काठमाडौं । परम्परागत शैलीमा तयार गरिने हस्तकलाका सामग्री धेरैको रोजाइमा पर्छन् । मौलिकता झल्किने र विशेष महत्व बोकेका हस्तकलाका सामग्री नेपालबाट विश्वका धेरै मुलुकहरूमा पनि निर्यात हुन्छन् । घर सजाउन होस् वा अन्य कुनै प्रयोजनको लागि पनि सबैभन्दा बढी प्रयोग हुने वस्तु हो हस्तकला ।
नेपाल हस्तकला महासंघका अनुसार नेपालबाट विश्वका विभिन्न ६० भन्दा बढी देशहरूमा वार्षिक १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका वस्तुहरू निर्यात हुन्छ । विभिन्न धातुले निर्माण भएका वस्तु, बाँसका सामग्री, मूर्तिकला, पोस्टरकला, चित्रकला, सेरामिक, हाते कागज, वेतबास, थान्का र रेशाजन्य कपडालगायतका हस्तकलाका सामग्री नेपालमा उत्पादन हुन्छन् ।
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला उद्योगकमा करिब ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको जानकारी दिए । हस्तकलाका सामग्री धार्मिक आस्थासँग पनि जोडिएले धेरैको माग हुने उनको भनाइ छ ।
शाक्यले देशको अर्थतन्त्रमा हस्तकलाको पनि ठूलो योगदान रहेको बताउँदै ठूलो परिमाणमा निर्यात हुने वस्तुमध्ये हस्तकला पनि एक रहेको बताए । हस्तकला सामग्रीका विषयमा विकसित राष्ट्र र विकासोन्मुख देशबिच बुझ्ने शैलीमा फरक छ ।
नेपालमा विदेशीहरू घुम्न आउँदा हस्तकलाका सामग्री उपहार स्वरुप लैजाने अभ्यास पनि छ । मनै लोभ्याउने हस्तकलाका सामग्री सजावटको लागि धेरैले प्रयोग गर्ने गरेका छन् । नेपालमा लाखौं रुपैयाँसम्म पर्ने हस्तकलाको सामग्रीहरू उत्पादन हुँदै आएका छन् ।
हस्तकलाका कलकारहरूले पुराना तथा महत्वकांक्षी विषयलाई समेटेर तयार गरेको हस्तकलाका सामग्री प्रायः विदेश निर्यात हुने व्यवसायीहरू बताउँछन् । कलाकार शङ्कर नारायण श्रेष्ठ धेरै मूल्य पर्ने सामग्रीहरू प्रायः विदेश निर्यात हुने बताउँछन् ।
‘हामीले बनाएका सबै सामग्री नेपालभित्रै खपत हुँदैनन्, विदेशबाट आएको अर्डरअनुसार सामग्री तयार पार्छौं,’ उनी भन्छन्, ‘लाखौं पर्ने सामान तयार हुन्छन् ।’
कुनै सामग्रीहरू तयार गर्दा धेरै समय लाग्ने श्रेष्ठले सुनाए । ‘कुनै–कुनै सामग्री बनाउन एक वर्ष समय लाग्छ, वर्षौं लगाएर बनाएको वस्तु महँगो नैपर्छ,’ उनले भने । बजारमा हस्तकलाका सामग्री लाखौं रुपैयाँसम्म पाइन्छन् ।
आकाश भैरव
आकाश भैरव ( नेवारीः आजु) भैरवको विभिन्न रूपमध्ये एक रूप हो । आकाश भैरवको घेरालाई नेपालको नेको प्रतिकका रूपमा येन भनिन्छ । हस्तकलाकार कपिल शाक्यले तयार गरेको आकाश भैरवको रिपाउसे आर्टले धेरैको मन लोभ्याउँछ । हेर्दा आकर्षक र विशेष महत्व बोकेको आकाश भैरवको मूल्य शाक्यले २१ लाख रुपैयाँ निर्धारण गरेका छन् ।
चतुर्भुज महाकाल
