विकासन्युज

तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस मनाउँदै

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले अन्तर्राष्ट्रिय रुपमा मनाइने विश्व मधुमेह दिवस (नोभेम्बर १४) र समय अघिनै जन्मिएका नवजात शिशु दिवस (नोभेम्बर १७) को अवसरमा यस वर्ष सप्ताहव्यापी विशेष कार्यक्रम आयोजना गर्दैछ । प्रतिष्ठानले मधुमेह र समयपूर्व जन्मिएका शिशुमा समयमै पहिचान, सचेतना र सहकार्यपूर्ण उपचारको आवश्यकता औँल्याउँदै आँखा स्वास्थ्य प्रवद्र्धन र अन्धोपन रोकथाममा जनचेतना फैलाउने लक्ष्य राखेको छ । नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले मधुमेह र त्यसका जटिलताप्रति ध्यानाकर्षण गराउँछ । अन्तर्राष्ट्रिय डायबेटिज संघका अनुसार हरेक ९ जनामध्ये १ जनामा मधुमेह देखिन्छ, जसका कारण आँखाको पर्दामा समस्या (डायबेटिक रेटिनोप्याथी) हुने जोखिम बढ्छ । उपचार समयमा नभए अन्धोपन निम्त्याउन सक्छ । प्रतिष्ठानले मधुमेह भएका सबैलाई नियमित आँखा परीक्षण गर्न आग्रह गरेको छ । नोभेम्बर ८–१६ सम्मको सप्ताहव्यापी अभियान अन्तर्गत सचेतनात्मक अडियो–भिडियो सामग्री निर्माण, संचारमा सहभागिता, शनिबार कात्तिक २२ गते सचेतना र्याली, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एलसिके भिजन सर्कल र अन्य लायन्स सदस्यहरूको सहभागिता, निःशुल्क आँखा परीक्षण, शैक्षिक कार्यक्रम, बिरामी–परिवार–चिकित्सक अन्तरक्रिया, र कात्तिक २९ गते योग तथा जुम्बा जस्ता कार्यक्रम समावेश छन् । मुख्य सन्देशहरूमा डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लगाउन सकिने, नियमित आँखा परीक्षण आवश्यक, र सन्तुलित आहार तथा स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख छ । नोभेम्बर १७ मा मनाइने दिवसले समयपूर्व जन्मिएका शिशु र परिवारले सामना गर्ने चुनौतीबारे जनचेतना बढाउने लक्ष्य राखेको छ । समयपूर्व जन्मिएका शिशुमा रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी  जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ । यदि समयमै उपचार नपाए दृष्टिविहिन हुने सम्भावना बढ्छ । प्रतिष्ठानले यस दिवसको अवसरमा सचेतनात्मक अडियो–भिडियो सामग्री निर्माण, देशभरका नवजात शिशु उपचार केन्द्र र बाल चिकित्सकहरूसँग सहकार्य गर्दै २८ दिनभित्र शिशुहरूको आँखा परीक्षण गर्न विशेष पहल गर्दै आएको छ । प्रारम्भिक स्क्रिनिङ र उपचारमार्फत अन्धोपनको जोखिम घटाउने लक्ष्य राखिएको छ । समय अघिनै जन्मिएका शिशु दिवसका मुख्य सन्देशहरूमा २८ दिनभित्र परीक्षण अनिवार्य, समयमै उपचारले जीवनभरको दृष्टि हानि रोक्ने, र परिवार तथा हेरचाह गर्ने व्यक्तिहरूको समर्थनले शिशुको स्वास्थ्य र विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा समावेश छन् । प्रतिष्ठानले स्वास्थ्यकर्मी, स्वयंसेवक र सम्बन्धित संस्थाहरूलाई रोकथाम गर्न सकिने अन्धोपन विरुद्धको अभियानमा सहभागी भएर सबैका लागि स्वस्थ दृष्टि अधिकार सुनिश्चित गर्न आह्वान गरेको छ । उपचार पहुँच नभएका र आर्थिक रूपमा कमजोर बिरामीका लागि सहुलियत सेवा समेत प्रदान गर्दै आएको छ ।

स्थानीयले बन्द गरे मेलम्ची खानेपानीको पानी पथान्तरण

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्णरुपमा बन्द गरेका छन् । विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेका हुन् ।  आफूहरुको माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरुपमा बन्द गरेको स्थानीयले बताएका छन् । मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ । स्थानीहरुले बाढी प्रभावितलाई आवश्यक राहत वितरण गरर्नुपर्ने र आयोजनाका बोर्ड सदस्यहरुको सम्पती विवरण सार्वजनिक गर्न समेत माग राखेका छन् । 

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब बराबरको डिबेञ्चर जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले एक हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम ३ अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो । बिहीबार (आज) बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका सीईओ पुष्प शर्माले हस्ताक्षर गरे । जारी गर्न लागिएको ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता) अर्थात् १ अर्ब ८० करोड बराबरको भाग संस्थागत तथा व्यक्तिगत तवरबाट निष्काशन गरिनेछ भने बाँकी ४० प्रतिशत (१२ लाख कित्ता) अर्थात् १ अर्ब २० करोड बराबरको भाग सर्वसाधारणका लागि खुला हुनेछ । उक्त ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को वार्षिक ब्याजदर ६ प्रतिशत रहनेछ र यसको अवधि सात वर्ष तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ३१० शाखा कार्यालयमार्फत देशभर आधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ ।

दाबी बढी परे पनि ओरिएन्टल इन्स्योरेन्स भुक्तानी गर्न सक्षम, एडभान्स भुक्तानी सुरु

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले बीमितको दाबी रकम भुक्तानी गर्न सक्षम रहेको बताएको छ । कम्पनीले जेनजी आन्दोलनबाट अन्य कम्पनीको तुलनामा बढी प्रभावमा परेको ओरिएन्टल इन्स्योरेन्सले बीमितको दाबी भुक्तानी दिन सक्षम रहेको बताएको हाे ।  कम्पनी अनुसार जेनजी आन्दोलनबाट क्षति व्यहोरेका बीमितलाई एडभान्ससहित दाबी भुक्तानी सुरु गरिसकेको छ । कम्पनीका सूचना अधिकारी एवं सिनियर विभागीय प्रबन्धक मान बहादुर ढकालका अनुसार कम्पनीमा हालसम्म  ५ अर्ब ४३ करोड रुपैयाँको एक सय वटा दाबी परेको छ । तीमध्ये ३ करोड ४३ लाख भुक्तानी भइसकेको छ । गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनमा देशभरका विभिन्न सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुग्दा बीमा कम्पनीहरूमा २३ अर्बभन्दा बढीको दाबी परेको छ । सबैभन्दा धेरै दाबी पर्ने कम्पनीमा ओरिएन्टल दोस्रो नम्बरमा रहेको छ ।  ढकालले कम्पनीको नेटवर्थ ठूलो नभए पनि रिटेन्सन पावर बढी हुनुका साथै भारतीय बीमा कम्पनीको ब्राञ्च भएकाले कम्पनीमा ठूलो दाबी परेपनि भुक्तानी गर्न सक्षम रहेको जानकारी दिए । उनका अनुसार सबैभन्दा ठूलो दाबी नक्सालमा अवस्थित हिल्टनको ४ अर्ब रुपैयाँ र युनाइटेड डिस्ट्युब्युसनको एक अर्ब रुपैयाँको रहेको छ । बाँकी साना दाबी रहेको उनले बताए । कम्पनीमा परेको सबै दाबी भुक्तानी गर्ने दायित्व कम्पनीको मात्रै नभएको र तिर्नुपर्ने दायित्व बाँडफाँट भएको हुँदा कम्पनीलाई दबाव नपर्नेसमेत उनले प्रष्ट पारे । हिल्टन र युनाइटेडलाई छोडेर बाँकी दाबी तिर्न कम्पनीले सुरु गरिसकेको उल्लेख गर्दैै ढकालले बीमितलाई नआत्तिन र ढुक्क हुन आग्रह गरे ।   उनले भने, ‘ज–जसले दाबी गर्नुभएको छ, उहाँहरूसँग क्लेम डिपार्टमेन्टले फलोअप गरिरहेको छ, उहाँहरूबाट न्यूनतम कागजपत्र आउनेवित्तिकै मूल्यांकन गरेर भुक्तानी गरिहाल्छौं, सबै बीमितले भुक्तानी पाउनेछन्, त्यसमा ढुृक्क हुनुस् ।’ कम्पनीमा ठूलो दाबी परेको हुँदा कम्पनीको ब्यालेन्स सिटमा केही प्रभाव पर्ने देखिन्छ । सूचना अधिकारी ढकालले यो वर्ष ठूलो रकम बाहिर जाने हुँदा कम्पनीको कम्पनीको नाफामा असर पर्नुका साथै ब्यालेन्ससिट केही खुम्चिन सक्ने बताए ।  यद्यपि यसअघि पनि ठूला दाबी कम्पनीले भुक्तानी गरेको हुँदा यो वर्ष तिर्नै नसक्ने अवस्था भने नहुने उनको भनाइ छ । उनले यो घटनालाई अवसरको रूपमा समेत लिएको सुनाए । नगद प्रवाहमा छैन समस्या जेनजी आन्दोलनपछि बीमा कम्पनीहरूमा एकै पटक ठूलो दाबी परेको हुँदा नगद प्रवाहको समस्या हुन सक्ने शंका/उपशंका बजारमा छ । तर ओरिएन्टल इन्स्योरेन्समा त्यस्तो कुनै समस्या नभएको सूचना अधिकारी ढकालले बताए ।  ‘बीमा कम्पनीले योभन्दा अघि पनि ५०/६० करोड रुपैयाँसम्मको भुक्तानी आफै नै व्यवस्थापन गरेको उदाहरण छ,’ उनले भने, ‘ठूलो दाबीको लागि नेपाल पुनर्बीमा कम्पनीले दिएपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढ्छ, बाँकी दाबी तिर्नको लागि नेपाल रिसँग भर पर्नु पर्दैन । हामीसँग भुक्तानीको लागि पुग्दो रकम छ ।’ उनका अनुसार ठूलो दाबीको हकमा ओरिएन्टलले नेपाल रिसँग निरन्तर छलफल गरिरहेको छ । ‘हामीले पुनर्बीमा कम्पनीसँग समन्वय गरिरहेका छौं, उहाँहरूले पनि राम्रो रेस्पोन्स गरिरहनुभएको छ, भुक्तानी दिन्छौं भनिरहनुभएको छ,’ उनले भने । ढकालका अनुसार हिल्टनमा अहिले कम्पनीले नेपाली र भारतीय गरेर जोइन्ट सर्भेयर खटाएको छ । साथै हिल्टनले पनि आफ्ना विशेषज्ञ खटाएर अध्ययन गरिरहेको छ । सर्भेयरहरबाट अहिले अध्ययन भइरहेको र सर्भेको रिर्पोट आएपनि भुक्तानी प्रक्रिया अघि बढ्ने उनले बताए ।  युनाइटेडको हकमा पनि कम्पनीले प्रतिवेदन बुझाएपछि भुक्तानीको प्रक्रिया जाने उनले जानकारी दिए । कस्तो छ कम्पनीको वित्तीय अवस्था ? ओरिएन्टल इन्स्योरेन्स चुक्ता पुँजीबिना नै सञ्चालित कम्पनी हो । कम्पनीको गत आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्मको रिपोर्टअनुसार कम्पनीको स्पेशल रिजर्भ फण्डमा एक अर्ब ६९ करोड मात्रै सञ्चित रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ६ करोड ६८ लाख, रिर्टन्ड अर्निङ ७ करोड २५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, गत वर्ष कम्पनीले ८ करोड २९ लाख २३ हजार रुपयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल सम्पत्ति ६ अर्ब २९ करोड ३२ लाख रुपैयाँ रहेको छ । कुल इक्विटी २ अर्ब ६४ करोड ३९ लाख रुपैयाँ र कुल दायित्व ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  बीमा प्राधिकरणले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीले असोज मसान्तसम्ममा ११ हजार ७७२ पोलिसी जारी गरेर ७८ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकाे छ ।

बीमालाई सामाजिक अभियानका रूपमा अगाडि बढाउँदै सानिमा रिलायन्सका म्यानेजर रिजाल

काठमाडौं। नेपालजस्तो विकासशील मुलुकका लागि बीमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यम हो । यसले आकस्मिक जोखिमको समयमा आर्थिक सहारा प्रदान गर्दै गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्छ।  यही चेतनालाई आत्मसात गर्दै बुटवलका सुवास रिजालले बीमालाई महाअभियानका रूपमा अगाडि बढाइरहेका छन् । बुटवलबाट जीवन बीमा व्यवसाय गरिरहेका सुवास रिजाल विगत ७ वर्षदेखि कार्यरत छन् । कपिलबस्तुमा १० सन्तानमध्ये नवौँ सन्तानका रूपमा जन्मिएका रिजालले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका हुन् । कपिलबस्तुबाट माध्यमिक, प्लस टु पोखरा, स्नातक पोखरा, र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका हुन् । अध्ययनपछि कोरियामा ५ वर्ष काम गरेर फर्किएका उनले बीमा अभिकर्ताको पेशालाई व्यवसायिक रूपमा अगाडि बढाइरहेका छन् । उनको बीमामा लाग्नुको पृष्ठभूमि भने मार्मिक छ । आज भन्दा ७ वर्षअघिको कुरा हो, पाल्पाको सिद्धबाबा नजिकै ठुलो पहिरो गएको दिन उनी पनि यात्रामा थिए । यस क्रममा एक जना डाक्टर र उनकी श्रीमती घटनास्थलमै मृत्यु भए । यस घटनाले उनलाई रातभर निद्रा लाग्न दिएन । जीवन अनिश्चित रहेको अनुभूति भएपछि उनले निर्णय गरे, अनिश्चिततालाई रोक्न सकिँदैन, तर त्यसबाट हुने जोखिम न्यून गर्न सकिन्छ । उनी सानिमा रिलायन्सको बुटवल शाखामा गएर आफ्ना एक वर्षीय बच्चा, श्रीमती, र आफ्नै बीमा गरी यस पेशामा प्रवेश गरे । यस क्रममा कम्पनीका क्षेत्रीय कार्यालयका प्रवन्धक जयदेव गौतम र शाखा प्रमुख प्रकाश गौतमसँग बीमाबारे धेरै सिक्ने मौका पाए । कोभिड–१९ अघि करिब एक महिनाको आएजाने क्रममा उनले आफ्नो बीमा मात्र गरेनन्, अभिकर्ता बनेर व्यवसायिक रूपमा अगाडि बढ्न पनि प्रेरणा पाए । यसपछि उनी बीमा अभिकर्ता पेशालाई सामाजिक कामको रूपमा अंगालेर अगाडि बढ्ने दृढताका साथ लागे। २०–२५ दिनको उक्त बसाइले उनलाई पेशामा लाग्ने हौसला दिएको थियो । रिजाललाई अभिकर्ता पेशा अन्य व्यवसाय जस्तै महत्वपूर्ण लाग्छ । कसैले सामान ६ सयमा खरिद गरी १ हजारमा बेचेको नाफा कसैले टिप्पणी गर्दैन, तर बीमा व्यवसायमा नियम अनुसारको कमिशनमाथि आलोचना हुँदा उनलाई दुख लाग्छ । सुरुवाती चरणमा उनले बुटवलका ठूला व्यक्तिको ठूला बीमा गराए । तर क्षेत्रीय र शाखा प्रमुखले भने, 'यदि समाजमा चिनिन चाहनुहुन्छ र साच्चिकै समाजसेवा गर्नु छ भने ग्रामीण बस्तीका व्यक्तिलाई बीमा गराउनुहोस् । यसले पुण्यको काम हुन्छ ।' यसपछि उनी आफ्नै जन्मस्थल कपिलबस्तुको ग्रामीण बस्तीमा पुगे । ठूला व्यक्तिबाट बीमा गराउँदै आएका रिजाल गरिब व्यक्तिका छोराछोरीको बीमा गर्न पुगे । तत्कालिन अवस्थामा उनी सानिमा लाइफको सबैभन्दा धेरै पोलिसी जारी गर्ने अभिकर्ता बने। यसरी उनले बीमालाई अभियानको रूपमा अगाडि बढाए । यस क्रममा उनलाई तीतो–मिठा अनुभव पनि भए । कोभिड–१९ अघि एउटा आफन्तलाई बीमाको प्रस्ताव राख्दा स्वीकार भएन। पछि उक्त व्यक्ति कोभिड–१९ मा संक्रमित भए र उपचारमा २०–३० लाख खर्च भए पनि ज्यान गयो। यसले उनलाई बीमामा लाग्ने प्रेरणा दियो । रिजाल बुटवलको स्वागतम बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष पनि थिए । त्यहाँ ऋण समितिका सदस्यको काकीलाई बीमाको प्रस्ताव राख्दा केही दिन पर्खन अनुरोध भयो । दुर्भाग्यवश, उनी बुटवल–भैरहवा जाँदै गर्दा दुर्घटनामा मृत्यु भए । रिजाल भन्छन्, 'किड्नी फेल भएर बाटा–बाटामा हिँडिरहेको देख्दा मलाई लाग्छ, यदि ति व्यक्तिलाई समयमा बीमा गराउन सकिएको भए यस्तो दिन भोग्नुपर्दैनथ्यो ।' तराइका ग्रामीण क्षेत्रमा मानिसहरू दैनिक पान, चुरोट, रक्सी सेवन गर्छन् । यदि तिनीहरूले केवल भोला खान रोक्न सक्थे भने ५ लाखको बीमा गर्न सक्थे। उनी गाउँ–गाउँ गएर यस चेतना फैलाइरहेका छन् । अर्घाखाचीका पहाडी क्षेत्रका गाई–बाख्रा पालन गर्ने कृषकलाई बाख्राको मूल्य बराबरको बीमा गराउन सुझाउँछन्, जसले बालबालिकाको उच्च शिक्षा सहज बनाउँछ । अभियानका क्रममा उनले गाउँ–गाउँमा मात्रै काम गरेका छैनन्, त्यहाँका नयाँ अभिकर्ता बनाएर ठूला टिम पनि निर्माण गरेका छन् । हजारौंलाई बीमा गराइसकेका, सयौं अभिकर्ता तयार पारेका रिजाल २०२२ मा एमडिआरटी क्वालिफाइ भएको र २०२३ मा उनकी श्रीमती राधिका पोखरेल पनि क्वालिफाइ भएकी छन् । बीमाबाट अहिलेसम्म एउटा पनि दाबी परेको छैन । यसले उनलाई एजेन्सी म्यानेजर बनाउने प्रोत्साहन दिएको छ। उनी मासिक ४–५ लाख आम्दानी गर्दै आफ्नै टिम निर्माणमा लागेका छन् । कोरियामा ५ वर्ष काम गरेर फर्किए पनि नेपालमा राम्रो आम्दानी गर्न सक्नुले उनलाई थप हौसला दिएको छ । बीमाको महत्व रिजालले सहरीदेखि ग्रामीण क्षेत्रसम्म एजेन्सी निर्माण गरिसकेका छन् । लक्ष्य नेपालभर एजेन्सी फैलाउनु हो । मानिसहरूले अनावश्यक खर्च बढी गर्ने तर बीमा गर्न पैसा नभएको प्रवृत्ति देखिएको छ । बीमामा प्रारम्भमा धेरै नकारात्मकता थियो, अभिकर्ताले शुल्क बुझाए पनि कम्पनीमा नगएको घटना सुन्न पाइन्थ्यो । यसले मानिसलाई बीमाप्रति नकारात्मक बनाएको थियो । गाउँ–गाउँमा जाँदा केही बीमितले विरोध पनि गरे । उनी भन्छन्, 'कतिपय गल्ती अरूले गरे पनि मैले जवाफ दिनुपर्छ । गल्ती स्वीकार गरेर बाँकी कुरा बुझाउनुपर्छ ।' बीमाले गाउँ–गाउँमा रुपान्तरण ल्याउने एकमात्र विकल्प हो । कतिपय परिवारमा ५ कक्षा भन्दा माथि पढेका छैनन् । अभिकर्ता बनाउने योग्यता नभए पनि उनी बीमाको अभियान मार्फत सबैलाई बीमाको दायरामा ल्याएर आर्थिक र सामाजिक अवस्था सुधार्ने प्रण गरेका छन् । उनले विद्यालय र क्लबसम्म पुगेर बीमाबारे जागरूकता फैलाइरहेका छन्।  परिवारमा सदस्य विरामी हुँदा चन्दा उठाउनुपर्ने अवस्था छ भने बीमा गरे जोखिम न्यून गर्न सकिन्छ । रिजाल भन्छन्, 'यदि सबैलाई बीमा गर्ने हो भने समाजमा क्रान्ति आउँछ । समयमा बीमा गर्दा बचत क्षमता बढ्छ । कमाएको निश्चित रकम बीमा मार्फत बचत गर्दा गरिबी दर घट्छ । त्यसैले हामी गरिब बस्तीमा पुगेर यो महाअभियान अगाडि बढाइरहेका छौं ।'

राजस्व छली प्रकरण : धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जना अख्तियारको फन्दामा

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (आज) मुद्दा दायर गरेको हो । कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध मुद्दा दायर भएको हो । कर अधिकृत आले र बस्नेतले आपसी मिलेमतोमा आन्तरिक राजस्व कार्यालय धरानबाट ३० चैत २०७७ सालमा भ्याट दाखिला गरेको भनी नगरपालिकालाई झुट्टा लिखत बनाई पत्राचार गरी राजस्व छली गरेको अख्तियार‍ले पत्रमा उल्लेख गरेको छ।  अख्तियारले उनीहरूविरुद्ध जनही १ करोड २३ लाख ६९ हजार  ६४९ रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिकाकाले गछिया खोलामा बालुवा गिट्टी उत्खनन गर्न स्वामिनारायण निर्माण सेवा प्रालिलाई भ्याटबाहेक ९ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँमा २८ जेठ २०७७ सालमा ठेक्का दिएको थियो । तर, सो निर्माण कम्पनीले भ्याट रकम बापतको १ करोड २३ लाख६९ हजार ६४९ रुपैयाँ रकम आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा त्यसो नगरी फर्जी कागजात बनाएर राजस्व चुहावट गरेको अख्तियारको दाबी छ ।

यी हुन् बक्यौता रकम तिर्ने ११ उद्योग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने अभियान चलाएसँगै हालसम्म ११ वटा उद्योगले बक्यौता रकम बुझाएर विद्युत लाइन पुनः जोडेका छन् ।  यसमध्ये रिलायन्स स्पिनिङ मिलले २ करोड ७५ लाख रुपैयाँसहित ठूलो रकम भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार गत कार्तिक ४ गते पछाडि बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने कार्य सुरु गरिएको थियो । सुरुमा २५ वटा उद्योगको लाइन काटिएकोमा अहिले ११ वटाले किस्ता वा पूर्ण रकम तिरेर लाइन जोडेका छन् ।  रिलायन्स स्पिनिङ मिलले आज मात्रै प्रिमियम महसुलको पहिलो किस्ता २ करोड ७५ लाख रुपैयाँ तिरेको बुझाएका हो ।  यसअघि १० उद्योगले ३० लाख ५८ हजार रुपैयाँ बुझाएको जानकारी प्राधिकरणले दिइएको छ । यसरी किस्ता बराबरको रकम बुझाउनेबित्तिकै लाइन जोड्ने नीति प्राधिकरणले अपनाएको छ ।  यी हुन् ११ उद्योग १. घराना फुड्स २. सिद्धार्थ पेट प्लास ३. एसआर फुड्स ४. गोएनका फुड्स ५. पञ्चकन्या इन्डस्ट्री ६. श्याम प्लास्टिक उद्योग ७. भल्बारी सुचालु कारखाना ८. पञ्चकन्या प्लास्टिक ९. एडुस रोलिङ मिल १०. एसआर स्टिल इन्डस्ट्रिज ११. रिलायन्स स्पिनिङ मिल यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । प्राधिकरणका अनुसार जसले बक्यौता रकम किस्ता वा पूर्ण रूपमा बुझाउँछ उसको विद्युत लाइन तत्कालै जोडिनेछ ।  यो अभियानले गर्दा लामो समयदेखि बक्यौता नतिरेका उद्योगहरूलाई भुक्तानी गर्न दबाब परेको र राजस्व संकलनमा सहयोग पुगेको प्राधिकरणको भनाइ छ ।

७५०० करोड सम्पत्ति जफतपछि अनिल अम्बानीका चार कम्पनीमाथि ठगी र दुरुपयोगको छानबिन

काठमाडौं । भारतीय व्यवसायी अनिल अम्बानीका समस्या झन् बढ्दै गएका छन् । अब अनुसन्धानको दायरामा उनको रिलायन्स समूह पनि परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतको कर्पोरेट मामिला मन्त्रालय (एमसीए) ले आफ्नो अनुसन्धान निकाय सिरियस फ्रड इन्भेस्टिगेसन अफिस (एसएफआईओ) लाई अनिल धीरुभाई अम्बानी ग्रुप (एडीएजी) अन्तर्गतका केही कम्पनीहरूको छानबिन गर्न आदेश दिएको छ । यो छानबिन कर्पोरेट सुशासनका नियममा अनियमितता र आर्थिक स्रोतको दुरुपयोग सम्बन्धी आरोपका कारण सुरु गरिएको हो । स्रोतहरूका अनुसार मन्त्रालयले यो आदेश यसै हप्तामा जारी गरेको हो । एसएफआइओले कम्तीमा रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायन्स कम्युनिकेसन्स, रिलायन्स कमर्शियल फाइनान्स लिमिटेड र सीएलई प्राइभेट लिमिटेडको छानबिन गर्नेछ । मन्त्रालयले यो कदम त्यसपछि उठायो जब वित्तीय संस्थान र अडिटरहरूले एडीएजी समूहका वित्तीय विवरणहरूमा धेरै अनियमितता देखाएका थिए । बैंकहरूले रिलायन्स क्यापिटल र आरकमको ऋण असफल भएपछि गरेका फरेन्सिक अडिटमा पनि त्यस्तै चिन्ताजनक तथ्यहरू फेला परेका थिए । सरकारी अधिकारीका अनुसार यी कम्पनीहरूको छानबिन पहिले नै सीबीआई र ईडी (प्रवर्तन निर्देशनालय) ले गरिसकेका छन् । यसपालिको एसएफआईओ छानबिन भने मुख्य रूपमा कर्पोरेट सुशासनका मुद्दाहरूमा केन्द्रित हुनेछ । अनुसन्धानमा यो समेत हेरिनेछ कि बैंक, अडिटर वा रेटिङ एजेन्सीहरूले जानाजानी कुनै जानकारी लुकाएका थिए कि थिएनन् । साथै यदि आर्थिक हेरफेर भएको छ र त्यो शेल कम्पनीहरू (कागजमा मात्र रहेका फर्जी कम्पनीहरू) मार्फत गरिएको हो भने त्यसको पनि अनुसन्धान हुनेछ । यदि छानबिनमा कुनै शेल वा धोखा गर्ने कम्पनी फेला परेमा एमसीए वा रजिस्ट्रार अफ कम्पनीजले त्यस्ता कम्पनीहरू बन्द गर्न, तिनीहरूविरुद्ध मुद्दा चलाउन वा तिनीहरूका निर्देशकहरूलाई अयोग्य ठहर गर्न सक्नेछ । ईडीको पछिल्लो कारबाहीपछि रिलायन्स इन्फ्रास्ट्रक्चरले जारी गरेको विज्ञप्तिमा भनिएको थियो कि यो घटनाले कम्पनीको सञ्चालन, सेयरधारक, कर्मचारी वा अन्य सरोकारवालामा कुनै प्रभाव पार्नेछैन । कम्पनीका अनुसार अनिल अम्बानी तीन वर्षभन्दा बढी समयदेखि आरइन्फ्राको बोर्डमा छैनन् । गत हप्तामात्रै ईडीले एडीएजी समूहसँग सम्बन्धित ७ हजार ५०० करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यका सम्पत्तिहरू जफत गरेको थियो । यो कारबाही सार्वजनिक रकमको दुरुपयोगसम्बन्धी जारी अनुसन्धानको हिस्सा हो । जफत सम्पत्तिमा मुम्बईको पाली हिलमा रहेको आवासीय भवन, नयाँ दिल्लीको रिलायन्स सेन्टर र मुम्बईस्थित धीरुभाई अम्बानी नलेज सिटीमा रहेका करिब १३२ एकड जग्गा समावेश छन् जसको मूल्य झण्डै ४ हजार ४६२.८१ करोड भारु पर्ने बताइएको छ ।