विकासन्युज

एलन मस्कको नेटवर्थ ४३७ अर्ब डलर पुग्यो, २०२७ सम्म पहिलो ट्रिलिनेयर बन्न सक्लान् त ?

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क यस वर्ष पहिलो पटक नाफामा पुगेका छन् । मंगलबार मात्र उनको कुल सम्पत्तिमा ८‍.१२ अर्ब डलरको वृद्धि भयो । यससँगै उनको नेटवर्थ ४३७ अर्ब डलर पुगेको छ ।  यस वर्ष मात्र उनको नेटवर्थमा ४.५७ अर्ब डलरले वृद्धि भएको छ । टेस्लाले मस्कका लागि १ ट्रिलियन डलरको पे प्याकेज प्रस्ताव गरेको छ । अनुमान गरिन्छ कि मस्क सन् २०२७ सम्म विश्वका पहिलो ट्रिलिनेयर बन्न सक्नेछन् । मस्क टेस्ला र स्पेसएक्सलगायतका धेरै कम्पनीहरू सञ्चालन गर्दै आएका छन् । विश्वका धनीहरूको सूचीमा लेरी एलिसन ३६५ अर्ब डलरसहित दोस्रो स्थानमा छन् । यस वर्ष उनको कुल सम्पत्तिमा सबैभन्दा धेरै १७३ अर्ब डलरको वृद्धि भएको छ । फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जकरबर्ग २७३ अर्ब डलरसहित तेस्रो स्थानमा छन् । यस वर्ष उनको कुल सम्पत्तिमा ६६ अर्ब डलरको वृद्धि भएको छ ।  जेफ बेजोस (२५५ अर्ब डलर) चौथो, लेरी पेज (२१९ अर्ब डलर) पाँचौं, सर्गेइ ब्रिन (२०५ अर्ब डलर) छैटौं, स्टीभ बाल्मर (१७५ अर्ब डलर) सातौं, बर्नार्ड अर्नल्ट (१७० अर्ब डलर) आठौं, जेनसन हुआङ (१५२ अर्ब डलर) नवौं र माइकल डेल (१५० अर्ब डलर) दशौं स्थानमा छन् । के भन्छन् विशेषज्ञ ? एलन मस्क यस वर्ष पहिलोपटक नाफामा देखिएका हुन् । उनका समर्थकहरूले उनलाई संसारको पहिलो ट्रिलिनेयर (नेटवर्थ १ ट्रिलियन डलर) बन्न सक्ने आशा राखिरहेका छन् । तर विशेषज्ञहरूका अनुसार यस विषयमा विशेष सावधानी अपनाउनु पर्छ । मस्कको नेटवर्थ मुख्य रूपमा टेस्ला र स्पेसएक्सका सेयरमा आधारित छ । टेस्लाको सेयर मूल्यमा ठूलो वृद्धि भएमा मात्र उनको नेटवर्थ ट्रिलिनेयर स्तरमा पुग्न सक्नेछ । त्यस्तै, निजी कम्पनी स्पेसएक्सको मूल्यांकन पनि यसमा ठूलो भूमिका खेल्छ । अर्थशास्त्रीहरूले भनेका छन् कि अमेरिकी बजारको अवस्था, मुद्रास्फीति, र आर्थिक वातावरणले पनि यसमा निर्णायक भूमिका खेल्छ । साथै मस्कका व्यक्तिगत निर्णय जस्तै सेयर बिक्री वा नयाँ लगानीले पनि उनको नेटवर्थमा प्रभाव पार्नेछ । हालको आँकडाअनुसार मस्कको नेटवर्थ ४३७ अर्ब डलर रहेको छ । विश्लेषकहरूका अनुसार ट्रिलिनेयर बन्नका लागि अझ ठूलो वृद्धि आवश्यक छ । इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज दुर्लभ खनिजमा चिनियाँ नियन्त्रणले युरोपेली कम्पनीलाई ‘लाखौं युरो’ घाटा, विश्व उद्योगमा असर

एक महिनामा बैंकहरूको नाफा साढे ८ अर्ब रुपैयाँ, ग्लोबल आइएमई अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा वाणिज्य बैंकहरूले साढे ८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंकहरूले पहिलो महिना नै ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ बराबर खुद नाफा आर्जन गरेका हुन् ।  साउनमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले गरेको छ । ग्लोबल आईएमईले एक महिनामै ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यस्तै, नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ६३ करोड ४२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख रुपैयाँ, नेपाल बैंकले ५५ करोड २७ लाख रुपैयाँ, प्राइम बैंकले ५० करोड ४९ लाख रुपैयाँ, कुमारी बैंकले ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  राष्ट्र बैंकका अनुसार एभरेष्ट बैंकले ४८ करोड ३९ लाख रुपैयाँ, एनएमबि बैंकले ४६ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले ४० करोड ८९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख रुपैयाँ, सानिमा बैंकले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।  यस्तै, एनआईसी एशिया बैंकले ३१ करोड ९३ लाख रुपैयाँ, प्रभु बैंकले ३० करोड २३ लाख रुपैयाँ, सिटिजन्स बैंकले २७ करोड २४ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २७ करोड १६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १५ करोड ८९ लाख रुपैयाँ र कृषि विकास बैंकले ३७ लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । 

सभामुख पाठकले दिए राजीनामा

बागमती । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अप्सरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।   

इजिप्टमा डोङफेङ मोटरका ९ नयाँ मोडेल सार्वजनिक

काठमाडौं । डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक कार्यक्रममा आफ्ना ९ वटा नयाँ मोडेल आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।  उक्त कार्यक्रममा 'इस्ट विन्ड इन्फिनिट वर्ल्ड' भन्ने थिममा इजिप्ट इन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो । यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिडगाडीहरू प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएका मोडेलहरूमा MAGE ICE र SHINE ICE समावेश थिए भने DONGFENG BOX, DONGFENG 007, MAGE EV, VOYAH FREE, VOYAH DREAM, VOYAH PASSION र MHERO 917 जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू पनि प्रदर्शन गरिएको थियो। उद्घाटन कार्यक्रममा सरकारी अधिकारीहरू, व्यवसायी र अटोमोबाइल प्रेमीहरूको ठूलो सहभागिता रहेको थियो ।  आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकै बाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्नेर डिस्प्ले गरिएका गाडीहरूको अनुभव लिने अवसर पाएका थिए ।  प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागत देखि लिएर न्यू इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन गरिएका थिए ।

मुक्तिनाथ फाउन्डेसनको चौथो वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ फाउन्डेसनले चौथो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक तथा आर्थिक रुपमा पछाडि परेका व्यक्तिहरू र समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापना गरिएको मुनाफा वितरण नगर्ने यस संस्थाले कार्यक्रमको माध्यमबाट समाजसेवामा आफ्नो प्रतिबद्धता जनाएको हो । २०७८ असोज १ गते दर्ता भएको यस संस्थाले लक्षित वर्गका व्यक्तिहरू र समुदायलाई सशक्त बनाउने उद्देश्य राख्दै सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसअघिका सामाजिक कार्यहरुमा बागमती सरसफाई अभियान, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिकासहित देशका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम, वृद्धवृद्धालाई सम्मान र आवश्यक खाद्य सामाग्री वितरण लगायतका कार्यहरू रहेका छन् । चौथो वार्षिकोत्सवको अवसरमा सम्पन्न रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन गरिएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । साथै, मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि, मुक्तिनाथ क्यापिटल, रोयल सहकारी, र विन्द्यवासिनी म्यूजिकको सहभागिता र समन्वयमा कार्यक्रम सफल भएको थियो ।

दुई महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो । यस वर्ष कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा एक खर्ब ८० अर्ब १७ करोड चार लाख रुपैयाँ खर्च भएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा हालसम्म एक खर्ब १४ अर्ब १८ करोड ७२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।  त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा छ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको वार्षिक विनियोजन रहेकोमा भदौ मसान्तसम्ममा ५९ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ । यही अवधिमा सरकारले वार्षिक लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवका लागि कूल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म एक खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ असुली भएको हो । कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठाउने वार्षिक लक्ष्य रहेकोमा ११ दशमलव ३५ प्रतिशतअर्थात् एक खर्ब ५० अर्ब ४० करोड १३ लाख रुपैयाँ कर असुली भएको छ । त्यस्तै, गैरकरतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ असुली गर्ने वार्षिक लक्ष्य रहेकोमा चार दशमलव ६२ प्रतिशतअर्थात् सात अर्ब १३ करोड २१ लाख रुपैयाँ उठेको छ । त्यस्तै, चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म दुई दशमलव ३८ प्रतिशतअर्थात् एक अर्ब २७ करोड ३७ लाख रुपैयाँ अनुदान उठेको छ ।

हितेन्द्रदेवलाई हटाउने ऊर्जामन्त्री घिसिङको तयारी, मार्गप्रशस्त गर्न आग्रह

काठमाडौं । ऊर्जामन्त्री ​​कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने तयारी गरेका छन् । स्रोतका अनुसार उनले प्राधिकरणका प्रमुख शाक्यलाई हटाउने तयारी गरेका हुन् । यो घटनाक्रम राजनीतिक र प्राधिकरण भित्रको शक्ति समीकरणसँग जोडिएको मानिएको छ ।  प्राधिकरणमा घिसिङको पहिलो कार्यकाल अत्यन्त सफल मानिएको थियो । उनको दोस्रो कार्यकाल सकिन ६ महिना बाँकी रहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाएर शाक्यलाई नियुक्त गरेका थिए।  सत्ता फेरिएसँगै मन्त्री बनेका घिसिङले प्राधिकरणभित्र नेतृत्व परिवर्तन गर्न लागेको स्रोतले जानकारी दियो ।  स्रोतका अनुसार मन्त्री घिसिङ प्राधिकरणलाई पुनः सशक्त बनाउने योजना लिएर अगाडि बढेका छन् । घिसिङको पहिलो कार्यकाल २०७७ भदौमा सकिएको थियो । उनी २०७८ साउनमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका थिए ।  उनको पहिलो कार्यकाल सकिएपछि प्राधिकरणको नेतृत्वमा शाक्य थिए । करिब ३३ वर्षदेखि विद्युत प्राधिकरण अन्तर्गतका निकायमा काम गरेका शाक्यलाई २०७७ कात्तिक ११ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।  २०७७ मंसिरमा उनलाई प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशको जिम्मेवारी दिइएको थियो । त्यस्तै, २०७७ फागुनमा उनले चार वर्षका लागि कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए। उनलाई यसअघि कार्यकारी निर्देशक नियुक्त गर्दा पनि केपी ओली नै प्रधानमन्त्री थिए । सरकार परिवर्तन भएपछि उनलाई २०७८ साउनमै कार्यकारी निर्देशकबाट हटाइएको थियो ।  आफूलाई हटाउनुको स्पष्ट कारण नभएको भन्दै शाक्यले सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट हालेका थिए ।

एसवाई प्यानलले असोज ७ गतेदेखि आइपीओ निष्काशन गर्दै

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले भदौ २९ गतेदेखि आईपीओ निष्काशनको तयारी गरेपनि देशको विषम परिस्थितिका कारण असोज ७ गतेदेखि निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई छुट्याएको छ ।  उद्योग प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।