गरौं ।’ रासस

भृकुटीमण्डपस्थित खुल्ला बजारका समस्या समाधान गर्न मन्त्री आचार्यको निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन् । ‘भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२औँ स्थापना दिवस’ का अवसरमा काठमाडौं निम्न व्यापारी सङ्घद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुल्ला बजारभित्रका समस्या तत्काल समाधान गर्न सङ्घ र समाज कल्याण परिषद्लाई निर्देशन गरे । ‘प्लास्टिकको छानालाई टिनको छानामा परिवर्तन गर्न लागि पहल भइरहेको छ’, उनले भने, ‘शौचालय, खानेपानी, ढल निकासलगायत यस क्षेत्रका समस्या समाधान गर्न सरकारले बजेट बिनियोजन गरेको छ ।’ सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले प्लास्टिकको छानामुनि व्यापार गर्न जोखिम रहेको बताए । ‘परिषद्लाई टिनको छाना लगाउन पहल गर्न पटक पटक अनुरोध गरेको तर अझै पनि छानामुनिको कष्टप्रद व्यापारी, ग्राहकले भोगिरहेका छन् । विगतदेखिका यी समस्या समाधानमा समन्वयात्मक पहल आवश्यक रहेको छ,’ उनले भने । समाज कल्याण परिषद्, भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख दीपेन्द्र पन्तले शौचालय, खानेपानीलगायत समस्या समाधान गर्नेतर्फ विभाग अग्रसर रहेको बताए । सङ्घ उपाध्यक्ष गोविन्द पौडेलले निम्न आय भएका मानिसको रोजाइमा रहेको भृकुटीमण्डप खुल्ला बजारमा दैनिक ४०-४५ हजार मानिस किनमेल गर्न आउने गरेको दाबी गरे । समाज कल्याण परिषद्का सदस्यसचिव मनोजकुमार भट्टले व्यवस्थित पार्किङको काम सुरु भइसकेको जानकारी दिँदै भृकुटीमण्डप खुल्ला बजारको उचित व्यवस्थापनका लागि पहल गर्ने बताए । समाज कल्याण परिषद्का नाममा रहेको जग्गामा भृकुटीमण्डपका व्यापारीहरुले व्यापार गर्दै आएका छन् । सङ्घले स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७० जना बढीले रक्तदान गरेको आयोजकले जनाएका छन् । रासस

माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकले गेटपे सञ्चालन गर्ने, गरे सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) र सिटीटेकले यूनाइफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यापार व्यवस्थापन प्रणाली) गेटपे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन् । तीन वटै संस्थाले पुस २ गते सोमबार संयुक्त रुपमा सम्झौता गरेका हुन् । सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् । नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक प्रणाली सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् । सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलगअलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्ममार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ । यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरणहरु तथा सञ्जालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् । सम्झौतापछि तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।

नयाँ लोक देउडा गीत ‘जौमास’ सार्वजनिक

काठमाडौं । सुदूरपश्चिममा चाँडपर्वमा मनाइने लोककथाहरूको सँगालोमा आधारित नयाँ लोक देउडा गीत ‘जौमास’ सार्वजनिक भएको छ । सरोज खड्काको शब्द र देवेन्द्र खड्काको लय संगीतमा रहेको ‘जौमास’ गीतमा देबेन्द्र खड्का र संगीता थापाको स्वर रहेको छ । यो गीत ‘माँझ आँगन’ युट्युव च्यानलमा सार्वजनिक भएको हो । सरोज खड्काले निर्देशन गरेको गीतमा स्थानीय सस्कृतीको प्रबन्धन गरिएको छ । केटा र कटि बिचको प्रेम देखाएको यो गीत अहिले प्रशंसा बटुलिरहेको छ । सुदूरपश्चिमको अछाम जिल्लामा छायाकंन गरिएको यो गीतले स्थानीय कुरालाई देखाएको छ भने सस्कृतीको जगेर्ना गर्ने उद्देश्यले यो गीत तयार पारिएको गायक देवेन्द्र खड्काले बताएका छन् । अछाम जिल्लामा जन्मेका देवेन्द्र खड्का आर आर क्याम्पसमा स्नातक गरेर अहिले कलानीधिमा संगित सिकिरहेका छन् ।

आतंकवादी दाउद इब्राहिमको सम्पत्ति कति छ ?

एजेन्सी । सन् १९९३–मुम्बई बम विस्फोट र २६–११ आतंकवादी हमलाका मास्टरमाइन्ड ६७ वर्षीय डन दाउद इब्राहिम फेरि एकपटक चर्चामा आएका छन् । कराँचीमा दाउदलाई विष खुवाइएको खबर आएको छ । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको छ । त्यहाँ उनको अवस्था गम्भीर छ । तर, यो खबरको पुष्टि भने भइसकेको छैन । दाउद ३० वर्षदेखि पाकिस्तानमा लुकेर बसेका छन् र त्यहीँबाट उनी विश्वभरि आफ्नो अवैध व्यापार चलाइरहेका छन् । दाउदको अवैध व्यापार विश्वका धेरै देशमा फैलिएको छ, जसका कारण उनले अर्बौं रुपैयाँको सम्पत्ति कमाएका छन् । कतिपय रिपोर्टका अनुसार उनकी श्रीमती मेहजबीन र भाइ अनीस मिलेर दाउदको बिजनेस चलाउँछन् । द गार्डियनको रिपोर्टअनुसार सन् १९८० र १९९० को दशकको सुरुमा दाउदले वेश्यावृत्ति, जुवा र लागुऔषध कारोबारमार्फत अर्बौं रुपैयाँको कालो व्यापार गरेका थिए । अहिले दाउदलाई विश्वव्यापी आतंकवादी संगठन डी कम्पनीको प्रमुख मानिन्छ । कति छ दाउद सम्पत्ति ? फोर्ब्सका अनुसार दाउद इब्राहिम अहिलेसम्मकै सबैभन्दा धनी ग्याङ्गस्टरमध्ये एक हुन् । २०१५ मा फोर्ब्सले दाउदको कुल सम्पत्ति ६ अर्ब ७० करोड अमेरिकी डलर (लगभग ६ खर्ब ६६ अर्ब भारु) रहेको अनुमान गरेको थियो। मिडिया रिपोर्टका अनुसार दाउदको पाकिस्तानी सहरमा ३ वटा आलिशान घर पनि छन् । दाउद कराँचीको डी–१३, ब्लक–४, क्लिफ्टनमा रहेको ६ हजार वर्गफिटमा फैलिएको आलिशान बंगलामा बस्ने दाबी गरिएको छ । यहाँ कराँचीको नो–ट्रेस जोन हो र यसलाई पाकिस्तानी रेन्जर्सले कडा सुरक्षा दिएको छ। धेरै सहरहरूमा सम्पत्ति दाउदको देशका धेरै सहरमा करोडौंको सम्पत्ति रहेको विश्वास गरिन्छ । दाउदको नाममा एउटा होटल (दाउद इब्राहिम होटल) पनि छ, जुन अहिले जफत गरिएको छ । मुम्बई र अन्य सहरहरूमा दाउदको धेरै सम्पत्ति जफत गरिएको छ । दाउदको दुबईमा पनि धेरै सम्पत्ति छ । दाउदसँग मुम्बईमा हुन्डाई एक्सेन्ट सेडान कार पनि थियो, जुन सरकारले जफत गरेको छ। आईपीएल म्याच फिक्सिङबाट पनि कमाएका थिए पैसा दाउद इब्राहिमलाई क्रिकेट हेर्न निकै मनपर्थ्यो । म्याच हेर्नका साथै सट्टेबाजी पनि गर्थे । पछि म्याच फिक्सिङमा उनको नाम बाहिर आयो । यसबाहेक, दाउद टूजी स्पेक्ट्रमलगायत धेरै घोटालामा संलग्न छन् । सन् १९९३ को मुम्बई बम विस्फोट गराउनुबाहेक दाउदको ओसामा बिन लादेन र प्रतिबन्धित आतंकवादी संगठन अल कायदाका अयमान अल जवाहिरीसँग पनि घनिष्ठ सम्बन्ध थियो। दाउदलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को आइएस र अल–कायदा प्रतिबन्ध समितिले विश्वव्यापी आतंकवादी घोषणा गरेको छ । बेलायतमा ४५ करोड डलरको सम्पत्ति दाउद इब्राहिमको युरोप, अफ्रिका र दक्षिण एसियाका एक दर्जनभन्दा बढी देशमा सम्पत्ति छ। बेलायतमा मात्रै उनको ४५ करोड अमेरिकी डलरबराबरको सम्पत्ति छ । दाउदले विश्वका विभिन्न देशमा ५० भन्दा बढी व्यवसायमा लगानी गरेको बताइएको छ । दाउदको व्यापार भारत, पाकिस्तान, बेलायत, जर्मनी, टर्की, फ्रान्स, स्पेन, मोरक्को, साइप्रस, संयुक्त अरब इमिरेट्स, दक्षिण अफ्रिका, श्रीलंका, नेपाल, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्म फैलिएको छ।