एक नजर हेर्दै धेरै अर्थ दिने चित्रकला हो ‘चतुर्भुज महाकाल’ । बालकृष्ण महर्जनले तयार गरेको यो महाकाल लोकप्रिय चित्रकलाभित्र पर्छ । चतुर्भुज महाकालको मूल्य महर्जनले १० लाख ५० हजार रुपैयाँ तोकेका छन् ।
हालाल भैरव
कलाकार काजी रत्न शाक्यले तयार गरेको उक्त भैरवको मूर्तिले पनि इतिहास बोकेको छ । शाक्यले उत्पादन गरेको रिपाउसे आर्ट श्रेणी अन्तर्गतको सो भैरव आफैंमा महत्पूर्ण कलाका रूपमा लिन्छ । जसलाई नेपाली बजारमा १२ लाख ६० हजार रुपैयाँ मूल्यपर्छ ।
चक्रसंवर
चक्रसंवरले एउटा छुट्टै इतिहास बोकेको छ । मौलिक संस्कृतिलाई झल्काउने चक्रसंवर धेरैको आकर्षणको केन्द्रमा पर्छ । चक्रसंवर धेरैले खरिद गर्नेमध्येको मुर्तिमा पर्छ । फिलिगिरी आर्ट श्रेणीमा पर्ने चक्रसंवर कलाकार दीपेन्द्र शाक्यले तयार गरेका हुन् । शाक्यले चक्रसंवरको मूल्य ८९ लाख २५ हजार रुपैयाँ राखेका छन् ।
सन्दुका (खजाना बक्स)
सन्दुका बक्स निकै रोचक छ । चलचित्रमा खजाना राखिएजस्तै देखिने उक्त बक्स झट्ट हेर्दा पुरानो पुस्ताको सामान राख्ने भाँडो जस्तो देखिन्छ । यो बक्स धेरैको रोजाइमा पर्नेगर्छ । सिभर फिलिगिरी श्रेणी अन्तर्गतको यो बक्स बहुमूल्य सामग्री राख्न पनि प्रयोग गरिएको पाइन्छ । कलाकार खेम मुनि बज्राचार्यले तयार गरेको यो बक्सको मूल्य १२ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।
मिलारेपा
मिलारेपा बौद्ध धर्मप्रति लक्षित रहेका बताइएको छ । काठ शिल्प अन्तर्गतको यो मूर्तिले मानवमा भएका अंगहरूलाई झल्काउँछ । हेर्दा बुढो मानिसले कान कमजोर सुनेर ध्यान दिएर सुनिरहेको जस्तो देखिन्छ । कलाकार प्रथम राज बज्राचार्यले बनाएको यो मूर्तिको मूल्य २६ लाख २५ हजार रुपैयाँ राखिएको छ ।
मैत्री बुद्ध
यो नयाँ डिजाइनमा तयार गरिएको मैत्री बुद्ध नाम मूर्ति हो । विशेष धातुले तयार गरिएको मैत्री बुद्ध रिपाउसे आर्टको श्रेणीमा पर्ने बताइएको छ । सन्तरत्न बज्राचार्यले तयार गरेको यो मूर्तिको मूल्य २७ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
उग्रतारा
उग्रतारा चित्रकला धार्मिक आस्थामा लक्षित छ । पाउभा चित्रकला श्रेणी अन्तर्गतको यो चित्रकालाई सजावटको लागि प्रयोग गरिँदै आएको छ । उग्रतारा कलाकार प्रिया शाक्यले तयार पारेकी हुन् । उग्रताराको मूल्य शाक्यले १० लाख ५० हजार रुपैयाँ निर्धारण गरेकी छन् ।
शाक्यमुनि बुद्ध लाइफ
कलाकार निरोज महर्जनले तयार गरेको गौतम बुद्धको शाक्यमुनि बुद्ध लाइफ नामक मूर्ति हेर्दा निकै आकर्षक देखिन्छ । यो मेटल क्राफ्ट श्रेणी अन्तर्गत पर्छ । फरक र आकर्षक लुक्समा रहेको शाक्यमुनि बुद्धको मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ ।