चार्ली किर्क हत्या प्रकरणमा बाहिरियो गोप्य नोट, अभियुक्तले के लेखेका थिए ?
काठमाडौं । अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कलाई गोली हानी हत्या गर्ने अभियुक्तबारे सरकारी वकिलहरूले ठूलो दाबी गरेका छन् । सरकारी अभियोजन पक्षका वकिलहरूका अनुसार अभियुक्तले आफ्नै कोठामा बस्ने साथीलाई लेखेको गोप्य सन्देशमा अपराध स्वीकार गरेका थिए । २२ वर्षका टायलर रोबिन्सनमाथि किर्कको हत्या गरेको आरोप लगाइएको छ । युटाका अधिवक्ता जेफ्री ग्रेले बताएअनुसार अभियुक्तले आफ्नो कोठामा बस्ने साथीका लागि कम्प्युटरको किबोर्ड मुनि नोट छोडेका थिए । उनले यो पनि बताएका थिए कि सो साथी अभियुक्तको प्रेमसम्बन्धी पार्टनर थिए। ग्रेअनुसार सो नोटमा लेखिएको थियो, ‘मलाई चार्ली कर्कलाई समाप्त गर्ने मौका मिलेको छ र म यो गर्न जाँदैछु ।’ अभियोजन पक्षले दुबै कोठासाथीबीच भएका टेक्स्ट सन्देशहरू पनि प्रस्तुत गरेका छन् । तीमध्ये एकमा अभियुक्तले कर्कलाई गोली हानेको स्वीकार गर्दै भनेका थिए कि उनी ‘उनको घृणाबाट दिक्क भएका कारण’ यस्तो कदम चालेका थिए । चार्ली किर्क अमेरिकाका सबैभन्दा चर्चित कन्जर्भेटिभ कार्यकर्ता र मिडिया हस्तीहरूमध्ये एक थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भरपर्दा सहयोगी मानिन्थे । गत हप्ता बुधबार युटाको एक कलेजमा उनलाई गोली हानी हत्या गरिएको थियो ।
ठूला व्यावसायिक कम्पनी र ६ वटा बीमा कम्पनी ‘नेगेटिभ वाचलिष्ट’मा, रेटिङ खस्किने त्रास
काठमाडौं । जेनजी आन्दोलनले ठूलो क्षति बेहोरेका एक दर्जन कम्पनीहरु रेटिङ एजेन्सीको वाचलिष्टमा परेका छन् । यसअघि रेटिङ गराएका ती कम्पनीहरूलाई रेटिङ एजेन्सी इक्रा नेपालले नकारात्मक प्रभावको निगरानीमा राखेको हो । इक्रा नेपालले बुधबार विज्ञप्ति जारी गर्दै १३ वटा कम्पनीलाई नकारात्मक प्रभावको निगरानीमा राखेको जानकारी दिएको हो । इक्रा नेपालले ६ वटा बीमा कम्पनीलाई पनि सो सूचीमा राखेको छ । व्यावसायिक कम्प्लेक्समा ठूलो क्षति हुँदा ती कम्पनीहरूले ठूलो परिमाणमा बीमा दाबीको माग गर्छन् । ठूलो रकममा दाबी परेपछि त्यसको प्रत्यक्ष प्रभाव बीमा कम्पनीमा पर्ने गर्दछ । सोही कारण इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सलाई नकारात्मक प्रभावको निगरानीमा राखेको छ । विज्ञप्तिमा सम्बन्धित बीमा कम्पनीहरूको वित्तीय अवस्थामाथि परेको प्रभावलाई इक्रा नेपालले निरन्तर निगरानी गर्ने उल्लेख छ । परिस्थिति प्रष्ट हुँदै जाँदा रेटिङ निगरानी हटाउने वा आवश्यक रेटिङ कदम चाल्ने जानकारी पनि दिएको छ । एक्राले सीजी इम्पेक्स प्रा.लि., आईओएल प्रा.लि. भाटभटेनी सुपरमार्केट, चन्द्रागिरी हिल्स लिमिटेड, मौलाकाली केबलकार लिमिटेड, कैलाश हेलिकप्टर र ओरियन्टल होटललाई पनि सो सूचीमा राखेको जानकारी दिएको हो । विज्ञप्तिमा यी रेटिङ प्राप्त संस्थाहरूमा भौतिक क्षति निकै गम्भीर भएको र यसले व्यवसाय सञ्चालन, आम्दानी क्षमता र ऋण भुक्तानी क्षमतालाई असर पार्ने देखिएको उल्लेख छ । यी संस्थाहरूका लागि इक्रा नेपालले सञ्चालन पुनः सुरु हुने समयसीमा, भएको क्षतिको परिमाण र बीमाबाट पाउने वास्तविक क्षतिपूर्तिलगायत विषयहरू निगरानी गर्ने जानकारी दिएको छ । यसका साथै पर्यटन पूर्वाधारहरू (तारे होटल, केबलकार परियोजनाहरू) मा भएको क्षतिले नेपालको पर्यटन क्षेत्रमा असर पार्ने सम्भावना रहेको उल्लेख छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको प्रमुख पर्यटन सिजन भइरहेको बेला यी घटनाले विदेशी पर्यटकको आगमन घट्ने अनुमान इक्रा नेपालको छ । यसले विदेशी पर्यटकमा बढी भर पर्ने संस्थाहरूमा ठूलो असर पार्न सक्ने अनुमान इक्राको छ ।
