यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
मन्थली (रामेछाप) । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए । पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए । रासस
हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार
काठमाडौं । गत मङ्सिर २८ गतेदेखिसोमबारसम्म यहाँ सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरूसमेतको सहभागिता थियो भने मेलामा धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो । हस्तकलाका वस्तुका करिब एक सय २० वटा विक्री तथा प्रदर्शनी कक्ष राखिएको थियो भने स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई छलफल गरिएको थियो । बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने यस क्षेत्रबाट देशमा वैदेशिक मुद्रा आर्जनका लागि टेवा पुगेको बताउँदै हस्तकलाले उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्ने हुँदा यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । महासङ्घका अनुसार नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छन् । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार रु २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न छन् । वार्षिक रु १२ अर्ब बराबरका सामग्री निर्यात हुने गरेका छन् ।रासस
कर्जा सूचना केन्द्रले प्रतिसेयर २० रुपैयाँ लाभांश बाँड्ने
काठमाडौं । कर्जा सूचना केन्द्रले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्जा सूचना केन्द्रको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कर्जा सूचना केन्द्रले प्रतिसेयर २० रुपैयाँ अर्थात् चुक्ता पुँजीको २० प्रतिशतका दरले ८ करोड ७२ लाख ५० हजार ७६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न पुस २३ गते १९ औँ वार्षिक साधारणसभा काठमाडौंमा बिहान साढे १० बजे डाकेको छ । सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक १ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको प्रस्ताव अनुमोदन गर्नेछ ।
नबिल बैंकमा नेप्सेको पनि लगानी, यी हुन् ५ ठूला सेयरधनी
काठमाडौं । नबिल बैंकमा विभिन्न ५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा ठूला सेयरधनी एन.बी.(ईन्टरनेशनल)लिमिटेड हो । एन.बी. इन्टरनेशनलको ३९.४४ प्रतिशत अर्थात् १० अर्ब ६७ करोड ६ लाख २४ हजार २८४ रुपैयाँको रहेको छ । यस्तै, आई.एफ.आई.सी. पी.एल.सी. बङ्गलादेशको ७.७७ प्रतिशत अर्थात् २ अर्ब १० करोड १७ लाख २६ हजार ४०६ रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको ७.६३ प्रतिशत अर्थात् २ अर्ब ६ करोड ३६ लाख ९८ हजार ६८१ रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, निर्वाणकुमार चौधरीको ०.७० प्रतिशत अर्थात् १८ करोड ९७ लाख ४५ हजार ९ सय रुपैयाँ र वरुण चौधरीको ०.६७ प्रतिशत अर्थात् १८ करोड ८ लाख ९८ हजार सय रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । बैंकका अनुसार स्वदेशी स्वामित्व ५२.३५ प्रतिशत अर्थात् १४ अर्ब १६ करोड ४७ लाख ९२ हजार ९११ रुपैयाँ र विदेशी लगानीकर्ताको स्वामित्व ४७.६५ प्रतिशत अर्थात् १२ अर्ब ८९ करोड २२ लाख ३ हजार ८१८ रुपैयाँ रहेको छ । बैंकका अनुसार मुथुट फाइनान्सको ०.४४ प्रतिशत, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ०.२६ प्रतिशत र एम.ए.डब्ल्यु इन्टरप्राइजेज् प्राइभेट लिमिटेडको ०.२२ प्रतिशत सेयर स्वामित्व छ । बैंकको सञ्चालक अनन्त पौड्यालको २६ हजार १८८ कित्ता, प्रविन टिवडेवालाको १ हजार ५६ कित्ता र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको १० हजार ५९ कित्ता सेयर स्वामित्व रहेको छ ।
१ लाख १४ हजार कित्ता सेयर बेच्दै कर्पाेरेट डेभलपमेन्ट बैंक
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको १ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख १४ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय बिरगन्ज पर्सामा निवेदन दिनुपर्नेछ । बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।
बैंकहरूले कमाए ४ महिनामा पौने २१ अर्ब नाफा, नबिलले सबैलाई टप्दा प्राइम चौथोमा उक्लियो
काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरूले झण्डै २१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत कार्तिकसम्म २० वटा वाणिज्य बैंकहरूले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । ४ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । यस बैंकले कात्तिकसम्म २ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको हो । यस्तै, ग्लोबल आइएमई बैंकले १ अर्ब ९४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ र प्राइम बैंकले १ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेका हुन् । यस्तै, हिमालयन बैंकले १ अर्ब ५० करोड ६६ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले १ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ६७ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ८ करोड २ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख रुपैयाँ, कुमारी बैंकले ८८ करोड ८० लाख रुपैयाँ, सानिमा बैंकले ७७ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख रुपैयाँ, नेपाल बैंकले ६६ करोड ८१ लख रुपैयाँ नाफा गरेका हुन् । यस्तै, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५८ करोड २४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख रुपैयाँ नाफा गरेका हुन् । गत कात्तिकसम्मको तथ्याङ्क अनुसार कृषि विकास बैंकले भने नोक्सानी बेहोर्नु परेको छ । बैंक २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा छ ।
हिमालयन लघुवित्तले पुस २५ गते डाक्यो १२औँ साधारणसभा
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस २ गते बसेको बैठकले १२औं वार्षिक साधारणसभा पुस २५ गते त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, संस्थापक सेयरधनीहरुकोतर्फबाट प्रतिनिधित्व गरेका सञ्चालकहरुको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ६ गते सेयरधनी बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा पुस १६ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरु मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।
कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै
काठमाडौं । इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुगिन् । समाजसेवी थापाको आवश्यक सहयोगपश्चात् कागजात बनाई ४ महिनाअघि उनी नेपाल फर्किन सफल भइन् । ‘त्यो बहिनी नेपाल गएको ४ महिना भइसक्यो, उसलाई गर्भ बोकाउने केटा अझै फरार छ,’ उनले भने, ‘अझै २ जना नेपाली चेली गर्भ बोकेर बसेका छन्, उनीहरू पनि उद्धारको पर्खाइमा छन् । उनीहरू गैरकानुनी रूपमै कुवेत माभुल्लामा लिभिङमा बस्दै आएका छन्, माभुल्लाको एकै भवनमा बस्ने तीन जना नेपाली चेली गर्भवती भएका हुन् । ६ तलामा बस्ने एक जनालाई भने नेपाल पठाइसकेका छौं, बाँकी दुई जना ४ /५ तलामा बस्छन्, पीडितले पटकपटक मसँग नेपाल जान सहयोग गरिदिन आग्रह गरे तापनि म त्यहाँ पुगेको छैन ड्युटीको व्यस्तताले गर्दा ।’ अहिले गर्भवती भई नेपाल फर्काउन सहयोग माग्ने दुई जना चेलीलाई पनि आवश्यक कागजात बनाई सहयोग गर्ने उनको भनाइ छ । वार्षिक रूपमा अनुमानित २५ देखि ३० जना नेपाली चेली गर्भवती भएर नेपाल फर्काइदिनु भन्दै सहयोग माग्न आउने गरेको तथ्यांक रहेको उनले बताए । पछिल्लो समय गैरकानुनी रूपमा कुवेत पुगेका नेपाली चेली मन मिल्दा लिभिङ टुगेदरमा बस्ने र मन नमिलेपछि गर्भ बोकाएर केटाहरू भाग्ने हुँदा धेरै चेलीले उद्धारका लागि हारगुहार गर्ने गरेका छन् । उता, यूएईमा पनि गर्भवती भई धेरै चेलीहरू समस्यामा पर्ने गरेको गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूएईका उपाध्यक्ष तथा राहत उद्धार संयोजक भीम मल्ल ठकुरीले बताए । उनले भने, ‘न त उनीहरूसँग कुनै भिजा छ, न त कुनै विवाह दर्ता छ, माया प्रेमपछि सँगै बस्ने गर्छन्, समस्या भएपछि केटाहरू भाग्ने गरेको पाइएको छ ।’ उनले बच्चा जन्म दिएर भाग्ने र महिला अलपत्र पर्ने धेरै केसहरू आएको बताए । ‘त्यसैले क्षणभरको रमाइलोभन्दा आफ्नो जिन्दगी सोच्न र सँगै बस्ने गर्नुभन्दा पहिला त्यो मान्छे कहाँको हो, कस्तो हो बुझेर मात्र संगत गर्न म अनुरोध गर्न चाहन्छु,’ ठकुरीले भने । उनले बस्नै परेको खण्डमा नेपालको गाउँपालिका वा नगरपालिकाबाट सिंगल लेटर मगाएर यूएईको कोर्टमा गएर विवाह दर्ता गरी बच्चा जन्माउन पनि अनुरोध गरे । यो सामाचार राजधानी दैनिकमा छ ।