मन्त्री घिसिङले जलेका सवारीसाधन व्यवस्थापन गर्न दिए निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले बुधबार निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । 'कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ,' मन्त्री घिसिङले भनेका छन् । उनले विनासबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए । मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट गरे । सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।
नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न आग्रह
काठमाडौं । केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौंका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताए । महासङ्घले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यावसायी सङ्घलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार नै गरेको उनले बताए । महासङ्घले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केरा बजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने अवस्था रहँदारहँदै पनि नेपाली बजारमा विदेशी केरा निर्वाध रूपमा आयात भइरहेको उल्लेख गरेको छ । यसरी केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्ष रूपमा असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुनसक्नेसम्म खतरा बढ्नुका साथै सबै जिल्लाका किसान आक्रोशित भई आन्दोलनमा जानसक्ने खतरा बढेको अध्यक्ष पन्तले जारी गरेको अनुरोधपत्रमा उल्लेख छ । अनुरोधपत्रमा भनिएको छ, 'समयमै हामी सबै सङ्घसंस्था र व्यापारीले देशको विषम परिस्थितिलाई समेत मध्यनजर गर्दै यहाँले सम्बन्धित व्यापारीसँग समन्वय तथा छलफल गरी यही असोज ६ गतेभन्दा पछाडि कुनै पनि व्यापारीलाई भारतबाट केरा आयात नगर्न वा नगराउन अनुरोध गर्दछौँ । यदि व्यापारीले बलजफ्ती आयात गरेमा नेपाली किसान वा समर्थकले पुर्याउन सक्ने क्षतिको जवाफदेही पनि यो महासङ्घ नहुने जानकारी तथा अनुरोध गर्दछौँ ।' उक्त विषयमा केरा उत्पादक किसानका आठवटा समिति तथा प्रतिनिधिले संयुक्त रूपमा सूचना जारी गरेका छन् । चितवनस्थित केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका अध्यक्ष टोपलाल थारू, नवलपरासीका अध्यक्ष लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहित हस्ताक्षरित विज्ञप्तिमा केरा आयातमा रोक लगाउनसमेत माग गरिएको छ । रासस
सुनको मूल्य तोलामा एक हजार घट्यो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबारका लागि सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको थियो । त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५० रुपैयाँमा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रको खम्बालाई कत्तै पनि कमजोर पार्न नहुने उल्लेख गरे । उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनःसंरचना गर्नेमा शंका रहेको टिप्पणी गरे । पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूको उकुसमुकुस रहेको भन्दै आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनःसंरचना हुनुपर्ने जरुरी देखिएको बताए । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव हुने जिकिर गरे । उनले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो। निश्चित मितिमै चुनाव गर्नुपर्छ । पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुनःसंरचना हुन्छ जस्तो मलाई लाग्दैन । जेन–जेड भनिने २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव छ । कहिलेकाहीँ भुइँको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले सतर्क गराउँदै आएको छु ।’ अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधिसभा विघटनलाई गलत निर्णय बताउँदै आएका छन् ।
शहीदको सपना र नयाँ नेपालको यात्रामा लेमिनार टायल्सको प्रतिज्ञा
काठमाडौं । नेपालको युवापुस्ता ‘जेनजी’ को साहस र नेतृत्वले राष्ट्रको इतिहासमा नयाँ अध्याय सुरु भएको भन्दै लेमिनार टायल्सले शहीदहरूको बलिदानलाई स्मरण गर्दै परिवर्तनलाई स्वागत गरेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी सबै नेपालीसँग मिलेर यो परिवर्तनलाई स्वागत गर्दछौं । यो यात्राले अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने हाम्रो कामना छ।’ लामिनार टायल्सले प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई दिंदै नेपाललाई उज्ज्वल भविष्यतर्फ अघि बढाउन उनलाई सबैको सद्भाव र समर्थन मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ । स्वदेशी ब्रान्डका रूपमा लामिनार टायल्सले पुन: निर्माण, प्रगति र सबैका लागि अझै राम्रो भोलिको यात्रामा निरन्तर योगदान दिने प्रतिबद्धतासमेत जनाएको छ ।
दुर्लभ खनिजमा चिनियाँ नियन्त्रणले युरोपेली कम्पनीलाई ‘लाखौं युरो’ घाटा, विश्व उद्योगमा असर
बेइजिङ । चीनको युरोपेली च्याम्बर अफ कमर्सका अनुसार बेइजिङले अझै पनि विदेशी कम्पनीहरूलाई आवश्यक दुर्लभ खनिज (रेअर अर्थ्स) मा पहुँच दिएको छैन । च्याम्बरले सोमबार पत्रकारहरूलाई बताएअनुसार कम्तीमा एक सदस्य कम्पनीले यस कारण ‘लाखौं युरो’ घाटा बेहोर्नुपरेको छ । करिब २५ वर्ष पुरानो व्यवसायिक संस्थाले प्रभावित कम्पनीको नाम भने सार्वजनिक गरेन, तर अरू सदस्यहरूले पनि यी खनिजहरूमा पहुँच पाउने स्पष्ट र स्थायी प्रक्रिया अझै पत्ता नलाएको बताएको छ । दुर्लभ खनिजहरू कारदेखि लिएर सेमिकन्डक्टरसम्मका उत्पादनहरूका लागि अत्यन्तै महत्त्वपूर्ण कच्चा पदार्थ मानिन्छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार २०२४ मा चीनले विश्वका कुल दुर्लभ खनिज खानी उत्पादनको करिब ६९ प्रतिशत नियन्त्रण गरेको थियो र विश्वका करिब आधा भण्डारहरू पनि चीनमै छन् । चीनले यस नियन्त्रणलाई अमेरिका र अन्य साझेदारहरूसँगको व्यापार वार्तामा प्रयोग गर्दै आएको छ । गत वर्षको अन्त्यदेखि चीनले दुर्लभ खनिजहरूको निर्यातमा कडाइ बढाएको छ र तिनको सैन्य प्रयोजनमा प्रयोग नहुने प्रमाणसमेत माग्न थालेको छ । मे महिनाको मध्यतिर अमेरिकासँग भएको व्यापार सम्झौतापछि चीनले एकपटक प्रयोग गर्न पाइने निर्यात अनुमतिपत्र जारी गर्न थालेको हो । जर्मन कार निर्माता फक्सवागनका प्रवक्ताले भने, ‘हाम्रो दुर्लभ खनिजयुक्त पाट्र्सको आपूर्ति स्थिर छ र हामीलाई कुनै अभावको समस्या छैन । हाम्रा आपूर्तिकर्ताहरूले आवश्यक निर्यात अनुमति प्राप्त गर्न आफ्ना सब–कन्ट्र्याक्टरहरूसँग निरन्तर सहकार्य गरिरहेका छन्,’ भने । तर युरोपेली च्याम्बरका अनुसार जून र जुलाईमा अनुमति स्वीकृतिमा केही सुधार देखिए पनि पछिल्ला महिनामा अनुमति पाउन अझै बढी कठिनाइ भइरहेको छ । च्याम्बरले अनुमति पाउनु पनि स्थिर आपूर्ति सुनिश्चित नगर्ने र यसले व्यवसायिक अनिश्चितता बढाउने जोड दिएको छ । गत वर्ष युरोपेली सङ्घ (ईयू) का करिब आधा दुर्लभ खनिज आयात चीनबाट आएका थिए, त्यसपछि रुस र मलेसिया प्रमुख आपूर्तिकर्ता थिए । दुर्लभ खनिजमा पहुँचमा बढ्दो प्रतिबन्ध अन्तर्राष्ट्रिय व्यापार तनावबीच व्यवसायका लागि पछिल्लो चुनौती हो । कोभिड–१९ पछि चीनमा विदेशी लगानीकर्ता र व्यवसायिक विश्वास घटेको छ किनकि महामारीका रोकथाम उपायहरूले आपूर्ति श्रृंखला प्रभावित पारेका थिए । घरेलु अर्थतन्त्र अझै सुस्त छ, विशेषगरी रियल इस्टेट संकट र उद्योगमा अतिउत्पादनका कारण । गत हप्ता अमेरिकन च्याम्बर अफ कमर्स इन साङ्घाईले मे र जून बीचको आफ्ना सदस्य सर्वेक्षण सार्वजनिक गर्दै आगामी पाँच वर्षका लागि व्यवसायिक विश्वास नयाँ न्यूनतममा पुगेको जनाएको छ । अध्ययनले देखाएको छ कि करिब आधा सदस्यहरूले चीनका लागि योजनाबद्ध लगानी अन्य क्षेत्रमा, मुख्यतः दक्षिणपूर्वी एसियामा सारिसकेका छन् । युरोपेली र अमेरिकी व्यवसायहरूले चेतावनी दिएका छन् कि दुर्लभ खनिजको अभाव यस वर्षको तेस्रो त्रैमासिकदेखि उत्पादनमा थप अवरोध ल्याउन सक्छ । युरोपेली च्याम्बरले भने अर्को हप्ता ब्रुसेल्समा ईयूका नीतिनिर्माताहरूसँग भेटेर वर्तमान व्यवसायिक स्थिति बारे जानकारी दिने योजना बनाएको छ । बुधबार सार्वजनिक गरिएको आफ्नो वार्षिक स्थिति पत्रमा चीनलाई आगामी पाँच वर्षे योजना तयार पार्दै गर्दा केही सुधारका सुझाव पनि दिएको छ । च्याम्बरले चीनलाई अतिउत्पादनका जरा कारणहरू समाधान गर्ने र स्वास्थ्यजस्ता मुख्य उद्योगमा निजी क्षेत्रलाई अझ ठूलो भूमिका दिने सुझाव दिएको छ, जहाँ हाल राज्य संस्थाहरूको ठूलो नियन्त्रण छ । च्याम्बरका अध्यक्ष जेन्स एस्केलुन्डले पत्रकारलाई भने, ‘चीनको वाणिज्य मन्त्रालयसँगको हालको बैठकमा हामीले मुख्यतया दुर्लभ खनिजको पहुँचबारे छलफल गरेका छौं ।’ चीनका शीर्ष नेताहरू आगामी अक्टोबरमा २०२६ देखि २०३० को लागि विकास लक्ष्य तय गर्न बैठक बस्ने भएका छन् । चीनले हरेक पाँच वर्षमा यस्ता योजना बनाउने गरेको छ । २०२१ मा सुरु भएको १४ औं संस्करण यो वर्षको अन्त्यमा सकिँदैछ र १५ औं योजना अर्को वर्षदेखि लागू हुनेछ । युरोपेली व्यवसायहरू उक्त बैठकलाई ध्यानपूर्वक हेर्नेछन् किनकि चीन युरोपेली सङ्घको दोस्रो ठूलो व्यापारिक साझेदार हो र २०२४ मा दुबै बीचको व्यापार ७३२ अर्ब युरोको स्तरमा पुगेको थियो । एस्केलुन्डले भने, ‘मेड इन चाइना २०२५ जस्ता योजनालाई पछाडि फर्केर हेर्दा अहिले हामीले भोगिरहेका धेरै चुनौतीहरू यिनै नीतिगत निर्णयको परिणाम हुन् । त्यसैले यी योजनाहरू साँच्चै महत्त्वपूर्ण छन् ... यीले दिशानिर्देश तय गर्छन् ।’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित) सान्दर्भिक सामग्री : मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति